Friday, August 19, 2011

कलेज राजनीति, अन्तको भद्र हामीकहाँ अभद्र !


सरकारी कलेजमा राजनीति मौलाएकाले यसले सबैलाई दिक्क बनाउने गरेको छ । अभिभावक, प्राध्यापक र विद्यार्थी स्वयंलाई । यसलाई रचनात्मक काम भन्दा ‘गरिखाने भाँडो’को रूपमा चल्तीमा ल्याइएकोले सप्पैथोक लथालिङ्ग भएको हो । यससवालमा, विद्यार्थी के भन्छन् ? कलेजमा राजनीति गर्न हुन्छ कि हुँदैन ? नगरे के हुन्छ ? गरे के हुन्छ ? यसबारे आजको अंकमा आयुर्वेद क्याम्पस कीर्तिपुरका विद्यार्थीसँग गफगाफ गर्ने मेसो छ ।
Students of Ayurbed College, Kirtipur


वाध्यता
प्लस टु सकेपछि ‘डाक्टर बन्ने’ चाहअनुसार रेनु खयमलीले कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा इन्ट्रान्समा नाम निकालिन् । एउटा नीजि कलेजबाट प्लस टु गरेकी रेनु सरकारी क्याम्पसमा ठूलो राजनीति हुन्छ भन्ने कुराबाट अनभिज्ञ थिइन् । यसबारे जान्न उनलाई कलेज पुगेको पहिलो दिन नै काफि भयो । चाहिने जति पूरै डकुमेन्ट कलेक्ट गरेर उनी एड्मिसन गर्न प्रशासन पुगिन् । तर उनलाई कर्मचारीले ‘घरि यो पुगेन, घरि त्यो पुगेन’ भनेर दुख्ख दिए । सोहि बेला उनलाई कलेजमा राजनीति गरि हट्टाकट्टा भएका एक युवकले सजिलै भर्ना गरिदिए । त्यसैबेलाबाट सरकारी कलेजमा राजनीति गर्नेले के सम्म गर्न सक्छन् त्यो कुरो उनले बुझिन् । अनि रेनुपनि ‘सानोतिनो’ राजनीति गर्न तम्सिन् । ‘वाध्य भएँ म । आफ्नो पढाईलेखाईलाई जोखिममा नराख्ने डरले राजनीति थालेँ ।’ उनी भन्छिन् । रेनुकी सँगी रमीता महर्जनको पनि ठ्याक्कै त्यस्तै कथा छ । यसरी कलेजले नै विद्यार्थीलाई दुख्खको भारी बोकाएर राजनीति गर्न वाध्य बनाउँदो रैछ । यसरी क्याम्पस राजनीतिको ट्रेन्ड नै अर्कै भैसक्यो ।
Arjun Raj Sharma

“मन्त्री/प्रधानमन्त्रीको लागि हैन”
बाबुआमाले ‘खुरुखुरु पढ, दायाँबायाँ नहेर’ भनेर पठाउँछन् तर छोराछोरी भने थाहै नपाई राजनीतिमा होमिन्छन् । आयुर्वेद क्याम्पसका स्ववियु कार्यबाहक सभापति भैखाएका अर्जुन राज शर्माले मन्त्री/प्रधानमन्त्री बन्न राजनीति गरेको हैन भन्छन् । अनि केको लागि त ? “म स्ववियुमा छिरेपछि कलेज बस, लाइब्रेरीमा एलसिडी मोनीटर, होस्टलमा इन्टरनेट आदि ल्याएँ नि” यसो भन्ने अर्जुनले कलेज राजनीति गर्नुको उद्देश्य विद्यार्थीहरूलाई पढ्न÷लेख्न सुविधा पु¥याउन हो भनि तर्क दिन्छन् । यसअघि विद्यार्थीहरूको व्यक्तिगत पहुँचले भ्याएनछ अनि संस्थागत रूपमा स्ववियुले माग पूरा गरेको हो रे ।

राम्रा, रचनात्मक र हितको काम गर्न राजनीति नै आवश्यक छ र ?  यसमा रमिता महर्जन र सुदर्शनको मिल्दो विचार आउँछ । उनीहरू भन्छन्, “लिडरशिपको लागि कलेजमा एउटा प्रतिनिधि तोक्ने, उसलाई अधिकार दिने जसले विद्यार्थीहरूको सम्पूर्ण हितको लागि काम गर्छ ।” तर यो विकल्पलाई प्रवेशले उचित मान्दैनन् । “स्ववियु हटाएर यसो गर्दा झन् गन्जागोल हुन्छ । बरु स्ववियुलाई नै व्यवस्थित बनाउँदा भैगो नि ।” उनी भन्छन् ।

“ओभर कुक स्पोइल्स द फुड”
“ओभर कुक स्पोइल्स द फुड” चिनियाँ उखानको उदाहरण दिँदै शिवनारायण गुप्ता भन्छन्, “राजनीति नामको फुड धेरै पाक्यो, यसैले असल राजनीतिको महत्व डढेर खरानी भो ।” यसैकारण रुबी महर्जनलाई देशको राजनीति सम्झनेबित्तिकै घिन लाग्छ, भलै उनी पनि कलेजमा आफ्नो अस्तित्व जोगाउन सानोतिनो राजनीति त गर्छिन् । उनको विचारमा “कलेज प्रशासन मजबुत हुने, आवश्यक सबै सुविधा विद्यार्थीहरूले पाउने, पढ्ने वातावराण राम्रो पारिदिए त कलेज राजनीतिको आवश्यकता नै छैन ।” राजनीतिले विद्यार्थीलाई वाध्यकारी पार्नै हुँदैन । तर हामीकहाँ भएको यही हो ।

Ruby Bajracharya

“केन्द्रले उचाल्छ”
केन्द्रको ठाडो हस्तक्षेप र इशाराको कारण कलेजमा हुने राजनीति बिग्रनुको मूल कारण देख्छन् अर्जुन । “राजनीति गर्नेलाई अलिक बेसी शक्ति दिएर विद्यार्थी र कलेज हितको काममा लगाउन लाए अवस्था अर्कै हुन्थ्यो होला ।” विद्यार्थी नेता नराम्रा काममा लाग्दा सच्याउन बाटो देखाइदिने साटो आफैँ नानाथरी हर्कत्का व्यस्त हुन्छन् अभिभावक नेता । “जो अगुवा उही...” चल्तीको उखान सापट लिँदै रुबी बज्राचार्यले भ्रष्टाचारको बाटोतिर धकेल्ने पनि केन्द्रिय नेता नै हुन् भन्छिन् । “स्ववियु लगायतका निकायमा भ्रष्टाचार बढ्नुको मूल कारण उही ठूला नेताको देखासिकी हो ।” रुबीको ठोकुवा । आन्दोलनको बेला उचाल्ने मात्र अनि अवसरको बेला “काँचालाई दिनु हुन्न” भन्ने ठूला नेताको “झुर माइन्डसेट”ले पनि धेरैलाई विद्यार्थी राजनीतिबाट दिक्दारी पनि दिएको छ ।

विदेशमा कस्तो छ चलन ?
दिल्लीस्थित जवाहरलाल युनिभर्सिटीमा अंग्रेजी अध्ययनमा एमफिल अध्ययनरत दिनेश काप्mलेको अनुभवमा जेएनयुमा विद्यार्थी राजनीति भद्र हुन्छ । गहन छलफल र सवाल जवाफमार्फत् नै विद्यार्थीले आप्mना कुरा प्रशासनसामु राख्छन् । ढुंगामुढा र कलेज बन्द गर्ने संस्कृति छैन । त्यहाँ विद्यार्थीबीच वैचारिक मतभेद देखिएतापनि विद्यार्थीहरूको हितमा भने सबै संगठन एकजुट हुन्छन्, आप्mना वैचारिक विभेदलाई छेउ लाएर ।
Dinesh Kafle, JNU

गत वर्ष बेलायतस्थित थुप्रै कलेजहरूमा सरकारले तीन गुणा शुल्क बढाउने निर्णय गर्दा विद्यार्थीहरूले अति नै भद्र तरिकाले प्रदर्शन गरेछन् । सन् १९९३ मा न्यू योर्क युनिभर्सिटीमा भएको एउटा अनुसन्धान प्रतिवेदनले थुप्रै कलेजका विद्यार्थीहरुले कलेजमा हुने राजनीतिले नकारात्मक असर धेरै गर्छ भन्ने भनाइ राखेको देखायो । त्यसको केही वर्षपछि भएको सर्वेक्षणले भने कलेजका विद्यार्थीलाई कलेज राजनीतिले राम्ररी तानेको देखाएको छ ।

केही सिक्ने कि ?
ए बाब्बा ! राम्रोको लागि राजनीति गर्नु, पिआर बढाउनु तर सबैलाई डिस्टब हुने गरी, सबैको भविष्य बिगार्ने गरी नगर्नु नि ! अध्ययनहरू हेर्दा विद्यार्थी राजनीतिको तरिका नेपालमा मात्रै फरक देखियो । अन्तको भद्र हामीकहाँ अभद्र ! राजनीति रचनात्मक भए राम्रो । शालिन तरिकाले आफ्ना गुनासो कलेज समक्ष पु¥याए कलेज पनि त समाधानको बाटो खोज्न बाध्य हुने थियो नि !

Published in Yuwamancha Monthly 2068 Bhadra issue.

by>>CP Aryal(सिपी अर्याल)