Thursday, April 24, 2014

मोदी–मेनिया

सिपी अर्याल (CP Aryal)

नरेन्द दामोदरदास मोदीको जीवन–स्केचमा उनको परिश्रम र कलंकको धब्बाको कोलाज छ । प्रधानमन्त्रीको रेसमा भिडिरहेको उनको रंगीन पृष्ठभूमिसँग श्यामश्वेत विगत् पनि गाँसिएको छ । उनको (कु)ख्यातीको कारण आम जनता र संचारमाध्यममा मोदी–मेनिया छ । भारतीय राजनीतिक इतिहासमा मोदीजस्ता चतुर, विवादित र चर्चित अर्का राजनीतिज्ञ छैनन् ।

मसालेदार बलिउड सिनेमा भन्दा कुनै एङ्गलबाट कम नदेखिने भारतीय राजनीति जारी निर्वाचनको यो माहौलमा त पूरै फिल्मी देखिन्छ । यसपाली चुनावमा भाजपाको तर्फबाट प्रधानमन्त्रीको प्रत्यासी भएर लडेका मोदीको उपस्थितिले चुनावलाई मसालेदार बनाएको हो । भारतको अत्यन्त तल्लो वर्गको जनसांख्यिक प्रतिनिधित्व गर्ने मोदीलाई ‘चायवाला’ पनि भनेर चिनिन्छ । किनकि, उनी कुनैबेला भारतकै रेल्वे स्टेसनमा चिया बेच्थे । अर्कोतर्फ, ‘प्रिन्स’ राहुल गान्धी छन् जसले आफ्नो कुलको ‘डाइनेस्टी पोलिटिक्स’ कायम राख्न कंग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएर मोदीसँगै भिडिरहेका छन् । मोदीले भारत स्वतन्त्र भएयताको ‘नेहरु–गान्धी डाइनेस्टी’को राजनीतिलाई अन्त्य गर्न चाहन्छन् भने राहुलले चाहिँ त्यसलाई निरन्तरता दिन । रेसमा केजरीवाल पनि छन्, जो केही हप्ता यता मोदीको प्रचारशैलीको कारण छायामा परेझैँ देखिन्छन् । पल्ला भारी कसको होला त्यो कुर्न केही हप्ता पर्खनुपर्ने हुन्छ !
त्यतिबेला उनको मनभित्र केके हुन्डरी मच्चिरहेको थियो । १२/१४ वर्षको हुँदा एकदिन बाआमालाई आफूलाई जोगी बन्न मन लागेको बताए । छोराको कुराले बाआमा तर्सिए । किनभने, मोदी सानै हुँदा एउटा जोगीले उनलाई हेर्दै उनी कि जोगी हुने कि राजनीतिज्ञ हुने बताएका थिए ।

“हिमालयतिर घुम्न जान्छु” बाआमासँग मोदीले साह्रै करकर गरे ।

“जा त नि !” बाआमाले पनि भन्दिए ।


हिमालयतिर जानुभन्दा धेरै अघि राष्ट्रिय स्वयंसेवक संघको सदस्यता लिएका थिए उनले, गाउँमै खुलेको एक शाखामार्फत् । त्यतिबेला उमेर थियो ८ वर्ष । ‘जीवनमा केही गर्ने’ अठोटले अदृश्य रूपमा मनमा जरो गाडिसकेकाले संघको सदस्यता लिएपछि मोदीको व्यवहारमा केही परिवर्तन भएछ ।

त्यहीबीचमा उनको बिहे गर्ने कुरा घरमा चल्यो । त्यतिबेला मोदी १३ वर्षका थिए ।

१३ वर्षको हुँदा जसोदाबेन चिमनलालसँग मोदीको सादी भयो । तर गौना हुन पाएन । मोदी १८ वर्षको हुँदा जसोदाबेनलाई घरमा बुहारीको रूपमा भित्राउने तयारी भयो, त्यसलाई गौना ल्याउने पनि भनिन्छ । तर बिहेप्रति आफ्नो रुचि नभएको बताउँदै उनी परिवारबाट टाढिएर हिमालयतिर हिँडेका थिए । कहाँ जाने, किन जाने, कहिले फर्कने कसैलाई केही थाहा भएन । बाआमाको तेस्रो छोरो नरेन्द्रको अत्तोपत्तो भएन । परिवार आत्तियो ।

दुई वर्षपछि चाहिँ उनी अचानक टुप्लुक्क घर आइपुगे !

त्यसपछि फेरि जसोदाबेनलाई गौना ल्याउने तयारी भयो । बिहेमा रुचि नभएकोले मोदी क्रुद्ध हुँदै एक्लै अहम्दाबाद हिँडे । त्यहाँ गएर पनि चिया पसल चलाउन काकालाई मद्दत गरे । पछि आफैले सानो चियापसल खोले । पसलमा हिन्दू स्वयंसेवक संघका प्रचारकहरू आएर गफ चुट्थे । तिनीहरूको संगतसँगै मोदी पनि संघमा आबद्ध भए । संघका प्रचारकलाई चियानास्ता बनाउने, संघ कार्यालयको बढारकुँढार गर्ने काम गरे, एक वर्षसम्म । वाक्शैली र एकोहोरो काम गर्ने व्यवहारले ठूला मानिसलाई प्रभाव पारेका मोदी उँभो लाग्न थालिहाले, संघमा प्रचारक भएर कामगर्दै । प्राय आक्रामक बोली बोल्ने, तोकिएको काम मिहिनेत पूर्वक गर्ने उनको शैली संघभित्र प्रभावशाली बन्दै गयो ।


संघको सबैभन्दा सानो कारिन्दाबाट (अन्जानमै) राजनीतिक यात्रा थालेका मोदी भाजपाको स्थापनापछि पनि उत्तिकै शक्तिशाली रहन पाए । सन् १९९५ र १९९८ को चुनावमा मोदी कै कारण भाजपाले ठूलो जीत हासिल ग¥यो । २००१ मा उनलाई सहमुख्यमन्त्री बन्ने प्रस्ताव आयो । त्यसको अस्वीकार गर्दै भने, “गुजरातमाथिको पूरा जिम्मेवारी मलाई दिइयोस् । होइन भने दिँइदै नदिइयोस् ।” शासन सञ्चालनमा उनको अनुभव नभएको र आक्रमक छवी भएकोले आडवाणी र बाजपेइहरू मोदीलाई पूरा जिम्मेवारी दिन हच्किएका थिए । अन्त्यमा, सन् २००२ को निर्वाचनमा भाजपालाई बलियो बनाउन प्रचार गर्नेसहित मुख्यमन्त्रीको जिम्मेवारी दिइयो ।

त्यो सन् २००१ को कुरा थियो ।

मुख्यमन्त्री भइसकेपछि प्रशासन सुदृढ बनाएर अघि बढ्दै थिए मोदी । ठीक त्यतिबेला एउटा भयानक दुर्घटना भयो जुन उनको राजनीतिक करिअरको कहिल्यै नमेटिने धब्बा बन्यो । गुजरातको गोधराबाट गइरहेको रेलमा मुस्लीमहरूले आक्रमण गरी पाँच दर्जन हिन्दू यात्रुहरूलाई जिउँदै जलाएर मारे । त्यसपछि गुजरातमा भयानक हिंसा फैलियो । हिंसामा २००० जति मुसलमान मारिएका तथ्य आए । दङ्गा रोक्न कुनै पहल नगरेको, त्यसलाई अझ फैलाएर हिन्दूलाई काखा र मुसलमानलाई पाखा गरेको आरोप मोदीमाथि लाग्यो । उनी आफै कट्टर हिन्दू समर्थक भएकोले मुसलमानलाई पाखा लगाएका होलान् । गम्भीर आरोपको कारण उनले मुख्यमन्त्रीबाट राजीनामा दिन गठबन्धनसहितका आफ्नै पार्टीले अह्राए । उनले राजीनामा दिए ।

नजिकै आउँदै थियो २००२ को चुनाव ।

त्यही निर्वाचनमा मोदी दोस्रोपटक मुख्यमन्त्री चुनिए । २००२–२००७ को पाँच वर्षे शासनमा मोदीले गुजरातको कायापलट गरिदिए । विकास गरे, मानिसको शैक्षिक अवस्था सुधारे, राज्यको आम्दानी बढाए । सबैभन्दा महत्वपूर्ण त, पहिलेपहिले गुजरातमा लगानी गर्नबाट तर्सिने धनाढ्य ब्यापारिक समुदायको लगानी गर्ने रोजाइ गुजरात हुन थाल्यो ! तथ्याङ्कहरूले बताउँछन्, गुजरात एउटा सिङ्गो मुलुक भएको भए त्यो विश्वको ६७ औँ धनी देशमा पर्ने थियो । मोदीले गुजरातलाई भ्रष्टाचारमुक्त बनाए । गुजरातको विकासबारेको कतिपय तथ्याङ्क अतिरंजित पनि छन् । सूचना–प्रविधिको ब्यापक प्रयोग गर्ने मोदीले ब्लग, ट्विटर, फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत् आफैले अतिरन्जना गर्ने गरेको आरोप पनि लगाइन्छ । प्रजातान्त्रिक मूल्यसँग गाँसिएका भए पनि कम्युनिष्टको झैँ आक्रामक प्रचार शैली उनको रोजाइमा पर्छ ।
गुजरातमा कार्यभार सम्हाल्दा उनी बोलेका थिए, “म यहाँ वान डे म्याच खेल्न आएको हुँ । सिमित ओभरको खेलमा धमाकेदार ब्याट्स्म्यान भएर खेल्दै धेरै रन बटुल्नेछु ।” क्याराभान पत्रिकामा बिनोद जोशले यसबारे टिप्पणी लेखे, “वान डे म्याच टेस्ट सिरिजमा परिवर्तन होला भनेर त्यतिबेला निकै थोरैले अनुमान गरेका थिए । त्यस्तो टेस्ट म्याच सन् २००१ देखि अझै सकिएको छैन ।”

गुजरात र सिङ्गो भारतभरी मोदी कुख्यात पनि भए प्रख्यात पनि भए । उनलाई रुचाउनेले गुजरातको प्रशंसनीय समृद्धि सम्झन्छन् । नरुचाउनेले चाहिँ हज्जारौँको ज्यान लिएको गुजरात दङ्गासहित दक्षिणपन्थ स्वभावलाई सम्झन्छन् ।

गुजरात हिंसाले सिर्जेको मुटु छेड्ने घटनाबाट मानिसहरू तर्सिरहेकै थिए । त्यतिबेला त्यस साम्प्रदायिक दङ्गामा मोदीको मास्टरमाइन्ड रहेको गम्भीर आरोप आयो । यही कारण अमेरिकाले मोदीलाई भिसा दिएन । सिङ्गो विश्वले ‘हत्यारा’को आरोप लगाइरहँदा मोदी मुख्यमन्त्रीमा चुनिएका थिए । उनको मष्तिष्कमा भने मानिसलाई त्यो घटना बिर्साउने अचुक उपाय फुरिसकेको थियो । भ्रष्टाचार, अविकास, अशिक्षा गरिबीले आक्रान्त गुजरातलाई आर्थिक विकास गराएर उकास्ने । त्यसको लागि उनले प्रयास थाले । उद्योगपति, प्रशासक, राजनीतिकर्मी, कृषि विज्ञ, इन्जिनियरलगायत सम्बद्ध विशेषज्ञसँगको भेटघाट तीब्र पारे । सम्मेलनहरू आयोजना गर्दै गुजरातमा लगानी गर्न उद्योगीलाई आग्रह गरे ।

जवाफमा उद्योगी अरबपतिहरूले मोदीतर्फ हेर्दै भन्थे (जस्तै उद्योगी राहुल बजाजले भनेका थिए), “गुजरातमा लगानी गर्ने ? हामीले त्यतिबेलाको हिंसा बिर्सिएका छौँ र ?”

यसले मोदीलाई केही हतोत्साही त बनायो नै । उनीभित्रको महत्वाकांक्षाले निराश चाहिँ बनाएन ।



गुजरात दंगाबारे मुसलमान समुदायकै मानिसको दुईथरी विचार छ  १. मोदीलाई अपराधी ठान्ने र २. त्यतिबेलाको कुरा बिर्सेर अघी बढ्नुपर्छ भन्ने । दोस्रो विचारधारका मानिसको तर्क छ गुजरातको विकासले हिन्दूलाई मात्रै फाइदा पुर्‍याएको छैन, मुसलमानलाई पनि फाइदा पुर्‍याएको छ ।

पहिलो कार्यकालमा धर्मलाई राजनीतिमय बनाएका मोदीले दोस्रो कार्यकालमा त्यो शैली बिलकुल परिवर्तन गर्दै भ्रष्टाचार निवारण र आर्थिक समृद्धिको खाकाअनुसार काम गरे ।

तथ्याङ्क भन्छ, सन् १९९१ मा गुजरातको साक्षरता दर ६१.२ प्रतिशत थियो, सन् २००१ मा ६९.१ प्रतिशत पुग्यो र सन् २०११ मा ७९.३ प्रतिशत पुग्यो । १९९१–२००१ को बीचमा गुजरातमा भन्दा सिङ्गो भारतको साक्षरता दर बेसी थियो । यद्यपि, २००१ बाट मोदीले नेतृत्व गरेपछि चाहिँ सिङ्गो भारतको तुलनामा गुजरातको साक्षरता दरमा ब्यापक वृद्धि भयो । गुजरातको विकास सहरी मध्यम वर्गीयले मात्र चाख्न पाएको र ग्रामीण भेगका दलित र आदिवासी जनताहरू झन् पछि झन् किनारीकृत भइरहेको ब्याख्या अरुन्धती रोयजस्ता लेखिकाको छ । नोबल पुरस्कार विजेता अमत्र्य सेन मोदीका खरो टिप्पणीकार हुन् । मोदी–शासनलाई कडा टिप्पणी गर्दै सेनले भने, मोदीप्रशासनको कारण गुजरातको शिक्षा र स्वास्थ्यको अवस्था असाध्यै खराब भएको छ । सेन यस्ता व्यक्ति हुन् जसले खुल्लमखुल्ला मोदीलाई आफ्नो देशको प्रधानमन्त्रीको रूपमा देख्न नचाहेको बताएका थिए । यद्यपि, किरन बेदीलगायत थुप्रैले चाहिँ मोदीको कार्यकुशलताको तारिफ गर्दै उनले गुजरातलाई जस्तै गुन सिङ्गो भारतलाई लगाउनुपर्ने बताउँछन् । गुजरातको मन्त्रलाई सिङ्गो भारतमा लागू गर्ने ध्याउन्नसाथ मोदी अघि पनि बढिरहेका छन् ।

मोदीको कार्यशैली एकाधिकारवादी छ भलै उनी शतप्रतिशत प्रजातान्त्रिक तरिकाले निर्वाचित होउन् । महत्वाकांक्षी मोदीलाई कतिपयले भारतको सम्पूर्ण समस्या समाधान गर्ने ‘मसिहा’ ठान्छन् भने कतिपयले उनी खतरनाक हिन्दूवादी नेता भएकोले यिनले धार्मिक युद्ध मच्चाएर भारतीय राजनीतिमा उथलपुथल ल्याउने तर्क गर्छन् । भारतजस्तो विशाल देशमा धर्मको कारण उथलपुथल वा ठूलो हिंसा भएमा त्यसले दक्षिणएसिया र विश्व राजनीतिक मञ्चलाई पनि ब्यापक असर गर्ने छ । त्यसकारण, चीन, अमेरिका, बेलायतलगायत केही युरोपेली र दक्षिण एसियाली मुलुकको लागि मोदीको प्रधानमन्त्रीत्व हानिकारक छ । मोदीको शासनकालमा नेपाल–नीतिमा ब्यापक फेरबदल नआएपनि केही हिन्दूवादी दललाई हल्काफुल्का फाइदा पुग्ने अनुमान छ ।
मोदीले सन् २०१२ मा सद्भावना मिसन आयोजना गरे । विभिन्न चरणमा उनी गुजरातका मुसलमानको समर्थन बटुल्न खुब डुले । मिसनले, ‘समुदायमा सबैबीच मेल कायम गर्ने’ उद्घोष गरे । खासमा, मोदीले मुस्लिम–समुदायको मन जित्न त्यसो गरेका थिए । त्यो मिसनमा मोदीलाई एकजनाले मुस्लीम टोपी पहिराइदिन खोज्दा अस्वीकार गरेका थिए । त्यसले पनि केही दिन तनाव सृजना गरेको थियो ।

मोदी कुशल राजनीतिज्ञ नभएर एक अतिवादी हिन्दू कार्यकर्ता मात्र भएको र बिजेपीका अटलबिहारी वाजपेयी र लालकृष्ण आडवाणीको कोटीमा उनी कहिल्यै पर्न नसक्ने टिप्पणी पनि गरिन्छ । टिप्पणीका अनुसार त्यस्ता अतिवादीलाई देशको जिम्मा लगाउनु गम्भीर भूल हो । विश्लेषक भन्छन् मोदी कुनै पनि हालतमा कुशल र सुझबुझकारी राजनीतिज्ञ नभएर एउटा आक्रामक र रिसाहा कार्यकर्ता मात्र हुन् । सधैँ जीतीमात्र रहन खोज्ने, हार्न कहिल्यै नखोज्ने मोदीको रुचि छ । त्यस्तो स्वभावले कि उनलाई प्रधानमन्त्री बनाउँछ कि त जेलमा ज्याक्छ भन्ने तर्क पनि गरिन्छ ।

आर्थिक वृद्धि दर ५ प्रतिशतले घटेको, लाखौँ युवाशक्ति बेरोजगार रहेको र देशमा ब्याप्त भ्रष्टाचार रोक्न कांग्रेस सरकार असफल रहेकोले आफूलाई समर्थन गरी प्रधानमन्त्री बनाउन मोदीले जनतासँग आग्रह गरिरहेका छन् । आफू मध्यमवर्गीय परिवारबाट आएकोले तिनै वर्गको मर्का आफूले मात्र बुझ्न सक्ने तर्क पनि उनको छ । यद्यपि, मोदीको सामाजिक वर्गमा नपर्ने भारतीयहरूको संख्या पनि थुप्रो छ । उनीहरूले मोदीलाई ‘फेबर’ गर्दैनन् । उता गुजरात हिंसामार्फत् ‘मास मर्डर’ गरेको, अतिवादी हिन्दू दृष्टिकोणले हिन्दूइतर जनसंख्याको अहित गर्ने र सिङ्गो देशलाई जातीयतावादको दलदलमा मोदीले धकेल्ने भन्दै युवा नेता राहुल गान्धीलाई प्रधानमन्त्री बनाउन कांग्रेस पनि घुँडा धसेर लागिरहेको छ ।

विगत्मा मुख्यमन्त्री हुँदा मोदीले भारतलाई राम्रो गरे कि नराम्रो र उनी प्रधानमन्त्री भए भने आगत्मा राम्रो गर्लान् वा नराम्रो ? यो बहसले सिङ्गो विश्व तताइरहेको छ । पक्ष र विपक्षका दुवै कुरामा उत्तिकै दम देखिन्छ । भारतमा नेहरुकाल देखि जारी ‘उत्तराधिकारी शासन’को अन्त्य मोदीले गर्नुपर्ने माग कोही गर्छन् भने कोहीले मोदीको आक्रामक हिन्दूवादी छवीको कारण उनलाई पनि नेतृत्व हस्तान्तरण गर्न नहुने तर्क गर्छन् ।

“मोदी देशको कुशल सिइओ हुन्” मुकेश अम्बानीले मोदीको तारिफ गर्दै उनलाई मुलुकको एकमात्र कार्यकारी अधिकृत भनेपनि हिन्दूवादको कट्टर दक्षिपन्थ नीति उनको लागि अभिषाप नै बन्न सक्छ । मोदीलाई त्यसो भन्नु अम्बानीको रणनीति पनि हो, किनकि आर्थिक समृद्धिलाई मात्र प्रश्रय दिएर चुनाव लडिरहेका मोदीको नेतृत्वमा सरकार बने त्यसको फाइदा अम्बानी जस्ता उद्योगपतिलाई प्रत्यक्ष पुग्नेछ भने अरुन्धती रोयले भनेझैँ, “त्यसबाट कुनै लाभ लिन नसक्ने पछाडि परेका आदिवासी जनजातीलाई मोदी सरकार कागलाई बेल पाक्यो हर्ष न विस्मात् हुनेछ ।”



No comments:

Post a Comment