संविधानसभाबाट संविधान बनिसकेपछि देश अघोषित नाकाबन्दीको संकटमा फस्दा आफू पनि सक्दो सहयोगी हुने प्रयासमा थिएँ । त्यहीअनुसार काममा आउँदा-जाँदा आफू चढिहिँडेको मोटरसाइकलमा मानिसहरूलाई लिफ्ट दिन्थेँ ।
एकदिन, बानेश्वर चोकको बसस्टप अघि मानिसको हुल भएनिर पुगेर चिच्याएँ, “बल्खु जाने कोही भए आउनुस् ।” मानिसहरू हुरुरु आए । मचाहिँ तीमध्ये अलि वृद्द र असक्तलाई रोजेर सँगै लिएर गएँ । त्यसैदिन, फर्किने बेला पनि बल्खु चोकको बसस्टेन्डनिर एकजना ६०/६५ वर्षकी वृद्दा उभिएकी देखेर उनीनजिकै गइ रोकेँ ।
र, भनेँ, “आमा कहाँ जानुहुन्छ ? बानेश्वर जाने भए म पुर्याइदिन्छु ।”
बाब्बानी हो !
महिला त मलाई लुछौँला झैँ गरी पड्किइन्, “जाँ गए पनि तँलाई के मतलब ! म बसै चढेर जान्छु ।”
म आत्तिएँ । उनले मलाई नराम्रो मानिछन् । चोरको झैँ गेटअपमा त थिइनँ । तरपनि के सोचिन् थाहा छैन ।
“महिला भनेर बडो हेप्न खोज्दो रैछ ।” उनी फेरि बम्किइन् ।
मचाहिँ “माफ पाउँ आमा !” भन्दै हिँडेँ । अल्लि पर पुगेर चिया पसलमा पसेँ । बुढीआमै कहाँ जाँदीरहिछन् हेर्न मन लागेर उतै हेरिरहेँ । देखेँ, टन्टलापुर घाममा बूढी २० मिनट उभिएपछि खचाखच नेपाल यातायात आयो हाँसझैँ ढल्कँदै । बूढी आमै त्यही बसतिर लम्किइन् । मचाहिँ मुस्कुराउँदै चिया सुर्काएँ ।
"Creative destruction" of social capital. :-)
ReplyDeletebest content
ReplyDelete