Showing posts with label Features. Show all posts
Showing posts with label Features. Show all posts

Thursday, April 24, 2014

मोदी–मेनिया

सिपी अर्याल (CP Aryal)

नरेन्द दामोदरदास मोदीको जीवन–स्केचमा उनको परिश्रम र कलंकको धब्बाको कोलाज छ । प्रधानमन्त्रीको रेसमा भिडिरहेको उनको रंगीन पृष्ठभूमिसँग श्यामश्वेत विगत् पनि गाँसिएको छ । उनको (कु)ख्यातीको कारण आम जनता र संचारमाध्यममा मोदी–मेनिया छ । भारतीय राजनीतिक इतिहासमा मोदीजस्ता चतुर, विवादित र चर्चित अर्का राजनीतिज्ञ छैनन् ।

मसालेदार बलिउड सिनेमा भन्दा कुनै एङ्गलबाट कम नदेखिने भारतीय राजनीति जारी निर्वाचनको यो माहौलमा त पूरै फिल्मी देखिन्छ । यसपाली चुनावमा भाजपाको तर्फबाट प्रधानमन्त्रीको प्रत्यासी भएर लडेका मोदीको उपस्थितिले चुनावलाई मसालेदार बनाएको हो । भारतको अत्यन्त तल्लो वर्गको जनसांख्यिक प्रतिनिधित्व गर्ने मोदीलाई ‘चायवाला’ पनि भनेर चिनिन्छ । किनकि, उनी कुनैबेला भारतकै रेल्वे स्टेसनमा चिया बेच्थे । अर्कोतर्फ, ‘प्रिन्स’ राहुल गान्धी छन् जसले आफ्नो कुलको ‘डाइनेस्टी पोलिटिक्स’ कायम राख्न कंग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएर मोदीसँगै भिडिरहेका छन् । मोदीले भारत स्वतन्त्र भएयताको ‘नेहरु–गान्धी डाइनेस्टी’को राजनीतिलाई अन्त्य गर्न चाहन्छन् भने राहुलले चाहिँ त्यसलाई निरन्तरता दिन । रेसमा केजरीवाल पनि छन्, जो केही हप्ता यता मोदीको प्रचारशैलीको कारण छायामा परेझैँ देखिन्छन् । पल्ला भारी कसको होला त्यो कुर्न केही हप्ता पर्खनुपर्ने हुन्छ !
त्यतिबेला उनको मनभित्र केके हुन्डरी मच्चिरहेको थियो । १२/१४ वर्षको हुँदा एकदिन बाआमालाई आफूलाई जोगी बन्न मन लागेको बताए । छोराको कुराले बाआमा तर्सिए । किनभने, मोदी सानै हुँदा एउटा जोगीले उनलाई हेर्दै उनी कि जोगी हुने कि राजनीतिज्ञ हुने बताएका थिए ।

“हिमालयतिर घुम्न जान्छु” बाआमासँग मोदीले साह्रै करकर गरे ।

“जा त नि !” बाआमाले पनि भन्दिए ।


Friday, December 20, 2013

लेखिकाले जितेको बाजी


-सिपी अर्याल (CP Aryal)
२८ वर्षे युवती, एलिनर क्याटन (Eleanor Catton) ले म्यान बुकर बाजी मार्दा ८२ वर्षे क्यानडेली मूलकी वृद्धा लेखिका एलिस मुन्‍रो (Alice Munro) यसै वर्षको नोबल पुरस्कार पाउने अर्की महिला लेखक बनिन् । नोबल पुरस्कार प्रतिष्ठानले कथा लेखनमा अभूतपूर्व योगदान पुर्‍याएबापत यस वर्षको नोबल पुरस्कार मुन्‍रोलाई अर्पण गर्‍यो । १४ वटा कथासंग्रह निकालिसकेकी मुन्‍रोलाई प्रतिष्ठानले 'मास्टर अफ दी मोडर्न सर्ट स्टोरी' (Master of the modern short story)  भनेको छ । उपन्यासको वर्चस्व रहेको समयमा कथा -सर्ट स्टोरी) ले नोबल पुरस्कार पाउनुले एकपटक फेरि छोटा कथाहरूको युग फर्किएको दाबी समीक्षकहरू गर्छन् ।
मुन्‍रो र क्याटन दवै क्यानडामा जन्मिएका थिए । ती दुईबीच समयको एउटा ठूलै कालखण्ड गुजि्रसकेको छ । हजुरआमा र (प)नातिनी पुस्ता मान्न सकिन्छ यी दुईलाई । २८ वर्षिय तन्नेरी लेखिकाले प्रतिष्ठित म्यान बुकर पाउनु लेखक बन्न चाहने अनगिन्ती युवाका लागि प्रेरणा हो । अर्को पक्षमा, ८२ वर्षे वृद्धा लेखिकाले संसार प्रसिद्ध नोबल पुरस्कार पाउनु अर्को संकेत हो, लेखक बनेर अत्यन्त सफल हुन लामै धैर्य गर्नुपर्छ ।

नोबल पुरस्कार
विलियम फक्नर र फ्लेनरी ओ कनरजस्ता लेखकझैं मुन्‍रो पनि आफ्ना कथामा क्षेत्रीयतालाई प्राथमिकता दिन्छिन् । उनका अधिकांश कथाहरू ओन्टारियोको सेरोफेरोका छन् । कथाका पात्रहरूमा स्थानीय मूल्य र मान्यताको जडता छ । प्रायः उनका पुरुष पात्रहरूमा 'एभि्रमेन' को गन्ध पाइन्छ भने महिला पात्रहरू अलि बेसी जटिल देखिन्छन् । उनका कथालाई एन्टन चेखभसँग तुलना गर्ने मानिसहरूको कमी छैन । जसरी चेखभले कथालेखनमा एउटा युग धाने, त्यस्तै अर्को युग मुन्‍रोले धानिरहेको विचार ती समीक्षकहरूको छ ।


साहित्य मेलाको सौन्दर्य

-सिपी अर्याल (CP Aryal)
त्रिचन्द्र कलेजबाट पूर्वतिर दुई सय मिटरजति लाग्नूस्, त्यहाँ एउटा सरकारी भवन ठडिएको देख्नुहुन्छ। भरलिो आँगन र आकर्षक बनोट छ, त्यस भवनको। बाहिर आकर्षक देखिने यो त्यही भवन हो, जसमा नेपाल प्रज्ञा-प्रतिष्ठान छ। जुन उद्देश्यसाथ प्रतिष्ठानको स्थापना र यस भवनको निर्माण गरएिको थियो, त्यो भित्रभित्रै मक्किएको छ। आफ्नो उद्देश्यमा हिँड्न नसकेर अन्योलग्रस्त भएको छ।


बुकवर्म ट्रस्टद्वारा ८-११ कात्तिकमा आयोजित साहित्य मेला प्रज्ञा भवनको आँगनमा भइरहँदा त्यसले नेपाली अक्षरबजारको वृत्तमा परविर्तनका छुट्टै ज्वारभाटा प्रसारण गररिहेको थियो। एउटा सरकारी संस्था, जुन साहित्यलाई माथि उठाउने जिम्मेवारीसाथ खडा भएको थियो, त्यसैको आँगनमा साहित्य मेला भयो, निजी क्षेत्रको सम्पूर्ण प्रयासमा। गर्नुपर्ने काम उल्लेखनीय रूपमा नगरेरै आफ्नो तलबभत्ता पकाइरहेको उक्त सरकारी संस्थाको निधारमै सीधा प्रहार थियो, त्यो साहित्य मेला। पोहोर पनि प्रज्ञा-प्रतिष्ठानको आँगनमै यस्तो मेला भएको थियो। तर, प्रज्ञा-प्रतिष्ठान त निदाइरहेकै छ, देशविदेशका लेखक र पाठकबीच भएका तात्ताता बहस-आवाजले समेत उसको चिरनिद्रा हरण गर्न दुर्भाग्यवश सकेन।

मात्रै एक दशकअघि पुस्तक प्रकाशन व्यवसायमा गतिलो विकास हुने, मानिसबीच पढ्ने बानीको व्यापक विकास हुने र पुस्तकहरू टन्नै बिकेर लेखक रातारात 'सेलिबि्रटी' हुने कुरा अकल्पनीय नै त थिएनन् तर यी सबै हुन अझै दशक लाग्ने अनुमानचाहिँ थियो। महोत्सवको सुरुको दिनमा राष्ट्रकवि माधव घिमिरेले दिएको उद्घाटन भाषण सुन्दा लाग्थ्यो, उनले पनि यी सबै कुरा विश्वास नगरेर आफूलाई चिमोट्दै छन्। "म ९० वर्षको बूढो मानिसलाई पनि तपाईंहरूले यो मेलाको साक्षी बनाउनुभयो," उनले खुसी प्रकट गरेका थिए, "मलाई कति खुसी लागेको होला !" पुस्तक पढ्दा दण्डित भइने राष्ट्रकविको युगबाट पुस्तक नपढ्दा बेइज्जती हुने युगमा फड्किसकेको नेपाली समाजमा उल्लेख्य भिन्नता आएकै हो।

Saturday, October 5, 2013

दसैँछेकको घाम

–सिपी अर्याल (CP Aryal)

बिहानै झ्यालबाट बेपर्वाह छिरेका घामका किरणले बिउँझाउँछन् । त्यो घामले पोल्दैन, बरु शितल अनुभूति हुन्छ । हतार हतार उठेर कामको लागि हिँड्न थाल्छु । बाटाभरि मानिसहरूको लस्कर देखिन्छ लाहुरबाट फर्किरहेका योद्धा झैँ बाटोमा हिँडिरहेका देखिन्छन् मानिसहरू । गह्रुङ्गो झोला भिरेका छन्, सबैजसोले । एकै पाइलामा घर पुग्लान् कि झैँ लाग्ने लामा–लामा पाइला चालीरहेका छन् । केहीले मलाई प्रश्न गर्छन् ।

“घर कहिले जाने हो साथी दशैँ आयो त !” प्रश्नले एकाएक झस्काउँछ मलाई ।

नबिझाउने गरी कोठामा अचेल सुटुक्क छिर्न थालेको मध्य असोजको घाम, काठमाण्डु खाल्डोबाट त्यसरी हिँडिरहेका मानिसको लाम अनि मप्रति सोझिएका प्रश्नले बल्ल मलाई झस्काउँछन्, दशैँ आएछ ।


                                           +++
“बुकिङ नखुल्दै बसको टिकट सकियो ।”

पत्रिकामा छ्याप्छ्याप्ती देखिन्छन् अक्षरहरू, बोल्ड लेटरमा । यी पत्रिकाहरू मानिसहरूले पाएको दुख्खको खबर छाप्न तँछाड–मछाड गर्छन् । त्यही दुख्ख धेरै बिक्छ पनि अचेल । अर्काले पाएको दुख्खबारे सकेसम्म बढी जानकारी राख्न पाठकहरू पनि उस्तै रुचि राख्छन् । दुख्खहरूलाई यी पत्रिकाले बिक्ने सामग्रीको ‘टप लिस्ट’मा राख्ने गरेका छन् । अचेल दुख्खहरू ‘कमर्सियलाइज्ड’ भइसके !

चोकमा एउटी बुढी आमाले बेचिरहेको पत्रिकाका खबर–शिर्षक सर्सर्ती हेर्छु । अक्षर नचिनेकी ती बूढी आमा मेरो अनुहारमा हेरेर मुस्कुराउँछिन् । म चाहिँ पत्रिकाको खबर शिर्षक पढेर । दशैँले यति साह्रो गाँजिसकेछ सहरलाई, म कता बेहोस् थिएँ हँ ? सहरले सबैलाई बेहोसीको फन्दामा पार्छ, मानिस आफैलाई बिर्सेर कहिँकतै मस्त भइरहन्छ यो काठमान्डुमा । दशैँले मलाई जस्तै धेरैलाई बेहोसीबाट होसमा ल्याउँछ । त्यसकारण, सहरका बेहोसीहरूलाई एकमुष्ट बिउँझाउँन पनि दशैँहरू आइरहून् ।

गोजिको फोन भाइब्रेट हुन्छ । घरको फोन रहेछ ।

“टिकट नपाइने भयो क्या हो ?” मसिनो आवाजमा मम्मी बोल्नुहुन्छ ।

उहाँको सोधाइको आसय थियो, “चाँडो घर आइज ।”

टिभीमा समाचार सुन्नुभयो, सायद । बुकिङ सुरु हुनु अगाडि बसको टिकट सकिएको ।

“दशैँमा घर आउन यो नाथे टिकट चाहिँदैन क्या ।” म भन्छु, “झुन्डिएर भएनि आइन्छ नि ।”

यो सहरमा अचेल टिकटकै चर्चा छ, एउटा चुनावको टिकट, अर्को दशैँमा घर जान बसको टिकट । मानिसहरू तँछाड मछाड गर्दैछन्, दुवैथरी टिकट आफ्नो कब्जामा पार्न । चुनावी टिकटको कुनै मतलब भएन मलाई । अब त बसको टिकटको पनि फिक्री भएन, सकिइसक्यो रे त !

                                +++   

घर हिँडेका यात्रीहरूलाई कुइनाले घुच्याउँदै, आफूले पनि अरूको कुइनाको घुच्याइ खाँदै प्रत्येक सालझैँ यो साल पनि घर पुग्नेछु । लखतरान भएर । सिधै हजुरआमाको कोठामा पस्नेछु । झोला त्यहीँ बिसाउनेछु । निदाइरहेको बुढो शरीरलाई एक छिन वाल्ल परेर हेर्नेछु । हजुरआमाको अनुहारमा प्रत्येक साल दर्जनौँ चाउरी थपिएको देख्छु । अनुहारको रङ बदलिइरहन्छ, प्रत्येक साल । अनुहारमा देखिने उमेरका इन्द्रेणीहरूले गहिरो अर्थ राख्छन् ।

“हजुरी !!” उहाँलाई बोलाउँछु, गालाका चाउरीहरू सुम्सुम्याउँदै, “म आएँ ।”

मैले हजुरआमालाई सानैदेखि हजुरी भन्थेँ, प्रेमले । ठूलो हुँदा पनि भनिरहेछु किनकि उहाँप्रति मेरो प्रेम कहिल्यै कमजोर हुँदैन । मेरो आवाज सुनेर उहाँ मुस्कुराउनुहुनेछ । मलाई केही वर्ष यता उहाँले आवाजले चिन्न थाल्नुभएको छ । आँखाले चिन्न छाडे । मेरो आवाज हजुरआमाको लागि दृश्य हो । यसले पनि मलाई चिन्न छाडे के गर्नुहुन्छ होला ! थाहा छैन ।

“ए, दशैँ आयो बाबु ? तँ आइछस् ।” छामछुम पार्नुहुन्छ वरिपरि, चाउरीएका फुस्रा हात मेरा अनुहारमा सलबलाउँछन्, “सन्चै आइस् ?”

म आउनु हजुरआमाको लागि दशैँ आउनु हो । उमेरका ९० ओटा कठिन देउरालीहरू चढिसक्नुभएकी हजुरआमालाई अब दशैँको लागि खुसी हुने कारण अरू केही छैनन् जस्तो लाग्छ ।

“त्यति टाढाबाट आयो नाती ।” हो उहाँले मसँग घरबाट काठमान्डुसम्मको दुरीको कुरा गर्नुहुन्छ, म अर्को दुरी बुझ्छु, “नाती टाढियो” भन्ने । निद्राले लटपटिएको आवाज हो कि उहाँको बोली तोते भएका हुन् एकछिन् ठम्याउन सक्दिन । उहाँका सेता खुट्टामा मेरो निधार लगेर जोड्नेछु । युग बोकि हिँडेका ती खुट्टा एकछिन् सुम्सुम्याउनेछु ।

“नाम कमाएस् ।” उहाँको आशिष र मेरो रुचि कस्तो मिलेका ।

मलाई तान्दै हजुरआमाले उहाँको अँगालोमा बेर्न खोज्नुहुनेछ । म अटाउनेछैन उहाँको अँगालोमा । हजुराआमा आफैलाई पनि अनुभूति हुनेछ ।

“ठूलो भएछस् । पैला मेरा हत्केलाँ अटाउँथिस् ।” म हजुरआमाको हत्केलामा अटेको सम्झना त छैन, तर उहाँले भनेको केही पनि कुरामा अविश्वास लाग्दैन ।

“के छ त तेता खबर ?” उहाँले काठमान्डुको खबर सोध्नुहुन्छ ।

के बताउँ उहाँलाई ? अनि के नबताउँ ?

रत्नपार्कको आकाशे पूलमाथि निष्लोट सुतेर “भोक लायो बा हो!!!” भन्दै रोइरहेको फुच्चेलाई काठमान्डुले मार्न आँट्यो हजुरआमा भनेर बताउँ ? एमए सकेपछि जागिर नपाएर विरक्तीएको साथीको बिजोग बताउँ ? एसएलसीको रिजल्टमा फेल भएपछि झुन्डिएर मरेकी विद्यार्थीको खबर छाप्ने अखबारका प्राथमिकतामा पर्ने खबर बताउँ ? अचेल काठमान्डु विश्वयुद्धपछि ध्वस्त भएको देशझैँ भताभुङ्ग छ, भनेर बताउँ ? ठमेल र सुन्धाराका गेष्ट हाउसका पहरेदार युवतीहरूको आँखामा देखिने उदेकलाग्दो भोकबारे बताउँ ? कि घण्टाघरले अचेल बेठीक समय बताउन थालेको खबर सुनाउँ ?

के सुनाउँ उहाँलाई म ? एकछिन् वाल्ल पर्नेछु म । मलाई देखेर मुस्कुराएझैँ देखिने जमरा देख्नेछु पल्लो कुनामा । हर्लक्क बढिसकेका । मेरो कानमाथिको शोभा बन्न पाउने आस गरेका ।

सप्रिएर हलक्क बढेका जमरातिर मैले हेरेर टोलाइरहेको बुझेपछि हजुरआमाले भन्नुहुनेछ, “तँ पनि ती जमरा झैँ सप्रिएस् बाबु ।” थाहा छैन, मेरो मष्तिष्कमा कब्जा जमाएर बसेको सपनालाई हजुरआमाले कसरी देख्न सक्नुहुन्छ । उमेरले धमिल्याएको उहाँको आँखाले मेरो मनको दृश्य स्पष्ट देख्न सक्छ । थाहा छैन अब मैले उहाँलाई आँखा कम देख्नुहुन्छ भन्नु हुन्छ कि हुँदैन ।

हजुरआमाले खुब रुचाउने गुँदपाकका केही पोका निकाल्ने छु । मिश्री र फलफूल पनि हातमा लिएर भन्नेछु, 

“हजुरी यो नातीको कमाइ ।”

भगवानको थानतिर इशारा गर्दै उहाँले भन्नुहुनेछ, “त्यहाँ राख्दे । तेरो कमाइ नि खान पाएँ । भाग्गेमानी रैछु परमेश्वर, नातीलाई सधैँ राम्रो होस् ।” हाँस्दै निस्कन्छु उहाँको कोठाबाट ।

                                                                                   +++   

बुवासँग गफिन मन लाग्छ । बाहिर बरण्डामा उहाँले हजरआमा र मबीचको वार्ता सुनिरहनुभएको हुनेछ । मुस्कुराउँदै गरेको देख्नेछु ।

“अचलको दशैँ बदलियो हेर् केटा ।” उहाँले मसँग गफ गर्ने मेसो गरेको थाहा पाउनेछु । छेउमै बस्नेछु गएर । बुवाको छेउमा बसेर उहाँको अनुहार चियाउने मौका पाउन दशैँ नै आउनु पर्छ अचेल !

“उतिबेला घरघरमा गएर दमैहरूले बाजा बजाउँथे ।” बुवाको ओठबाट वाक्य बनेर इतिहास फुत्त फुत्त खस्न थाल्छ ।

“हाम्रोमा पाठ गर्न सिक्न केटाहरू आउँथे । बाले सिकाउनुहुन्थ्यो ।” उतिबेलाका युवाबारे कुरा गर्नुहुन्छ बुवा ।
“दशैँमा नयाँ लुवा भनेको दौरा–सुर्वाल थियो । मेरा बा (तेरो हजुर्बा) नाम कमाएको पण्डित भकोले हाम्लाई दशैँमा लाउन–खान दुख्ख थिएन । घरमा दुर्गापाठ हुँदा मान्छेहरूले दही अनि रोटा लेर आउँथे । म टिका लाउन घर–घर जान्थेँ । पैसा बटुल्थेँ ।” भन्नुहुन्छ ।
पाएको पैसाले उहाँलाई बिँडी÷चुरोट किनेर खाने सौख रहेछ । त्यो पूरा हुन प्रायः दशैँ नै कुर्नुपर्ने । मान्छेहरूको केके सौख ! ती सौखहरू प्रायः दशैँले पूरा गरिदिँदा रहेछन् ।
टिकाको दिन प्रायः प्रत्येकवर्ष उस्तैउस्तै हुन्छ, आशिर्वाद उस्तै, खानपीन उस्तै, घरमा आउने पाहुनाहरू उस्तै । प्रायः थपिने कुरा भनेका हजुरआमा र बुवाका अनुहारका चाउरीहरू हुन् ।

हजुरआमाको उमेरको कारण उहाँबाट टिका थाप्ने पाहुनाहरूको सानोतिनो घुइँचो नै हुन्छ घरमा । सबैलाई उहाँले आवाजले चिन्नुहुन्छ । दृश्यले चिन्नुहुन्न । या भनौँ आवाज नै उहाँको लागि दृश्य हो । टिकाको दिनभरी म हजुरआमाको छेउमा बसेर गफ गरिरहन्छु, उहाँलाई सहयोग गर्छु । पाहुनाहरूलाई उहाँले टिका लगाइदिनुहुन्छ, दाहिने हातका चोर, बुढी र माझी औँलाले रातो अक्षता समाएर पाहुनाहरूको निधारतिर हात बढाउनुहुन्छ हजुरआमा । उहाँको हातको स्पर्ष पाउँदा पाहुनाहरू आँखा चिम्म गर्छन्, आनन्दले विभोर भएका हुँदाहुन्, सायद ।

“रोग नलागोस् । सुख्ख पाए ।” उहाँले प्रत्येकलाई दिने आशिष यही हो । मानिसहरू सुख्खै पाउन यो दौडधुप जो गरिरहेका छन् । हजुरआमाले बुझेरै दिनुहुन्छ आशिष ।

यसप्रकार, हेर्दाहेर्दै आँखाबाट ओझेल पर्छ प्रत्येक सालको दशैँ । असोजको पारिलो घाम सेलाउँदै जान्छ । घरवरिपरिका साथीहरू हिँड्न थाल्छन् । यसप्रकार, गाउँ रित्तिँदै जान्छ, सहर भरिँदै ।

अनि मेरो मनलाई पनि उही काठमान्डु फर्किने हतारोले गाँज्न थाल्छ । गुन्टा कसिरहँदा बुवाले भन्नुहुन्छ, “काठमान्डुमा त घर मात्रै फल्छ । चामल फल्दैन ।”

हो, बुवाले भनेझैँ काठमान्डुको मलिलो जग्गामा घर फल्छ । मानिसहरूले सपना फलाउने हरप्रयास गरिरहन्छन् । यहाँ चामल फल्दैन ।

(२०७० असोज १९ (घटस्थापना) शनिवार, नागरिक अक्षर )

Tuesday, August 27, 2013

सम्झनामा साइकल

-संस्मरण

“ट्रिङ ! ट्रिङ ! ट्रिङ”

दस बज्न दस मिनट बाँकि हुन्थ्यो । घरको ‘एवन’ साइकलको घण्टी तीनफेर बजाइदिन्थेँ, दाहिने हातको बुढी औँलाले । अनि खुरुरुरु साइकल कुदाएर भाग्न कस्सिन्थेँ म ।

“हरे ! आज नि केटोले साइकिल लेर हिँड्यो !” खाना खान भान्सामा पस्नुभएको बुवाले मम्मीसँग भनेको सुन्थेँ, “होमक गरेन होला अनि भाग्यो । साह्रै दुख दियो । येल्लाई क्यार्नी होला हँ ?” उहाँ अफिस जाने बेला साइकल आफ्नो कब्जामा पारेर म दुख दिन्थेँ बुवालाई । तर, त्यसो गर्दा अन्तरमनमा मैले खुसी भोगेको उहाँलाई के थाहा ! मेरा विरुद्ध थप केही भने मैले सिम्किना खानुपर्थ्यो, त्यसैले मम्मी केही बोल्नुहुन्नथ्यो । अफिस जाने बेला मैले साइकल लिएर हिँडेकोमा बुवाको रिस पैतालाबाट सिधै दिमागमा पुग्थ्यो । बेतोडले साइकल कुदाइरहेको म फुच्चेको लागि भने अनुपम आनन्द दिमागबाट पैतालासम्म सुरेली खेल्थ्यो ।

कैँची चलाउन भर्खर सिकेको थिएँ । साइकल पाएपछि पृथ्वीकै फन्को लाउँछु जस्तो लाग्थ्यो । लामो गद्दि भएको र बुढाखाडाले चलाउने स्टाइलको थियो त्यो साइकल । त्यसलाई आफ्नो कब्जामा पार्न म हरकोशिस गर्थेँ । स्कुल जान मन नलाग्दा साइकल लिएर गाउँतिर जान्थेँ, तौलिहवा बजारबाट १० किलोमिटर पर भारतीय सीमासम्मै पुग्थेँ ।
“पन्चड भयो भने कसरी बनाउँछस् भन् !” बुवाले हकार्नुहुन्थ्यो। 

उहाँले नै पैसा दिए मसँग हुन्थ्यो । वा मन्दिर जाँदा चढाउन मम्मीले सँगालेका खुद्रा पैसाहरू चोर्नु पर्थ्यो । अर्को उपाय पनि थियो । बुवा निदाएका बेला ठूलै कसरत गरेर चोर्ने । नत्र म बबुरोसँग कसरी होस् पैसा ! दुई रुपियाँ लाग्थ्यो एक ठाउँको पन्चड टालेको ! दुई रुपियाँ मेरो लागि ट्रोजन युद्ध बराबर !

दिनभरी बजार डुल्थेँ अनि पाँच बज्न दस मिनट जति बाँकि हुँदा बुवाको अफिस पुग्थेँ । मलाई देखेपछि ङिच्च दाँत देखाएर हाँस्नुहुन्थ्यो बुवा । उहाँको हाँसोको अर्थ बुझ्थेँ, अब ‘माइजू होटल’ मा समोसा–मटर, चिया र नमकिन मस्त खान पाइने भो ।

“तँ आउँछस् भनेर कुरीराथेँ ।” घामझैँ सेता दाँत देखाउँदै बुवा हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, “ल हिँड् !”

म चाहिँ जूनझैँ पहेँला दाँत देखाएर मुस्कुराउँथेँ । खुसीले एकफेर बुर्लुक्क उफ्रिउँझैँ लाग्थ्यो । हत्तपत्त बुवालाई साइकल थमाउँथे । उहाँ उभिएरै साइकलको लामो गद्दिमा बस्नुहुन्थ्यो ।

“म कहिले बुवाजत्रो हुन सकुँला अनि उभिएरै साइकलमा बसुँला...” सोँच्थेँ ।

साइकल गुडाउन थाल्नुहुन्थ्यो बुवा । अनि म गुड्दै गरेको साइकलमा बुर्लुक्क उफ्रेर पछि बस्थेँ । साइकल एकफेर थररर काँप्थ्यो । बुवाले त्यसमाथि सजिलै कब्जा जमाउनुहुन्थ्यो ।

“घर जाम् है ! आज पैसा छैन ।”

बुवाले मलाई जिस्क्याउन खोजेको चाल पाउँदिन र मैले ! त्यसैले पछि बसेरै साइकल हल्लाइदिन्थेँ, गुल्टाइदिने उद्देश्यले नि ! बुझ्नुहुन्थ्यो म रिसाएको ।

“ल ल जानी जानी ! मलाई दुख दिन जान्याछस् नि तैँले । स्कुल किन गइनस् भन् ।” बुवाले तुरुप फ्याँक्नुहुन्थ्यो ।

स्कुल नगएको कारण जान्दिनथेँ। नजानेको कुरा कसरी बताउनु !

“दुष्ट छस् नि तँ ।” केही नबोल्नु मुनासिब हुन्थ्यो । किनकि एकैछिनमा ‘माइजू होटल’ आउँदै थियो । त्यसैले बोलेर बुवाको रिसको पारा उकाल्न हुँदैनथ्यो ।

“कता जानी ! माइजूकोमा कि मुरलीकोमा ?”

मुरलीकोमा राम्रा मिठाइहरू हुन्थे, माइजूकोमा समोसा–मटर ।

“आज माइजूकोमा जाम् ।” विस्तारै बोल्थेँ म । अनि साइकलको पांग्रा माइजू होटलतिर गुड्थ्यो । होटल जति जति नजिक आउँथ्यो मेरो मुख रसाउँथ्यो ।

“माइजू येल्लाई समोसा–मटर, नमकिन र चिया दिँदै गर्नुस् म हाटबजारबाट आइहाल्छु ।”

Source: linzfrentrop.wordpress.com
हाटमा छोरो हराउला भन्ने डरले बुवाले मलाई माइजूको होटलमा छोडेर आफू तरकारी किन्न जानुहुन्थ्यो ।

एकपटक माइजू होटलबाट घर फर्केपछि डुल्न मन लाग्यो । साइकल लिएर खुसुक्क निस्केँ । घरभन्दा अलिकति टाढा पुगेपछि हेन्डल नसमाएरै साइकल कुदाउन थालेँ । अचानक झ्याङतिर साइकल आफसेआफ मोडियो । अनि फलामे काँडेतारमा गएर पल्टियो । साइकल एकातिर म अर्कैतिर । तिघ्रामा तिखो फलामको सुइरो रोपिएछ ! रगत भुलुलु बग्दै थियो, तिघ्रामा रोपिएको फलामे सुइरो नडराएरै स्वात्त झिकेँ । बेस्मारी दुख्यो । आँसु थाम्नै सकिँन । एक्लै रोएँ, झाडीभित्र पसेर । बाटोमा हिँडिरहेका एकजना अंकलले मेरो रुवाइ सुनेछन् । बुवालाई चिनेका रहेछन् । मलाई पनि चिनिहाले ।

अंकल झाडीभित्र आए र भने, “नरोऊ बाबु।”

उनले त्यसो भन्दा मलाई झन् रुन आयो ।

फेरि भने, “हिँड अल्ताफकोमा जाम् घाउ ठूलै भएछ ।”

म विस्तारै उठेँ, तिघ्रा समात्दै । तिनले साइकल डोर्‍याए । म पछिपछि लागेँ । अल्ताफ डाक्टरकोमा लगेर मलमपट्टी गरिदिए । टिटनसको सुइ लगाइदिए डाक्टरले । फलामको सुइरो रोपियो, सुइ पनि रोपियो । सुइको रोपाइले रन्थनिएको थिएँ पर अडिएको त्यही साइकल देखेँ । देखेर खुब रिस उठ्यो । घर जान खुब डर लागिरहेको थियो । तिनै अंकलले विस्तारै घर पुर्‍याइदिए । घरमा कोही थिएनन् त्यसैले खुसी लाग्यो । मलाई लागेको त्यतिविधि चोट देख्या भए बुवाले मलाई भकुर्नुहुन्थ्यो । चुपचाप साइकल थन्काएँ । कोठामा पस्नेबित्तिकै पाइन्ट लगाएर बसेँ । एकहप्ताजति घाउ निको भएन । त्यतिन्जेल साइकल पनि चलाइनँ । घटनाबारे घरमा कसैलाई बताइनँ, मलाई उपचार गरिदिने अंकललाई पनि वाचा गराएको थिएँ, बुवालाई नभन्न । भन्नुभएनछ । साइकल मोहले मलाई धेरै चोट दियो, अनि धेरै खुसी पनि ।

अलि सानै हुँदा बुवाले मलाई जिनको राम्रो हाफपाइन्ट किनिदिनुभएको थियो ।

"डेढ सयको हो अलि जतन गरेर लगा । दशैँलाई पनि यही हो ।" भन्नुभएको थियो ।

नयाँ कपडाको खुब जतन गर्थेँ । त्यतिबेला डेढ सयको हाफपाइन्ट लगाउन पाउनु मेरो लागि हिराजडित सुन्दर कपडा लगाएबराबर थियो । नयाँ हाफपाइन्ट नागमणीझैँ भएको थियो । २४ घण्टा मैसँग हुने । साथीहरूले इर्ष्या गरेका थिए, मैले लगाएको त्यो जिनको हाफपाइन्टको । उनीहरूले आफ्ना बुवालाई मेरोझैँ हाफपाइन्ट किनिदिन जिद्दी गर्थे ।

एकपटक त्यही हाफपाइन्ट लगाएर साथीहरूसँग गुच्चा खेलिरहेको थिएँ । परबाट रिक्सा आएको देखेँ । रिक्साको पछिल्तिर झुण्डिन मन लागेर अखपै भयो ! मेरो हाफपाइन्टझैँ नयाँ र राम्रो रिक्सा नजिकैबाट गुडेर गयो । गुच्चा खेल्न छाडेर रिक्सा पछाडि खुरुरु दगुरेँ । अनि पछाडि झुन्डिएँ । ओहो ! एकैछिनमा संसार अँध्यारो भयो । रिक्साको पछाडिको चेनले मेरो हाफप्यान्ट समातेछ ! हाफप्यान्ट धररर च्यातियो । छालामा पनि सुइरो रोपेझैँ भयो । तिघ्रामा रगत देखेँ ।

अनि कराएँ, "ओए रिक्सामान रोक ! म मरेँ ।"

म पछाडि झुन्डिएको देखेकै थिएन उसले तर आवाज सुन्यो, अनि रिक्सा रोक्यो । मलाई देखेर डरायो । अनि समातेर मलाई निकाल्यो त्यहाँबाट । म पिडाले छटपटिएको थिएँ । रिक्सामानले मलाई बोकेर घर पुर्‍याइदियो । मैले च्यातिएको हाफप्यान्ट हेरेर रुवाईको डाँको बढाइरहेको थिएँ । हाफप्यान्ट धुजा-धुजा भएको थियो । म खुब रोएँ ।

बुवा नजिकै आउनुभयो, “नरो भोलि यो भन्दा नि राम्रो किन्दिन्छु ।”

त्यसपछि मैले दुखाइ बिर्सेँ । रुँदारुँदै हाँसे । उपचार गरेर ठीक भएपछि खुब गाली गर्नुभयो, “त्यस्तो राम्रो हाफप्यान्ट च्यातेर मर्‍यो अब किन्दिम्ला नयाँ ! १० पास भएपछि मात्रै तँलाई नयाँ लुवा किन्दिन्छु अब ।” 

ओहो २ कक्षा पढिरहेको फुच्चे म कहिले होला त्यतिका पढिसक्ने ! जिनको राम्रो हाफप्यान्ट लगाउन भएपनि अब मैले १० पास गर्नैपर्ने थियो !

१० पढ्दापढ्दै नयाँ साइकल चाहिँ घरमा भित्रियो । यतिबेला पहिलाझैँ बदमासी गरिनँ । एसएलसी तयारीको चटारो पनि थियो, हुर्किसकेको पनि त थिएँ । नयाँ साइकल मेरो र पुरानो चाहिँ बुवाको । स्कुल पढ्दाजस्तो यसबेला साइकलप्रतिको मोह हराइसकेको थियो तर पनि खुसीचाहिँ थिएँ । मेरो भागमा एउटा सिङ्गो साइकल जो थियो । स्कुलमा नयाँ साइकल लैजान पाएको थिएँ । साथीहरूमाझ ठूलो शान थियो । किनकि उनीहरूमध्ये कसैको थिएन नयाँ साइकल ।

अब मलाई मोटरसाइकलको रहर लाग्न थाल्यो । अंग्रेजी पढाउने विकास सरलाई हेर्थेँ, मोटरसाइकल चढेर आउँछन् । टिर्लिक्क पार्छन् 'क्रक्स' मोटरसाइकल । मेरो साइकल भन्दा पनि बढी चम्केको हुन्थ्यो त्यो ! मैले कल्पन थालेँ, “ओहो मोटरसाइकल किन्ने दिन कहिले होला मेरो ।” सपना पनि देख्न जानेको थिइनँ त्यतिबेला । त्यसैले मोटरसाइकल किन्न सक्ने हैसियत पनि कल्पन जान्दिनथेँ ।

Source: www.rapgenius.com

+ + +

धेरै वर्षपछि समय मेरो पोल्टामा खस्यो । मोटरसाइकल पनि किनेँ । एकफेर घर लगेर बुवालाई देखाउन मन लागेको थियो, असाध्यै । त्यसैअनुसार, आफ्नै मोटरसाइकलमा घर जाने निधो गरेँ ।

“म घर आउँदैछु बुवा, कलंकीबाट भर्खर बस चढेँ ।”

जाँदै त म मोटरसाइकलमा थिएँ । तर घरमा चाहिँ बसमा आइरहेको बताउनु पर्थ्यो । लामो बाटो, पानीमा रुझ्दै घर पुगेँ । साँझमा घर पुग्दा भिजेका लुगा ओभाइसकेका थिए ।

गेटमा मोटरसाइकल रोकेर धेरैबेर हर्न बजाएँ ।

“हरे को हो !” बुवा झोक्किँदै गेट खोल्न आउनुभएको थियो ।

मलाई मोटरसाइकलमा देखेपछि एकछिन ट्वाँ पर्नुभयो । पछाडि जगुभाइ पनि थियो ।

हेडलाइटको प्रकाशलाई हत्केलाले छेक्दै बोल्नुभयो बुवा, “ओहो कस्तो राक्षस हो यो तेती लामो बाटो मोटरसाइकिलमा आउनी गाँठे !”

“गेट खोल्नु न पैला ।” म हाँसे । “साँचो बोले त आउन दिनुन्थ्यो र !”

चुइँ ऽऽऽ गर्दै गेट खुल्यो, पेन्ट नलगाएकोले खिया पर्न थालेछ । बुवाको अनुहारमा उमेरले पारेको खियाजस्तै गेटलाई देखेँ । मोटरसाइकलमा दस घण्टा लामो सफरपछि घर पुगेको थिएँ । बाहिरै आँगनमा मोटरसाइकल राख्न थालेको देखेपछि बुवाले भन्नुभयो, “भित्र बरण्डामा राख् । चिसोले  रङ खुइल्याउँछ ।”

छोरोले कमाउन थाल्नेबित्तिकै किनेको मोटरसाइकल धित मरुन्जेल हेर्न त्यसको नजिक जानुभयो बुवा । माया गरेर त्यसलाई छुनुभयो । अनि भन्नुभयो, “अझै माया गर्न जान्याछैनस् है आफैले कमाएर किन्दानि ।” म हाँसे । बुवा पनि हाँस्नुभयो । बाइक बरण्डामा उकाल्न खोजेँ । एकैपटकमा सकिनँ । फेरि प्रयास गरेँ, टायर चिप्लीयो । तेस्रो पटक पनि सकिनँ ।

“पख् चक्का खराब हुन्छ ।” बुवाले भन्नुभयो ।

अनि गोठतिर लम्कनुभयो । बाइक उकाल्न सजिलो बनाउन एउटा सानो काठ लिन जानुभएको रैछ । बरण्डा र आँगनलाई छुने गरी त्यो फलेक राखिदिनुभयो । यसपाली एकैफेरमा उक्लियो ।

Source: www.flickr.com
“ढङ्गसङ्ग छैन तेसै भटभटे चढ्छ !” आफ्ना दुई हात बाँधेर ढाडतिर लगेर भन्नुभयो । कसैलाई सुझाव दिँदा उहाँले गर्ने पुरानै हाउभाउ हो उहाँको ।

घर नगएको लामो समय भएको थियो । वरिपरि हेरेँ । आफू खेलेको ठाउँ । पर उभिएका थिए बेलौँती र आँपका रुख । मलाई देखेर मुस्कुराएझैँ लाग्यो । ती रुखमा चढेर बाल्यकालको एउटा खण्ड पार भएको थियो । बुढा भएछन् रुख, म चाहिँ तन्नेरी । बाहिर चौकीमा थचक्कै बसेँ । सँगै गएको जगुभाइ पनि मेरो छेउमा बस्यो ।

बुवा मोटरसाइकल नजिक जानुभयो । गएर सर्सर्ती हेर्नुभयो । घरि पूर्वबाट, घरि पश्चिम, घरि उत्तर र घरि दक्षिणतिरको एङ्गलबाट । प्रत्येकपटक दिशा फेर्दा मतिर हेरेको देखेँ । भुइँजस्तै मैलो कपडाले बाइकको ट्याङ्की र हेडलाइट पुछिदिनुभयो । सोँचे मैले बाइकलाई गर्ने जत्तिकै माया बुवाले पनि गर्नुहुन्छ होला, किनकी छोरो त्यसमा चढेर हिँड्छ र भिडभाड काठमाण्डौँको फन्को लगाउँछ । पुछेर सकेपछि बुवाले एक्सिलेटर बटार्नुभयो । हेडलाइट हेर्नुभयो । सेलाउन नपाएको साइलेन्सर पाइप छुनुभएको थियो, पोलेछ ! हात स्वाट्ट झिकेको देखेँ अनि भनेँ, “पोल्छ केरेनि बुवा, इन्जिन तातो छ ।”

दुई दिन घर बस्दा सबै ठाउँ मोटरसाइकलमै चाहारेँ जुन ठाउँहरू वर्षौँ अगाडि साइकलमा फन्को लगाउँथे । हुर्किएको समयले एकपटक नोष्टाल्जिक बनायो ।

काठमाण्डौँ फर्किने दिन बिहानै खाजा खान भान्छामा पसेँ । मोटरसाइकल आँगनमा थियो, बरण्डाबाट बुवाले नै निकाल्नुभएको रहेछ । पुछ्नुभएछ पनि । बिहानको घामझैँ टल्किएको थियो त्यो । खाज खाएर हिँड्ने तर्खर गर्न थालेँ । बुवा मोटरसाइकल नजिकै उभिएर घरि मतिर घरि मोटरसाइकतिर हेर्नुहुन्थ्यो । बुर्कुसी मारेको समयसँग बुवाले गफ गरिरहेजस्तो लाग्यो ।

“म जान्छु बुवा अब ।” हलुका झोला पछाडि भिरेर बोलेँ । बुवा चाहिँ केही नबोली मोटरसाइकललाई अझै हेरिरहनुभएको थियो । त्यसलाई मुसारिरहनुभएको थियो ।

"विस्तारै चलाएस् नि। हाइवेमा डर हुन्छ।" भन्नुभयो ।

जिन्दगीको हाइवेमा द्रुत गतिमा कुद्ने रहर भएको म। बुवा भन्नुहुन्छ "विस्तारै हिँड्।"

मुसुक्क हाँसेँ र टाउको हल्लाएँ।

"सुरक्षित पुग्नेछु, सुरक्षित गति महत्वपूर्ण हो बुवा।"

हेल्मेटको फिता बाँध्न बिर्सेको रहेछु। बुवाले नै बाँधिदिँदै भन्नुभयो, "कलंकी पुग्नेबित्तिकै फोन गरेस् नि !"

त्यसपछि जगुभाइ र म अघि बढ्यौँ, बिहानको घामलाई पछ्याउँदै ।

अलि पर पुगेर रियर भ्यू मिररमा हेरेँ बुवा उही खिया लागेको गेट समाएर मतिर हेरिरहनुभएको थियो !



-सिपी अर्याल (CP Aryal)

Sunday, July 28, 2013

‘केन्द्र’ भत्काउने डेरिडा


–सिपी अर्याल/गोपीकेश आचार्य

“एउटा दार्शनिक जन्मन्छ, चिन्तन गर्छ र मर्छ ।” कसैले भोगेको जीवन समेट्दै लेखिने जीवनकथा लेखनमा ज्याक डेरिडालाई खास रुचि थिएन त्यसैले उनको इहलीलाबारे लेख्न खोज्नेलाई उनी भनिदिन्थे, “बाँकि कुरा आख्यान हुन् ।” उनकाअनुसार आत्मकथा बौद्धिक हुनुपर्छ जसमा एउटा दर्शन होस् । मानिसमाझ अलिअलि चिनिन थालेपछि उनले आफ्नोबारे कसैलाई केही बताउन चाहँदैनथे । आफ्नो फोटो पनि खिच्न मान्दैनथे । “मेराबारे के जान्न खोजेका ? म अल्जेरियाको यहुदी परिवारमा जन्मिएँ, विद्यालयबाट निकालिएँ...” उनको जीवनकथा लेख्न चाहने पत्रकारलाई झपारे एकपटक “यस्ता फाल्तु कुरा लेख्न पर्दैन, जाऊ आफ्नो काम गर ।” जीवनकथामा व्यक्तिगत जीवनभन्दा दर्शन हुनुपर्ने जिकिर उनको थियो ।

दर्शन, कला, सौन्दर्यशास्त्र, राजनीतिक सिद्धान्त, साहित्य, यौनमनोविज्ञान, धर्म अध्ययन, कुटनीति, नाट्य अध्ययन, वास्तु अध्ययन, पुरातत्व अध्ययन, कानुन, मानवअधिकार, भाषाविज्ञान, उत्तर औपनिवेशिक अध्ययनलगायत ज्ञानका हरेकजसो क्षेत्रमा काम लाग्ने विचार दिने डेरिडाको जीवनकथा लेखियो, अनेक लेखकका अनेक आँखाबाट । डेरिडाबारे लेखिएका थुप्रै जीवनकथा मध्येको एक बेनोइट पीटर्सले लेखेको, ‘डेरिडाः अ बायोग्राफी’ पुस्तक राम्रो मानिन्छ । लस एन्जलस रिभ्यु अफ बुक्समा कास सगाफीले यस पुस्तकलाई जीवनकथा लेखन शैलीको क्रममंग भन्दै प्रशंसा गरेका छन् ।

Thursday, May 23, 2013

हजुरआमासँग फोन संवाद


-सिपी अर्याल

अचेल बिसञ्चोले बढीनै चिथोर्न थालेको छ मेरी हजुरआमालाई । फोनमा नियमित बोलिरहन्छु । आँखा रसाउँछन् । रसाएर धमिलिएका मेरा आँखा उमेरले धमिल्याएर जालो लागेका हजुरआमाका आँखाले छर्लङ्ग देख्छन् । वेभले उहाँको कानसम्म मेरो आवाज पुर्‍याउन सक्दैन । त्यसैले एकतर्फि कुराकानी हुन्छ, उहाँ बोल्ने मैले चुपचाप सुन्ने । घर जान मन लाग्छ, एउटा युग बाँचेकी उहाँलाई सुनिरहन मन लाग्छ । चौरासी पूजा गरेपछि मान्छे पनि देउता हुन्छन् अरे । छिमेकहरू भन्छन्, “हजुरआमा पनि देउता हुनुभयो, मान्छेहरू माझकी भगवती हुनुभयो ।” देउता हुन्छन्/हुँदैनन् संसार ढुक्क छैन । मेरा लागि कम्तिमा तपार्इँ हुनुहुन्छ, त्यसैले म ढुक्क छु । यसकारण तपार्इँ देउता होइन हजुरआमा नै हुनुपर्छ ।

मेरी हजुरआमा
पढाइ र कामका अनेक टन्टा छन् यहाँ । घर गइरहन पाउँदिन । वेभले नसुनाएको मेरो आवाज उहाँ आफैं सुनेर भन्नुहुन्छ, “तँ राम्ररी पढ्, काम अर् । आत्तिएर घर नआइज । मेरो पिर पनि नअर् । तेरा बा/आमाले नम्मरी स्याहार अर्चन् । फालफूलको रस ख्वाम्चन् ।” उहाँले रुचाउने खान्की, मिश्री लगिदिएको थिएँ । सकिएछ । भन्नुभयो, “तैँले ल्याइदेको मिश्री भ्याइयो । गुलियो मिश्री नातीको कमाइको हुँदा झन् गुलियो मानेर खाएँ !”

“बिहा अर् !” मलाई जिस्क्याउनुहुन्छ, “स्वास्नी ले । तँलाई चट्ट पारेर केम्पस पठाम्चे । मीठो ख्वाम्चे । मोया अर्चे । जे जात भएनी केइ हुन्न । तेरा बा/आमाले नमाने म फकाम्चु ।” सुन्छु अनि मुसुमुसु हाँस्छु । फेरि भन्नुहुन्छ, "हुन्त पढेर ठूलो मुन्छे हो पैला अनि ल्याउलास् स्वास्नी । अक्षरको डाक्टर हुनपर्च तँ ।" अक्षर नचिनेकी उहाँले कसरी थाहा पाउनुभयो होला मान्छेहरु 'अक्षरका डाक्टर' पनि हुन्छन् भनेर !

मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !

Saturday, May 18, 2013

फुकोका अनेक अनुहार

सिपी अर्याल/सरोज जीसी (CP Aryal/Saroj GC)

‘व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिसलाई भेटेको छैन । उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटेँ । पढाउनेहरू भेटेँ, पेन्ट गर्ने मानिस भेटेँ र केही पनि काम नगर्ने मानिस भेटेँ । बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ ।” विश्वविख्यात दार्शनिक मिसेल फुकोले (Michel Foucault) कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे । उनलाई दुव्र्यसनी, मनोरोगी, समलिङ्गी, स्वपिडक र पागल भन्दै उनको खेदो खने । तर उनले दिएको अतुलनीय ज्ञानको कारण विश्वले उनलाई पुज्यो पनि । उनको मष्तिष्कले कोरलेका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन् । यिनै फुको मानवीकि तथा समाजशास्त्रअन्तर्गत् हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन् । र रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ ।

Saturday, February 23, 2013

गुमनाम गुरु

सिपी अर्याल, विजयराज पौडेल

बाबुको सम्झनाको हिक्काले कहिल्यै छोड्दैन उनलाई । एक–अनेक तरिकाले घाउ बल्झिरहन्छ । दुनियाँलाई चासो छ नि त बाबुबारे । त्यसैले सोधिरहन्छन् सबैले ।

“फर्केर आउने सम्भावना अब होला र ?” मानिसहरूको यस्तो प्रश्न सिधै उनको आँखामा गएर ठोक्किन्छ ।
अनि ती आँखामा सम्झनाका बाछिटाहरू लम्पसार पर्छन् । ओसिला आँखाहरू सजिलै ओभाउनै पाउँदैनन् । 

“बुवा फर्केर आउनुहोला जस्तो लागिरहन्छ...” डोरबहादुर विष्टका छोरा केशरबहादुरले यसो भन्दा माघको आकाश धुम्मीएको थियो । पानी पर्ला–पर्ला जस्तो देखिन्थ्यो । अनि केशरका आँखा पनि उसैगरी पानीले धुम्मीएका थिए । आकाशको जस्तै आँखाका पानी पनि तप्प चुहिइहालेका थिएनन् ।

केही वर्ष अघि धेरैलाई आश थियो–काँसझैं सेतै फुलेको एउटा बुढो मानिस झोलाभरी पाण्डुलिपि बोकेर आउने छ । र, फेरि एकपल्ट संसारभरिका विद्वानहरुलाई चक्मा देखाउने छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, तर उनी फर्केनन् । सधैँका लागि एउटा रहस्य भए । धर्तीमा छन् कि आकाशमा ? सबै चुपचाप । उत्तर भए पो ! श्रीमतीको स्वर्गेवास हुँदा पनि फर्किएनन् न त घरमा ठूला थितीहरु चलाउँदा नै । त्यसैले कठ्यांग्रिने चिसोजस्तै भइसकेको छ आस । तर पनि ८७ वर्ष वाँचिने नै उमेर हो । खोला फर्किन्छ कि ! अनि के थाहा उनी चम्कीएका आँखासहित लौरी टेक्दै आइ पो हाल्छन् की ?

“उनी बहुलाएर हिँडे”

“‘प्रचण्ड’ भनेका अरू कोही नभएर यिनै विष्ट हुन् ।”

“उनी त जोगी भएर भारततिर बरालिइ हिँडेका छन् रे !”

“जोगीको भेषमा इथ्नोग्राफिक रिसर्च गर्दैछन् रे !”

विष्ट हराएपछि मानिसहरूका फरक–फरक अन्दाज हुन यी । माओवादी विद्रोह सुरु भएको भर्खरै एक वर्ष हुनु र उनी हराउनुको संयोग कस्तो जुरेको ! “त्यसैले उनलाई ‘प्रचण्ड’ भन्ने अड्कल काटेका थिए कतिले” छोरा केशर बताउँछन् । तर कट्टर राजनीतिक खेलसँग विष्टको सम्बन्ध ब्रहण्डको एक छेउदेखि अर्को छेउसम्मको दुरी जत्तिको पनि थिएन होला ! भलै उनका लेख, अनुसन्धान अनि विचारहरूले त्यस्तो राजनीति गर्नेहरूलाई आच्छुआच्छु पारेका होउन् ।

नेपालको मानवशास्त्रको जनकको उपाधी पाएका विष्टको जीवन काल्पनिक जस्तै लाग्छ । सुरुमा पाटनको कुनै विद्यालयका प्रधानाध्यापक । अनि स्वअध्ययनबाट प्रोफेसर तथा मानवशास्त्री । २०१३ सालतिर सिरिरि चलेको बतासले उनको कानमा खबर पु¥यायो, “बेलायतबाट आएका मानवशास्त्रीले सोलुखुम्बुका शेर्पाबारे अनुसन्धान गर्न चाहन्छन् । त्यसैले उनलाई नेपाली भाषा, रहनसहन, रितीबारेका यथार्थ बुझाउन एकजना नेपाली सहयोगी चाहिएको छ रे ।” कालो पाटीमा अक्षर पोख्न उद्दत प्रधानाध्पापकको मनको तलाउमा त्यो बतासले ढुङ्गा फ्याँकेजस्तो भयो । आफूले त्यो काम ती बेलायती मानवशास्त्री, क्रिस्टोफोर भोन फ्युर–हेमिन्ड्रफसँग गर्न पाए हुन्थ्यो भनि आफ्नै मनसँग विष्टले वार्तालाप गरे । अनि आफूलाई सहयोगी राखिदिन ती खैरो कपाल भएका बेलायतीसामु यस्तो याचना गर्न पुगे, “नेपाल बुझ्ने तपाईँका एक जोडी आँखा र कानमा मेरा पनि एक जोडी आँखा र कान मिसाउनुहोस् हेमिन्ड्रफ !” हेमिन्ड्रफलाई विष्ट चाहिएको अनि विष्टलाई हेमिन्ड्रफ । कुरा मिल्यो । चक र डस्टरको दुनियाँबाट अब विष्ट अलग भए, यो हिमाली देशका नेपथ्यहरूको फन्को लगाउन दुईले उमङ्गको सिटबेल्ट कसिलो गरी बाँधे । एकनासमा हिँडिरहेको घोडेटो जस्तो जिन्दगीसँग विदा माग्दै अर्कै राजमार्गमा उनका पदचाप सुस्त–सुस्त बग्न थाले । विल्कुल नौलो काम, नौला मानिससँगको उठबस । हातका रेखाहरू मेट्न नसकिने भविष्य जो हुन् । विष्टका हातका रेखामा जे लेखिएको थियो त्यो नभै के सुख्ख र ! रेखाहरू चलमलाए अनि विख्यात अनुसन्धाता हुने सम्भावनाहरू विस्तारै कोरलिन थाले । आफूले एन्थ्रोपोलेजीकल रिसर्च गर्नुपर्ने थाहा पाउँदा विष्टले हेमिन्ड्रफलाई ‘एन्थ्रोपोलोजी’को अर्थ सोधेनन् । आफैले सुटुक्क शब्दकोष हेरे, जहाँ लेखेको थियो, “मानव समाजको अध्ययन गर्ने विज्ञान” ।
Bista at Jumla (Photo: John Hames)

Monday, October 15, 2012

एउटा एनालग लाइब्रेरी


-सिपी अर्याल (CP Aryal)

‘खोला तर्‍यो लौरो बिर्सियो’ । लेखको सुरुमै यो उखान उदृत गर्नुको कारण छ । सन् १९७४ मे १ मा  अहिले राजनीतिज्ञ र विद्वान कहलिएका डा. प्रकाशचन्द्र लोहनीले केन्द्रीय पुस्तकालयबाट उसले तोकेको समयमा फिर्ता गर्ने सर्तमा दुईटा पुस्तक लगे । ‘रिजनल कन्फरेन्स : वाटर रिसोर्स डिभेलपमन्ट इन एसिया फर इस्ट’ र ‘युएन इकनमिक कमिसन फर एसिया एन्ड द फार इस्टः वाटर लेगिस्लेसन’ नामका । पुस्तक पढेर ज्ञान हासिल गरे । विद्वान कहलिए । तर ‘समयमा फर्काइदिने सर्त’सहित उनले लगेको सो पुस्तक लाइब्रेरीको र्‍याकमा फेरि उक्लन पाएन । डा. लोहनीले ज्ञानको खोला तरे । तर खोला तार्न सघाएको लौरो चटक्कै बिर्सिए !

वि.सं २०१६ सालमा राजदरवारको प्रत्यक्ष लगानीबाट स्थापित यो केन्द्रीय पुस्तकालय भन्दा निकै पछि स्थापित भएका पुस्तकालयहरूले स्वरूप परिवर्तन गरी डिजिटल दुनियाँमा उक्लिए । हामी भने उही एनालग संसारमै छौँ । एसियाकै तेस्रो ठूलो पुस्तकालय भनेर चिनिने यो पुस्तकालय हिँडिरहेको बाटै अर्कै छ । ‘हामी डिजिटल प्रोसेसमा गएको दुई वर्ष मात्रै पुग्यो होला’ पुस्तकालयका निमित्त प्रमुख जनार्दन ढुङ्गाना भन्छन् ।  ‘डिजिटल प्रोसेसिङ’ भनेको थेसिस/डिजर्टेसनहरूलाई सिडिमा राख्ने हो, बस् ! त्यसबाहेकको डिजिटल सुविधा केही पनि छैन । अहिलेको पुस्ताले काखमा कम्प्यूटर राखी मस्तसँग पढ्ने रुचि देखाउँछ । तर यो अभाव सजिलै पूर्ति हुने छाँट देखिँदैन । मुलुक राजनीतिक ट्रान्जिसनमा फँसेको बेला पुस्तकालयले पनि सोही सिको गरेको होला । अबको अझै दुई चार वर्षसम्म डिजिटल सुविधा नभए नयाँ पुस्ता पुरानो शैलीमा रमिरहँदैन !

यो एनालग पुस्तकालयमा कम्प्यूटर र इन्टरनेटबाट पुस्तकालयले दिने सुविधाहरू शून्य छन् । कर्मचारीहरू भर्खर कम्प्यूटरका माउस डोर्‍याएर एनालगबाट डिजिटल संसारमा ताते–ताते गर्न सिक्दै छन् । विद्यार्थीहरू डिजिटल क्याटलगको माग गर्छन्, आफूले मन पराएको पुस्तक अनलाईन बुक गर्ने, लेट फि अनलाईनमार्फत् तिर्ने, लाइब्रेरीमा आएका नयाँ पुस्तकबारे घरमै बसी बसी जान्न पाए हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । तर व्यवस्थापनले ती माग पुर्‍याउन सके पो ! ‘पुस्तकालयमा खानेपानी र ट्वाइलेटको व्यवस्था त छैन अरू सुविधाको के आस गर्ने !’ आफ्नो परीक्षा नजिकिएकाले दिनहुँ यहाँ आइ पढी बस्ने जगन्नाथ तिमल्सीना भन्छन् । ‘तिर्खा लायो, दिसा पिसाब लाग्यो भने पन्ध्र मिनट हिँडेर आफ्नै कोठामा पुग्नुपर्छ ।’ पुस्तकालयको हरिबिजोग देख्न जताततैबाट पानी चुहिने गरेकाले ठाउँठाउँमा राखिएको बाल्टिन हेरे पुग्छ । यी कुरामाथि बिहङ्गम दृष्टि लाउँदा आधारभूत सुविधासहतिका सबै कुरा पूरा गर्न धेरै लामो रेस जित्नु पर्छ पुस्तकालयले । किनकि, अहिलेको परम्परागत अवस्थालाई उधिनेर आधुनिकता अंगाल्न सक्ने सजिलो ताकत नै राख्दैन यसले । यो कुरा स्विकार्न निमित्त प्रमुख ढुङ्गाना पनि पछि पर्दैनन् ।

असार/साउनमा जाँदा पुस्तकालयको हरिबिजोग ।
अर्थ मन्त्रालयले बजेट छुट्याउने यो पुस्तकालयले वर्षेनी ३५ लाखको किताबहरू र उती नै रकममा पिरियोडिकल्सहरू खरिद गर्छ । पढ्ने म्याटरहरू त अनगिन्ति छन् । यसअनुसारको सुविधा छैन । असी कर्मचारीलाई रोजगारी मिलेको छ । दिनहुँ सरदर ५०० पाठक आउँछन् । ३५ लाख पिरियडिकल्स र सोही संख्यामा पुस्तकहरू होलान् भन्ने अड्कल्नु हुन्छ ढुङ्गाना ।  दैनिक र साप्ताहिक गरी खरिद गरिने ३८ पत्रपत्रिका र सात वटा गिफ्टेड पत्रपत्रिका आउँछन् । ५० टाइटलका खरिद गरिएका म्यागाजिन र उती नै संख्यामा गिफ्टेड म्यागाजिन भित्रन्छन् । फरेन जर्नलहरूको संख्या पचहत्तर छ, पचास टपिक लाइब्रेरीले खरिद गरेको र २५ गिफ्टेट टाइटलमा । पाठकहरूले लोडसेडिङका बेला धेरैजसो पत्रपत्रिकाहरू च्यातेर लैजाने गर्छन् रे ! के गरुन् त बत्ति नभएकाले फोटोकपी मेसिन चल्दैन, पुस्तकालयले बत्ति गएको बेला पनि फोटोकपी गर्ने सुविधा दिएको छैन । समयमा बजेट नआउनाले बाइन्डिङ हुन नपाएका पत्रिकाहरू भैंभरि असरल्ल देखिन्छन् ।

फेरि लागौं पुस्तक लगेर फिर्ता नगर्ने भिआइपीहरूतर्फ । सय जना भन्दा बढी भिआइपीहरूको छुट्टै लिस्ट बनाइएको छ । उनीहरू सबैजसोले विश्वविद्यालयमा संघर्ष गर्दै पढ्दाका दिनमा पुस्तक लगेका हुन् । पुस्तकालय प्रशासनले भिआइपीहरूसँग ठाडै कुरा गरेर ‘पुस्तक फिर्ता लेउ’ भन्न पनि नसक्ने कारवाही गर्ने त कुरै परको । ‘उनीहरूलाई पटक पटक पत्र पठायौं’ ढुङ्गाना गुनासो गर्छन्, ‘तर ठेगाना मिलेन भनेर पत्र फिर्ता आउँछ ।’ ढुङ्गानाकाअनुसार ती ठूलाबडासँगबाट पुस्तक फिर्ता ल्याउने काम ‘मिडियाको मात्रै हुन सक्छ । ‘पत्रपत्रिकामा आएपछि लाजले भएपनि धेरैले फिर्ता ल्याएका छन् ।’ उनी भन्छन् । तर पनि केहीले अझै लाज पचाइनै रहेका छन् । ढुङ्गानाले मिडियाले यसबारेमा इस्यू उठाइदिन आग्रह गरे । नगरुन् पनि किन ? यसो नगरे पुस्तक फिर्ता आउँदैन, आफूहरूले ती भिआइपीसँग कुरा गर्ने हिम्मत छैन, फेरि जागिरको सवाल पनि त पर्ला ! कर्मचारी विवश छन् ।
एक पाठक पुस्तकसँग

पुस्तक फिर्ता नगर्ने थुप्रै भिआइपीमध्ये सुदिप पाठक, हरिहर दाहाल, लक्ष्मण, बस्नेत, राजन पन्त, कमल थापालगायतका छन् । उनीहरूले लोहनीकै बाटो रोजेर लगेको किताब फर्काएका छैनन् । सुदिपले सन् १९८१ मे र १९८८ मार्च २३ मा लगेको दुइवटा पुस्तक (१.राहुल सांस्कृतायन ऋग्वेदिक वाय र वेपर पोलिटिकल थट) फिर्ता गर्न बिर्से । यसैगरी केही वर्ष अघि हत्या गरिएका सशस्त्र प्रहरी महानीरिक्षक कृष्णमोहन श्रेष्ठले पनि सन् १९८२ मा पुस्तक लगेको रेकर्ड छ । उनी त मरेर गए, तर उनले लगेको पुस्तक पनि उनीसँगै स्वर्गे भयो ! नेता राजन पन्तले सन् १९८३ मा ‘पाल्मर इन्टरनेश्नल रिलेसन्सः द वल्ड कम्यूनिटी इन ट्रान्जिसन’ नामक पुस्तक लगेर फिर्ता पठाएका छैनन् । यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि  सन् १९८३ र १९८४ मा लगेका दुइवटा पुस्तक अझै फिर्ता गरेका छैनन् । उनले लगेका दुइवटै पुस्तकहरू कविताका हुन् ( १.नेराप्रप्र आधुनिक नेपाली कविता र २. बीसौँ शताब्दि पूर्वार्धका केही आधुनिक कविता) । यी भिआइपीहरूले नत आफूसँग पुस्तक सुरक्षित भएको जानकारी नै दिन्छन् नत किताब फिर्ता नै पठाउँछन् ।

अनलाईनबाट पुस्तक रिन्यू गर्ने, फाइन तिर्ने, सदस्यता लिने, पुस्तक पढ्ने, लाइब्रेरीमा आएका नयाँ पुस्तकबारे जान्ने केही पनि सुविधा छैन यहाँ । छ त केवल १०० रुपैंयाले १० घण्टा चलाउन मिल्ने इन्टरनेटको सुविधा । त्यो पनि कछुवा चालको ! छुच्चा पाठकहरूले पुस्तकका पाना च्यातेर, बीचबीचमा केरकार पारेर पुस्तकहरू कुरूप बनाएका छन् । यसो गरेको थाहा पाए प्रशासनले पुस्तकको मूल्य बराबरको दुईगुना फाइन लिन्छ । यसैगरी च्यातिएको पेज रिप्लेस गर्न पनि पठाउँछ । तर यो कारवाही पनि कार्यान्वयन भएको यदाकदाका रेकर्ड मात्रै छन् ।

अहिले पुस्तकालयको भवनको तला थपिँदै छ । भवन संचालनमा आएपछि अहिलेको अवस्थाभन्दा स्वरूप केही फिर्ला, सुविधा बढाउलान् भन्ने आस गर्छन् पाठकहरू । ‘माथि भवन बनाउँदै छौँ । अब पुस्तक सुरक्षित हुनेछन्, पाठकहरूलाई पनि थप सुविधा दिने योजनामा छौं ।’ ढुङ्गाना भन्छन् । उनको कुरा त सकारात्मक छ तर महंगा र लोपोन्मुख पुस्तकहरू जिर्ण भवनको कारण पानीले भिजेर लुछुप्पै भए भन्दा पुस्तक प्रेमी जोकोहीको मन धुरुक्कै रुन्छ । हो ! पुस्तकालय भवन चुहिने भएको छ । त्यसैले पुस्तक रहेका सबै र्‍याकलाई दुलहीजस्तै घुम्टो ओढाइएको छ, प्लास्टिकको ! तरपनि कताकताबाट पानी रसाएर पुस्तक नभिजी छाड्दैन । यस्तो कि ती महङ्गा पुस्तक जसरी पनि भिजाइदिने इख नै लिएको छ, झरिले !

विदेशस्थित ठूला–ठूला पुस्तकालयहरूमा पुस्तक लगेर फिर्ता नगर्नेलाई कडा कारवाही गरिन्छ । समयमा पुस्तक फिर्ता नगर्नेलाई घण्टाको हिसाबले शुल्क तिराइन्छ ! खपिनसक्नु सजाय दिने हो भने त लगेको पुस्तक फिर्ता नगरेर कसलाई सुख्ख र ! हो यसैकारण उताको पुस्तकालय व्यवस्थित छ, बेढङ्गी छैन । हाम्रो व्यवस्थित छैन, बेढङ्गी छ ! सभ्य जीवनको एउटा गतिलो काइदा पुस्तकको संगत हो । देशको यो ठूलो पुस्तकालयको यस्तो हरिबिजोग छ ! हामीसँग स्रोत साधन गतिला छन्, त्यसलाई प्रयोग गर्ने काइदा जानेका छैनौँ । हामीलाई अरू कसैले पाठ पढाउन सक्दैन, समयले बाहेक ।

(केही महिनाअघिका लाइब्रेरी प्रशासनका व्यक्ति र त्यहाँ पढ्न आउने अध्येताहरुसँग गरेको कुराकानीपछि यो आलेख तयार भएको थियो ।)

Saturday, September 29, 2012

अक्षरहरूको बदलिँदो संसार



सहरमा अब नयाँ सेलिब्रेटीको बलियो उपस्थिति देखिन थालेको छ । लेखक ! हिरो, हिरोइन, गायक, गायिका त सँधैका सेलिब्रेटी भइहाले । तर हामीबीचको समयले यसरी कोल्टे फेर्दैछ जसले लेखकहरूलाई पनि उँचो स्थान दिइरहेको छ । पुस्तक लेख्ने, पढ्ने, प्रकाशन गर्ने, साहित्य महोत्सव आयोजना गर्ने प्रयासले अक्षरहरूको सौन्दर्यमा परिवर्तन गरिरहेको छ ।

लेखक खगेन्द्र संग्रौलाले अनुमान गरेका थिएनन् उनी एकदिन ‘सेलिब्रेटी राइटर’ होलान् भनेर । “त्यतिबेला सत्तासँग नजिक भएकाहरू मात्र लेखक भैटोपलिन पाउँथे ।” संग्रौलाले इतिहासको श्यामश्वेत यथार्थ भन्दा अहिले हामी अवाक् हुन्छौँ । निरंकुश शासन व्यवस्थाको एउटा विशेषता त्यही हो सायद । आफ्ना हित गर्ने नठानिएकाहरूको लेखकीय अस्तित्व नै थिएन । पत्रिकामा अनुहार देखिनु आफैँमा ठूलो कुरा थियो । अझ त्यसमा छापिएको लेखमार्फत् आक्कल–झुक्कल पारिश्रमिक पाउँदा त खुसीको सीमा के रहोस् । समयको राजमार्गमा सबैको पालो आउँछ भनेजस्तै सबैथोक विस्तारै परिवर्तन हुँदै गए । लेखकको पनि पालो आयो ।


साहित्य महोत्सव
हज्जारौँ पुस्तकप्रेमीमाझ गतिलो प्रभाव छाडेर एनसेल नेपाल साहित्य महोत्सव, २०१२ (NCell Nepal Literature Festival, 2012) भर्खरै सकियो । साहित्य महोत्सवले लेखकलाई ‘ह्युमनाइज’ गर्छ भन्दै विनोद मेहताले यस्ता महोत्सवको सौन्दर्य बढाइदिए । धेरै पाठकहरूलाई एकै ठाउँमा भेला गर्ने, दर्जनौँ लेखक राखेर गम्भीर बहस गर्ने परिपाटी नेपालमा भर्खरै भित्रँदै छ जुन आफैँमा खुसीको कुरा हो । पुस्तक प्रकाशन र प्रवद्र्धनमा लगानी गर्नु जोखिमको विषय मानिँदा पनि विस्तारै यसको लागि केहीले प्रयास थालिरहेका छन् । नेपालमा वर्षमा अन्तर्राष्ट्रिय स्तरका दुईओटा मात्र साहित्य महोत्सव हुँदैआइरहेका छन् । बुकवर्म ट्रस्टको अग्रसरतामा नेपाल लिटरेचर फेस्टिभल र अर्को, काठमाण्डौँ लिटरेरी जात्रा (Kathmandu Literary Jatra) । महोत्सव आयोजना गर्ने परिपाटी सुरु भएको केवल दुई वर्ष मात्र भयो । प्रयास आफैँमा उत्साहवर्धक छ ।
Photo: The crowded dabali in NCell Nepal Literature Festival. Clicked by-CP Aryal
भारतबाट विनोद मेहता (Vinod Mehta), अमिश त्रिपाठी (Amish Tripathi), अद्भैता कला (Advaita Kala), मनप्रसाद सुब्बा (Manprasad Subba) गरी चर्चित लेखकहरूको उपस्थितिले भर्खरै सकिएको महोत्सवको प्राणमा सुरम्य वायु भरिदियो । देशको कला र साहित्यको सम्बद्र्धनमा आफैँ बढी खट्नुपर्ने सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमै नीजि स्तरबाट युवाहरूले महोत्सव गराए । सरकारी निकायको निष्कृय शैलीलाई यसले गतिलो चुनौती दियो । यसले प्रतिष्ठानलाई बेस्सरी झस्काएकै हुनुपर्छ । साहित्यलगायत अर्थशास्त्र, समाजशास्त्र, कुटनीति, इतिहास जस्ता विषयमा भएका गम्भीर बहसले गतिलो प्रजातान्त्रिक परिपाटीको शक्तिबारे हामीलाई धेरै कुरा सिकाए । यसलगत्तै दुई महिनापछि काठमाण्डौँ लिटरेरी जात्राको दोस्रो संस्करण पनि हुँदैछ । त्यसमा पनि कैयौँ लेखकहरूको सहभागिता रहने छ । नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेन भनी डाँको छोडेर रुने हामीलाई यस्ता मेलाले पहिला आफ्नो सक्षमता जाँच्न सिकाउँछन् । दक्षिण एसियाका प्रत्येक मुलुकमा दर्जन बढी साहित्य महोत्सव भैरहँदा हामीले चाहिँ मानिसहरूलाई पुस्तक पढ्ने लत बसाल्ने उपाय अवलम्बन गरिरहेका छौँ । मान्छेहरूलाई कसरी हुन्छ पुस्तकको स्वादीलो रस चखाउने अनि उनीहरूलाई विस्तारै किताबी किरो बनाउने ! अचेलका केही पत्रपत्रिकाका कभर स्टोरीहरूमा सिनेमाका हिरो÷हिरोइन आकर्षक मुद्रामा पुस्तक पढिरहेका देखिन्छन् । आम मानिसहरूको आइडियल भएर बाँचेका ती पात्रलाई अगाडि सारेरै भएपनि पुस्तकको लत बसालिदिने परम्परा राम्रै मान्न सकिन्छ । यसले मानिसमा पुस्तकको क्रेज आफसेआफ जबरजस्त बनाइरहेको छ ।

Saturday, September 1, 2012

बौद्धिक बेइमानी


-सिपी अर्याल (CP Aryal)

नचोर चौर्यम् नराज्य हार्यम् नभातृ भाज्यम् नचभारकारी व्ययकृते वर्धतएवंनित्यम विद्या धनम् सर्वधनम् प्रधानम् (विद्या यस्तो धन हो जसलाई न चोरले चोर्न सक्छ न राज्यले हरण गर्न सक्छ न दाजु–भाइबीच बाँडफाँट गर्नुपर्छ न यो गह्रुङ्गो नै हुन्छ, जति खर्च गरे उति बढ्छ, विद्या नै सबैभन्दा ठूलो धन हो) विद्या चोर्नै सकिँदैन भन्दै गुणगान गाउने संस्कृतको सर्वकालिक यो श्लोक ‘प्लेजिएरिजम’ (Plagiarism) वा ‘इन्टलेक्चुअल डिसअनेस्टी’ (बौद्धिक बेइमानी) को सवालमा भने असान्दर्भिक भयो ।

गत अगस्तकै एउटा सन्दर्भः टाइम म्यागजिन र सिएनएनका सेलिब्रिटी पत्रकार फरिद जकारिया (Fareed Zakaria) लाई ज्ञानको के कमि थियो होला र उनले ‘चोरी’ गर्नु पर्यो । जकारिया अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, अमेरिकी विदेश नीतिका ज्ञाता मानिन्छन् । त्यतिविधि ज्ञान र अनुभवले परिपक्व उनले आफ्ना पाठकलाई उल्लु बनाउन सकिन्छ भन्ने सोँचेर त्यसरी चोरी गरेका त अवश्य होइनन् होला । अनि हार्वड प्राध्यापकले दि न्युयोर्करमा लेखेको लेखको दसबाह्रओटा शब्दको स्रोत उल्लेख नगरी आफूले लेख्दै आएको स्तम्भमा हुबहु सार्न जकारियालाई कुन चाहिँ कुराले वाध्य बनाएछ त ? कुनै ठूलो विचारको प्रतिनिधित्व पनि नगर्ने सो एक लाइन मात्र सारेका थिए जकारियाले । तर उनको त्यो चोरीको शैलीप्रति व्यापक आक्रोश देखिइरहेका छन् । उनले पत्रकारितामा कहिल्यै प्रवेश नपाउने सजाय दिइनुपर्ने आवाजहरू उठिरहेका छन् ! ज्ञान, समय वा स्रोतको कमिले मात्रै होला र जकारिया जस्ता विद्वानले त्यस्तो चोरी गर्ने गरेका ? कि चर्चामा आउने एउटा अर्को हतियार उचालेका होलान् ? गरेको गल्तीप्रति जकारियाले “त्यो गम्भीर त्रुटी थियो जसको जिम्मेवार म आफै हुँ” भन्दै क्षमायाचना गरे । नयाँ विचार प्रवाह गरी दुनियाँलाई तरंगित बनाउन काँध गह्रुङ्गो पारेको जिम्मेवार व्यक्तिले अरूको विचार चोरी गर्नु ठेसलाग्दो तथ्य हो ।

Saturday, June 23, 2012

बुल्डोजरले बनाउँदै काठमाडौँ

-सिपी अर्याल (CP Aryal)

आफूले दुखजिलो गरेर जोडेको सम्पत्तिमाथि सरकारी डोजर चल्ने भएपछि काठमाडौँ क्षेत्र नम्बर पाँचका बासिन्दा आफ्ना जनप्रतिनिधि नरहरी आचार्यको शरण पुगे । जनताकै हितमा लाग्छु भनि प्रण गरेका आचार्यले जनताहरूलाई समस्या परेकै हो भन्ने ठहर गरे । अनि ‘घरबासै उठाउने आक्रामक शैली’मा भइरहेका सडक विस्तारको कार्यक्रमविरद्ध लाग्न वाध्य भए उनी । “नियम मिचेर बनाइएका घरटहरा भत्काउने भनिएपनि” भन्छन् “सरकारको शैली गुण्डागर्दी जस्तै थियो । लालपुर्जा र नगरपालिकाले पास गरेका नक्सै बोकेर जनता मकहाँ आए ।” अनि सरकारी शैलीविरुद्ध संसद्मा नरहरीले आवाज उठाएपछि संसदीय समितिले तत्तत् क्षेत्रमा सडक विस्तारको काम रोक्ने आदेश दियो । जनता केही भएपनि ढुक्क भए । तर अवस्था सुल्झिसकेको भने छैन । “सडक विस्तार अभियानविरुद्ध म लागेकै होइन नि ! सरकारी नियतमा खोट देखेर सम्बन्धित निकायलाई होशियार बनाउन खोजेको” आचार्यको सुझाउ छ “गलत नियत र जनतालाई दुख्ख दिने उद्देश्यले सरकारले कहिल्यै काम गर्नु हुँदैन ।”

गणतन्त्र स्थापना पछि संविधान बनाउन भनि लागिपरेको बाबुराम भट्टराईको सरकार एकाएक बाटो फराकिलो पार्ने काम गर्न तम्सियो । आजभन्दा साढे तीन दशकअघि बनेको ‘नगर विकास कार्यान्वयन ऐन २०२९’ मिचेर बनेका घरटहरा भत्काउने निर्णय बल्ल आज आएर गरियो । राजधानी शहरको तीब्र विकास गर्ने उद्देश्यसाथ शक्तिशाली निकायको आवश्यकता भएपछि नगर विकास समिति विघटन गरियो । नगर विकास प्राधिकरण बनाइयो । सरकारको पूर्ण समर्थन र व्यापक अधिकारसाथ त्यसको आयुक्तमा केशव स्थापित नियुक्त भए जो काठमाडौँका पूर्व मेयर पनि हुन् । अहिले नगर विकास प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक महाशाखालगायतका उच्च निकायको संयोजनमा सडक विस्तार कार्यले गति लिइरहेको छ ।

दशकौँदेखि कसैले छुन नसकेको कृष्ण पाउरोटी, एभरेष्ट होटललगायतकाको पर्खाल भकाभक डोजरले भत्काउन थाल्यो । जतिसुकै दबाब आउँदा पनि सरकारी अधिकारीहरूले डोजरको एक्सिलिरेटर थिचिरहे । आचारसंहिता मिचेर बनाइएका घरहरू धमाधम भत्काइए, पर्खालहरू गल्र्यामगुर्लुम ढलाइए । साँघुरो काठमाडौँ फराकिलो बन्ने भयो भनी धेरै खुसी भए । काठमाडौँ बल्ल सपाट हुनेभो भनेर सपना पनि देखे कतिले ।

Saturday, May 12, 2012

थकाई मेट्न कहाँ ?



राजधानी सहर काठमाडौँको जीवनलाई व्यस्तताले यसरी गाँजिसकेको छ कि सप्ताहन्त वा साताका अन्य दिनका बिहानी र साँझपखका समयमा स्वच्छ हावा लिन वा सामान्य हिँडडुल गर्न हरियालीपूर्ण सुन्दर पार्कको आवश्यकता महानगरको न्यूनतम पूर्वाधार हो। विदेशका कुरा गर्ने हो भने प्रत्येक साना-ठूला सहरको निश्चित दूरी वा क्षेत्रमा यस्ता पार्क स्थापना सहरी विकासको अभिन्न अङ्ग नै हुन्। झन्डै १५ लाख जनसङ्ख्याको काठमाडौँ उपत्यकाको आधुनिक रहनसहनसँगको सामिप्यताका साथै बढ्दो जनघनत्वका फलस्वरूप सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्ने सार्वजनिक स्थलको कमी टड्कारो रूपमा देखिन थालेका छन्। त्यसो त यहाँ रत्नपार्क, त्रिभुवनपार्क, शङ्खपार्क, बालाजु बाइसधारा पार्कजस्ता केही सीमित पार्क नभएका होइनन् तर बढ्दो जनसङ्ख्यालगायत ती पार्कहरूको उचित मर्मत, सम्भार तथा सुविधा थप नगर्न नसकिएकाले यी पार्कहरूबाट उपत्यकावासीलाई आधुनिक समयसुहाउँदो सुविधा प्राप्त हुन सकिरहेको छैन। नगरपालिकाको दायित्वअन्तर्गत पर्ने यस्ता सार्वजनिक पार्कको जिम्मा काठमाडौँ महानगरपालिकामा छ, काठमाडौँका हकमा। महानगरपालिकाअन्तर्गतको वातावरणीय विभाग यी पार्कहरूलाई हाँक्ने जिम्मा लिएर बसेको छ।

Photo : CP Aryal


विभागले प्रत्येक वर्ष नयाँ पार्क बनाउने योजना बनाउँछ, पुरानालाई व्यवस्थित र सुन्दर पारिने वाचा कस्छ। त्यसका लागि करोडौँ रकम पनि सरकारले छुट्टयाइदिन्छ। तर, प्रत्येक वर्षको कथा उस्तै। ठाउँठाउँमा नयाँ पार्क बन्ने कुरा त परदेशको कथा Û भएका पार्कको पनि समुचित व्यवस्थापन हुँदैन। काठमाडौँ घुम्न आउने विदेशीले महानगरपालिकाको आधिकारिक वेबसाइटमा गएर यहाँ सञ्चालनमा रहेका पार्कबारे जानकारी लिने प्रयास गरे पनि त्यो व्यर्थ रहनेछ !

पार्क तथा सार्वजनिक उद्यान सम्बन्धमा वातावरणीय व्यवस्था विभागले गर्छ चाहिँ के त ? "विभागअन्तर्गत सञ्चालित रत्नपार्क, शङ्खपार्क र बालाजुपार्कको रेखदेख तथा नयाँ पार्क बनाउने काम गर्छ," विभागको हरियाली प्रवर्द्धन शाखाप्रमुख गङ्गाधर गौतमको कथन छ। सार्वजनिक उद्यान तथा सभागृह विकास समितिले पहिले गर्दै आएको सो काम पछि काठमाडौँ महानगरपालिकाले वातावरण विभागको जिम्मा लगाएको हो। जिम्मामा परेका यी पार्कमा थोरैमात्र शुल्क लिएर सर्वसाधारणलाई मनोरञ्जन गर्ने मौका दिने उद्देश्य विभागको हो। तर, रत्नपार्कमा केहीबेर टहलिएर थकान मेटौँ भन्दा त्यहाँ झनै तनाव उत्पन्न हुन सक्छ। देशकै पुरानो मानिएको रत्नपार्कको हरिबिजोग छ। गत वर्ष रत्नपार्क तथा रानीपोखरीछेउछाउका ठाउँलाई केही व्यवस्थित पार्न भनी सरकारले ८५ लाख रुपियाँको बजेट छुट्टयायो। दक्षिणतिरको अतिक्रमित भागलाई व्यवस्थित पार्ने, गणेशमान शान्तिवाटिका व्यवस्थित पारी त्यसवरिपरि कम्पाउन्ड हाल्ने, भित्रीबाटो मर्मत गर्ते, आकाशेपानी सङ्कलन कार्य व्यवस्थित पार्ने, ग्रीनहाउस बनाउनेबारे लगाउने काममा बजेट खर्चने योजना थियो। तर, आर्थिक वर्ष सकिनै लाग्दा माथि भनिएका कार्य राम्ररी सकिने केही छाँट पनि देखिएको छैन। प्रत्येक वर्ष छुट्टयाइने यतिका विधि बजेट कहाँ जान्छ कसैलाई थाहा हुँदैन।

Source:  www.google.com

आउने वर्षमा उपत्यकामा केही पार्क थप्ने योजना विभागसँग छ। "ज्ञानतीर्थ पार्क, शोभा भगवती पार्क, बौद्ध महाँकालपार्कलगायत केही नयाँ पार्क बनाउने काम पाइपलाइनमा छन्," यसैगरी वडा नम्बर १२, १३, १४ र कुलेश्वर आवास क्षेत्रमा हरियाली प्रवर्द्धन तथा पार्क निर्माण गर्ने योजना आफूहरूसँग रहेको सुनाउनुहुन्छ गौतम। निजी लगानीमा बनेका थुप्रै पार्क छन्। तीसँग समन्वय गरेर अगाडि बढे हातमा केही पर्न सक्थ्यो वा भनौँ जनतालाई राहत मिल्ने केही काम गर्न सकिन्थ्यो होला। तर, यस सवालमा पनि विभाग एक्लै हिँडिरहेको छ। निजीस्तरमा चलेका पार्कसँग कुनै समन्वय छैन रे। चलाइएका निजी पार्कहरू अतिक्रमणको समस्याले ग्रस्त छन्। सरकारी र निजीस्तरको समन्वय भएको भए अतिक्रमणको समस्या सुल्झाउने सरकारी प्रयास फलदायी हुन सक्थ्यो नि।

Photo : CP Aryal


यस्ता छन् पार्कहरू
केशरशमशेरले वि.सं. १९७६ तिर उतिबेलाका सर्वसाधारणले सपनामा मात्र कल्पन सक्ने किसिमको एउटा उद्यान बनाए। त्यो उद्यानको नाम स्वप्न बगैँचा। त्यतिबेला युरोपेली विधिअनुसार अत्याधुनिक तरिकाले बनाइएको सो बगैँचा राणाहरूको निजी प्रयोजनका लागि थियो। सर्वसाधारण त त्यही एउटा टुँडिखेलमा खुम्चनुपथ्र्यो। ६ ऋतुको प्रतिनिधित्व गर्ने ६ वटै पिलर भएको सो उद्यान आर्किटेक्ट किशोर नरसिंहले 'डिजाइन' गरेका थिए। कला र आधुनिकताको उत्कृष्ट सम्मिश्रणसाथ निर्मित सो बगैँचा स्वर्गजस्तै थियो रे Û समय अन्तरालमा, राणाकालको अन्त्य भयो। त्यसपछि रेखदेख अभावमा सो बगैँचाका फूलहरू ओइलाउँदै गए। बगैँचामा भएको सुन्दर पोखरीको पानी सुक्दै गयो, कलिला माछा मर्दै गए। पछि त्यो बगैँचा नेपाल सरकारमातहत आयो। सरकारीमातहत आएपछि बगैँचाको समुचित व्यवस्थापन हुन सकेन। अथक प्रयासपछि भने सो बगैँचाले केही हदसम्म फेरि पुनर्जीवन पायो। अहिले अत्याधुनिक स्वरूप हासिल गरेको छ र सर्वसाधारणको पहुँचमा पनि आइसकेको छ। व्यापक क्षेत्र ओगटेको यो बगैँचा अहिले पनि काठमाडौँकै उच्चतर उद्यानका रूपमा फेरि स्थापित छ। ठमेलकै प्रवेशद्वारमा रहेको यो उद्यान नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वप्न बगैँचा विकास समिति नामक स्वायत्त निकायअन्तर्गत सञ्चालित छ।

Saturday, April 14, 2012

Truckin' Philosophies


-CP Aryal
Ramri keti ki ta ghamandi hunchhey ki ta murkha (A pretty girl is either too proud or a fool) reads the message on the back of a bus on Ring Road, painted in distinctive bold colours. Colloquially labeled ‘Truck Sahitya’, these whimsical little sayings and slogans can be found etched on the facades of most buses and trucks plying the roads in the country, making for what many passengers and passersby agree are very interesting sights.
Photo: CP Aryal

Heavy vehicles not just in Nepal but in many parts of South Asia are often embellished in this manner, the outside surfaces proffering a canvas of sorts for artistic, and in this case, literary expression. Being that these vehicles are constantly on the move, their customised messages—ranging in theme from love, sex, patriotism to political discontentment among others—are thus carried across long distances, providing an aesthetic and very often humorous break in the monotony of road travel. A particularly lovely little scrap splashed across a tempo said—Lipsi laageko timro kaleji ooth mero afnai kalejiko tukra ho ki jasto lagyo (Your lipstick-coloured lips could very well be a piece of my heart).

यी ‘सन्काही’ कवयित्री


-सिपी अर्याल (CP Aryal)

बीसौँ शताब्दीतिर अमेरिकी र युरोपेली समाजमा व्यापक सामाजिक सचेतना चलिरहँदा कविताको बाटो हिँडिरहेकी एउटी यात्री देखिइन् । बेग्लै रङको ‘फिमेल कम्युनिटी’ बनाउने लक्ष्यसाथ कविताका धारिला बिम्ब बोकेर विश्वसाहित्यमा झुल्कने ती नारीको नाम एड्रियन रिच थियो । “कविताले एकाग्रता भंग गराउन सक्छ, हराएकालाई बाटो देखाउन सक्छ, सुन्दरताको सम्भावनै नभएको ठाउँमा मादकता देखाइदिन सक्छ, छुट्टीएकालाई गजबको बन्धनमा बाँधिदिन सक्छ” भन्दै सुरुआति दिनमा ‘सामान्य कवियित्री’ को बाटो हिँडेकी उनले कालान्तरमा आफ्नो क्रान्तिकारी छवीको कारण एउटा बेग्लै इतिहास कोरिन् । तत्कालीन महिलावादी आन्दोलनको ‘फ्रन्टलाईन’मा शब्दका बारुद बोकेर अघि बढिरहेकी थिइन् उनी ।

हुनत त्यतिबेला महिलाका थुप्रै अधिकार स्थापित भइसकेका थिए । महिलाहरूका सामाजिक तथा राजनीतिक पहिचान सुनिश्चित भइसकेका थिए । तर रिचलाई त्यतिले पुगेन क्यारे ! उनले एउटा पनि पुरुष नभएको ब्रम्हाण्ड कल्पँदै कठोर बिम्बकविता लेख्न थालिन् । कवितामा प्रयोग हुने बिम्बहरू तेजिला हुन्थे, चुलेसीजस्तै । प्रत्येक शब्दमा पुरुषलाई बोहोट्ने उग्र मनसाय हुन्थे । दि आफ्टरवेकजस्तो अत्यधिक चर्चा कमाएको कवितामा उनले नारी पात्रलाई कमजोर सुँडेनी बनाएकी छन् । तर सो दयनीय देखिने पात्रलाई सशक्त श्रृंगार दिएर पुरुषमाथि खनिएकी पनि छन् ।

Adrienne Rich


तिम्रा स्नायुहरूको सुसार गर्दा–गर्दा
मेरा आफ्नै नसाहरू उग्र भए, खैर,
अब थोरैमात्र कठोर समयको उकाली बाँकि छ !
निद्राले तिमीलाई बन्द ढोकाभित्र बाँधिराखेको छ
म उसको बार्दलिमा थ्याच्च बसेकी छु
भित्र उता तिमी सुरक्षित छौ । तर म
एउटी सुँडेनी जस्तै हुँ जो झिसमिसेमा
सबै काम सकेर, हातभरिका रगतका टाटा
पखालेर, स्टोभमा चियादानी बसालेर,
पाँच कोस परको आफ्नै घरतिर लम्कन्छे, प्रसवपिडाको
चर्को ध्वनी उसको टाउकामा भन्भनी रिँगिरहेको छ

हो अहिले म त्यही सुँडेनीसँग छु
जीवनहीन बाटो हिँड्दै
छेउछाउमा आग्ला लगाइएका घरहरू उभिएका छन्
रातभरी गहिरो स्वासप्रश्वास लिएका,
मेरा गोडाहरू फतक्कै गलेका छन्,
बिहानको रातो घामसँगै हामी हिँडिरहेछौँ
त्यो भारी जत्तिकै गह्रुङ्गो छ
एक्सपायर नुहुने उद्देश्यको छ, त्यो खसिरहेको छ,
भालेको बास विस्तारै कम नहुँदासम्म

(दि आफ्टरवेक)

उग्रवादको रेतीमा आफ्ना कविता उद्याउने रिचका कविता कुनै पत्रिकमा प्रकाशित भए तहल्का मच्चन्थ्यो ।

Tuesday, December 20, 2011

ब्लग: मनको बह, सबैलाई कह !

यता जाडोको सिरेटो आँखाका ढकनीबाट मुटुमा पस्दै थियो । उता जोतारे धाइबाले जाडोलाई गलबन्दीले बेर्ने अभिप्रायसाथ आफ्नो ब्लगमा एउटा सुन्दर कविता पोस्ट गरिरहेका थिए । ‘जाडो र गलबन्दी’ शिर्षकमा आफ्नो ब्ल्गको गोरेटोमा धाइबाले कलम डो¥याउँदा यस्तो सुस्केरा सुनियोः

उपहारमा
तिमीले दियौ गलबन्दी
छेक्दै छेकेन जाडो
रोकेन तुसारोको ठिही
तिम्रो उपहारको गलबन्दीभन्दा त
असरदार रहेछ
सुन्दरी सिरेटोको खिरिलो हिलजुत्ता...

धाइबा डट ब्लगस्पट डटकममा शब्द हुटहुटी पोख्ने उनी एक टेलिभिजन एजेन्सीका जागिरे हुन् । तीन वर्ष अगाडिबाट मात्र ब्लग लेखन थालेका धाइबाले आफूलाई अभिव्यक्त गर्ने सहज र सुगम माध्यमको खोजी गर्दा ब्लग फेला पारे र कुनै मिसन बिना त्यही ब्लगमा एकोहोरिन थाले । अरूको भन्दा भिन्न, उनको ब्ल्गमा समाजका झिना मसिना झैँ लाग्ने मान्छेहरूका कुरा अट्छन् । यसबाहेक धाइबाले शंकर लामिछानेबारे एउटा छुट्टै ब्लग पनि चलाउँछन् जसमा लामिछानेका रचना, टिप्पणी आदि पोस्ट हुन्छन् ।

पहिले–पहिले ब्लगलेखन पत्रकारितासँग जोडिएर मात्र आउने गथ्र्यो । नेपालमा पनि यसको सुरुआत त पत्रकारिता मै भिजेका केही युवाको पहलमा भएको हो । दीपक अधिकारी, उज्ज्वल आचार्य र दिनेश वाग्लेको पहलमा ब्लगलेखनको सुरुआत गरियो । युनाइटेड वी ब्लग नामबाट सुरु भएको ब्लग लेखन इतिहास सन् २००४ तिरको कुरा हो । पत्रिकामा पोख्न नमिल्ने व्यक्तिगत भावनाहरू त्यसरी आउन सक्थे ।
Source : blogs.ebrandz.comtagblog-writing-tips


राजा ज्ञानेन्द्रले कु गरेपछि ब्लग नै भर्चुअल आन्दोलनको गतिलो उपाय बन्यो । यो मेसोमा दीपकले पूर्व राजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छन् ! निरंकुश शासनलाई मुखभरीको गाली गर्न पाइँदैनथ्यो । गर्ने के त ? त्यतिबेलका उच्च सरकारी अधिकारी शरद्चन्द्र शाहलाई ब्लग भन्ने के हो केही थाहा रहेनछ । ‘इमेल जस्तै हो है ?’ शाहले यसो भन्ने गरेको सुनाउँछन् दीपक । ‘के खोज्छस् कानो ? आँखो ?’ भैगो नि केटाहरूलाई ! त्यसपछि यसको चर्चा ह्वात्तै चुलियो ।

पछि यी तिनै जनाले आ–आफ्नै ब्लग सुरु गरे । भलै तिनैको ब्लग लेखन थिम एउटै जस्तो छ । दीपक अधिकारी डट नेट नाममा ब्लग चलाउने दीपकको पेजमा पत्रकारीता, फिचर र व्यक्तिगत भावना पढ्न सकिन्छ । यसैगरी पत्रकार उज्ज्वल आचार्यले इन्टरनेट, मिडिया, पत्रकारीता, सोसियल मिडियासहित आफ्ना व्यक्तिगत अनुभव ब्लगमा लेख्छन् । एउटा अंग्रेजी दैनिकमा अनलाईन न्यूज कोअर्डिनेटरको रूपमा कार्यरत उज्ज्वलले नेपालीभोइसेज डटकममा ब्लग लेख्छन् । वाग्ले डटकम डटएनपीमा दिनेश वाग्लेले पत्रकारीता, हाइकिङ, विश्लेषण र व्यक्तिगत टिप्पणी पोस्ट गर्छन् । नेपाली भर्चुअल वल्र्डको ब्लगिङमा अग्रस्थानमा नाम आउने दिनेशको ब्लगिङ चर्चा उतिबेला अन्तर्राष्ट्रिय मिडियाले पनि गरे ।

ब्लगलेखनमार्फत् कसैले आफूले गरेको पेशासँग सम्बन्धित भावना पोख्छन् त कसैले फरक । रेडियो नेपालमा अंग्रेजीमा समाचार वाचन गर्ने श्वेता बानियाले श्वेता बानिया डट वर्डप्रेस डटकममा लेख्छिन् पनि । उनको यो ब्लगमा व्यक्तिगत भावना भेटिन्छ । अंग्रेजीमा लेख्ने बानियाले आफूलाई त्यसरी व्यक्त गर्दा लेखाइबाट चरम सुख प्राप्त हुने ठोकुवा गर्छिन् ।

ब्लगिङको चर्चा चुलिएसँगै यसको थिम र कन्टेन्ट पनि स्पष्ट हुँदै गयो । साहित्य, फोटो ब्लगिङ, कार्टुन ब्लगिङ, व्यापार, राजनीतिक विश्लेषण, व्यङ्ग्य हुँदै ब्लगिङ थिम फरकाकिलो भयो । विशेषतः लेखनमा रुचि भएकाको लागि ब्लग वरदान बन्यो । ब्लगलाई वरदानै मान्ने नाम चलेका अर्का ब्लगर आकार अनिल हुन् । आकारपोस्ट डटकममार्फत् प्रविधि र सोसल मिडियाबारे लेख्ने आकारले आफूलाई प्रोफेस्नल ब्लगर भन्न रुचाउँछन् । ब्लग चलाएर आम्दानी पनि गर्ने उनले यति नै आम्दानी हुन्छ भन्न चाहन्नन् ।

रवी मिश्रले कार्टुन ब्लग चलाउँछन् । एक दैनिक पत्रिकामा कार्टुनिस्टको रूपमा कार्यरत उनले आफूलाई अभिव्यक्त गर्ने सजिलो माध्यम कार्टुन नै पाए । अक्षर हावी भएका हज्जारौँ ब्लग भन्दा फरक रूपमा उनले रेखा र रंगको पनि स्वाद थपिदिने विचारसहित रवीमिश्र डटकम सुरु गरे ।
Source:www.blogtechnica.com


ब्लगले बटुलेको चर्चाको तुलनामा यसको इतिहास धेरै लामो छैन । नब्बेको दशकको उत्तरार्धतिरबाट विश्वमा ब्लग लेखन सुरु भएको थियो । सन् २००० तिरबाट त यसको चर्चा ह्वात्तै चुलियो । मनका भावना निष्फिक्रि व्यक्त गर्न पाउने हुनाले लाखौँ मानिसहरूको आकर्षण यसमा बढ्यो । यसको चर्चासँगै यसमा लेखिने विषयवस्तुमा पनि फरकपन आउन थाल्यो । व्यक्तिगत ब्लग, कर्पोरेट र संस्थागत ब्लग, विधागत ब्लग अनुसार ब्लगको शैलि पनि छुट्टीयो ।

अन्डरग्राउन्ड ब्लगिङ
ब्लगिङ आफैँमा स्वतन्त्र अभिव्यक्तिको गतिलो माध्यम हो । नेपालीकेटी डटनेटमार्फत् छद्म परिचयमा सन् २००७ बाट ब्लग लेख्ने गरेकी नेपालीकेटीले जोकोहीबारे जस्तासुकै कुरा खुलेर लेख्ने हुनाले आफूलाई अरूमाझ चिनाउन मन पराउँदिनन् । सो ब्लगलाई ओपन जर्नल भन्न रुचाउने उनले त्यसमा व्यक्तिगत कुरादेखि राजनीति, व्यङ्ग्य, विश्लेषण, फेसन जस्ता कुरा समेट्छीन् । यसो त उनी एक राष्ट्रिय दैनिकमा स्तम्भ पनि लेख्छिन् । पत्रिकामा त्यसरी लेख्न अप्ठ्यारो लागेको कुरालाई सजिलै ब्ल्गमा पोस्ट गर्छिन् उनले । ‘मलाई हलुका महसुस हुन्छ ।’ भन्छिन् । यसैगरी आफूलाई प्रतुल भन्न रुचाउने एक ब्लगरको अनुभवमा ब्लग उनको डायरी हो । दिनेश वाग्लेले आफूलाई भन्न मन लागेको कुरा समाचारमा भन्दा बेग्लै तरिकाले भन्न पाउनुपर्छ, जसलाई ब्ल्गमार्फत् पोख्न सकिन्छ भनेपछि प्रतुल पनि ब्ल्गमा आकर्षित भइन् ।

नेपालमा अन्डरग्राउन्ड ब्लगरहरूको संख्या थुप्रो छ । जसमा विशेषतः कडा व्यङ्ग्य पोस्ट गरिन्छ । यसरी अरूलाई कडा व्यङ्ग्य गर्दा वास्तविक भन्दा छद्म नाम नै प्रयोग गर्दा सुरक्षित होइने हुनाले पनि यसप्रतिको आकर्षण बढ्दो छ ।

कसरी सुरु गर्ने ?
ब्लग लेखन सजिलो गरि तयार पारिएको प्लेटफर्म हो । यो चलाउन इन्टरनेट पारंगत हुन नपर्ने यथार्थले पनि अभिब्यक्तिको उत्तम उपाय बनेको हो । हामीमाझ सयौँ ब्लग साइटहरू निशुल्क उपलब्ध छन् । निशुल्क ब्लगिङहरूमा एउटा समस्या के छ भने, यसले उपलब्ध गराउने स्पेस । तर वार्षिक रूपमा केही हजार तिरेर खोल्न पाइने ब्लगहरू पनि उपलब्ध छन् । तिनमा आफूलाई चाहिएको स्पेस किनेर ढुक्कसँग लेख्न सकिन्छ ।

किन लेख्ने ब्लग ?
Source: www.blogtechnica.com
इन्टरनेट विकास नहुन्जेल करोडौँ मानिससामु आफ्नो लेखाइमार्फत् चिनिने उपाय केवल पत्रपत्रिका थिए । त्यसमा लेख्ने स्पेस पाउन उत्तिकै कठिन । तर ब्लगलेखन सुरुआत भएपछि त्यो टन्टो साफ भयो । मानिसहरूले आफूलाई लागेको कुरा ब्लगबाट पोख्न थाले । लेखनलाई नै आफ्नो करिअर बनाउन खोज्नेको लागि ब्लग लेखन उत्कृष्ट उपाय बन्यो । आफ्नो परिचय विश्व आँगनमा प्रस्तुत गर्नुबाहेक परिचय लुकाएर पनि ब्लग लेख्न सकिने काइदाले यसको चर्चा चुलिँदै गयो । युवामाझ चर्को बनेको बेरोजगारी समस्याको हल ब्लग लेखन उपाय पनि बन्यो । यसको विश्वब्यापी बेफाइदा पनि छन्, प्लेगिएरिजम अर्थात् बौद्धिक चोरी । हामीकहाँ जन्मदैँ गरेको साइबर संस्कृतिमा त यो समस्या झनै व्याप्त छ । यो समस्यालाई कम्तिमा न्यूनिकरण गर्न पनि साह्रै अप्ठ्यारो देख्छन् यी सबै ब्लगरहरू ।

ब्लग लेखन सुरु गर्न त साह्रै सजिलो छ । तर दिनहुँ अपडेट गर्न उत्तिकै गाह्रो पनि । लेख्ने दह्रो लगाव नभै यसमा जम्न पनि सकिँदैन । प्रिन्ट मिडियामा जस्तो कुनै एउटा सवाल र शब्द सिमामा बाँधिएर लेख्नु नपर्ने र आफूले चाहेकै दिन संसारलाई आफ्नो कुरा खुलस्त भन्न सकिने हुँद सेल्फ एक्सप्रेसनको गतिलो माध्यम ब्लग भएको छ ।
-सिपी अर्याल (CP Aryal)
(Appeared in Yuwamanch, magazine 2068 Poush issue)