Sunday, December 29, 2013

राजनीतिक लेखजस्तो

-सिपी अर्याल (CP Aryal)

नेपाली वामपन्थी आन्दोलनको विसर्जन कहिले भयो वा भएकै छैन? एक वा अर्को रूप धारण गरेर उही नेमप्लेटसहित अनेक हिसाबले घस्रिरहेको छ कि? यी प्रश्नका सपाट जवाफ दिन पक्कै सजिलो नहोला। सूर्यसामु बिहानको जल अर्पण गरेझैँ आफ्नो भरभराउँदो उमेरमा सबैथोक त्यागेर निष्ठा अनुकूलको कम्युनिस्ट व्यवस्था ल्याउन कम्मर कसेको एउटा युवा कालान्तरमा पछुतो गर्छ, आफ्नो त्यही राजनीतिक निष्ठाप्रति। स्वप्नधारी त्यही असन्तुष्टलाई वामपन्थ विसर्जनबारे प्रश्न सोधे उसले पक्कै पनि कड्केरै उत्तर दिन्छ, 'हो कम्युनिस्ट आन्दोलन विसर्जन भएकै हो। यो पथभ्रष्ट भइसक्यो।' उसका कड्काइमा जरुर दम छ। कस्तो दम छ, यसको उत्तर झलक सुवेदीको पहिलो उपन्यास आधा जूनले दिन्छ।

विद्यालय पढ्दा नै गाउँको आन्तरिक अवस्थाका कारण अर्धचेतनबाट कम्युनिस्ट हुन गएको पोखरेली केटो पछि आएर राजनीतिमा सक्रिय हुँदै देश सपार्ने अनेक सपना देख्न थाल्छ। तर, आन्दोलन सफल हुँदा नहुँदै पार्टीको विचलनले ऊलगायत थुप्रै निष्ठावान् कार्यकर्ता असन्तुष्ट हुन थाल्छन्। केही पलायन पनि हुन्छन्। केही विचलनसँगै अवसरवादको सिकार भएरै पनि पार्टीमा आफ्नो अस्तित्व कायम राख्छन्। ऊर्जाशील समयमा पार्टीलाई आफूले गरेको योगदानको समीक्षा जिन्दगीको पूवार्द्धमा गररिहन्छन्, एकअर्कासँग। चाहे त्यो आफ्नै विम्ब नै किन नहोस्। पुस्तक पढिरहँदा धेरै ठाउँमा विम्बको आलो सम्झना आउँछ, '३० को दशकमा पृथ्वीनारायण क्याम्पसअगाडि बसेर क्रान्तिकारी चेतसहित प्रहरीलाई ढुंगा हान्न कस्सिएका गाउँले ठिटाठिटीको। गाउँका जिम्माल र हुनेखानेहरूको थिचोमिचो, दलितमाथि भएका दुव्र्यवहार र पीडाका अनेक पाटा देखेको सञ्जय त्यही पिसिएको वर्गको प्रतिनिधि हो।

देशमा परविर्तनको बाहिरी आवरण मात्र कसरी बदलिएको छ र त्यसको स्वाद पिँधमा रहेको वर्गले कहिल्यै लिन नपाएको उपन्यासमा देखाइएको छ। त्यस वर्गमा निष्ठावान् राजनीतिक कार्यकर्तादेखि गाउँका अशिक्षित र दलित, केटाकेटी, वृद्धवृद्धा सबै पर्छन्। पञ्चायत ढाल्न सशक्त प्रतिकार गरेका जनता प्रजातन्त्र स्थापनापछि पनि उसै गरी ठगिएका छन्।






'कम्युनिज्म'का कुरा अधिक छन् उपन्यासमा। त्यसका गहिरा दर्शन पढेर झ्याउ लाग्दा पाठकले क्षतिपूर्तिर् स्वरूप रमाइला संवादहरू प्रशस्तै भेट्छन्। जस्तै :


मैले नचिनेकी एउटी तरुनी स्कुलनिरको गल्छेडोमा भेट भई। मैले उसलाई एकछिन हेरेँ र सोधेँ, 'घर काँ हो नानी?'

'खामो गाटेको ठाममा क्या!'

'आब खामो गाट्नु मो जानु पाइन होई, काँनिर गाटेको होला?'


'भरे रोतिमा आउन मास्टार मो देखाइदेला खामो गाट्ने ठाम!'


भनी र खितिति हाँस्दै वनतिर झरी।

पुस्तकमा आञ्चलिक भाषाको प्रशस्त प्रयोग भएको छ। तर, अहिले साहित्यिक वृत्तमा भइरहेको आञ्चलिक भाषाको मसलादार प्रस्तुतिले फाइदाचाहिँ पुर्‍याउँदैन। किनभने, यस्तो प्रयोगले आउँदो पुस्ता भाषाप्रयोगको सवालमा अन्योलग्रस्त हुन सक्छ। तरकारीमा मसलाले स्वाद त थप्छ तर धेरै मसला हाल्दाचाहिँ नमीठो पनि हुन सक्छ। एक हिसाबले अहिले साहित्यमा यस्तै प्रयोग भइरहेको छ।


पुस्तक सरसर्ती पढेर यसको विधागत व्याख्या गर्दा एउटा कुरा मनमा आउँछ, यो कृति उपन्यास हुनुको सम्पूर्ण गुणले सायद भरिएको छैन कि? किनभने, यो एउटा त्यस्तो व्यक्तिको बयान हो, जसले जीवनभरी गरेका कार्यको समीक्षा अन्तिमसम्मै गररिहन्छ। उसले आफ्नो आत्मासँग वार्तालापै वार्तालाप गररिहन्छ। त्यसैले यसलाई आत्मालापको कोटीमा राखिएको भए उचित हुन्थ्यो।


पुस्तकमा लेखक सुवेदीको आवरणमा सञ्जय नामधारी व्यक्ति छ। सुवेदी र सञ्जयले भोगेका घटनाहरूलाई तौलने हो भने सायद कसैको पनि पल्ला भारी हुने छैन। विवरणहरू, दृश्य, काल, पात्र भोगाइ सबै सुवेदीले बाँचेकै जीवनका सहयात्रीहरू हुन्। ती सबै उनले आफू हुनुको अस्तित्व दाबी गर्न पस्केका हुन्। पात्रहरूलाई वास्तविक जीवनसँग नजिक राख्न खोजिएकाले धेरै ठाउँमा मजा पनि आउँछ। किनभने, आफूले देखेजानेका मानिसबारे अझ विस्तृतमा थाहा पाउँदा एक्लै मुस्कुराउन सकिन्छ। त्यो मुस्कुराहट सन्तुष्टिको हो। रीता, पुष्प, शंकर, परशु, रोहित काका, तृष्णा, हरिहर, काशी नामका पात्र सहज छन्। प्रायः प्रसंगको सही थान्को लगाइएको भए पनि सञ्जयसँग बिहे गरेपछि रीताले आफ्ना अघिल्ला पतितर्फका सन्तानको व्यवस्थापन कसरी गरी, त्यो खुलाइएको छैन।


सुवेदीको पहिचान गैरआख्यानमा बढी छ। उनी कुशल गैरआख्यान लेखक हुनुको मार यस कृतिमा परेको छ। जस्तो: यसको भाषा औपन्यासिक छैन। सपाट छ। गाउँघरका पात्रसँगको संवाद र घटना बिर्सने हो भने यो एउटा राजनीतिक लेखजस्तै बनेको छ, जहाँ कम्युनिस्ट कार्यकर्ताले जीवनभरी गरेको लडाइँको व्यापक समीक्षा गरिएको छ। सारमा, कम्युनिस्ट आन्दोलनमा भएका गम्भीर त्रुटि र यसका विग्रहका कथा, कार्यकर्तामाझ झाँगिएको असन्तुष्टिको वनमारा झार र देशमा 'परविर्तन' आए पनि 'परविर्तन' कसरी भइरहेको छैन, त्यसबारे थाहा पाउन आधा जून सहायकचाहिँ हुन सक्छ। 


आधा जून

विधा      : उपन्यास
स्रष्टा      :    झलक सुवेदी

प्रकाशक :    फाइनप्रिन्ट

पृष्ठ       :    २७६
मूल्य    :    ३०० रुपियाँ

(नेपाल साप्ताहिकमा प्रकाशित । लिङ्क यहाँ ।)

1 comment:

  1. '.....आञ्चलिक भाषाको प्रस्तुतिले आउँदो पुस्ता भाषाप्रयोगको सवालमा अन्योलग्रस्त हुन सक्छ ।'

    झन् बेटर अफ दि बेस्ट छान्न पाइयो । अरू भाषाका शब्द, भाव जान्न पाइयो । हैन र ? आआफ्नो कुरो नि !

    ReplyDelete