Saturday, June 15, 2013

प्रेमपुराण

सिपी अर्याल (CP Aryal)

ब्याख्या र बुझाइमा फरकफरक रहनेगरेको सर्वकालिक विषय हो प्रेम । यो एउटा रहस्य हो, भुमरी पनि हो । यसको पोको फुकाएर ब्याख्या गर्ने यत्न गरेका छन् १० थरी लेखकले संस्मरणत्मक पुस्तक–आकार फस्ट लभमार्फत् । प्रत्येकको आफ्नै भोगाइ छ तर परिणाम एउटै । सबैजना कुनै दृष्टिले असफल प्रेमी/प्रेमिका भएपनि उनीहरूको भोगाई–वाचन पढ्दा पुराण पढेजस्तै लाग्छ ।

संग्रहको सुरुमै विमल आरोही देखिन्छन्, पँधेरामा लुक्दै आफ्नी प्रेमिकाको सुन्दरता लोभलाग्दो शैलीमा ब्याख्या गरिरहेका । पुस्तकमै उत्कृष्ट बिम्बप्रयोगमार्फत् यिनले खितखिताएर हँसाउँछन् । कतै उनको प्रेमको वियोगपूर्ण अन्त्यले पाठकलाई रुन पनि विवश बनाउँछन् । आफ्नी ‘विन्ते’ को सम्झनामा उनले खर्चेका शब्द–पसीना लोभलाग्दा हुँदाहुँदै आञ्चलिक भाषाप्रयोगमा उनी कतैकतै नराम्ररी चिप्लिएका छन् ।

आफ्नो प्रेममा थच्चिएका विमलपछि शिवानी झुल्किन्छिन् । उनका प्रसंग र कथाबुनोट प्राकृतिक लाग्छन् । प्रेम तोड्ने निर्णय सुनाएर पर हिँडिरहेको आशिषलाई टिलपिल हुँदै हेरिरहेकी शिवानीपछि अर्का देवदास प्रकट हुन्छन्, कुमार नगरकोटी। “जिप्सी यादहरू बोक्दै ऋतुको चियापसलमा” बसिरहँदा आफूभन्दा जेठी र विवाहित मीरासँग प्रेममा पर्छन् उनी । मीरा अचानक ओझेल परेपछि नगरकोटीले अन्ततः ऋतुसँग विवाह गर्छन् । माइत गएकी ऋतु फर्केर आउँदिन । पाठकले ऋतुलाई धारे हात लगाउँछन् । प्रेमिका/श्रीमतीले छाडेर हिँडेपछिको नगरकोटीको खत नओभाउँदै कमल नेपाली देखिन्छन्, पहिलो प्रेमले उनको हृदयमा कस्तो खत बसाल्यो, त्यो देखाउँदै । निकै रमाइलो पारामा प्रस्तुत कमलको कथाअन्त्यले चाहिँ पाठकलाई झसङ्ग बनाउँछन्, कुनै युवतीको दुईधारे प्रवृत्तिमाथि होशिवार हुन आग्रह गर्दै ।

मनपरेकी संगीतालाई पोस्टकार्ड दिएर त्यसमा आफ्नो नाम लेख्न बिर्सेका लेनिन बञ्जाडेले नामकै कारण ती युवतीलाई नपाएपछि स्पष्टिकरण दिन्छन् “नाममा के छ ?” भन्दै । कलेजजीवनमा जेसुकै गर्न नडराउने केटो, युवतीसामु प्रेम पोख्न कति काँतर हुन्छ, त्यो यिनले बताएका छन्, सरल र मीठो भाषामा । त्यसपछि सहरीया युवतीको चक्करमा फँसेका अजित आउँछन् । सुहाउँदा नेपाली शब्द हुँदाहुँदै अत्यधिक अंग्रेजी शब्द प्रयोग गरेका अजित आफ्नो वर्णनमा इमान्दार देखिन्छन्, नाटकीयता कम छ यिनको भोगाइमा । रिसाहा प्रेमीको उन्मत्तताबाट दिक्क भएर फुत्किएपछि ऋचाले आफूलाई प्रेम–पिँजडाबाट फुत्किएकी चरी मान्छिन् । उनले सन्देश दिन खोजेजस्तो देखिन्छ, प्रेम एउटा पिँजडा हो ।

अलि नाटकीय पारामा प्रस्तुत सुविनको भोगाइवर्णनमा मन चिमोट्ने संवादहरू छन् । यसैगरी आफ्ना कवितामा गम्भिर देखिने राबत यहाँ त्यसको बिपरित देखिन्छन्, निकै ठट्यौला तर भाषाप्रयोगमा चाहिँ उस्तै मीठास भएका । अरूको तुलनामा राबत र शोभाको प्रवृत्ति एउटै छ, घुसघुसे । मनमा अनेक कुरा खेलाउने तर मनपर्नेलाई आफ्नो कुरा भन्ने नसक्ने, चाहे पृथ्वी ध्वस्त नै होस् न !

हामीकहाँ प्रेम अझैपनि वर्जित मानिन्छ । त्यसैले होला धेरैजसो लेखकले पात्रको नाम खुलाएका छैनन्, ठाउँको सविस्तार वर्णन पनि गरेका छैनन् । तरपनि पाठकले कामना गर्छन्, यिनको प्रेम सफल होस् । अपसोच् कसैको पनि हुँदैन ! यसले पनि पुष्टि गर्छ प्रेम एउटा ‘आइरोनी’ पनि हो कि ? सोँच्यो एक, हुन्छ अनेक । पुस्तकमा लेखकहरू कति इमान्दार छन् त्यो उनैले जानुन्, तर कतैकतैका प्रसंगहरू बनावटी देखिन्छन् । लाग्छ यो संस्मरण हो कि कथा ? नगरकोटीको गम्भीर लाग्ने प्रेमदेखि कमल, राबत, लेनिनका निकै रमाइला र उरन्ठेउला प्रसंगहरूले पाठकलाई आफ्नै विगत् सम्झाउँछन्, अतितको टाइम–मसिनमा हाम फाल्न वाध्य बनाउँछन् । संस्मरणकर्ताहरूको छनौटमा सम्पादकको मिहिनेत कम भएजस्तो लाग्छ । त्यसले कहिँकहिँ कथावाचनको शैली र घटनामा आवृत्तिपना ल्याएको छ ।

नितान्त फरक शैलीमा हुँदै गरेको यसै पुस्तकको बिमोचनको दिन साधारण लाग्ने एउटी युवतीले सोधेकी थिइन्, “फिलिम देखाउन लागेको हो यहाँ ?” प्रश्नले झटारो हान्यो । पुस्तक लेख्ने, प्रकाशन गर्ने र त्यसलाई पढ्ने पाठकको इतिहासको तस्विर बिजुली चम्केजसरी आयो । ती युवतीको प्रश्नमा सिङ्गै इतिहास चलमलाउँथ्यो । हामीले भोगिरहेका सबैकुरामा १८० डिग्रीको परिवर्तन आउँदा पुस्तक पढ्ने, लेख्ने र प्रचार गर्ने शैलिमा आउन किन नहुने ? हलुका र सस्तो मान्दै कतिले अहिले निस्किरहेका यस्तै पुस्तकको विषयवस्तुमाथि औँलो ठड्याइरहेका छन् । प्रेमलाई हलुका र सस्तो ठान्ने ती महानुभावलाई जवाफ यस पुस्तकले दिएको छ, प्रेम रहस्य हो, यो सस्तो हुँदैन अमूल्य हुन्छ र सबैले भोग्ने एउटा दर्शन पनि हो प्रेम ।

फस्ट लभ
विधाः संस्मरण
सम्पादकः अजित बराल
प्रकाशकः फाइनप्रिन्ट
मूल्य:  नेरु २५०/

(२०७० असार १, नागरिक अक्षर)

3 comments:

  1. यो समिक्षा भन्दा पनि पुस्तकमा के छ भन्ने सामान्य जानकारीमात्र दिए जस्तो लाग्यो, माफ पाउ अलि कडा शब्द प्रयोग गर्दा 'विज्ञापन' जस्तो । राम्रा नराम्रा पक्ष खासै केलाउने कोसिस नगरीएको जस्तो लाग्यो । आगामि दिनमा यो भन्दा धेरै राम्रो समिक्षाको आशा छ किनकि तपाइको समिक्षा मैले पत्रिकामा पढेको छु र यो भन्दा अझ राम्रो लेख्नुहुन्छ मलार्इ थाहा छ ।

    ReplyDelete
  2. अज्ञात (Anonymous) जि धेरै धन्यवाद ‌‌ओजिलो सुझावको लागि । अब सुधार्नेछु ।

    ReplyDelete
  3. your choice of word "Puran" is an honour to the book n the editor(compiler). But looking at its contents, presenttion n intention...Puran nai bhanna chai namilne thiyo ki.....??

    ReplyDelete