गजेट डाक्टर
–CP Aryal (सिपी अर्याल)
“हेर् बाबु, त्यो रिडियाँ...गैँडा.... खाग हुन्छ, त्यो बज्नी त्यै हो बुझिस्...” उतीबेला चन्चल बाल बुद्धिले रेडियो बजेको अनौठो मानि त्यसबारे सोद्धा ठूलाबाले उनलाई यही सिकाए। र अहिले स्याङ्जा छाङ्छाङ्दीका उनै प्रेमनारायण रेग्मी रेडियोको त के कुरा लगभग सम्पूर्ण इलेक्ट्रोनिक्स सामानको जाँचपड्ताल गरी निको पार्न जान्ने हुञ्जेल सम्म उनको दिमागबाट ठूलाबाले भनेका ती कुरा मेटिएको छैन।
अचम्म हाँसो हास्छन् प्रेम। उनले घन्टाघरको जामे मस्जिद स्थित मार्केट भित्र एउटा सटर लिएका छन्। र सो रिपेयरिङ्ग वर्कसप अफिसमा प्रत्येक बिहानी सुरु गर्नु अगाडिको पल तिनै ठूलाबालाई सम्झने बताउँछन्। लगत्तै, विग्रेका कम्पयुटर मोनिटर, ल्यापटप, सिपियु, मदरबोर्ड, एलसिडी मोनिटर, डिजिटल क्यामेरा लगायत विश्व बजारमा पुग्नु अगावै चाइनाले नेपाल 'फ्याँकेका' गजेटहरूको उपचारमा केन्द्रीत हुन्छन्। उनको अफिस पुग्दा मैले उनलाई सामान्य सर्ट पाइन्टमा सजिएर, बिग्रेको कुनै मोनिटरको सर्किट जाँच गरिरहेको भेटेँ। गफगाफको लागि म पुगेको थाहा पाएपछि हातमा लिएको एनालग मल्टिमिटर अल्ली पर सार्दै उनी गफिन तयार भए। यी ३२ वर्षिय स्याङ्जाली ठीटालाई गफ गरेर उधिन्नु हम्मे रैछ। “स्या्जाली न हूँ साथी...” उनी बेजोड हाँसे।
प्रेम काठमाडौँ आएका २०५१ सालतिर हो। “त्यतिबेला मैले कल्पना गरेको थिइनँ होला म यसरी कम्प्युटरको डाक्टर हुन्छु भन्ने।” आफ्ना खैरा आँखाका नानीले भित्तातिर हेर्दै भने “२०५४ सालतिर दाईसँग त्रिवि घुम्दा पहिलोपटक कम्पयुटर देखेको हूँ। अनौठो लागेको थियो। मनमनै, त्यो छुन पाए कस्तो हुँदो हो भन्ने भयो।” तर अहिले त्यही कम्पयुटरको आन्द्रा भुँडी केलाउन जान्ने भैसकेका प्रेम त्यसरी कम्पयुटर पहिलोपटक देख्दा रेडियो, तथा क्यासेट प्लेयर बनाउने तालिम लिन फर्म भर्ने तयारीमा रहेछन्। बिस्तारै रेडियो सिकेपछि बिडब्लु टिभी, कलर टिभी, हुँदै मोनिटरतिर हात बढाए। त्यसरी सिक्दै गर्दा उनी त्यही बनाउन सिकाउने मास्टर पनि भएछन्। “साह्रै गाह्रो भाथ्यो गाँठे, आफूले अलिअलि मात्र जानेको बेलाँ अर्कालाई राम्ररी सिकाउन खोज्दा।” हल्का स्याङ्जाली लवज भेँटे मैले उनको बोलिमा। उनले रिपेयरिङ्को कामसँगै मास्टरी पनि गर्ने गरेको खोले। “मास्टरी बोले तो रिपेयरिङ् मास्टर।” ठट्यौलो पारामा हिन्दी लवज मिसाएर बोले। “र अहिले मैले हजारौँलाई चेला बनाइसकेँ, मैले सिकाएका विद्यार्थीहरू देशका लगभग सप्पै ठाउँमा छन्।” गजब लाग्यो, सोधेँ “ती चेलानी तपाइँजस्तै जान्नी छन् त?” “छन् नि, तर प्रत्येक गुरुले आफूसँग हुने अन्तिम अस्त्र सिकाउन चाहिँ बाँकि नै राखेको हुन्छ रे! त्यो पनि सिकाए त बर्बादै हुन्छ नि। आफ्नो खासियत हो त्यो। त्यो पनि गुमे आफ्नो रोजीरोटी पनि गुम्छ।” उनको यो तकनिकी चाहिँ खुबै मन पर्यो मलाई। अनि अघि उनले फुत्काएको वाक्य सम्झेँ। “स्याङ्जाली न हूँ साथी!” म हाँसेको उनले थाहा पाएनन् किनकि त्यतिखेर उनले त्यही मोनिटरको सर्किट लाईन खोज्न आँखा सर्किट–चार्टमा लग्दै थिए।
लोडसेडिङको बेला उनले बत्ती जाने रूटिन नै पकेटमा हाली हिन्दा रहेछन्। जता बत्ती आउने पालो त्यतै रिपेयरीङ गर्न कुद्ने रे। अर्को रोचक कुरा के रहेछ भने उक्त वर्कसपमा काम गर्ने उनका सहयात्री समूह पक्का समावेशी रहेछ। बाहुन, जनजाती, मुसलमान, मधेसी र नेवार गरी पाँच जना। “यो कुरा नेपालमा समावेशी मुद्दाको कुनै चर्चा नहुँदा हामीमा लागू भैसकेको थियो। तर यो चाँजो मिलाएर गरिएको होइन, आफैँ परिआएको।” उनले कथे। मुस्लीम साथीले चाहिँ अहिले छाडिसकेछन्। सामान्यतया हाम्रो समाजमा टेक्निसियनमाथि हेय दृष्टिकोण राखिन्छ। यो कुराले प्रेमलाई निकै दुःखीत बनाउँछ। “मान्छे पढ्न नसकेपछि तारसार जोडेर खाने उपायमा लाग्छ।”सामान्यतया मानिसले उनलाई घोच्ने कथा हो यो।।
उनले कम्प्युटर रिपेयर नगरेको सरकारी अड्डा अदालत, प्राइभेट कलेज–स्कूल, फर्महरू लगभग छैनन् रे। यस अर्थमा उनी त राजधानीले नचिनेको एक हिरो पो रहेछन् त! “हामी सधैँ नेपथ्यकै पात्र भयौँ।” उनले दुखेसो घोप्ट्याए। तर त्यो सोचाइमा परिवर्तन हुँदै छ। उनले कति पढेका छन् त? “अहिले पब्लिक युथ क्याम्पसमा एमबिएस थेसिसको तयारीमा छु। यसबाहेक पुतलिसडक स्थित एक कलेजमा एमसिए पढ्दै पनि। वाह! अनि कमाई कति होला त? एक जोडी दाजु भाउजु, दुई भाई र एक बहिनीका धनी प्रेम भन्छन् “फेमिली राम्ररी चलेको छ। कहिलेकाहिँ पर्ने गाह्रो साह्रोको कुरा बेग्लै। यसबाहेक स्याङ्जामै बस्ने आमालाई खर्च पठाएकै छु।” “उसो भए कम्यपुटर हार्डवेयरमा त टन्नै पैसा रैछ नि प्रेम जी?” मैले मन चोर्न खोजेको कुराको सुइँको पाए उनले। “त्यसोभन्दा नी साथी मिहिनेतको फल त कसले पो नखाला र?” उनले बठ्याइँ गरेर उत्तर दिए।
(२०६६ असार २० मा कान्तिपुर,कोसेलीमा प्रकाशित )
No comments:
Post a Comment