Thursday, May 23, 2013

हजुरआमासँग फोन संवाद


-सिपी अर्याल

अचेल बिसञ्चोले बढीनै चिथोर्न थालेको छ मेरी हजुरआमालाई । फोनमा नियमित बोलिरहन्छु । आँखा रसाउँछन् । रसाएर धमिलिएका मेरा आँखा उमेरले धमिल्याएर जालो लागेका हजुरआमाका आँखाले छर्लङ्ग देख्छन् । वेभले उहाँको कानसम्म मेरो आवाज पुर्‍याउन सक्दैन । त्यसैले एकतर्फि कुराकानी हुन्छ, उहाँ बोल्ने मैले चुपचाप सुन्ने । घर जान मन लाग्छ, एउटा युग बाँचेकी उहाँलाई सुनिरहन मन लाग्छ । चौरासी पूजा गरेपछि मान्छे पनि देउता हुन्छन् अरे । छिमेकहरू भन्छन्, “हजुरआमा पनि देउता हुनुभयो, मान्छेहरू माझकी भगवती हुनुभयो ।” देउता हुन्छन्/हुँदैनन् संसार ढुक्क छैन । मेरा लागि कम्तिमा तपार्इँ हुनुहुन्छ, त्यसैले म ढुक्क छु । यसकारण तपार्इँ देउता होइन हजुरआमा नै हुनुपर्छ ।

मेरी हजुरआमा
पढाइ र कामका अनेक टन्टा छन् यहाँ । घर गइरहन पाउँदिन । वेभले नसुनाएको मेरो आवाज उहाँ आफैं सुनेर भन्नुहुन्छ, “तँ राम्ररी पढ्, काम अर् । आत्तिएर घर नआइज । मेरो पिर पनि नअर् । तेरा बा/आमाले नम्मरी स्याहार अर्चन् । फालफूलको रस ख्वाम्चन् ।” उहाँले रुचाउने खान्की, मिश्री लगिदिएको थिएँ । सकिएछ । भन्नुभयो, “तैँले ल्याइदेको मिश्री भ्याइयो । गुलियो मिश्री नातीको कमाइको हुँदा झन् गुलियो मानेर खाएँ !”

“बिहा अर् !” मलाई जिस्क्याउनुहुन्छ, “स्वास्नी ले । तँलाई चट्ट पारेर केम्पस पठाम्चे । मीठो ख्वाम्चे । मोया अर्चे । जे जात भएनी केइ हुन्न । तेरा बा/आमाले नमाने म फकाम्चु ।” सुन्छु अनि मुसुमुसु हाँस्छु । फेरि भन्नुहुन्छ, "हुन्त पढेर ठूलो मुन्छे हो पैला अनि ल्याउलास् स्वास्नी । अक्षरको डाक्टर हुनपर्च तँ ।" अक्षर नचिनेकी उहाँले कसरी थाहा पाउनुभयो होला मान्छेहरु 'अक्षरका डाक्टर' पनि हुन्छन् भनेर !

मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !

Saturday, May 18, 2013

फुकोका अनेक अनुहार

सिपी अर्याल/सरोज जीसी (CP Aryal/Saroj GC)

‘व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिसलाई भेटेको छैन । उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटेँ । पढाउनेहरू भेटेँ, पेन्ट गर्ने मानिस भेटेँ र केही पनि काम नगर्ने मानिस भेटेँ । बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ ।” विश्वविख्यात दार्शनिक मिसेल फुकोले (Michel Foucault) कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे । उनलाई दुव्र्यसनी, मनोरोगी, समलिङ्गी, स्वपिडक र पागल भन्दै उनको खेदो खने । तर उनले दिएको अतुलनीय ज्ञानको कारण विश्वले उनलाई पुज्यो पनि । उनको मष्तिष्कले कोरलेका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन् । यिनै फुको मानवीकि तथा समाजशास्त्रअन्तर्गत् हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन् । र रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ ।