Saturday, May 18, 2013

फुकोका अनेक अनुहार

सिपी अर्याल/सरोज जीसी (CP Aryal/Saroj GC)

‘व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिसलाई भेटेको छैन । उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटेँ । पढाउनेहरू भेटेँ, पेन्ट गर्ने मानिस भेटेँ र केही पनि काम नगर्ने मानिस भेटेँ । बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ ।” विश्वविख्यात दार्शनिक मिसेल फुकोले (Michel Foucault) कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे । उनलाई दुव्र्यसनी, मनोरोगी, समलिङ्गी, स्वपिडक र पागल भन्दै उनको खेदो खने । तर उनले दिएको अतुलनीय ज्ञानको कारण विश्वले उनलाई पुज्यो पनि । उनको मष्तिष्कले कोरलेका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन् । यिनै फुको मानवीकि तथा समाजशास्त्रअन्तर्गत् हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन् । र रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ ।

उनको योगदान प्रमुख गरी शक्ति (पावर) को व्याख्यामा रिङेको छ । सामान्य जीवनमा शक्तिले कसरी काम गर्छ, त्यसले ज्ञान (नलेज) र संकथन (डिस्कोर्स) लाई कसरी प्रभाव पारिरहेको हुन्छ, त्यसले सत्य (ट्रुथ) कसरी निर्माण गर्छ र सामाजिक नियन्त्रण कसरी स्थापित हुन्छ, त्यसबारे मूलव्याख्या गरेका छन् । माक्र्सेली विचारले उत्पादनको स्वरूपमाथि पकड भएका शासक वर्गमाझ शक्ति नीहित हुन्छ भन्यो, महिलावादीहरूले पुरुषहरूले मात्र शक्तिको उपभोग गर्छन् भने । तर शक्तिबारेका यस्ता परम्परागत विचारलाई उल्ट्याउँदै फुकोले नयाँ विचार दिए । भने, ‘शक्ति जहाँसुकै हुन्छ । यो दमनकारी नभएर सिर्जनशील हुन्छ । जोकोही व्यक्तिले निश्चित अवस्थामा शक्तिको प्रयोग गरिरहेको हुन्छ ।’ उनका अनुसार शक्ति कुनै निश्चित तत्त्व वा व्यक्तिमा नीहित हुँदैन, त्यो अनियमित सञ्जाल (डिस्कर्सिभ नेटवर्क) मा हुन्छ । यस खाले विचारले बौद्धिक जगत्मा एकखालको भुइँचालो नै ल्याइदियो । फुकोको यो विचार पागलपन, सामाजिक शंकाय (सोसियल डिसिप्लिन), शारीरिक प्रतिमा, सत्य र यौनिकतामा लागू भए जसले उत्तरआधुनिक पाण्डुचित्र कोर्न विशेष सहयोग पु¥याए । फुकोका यस्ता विचार हामीमाझ तात्तातो बहसको विषय बन्ने उत्तरआधुनिकताका केन्द्र हुन् ।

हाम्रो राजनीतिक परिप्रेक्ष्यमा पनि फुकोले भनेझैँ प्रत्येक राजनीतिक नेताले आफ्नै किसिमको सत्य निर्माण गर्छन् र त्यसलाई शक्ति प्राप्त गर्ने सिँढी बनाउँछन् । त्यसमा उनीहरू सफल भए एउटा संकथन निर्माण हुन्छ र आम मानिसहरूमा त्यसैअनुसारको ज्ञानले ठाउँ ओगट्छ ।

डाक्टर बाले छोरो फुको पनि आफूजस्तै बनोस् भन्ने चाहेका थिए । तर बाको इच्छालाई नकार्दै पेरिसको चर्चित पाठशालामा उनले इतिहास पढ्न थाले । पछि आमाले कडा कानुन भएको रोमन–क्याथोलिक विद्यालयमा भर्ना गरिदिइन् । त्यहाँ उनले रुचिकर समय बिताएनन् । मन नलागी–नलागी भएपनि इतिहास, दर्शन, संस्कृति र मानव सभ्यताका गह्रुङ्गा पुस्तकका पाना पल्टाउन थाले । संगत गुनाको फल भनेझैं गुरु लुइस अल्थुइसरको उठबसमा परेपछि फुकोको रुचि दर्शनशास्त्रमा बढ्न थाल्यो ।

किताबी किरो भएर उनी पुस्तकालयमा घन्टौं विताउन थाले । त्यहाँ दिनरात पढ्दै÷चिन्तन–मनन गर्दै बस्थे, उता परिवार भने उनको खोजिमा भुइँपाताल गर्थ्यो । ‘अर्डर अफ दि थिङ्स’ र ‘दि बर्थ अफ दि क्लिनिक’ किताब लेखेपछि उनी संरचनावादतिर ढल्किए । पढ्नेबाहेक उनका अनौठा बानिहरू थिए । एक्लै बस्न रुचाउने, कोहीसँग बोल्न मन नगर्ने, रिसाहा र हिंसा मन पराउने प्रवृत्तिका । कलेज छात्रावासको कोठामा हिंसात्मक दृश्य पोखिएका पोस्टरहरू टाँस्थे । फुकोले आफूलाई अपराधी भन्न पनि भ्याए, कारण चाहिँ प्रष्ट्याएनन् । कुनैबेला आफ्ना सहपाठीलाई मार्न तरवार लिएर पनि दगुरे । एकपटक आत्महत्याको असफल प्रयास पनि गरेपछि उनी मनोरोग अस्पतालमा भर्ना भए । डाक्टरहरूले त्यसको कारण बताए, समलैङ्गिकताबाट चरम उद्देलित भएर आत्महत्याको प्रयास गरे भन्दै । समलैङ्गिक हुनु फ्रान्सेली कानुनमा वैध भएपनि त्यो सामाजिक निषेध थियो ।

फ्रान्समा समलैङ्गिकता निषेधित भएकोले उनी स्वीडेन गए । त्यहाँ गएर आफ्नो जीवनको महत्त्वपूर्ण खण्ड बाँचे । समलैङ्गिक सम्बन्धमा अनेकन मानिससँग बाँधिए, रक्सी खाएर ढुनमुनीँदै हिँडे, ड्रग्सको व्यापक प्रयोग गरे । अझ जगुआर नामक रेसिङ कारमा हुइँकिदै अनेकन हत्कन्डा मच्चाए । आफ्ना औँलाहरूमा तीखा काँटीले घोँचेर बगिरहेको रगत हेर्दै आत्मानन्द प्राप्त पनि गरे ! त्यसबाहेक स्वीडेनमै त हो उनले बौद्धिकताको चरम सीमा छुन सकेका । स्वीडेनको उप्सालास्थित पुस्तकालयमा उनी घन्टौँ पढेर बसिदिन्थे । त्यहाँ उनले चिकित्साशास्त्र इतिहासको विशेष अध्ययन गरे ।

सन् १९६६ मा फुको ट्युनिसियामा गएर प्राध्यापन गर्न थाले, ट्युनिस विश्वविद्यालयमा । त्यहाँ उनले नित्से, डेकाट्र्सजस्ता विद्वानका सिद्धान्त पढाए । त्यसबेलासम्म फुको एउटा सार्वजनिक व्यक्तित्व भइसकेका थिए । ट्युनिसियामा बस्दा त्यहाँको संस्कृतिबाट धेरै प्रभावित भए । फुकोका धेरै तस्वीरहरू हेर्दा उनी मुडुलो टाउकोमा देखिन्छन् । उनी बस्ने ट्युनिसियाको गाउँमा प्रत्येकदिन दाह्री खौरिएजस्तै कपाल पनि खौरनुपथ्र्यो । त्यही संस्कार मान्दै फुकोले दैनिकजसो आफ्नो कपाल खौरन्थे । त्यहाँ बस्दा पनि फुकोले आफ्नो जीन्दगीको पूर्ण उपभोग गरे । उनी सार्वजनिक छवी बोकेका विद्वान कहलिए । त्यहीँ बस्दा उनको उग्रस्वभावले धेरैलाई चिढ्याएको थियो । कारणतः उनी केही युवाद्वारा नराम्ररी पिटिए । त्यस घटनाले उनलाई ट्युनिसियाबाट पेरिस फर्कायो ।

पेरिस गएर उनी अझ चर्चित भए । त्यहाँका विश्वविद्यालयमा प्रवचनहरू दिन थाले जुन अरस्तु र नित्सेले दिएका ज्ञानका सिद्धान्तभन्दा बिलकुल फरक विचारका थिए । उनका लेक्चर आवरमा यति भिडभाड हुन थाल्यो, त्यसले फुकोलाई दिक्दार बनायो । एक्लै आफू मात्र बोलिरहनुपर्ने । त्यस्तो भिडबाट प्रश्नहरूको माग पनि गर्न नसकिने । दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराए, त्यति बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर । तर भिड के रोकियोस् ! लाठिचार्ज नै गर्नुपर्ने ! जीवनका पछिल्ला कालमा उनले दार्शनिकहरूले पत्रकारिता लेखन पनि गर्नुपर्छ भन्ने ठाने । त्यसैअनुसार उनका लेखहरू पत्रिकामा निरन्तर प्रकाशित भए, ‘मिसेल फुको इन्भेस्टिगेट्स’ नामक स्तम्भमा ।

आफ्नो एउटा चर्चित पुस्तक ‘आर्किएलजी अफ नलेज’ मा फुकोले ग्रिक–रोमनकालको ज्ञानसम्बन्धी अवधारणालाई प्रश्न गरेका छन् जसले ज्ञानलाई गणितीय विज्ञानका रूपमा मात्र व्याख्या गर्छ । इतिहास केवल घटनाहरूको क्रमिकता हो भन्ने धारणालाई फुकोले उल्ट्याए र भने, सिलसिला नमिलेको कालखण्ड नै इतिहास हो । यसमा पनि खाडल र अभाव हुन्छ । यो अनियमित आकस्मिकता पनि हो । उनले भाषालाई गौण ठान्दै मानिसको स्वरूपमा जोड दिए । प्राचिन ग्रिक ज्ञानले मानिसबारे दिएको परिभाषालाई आफ्नै ढङ्गमा व्याख्या गर्दै भने, मानिस आफैँमा सैद्धान्तिक अवधारणा होइन । आफ्नो सांसारिक अवस्थालाई पूर्ण रूपमा भोग गर्दै आफू भएर बाँच्नु नै मानिस हुनु हो भने । प्राचिन ज्ञान र अस्तित्ववादी विश्लेषक हाइडेगर, सात्र्र, डेकार्ट्स र नित्सेले दिएका विचारहरूबाट अलग्गिएर उनले नलेज (ज्ञान), ल्याङ्गवेज (भाषा) र म्यान (मानव) सम्बन्धी आफ्नै धारणा विकास गरे । नित्सेले ‘डेथ अफ गड’ को घोषणा गरेजस्तै फुकोले ‘डेथ अफ म्यान’ भने । त्यो भन्नाले ग्रिको रोमन समाजले मानवबारे गरेको परम्परागत व्याख्याको अन्त्य भयो भन्नु थियो ।

त्यसबाहेक यौनिकताबारे फुकोका विचारले विद्वानहरूलाई चकित बनाएको छ । ग्रिकहरूले यौनलाई आवश्यक तत्त्व माने जुन लुकिछिपी हुनुपथ्र्यो । स्वर्गानुभूति प्राप्त गरी जीवनलाई भोग गर्ने एउटा माध्यम माने । यस विचारलाई फुकोले ‘एस्थेटिक्स अफ दि सेल्फ’ नामाकरण गरे ।

उनी कुनै याममा कम्युनिष्ट भए, फ्रेन्च कम्युनिष्ट पार्टीको सदस्य भएर । तर त्यसको कट्टर कार्यकर्ता भएनन् । कुनै याममा कम्युनिष्टका घोर निन्दक पनि भए, “यहुदी र समलिङ्गीलाई विभेद गरियो” भन्दै । आफ्नो समलैङ्गिकतालाई फुको संलग्न पार्टीले स्वीकार्न सकेन, यहुदीहरूको पनि घोर विरोध गथ्र्यो । त्यो उनलाई चित्त बुझेन । पार्टी राजनीतिलाई बिदावारी गरेपछि फुकोको जिन्दगी अझ फराकीलो भयो । अध्यापनमा उनी लागे । साईकियाट्री र साइकोलोजीको अनुसन्धान र अध्यापनमा लागे । पागलपनबारे उनका गहकिला अनुसन्धानहरू आए । आफ्नो विद्यावारीधि पनि पागलपनको अध्ययनबारे नै गरे जहाँ उनले पागलपनको अवधारणा तीन चरणबाट गुज्रिएको बताएः रिनेसा एज (पुनर्जागरण काल), क्लासिकल एज (प्राचिन काल) र मोडर्न एज (आधुनिक काल) ।

फुको यस्तो समयमा जन्मिए जुनबेला ज्ञानलाई नै मनुष्यको अस्तित्वको प्रमुख तत्त्व ठानिन्थ्यो ।अज्ञानीहरूको अस्तित्वलाई मनन गरिँदैनथ्यो । त्यो युग प्रतिस्पर्धात्मक थियो । धेरैभन्दा धेरै कुराको ज्ञान हुनु नै त्यसबेला महत्त्वपूर्ण मानिन्थ्यो । फुको पनि युगअनुसारैका थिए । चार वर्षमै विद्यालय जान थालेका उनी हुर्किँदै गए । एकलकाँटे स्वभाव उतिबेलैदेखि उनमा टाँसियो । उनको तिक्ष्ण बुद्धिलाई कसले भेट्न सक्नु !

बालक फुकोलाई उनका डाक्टर बाले एकपटक अस्पताल लगे जहाँ एउटा बिरामीको खुट्टा चिरिँदै थियो । फुकेलाई त्यो हेर्न लगाइयो, उनको मष्तिष्क बलियो होस्, डराउने खालको मन नहोस् भनेर । यसैगरी एउटा घरमा दशकौंदेखि एउटी महिला थुनिएकी थिइन् । उनी बारम्बार चिच्याउँथिन्, पिडाले, क्रोधले । ती महिला पिडाले चिच्याएको सुन्न फुकेलाई मन पर्ने । त्यसैले उनी त्यो घरको बाटो बारम्बार हिँड्ने गर्थे । यस्ता घटनाको प्रभाव फुकोलाई जीवनभर परिरह्यो । त्यो प्रभाव उनका लेखनीहरूमा स्पष्ट देख्न सकिन्छ ।

आफूलाई लागेका उत्तर–संरचनावादी र उत्तर–आधुनिकतावादीको बिल्ला हटाउन उनले चाहेका थिए । तर अझै पनि मानिसहरूले टेरेका छैनन् । उनले आफूलाई आधुनिकतावादी सिद्धान्तका समालोचक मात्र भन्न रुचाए । जति काम गरे त्यो भन्दा थोरै श्रेय लिन खोजे । हामीकहाँ हुने बौद्धिक संस्कारको ठ्याक्कै उल्टो ! इतिहासविद्, उत्तर संरचनावादी, उत्तर–आधुनिकतावादी हुँदै अन्त्यमा उनले आफूलाई आधुनिकतावादीमा मात्र सिमित राख्न चाहे । यसको कारण आधुनिकतावादनै त्यसपछिका दर्शनका मूल हुन् भन्ने लागेर हुन सक्छ ।

फुकोको आत्मकथा लेखक डिडियर एरिबनले उनलाई ‘जटिल र बहुरूपी पात्र’ भनेका छन् । हुन पनि फुको उस्तै थिए । कुनै पनि विषयको अथाह ज्ञान उनीमा थियो अनि स्वभावचाहिँ उग्र । उमेर बित्दै जाँदा उनको व्यक्तित्वमा पनि व्यापक उतारचढावहरू आए । युवाअवस्थामा ‘स्वपिडक’ फुको जीवनको मध्यकालतिर त्यसभन्दा भिन्दै भए, प्रफुल्ल खालका । उनले भनेका पनि छन्, मानिसको चरित्र सधैं एकै किसिमको हुँदैन, परिवर्तनशिल हुन्छ । अरूसँग छलफल गर्दा व्यक्तिको चरित्र छताछुल्ल हुन्छ, उनले भनेका । फेरि जीवनको उत्तरार्धमा उनलाई व्यक्तिगत र बौद्धिकताको संकट प¥यो । गतिलो बौद्धिक खुराक विश्वलाई दिइसकेका थिए, तर आफू भने पूरै सन्तुष्ट थिएनन्, त्यसपछि के ? भन्नेमा पनि उनलाई द्विविधा रह्यो । त्यहीबीचमा गम्भीर खालको कार दुर्घटना भोग्नु प¥यो । कार दुर्घटनाले फुकोलाई दुखी होइन खुसी पो तुल्यायो रे ! उनले सो दुर्घटनाले उनलाई मृत्युको भयबाट दुर राखिदियो जुन उनको जीवनको सबैभन्दा ‘सुन्दर स्मृती’ रहन गयो । यसप्रकार फरक–फरक किसिमका जिन्दगी एकैपटकमा जिउन सक्ने अद्भूत क्षमता फुकोमा थियो, मानिस र परिस्थितिअनुसार उनले व्यवहार गर्न सक्थे । उनी बहुरूपी विद्वान थिए ।

सन् १९२६ मा फ्रान्समा जन्मिएर ५८ वर्ष बाँचेका फुकोको एड्स रोगको कारण मृत्यु भएको मानिन्छ । यद्यपि, उनको मृत्युको कारण एड्स रोग हो/होइन भन्नेबारे फरक फरक विचारधाराहरू छन् ।

दर्शन र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका फुकोका त्यसैखालका सिद्धान्त र विचारहरू वास्तवमै जटिल र बुझ्न नसकिने खालका छन् । केही विचार वर्णनात्मक छन्, वस्तुहरूको ऐतिहासिकता मात्र उल्लेख गर्ने । फुकोले के भन्न खोजेका थिए, ठ्याक्कै बुझ्नु पर्ने के हो, त्यो फेला पार्न नसकिने । फुकोप्रेमी धेरैलाई यस्तै लाग्न सक्छ । अभि सुवेदीको विचारमा, ‘फुकोजस्ता बुझ्न जटील दार्शनिकहरूको कुरालाई सजिलो ढंगमा बुझाउने यत्न नेपालका विद्वानहरूले गर्नुपर्छ ।’ हाम्रा विश्वविद्यालयका भित्तामा फुकोका सिद्धान्त गुन्जायमान हुन्छन् तर तिनलाई बुझ्न विद्यार्थीहरूलाई खुब कठीन हुन्छ । फुको दर्शनको नेपाली राजनीतिक, सांस्कृतिक तथा सामाजिक परिप्रेक्ष्यमा मिल्ने गरी व्याख्या हुन सके उनको योगदान नेपाली परिवेशमा पनि सही सावित हुन सक्थ्यो ।


No comments:

Post a Comment