Saturday, March 30, 2013

एउटा फिरन्तेको कथा



-सिपी अर्याल (CP Aryal)

कुनै–कुनै जिन्दगी मृत्युबाट सुरु हुन्छन् । सबैथोक अस्ताएर खरानी भैसक्छ । अनि मात्र एउटा फिरन्तेले भोगेको समय सुम्सुम्याउन पाइने मौका मिल्छ, ब्रजेशको पहिलो उपन्यास ‘यायावर’मार्फत् । कहिले सिनेमा लेखक, कहिले अभिनयकर्ता, कहिले स्तम्भकार त कहिले कथालेखकको पहिचान बनाउँदै पाठकको मनमा घुमिहिँड्ने यायावर हुन् ब्रजेश । उनै ब्रजेशले ‘यायावर’ नामकै पहिलो उपन्यासमार्फत् फेरि अर्को नौलो यात्रा सुरु गरेका छन् ।

समग्र जिन्गदीलाई डोहोर्याइ हिँड्नु अप्ठेरो कुरा हो । अझ मन लागेको ठाउँमा पैताला विसाउने फिरन्तेहरूलाई पनि सुख्ख छैन ! वैकुण्ठ नामक प्रमुख पात्रको वरिपरि जेलिएको यस उपन्यासमा सो पात्रचाहिँ आफ्ना सुन्य रोजाइहरूबीच कारुणिक समय बाँचिरहेको छ । बाङ्गो समाजबाट टेढो औँलाले घ्यु निकाल्न नजानेको वैकुण्ठ निरुद्देश्य यायावर हो । उसका कुनै गन्तब्यहरू छैनन् । ऊ निरन्तर डुलिहिँड्ने फिरन्ते हो । आफ्नै कथा लेख्दा उसले आफूलाई नायक पाउँदैन । ऊ भन्छ, “आफ्नै कथा लेख्दा पनि म कतै कुनै ठाममा नायक बन्न सकिनँ ।” तर ऊ खलनायक पनि होइन । केवल एउटा पात्र हो, बस् ! वैकुन्ठ एउटा पहिचानबिहिन पात्र हो । उसका थुप्रै नाउँहरू छन्, बाङ्खुरे, माड्साप, काठ्ठा, धतुरे, हिरा आदि । यतिका धेरै नाम बोकेको मानिस निश्चित परिचयविहिन र उद्देश्यविहिन छ । वैकुण्ठजस्ता जोकोही नेमट्याग भिरेकाहरूको जिन्दगीमा यस्तो घटना घट्न सक्छ भन्ने चेतना लेखकले भरिदिन खोजेका हुन सक्छन् ।

मूलकथा जस्तै लाग्ने इन्सपेक्टर प्रतापको जीवनशैलीबाट उपन्यास सुरु हुन्छ । तर हेर्दाहेर्दै प्रतापको कथा गौण बन्छ र वैकुन्ठबाट कथाको म्याराथन सुरु हुन्छ । आफ्नो जीवनसंघर्ष वैकुण्ठले आफ्नै लेखाइमार्फत् उजिल्याउन खोजेको हो, एउटा डायरीको रूपमा । बस दुर्घटनामा परेको बैकुण्ठको पेनड्राइभ कम्प्युटरमा हुलेपछि इन्सपेक्टर प्रतापले कम्प्युटर स्क्रिनमा अक्षर पढ्न थाल्छ, निरन्तर । कहिल्यै कुनै पुस्तक नपढ्ने प्रतापलाई वैकुण्ठको डायरीले तत्कालै तान्छ । ऊ कहिँकतै नरोकिएरै खररर कथा पढ्न थाल्छ । तारेभिरजस्तै अप्ठेरो जीवन बाँच्न बाध्य वैकुन्ठको कथा पढ्दा चाहिँ कहिँ कुनैपनि अप्ठेरो महसुस हुँदैन । त्यसैले कुनै पात्रको जिन्दगी पढ्नु र सोही जिन्दगी उही पात्रले भोग्नु नितान्त फरक कुरा हुन् ! उपन्यासले यहि भन्छ । वैकुण्ठको बाल्यकाल, विद्यार्थी जीवन, विवाहोत्तर समय, कलेज पढ्दा काठमाडौँमा गर्नुपरेको संघर्ष र प्रौढावस्थाको एक्लो जीवनबारे पढिरहँदा अनेक ठाउँमा खित्का छाडेर हाँस्ने ठाउँ मिल्छ । उसैगरी आँसुका ढिक्काहरूसँग पनि पाठकलाई सिँगौरी खेल्नुपर्ने हुन्छ ।

कालोराम वैकुण्ठको जीवनको ग्रहण हो । मूल खलनायक उही हो । स्कुलमा नाटक देखाउने तयारी गर्दा कलाकारहरूलाई कालोरामले शोषण गर्छ । आफ्नो निर्देशनमा प्रस्तुत गर्न लागेको नाटकमा मूलभूमिका दिने सर्तमा कालोरामले जुनेली र वैकुण्ठमाथि अनैतिक यौनशोषण गर्छ ! त्यस्तो शोषणले वैकुण्ठलाई जीवनभर निरिह बनाइरहन्छ । यो यथार्थ नेपाली सिनेमा क्षेत्रमा पनि व्याप्त भएको ठूलै गाइँगुइँ चलिरहन्छ । सिनेमामै मज्जाले भिजेको हुनाले पनि ब्रजेशले त्यो प्रसंगलाई न्याय गर्न सकेका हुन् । कथाका अन्य थुप्रै प्रसंगहरू पनि सिनेमा जस्तै लाग्छन् । आँखामा अक्षर घुमिरहँदा सिनेमाको रिल घुमेजस्तै लाग्छ । यो शैलीलाई लेखकको अद्भुत क्षमता मान्न सकिन्छ ।

कतिपय घटना प्रसङ्गहरूको जोडघटाउ प्राकृतिक लाग्छन् । घटनालाई लेखकले नघटाएर तिनीहरू आफसेआफ घटित भैरहेका जस्ता लाग्छन् । यसले उपन्यासलाई अस्वाभाविक हुनबाट रोक्न सकेको छ । कथामा आएका कुनै–कुनै (अश्लिल) शब्दहरू केही ठाउँमा प्रयोगको दृष्टिले प्राकृतिक देखिँदैनन् । आख्यान लेखनमा चलिरहेको शैलीलाई पछ्याउने जमर्को जस्तो मात्र देखिन्छन् ती शब्द छनौट । कथाको मूलपात्र वैकुन्ठको पात्रचित्रण सशक्त छ । वैकुन्ठले आफ्नो शैलीलाई कहिँपनि फुत्कन दिएको छैन । उसको जीवन एउटा सरल रेखामै बगेको छ । कुण्ठाहरूसँग प्रत्येक पल लाप्पा खेल्दै ऊ निरुद्देश्य हिँडिरहन्छ । कालोरामले शोषण गरेपछि उसले आफ्नो यौनकुण्ठा मेट्न कुनै हालत सक्दैन । पात्रहरूलाई जन्माउन, हुर्काउन, बढाउन, तिनको सही स्याहार गर्न र समयसँगै तिनलाई उचित थान्को लगाउन सहि तरिकाले सकेका छन् ब्रजेशले, आत्मीय आमाबाबुले जस्तै । वैकुण्ठबाहेकका पात्रहरू, जुनेली, कालोराम, बा, आमा, भैरे, मेनुका आदि सहज लाग्छन्, वैकुण्ठले जिन्दगीको जेब्राकसिङमा भेटिएका जस्तै लाग्ने । ती जसरी आउँछन् उसैगरी बिलाउँछन् । एकैछिन मात्र देखिने भूगोल शिक्षकले पाठक मनमा अमिट छाप छोड्न सक्छन् । उपन्यास सकिँदा कालोराम कता गयो होला भन्ने प्रश्न पाठक मनमा उब्जन सक्छ । त्यसको पनि सहि सम्बोधन गर्नुपथ्र्यो लेखकले । कथामा एउटा ‘फ्याक्चुअल एरर’ छ । यात्रु बोक्ने भाडाको बसको नम्बरप्लेटमा अल्फाबेटको बीचमा अङ्क हुन्छ, ‘अ’ होइन र अन्तिम अक्षर ‘ख’ हुन्छ ‘क’ होइन । उपन्यासको सबैभन्दा रोचक पक्ष यसको कथानक हो । भाषा मध्यम लाग्छ । जे छ कथानकमै छ ! यसैगरी कथा भन्ने शैली (प्रस्तुतीकरण) मा पनि दम छ । यसलाई नौलो मान्न सकिन्छ । कथा अन्त्य चित्तबुझ्दो लाग्छ । पुस्तकमा नगण्य मात्रामा शाब्दिक त्रुटीहरू छन् । यथेष्ट मिहिनेत देखिएको यो पुस्तक पठनीय छ ।

Brazesh's Yayawar review by CP Aryal


पुस्तकः यायावर
विधाः उपन्यास
लेखकः ब्रजेश
प्रकाशकः अर्किड बुक्स
पृष्ठः २०९
मूल्यः ने.रु २९५


(नागरिक 'अक्षर'मा २०६९ चैत १७ गते प्रकाशित । लिङ्क यहाँ छ ।)


No comments:

Post a Comment