Sunday, December 29, 2013

राजनीतिक लेखजस्तो

-सिपी अर्याल (CP Aryal)

नेपाली वामपन्थी आन्दोलनको विसर्जन कहिले भयो वा भएकै छैन? एक वा अर्को रूप धारण गरेर उही नेमप्लेटसहित अनेक हिसाबले घस्रिरहेको छ कि? यी प्रश्नका सपाट जवाफ दिन पक्कै सजिलो नहोला। सूर्यसामु बिहानको जल अर्पण गरेझैँ आफ्नो भरभराउँदो उमेरमा सबैथोक त्यागेर निष्ठा अनुकूलको कम्युनिस्ट व्यवस्था ल्याउन कम्मर कसेको एउटा युवा कालान्तरमा पछुतो गर्छ, आफ्नो त्यही राजनीतिक निष्ठाप्रति। स्वप्नधारी त्यही असन्तुष्टलाई वामपन्थ विसर्जनबारे प्रश्न सोधे उसले पक्कै पनि कड्केरै उत्तर दिन्छ, 'हो कम्युनिस्ट आन्दोलन विसर्जन भएकै हो। यो पथभ्रष्ट भइसक्यो।' उसका कड्काइमा जरुर दम छ। कस्तो दम छ, यसको उत्तर झलक सुवेदीको पहिलो उपन्यास आधा जूनले दिन्छ।

विद्यालय पढ्दा नै गाउँको आन्तरिक अवस्थाका कारण अर्धचेतनबाट कम्युनिस्ट हुन गएको पोखरेली केटो पछि आएर राजनीतिमा सक्रिय हुँदै देश सपार्ने अनेक सपना देख्न थाल्छ। तर, आन्दोलन सफल हुँदा नहुँदै पार्टीको विचलनले ऊलगायत थुप्रै निष्ठावान् कार्यकर्ता असन्तुष्ट हुन थाल्छन्। केही पलायन पनि हुन्छन्। केही विचलनसँगै अवसरवादको सिकार भएरै पनि पार्टीमा आफ्नो अस्तित्व कायम राख्छन्। ऊर्जाशील समयमा पार्टीलाई आफूले गरेको योगदानको समीक्षा जिन्दगीको पूवार्द्धमा गररिहन्छन्, एकअर्कासँग। चाहे त्यो आफ्नै विम्ब नै किन नहोस्। पुस्तक पढिरहँदा धेरै ठाउँमा विम्बको आलो सम्झना आउँछ, '३० को दशकमा पृथ्वीनारायण क्याम्पसअगाडि बसेर क्रान्तिकारी चेतसहित प्रहरीलाई ढुंगा हान्न कस्सिएका गाउँले ठिटाठिटीको। गाउँका जिम्माल र हुनेखानेहरूको थिचोमिचो, दलितमाथि भएका दुव्र्यवहार र पीडाका अनेक पाटा देखेको सञ्जय त्यही पिसिएको वर्गको प्रतिनिधि हो।

देशमा परविर्तनको बाहिरी आवरण मात्र कसरी बदलिएको छ र त्यसको स्वाद पिँधमा रहेको वर्गले कहिल्यै लिन नपाएको उपन्यासमा देखाइएको छ। त्यस वर्गमा निष्ठावान् राजनीतिक कार्यकर्तादेखि गाउँका अशिक्षित र दलित, केटाकेटी, वृद्धवृद्धा सबै पर्छन्। पञ्चायत ढाल्न सशक्त प्रतिकार गरेका जनता प्रजातन्त्र स्थापनापछि पनि उसै गरी ठगिएका छन्।






'कम्युनिज्म'का कुरा अधिक छन् उपन्यासमा। त्यसका गहिरा दर्शन पढेर झ्याउ लाग्दा पाठकले क्षतिपूर्तिर् स्वरूप रमाइला संवादहरू प्रशस्तै भेट्छन्। जस्तै :


मैले नचिनेकी एउटी तरुनी स्कुलनिरको गल्छेडोमा भेट भई। मैले उसलाई एकछिन हेरेँ र सोधेँ, 'घर काँ हो नानी?'

'खामो गाटेको ठाममा क्या!'

'आब खामो गाट्नु मो जानु पाइन होई, काँनिर गाटेको होला?'


'भरे रोतिमा आउन मास्टार मो देखाइदेला खामो गाट्ने ठाम!'


भनी र खितिति हाँस्दै वनतिर झरी।

Friday, December 20, 2013

लेखिकाले जितेको बाजी


-सिपी अर्याल (CP Aryal)
२८ वर्षे युवती, एलिनर क्याटन (Eleanor Catton) ले म्यान बुकर बाजी मार्दा ८२ वर्षे क्यानडेली मूलकी वृद्धा लेखिका एलिस मुन्‍रो (Alice Munro) यसै वर्षको नोबल पुरस्कार पाउने अर्की महिला लेखक बनिन् । नोबल पुरस्कार प्रतिष्ठानले कथा लेखनमा अभूतपूर्व योगदान पुर्‍याएबापत यस वर्षको नोबल पुरस्कार मुन्‍रोलाई अर्पण गर्‍यो । १४ वटा कथासंग्रह निकालिसकेकी मुन्‍रोलाई प्रतिष्ठानले 'मास्टर अफ दी मोडर्न सर्ट स्टोरी' (Master of the modern short story)  भनेको छ । उपन्यासको वर्चस्व रहेको समयमा कथा -सर्ट स्टोरी) ले नोबल पुरस्कार पाउनुले एकपटक फेरि छोटा कथाहरूको युग फर्किएको दाबी समीक्षकहरू गर्छन् ।
मुन्‍रो र क्याटन दवै क्यानडामा जन्मिएका थिए । ती दुईबीच समयको एउटा ठूलै कालखण्ड गुजि्रसकेको छ । हजुरआमा र (प)नातिनी पुस्ता मान्न सकिन्छ यी दुईलाई । २८ वर्षिय तन्नेरी लेखिकाले प्रतिष्ठित म्यान बुकर पाउनु लेखक बन्न चाहने अनगिन्ती युवाका लागि प्रेरणा हो । अर्को पक्षमा, ८२ वर्षे वृद्धा लेखिकाले संसार प्रसिद्ध नोबल पुरस्कार पाउनु अर्को संकेत हो, लेखक बनेर अत्यन्त सफल हुन लामै धैर्य गर्नुपर्छ ।

नोबल पुरस्कार
विलियम फक्नर र फ्लेनरी ओ कनरजस्ता लेखकझैं मुन्‍रो पनि आफ्ना कथामा क्षेत्रीयतालाई प्राथमिकता दिन्छिन् । उनका अधिकांश कथाहरू ओन्टारियोको सेरोफेरोका छन् । कथाका पात्रहरूमा स्थानीय मूल्य र मान्यताको जडता छ । प्रायः उनका पुरुष पात्रहरूमा 'एभि्रमेन' को गन्ध पाइन्छ भने महिला पात्रहरू अलि बेसी जटिल देखिन्छन् । उनका कथालाई एन्टन चेखभसँग तुलना गर्ने मानिसहरूको कमी छैन । जसरी चेखभले कथालेखनमा एउटा युग धाने, त्यस्तै अर्को युग मुन्‍रोले धानिरहेको विचार ती समीक्षकहरूको छ ।


साहित्य मेलाको सौन्दर्य

-सिपी अर्याल (CP Aryal)
त्रिचन्द्र कलेजबाट पूर्वतिर दुई सय मिटरजति लाग्नूस्, त्यहाँ एउटा सरकारी भवन ठडिएको देख्नुहुन्छ। भरलिो आँगन र आकर्षक बनोट छ, त्यस भवनको। बाहिर आकर्षक देखिने यो त्यही भवन हो, जसमा नेपाल प्रज्ञा-प्रतिष्ठान छ। जुन उद्देश्यसाथ प्रतिष्ठानको स्थापना र यस भवनको निर्माण गरएिको थियो, त्यो भित्रभित्रै मक्किएको छ। आफ्नो उद्देश्यमा हिँड्न नसकेर अन्योलग्रस्त भएको छ।


बुकवर्म ट्रस्टद्वारा ८-११ कात्तिकमा आयोजित साहित्य मेला प्रज्ञा भवनको आँगनमा भइरहँदा त्यसले नेपाली अक्षरबजारको वृत्तमा परविर्तनका छुट्टै ज्वारभाटा प्रसारण गररिहेको थियो। एउटा सरकारी संस्था, जुन साहित्यलाई माथि उठाउने जिम्मेवारीसाथ खडा भएको थियो, त्यसैको आँगनमा साहित्य मेला भयो, निजी क्षेत्रको सम्पूर्ण प्रयासमा। गर्नुपर्ने काम उल्लेखनीय रूपमा नगरेरै आफ्नो तलबभत्ता पकाइरहेको उक्त सरकारी संस्थाको निधारमै सीधा प्रहार थियो, त्यो साहित्य मेला। पोहोर पनि प्रज्ञा-प्रतिष्ठानको आँगनमै यस्तो मेला भएको थियो। तर, प्रज्ञा-प्रतिष्ठान त निदाइरहेकै छ, देशविदेशका लेखक र पाठकबीच भएका तात्ताता बहस-आवाजले समेत उसको चिरनिद्रा हरण गर्न दुर्भाग्यवश सकेन।

मात्रै एक दशकअघि पुस्तक प्रकाशन व्यवसायमा गतिलो विकास हुने, मानिसबीच पढ्ने बानीको व्यापक विकास हुने र पुस्तकहरू टन्नै बिकेर लेखक रातारात 'सेलिबि्रटी' हुने कुरा अकल्पनीय नै त थिएनन् तर यी सबै हुन अझै दशक लाग्ने अनुमानचाहिँ थियो। महोत्सवको सुरुको दिनमा राष्ट्रकवि माधव घिमिरेले दिएको उद्घाटन भाषण सुन्दा लाग्थ्यो, उनले पनि यी सबै कुरा विश्वास नगरेर आफूलाई चिमोट्दै छन्। "म ९० वर्षको बूढो मानिसलाई पनि तपाईंहरूले यो मेलाको साक्षी बनाउनुभयो," उनले खुसी प्रकट गरेका थिए, "मलाई कति खुसी लागेको होला !" पुस्तक पढ्दा दण्डित भइने राष्ट्रकविको युगबाट पुस्तक नपढ्दा बेइज्जती हुने युगमा फड्किसकेको नेपाली समाजमा उल्लेख्य भिन्नता आएकै हो।