Saturday, September 1, 2012

बौद्धिक बेइमानी


-सिपी अर्याल (CP Aryal)

नचोर चौर्यम् नराज्य हार्यम् नभातृ भाज्यम् नचभारकारी व्ययकृते वर्धतएवंनित्यम विद्या धनम् सर्वधनम् प्रधानम् (विद्या यस्तो धन हो जसलाई न चोरले चोर्न सक्छ न राज्यले हरण गर्न सक्छ न दाजु–भाइबीच बाँडफाँट गर्नुपर्छ न यो गह्रुङ्गो नै हुन्छ, जति खर्च गरे उति बढ्छ, विद्या नै सबैभन्दा ठूलो धन हो) विद्या चोर्नै सकिँदैन भन्दै गुणगान गाउने संस्कृतको सर्वकालिक यो श्लोक ‘प्लेजिएरिजम’ (Plagiarism) वा ‘इन्टलेक्चुअल डिसअनेस्टी’ (बौद्धिक बेइमानी) को सवालमा भने असान्दर्भिक भयो ।

गत अगस्तकै एउटा सन्दर्भः टाइम म्यागजिन र सिएनएनका सेलिब्रिटी पत्रकार फरिद जकारिया (Fareed Zakaria) लाई ज्ञानको के कमि थियो होला र उनले ‘चोरी’ गर्नु पर्यो । जकारिया अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, अमेरिकी विदेश नीतिका ज्ञाता मानिन्छन् । त्यतिविधि ज्ञान र अनुभवले परिपक्व उनले आफ्ना पाठकलाई उल्लु बनाउन सकिन्छ भन्ने सोँचेर त्यसरी चोरी गरेका त अवश्य होइनन् होला । अनि हार्वड प्राध्यापकले दि न्युयोर्करमा लेखेको लेखको दसबाह्रओटा शब्दको स्रोत उल्लेख नगरी आफूले लेख्दै आएको स्तम्भमा हुबहु सार्न जकारियालाई कुन चाहिँ कुराले वाध्य बनाएछ त ? कुनै ठूलो विचारको प्रतिनिधित्व पनि नगर्ने सो एक लाइन मात्र सारेका थिए जकारियाले । तर उनको त्यो चोरीको शैलीप्रति व्यापक आक्रोश देखिइरहेका छन् । उनले पत्रकारितामा कहिल्यै प्रवेश नपाउने सजाय दिइनुपर्ने आवाजहरू उठिरहेका छन् ! ज्ञान, समय वा स्रोतको कमिले मात्रै होला र जकारिया जस्ता विद्वानले त्यस्तो चोरी गर्ने गरेका ? कि चर्चामा आउने एउटा अर्को हतियार उचालेका होलान् ? गरेको गल्तीप्रति जकारियाले “त्यो गम्भीर त्रुटी थियो जसको जिम्मेवार म आफै हुँ” भन्दै क्षमायाचना गरे । नयाँ विचार प्रवाह गरी दुनियाँलाई तरंगित बनाउन काँध गह्रुङ्गो पारेको जिम्मेवार व्यक्तिले अरूको विचार चोरी गर्नु ठेसलाग्दो तथ्य हो ।

‘एक्याडमिक डिसअनेस्टी’ (Academic Dishonesty) पनि भनिने प्लेजिएरिजमले अरूले जन्माएको विचार/भाषा/शिल्पको कुनै स्रोत उल्लेख नगरी हुबहु सार्ने प्रवृत्तिलाई जनाउँछ । प्राज्ञिक क्षेत्र (एकेडमिया) / संगीत / पत्रकारिता / कम्प्युटर गेम / भाषण / सिनेमा/भिजुअल, आर्ट/पेन्टिङ जस्ता क्षेत्रमा बौद्धिक चोरीहरू हुने गरेका छन् । यसले असली लेखक/कल्पनाकारलाई उसमा मात्र नीहित लेखकीय अधिकार हासिल गर्नबाट बञ्चित गराउँछ । साहित्यिक तथा पत्रकारीताका लेखनबाहेक नेपाली सिनेमाहरू पनि प्लेजिएरिजमबाट निकै ग्रस्त देखिन्छन् । दशकौँदेखि कुनै नौला प्रस्तुती दिन नसकेका नेपाली सिनेमामा बलिउडी मसला हुबहु कपि भइरहेको देखिन्छ । सस्तो चोरीको ढाकछोप गर्न निर्माता÷निर्देशकहरूले प्लेजिएरिजम नभनी ‘एडेप्टेसन’ भनेको देखिन्छ । यो कपिराइट (सर्वाधिकार) उल्लंघनको अभ्यास पनि हो । तर कपिराइट उल्लंघन र प्लेजिएरिजम्का अवधारणाले आफैँमा फरक फरक अर्थ बोक्छन् । कपिराइट उल्लंघनले सर्वाधिकारकर्तासँग मात्र भएको अधिकार अरूले नै हडप्ने तथ्य जनाउँछ भने प्लेजिएरिजमले चाहिँ मूल लेखकको धारणा÷विचार÷रचना उद्धृत गरी उनको नाम नतोकेर आफ्नै मूल रचना भएको दावीलाई जनाउँछ । प्लेजिएरिजमलाई अपराधै मान्ने ठूलो समूह पनि छ भने अर्को समूह अपराध नै भन्न चाहिँ हिचकिचाउँछ जसले त्यसलाई अपराध नमानी ‘नैतिक पतन’, ‘बौद्धिक सम्पत्तिको चोरी’ आदि मान्छन् । विश्वभरिका अबौँ मानिसका भावना अलग अलग हुन्छन् । त्यस भावनाले उत्पादन गर्ने एकको बौद्धिकता अर्कोसँग मिल्न पनि सक्छ । तर ठाडै एउटा कृतिको सार वा शैली अर्कोसँग मेल खाने कुरा संयोग मात्र मान्न सकिँदैन । यही शैली प्लेजिएरिजम हो । एल गटरम्यानले उल्लेख गरेअनुसार सन् २००८ सम्ममा विश्वका उत्कृष्ट प्राज्ञिक जर्नलहरूमा प्लेजिएरिजमका ७०,००० ओटा अपराध भएको पत्ता लागेका छन् । यसैगरी अमेरिकी स्वास्थ्य विभागका अनुसार विभागको जर्नलमा प्रकाशनार्थ आएका मध्ये २५ प्रतिशत लेखहरू चोरी गरिएको तथ्य छ । मूललेखको साभार नगरिएकोले ती लेखहरूलाई प्लेजिएराइज्ड ठहर गरिएको थियो । यसैगरी भारतका रशायनशास्त्रीले आफ्नो भनिएको तथ्य फेला पारेको दावि गर्दा ७० ओटा अनुसन्धान कार्यपत्रका स्रोतलाई साभार गरेनन् । प्राध्यापक, अनुसन्धाता तथा सम्पादकहरूलाई अनुभव, समय, स्रोत र साधन अभाव भएर प्राज्ञिक क्षेत्रमा प्लेजिएरिजमका घटना दोहोरिइरहने गर्छन् ।
Source: http://www.edutopia.org

अठारौँ शताब्दीले अरूको रचना चोरी गर्ने प्रवृत्ति घोर अनैतिक भएको ठहर गरिदियो । इतिहासको एउटा खण्डमा नाटककार सेक्सपियरलाई पनि प्लेजिएरिस्ट भएको आरोप लाग्यो । तर सो आरोप पनि विवादमै रह्यो । पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा प्लेजिएरिजमका फरकफरक सजायहरू भएका छन् । सजायस्वरूप व्यक्तिहरू कामबाट निष्कासनमा परेर तिनको भविष्य नै तहसनहस हुने गरेको तथ्य छ । वर्षौँसम्म तपतप पसिना चुहाएर ठड्याइएको परिश्रमको महललाई यो आरोपले तहसनहस गराइदिन सक्छ । इन्टरनेट र कम्प्युटरजस्ता अत्याधुनिक स्रोतले प्लेजिएरिजमको आगोमा घ्यू थपिरहेका छन् । तर त्यसो हुन सघाउने तिनै साधनहरूले यसलाई रोक्न पनि उत्तिकै निर्णायक बन्न सक्छन्, प्रविधिमार्फत् । युरोपेली तथा अमेरिकी विश्वविद्यालयहरूमा त असाइन्मन्ट तथा शोधपत्रहरू चोरी गरेको आरोप लागे कलेजबाट सधैँको लागि निष्कासित हुनुपर्नेजस्ता सजाय भोग्नुपर्ने हुन्छ ।

उच्च स्थानमा पुगेका शासकहरूलाई पनि प्लेजिएरिजमको आरोप लागेको छ । जर्मनका पूर्व रक्षा मन्त्रीले तिनको पिएचडी थेसिस अरू कोहीबाट सारेको आरोप बेरुथ विश्वविद्यालयले गत वर्ष लगायो । यसैगरी हंगेरीका पूर्व राष्ट्रपति पल स्मिटमाथि तिनको २१५ पेजको पिएचडी थेसिसमध्ये १९७ पेज अन्य स्रोतबाट हुबहु अनुवाद गरेको आरोप सन् २०१२ मा लाग्यो । यसैगरी रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टाले आफ्नो पिएचडी थेसिसको आधाभन्दा धेरै अंश सारेको आरोपको तारिख खेपिरहेका छन् । भ्लादिमिर पुटिनको प्राकृतिक स्रोत व्यवस्थापन योजनासम्बन्धी शोधपत्रमाथि प्लेजिएरिजमको आरोप लाग्यो । यसैगरी सन् १९९८ मा अमेरिकी राष्ट्रपति पदका दावेदार जोशेफ बिदेनले एउटा भाषण बेलायती राजनीतिज्ञको भनाइबाट चोरेको आरोप लागेपछि बिदेन अघोषित रूपमा उम्मेदवारीबाट बाहिरिए । सिएटल टाइम्सका सम्पादकमाथि पनि प्लेजिएरिजमको आरोप लागेपछि उनले पदबाट राजीनामा दिन वाध्य भएका थिए । यस्ता घटना गनिसाध्ये छैनन् । संसारका कुनै पनि देशमा प्लेजिएरिजमलाई नागरिक अपराध मानी संविधानमै उल्लेख भएको पाइँदैन । जे होस्, प्लेजिएरिजमप्रति जिरो टोलरेन्स (सून्य सहनशीलता) अपनाउनु नै सबैभन्दा उत्तम सजाय हुन सक्छ ।

कलेज तथा विश्वविद्यालयहरूमा गरिने असाइनमन्टमा प्लेजिएरिजम व्यापक देखिन्छ । प्राज्ञिक क्षेत्रको प्लेजिएरिजम रोक्ने केही तरिकाहरू छन् ः लेखहरू चोर्नेलाई भविष्यमा त्यस्ता लेख प्रकाशन गर्नबाट रोक्ने, सम्बन्धित प्रकाशकले लेखकबाट लेखहरू माग्दा लेखको ‘ओरिजिनालिटी’ बारे स्पष्ट पार्ने र लेख चोरी गरिएको फेला परेमा हुने कारवाही स्पष्ट पारिनुपर्ने जस्ता तरिकाहरू । कम समयमा राम्रो स्कोर हासिल गर्ने उद्देश्य राखेर विद्यार्थीहरूले इन्टरनेटबाट सिधै कपि–पेस्टको थिएरी अपनाउने गर्छन् । राम्रा विचारहरूको गहन अध्ययन र विश्लेषणबाट आफ्नो छुट्टै अवधारणा विकास गर्नुको साटो ठाडो चोरी हुने गरेको छ । त्यसले देशमा उच्च स्तरका थिङ्क ट्याङ्क निर्माणमा अगतिलो पर्खाल ठड्याउँछ । प्रविधिप्रति जानकार केही प्राध्यापकहरूले त सो चोरी पत्ता लगाइ हाल्ने गरेका छन् । तर हाम्रा विश्वविद्यालयका अधिकांश प्रोफेसरहरूलाई प्लेजिएरिजम पत्ता लगाउने सफ्टवेयरको प्रयोगको ज्ञान त कता हो कता तिनीहरू कम्प्युटरको पहुँचसम्म पुग्नसमेत डराउँछन् । नेपालमा विश्वविद्यालय अध्ययनको अन्तिम र अति महत्त्वपूर्ण पक्ष थेसिस लेखनमाझ प्लेजिएरिजम बेस्सरी झाँगिएको छ, वनमारा झारजस्तै ।

नेपाली साहित्यका महानायक शंकर लामिछानेलाई दशकौँअघि कुमुदिनी संज्ञाकी छद्मनाम धारीले ‘प्लेजिएरिस्ट’ भनि औँले ठड्याइन् । आफूले बौद्धिक बेइमानी गरेको भन्ने आरोपलाई सहज ढङ्गले नमन गरिदिए शंकरले । उता कुमुदिनीको आरोपलाई थुप्रैले बहुलठ्ठीपूर्ण पनि ठाने । शंकरको लेखनीको डाहा गर्ने चिनाजानकै कुनै व्यक्तिले त्यस्तो आरोप लगाएका हुनसक्ने विचार थुप्रैको थियो । त्यस घटनापछि मात्र यहाँका मानिस वृत्तमाझ ‘प्लेजिएरिजम’ बारे उत्सुकता बढेको थियो ।

इन्टरनेटले ‘कपि पेस्ट लक्जरी’ सँगै त्यस्तो बदमासी पत्ता लगाउने उपाय पनि सँगसँगै दिएको छ । थुप्रै  अनलाईन÷अफलाईन सफ्टवेरहरू पाइन्छन् जसले ती रचनाको ‘ओरिजिनालिटी’ स्पष्ट पारिदिन्छ । यस्ता सफ्टवेयरको उपलब्धताबारे हाम्रा विश्वविद्यालय लगायतका क्षेत्रमा यथेष्ट ज्ञान प्रसार जरुरी देखिन्छ । नयाँ विचार जन्माउने काम साह्रै कठिन हुन्छ, एउटी महिलाले ९ महिना गर्भमा बोकेर अखप प्रसव खप्दै सन्तान जन्माएजस्तै ! करोँडौ वर्षसम्म संगालिएर बन्नुपरेको विराट चट्टाननस्तै ! त्यसरी जन्माइएको विचार/लेखनीलाई अरूकोहीले सार्नु आफूले सन्तान उत्दापन गर्न नसकेको बाँझो कोखले अरूको सन्तानलाई खोसेजस्तै हो । यो चोरीकै एक प्रकार हो र आफैँमा अनैतिक र गैरकानुनी कार्य हो ।
Source: http://energise2-0.com

(२०६९ भाद्र  १६ शनिवारको नागिरक दैनिकमा प्रकाशित)

(Say no to PLAGIARISM!!!)

2 comments:

  1. Nice take; I went through Nagarik. But about the images you've used here: the source should not be www.google.com as you are doing injustice to the real copyright-holder. www.google.com is just a search engine under Google Inc. It connects to you to other websites where the photos you've used are there. So, my kind suggestion to you is to cite another link or person whose name may be available in the available link. By doing so, you could better respect the copyright and discourage plagiarism.

    ReplyDelete
  2. Thank you for nice compliments, Safal.

    ReplyDelete