Saturday, February 22, 2014

हीराको हार


उनी निकै सुन्दर, आकर्षक र सुशिल युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपथ्र्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै धनी पुरुषले बिहे गरेर लैजाला र सधैँभरी माया गरेर राख्ला भन्ने अपेक्षा पनि थिएन । त्यसैले एउटा निम्छरो कर्मचारीसँग बिहे गरेर खुरुखुरु गइन् ।

धेरै नक्कल पार्न नजानेकाले सामान्य लुगाफाटो लगाउँथीन् उनले । ठूलै चोट परेजस्तै देखिन्थिन् र भित्रभित्रै असन्तुष्ट पनि । परिवार र जन्मले सौन्दर्य, हिस्सीपना र आकर्षणजस्ता सबै ठाउँ ओगट्ने हुनाले महिलाका कुनै कुल र श्रेणी हुँदैनन् । प्राकृतिक चातुर्यता र टाठो मष्तिष्क नै उनीहरूको अब्बल श्रेणी हो । र यही कुरा गुणवान् महिला हुनुबराबर हुन्छ ।

मथिल्ड नराम्ररी पिल्सिएकी थिइन् । सम्पूर्ण आनन्द र सुखभोग आफूले भोग्न पाए हुँदो हो भन्ने पनि ठान्थीन् कुनैकुनै प्रहर । आफ्नो जीजिविषाप्रति बेखुस थिइन् । ठिङ्ग उभिएका चारभित्ताहरूको नाङ्गोपन, भाँचिएका कुर्सी तथा मैला र च्यातिएका पर्दा देख्दा उनी निकै उदास हुन्थीन् । उनीबराबरका अन्य महिला चाहिँ त्यस्ता कुराबाट सुर्ताउँदैनथे । घरायसी काम गर्ने महिलालाई देख्दा मात्र पनि उनलाई ठूलो पछुतो हुन्थ्यो, सपनाहरूले डस्थे । पूर्वीय सभ्यतामा प्रयोग हुने कुरुषले बुनेका उत्कृष्ट पर्दाहरू, मैनबत्ती राख्न प्रयोग हुने ढलौटका ठूला–ठूला भाँडा र आर्मचेयरमा आरामसँग सुतिरहेका पुरुष मूर्तिहरूको कल्पना गरीन् उनले । त्यस्तो कल्पनालाई स्टोभको तातो रापले उत्तिखेरी पगालिदियो ! फेरि, लामा–लामा स्वागतकोठी र त्यसमा झुन्डिएका प्राचिन रेशमी पर्दाहरूबारे सोंचीन्, आफ्ना सहेलीलगायत अन्य सबै महिलाले मरिहत्ते गर्ने प्रख्यात पुरुषहरूसँग साँझको पाँच बजेपछि गफिन मिल्ने अत्तरले मगमगाएका कोठाबारे कल्पिइन् जसमा क्युरियोका प्राचिन वस्तुहरू पनि हुन्थे ।