Thursday, August 19, 2010

Gadget Doctor

गजेट डाक्टर 
–CP Aryal (सिपी अर्याल)
“हेर् बाबु, त्यो रिडियाँ...गैँडा.... खाग हुन्छ, त्यो बज्नी त्यै हो बुझिस्...” उतीबेला चन्चल बाल बुद्धिले रेडियो बजेको अनौठो मानि त्यसबारे सोद्धा ठूलाबाले उनलाई यही सिकाए। र अहिले स्याङ्जा छाङ्छाङ्दीका उनै प्रेमनारायण रेग्मी रेडियोको त के कुरा लगभग सम्पूर्ण इलेक्ट्रोनिक्स सामानको जाँचपड्ताल गरी निको पार्न जान्ने हुञ्जेल सम्म उनको दिमागबाट ठूलाबाले भनेका ती कुरा मेटिएको छैन।


अचम्म हाँसो हास्छन् प्रेम। उनले घन्टाघरको जामे मस्जिद स्थित मार्केट भित्र एउटा सटर लिएका छन्। र सो रिपेयरिङ्ग वर्कसप अफिसमा प्रत्येक बिहानी सुरु गर्नु अगाडिको पल तिनै ठूलाबालाई सम्झने बताउँछन्। लगत्तै, विग्रेका कम्पयुटर मोनिटर, ल्यापटप, सिपियु, मदरबोर्ड, एलसिडी मोनिटर, डिजिटल क्यामेरा लगायत विश्व बजारमा पुग्नु अगावै चाइनाले नेपाल 'फ्याँकेका' गजेटहरूको उपचारमा केन्द्रीत हुन्छन्। उनको अफिस पुग्दा मैले उनलाई सामान्य सर्ट पाइन्टमा सजिएर, बिग्रेको कुनै मोनिटरको सर्किट जाँच गरिरहेको भेटेँ। गफगाफको लागि म पुगेको थाहा पाएपछि हातमा लिएको एनालग मल्टिमिटर अल्ली पर सार्दै उनी गफिन तयार भए। यी ३२ वर्षिय स्याङ्जाली ठीटालाई गफ गरेर उधिन्नु हम्मे रैछ। “स्या्जाली न हूँ साथी...” उनी बेजोड हाँसे।

प्रेम काठमाडौँ आएका २०५१ सालतिर हो। “त्यतिबेला मैले कल्पना गरेको थिइनँ होला म यसरी कम्प्युटरको डाक्टर हुन्छु भन्ने।” आफ्ना खैरा आँखाका नानीले भित्तातिर हेर्दै भने “२०५४ सालतिर दाईसँग त्रिवि घुम्दा पहिलोपटक कम्पयुटर देखेको हूँ। अनौठो लागेको थियो। मनमनै, त्यो छुन पाए कस्तो हुँदो हो भन्ने भयो।” तर अहिले त्यही कम्पयुटरको आन्द्रा भुँडी केलाउन जान्ने भैसकेका प्रेम त्यसरी कम्पयुटर पहिलोपटक देख्दा रेडियो, तथा क्यासेट प्लेयर बनाउने तालिम लिन फर्म भर्ने तयारीमा रहेछन्। बिस्तारै रेडियो सिकेपछि बिडब्लु टिभी, कलर टिभी, हुँदै मोनिटरतिर हात बढाए। त्यसरी सिक्दै गर्दा उनी त्यही बनाउन सिकाउने मास्टर पनि भएछन्। “साह्रै गाह्रो भाथ्यो गाँठे, आफूले अलिअलि मात्र जानेको बेलाँ अर्कालाई राम्ररी सिकाउन खोज्दा।” हल्का स्याङ्जाली लवज भेँटे मैले उनको बोलिमा। उनले रिपेयरिङ्को कामसँगै मास्टरी पनि गर्ने गरेको खोले। “मास्टरी बोले तो रिपेयरिङ् मास्टर।” ठट्यौलो पारामा हिन्दी लवज मिसाएर बोले। “र अहिले मैले हजारौँलाई चेला बनाइसकेँ, मैले सिकाएका विद्यार्थीहरू देशका लगभग सप्पै ठाउँमा छन्।” गजब लाग्यो, सोधेँ “ती चेलानी तपाइँजस्तै जान्नी छन् त?” “छन् नि, तर प्रत्येक गुरुले आफूसँग हुने अन्तिम अस्त्र सिकाउन चाहिँ बाँकि नै राखेको हुन्छ रे! त्यो पनि सिकाए त बर्बादै हुन्छ नि। आफ्नो खासियत हो त्यो। त्यो पनि गुमे आफ्नो रोजीरोटी पनि गुम्छ।” उनको यो तकनिकी चाहिँ खुबै मन पर्‍यो मलाई। अनि अघि उनले फुत्काएको वाक्य सम्झेँ। “स्याङ्जाली न हूँ साथी!” म हाँसेको उनले थाहा पाएनन् किनकि त्यतिखेर उनले त्यही मोनिटरको सर्किट लाईन खोज्न आँखा सर्किट–चार्टमा लग्दै थिए।

लोडसेडिङको बेला उनले बत्ती जाने रूटिन नै पकेटमा हाली हिन्दा रहेछन्। जता बत्ती आउने पालो त्यतै रिपेयरीङ गर्न कुद्ने रे। अर्को रोचक कुरा के रहेछ भने उक्त वर्कसपमा काम गर्ने उनका सहयात्री समूह पक्का समावेशी रहेछ। बाहुन, जनजाती, मुसलमान, मधेसी र नेवार गरी पाँच जना। “यो कुरा नेपालमा समावेशी मुद्दाको कुनै चर्चा नहुँदा हामीमा लागू भैसकेको थियो। तर यो चाँजो मिलाएर गरिएको होइन, आफैँ परिआएको।” उनले कथे। मुस्लीम साथीले चाहिँ अहिले छाडिसकेछन्। सामान्यतया हाम्रो समाजमा टेक्निसियनमाथि हेय दृष्टिकोण राखिन्छ। यो कुराले प्रेमलाई निकै दुःखीत बनाउँछ। “मान्छे पढ्न नसकेपछि तारसार जोडेर खाने उपायमा लाग्छ।”सामान्यतया मानिसले उनलाई घोच्ने कथा हो यो।।

उनले कम्प्युटर रिपेयर नगरेको सरकारी अड्डा अदालत, प्राइभेट कलेज–स्कूल, फर्महरू लगभग छैनन् रे। यस अर्थमा उनी त राजधानीले नचिनेको एक हिरो पो रहेछन् त! “हामी सधैँ नेपथ्यकै पात्र भयौँ।” उनले दुखेसो घोप्ट्याए। तर त्यो सोचाइमा परिवर्तन हुँदै छ। उनले कति पढेका छन् त? “अहिले पब्लिक युथ क्याम्पसमा एमबिएस थेसिसको तयारीमा छु। यसबाहेक पुतलिसडक स्थित एक कलेजमा एमसिए पढ्दै पनि। वाह! अनि कमाई कति होला त? एक जोडी दाजु भाउजु, दुई भाई र एक बहिनीका धनी प्रेम भन्छन् “फेमिली राम्ररी चलेको छ। कहिलेकाहिँ पर्ने गाह्रो साह्रोको कुरा बेग्लै। यसबाहेक स्याङ्जामै बस्ने आमालाई खर्च पठाएकै छु।” “उसो भए कम्यपुटर हार्डवेयरमा त टन्नै पैसा रैछ नि प्रेम जी?” मैले मन चोर्न खोजेको कुराको सुइँको पाए उनले। “त्यसोभन्दा नी साथी मिहिनेतको फल त कसले पो नखाला र?” उनले बठ्याइँ गरेर उत्तर दिए।

(२०६६ असार २० मा कान्तिपुर,कोसेलीमा प्रकाशित )

Wednesday, August 18, 2010

विसंगति, विचार र प्रयोगशीलताको कोलाज : खरीको घेरो

-CP Aryal (सिपी अर्याल)
चालीसको दशकमा युरोपेली जनताले आफ्नो समाजमा अशान्ति, कोलाहल कानुनको विद्वेश जस्ता समस्या भोगेका थिए। ब्रतोल्त ब्रेख्तले आफैँले प्रतिपादन गरेको एपिक थिएटर सिद्धान्तमा आधारित ' ककशियन चक सर्कल' नाटक मार्फत् तात्कालीन् समाजको त्यही विसंगती प्रयोगधर्मी धारमार्फत् उजागर गरे। अहिलेको परिवेशमा ती विसंगती ठ्याक्कै मेल खाने भएकाले हुनुपर्छ ब्रेख्तको उहि नाटक 'खरीको घेरो' मा अनुदित भइ गुरुकुलमा मञ्चित छ। नाटकमा कुशासनको कुरा , प्रेमको कुरा , भावनाको कुरा , विचारको कुरा , द्वेशको कुरा राजपरिवार भित्रको षड्यन्त्रको कुरा पनि छ।

नाटक पाँचवटा दृश्यमा देखाइएको छ। उतिबेलाको युरोपीय पात्र तथा परिवेशलाई नेपालीकरण सहित प्रस्तुत गरिएको नाटक सुरु हुँदा राजा जयबहादुर मल्ल रानी आफ्ना शिशु मनोहर सहित एउटा महाउत्सवमा भाग लिइरहेका हुन्छन्। उहिबेला राजाका भाइले आफ्ना दाईबिरुद्ध षड्यन्त्र रच्दै गरेका हुन्छन्। षड्यन्त्रले राजाको ज्यान लिन्छ। भागाभागको बेला शिशु युवराज मनोहरलाई एक्लो देखि दरवारकी नोकर्नी गीताले शिशुलाई केवल जोगाउने उद्देश्यसहित लिइ हिँड्छे। यसअघि गीताले आफ्नो सिपाही प्रेमी युद्धबाट फर्केर आउँदासम्म कुरीबस्ने वाचावन्धन सहित प्रेमीलाई युद्ध मैदानको लागि बिदाइ गरिसकेकी थिइ। नाटकले दर्शकको ढुकढुकीको गति बढाउँदै लैजान्छ। गीताले मनोहरलाई 'हुर्काउनबढाउन सक्दिनकी' भन्ने मानी बच्चालाई त्याग्ने मनस्थिति बनाउँछे जसमा सफल हुँदीन। राजारानीमा मात्र नाटक फन्को मारीरहला भनी दर्शकले अनुमान गर्छन्। अब नाटक गीता वरिपरि घुम्छ।

दरवारका सेना गीताले चोरेको बच्चाको खोजीमा लगातार लागिरहन्छन्। गीता भने हिमालमा भएको दाईको घरमा शरण लिन पुग्छे। त्यहाँ गाउँलेले गीताले बोकेको बच्चाबारे गलत अर्थ लाउने डरले मृत्युको मुखमा पुगेको एउटा मानिससँग 'विवाहको लागि विवाह' गर्नुपर्ने प्रस्ताव राखिन्छ। गीताले विवाह गर्छे।।।।।रु तत्कालै युद्ध सकिएको खबर आउँदा त्यो मानिसले युद्धमा जानुपर्ने वाध्यता नकार्न आफूू विरामी परेको नक्कल गरेको देखिन्छ। अब गीता झनै परिबन्दमा पर्छे। उसले पतिसँग ओछ्यानमा निर्वाह गर्नुपर्ने भूमिका भने कहिल्यै निभाउँदिन। बच्चा हुर्कँदै जान्छ। कुनैदिन गीताको पुरानो प्रेमी फर्कन्छ। गीता आफूले विवाह गरेको तर त्यसको छुट्टै कथा रहेको कुरा प्रेमीलाई सम्झाउन खोज्छे। तर प्रेमी भने कुनै पनि हालतमा गीताको कुरा मान्ने मनस्थितिमा हुँदैन। पछि त्यो प्रेमिल मन मोडिन्छ। गीताको कुरा अदालतमा पुग्छ। प्रेमीले सो बच्चा उसको भएको स्विकार्ने वाचा गर्छ। अक्कलबहादुर नामका अद्भूत न्यायधिसले फैसला सुनाउँछन्। 'बच्चा कसको?' भन्ने निर्णय दिन उनलाई खुबै गार्हो हुन्छ। अन्तमा उनले एउटा खरीको घेरो बनाई बच्चालाई बीचमा राख्दा जसले तानेर लैजान सक्छ बच्चा उसैको हुने बताउँछन्। बच्चा आफूतिर तान्न रानी सफल भएपनि गीताले दुःख गरी हुर्काएकोले बच्चा गीताकै हुने एकदमै भावनात्मक फैसला गरी ती जँड्याहा न्यायधिसले दर्शकको ताली पाउँछन्।

न्यायधिसको यो फैसला लगत्तै एउटा गीत गाइन्छ'बच्चा कसको पाल्नेको, गाडी कसको ड्राइभरको, खेत कसको जोत्नेको....' यस्तो क्रान्तिकारी भावको गीत गाइँदा रिमाल नाटक घर तालीको गडगडाहटले गुञ्जन्छ।

दस मिनटको मध्यान्तर सहित नाटक घण्टा पन्ध्र मिनटको छ। कथा लामो भएकाले यसो भएको हो। गैर नेपाली निर्देशकद्वय मिया म्याक्सले नेपाली परिवेशमा ढालीएको जर्मन नाटक निकै अभूतपूर्व तरिकाले निर्देशन गरेका छन्।

नाटकमा न्यायधिसको भूमिका एकदमै विरोधाभाषपूर्ण देखिन्छ। उनले 'मेरो समस्या भनेको धनी मान्छे हुन्, गरिब होइन' भन्छन्। उनी न्यायधिस हुनुपूर्व भैसकेपछिका उनका मनस्थिति भावनाले उनी स्वच्छ छवीका भएको देखिन्छ। तर उनले प्रत्येक फैसला सुनाउनुअघि घुस मागेको देख्दा केही फैसलाहरू सत्यको पक्षमा नगरेको देख्दा भने दर्शक अलमल्ल पर्छन्। उनले गरेका सबै फैसलाहरू कानुनी आधारको नभै भावनात्मक तथा वैचारीक देखिन्छ। विसंगतिमाथि विचारको संयोजन गरी न्यायधिसले फैसला सुनाउँछन्। न्यायधिसको भूमिका निर्वाह गरेका सुनील पोख्रेलको यो अभिनय निकै उत्कृष्ट छ। उनले कतिपय ठाउँमा 'इम्प्रुभाइजेसन' मार्फ्त् खुबै मीठो अभिनय गरेका छन्।

गीताको भूमिका निर्वाह गरेकी पशुपति राई आफ्नो अभिनयमा मजैले खुलेकी छन्। न्यायधिस सामु आफ्ना घाँटीका नशा फुलाउँदै बाझेकी गीतालाई देख्दा लाग्थ्यो उनी यथार्थमै अदालतसामु आफ्नै बच्चा दावी गरिरेहेकी छन्। जीवन्त उनको अभिनय।
 

यसबाहेक राजकुमार पुडासैनी, सरिता गिरी, विपीन कार्की, सजन थापामगर, रवीन्द्रसिंह बानीयाँ, प्रविण खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, भोलाराज सापकोटा, रामहरी ढकाल, सरस्वती थारु, प्रमिला कटुवालको अभिनयमा पनि खोट लगाउने कुनै ठाउँ छैन। नाटकमा धेरैजसो कलाकारले दोहोरो वा त्यो भन्दा बढी भूमिका निर्वाह गरेका छन्, यो जटिल काम गर्न वास्तवमै प्रत्येक कलाकारले निकै मिहिनेत गरेका छन्। गुरुकुल आफैँले तयार गरेको भेषभूषा खुबै सुहाँउदो छ। प्रकाश व्यवस्थापन पनि मध्यम खालको छ। नाटकमा दृश्य संवादको उत्तिकै समायोजन छ। यसले नाटक खुबै साकेंतिक भएको छ।

नाटकमा प्रयोगधर्मी मानिएको पार्श्व सांगीतिक प्रस्तुति पनि निकै प्रशंसायोग्य छ। सांगीतिक समुहले बेलाबेला कोरसको काम गरेका छन् जसले घटनाबारे दर्शकसामु एउटा बुझाई प्रस्तुत गर्छन्। उनीहरूले गाएको गीत निकै भावात्मक सुनिन्छ।

नाटक लामो भएपनि दर्शकलाई कत्तिपनि झर्को लागेको अनुभूति नदिलाउने काम हास्यरसको छ। गहकिला संवादले कुनैबेला धुरुक्कै पार्छ भने कुनैबेला पेट मिचिमिचि हाँस्ने बनाउँछ। 'तपाईँहरू बिहेको शोकमय धुनमा भुल्ने की मृत्युको उल्लासमय क्षणमा रमाउने?' यस्ता संवादहरू निकै अर्थपूर्ण छन्। अंग्रेजी परिवेशको नाटकलाई नेपाली सुगन्ध दिएर अत्यन्तै रोचक बनाएको श्रेय नाटकका अनुवादक भिमलाल अर्यालमा जान्छ।

गुरुकुलमा २०६६ चैतको १४ १५ गते मञ्चन भैसकेको नाटक चैतकै २४ देखि बैशाख १८ गतेसम्म पुनः मञ्चन गरिनेछ।

(तस्विर स्रोत : गुरुकुल)

Tuesday, August 17, 2010

पल्पसा बाँचेको युग

हिजोआजका मेरा धेरैजसो समयहरू दृश्यको आर्ट ग्यालरीमै बसी बित्‍ने गरेका छन्। त्यो दिन पनि म त्यहीँ थिएँ। दृश्य उसको नयाँ शिर्षक “रि इन्कार्नेशन”मा काम गर्दै थियो। विगत एक हप्तादेखि ऊ सन्तुष्ट भइरहेको थिएन, आफ्नो आर्टलाई पूर्ण रूप दिन। यस क्रममा उसले धेरै क्यानभासहरू च्यातिसकेको थियो। त्यस दिन ऊ त्यो शिर्षक पूरा गरेरै छाड्ने धुनमा थियो।

दृश्यलाई भित्र छोडेर म बाहिर टेबलमा बसिरहँदा केही पर एउटी केटी देखें। सुरुमा उसलाई ठम्याउनै सकिनँ। कतै देखेजस्तो, चिनेजस्तो लाग्यो। उसले रुकस्याक भिरेकी थिई, घाँटीमा क्यामेरा थियो। ऊ अझ नजिक आउँदै थिई। सूर्य डुब्दै गरेको चित्र भएको टि–सर्ट र जिन्स लगाएकी। म झस्किएँ। ऊ पल्पसा थिई!!!

म बाहिरैबाट चिच्याएँ “दृश्य! पल्पसा आउँदैछ !!!!”

दृश्य झर्किनु र झस्किनु स्वाभाविक थियो। ऊ आर्ट ग्यालरी नजिक आइसकेकी थिई। बाहिर एकछिन मैले उसलाई हेरिरहेँ, एउटा आश्चर्य मिश्रित हेराइले। मलाई संसारमै सबैभन्दा आश्चर्यचकित लाग्ने घटना मेरै आँखा अगाडि विस्फोट हुँदैछ जस्तो लाग्दै थियो। दृश्य ढोकाबाट बाहिर निस्कन मात्र खोजेको थियो, ऊ मसँग झर्कियो।

“खोई पल्पसा? नचाहिँदो कु.......रा” दृश्य बोल्दाबोल्दै पल्पसा उसकै अगाडि आई। उनीहरू झन्डै ठोक्किएका।

त्यसपछि समयले आफ्नो अस्तित्व बिर्सिए जस्तो भान भयो। सुनसान। दृश्य पल्पसालाई हेर्दै थियो, आँखा झिमिक्क पनि पारेको थिएन। पल्पसा पनि त्यसै  गर्दै थिई। उसले पल्पसालाई अँगालो हाल्छ। निधारमा म्वाइ खान्छ। हामी सबैका आँखाहरूमा हजारौं प्रश्नहरू जन्मिँदै थिए। दृश्यको यस्तो स्वरूप मैले कहिल्यै देखेको थिइनँ। त्यसपछि उसले पल्पसालाई समाएर भित्र लैजान्छ। दुवैजना सोफामा बस्छन्। म पनि पछिपछि गएर छेउको कुर्सीमा बस्छु। पल्पसाले अब खेप्नुपर्ने प्रश्नहरूको ओइरो बारे म कल्पना गर्दै थिएँ।

“पल्पसा, तिमी कसरी....?” दृश्यले लरबराउँदै सोध्छ।

ऊ मुसुक्क हाँस्दै भन्छे “म सबैथोक भन्छु तिमीलाई।”

अनि मतिर फर्कन्छे।

दृश्य भन्छ “पल्पसा, ऊ मेरो नजिकको साथी, उज्ज्वल। ऊ लेखक हो। हिजो आजको युवा पुस्ताको सशक्त लेखक। तिमी हराएको केही दिनपछि चिनजान भयो ऊसँग।”

ऊ पल्पसालाई हेरिरहन्छ।

पल्पसाले मलाई अभिवादन गर्छे।

म अभिवादन फर्काउँदै भन्छु “पल्पसाजि साँच्चै म चकित छु आज। तपाईँ दुर्घटनामा परेको केही दिनपछि दृश्यसँग भेट भयो। ऊ त्यो बेला 'पिकासो ग्यालरी' मा एकल चित्रकला प्रदर्शनी गर्दै थियो। त्यो बेला दृश्यले तपाईँबारे सैबथोक भन्यो। तपाईँको बारेमा थाहा पाउँदा म पनि विक्षिप्त भएको थिएँ। तर आज अनौठो गरी स्वयं तपार्इँलाई भेट्दै छु। मलाई विश्वासै भएको छैन। जे होस् दृश्यको अनुहार हेरेर यी घटनाहरूमा विश्वस्त हुँदैछु। नयाँ जीवन पाउनु भएको रहेछ, 'अ रिन्कारनेसन', कंग्राचुलेसन्स!”

मैले यसो भनी सिध्याउँदा दृश्यले मलाई हेर्छ। अनौठो गरी।

“जे पायो त्यहि!” पल्पसा टाउकोलाई दृश्यतर्फ ढल्काउँछे।

दृश्य र पल्पसा मुखामुख गरी हाँस्छन्।

ऊ फेरि थप्छे “उज्ज्वलजी म रि इन्कार्नेटेड भएको चार वर्ष पुग्न आँट्यो बल्ल बधाई पाँउदै छु। एनी वे थ्याङ्क यू!”
“दृश्य, बरु कफि अर्डर गर न। पट नै भन। अनि गफ गरौंला। ए... नारन दाइलाई पनि बोलाऊ बरु”

(पल्पसा लेखक नारायण वाग्लेको कुरा गर्दै थिई।)

दृश्य भन्छ “म आँफै बनाउँछु कफी। अनि नारन दाईलाई पनि बोलाउँला।”

दृश्य नारन दाईलाई फोन डायल गर्दै किचनतिर पस्छ। पल्पसा उठेर दृश्यको नयाँ आर्ट श्रृखंलाहरू हेर्न थाल्छे।

त्यसक्रममा धेरैबेरसम्म त्यही आफूलाई मन परेको चित्र हेरिराखी। त्यो चित्रमा पात खस्दै गरेको थियो। त्यसपछि ऊ 'रि इन्कार्नेसन' शिर्षकमा भुलिराखी। दृश्यले चित्रलाई अन्तिम रुप दिइसकेको रहेछ। पल्पसा उक्त चित्रको शिर्षक अनि कुनामा लेखिएको मिति देखेर छक्क पर्छे। त्यसैले होला उसले घरी किचनतिर घरी मतिर हेर्दै थिई। अनौठो लागेर होला।

पल्पसा चन्चल हुँदै सोध्छे “दृश्य, फूलन खोइं? उसलाई पनि बोलाऊ न। मलाई देखेर अचम्म पर्ली। मलाई देखेर भू...त भनेर चिच्याउली!!”

किचनबाटै दृश्यले अलिक ठूलो स्वरमा भन्छ “ए फूलन? ऊ त अमेरिका गइसकी। बिहे गरेर। त्यही गायक भाईसँग। दुबैको सहमतिमा बिहे गराइदिएँ।”

“ए! राम्रो भयो” ऊ भन्छे।

दृश्य कफीसहित फर्कन्छ। कफी खन्याउँदै गर्दा ढोकामा नारनदाई झुल्किन्छन्। पल्पसाले अभिवादन गर्छे। नारनदाईले केही मिनेटसम्म पल्पसालाई हेरिरहन्छन्।

“तपाईँहरू सबैलाई म कसरी बाँचे, कहाँ हराएँ भन्ने कुरामा एकदमै खुल्दुलि होला हगि? अब म सबै भन्छु।” पल्पसाले कथाको पोको फुकाउन थाल्छे ।

(पाठकहरू ! त्यसपछि म, दृश्य अनि नारनदाई सबैको अनुहारमा एउटा विचित्रको जिज्ञासा झुल्किन्छ। मेरो मुटुको धड्कन म आफैंले स्पष्ट सुन्दै थिएँ।)

“त्यो एउटा डरलाग्दो दुर्घटना थियो। मुटु नै छिया–छिया पार्ने खालको। बसका यात्रुहरू पिसाब फेर्न निस्कँदा दृश्य पनि झरेको थियो। म बसभित्रै थिएँ। सोचेँ, बाहिर निस्केर फ्रेस हुनुपर्‍यो। बसबाट झरेँ। केही छिनमै बसले हर्न बजायो। यात्रुहरू क्रमशः चढ्दै गर्दा बस एक्कासी विस्फोट भयो। दृश्य पनि चढ्यो होला भन्ने अनुमान गरेँ। त्यसैले मेरो मन क्षत्‌विक्षत्‌ बसभन्दा लाखौं गुणा बढी ध्वस्त भयो। अचानक चार, पाँच जना मानिसले मलाई घेरे। उनीहरूले टाउकामा रातो रुमाल बेरेका थिए। उनीहरुको रुमालको बीच भागमा तारा अंकित चित्र थियो। अनि मेरो घाँटीमा क्यामेरा झुन्डिएको। उनीहरूले मलाई पत्रकार ठानेर लछार–पछार पारे। बोल्ने मौकै दिएनन्। म अपहरणमा परेँ। पाँच दिन पाँच रात हिँडाएर एउटा दुर्गम गाउँमा लगे। केही महिनासम्म बाहिर निस्कनै पाइनँ। एउटी छापामार केटीलाई बिन्ती गरें। म 'डकुमेन्ट्री फिल्म मेकर' भएको बताएँ। लामो अनुरोधपछि उसले मलाई बुझी। र उसैको अनुरोधमा मलाई बाहिर निस्कन दिइयो। तर उनीहरूसँग शंकालु आँखा बाँकी नै थियो। मलाई क्यामेरा भने दिइएन। म पहिलो दिन घुम्दै गर्दा थाहा पाएँ, त्यो ठाउँ कर्णालीको एउटा विकट गाउँ रहेछ। तपाईँहरू अचम्म मान्नुहोला, पहिलो दिनमै नेपालका प्रख्यात मानवशास्त्रि डोर बहादुर विष्टसँग मेरो भेट भयो।”

यो सुनेर मेरो आश्चर्यको सीमा अझ भत्कँदै थियो। नारनदाईले आँखाको आकार बढाउँदै मतिर हेर्छन्।
“उहाँ बेला–बेला अनुसन्धानको क्रममा हराउनुहुन्छ भन्ने पढेकी थिएँ। त्यो भेटमा उहाँ आफैँ खुल्नुभयो, 'पल्पसा, अहिले म यहाँ भएको कुरा धेरैलाई थाहा नहोला। लगभग दशक यता म यहीँ बसेर अनुसन्धान गर्दैछु।' मैले थाहा पाएँ, सरलाई विशेष सम्मान गर्दा रहेछन् छापामारहरूले। त्यसपछि डोरबहादुर सरको अनुरोधमा म अपहरणमुक्त भएँ। उहाँले मेरो क्यामेरा पनि मागिदिनु भयो। अनि म पनि सर बसेकै एउटा घरमा बस्न थालेँ जहाँ घरबेटीका पाँचजना र हामी दुई गरी सातजना भयौं। मैले डकुमेन्ट्री फिल्म बनाउने राम्रो स्रोत भेटेकी थिएँ। सरले पनि निकै मद्दत गर्नुभयो। आफू सन्तुष्ट हुँदासम्म डकुमेन्ट्री बनाउन भनी अनुसन्धान गरिरहेँ।”

यसैबीच ऊ दृश्यलाई हेर्छे, “तिम्रा बारेमा पत्रिका पढेर थाहा पाएँ। धेरै खुसी भएँ। तिम्रा चित्रहरूले यहाँ काठमाण्डौ लगायत विदेशमा ख्याति कमाएको पनि थाहा पाएँ। त्यहाँ लगभग चार वर्ष बसेपछि सरले मलाई फर्कन सल्लाह दिनुभयो। मलाई उचित लाग्यो। म त्यहाँ बस्न थालेको केही समयपछि यता देशले कोल्टे फेरिसकेको थियो। मसँग पनि धेरै स्रोत जम्मा भैसकेका थिए। अन्ततः फर्कने सोच गरेँ र आज म तपाईँहरू सामु छु।”

पल्पसा लामो सास फेर्दै भन्छे। ऊ नारन दाईतर्फ फर्कन्छे। म हाँस्दै भन्छु, “दाई तपाईँले उसलाई मारे पनि ऊ बाँची। आजको युगमा अब लेखक आफ्ना पात्रहरूलाई आफ्नै इच्छामा बाँध्न सक्दैन भन्ने कुरा पुष्टि भयो नि हगि?”

नारनदाई चुरोट सल्काउँछन्। धुवाँभित्र आफै पुरिएर भित्र कतैबाट गहिरो ध्वनि निकाल्छन् “हो अब बेग्लै युगको थालनी भएको छ। यो घटनाले अब लेखकले चाहेको बेला पात्रले मृत्यु मर्नु पर्ने छैन भन्ने पुष्टि भयो। मैले धेरै पाठकको खप्कि खानुपर्‍यो 'विनासित्ती पल्पसालाई मार्‍यो' भनेर।”

“........।”

मलाई अनौठो लाग्दै थियो साक्षात् लेखक अनि उसको पात्रको संवाद सुनेर। दाई मतिर फर्किएर भन्छन्, “उज्ज्वल, डोरबहादुर सर पनि भेट्टिनुभयो। अब उहाँले गरेका अनुसन्धानहरू बाहिर आउनु पर्छ।”
बीचैमा पल्पसा भन्छे “तर दाई, सरले मलाई यता पठाउँदा आफू त्यहाँ भएको कुरा नखोल्नू भन्नुभएको थियो।”

म भन्छु “जे होस् अब हामी फेरि सरलाई गुमाउन चाहँदैनौं।”

पल्पसा केही बोलिन।

नारन दाई भन्छन् “पल्पसा तिम्रो हजुरआमा त एक्सपाएर भइसक्नुभयो नि।”

“अँ थाहा पाएँ, धेरै दुःख लाग्यो।”

“अनि बाबा ममीलाई फोन गरी भन्यौ त आफ्नोबारे?”

“अँ भनेँ। एकदमै डराउनुभयो अनि आत्तिनुभयो। खुब गाली गर्नुभयो। मम्मी धेरै रुनुभयो, फोनमै। मलाई चाहिँ एकदम हाँसो उठ्यो। जे पायो त्यहि, है दृश्य? कस्तो रोएर टेन्सन मात्र। मेरो बिहे गर्ने कुरा गर्दै हुनुहुन्थ्यो।”

“अनि के जवाफ दियौ त?” हतारिदै दृश्यले भन्छ।

ऊ हाँस्छे, “डन्ट वरि माइ डियर, वहाँहरूलाई तिम्रो बारेमा खुलस्त भनिदिएँ। दे आर पोजेटीभ टुवार्डस यू! दशैंमा आउने रे!”

हामी सबैजना हाँस्छौं। पल्पसा कपमा कफि खन्याउँदै नारन दाईलाई सोध्छे , “दाई, तपाईँको के हुँदै छ नि? 'त्यहाँ' छोड्नुभयो रे। अनि अब के गर्ने सोंचमा हुनुहुन्छ त?”

“अँ 'त्यहाँ' छोडें। साथीहरूसँग सल्लाह गर्दैछु, अबका दिनहरूमा के गर्ने भनेर। ला! म त कस्तो हुस्सू मान्छे, अहिले मलाई छलफल गर्न जानु थियो। म त यहीँ भुलेँछु।”

हतार हतार उठ्दै भन्छन्, “ल अहिले गएँ हतार भो। बरु भोलि हामी 'जाभा' मा भेटौं न। सबैजना।”

हामी सबैले सहमतिमा टाउको हल्लाउँछौँ।


(राष्ट्रबैंकको मासिक पत्रिका मिर्मिरे, २०६६ बैशाख अङ्कमा प्रकाशित)