Saturday, May 10, 2014

धुलोमुनिको फाइल

सिपी अर्याल (CP Aryal)

अहिले

वि.सं. २०८७ बैशाख ।

बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन । त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो । त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो । यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि ।

निमको दतिवनले दाँत माझ्न आँगनछेउ टुक्रुक्क बस्यो । आफूछेऊको सानो अम्खोरामा राखेको पानीले मुख कुल्ला गर्‍यो । पल्लोपट्टि तीनओटा खटियामा भैया, अम्मा र अब्बा लम्पसार थिए ।
तराईको असह्य गर्मी छल्न आँगनमा खटिया बिछ्याएर, झुल टाँगेर सुत्छन् उनीहरू । यो रित यसैगरी चल्दै आएको छ, सदियौंदेखि ।

दाँत माझ्दा एफएम रेडियो बजायो । एउटी केटी राशिफल भन्दै थिई । पालो कुम्भ राशिको थियो । संयोगले ऊ पनि कुम्भ ।

“कुम्भ राशी हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ ।”

उसलाई राशिमा विश्वास छैन । आज भाग्योदयको योग छ भनेको दिन उसको भाग्य कहिल्यै चम्किएको छैन ।

“माकी आँख !” निधारमा धर्सा कोर्दै ऊ फुसफुसायो, “मनइकए उल्लू बनावथी !”

“बहुत बड्बड् करथी लवन्डी ।” एफएमकी केटीले निद्रा बिथोलेको झोँकमा उसको भैया खाटबाट जुरुक्क उठेर च्याँट्ठियो, “बन्द कैदे रेडियो ।”

रेडियो बन्द गर्‍यो । भैया घुर्‍यो निमेषमै ।

बिहानदेखि बेचैन मन कतै लगेर बिसाउन पाए ऊ रम्थ्यो पनि होला ।

अम्माले पकाएको भात साढे आठ बजे नै खाइसकेर तयार भयो । छोरोले जागिर खान जान लागेको पहिलो दिन, अब्बा र अम्मा खुसीले डम्म फुलेका थिए ।

भोलिपल्ट अफिस जाँदा लगाउने सर्ट र पाइन्टलाई ‘धारिलो’ बनाउन हिजै राति पट्याएर डसनामुनि राखेको थियो उसले । नीलो पाइन्ट र सेतो सर्टमा जताततै ‘धार’ बस्यो ।

खुसी हुँदै कपडा लगायो । अनि अब्बाको थोत्रो एवन साइकलमा हुइँकियो बतासझैं । ऊ पर पुगुन्जेल अब्बा र अम्माले आँखा चिम्म पनि गरेनन् । धुलोको मुस्लोले उसलाई ओझेल पारुन्जेल हेरिरहे । एसएलसी पास गरेपछि उसले जागिर पाउँदा परिवारका सबैलाई नागमणि पाएझैँ भएको छ । गरिबलाई त्यही जागिर त हो नागमणि !

एउटै रफ्तारमा कुदाइरह्यो साइकल । घरिघरि एफएमकी केटीको आवाजको बतासले छोएर जान्थ्यो । केटी कानमा आएर फुस्फुसाएझैँ लाग्थ्यो, “कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ... ।”



केहीबेरमा अफिस पुग्यो । साइकल बाहिर थन्काएर भित्र पस्यो । स्टाफ रुमको ढोकामा गएर उभियो । रामभरोशले उसलाई हाजिरी कापी ल्याएर दियो । पुछारको पाना पल्टाउँदै पुस्तिका उतिर बढायो ।

नाउँ : बुदही हरिजन
दर्जा : पियन

हाजिरी कपीमा आफू दर्ता भइसकेको देखेर उसलाई पाठोझैँ बुरुक्क उफ्रन मन लाग्यो । दिलखुस भएर छिटोछिटो हस्ताक्षर गर्‍यो ।

“फाइलिङ गरेर राखिएका पत्रिका कीरा, साङ्लाले बिगारे कि स्टोरमा गएर एकपटक चेक गरिलिनू ।” हाजिर कापी दिने रामभरोस उसलाई अह्राएर अलप भयो ।

“भै हाल्छ हजुर !” भन्दै बुदही स्टोरमा पस्यो ।

ठूलो स्टोर रुममा फाइलिङ गरी राखिएका पुराना पत्रिका, किताब, म्यागजिन, केके हो केके थिए । पत्रिका भएको खण्डतिर ऊ लम्क्यो । धुलोको च्यादर ओढेर निदाएका फाइलहरू सर्सरी नियाल्यो । इतिहासका असली गवाह त्यसरी धुलाम्मे र अर्धमृत थिए । सबैमा लागेका धुलो आफ्नै अँगोछाले सफा गरिदिन मन लाग्छ उसलाई ।

सरसफाइ त गर्ने, तर कहाँबाट सुरु गर्ने ? कोठाको सबैतिर वाल्ल परेर नियाल्यो । धुलोको यतिविधि साम्राज्य उसले कहिल्यै देखेको थिएन । माकुराको जालोले कोठालाई फन्को मारेका थिए, साङ्ला अनि मुसाहरू खुरुरुरुरु दगुरेर छुन्छुनीयाँ खेल्दै थिए ।

ढोकाको दाहिने छेउमा एउटा जिर्ण दराज थियो । खिया लागेको । दराजमाथि एकजोडी बिरालाले चिम्सा तर चम्किला आँखाले बुदहीलाई हेरिरहे ।

“भाग् !!!” बिरालोलाई धपाउन खोज्यो उसले ।

“म्याउँ !” गर्दै दुवै बिराला ढोकानिर फुत्त हामफाले र बगैँचातिर अलप भए । बिराला भुइँमा हामफाल्दा फाइलिङ गरी राखिएका पत्रिकाका रास झ्वाम्म भुईँमा खसे । दराजमाथिबाट भुइँमा पत्रिका खस्दा कोठाभरी धुलोको साम्राज्य फैलियो । धुलोबाट अलिकति भएपनि जोगिन बुदहीले आफ्नो अँगोछाले टाउको र अनुहार छोप्यो ।

भुइँमा खसेको पत्रिका उठाउन निहुरी पर्दा एउटा फाइल देख्यो । फाइलको बाहिरी गातामा “२०७१ बैशाख” लेखिएको । त्यो मिति देख्नेबित्तिकै उसलाई इतिहासको रेल छेउमा आएर टक्क रोकिएझैँ लाग्यो । किनकि २०७१ बैशाखमै ऊ जन्मिएको थियो । १६ वर्ष अघि ।

धुलोलाई आफ्नो हातले टकटकाएर खोल्यो फाइल ।

२०७१ बैशाख १, २, ३, ४, ५,६ ७, ८, ९, १० गतेका पत्रिकाहरू सर्सरी पल्टायो ।

११ गतेको पत्रिका पल्टाउँदा ऊ रोकियो । पत्रिकाको मुखपृष्ठमा लेखिएको खबरले उसलाई तान्यो एकनासले ।
त्यसपछि ऊ धुलोको चकटीमाथि ड्याम्मै पलेँटी कसेर बस्यो र पढ्न थाल्यो खबर ।

एक्कैछिन अघिसम्म सहिसलामत उसका हात पत्रिका पढिरहँदा काँप्न थाले । गुडिरहेको गाडीभित्र किताब पढ्दा अक्षरहरू आफै उफ्रिन थालेझैँ लाग्यो उसलाई । पत्रिका समाएका आफ्नै हात आफ्ना हैनन् झैँ भए । खल्खली पसिना आए । लाग्यो, ऊ भर्खरै पसिनाको तलाउमा झ्वाम्म हाम फालेर किनारिएको छ !

झगरुदेवी हरिजन उसकै आमा ! रामतलाहा उसकै गाउँको नाम ! अनि पत्रिकामा समेटिएको घटनाको नायक ऊ आफै ! परिवारबारेको त्यत्रो ठूलो रहस्य उसलाई अहिलेसम्म थाहै नाइ । कसैले उसलाई केही सुनाएन । आफै नायक भएको डरलाग्दो सिनेमाजस्तै घटना उसले १६ वर्षपछि थाहा पाउँदैछ ! शान्त पृथ्वी अचानक विस्फोट भएझैँ लाग्यो उसलाई । शरीरका रौँ ठाडा भए, अलकत्रा पग्लीने गर्मीमा पनि उसको ज्यान चिसियो । पिसाब लागेझैँ भयो । आत्तिएर पिसाब फेर्न गयो, तर तुरुक्क मात्रै भयो ।

१६ वर्ष अगाडिको घटनाबारे बाआमाले उसलाई किन बताएनन् ?

ऊ असिनपसिन थियो । बिहान एफएममा बोलेकी केटी अचानक गुञ्जन थाली उसको मष्तिष्कमा “कुम्भ राशी हुनेहरू....”

बैशाखको घामले होइन आफ्नै जीन्दगीको सूर्यले भत्भती पोल्न थाल्छ उसलाई । त्यसैले घरतिर हानिन्छ । 

“अब्बा ! ए अब्बा !” बुदही चिच्याउँछ । गोठमा उसका बाले गोरुलाई स्याहार गरिरहेका थिए । जागिर खान गएको छोरो किन केहीबेरमै घर आयो ?

अब्बाले देख्छन् छोराको हातमा पुरानो देखिने पत्रिका छ । पसिनाले निथ्रुक्कै भिजेको छ ऊ । आँखा टिलपिल छन् ।

“का भए रे बेटवा ? एत्ना हाली काहे आइगए अड्डासे ?” अब्बाले सोध्छन् ।

“यी का होए ? हम्मए कब्बए नाही बताएरह्यो ?” धमिलो भइसकेको पत्रिकाको मुखपृष्ठ बुदहीले देखाउँदै अब्बालाई प्रश्न गर्छ ।

पत्रिका देख्नेबित्तिकै बुदहीका अब्बा झस्किए । १६ वर्ष अगाडिको भयानक सम्झनाले आत्तिँदै उनी थचक्कै बसे, टाउको समाउँदै !

उहिले

२०७१ बैशाख ।

म त्यसदिन पूजारी बाबुको घर बनाउन गएको थिएँ । फर्कँदा खुब थाकेको थिएँ । घरमा हल्ली खल्ली मच्चिएको रहेछ । सुत्केरी व्यथाले बुढी आत्तिइरहेकी थिई । बुढी भएको कोठाभित्र गएँ, केही महिलाहरूले घेरीरहेका थिए । आँसुको टाटा बुढीका गालाभरी बसेका थिए । मलाई देखेर बरर्र आँसु झारी उसले । लाग्यो, ती आँसु मै आएपछि पोखिन आँखाको डिलमा मलाई नै कुरेर बसेका थिए ।

“अस्पताल.... ?” बुढीलाई सोधेँ ।

उत्तर उसले फर्काइन । ओठ टम्म बाँधेर हिक्क गरी । आँखा चिम्लिइ । आँसु बरर्र झरे ।

रेड क्रसको कार्यालय गएर एम्बुलेन्स बोलाउन घमालुलाई पठाएँ । अनि कोठाभित्र पसेँ पैसा झिक्न । बुढीको ओखती गर्न चाहिएला भनेर केही पैसा जोगाएको थिएँ । काम लाग्यो । सर्टको च्यातिएको खल्तीमा पैसा राख्न मिल्दैनथ्यो । त्यसैले त्यसलाई लुङ्गीको फेरोमा कसेर बाँधे ।

एकैछिनमा एम्बुलेन्स आयो, “टुँ...” गर्दै । त्यसको आवाज मलाई कत्ति पनि मन पर्दैन । एम्बुलेन्सको आवाज त मान्छेहरू मलामी जाँदा बजाउने शंखध्वनी झैँ लाग्छ । त्यो सुन्नेबित्तिकै डर लागेर शरीर कक्रकिन्छ । आज पनि कक्रकिएँ ।

घर अगाडि एम्बुलेन्स रोकिँदा मोहल्लाका सबै मान्छे ओइरिएका थिए । सबैले “मेरी बुढी सकुसल सुत्केरी होस्”को याचना गर्दै उपरवालासँग प्रार्थना गरेझैँ लाग्यो ।

चारपाँचजनाले बुढीलाई झ्याइँकुटी पार्दै एम्बुलेन्समा राखे । म पछिपछि लागेँ । मेरो पछिपछि मोछाडे काका आए । बुढीको टाउको काखमा राखेर एम्बुलेन्समा बसेँ म । काकाचाहिँ म अघिल्तिर बसे । एम्बुलेन्स बत्तिएर अस्पताल दगुर्‍यो ।

सेता कपडा लगाएका नर्स आएर हातले उचाल्ने खटियामा राखेर बुढीलाई लगे । छुट्टिँदा बुढीले मलाई हेरिरहेकी थिई, अनि मैले उसलाई । उसले देख्ने गरी म रोइनँ । ऊ भित्र गएपछि रोएँ । पीडाले छटपटिएकी बुढीभन्दा धेरै रोएँ । हरेक खानेकुरा “बाँडेर खाऊँ” भन्ने बुढीले पिडाचाहिँ बाँडिन !

बुढीलाई भित्र लगेको धेरैबेरसम्म डाक्टरहरू बाहिर आएनन् । म बाहिर रन्थनीएँको थिएँ, बुढी चाहिँ भित्र । नजिकैको मन्दिरमा गएर भगवानसामु हात जोरेर उभिएँ ।

सँगसँगै हिँडेका काकाले भने, “नरो रे ! कुछ नाही होइ !”

रातिको समय थियो । मच्छड खुब लागेका थिए । एकछिन पनि उभिएर बस्न नसकिने, लामखुट्टेले हैरान पारेका थिए । पाइखानाको गन्धले अस्पतालको आकाश ढाकेको थियो । औँला पड्काएर झोक्राउँदै बसेको थिएँ ।

निलो कपडा लगाएकी मोटी दिदी आएर मलाई झक्झक्याउँदै भनिन्, “बधाइ हो ! बेटा होइगए । !”

खुसीले पिलपिल भएँ । भुईँमा बरर्र आँसु झरे ।

अघि दुखी हुँदा आँखाको जुन बाटोबाट आएका थिए आँसु, अहिले खुसी हुँदा पनि त्यही बाटोबाट आएका होलान् कि ?

“उसलाई ठीक छ ?” ती दिदीलाई सोधेँ ।

“बिलकुल । तर....” बोल्दा बोल्दै रोकिइन् उनी । मेरो निधारमा पिरका बाङ्गाटिङ्गा रेखा सलबलाए, रौँ ठाडा भए । अनि छातीमाथि रेल कुदेझैँ भयो ।

“के भयो....?” सोधेँ ।

“तपाईँको छोरा रुँदै रोएको छैन ।” उनले भनिन् ।

मैले अर्कै सोँचेको थिएँ । डर हरायो । अनि सास तानेर आँखा चिम्लिएँ ।

त्यहीबेला दुई जना डाक्टर साहेब आए । मेरो कुम थम्थमाउँदै बोले, “बधाई छ । तपाईँको बच्चा रोइरहेको छैन तर सकुशल छ । हामीले त्यो उपचार यहाँ गर्न सक्दैनौँ । अर्को अस्पताल लैजानू ।”

तुरुन्तै त्यहाँबाट अर्को अस्पताल लग्यौँ । कुन्नी केमा राखेर बच्चाको उपचार हुन थाल्यो ।

परिवारका केही मानिसलगायत हामी बाहिरै बसिरह्यौँ । डाक्टरहरू आउजाउ गरिरहन्थे । तर कसैले केही बताउँदैनथे । विरामीका मान्छे भुइँमा असरल्ल पल्टिएका थिए । सिमेन्टी उक्किएको भित्तामा हेरेर कोही टोलाइरहेका थिए ।

अँध्यारो पूरै हटेको थिएन, बिहान पनि भएको थिएन । त्यहीबेला एउटी नर्स आइन् र भनिन्, “माफ गर्नुस्, बच्चालाई बचाउन सकिएन ।”

त्यो नर्स केटी त्यसपछि पनि के–के गुनगुन गर्दै थिई । मैले उसको बोली बुझिनँ । भनन रिङ्गटा छुट्यो । आँखाअगाडि एक्कासि कालो पर्दा लाग्यो । कतिबेर खुलेनन् पर्दा, थाहा पाइनँ । पर्खा खुल्दा देखेँ, वरिपरि उभिएका मानिसको आँखा उक्सिएको रोटीझैँ सुन्निएका थिए । सेतो कपडामा बेरिएको मृत बच्चा हेर्दै सबै आफन्त रोइरहेका थिए । आँखा मेरा पनि रसाएका थिए ।

“बुढी खोइ ?” पिन्चे स्वरमा सोधेँ ।

“अस्पतालमए, उपचार होथए । उन्नहएँ यी सब बतिया केहु नाही बताए है !” भिडको बीचबाट कसैको आवाज आयो । सोचेँ ठिकै गरे उसलाई अहिल्यै नभनेर ।

“अब् अन्तिम संस्कार करेक परी ।” कोही बोल्यो ।

त्यसपछि भिड छितरबितर भयो । संस्कार पूरा गर्न मृत बच्चालाई तेल लगाइदिन छिमेकीलगायतका आफन्तले तयारी गरे । म चाहिँ त्यही सेतो कपडाले बेरिएको चिसो शरीर नजिकै टोलाएर बसिरहेँ । मनजिक आए काका । अनि शव वेरिएको लुगा रुँदै खोले । बेरिएको लुगा टाउकोपट्टीबाट खुट्टातिर झार्दै थिए । कम्मरमुनि पु¥याएपछि उनी रोकिए । घुँडामा मुख जोतेर रोइरहेको मलाई घचघच्याएर बच्चातिर इशारा गरे । मैले उतै हेरेँ ।

हे भगवान् के देखेँ मैले ! मुख सुके, निधारमा पसिना आए । ज्यान लुलो भयो !

काका पनि ठूला ठूला आँखा बनाउँदै भिडतिर वरिपरि हेरे । हल्लीखल्ली मच्चियो ।

मेरी बुढीले छोरा पाएकी थिई । डाक्टरहरूले ऊ मरेको घोषणा गरे । तर शवचाहिँ छोरीको थियो ! के भयो ? कसरी भयो ? किन भयो ? छिमेकीहरू हल्लाखोर गर्न थाले ।

काकाले तुरुन्त अस्पतालमा फोन गरे । उताबाट के आवाज आयो थाहा पाइनँ । काका बेस्सरी झोँक्किए ।

“तिमीहरूलाई काटेर मासु खान्छु !”

“.......”

“बिरामीसँग बोल्ने यहि हो तेरो तमिज ए लवण्डी ! पख् हामी आउँदै छौँ !”

“के भयो काका ?” उत्रिएको स्वरमा सोधेँ ।

हाम्रो छोरा साटेर अरू कसैको मरेकी छोरी दिएका रहेछन् !! थाहा पाउँदा भननन्न रिङ्गटा छुट्यो । संसार भास्सिएर कतै पुग्दैछ जस्तो लाग्यो ।

काकाले अस्पतालमा फेरि फोन गरे । फोन उठाउनेले राम्रोसँग कुरा गरेनन् । पटकपटक फोन गरे काकाले, तर अहँ भद्र भएर कुरै गरेनन् । प्रत्येकपटक हामीलाई नै गाली गरिरहे ।

एकपटक त भनेछन्, “छोरी र छोरा पनि छुट्याउन नसक्ने ? तिम्रो सन्तान हाम्ले अरूलाई किन दिन्छौँ ? हामी पागल हौँ र ?”

“चलि अस्पताल !” काका जुर्मुराउँदै उठे । मलाई अन्य केही मान्छेले समाउँदै उठाए ।

एकैछिनमा हामी एक दर्जन जति भएर अस्पतालतिर लाग्यौँ ।

घरमा रहेका महिलाहरूलाई भन्यौँ, “लासलाई केही नचलाऊ । हामी आउँछौँ ।”

बच्चा जन्मिएको अस्पतालमा पुगेर डाक्टरलाई सबै बेलिविस्तार लगायौँ । उनी स्तब्ध भए । केहीबेर अगाडि जन्मिएको छोरोबारेका प्रमाण जुटाएर अर्को अस्पताल पुग्यौँ ।

डाक्टरसँग कुरा गर्न काका र म गयौँ । सबै प्रमाण देखाएपछि डाक्टर बोले, “गल्ती भएछ !”

“मान्छेसँग यस्तो खेलबाड गर्ने !” काकाले त्यस डाक्टरलाई घुच्याए ।

डाक्टर डङ्गरङ्ग लड्यो । उठाएर एक चड्कन हाने । ऊ रुन थाल्यो । त्यतिञ्जेल हाम्रा आफन्त र छिमेकीले अस्पताल भरिभराउ थियो ।

“मेरो छोरा फिर्ता लेऊ !” अब डाक्टरसँग च्याँठ्ठीने पालो मेरो ।

“के भएको रहेछ म बुझ्छु बाबु” डाक्टरले पिन्चे स्वर लगायो ।

अस्पतालमा तनाव भयो भनेर सायद कसैले प्रहरीलाई खबर गरेछ । दर्जनौँ प्रहरीहरू उत्तिखेरै अस्पतालभरी छरिए । तीनजना प्रहरीले ती डाक्टरलाई सुरक्षा दिँदै अर्को कोठाभित्र लगे ।

“तपाईँको बच्चा अस्पतालको गल्ती र लापरवाहीले साटिएको रहेछ । अर्को जिल्लाकी एकजना महिलाको मृत छोरीसँग साटिएको रहेछ !” एउटा प्रहरी हामी भएठाउँ आएर भन्यो, “छोरा फिर्ता पाउनुहुनेछ । तनाव नगर्नुस् ।”

केहीबेरपछि हरियो कपडामा बेरेर बच्चा ल्याएर मलाई जिम्मा लगाए । मैले बच्चा बोकेँ । आँखा पनि राम्ररी नउघारिएको छोरो कतिखेर छातिमा टाँसियो, कतिखेर म भक्कानिएँ, थाहै पाइनँ ।


अहिले
२०८७ बैशाख
“त्यो शिशु तँ थिइस् बेटा” बुदहीका अब्बाले खुइय गरे ।

बुदही केही नबोली उठेर नल्कातिर गयो । मुख धुन खोजेको थियो । नधोइ फर्कियो । कोठाभित्र पस्यो । आफू सुत्ने खटियाको सिरानीमुनि त्यही पत्रिका राख्यो ।

बाहिर, सिसौका पात हलुका बतासले हल्लाइरहेका थिए । एउटा हाँगा र अर्को हाँगाबीचको दुरी त्यही बतासले छोट्याउने र बढाउने गरीरहेका थिए ।

ठिक त्यही बेला, बुदहीले राशीफल भन्ने केटीलाई एकपटक फेरि सम्झ्यो !

(नागरिक दैनिक २०७१ बैशाख २७ शनिवार । लिंक यहाँ)


No comments:

Post a Comment