Saturday, September 29, 2012

अक्षरहरूको बदलिँदो संसार



सहरमा अब नयाँ सेलिब्रेटीको बलियो उपस्थिति देखिन थालेको छ । लेखक ! हिरो, हिरोइन, गायक, गायिका त सँधैका सेलिब्रेटी भइहाले । तर हामीबीचको समयले यसरी कोल्टे फेर्दैछ जसले लेखकहरूलाई पनि उँचो स्थान दिइरहेको छ । पुस्तक लेख्ने, पढ्ने, प्रकाशन गर्ने, साहित्य महोत्सव आयोजना गर्ने प्रयासले अक्षरहरूको सौन्दर्यमा परिवर्तन गरिरहेको छ ।

लेखक खगेन्द्र संग्रौलाले अनुमान गरेका थिएनन् उनी एकदिन ‘सेलिब्रेटी राइटर’ होलान् भनेर । “त्यतिबेला सत्तासँग नजिक भएकाहरू मात्र लेखक भैटोपलिन पाउँथे ।” संग्रौलाले इतिहासको श्यामश्वेत यथार्थ भन्दा अहिले हामी अवाक् हुन्छौँ । निरंकुश शासन व्यवस्थाको एउटा विशेषता त्यही हो सायद । आफ्ना हित गर्ने नठानिएकाहरूको लेखकीय अस्तित्व नै थिएन । पत्रिकामा अनुहार देखिनु आफैँमा ठूलो कुरा थियो । अझ त्यसमा छापिएको लेखमार्फत् आक्कल–झुक्कल पारिश्रमिक पाउँदा त खुसीको सीमा के रहोस् । समयको राजमार्गमा सबैको पालो आउँछ भनेजस्तै सबैथोक विस्तारै परिवर्तन हुँदै गए । लेखकको पनि पालो आयो ।


साहित्य महोत्सव
हज्जारौँ पुस्तकप्रेमीमाझ गतिलो प्रभाव छाडेर एनसेल नेपाल साहित्य महोत्सव, २०१२ (NCell Nepal Literature Festival, 2012) भर्खरै सकियो । साहित्य महोत्सवले लेखकलाई ‘ह्युमनाइज’ गर्छ भन्दै विनोद मेहताले यस्ता महोत्सवको सौन्दर्य बढाइदिए । धेरै पाठकहरूलाई एकै ठाउँमा भेला गर्ने, दर्जनौँ लेखक राखेर गम्भीर बहस गर्ने परिपाटी नेपालमा भर्खरै भित्रँदै छ जुन आफैँमा खुसीको कुरा हो । पुस्तक प्रकाशन र प्रवद्र्धनमा लगानी गर्नु जोखिमको विषय मानिँदा पनि विस्तारै यसको लागि केहीले प्रयास थालिरहेका छन् । नेपालमा वर्षमा अन्तर्राष्ट्रिय स्तरका दुईओटा मात्र साहित्य महोत्सव हुँदैआइरहेका छन् । बुकवर्म ट्रस्टको अग्रसरतामा नेपाल लिटरेचर फेस्टिभल र अर्को, काठमाण्डौँ लिटरेरी जात्रा (Kathmandu Literary Jatra) । महोत्सव आयोजना गर्ने परिपाटी सुरु भएको केवल दुई वर्ष मात्र भयो । प्रयास आफैँमा उत्साहवर्धक छ ।
Photo: The crowded dabali in NCell Nepal Literature Festival. Clicked by-CP Aryal
भारतबाट विनोद मेहता (Vinod Mehta), अमिश त्रिपाठी (Amish Tripathi), अद्भैता कला (Advaita Kala), मनप्रसाद सुब्बा (Manprasad Subba) गरी चर्चित लेखकहरूको उपस्थितिले भर्खरै सकिएको महोत्सवको प्राणमा सुरम्य वायु भरिदियो । देशको कला र साहित्यको सम्बद्र्धनमा आफैँ बढी खट्नुपर्ने सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमै नीजि स्तरबाट युवाहरूले महोत्सव गराए । सरकारी निकायको निष्कृय शैलीलाई यसले गतिलो चुनौती दियो । यसले प्रतिष्ठानलाई बेस्सरी झस्काएकै हुनुपर्छ । साहित्यलगायत अर्थशास्त्र, समाजशास्त्र, कुटनीति, इतिहास जस्ता विषयमा भएका गम्भीर बहसले गतिलो प्रजातान्त्रिक परिपाटीको शक्तिबारे हामीलाई धेरै कुरा सिकाए । यसलगत्तै दुई महिनापछि काठमाण्डौँ लिटरेरी जात्राको दोस्रो संस्करण पनि हुँदैछ । त्यसमा पनि कैयौँ लेखकहरूको सहभागिता रहने छ । नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेन भनी डाँको छोडेर रुने हामीलाई यस्ता मेलाले पहिला आफ्नो सक्षमता जाँच्न सिकाउँछन् । दक्षिण एसियाका प्रत्येक मुलुकमा दर्जन बढी साहित्य महोत्सव भैरहँदा हामीले चाहिँ मानिसहरूलाई पुस्तक पढ्ने लत बसाल्ने उपाय अवलम्बन गरिरहेका छौँ । मान्छेहरूलाई कसरी हुन्छ पुस्तकको स्वादीलो रस चखाउने अनि उनीहरूलाई विस्तारै किताबी किरो बनाउने ! अचेलका केही पत्रपत्रिकाका कभर स्टोरीहरूमा सिनेमाका हिरो÷हिरोइन आकर्षक मुद्रामा पुस्तक पढिरहेका देखिन्छन् । आम मानिसहरूको आइडियल भएर बाँचेका ती पात्रलाई अगाडि सारेरै भएपनि पुस्तकको लत बसालिदिने परम्परा राम्रै मान्न सकिन्छ । यसले मानिसमा पुस्तकको क्रेज आफसेआफ जबरजस्त बनाइरहेको छ ।

Saturday, September 1, 2012

बौद्धिक बेइमानी


-सिपी अर्याल (CP Aryal)

नचोर चौर्यम् नराज्य हार्यम् नभातृ भाज्यम् नचभारकारी व्ययकृते वर्धतएवंनित्यम विद्या धनम् सर्वधनम् प्रधानम् (विद्या यस्तो धन हो जसलाई न चोरले चोर्न सक्छ न राज्यले हरण गर्न सक्छ न दाजु–भाइबीच बाँडफाँट गर्नुपर्छ न यो गह्रुङ्गो नै हुन्छ, जति खर्च गरे उति बढ्छ, विद्या नै सबैभन्दा ठूलो धन हो) विद्या चोर्नै सकिँदैन भन्दै गुणगान गाउने संस्कृतको सर्वकालिक यो श्लोक ‘प्लेजिएरिजम’ (Plagiarism) वा ‘इन्टलेक्चुअल डिसअनेस्टी’ (बौद्धिक बेइमानी) को सवालमा भने असान्दर्भिक भयो ।

गत अगस्तकै एउटा सन्दर्भः टाइम म्यागजिन र सिएनएनका सेलिब्रिटी पत्रकार फरिद जकारिया (Fareed Zakaria) लाई ज्ञानको के कमि थियो होला र उनले ‘चोरी’ गर्नु पर्यो । जकारिया अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, अमेरिकी विदेश नीतिका ज्ञाता मानिन्छन् । त्यतिविधि ज्ञान र अनुभवले परिपक्व उनले आफ्ना पाठकलाई उल्लु बनाउन सकिन्छ भन्ने सोँचेर त्यसरी चोरी गरेका त अवश्य होइनन् होला । अनि हार्वड प्राध्यापकले दि न्युयोर्करमा लेखेको लेखको दसबाह्रओटा शब्दको स्रोत उल्लेख नगरी आफूले लेख्दै आएको स्तम्भमा हुबहु सार्न जकारियालाई कुन चाहिँ कुराले वाध्य बनाएछ त ? कुनै ठूलो विचारको प्रतिनिधित्व पनि नगर्ने सो एक लाइन मात्र सारेका थिए जकारियाले । तर उनको त्यो चोरीको शैलीप्रति व्यापक आक्रोश देखिइरहेका छन् । उनले पत्रकारितामा कहिल्यै प्रवेश नपाउने सजाय दिइनुपर्ने आवाजहरू उठिरहेका छन् ! ज्ञान, समय वा स्रोतको कमिले मात्रै होला र जकारिया जस्ता विद्वानले त्यस्तो चोरी गर्ने गरेका ? कि चर्चामा आउने एउटा अर्को हतियार उचालेका होलान् ? गरेको गल्तीप्रति जकारियाले “त्यो गम्भीर त्रुटी थियो जसको जिम्मेवार म आफै हुँ” भन्दै क्षमायाचना गरे । नयाँ विचार प्रवाह गरी दुनियाँलाई तरंगित बनाउन काँध गह्रुङ्गो पारेको जिम्मेवार व्यक्तिले अरूको विचार चोरी गर्नु ठेसलाग्दो तथ्य हो ।