Friday, December 20, 2013

लेखिकाले जितेको बाजी


-सिपी अर्याल (CP Aryal)
२८ वर्षे युवती, एलिनर क्याटन (Eleanor Catton) ले म्यान बुकर बाजी मार्दा ८२ वर्षे क्यानडेली मूलकी वृद्धा लेखिका एलिस मुन्‍रो (Alice Munro) यसै वर्षको नोबल पुरस्कार पाउने अर्की महिला लेखक बनिन् । नोबल पुरस्कार प्रतिष्ठानले कथा लेखनमा अभूतपूर्व योगदान पुर्‍याएबापत यस वर्षको नोबल पुरस्कार मुन्‍रोलाई अर्पण गर्‍यो । १४ वटा कथासंग्रह निकालिसकेकी मुन्‍रोलाई प्रतिष्ठानले 'मास्टर अफ दी मोडर्न सर्ट स्टोरी' (Master of the modern short story)  भनेको छ । उपन्यासको वर्चस्व रहेको समयमा कथा -सर्ट स्टोरी) ले नोबल पुरस्कार पाउनुले एकपटक फेरि छोटा कथाहरूको युग फर्किएको दाबी समीक्षकहरू गर्छन् ।
मुन्‍रो र क्याटन दवै क्यानडामा जन्मिएका थिए । ती दुईबीच समयको एउटा ठूलै कालखण्ड गुजि्रसकेको छ । हजुरआमा र (प)नातिनी पुस्ता मान्न सकिन्छ यी दुईलाई । २८ वर्षिय तन्नेरी लेखिकाले प्रतिष्ठित म्यान बुकर पाउनु लेखक बन्न चाहने अनगिन्ती युवाका लागि प्रेरणा हो । अर्को पक्षमा, ८२ वर्षे वृद्धा लेखिकाले संसार प्रसिद्ध नोबल पुरस्कार पाउनु अर्को संकेत हो, लेखक बनेर अत्यन्त सफल हुन लामै धैर्य गर्नुपर्छ ।

नोबल पुरस्कार
विलियम फक्नर र फ्लेनरी ओ कनरजस्ता लेखकझैं मुन्‍रो पनि आफ्ना कथामा क्षेत्रीयतालाई प्राथमिकता दिन्छिन् । उनका अधिकांश कथाहरू ओन्टारियोको सेरोफेरोका छन् । कथाका पात्रहरूमा स्थानीय मूल्य र मान्यताको जडता छ । प्रायः उनका पुरुष पात्रहरूमा 'एभि्रमेन' को गन्ध पाइन्छ भने महिला पात्रहरू अलि बेसी जटिल देखिन्छन् । उनका कथालाई एन्टन चेखभसँग तुलना गर्ने मानिसहरूको कमी छैन । जसरी चेखभले कथालेखनमा एउटा युग धाने, त्यस्तै अर्को युग मुन्‍रोले धानिरहेको विचार ती समीक्षकहरूको छ ।


सन् २००६ मा दिएको एउटा अन्तर्वार्तामा मुन्‍रोले आफूले आराम गर्ने समय आएको र लेखन यात्राबाट विश्राम लिने बताएकी थिइन् । तर पनि उनले लेखिरहिन् । यो पुरस्कारले उनलाई हौस्याएको पक्कै छ । पाठकहरू के कुरामा ढुक्क छन् भने लेख्ने लत भएकी मुन्‍रोले अझै उनीहरूलाई उत्कृष्ट कथाहरू दिन्छिन् । आउँदो डिसेम्बरमा नोबल पुरस्कार अर्पण हुँदै छ । बुढ्यौलीको कारण क्यानडाबाट स्टकहोमसम्मको त्यति लामो बाटो आउजाउ गर्न नसक्ने भएकोले मुन्‍रोको तर्फबाट उनकी छोरी जाँदै छिन् पुरस्कार थाप्न ।

आफूले धेरै लेखेको र अब नयाँ पुस्तालाई उत्साह जगाउने मुन्‍रोको शैली प्रशंसनीय छ । सन् २००९ मा गिलर प्राइजको प्रतिस्पर्धाबाट उनले अचानक हात झिकिन् । त्यसको कारण बताइन्, 'मैले दुईपटक पाइसकेको पुरस्कारको रेसमा अब म पर्दिनँ । मैले यो पुरस्कार तेस्रोपटक पनि जितें भने, नयाँ पुस्तालाई अन्याय हुनेछ ।' प्रकाशक उनीसँग रिसाए । आफूले करोडौं गुमाएको बताए । तर मुन्‍रोले हाँसेरै सबथोक टारिन् ।


सन् १९६८ मा प्रकाशित 'डान्स अफ दी ह्याप्पी सेड्स' ले उनलाई एकाएक चर्चामा पुर्‍यायो । त्यसपछि उनले जिन्दगीको रेसमा कहिल्यै पछि फर्केर हेर्नु परेन । एकपछि अर्को सफलताका स्वर्णमाला उनका घाँटीमा झुन्डिन आए, उनले मुस्कुराएर स्विकारिन् । उनले तीनपटक -सन् १९६८, ७८, ८६) क्यानडाको प्रतिष्ठित पुरस्कार- गभर्नर्स जेनरल लिटरेरी अवार्ड पाइन् । यसैगरी उनको खातामा क्यानडियन बुकसेलर्स अवार्ड -१९७१), बुकर पुरस्कार -१९८०), पेन अवार्ड फर एक्सिलेन्स इन सर्ट फिक्सन -१९९७), नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड -१९९८), गिलर पुरस्कार -१९९८, २००४), ओ हेनरी अवार्ड -२००१), म्यान बुकर पुरस्कार -२००९), कमनवेल्थ राइटर्स प्राइजलगायतका पुरस्कार छन् ।
Alice Munro (Nobel Prize Winner, 2013) Photo: http://www.theguardian.com



''कथा पठाएको २७ वर्षपछि बल्ल छापियो'
पेरिस रिभ्यु अफ बुक्समा प्रकाशित मुन्‍रोको अन्तर्वार्ताको सम्पादित र अनुदित अंश 

आफूले गरिरहेको काम साथीहरूलाई देखाउनुहुन्न रे हो ?
>>हो, म मैले गरिरहेको काम कसैलाई देखाउँदिना ।

 सम्पादकमाथि भर पर्नुहुन्छ ?
>>न्युयोर्करमा सुरूसुरूमा लेख्दा त्यसका सम्पादकहरुसँग गरेका काम गम्भीर थिए । न्युयोर्करका म्याग्राथ मेरा पहिला सम्पादक थिए । तिनले मेरो काममाथि गरेको सम्पादन देख्दा म अचम्ममा पर्थें, मैले भन्न खोजेको कुरा मेरा सम्पादकले ठ्याक्कै कसरी पहिल्याएका होलान् भनेर ।

 सम्पादकसँग कसरी सहकार्य हुन्थ्यो ? इमेलमार्फत् वा फोनमार्फत् ?
>>प्रायः फोनमा कुरा गथ्र्यौं । खासमा, धेरै वर्ष काम गरे पनि सम्पादक र मेरो प्रत्यक्ष भेट निकै थोरै हुन्थ्यो ।

न्युयोर्करमा पहिलोपटक के छापियो ?
>>सन् १९७७ मा 'रोयल बिटिङ्स' पहिलोपटक छापिएको कथा थियो । मैले त्यसमा पठाउनचाहिँ ५० को दशकबाटै सुरू गरेकी थिएँ । त्यसपछि लामो समयसम्म त्यसमा पठाउन छाडें । मैले पठाएका कथाहरुमा न्युयोर्करबाट राम्रा र गम्भीर सुझावहरु पाउँथें, पेन्सिलले लेखिएका र अनौपचारिक सुझावहरु हुन्थे । प्रायःले मेरो लेखनको खुब प्रशंसा गर्थे तर विषयचाहिँ उति रूचाउँदैनथे ।

कहिलेबाट सुरु गर्नुभयो लेख्न ?
>>त्यस्तै सात वा आठ कक्षामा पढ्दा । 

कलेज पढ्न थालेपछि लेखनमा गम्भीर भएर लाग्नुभयो ?
>>अँ, खासमा मसँग पैसा हुँदैनथ्यो । त्यसैले अन्य पेसामा लाग्न पनि पाइनँ । विश्वविद्यालयमा दुई वर्ष पढ्दा अरु केही काम गर्नु परेन, छात्रवृत्ति पाएकी थिएँ । त्यसबखत गम्भीर भएर लेख्न थालें ।

बिहे कहिले गर्नुभयो ?
>>बीस वर्षकी हुँदा । त्यतिबेला बिहे गर्नु भनेको हलचलकै कुरा थियो । म बीस बर्षकी थिएँ, मेरा बूढाचाहिं बाइस वर्षका । हामीले बिहेपछि जीवन व्यवस्थित बनाउने प्रण गरेका थियौं, पैसा कमाउने, सन्तान हुर्काउने । त्यसैअनुसार मध्यम वर्गीय जीवन जिउन थाल्यौं । म बाइस वर्षर्की हुँदा पहिलो सन्तानको आमा बनें ।

 सधैं लेखिरहनुभयो है ?
>>अँ, म हरबखत लेखिरहन्थें । पेटमा बच्चा हुँदा व्यापक लेखें । किनकि मैले सोचेकी थिएँ, बच्चा पाइसकेपछि मैले यस्तो लेख्ने मौका नपाउन सक्छु, मैले सन्तान हुर्काउन समय दिनुपर्ला भन्ने ठान्थें । प्रत्येकपटक सुत्केरी हुने बेलासम्म मैले खुब लेखें, केही ठूलै माछो हात लाग्छ कि भनेर ।

पहिलो पुस्तक प्रकाशन भएको बारे सुनाउनुस् न ।
>>म ३६ वर्षकी थिएँ । लगातार लेखिरहेकी थिएँ । क्यानडाका राइअर्सन प्रेसका सम्पादकले मलाई सोधे, 'तपाईंसँग केही राम्रा पाण्डुलिपि छन् ?' भनेर । दुई तीनजना अन्य लेखक र मेरा कथा एउटा संग्रहमा छाप्ने उनको ध्येय रैछ । पछि अर्को सम्पादक चिनाइदिए र तिनको आग्रहअनुसार तीनवटा अर्को राम्रो कथा लेखें अनि त्यो सर्टस्टोरीको पुस्तक छापियो ।

कतिखेर लेख्नुहुन्थ्यो, ऊ बेलामा ?
>>प्रायः केटाकेटीलाई स्कुल पठाइसकेपछि लेख्थें । ती दिनहरु मेरा संघर्षका चरम दिनहरु थिए । मेरो बूढा र मैले एउटा पुस्तक पसल खोलेका थियौं, दुवैले त्यसैमा मिहिनेत गथ्र्यौं । पसलबाट घर आउने मौका मिले लेख्न बस्थें, कामबाट फुर्सद हुँदा पनि लेख्न बस्थें ।

छोराछोरी विद्यालय जाने उमेर नहुँदै के गर्नुहुन्थ्यो त ?
>>उनीहरु केहीबेर सुत्दा लेख्न बस्थें । उठेपछि तिनैलाई सम्हाल्नुपथ्र्यो ।

कथा लेख्न बस्दा तपाईंका कथामा हुने घटनाहरू पहिल्यै छर्लङ्ग हुन्थे ?
>>सधैं हुन्थेनन् । प्रायः कथाहरु लेख्दालेख्दै परिवर्तन गरिदिन्थें । लेखिरहँदा यहाँनिर परिवर्तन गर्नुपर्छ जस्तो लागे त्यसै गर्थें । प्रायः कथानकचाहिँ कामसाम गर्दा दिमागमा खेलाइरहन्थें, मिलेसम्म नोटबुकमा टिपोट गर्थें ।

पुस्तक समीक्षाहरूले तपाईंको लागि के अर्थ राख्छन् ? त्यसले तपाईंलाई कहिल्यै दुखाएको छ ?
>>दुखाएको छ पनि छैन पनि । किनकि, तपाईंले समीक्षाबाट अद्भुत शिक्षा प्राप्त गर्न सक्नुहुन्न र त्यो एकदमै दुख्ने खालको पनि हुँदैन । नराम्रो समीक्षा लेखिँदा सार्वजनिक बेइज्जती हुन्छ कि भन्ने डर हुन्छ । तैपनि, लेख्न चाहिँ लेखिरहनुपर्छ ।

तपाईंको लेखाईको तालिका कस्तो छ ?
>>हप्तामा सातै दिन, बिहानको समयमा लेख्छु । म प्रायः बिहान आठ बजेदेखि लेख्न सुरू गरेर ११ बजेसम्ममा एउटा चरण लेखिसक्छु । त्यसपछि दिनभरि अरु कामहरु गर्छु ।

बुकर पुरस्कार
२८ वर्षीय लेखिका एलिनर क्याटन (Eleanor Catton) ले सन् २०१३ को प्रतिष्ठित म्यान बुकर पुरस्कार पाउनुभन्दा एक दिनअघि -१४ अक्टोबर २०१३) पत्रिकामा आफ्नो साप्ताहिक राशिफल हेरेकी थिइनन् । भोलिपल्ट एकैचोटि थाहा पाइन्, आफूले 'दी ल्युमिनरिज्' उपन्यासका लागि सो पुरस्कार जितेको । त्यसपछि उनको खुसीको सीमा रहेन । विश्वास गरिन्, उमेरले आफू सानी भए पनि दुनियाँलाई चकित पार्न सक्ने गम्भीर पुस्तक लेख्न सकेको आफ्नो क्षमतामा । दुनियाँका केही मात्र मानिसले चिन्ने क्याटन एकाएक विश्वप्रसिद्ध बनिन् । उनलाई बधाइ र शुभेक्षाका फूल-थुंगाहरू पृथ्वीको हरेक कुनाबाट आउन थाले । जीवनगति बदलिएर एकाएक १८० डिग्रीको तालमेलमा आयो । पुरस्कारबाट लगभग ५० हजार पाउन्ड स्टर्लिङ धनराशि त उनले हात पारिन् नै । यद्यपि, पैसाभन्दा ठूलो महत्त्व पुरस्कारले उनलाई गरेको विश्वासमा छ ।
Eleanor Caton (Booker Prize Winner, 2013) Photo : http://www.telegraph.co.uk
सन् १९६९ मा स्थापित बुकर पुरस्कारले राष्ट्रमण्डल -कमनवेल्थ) मुलुक र आयरल्यान्डका लेखकले बेलायतमा प्रकाशन गरेको किताबलाई मात्र यो पुरस्कार दिइरहेको छ । क्याटन यही आधारमा पुरस्कार पाउने अन्तिम लेखिका भइन् ।

आउँदो वर्षबाट यो पुरस्कारका लागि राष्ट्रमण्डल र आयरल्यान्डबाहेकका लेखक पनि भिड्नेछन् । 'दी मुनस्टोन' लेख्ने विल्की कोलिन्स र 'मबी डिक' र 'बिल्ली बड'जस्ता सशक्त उपन्यास लेख्ने हर्मन मेलभिलेसँग आफूलाई मानिसहरूले तुलना गर्दा क्याटन आनन्दविभोर भएर रन्थनिइन् । २८ वर्षमै म्यान बुकर पाएर उनले रचेको इतिहास अब कसले तोड्न सक्ला, थाहा छैन । रेकर्डहरू तोडिनै बनेका हुन्छन् । एउटा इतिहासलाई अर्को कुनै इतिहासले मात्रै विस्थापित गर्न सक्छ ।


सन् १९८५ मा क्यानडामा जन्मिएर न्युजिल्यान्डमा हुर्किएकी क्याटनको लेखन यात्रामा 'दी ल्युमिनरिज्' दोस्रो प्रयास हो । यसअघि उनले 'दी रिहर्सल' लेखिसकेकी छन्, जुन उनी स्नातकोत्तरमा क्रिएटिभ राइटिङ पढ्दा थेसिसको रूपमा आएको थियो । 'दी रिहर्सल'ले माध्यमिक विद्यालयका एकजना शिक्षक र उसको छात्राबीचको सम्बन्धको चिरफार गरेको छ । यो पुस्तकले सन् २००७ मा पुरस्कार पाएको छ, क्रिएटिभ राइटिङको एडम अवार्ड । यस अवार्डबाहेक क्याटनले प्रतिष्ठित आयोवा राइटिङ वर्कसपमा पनि फेलोसिप पाइसकेकी छन् । जीवनमा केही मात्र पुरस्कार प्राप्त गरेकी क्याटनको बुलेट लिस्टमा बुकर पुरस्कार थपियो । अब उनलाई लाग्छ आफू माथि हजारौं किलोको भार थपियो, जिम्मेवारीको । लेखकहरूलाई जिम्मेवारीबोध हुनु पक्कै पनि राम्रो कुरा हो । त्यस्तो बोधले पाठकको मन राम्रै गरी बुझाउन सक्छ ।

सेलिब्रेटी भइसकेपछि उनीसँग अन्तर्वार्ता लिन चाहनेहरूको घुइँचो नै लागिरहेको छ । क्याटन अन्तरवार्ताहरू दिन चाख राख्दिनन्, पत्रकारहरूले जे मन लागे उही सोधिदिने हुनाले । जस्तै एकपटक एउटा पत्रकारले उनलाई सोधिदिए, 'तपाईंलाई सबैभन्दा मन पर्ने शब्द कुन हो ?' उनी अकमक्क परिन् । उत्तर दिनै सकिनन् । 'खै थाहा छैन' भनिछन् ।

सन् १८६५ को न्युजिल्यान्डलाई कथानकको आधार बनाएको 'दी ल्युमिनरिज' लाई समीक्षकहरूले 'रहस्यमय हत्याको कथा' -दी मर्डर मिस्ट्री) भनेका छन् । भिक्टोरियन शैलीमा लेखिएको मानिने यस उपन्यासका पात्रलाई ज्योतिषशास्त्र अनुसार नामांकन गरिएको छ । पात्रहरू ज्योतिष विज्ञानले निर्धारण गरेकै आधारमा बोलीचाली गर्छन् । उपन्यासमा पुँजीवाद, लोभ र नैतिकताका कुरा पनि छन् । म्यान बुकरका निर्णायकले तीनपटक यो पुस्तक पढेछन् ।
तीनैपटक पढ्दा आश्चर्यचकित भए, प्रत्येकपटक पढ्दा नयाँ कुराहरू पाए, लेखनशैली उत्कृष्ट माने । निर्णायकबीचको घन्टौंको बहसपछि अन्ततः 'दी ल्युमिनरिज' नै विजेता बन्यो । ८३२ पृष्ठको लम्बाचौडा पुस्तक अट्न सानोतिनो झोलाले नहुने भनेर धेरैले प्रशंसामिश्रति व्यंग्य पनि गरे । तर क्याटनले दिइरहने अन्तर्वार्तामा मानिसहरूलाई -जसले उनको पुस्तक लम्बाचौडा भएकोमा नाक खुम्च्याउँछन्) एउटा कुरा भन्न प्रायः छुटाउँदिनन्, 'पुस्तकका सुरुका केही पाना पल्टाउनुस्, तपाईं ८३२ औं पेजसम्म आफैं तानिनुहुनेछ ।'

कान्तिपुर कोशेलीमा प्रकाशित। लिङ्क यहाँ

No comments:

Post a Comment