Tuesday, August 27, 2013

सम्झनामा साइकल

-संस्मरण

“ट्रिङ ! ट्रिङ ! ट्रिङ”

दस बज्न दस मिनट बाँकि हुन्थ्यो । घरको ‘एवन’ साइकलको घण्टी तीनफेर बजाइदिन्थेँ, दाहिने हातको बुढी औँलाले । अनि खुरुरुरु साइकल कुदाएर भाग्न कस्सिन्थेँ म ।

“हरे ! आज नि केटोले साइकिल लेर हिँड्यो !” खाना खान भान्सामा पस्नुभएको बुवाले मम्मीसँग भनेको सुन्थेँ, “होमक गरेन होला अनि भाग्यो । साह्रै दुख दियो । येल्लाई क्यार्नी होला हँ ?” उहाँ अफिस जाने बेला साइकल आफ्नो कब्जामा पारेर म दुख दिन्थेँ बुवालाई । तर, त्यसो गर्दा अन्तरमनमा मैले खुसी भोगेको उहाँलाई के थाहा ! मेरा विरुद्ध थप केही भने मैले सिम्किना खानुपर्थ्यो, त्यसैले मम्मी केही बोल्नुहुन्नथ्यो । अफिस जाने बेला मैले साइकल लिएर हिँडेकोमा बुवाको रिस पैतालाबाट सिधै दिमागमा पुग्थ्यो । बेतोडले साइकल कुदाइरहेको म फुच्चेको लागि भने अनुपम आनन्द दिमागबाट पैतालासम्म सुरेली खेल्थ्यो ।

कैँची चलाउन भर्खर सिकेको थिएँ । साइकल पाएपछि पृथ्वीकै फन्को लाउँछु जस्तो लाग्थ्यो । लामो गद्दि भएको र बुढाखाडाले चलाउने स्टाइलको थियो त्यो साइकल । त्यसलाई आफ्नो कब्जामा पार्न म हरकोशिस गर्थेँ । स्कुल जान मन नलाग्दा साइकल लिएर गाउँतिर जान्थेँ, तौलिहवा बजारबाट १० किलोमिटर पर भारतीय सीमासम्मै पुग्थेँ ।
“पन्चड भयो भने कसरी बनाउँछस् भन् !” बुवाले हकार्नुहुन्थ्यो। 

उहाँले नै पैसा दिए मसँग हुन्थ्यो । वा मन्दिर जाँदा चढाउन मम्मीले सँगालेका खुद्रा पैसाहरू चोर्नु पर्थ्यो । अर्को उपाय पनि थियो । बुवा निदाएका बेला ठूलै कसरत गरेर चोर्ने । नत्र म बबुरोसँग कसरी होस् पैसा ! दुई रुपियाँ लाग्थ्यो एक ठाउँको पन्चड टालेको ! दुई रुपियाँ मेरो लागि ट्रोजन युद्ध बराबर !

दिनभरी बजार डुल्थेँ अनि पाँच बज्न दस मिनट जति बाँकि हुँदा बुवाको अफिस पुग्थेँ । मलाई देखेपछि ङिच्च दाँत देखाएर हाँस्नुहुन्थ्यो बुवा । उहाँको हाँसोको अर्थ बुझ्थेँ, अब ‘माइजू होटल’ मा समोसा–मटर, चिया र नमकिन मस्त खान पाइने भो ।

“तँ आउँछस् भनेर कुरीराथेँ ।” घामझैँ सेता दाँत देखाउँदै बुवा हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, “ल हिँड् !”

म चाहिँ जूनझैँ पहेँला दाँत देखाएर मुस्कुराउँथेँ । खुसीले एकफेर बुर्लुक्क उफ्रिउँझैँ लाग्थ्यो । हत्तपत्त बुवालाई साइकल थमाउँथे । उहाँ उभिएरै साइकलको लामो गद्दिमा बस्नुहुन्थ्यो ।

“म कहिले बुवाजत्रो हुन सकुँला अनि उभिएरै साइकलमा बसुँला...” सोँच्थेँ ।

साइकल गुडाउन थाल्नुहुन्थ्यो बुवा । अनि म गुड्दै गरेको साइकलमा बुर्लुक्क उफ्रेर पछि बस्थेँ । साइकल एकफेर थररर काँप्थ्यो । बुवाले त्यसमाथि सजिलै कब्जा जमाउनुहुन्थ्यो ।

“घर जाम् है ! आज पैसा छैन ।”

बुवाले मलाई जिस्क्याउन खोजेको चाल पाउँदिन र मैले ! त्यसैले पछि बसेरै साइकल हल्लाइदिन्थेँ, गुल्टाइदिने उद्देश्यले नि ! बुझ्नुहुन्थ्यो म रिसाएको ।

“ल ल जानी जानी ! मलाई दुख दिन जान्याछस् नि तैँले । स्कुल किन गइनस् भन् ।” बुवाले तुरुप फ्याँक्नुहुन्थ्यो ।

स्कुल नगएको कारण जान्दिनथेँ। नजानेको कुरा कसरी बताउनु !

“दुष्ट छस् नि तँ ।” केही नबोल्नु मुनासिब हुन्थ्यो । किनकि एकैछिनमा ‘माइजू होटल’ आउँदै थियो । त्यसैले बोलेर बुवाको रिसको पारा उकाल्न हुँदैनथ्यो ।

“कता जानी ! माइजूकोमा कि मुरलीकोमा ?”

मुरलीकोमा राम्रा मिठाइहरू हुन्थे, माइजूकोमा समोसा–मटर ।

“आज माइजूकोमा जाम् ।” विस्तारै बोल्थेँ म । अनि साइकलको पांग्रा माइजू होटलतिर गुड्थ्यो । होटल जति जति नजिक आउँथ्यो मेरो मुख रसाउँथ्यो ।

“माइजू येल्लाई समोसा–मटर, नमकिन र चिया दिँदै गर्नुस् म हाटबजारबाट आइहाल्छु ।”

Source: linzfrentrop.wordpress.com
हाटमा छोरो हराउला भन्ने डरले बुवाले मलाई माइजूको होटलमा छोडेर आफू तरकारी किन्न जानुहुन्थ्यो ।

एकपटक माइजू होटलबाट घर फर्केपछि डुल्न मन लाग्यो । साइकल लिएर खुसुक्क निस्केँ । घरभन्दा अलिकति टाढा पुगेपछि हेन्डल नसमाएरै साइकल कुदाउन थालेँ । अचानक झ्याङतिर साइकल आफसेआफ मोडियो । अनि फलामे काँडेतारमा गएर पल्टियो । साइकल एकातिर म अर्कैतिर । तिघ्रामा तिखो फलामको सुइरो रोपिएछ ! रगत भुलुलु बग्दै थियो, तिघ्रामा रोपिएको फलामे सुइरो नडराएरै स्वात्त झिकेँ । बेस्मारी दुख्यो । आँसु थाम्नै सकिँन । एक्लै रोएँ, झाडीभित्र पसेर । बाटोमा हिँडिरहेका एकजना अंकलले मेरो रुवाइ सुनेछन् । बुवालाई चिनेका रहेछन् । मलाई पनि चिनिहाले ।

अंकल झाडीभित्र आए र भने, “नरोऊ बाबु।”

उनले त्यसो भन्दा मलाई झन् रुन आयो ।

फेरि भने, “हिँड अल्ताफकोमा जाम् घाउ ठूलै भएछ ।”

म विस्तारै उठेँ, तिघ्रा समात्दै । तिनले साइकल डोर्‍याए । म पछिपछि लागेँ । अल्ताफ डाक्टरकोमा लगेर मलमपट्टी गरिदिए । टिटनसको सुइ लगाइदिए डाक्टरले । फलामको सुइरो रोपियो, सुइ पनि रोपियो । सुइको रोपाइले रन्थनिएको थिएँ पर अडिएको त्यही साइकल देखेँ । देखेर खुब रिस उठ्यो । घर जान खुब डर लागिरहेको थियो । तिनै अंकलले विस्तारै घर पुर्‍याइदिए । घरमा कोही थिएनन् त्यसैले खुसी लाग्यो । मलाई लागेको त्यतिविधि चोट देख्या भए बुवाले मलाई भकुर्नुहुन्थ्यो । चुपचाप साइकल थन्काएँ । कोठामा पस्नेबित्तिकै पाइन्ट लगाएर बसेँ । एकहप्ताजति घाउ निको भएन । त्यतिन्जेल साइकल पनि चलाइनँ । घटनाबारे घरमा कसैलाई बताइनँ, मलाई उपचार गरिदिने अंकललाई पनि वाचा गराएको थिएँ, बुवालाई नभन्न । भन्नुभएनछ । साइकल मोहले मलाई धेरै चोट दियो, अनि धेरै खुसी पनि ।

अलि सानै हुँदा बुवाले मलाई जिनको राम्रो हाफपाइन्ट किनिदिनुभएको थियो ।

"डेढ सयको हो अलि जतन गरेर लगा । दशैँलाई पनि यही हो ।" भन्नुभएको थियो ।

नयाँ कपडाको खुब जतन गर्थेँ । त्यतिबेला डेढ सयको हाफपाइन्ट लगाउन पाउनु मेरो लागि हिराजडित सुन्दर कपडा लगाएबराबर थियो । नयाँ हाफपाइन्ट नागमणीझैँ भएको थियो । २४ घण्टा मैसँग हुने । साथीहरूले इर्ष्या गरेका थिए, मैले लगाएको त्यो जिनको हाफपाइन्टको । उनीहरूले आफ्ना बुवालाई मेरोझैँ हाफपाइन्ट किनिदिन जिद्दी गर्थे ।

एकपटक त्यही हाफपाइन्ट लगाएर साथीहरूसँग गुच्चा खेलिरहेको थिएँ । परबाट रिक्सा आएको देखेँ । रिक्साको पछिल्तिर झुण्डिन मन लागेर अखपै भयो ! मेरो हाफपाइन्टझैँ नयाँ र राम्रो रिक्सा नजिकैबाट गुडेर गयो । गुच्चा खेल्न छाडेर रिक्सा पछाडि खुरुरु दगुरेँ । अनि पछाडि झुन्डिएँ । ओहो ! एकैछिनमा संसार अँध्यारो भयो । रिक्साको पछाडिको चेनले मेरो हाफप्यान्ट समातेछ ! हाफप्यान्ट धररर च्यातियो । छालामा पनि सुइरो रोपेझैँ भयो । तिघ्रामा रगत देखेँ ।

अनि कराएँ, "ओए रिक्सामान रोक ! म मरेँ ।"

म पछाडि झुन्डिएको देखेकै थिएन उसले तर आवाज सुन्यो, अनि रिक्सा रोक्यो । मलाई देखेर डरायो । अनि समातेर मलाई निकाल्यो त्यहाँबाट । म पिडाले छटपटिएको थिएँ । रिक्सामानले मलाई बोकेर घर पुर्‍याइदियो । मैले च्यातिएको हाफप्यान्ट हेरेर रुवाईको डाँको बढाइरहेको थिएँ । हाफप्यान्ट धुजा-धुजा भएको थियो । म खुब रोएँ ।

बुवा नजिकै आउनुभयो, “नरो भोलि यो भन्दा नि राम्रो किन्दिन्छु ।”

त्यसपछि मैले दुखाइ बिर्सेँ । रुँदारुँदै हाँसे । उपचार गरेर ठीक भएपछि खुब गाली गर्नुभयो, “त्यस्तो राम्रो हाफप्यान्ट च्यातेर मर्‍यो अब किन्दिम्ला नयाँ ! १० पास भएपछि मात्रै तँलाई नयाँ लुवा किन्दिन्छु अब ।” 

ओहो २ कक्षा पढिरहेको फुच्चे म कहिले होला त्यतिका पढिसक्ने ! जिनको राम्रो हाफप्यान्ट लगाउन भएपनि अब मैले १० पास गर्नैपर्ने थियो !

१० पढ्दापढ्दै नयाँ साइकल चाहिँ घरमा भित्रियो । यतिबेला पहिलाझैँ बदमासी गरिनँ । एसएलसी तयारीको चटारो पनि थियो, हुर्किसकेको पनि त थिएँ । नयाँ साइकल मेरो र पुरानो चाहिँ बुवाको । स्कुल पढ्दाजस्तो यसबेला साइकलप्रतिको मोह हराइसकेको थियो तर पनि खुसीचाहिँ थिएँ । मेरो भागमा एउटा सिङ्गो साइकल जो थियो । स्कुलमा नयाँ साइकल लैजान पाएको थिएँ । साथीहरूमाझ ठूलो शान थियो । किनकि उनीहरूमध्ये कसैको थिएन नयाँ साइकल ।

अब मलाई मोटरसाइकलको रहर लाग्न थाल्यो । अंग्रेजी पढाउने विकास सरलाई हेर्थेँ, मोटरसाइकल चढेर आउँछन् । टिर्लिक्क पार्छन् 'क्रक्स' मोटरसाइकल । मेरो साइकल भन्दा पनि बढी चम्केको हुन्थ्यो त्यो ! मैले कल्पन थालेँ, “ओहो मोटरसाइकल किन्ने दिन कहिले होला मेरो ।” सपना पनि देख्न जानेको थिइनँ त्यतिबेला । त्यसैले मोटरसाइकल किन्न सक्ने हैसियत पनि कल्पन जान्दिनथेँ ।

Source: www.rapgenius.com

+ + +

धेरै वर्षपछि समय मेरो पोल्टामा खस्यो । मोटरसाइकल पनि किनेँ । एकफेर घर लगेर बुवालाई देखाउन मन लागेको थियो, असाध्यै । त्यसैअनुसार, आफ्नै मोटरसाइकलमा घर जाने निधो गरेँ ।

“म घर आउँदैछु बुवा, कलंकीबाट भर्खर बस चढेँ ।”

जाँदै त म मोटरसाइकलमा थिएँ । तर घरमा चाहिँ बसमा आइरहेको बताउनु पर्थ्यो । लामो बाटो, पानीमा रुझ्दै घर पुगेँ । साँझमा घर पुग्दा भिजेका लुगा ओभाइसकेका थिए ।

गेटमा मोटरसाइकल रोकेर धेरैबेर हर्न बजाएँ ।

“हरे को हो !” बुवा झोक्किँदै गेट खोल्न आउनुभएको थियो ।

मलाई मोटरसाइकलमा देखेपछि एकछिन ट्वाँ पर्नुभयो । पछाडि जगुभाइ पनि थियो ।

हेडलाइटको प्रकाशलाई हत्केलाले छेक्दै बोल्नुभयो बुवा, “ओहो कस्तो राक्षस हो यो तेती लामो बाटो मोटरसाइकिलमा आउनी गाँठे !”

“गेट खोल्नु न पैला ।” म हाँसे । “साँचो बोले त आउन दिनुन्थ्यो र !”

चुइँ ऽऽऽ गर्दै गेट खुल्यो, पेन्ट नलगाएकोले खिया पर्न थालेछ । बुवाको अनुहारमा उमेरले पारेको खियाजस्तै गेटलाई देखेँ । मोटरसाइकलमा दस घण्टा लामो सफरपछि घर पुगेको थिएँ । बाहिरै आँगनमा मोटरसाइकल राख्न थालेको देखेपछि बुवाले भन्नुभयो, “भित्र बरण्डामा राख् । चिसोले  रङ खुइल्याउँछ ।”

छोरोले कमाउन थाल्नेबित्तिकै किनेको मोटरसाइकल धित मरुन्जेल हेर्न त्यसको नजिक जानुभयो बुवा । माया गरेर त्यसलाई छुनुभयो । अनि भन्नुभयो, “अझै माया गर्न जान्याछैनस् है आफैले कमाएर किन्दानि ।” म हाँसे । बुवा पनि हाँस्नुभयो । बाइक बरण्डामा उकाल्न खोजेँ । एकैपटकमा सकिनँ । फेरि प्रयास गरेँ, टायर चिप्लीयो । तेस्रो पटक पनि सकिनँ ।

“पख् चक्का खराब हुन्छ ।” बुवाले भन्नुभयो ।

अनि गोठतिर लम्कनुभयो । बाइक उकाल्न सजिलो बनाउन एउटा सानो काठ लिन जानुभएको रैछ । बरण्डा र आँगनलाई छुने गरी त्यो फलेक राखिदिनुभयो । यसपाली एकैफेरमा उक्लियो ।

Source: www.flickr.com
“ढङ्गसङ्ग छैन तेसै भटभटे चढ्छ !” आफ्ना दुई हात बाँधेर ढाडतिर लगेर भन्नुभयो । कसैलाई सुझाव दिँदा उहाँले गर्ने पुरानै हाउभाउ हो उहाँको ।

घर नगएको लामो समय भएको थियो । वरिपरि हेरेँ । आफू खेलेको ठाउँ । पर उभिएका थिए बेलौँती र आँपका रुख । मलाई देखेर मुस्कुराएझैँ लाग्यो । ती रुखमा चढेर बाल्यकालको एउटा खण्ड पार भएको थियो । बुढा भएछन् रुख, म चाहिँ तन्नेरी । बाहिर चौकीमा थचक्कै बसेँ । सँगै गएको जगुभाइ पनि मेरो छेउमा बस्यो ।

बुवा मोटरसाइकल नजिक जानुभयो । गएर सर्सर्ती हेर्नुभयो । घरि पूर्वबाट, घरि पश्चिम, घरि उत्तर र घरि दक्षिणतिरको एङ्गलबाट । प्रत्येकपटक दिशा फेर्दा मतिर हेरेको देखेँ । भुइँजस्तै मैलो कपडाले बाइकको ट्याङ्की र हेडलाइट पुछिदिनुभयो । सोँचे मैले बाइकलाई गर्ने जत्तिकै माया बुवाले पनि गर्नुहुन्छ होला, किनकी छोरो त्यसमा चढेर हिँड्छ र भिडभाड काठमाण्डौँको फन्को लगाउँछ । पुछेर सकेपछि बुवाले एक्सिलेटर बटार्नुभयो । हेडलाइट हेर्नुभयो । सेलाउन नपाएको साइलेन्सर पाइप छुनुभएको थियो, पोलेछ ! हात स्वाट्ट झिकेको देखेँ अनि भनेँ, “पोल्छ केरेनि बुवा, इन्जिन तातो छ ।”

दुई दिन घर बस्दा सबै ठाउँ मोटरसाइकलमै चाहारेँ जुन ठाउँहरू वर्षौँ अगाडि साइकलमा फन्को लगाउँथे । हुर्किएको समयले एकपटक नोष्टाल्जिक बनायो ।

काठमाण्डौँ फर्किने दिन बिहानै खाजा खान भान्छामा पसेँ । मोटरसाइकल आँगनमा थियो, बरण्डाबाट बुवाले नै निकाल्नुभएको रहेछ । पुछ्नुभएछ पनि । बिहानको घामझैँ टल्किएको थियो त्यो । खाज खाएर हिँड्ने तर्खर गर्न थालेँ । बुवा मोटरसाइकल नजिकै उभिएर घरि मतिर घरि मोटरसाइकतिर हेर्नुहुन्थ्यो । बुर्कुसी मारेको समयसँग बुवाले गफ गरिरहेजस्तो लाग्यो ।

“म जान्छु बुवा अब ।” हलुका झोला पछाडि भिरेर बोलेँ । बुवा चाहिँ केही नबोली मोटरसाइकललाई अझै हेरिरहनुभएको थियो । त्यसलाई मुसारिरहनुभएको थियो ।

"विस्तारै चलाएस् नि। हाइवेमा डर हुन्छ।" भन्नुभयो ।

जिन्दगीको हाइवेमा द्रुत गतिमा कुद्ने रहर भएको म। बुवा भन्नुहुन्छ "विस्तारै हिँड्।"

मुसुक्क हाँसेँ र टाउको हल्लाएँ।

"सुरक्षित पुग्नेछु, सुरक्षित गति महत्वपूर्ण हो बुवा।"

हेल्मेटको फिता बाँध्न बिर्सेको रहेछु। बुवाले नै बाँधिदिँदै भन्नुभयो, "कलंकी पुग्नेबित्तिकै फोन गरेस् नि !"

त्यसपछि जगुभाइ र म अघि बढ्यौँ, बिहानको घामलाई पछ्याउँदै ।

अलि पर पुगेर रियर भ्यू मिररमा हेरेँ बुवा उही खिया लागेको गेट समाएर मतिर हेरिरहनुभएको थियो !



-सिपी अर्याल (CP Aryal)