Saturday, February 22, 2014

हीराको हार


उनी निकै सुन्दर, आकर्षक र सुशिल युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपथ्र्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै धनी पुरुषले बिहे गरेर लैजाला र सधैँभरी माया गरेर राख्ला भन्ने अपेक्षा पनि थिएन । त्यसैले एउटा निम्छरो कर्मचारीसँग बिहे गरेर खुरुखुरु गइन् ।

धेरै नक्कल पार्न नजानेकाले सामान्य लुगाफाटो लगाउँथीन् उनले । ठूलै चोट परेजस्तै देखिन्थिन् र भित्रभित्रै असन्तुष्ट पनि । परिवार र जन्मले सौन्दर्य, हिस्सीपना र आकर्षणजस्ता सबै ठाउँ ओगट्ने हुनाले महिलाका कुनै कुल र श्रेणी हुँदैनन् । प्राकृतिक चातुर्यता र टाठो मष्तिष्क नै उनीहरूको अब्बल श्रेणी हो । र यही कुरा गुणवान् महिला हुनुबराबर हुन्छ ।

मथिल्ड नराम्ररी पिल्सिएकी थिइन् । सम्पूर्ण आनन्द र सुखभोग आफूले भोग्न पाए हुँदो हो भन्ने पनि ठान्थीन् कुनैकुनै प्रहर । आफ्नो जीजिविषाप्रति बेखुस थिइन् । ठिङ्ग उभिएका चारभित्ताहरूको नाङ्गोपन, भाँचिएका कुर्सी तथा मैला र च्यातिएका पर्दा देख्दा उनी निकै उदास हुन्थीन् । उनीबराबरका अन्य महिला चाहिँ त्यस्ता कुराबाट सुर्ताउँदैनथे । घरायसी काम गर्ने महिलालाई देख्दा मात्र पनि उनलाई ठूलो पछुतो हुन्थ्यो, सपनाहरूले डस्थे । पूर्वीय सभ्यतामा प्रयोग हुने कुरुषले बुनेका उत्कृष्ट पर्दाहरू, मैनबत्ती राख्न प्रयोग हुने ढलौटका ठूला–ठूला भाँडा र आर्मचेयरमा आरामसँग सुतिरहेका पुरुष मूर्तिहरूको कल्पना गरीन् उनले । त्यस्तो कल्पनालाई स्टोभको तातो रापले उत्तिखेरी पगालिदियो ! फेरि, लामा–लामा स्वागतकोठी र त्यसमा झुन्डिएका प्राचिन रेशमी पर्दाहरूबारे सोंचीन्, आफ्ना सहेलीलगायत अन्य सबै महिलाले मरिहत्ते गर्ने प्रख्यात पुरुषहरूसँग साँझको पाँच बजेपछि गफिन मिल्ने अत्तरले मगमगाएका कोठाबारे कल्पिइन् जसमा क्युरियोका प्राचिन वस्तुहरू पनि हुन्थे ।
कपडाले छोपेको डाइनिङ टेबलमा खाना खान बस्दा फूलथुङ्गा जस्तै खुसी भएर उनको लोग्नेले भने, “ओहो कस्तो मीठो सुप । ह्याँभन्दा मीठो अर्को कुरा मलाई थाहै छैन ।”

त्यतिबेला उनले संसारका उत्कृष्ट भोजनबारे सोंच्थीन् जुन सिल्भरका महङ्गा प्लेटमा धनीहरूले खान्थे । उडिरहेका अनौठा चरा र प्राचिन मानिसहरू डुलिरहेका चित्र भएको भित्तामा टाँगिएको महङ्गो पर्दाबारे सोंच्दै मग्न हुन्थीन् । अझ महङ्गा प्लेटहरूमा राखेर खाइने खानाबारे पनि सोंच्थिन्, ट्राउट र बट्टाइका मासु खाइरहँदा हलुका मुस्कान छोडिरहेको पनि कल्पना गर्थिन् ।

उनीसँग गाउनहरू थिएनन्, गरगहना थिएनन्, श्रृंगारका केही सामग्री थिएनन् । उनलाई त्यही जो मन पथ्र्यो । आफू त्यस्तै अभावको लागि जन्मिएको जस्तो लाग्थ्यो । अझ, आफूलाई कसैले खोजुन्, कसैले उनको इर्ष्या गरुन् वा उनले कसैलाई खुसी पनि बनाउन सकुन् जस्तो पनि लाग्थ्यो बेलाबेला ।

उनकी एउटी धनी साथी थिइन्, विद्यालयकी सहपाठी । ती सँगीको घरमा जान उनलाई मन पर्दैनथ्यो किनकी उनको घरमा गएर आफ्नो घर फिर्दा उनी दुखी मात्र हुन्थिन् ।

एकदिन उनका श्रीमान् आए, हातमा निम्ता–खाम बोकेर । खामको आकारै ठूलो थियो ।

“त्यहाँ हेर त” श्रीमान्ले भने, “तिम्रो लागि केही कुरा त्यसमा छ ।”

हतार हतार खाम च्यातेर हेरिन्, जसमा प्रिन्ट गरिएका अक्षरमा यस्तो लेखिएको थियोः 

यस मन्त्रालयको कार्यक्रममा श्रीमान्/श्रीमती लुइजेलको सादर उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौँ । मितिः जनवरी १८, साँझको समय ।

श्रीमान्‌ले अपेक्षा गरेअनुरूप उनी खुसी भइनन् । बेपत्ता रिसाएर त्यो कार्ड हुर्राइन् र भित्रभित्रै मुर्मुरिँदै भनिन् 

“म किन जाने त्यहाँ ?”

“मेरी प्रियतमा, तिमी खुसी हौली भन्ने पो ठानेको थिएँ मैले । तर रिसायौ त । तिमी कहिल्यै बाहिरतिर हिंड्दिनौं । हेर त यसो डुल्ने कस्तो राम्रो अवसर हो यो । यो निम्ता पाउन पनि मैले कम्ति संघर्ष गर्नुपरेन ! भतेरमा जान सबै खोज्ने, तर म जस्तो कर्मचारीले निम्ता पाउन साह्रै गाह्रो । तर मैले पाएँ । अफिसका सबै मानिस त्यहाँ आउँछन् ।”

श्रीमान्‌सँग झर्किंदै उनले भनिन्, “कुन लुगा लगाएर म जानु त्यहाँ ?”

“नाटक हेर्न जाँदा तिमीले लगाउने गाउन राम्रो छ, होइन र ?” बुढाले भने।

बुढा बोलेर नसक्दै श्रीमती धर्धरी रुन थालिन् । आँखाको डिलबाट दुईथोपा आँसु बग्दै–बग्दै ओठको दुई छेउतिर लाग्यो ।

“के भयो प्यारी ?” श्रीमान्‌ले सोधे ।

आँसुले भिजेका गाला हातले पुछिन् र रुन्चे स्वरमा बोलिन्, “केही भाछैन । मसँग गाउन छैन, त्यसैले यो पार्टीमा म जान सक्दिन । अफिसका अरू कसैलाई यो निम्ता कार्ड दिनुस् जसको श्रीमतीसँग मेराभन्दा राम्रा लुगाकपडा छन् ।”

केहीबेर पछि श्रीमान्‌ले भने, “प्यारी मथिल्ड, तैपनि केही सोचौं न । अँ, ठिक्कको नयाँ गाउनलाई कति पर्ला हँ, जुन तिमीले अरू यस्तै बेला पनि प्रयोग गर्न मिलोस् ?”

मनमनमा हिसाब गर्दै केही बेर उनी गमिन् । सामान्य आर्थिक हैसियत भएको कर्मचारीको सातो नउड्ने गरी भन्नुपर्ने थियो उनलाई । र पतिको प्रस्तावलाई बेवास्ता गरिहाल्न पनि भएको थिएन ।

हडबडाउँदै भनिन्, “ठ्याक्कै त कति पर्ला थाहा भएन । तर पाँचसय फ्र्यांक सम्ममा व्यवस्थापन गर्न सक्छु ।”
ओहो ! त्यति पैसा त उनले साथीहरूसँग बिदाको दिनमा शिकार खेल्न जानलाई बन्दुक किन्न साँचेर राखेका थिए । त्यसैले तिनको अनुहार निलो भयो ।

सम्हालिँदै भने, “ठिकै छ नि त, चारसय फ्र्यांक दिन्छु । त्यतिमा राम्रो गाउन किन न त ।”

लुगा तयार भएपनि उनको अनुहारबाट पिर हटेन । घाम डाँडामाथि पुग्दै थियो । श्रीमान्‌ले साँझ भने, “के भयो तिमीलाई ? तीन दिनयता एकदम बेखुस देखिन्छ्यौ ?”

उनले भनिन्, “मसँग एउटा पनि गहना छैन, त्यसैले म बेखुस छु । गहना नलगाइ जाँदा म साह्रै गरीबजस्ती देखिन्छु । त्यसैले म त्यहाँ नजानु नै ठीक छ ।”

“तिमीले सुन्दर फूलका गहना बनाएर लगाऊ न त । कस्तो राम्रो देखिन्छ ।” श्रीमान््ले भने, “अचेल त्यस्ता गहना खुब चलेका छन् नि । दस फ्र्यांकमा त तिमीले तीनओटा गुलाबका गज्जबका गहना किन्न सक्छ्यौ नि !”

बुढाको कुरा उनलाई के चित्त बुझोस् !

“धत्, धनी आइमाइहरूबीच निमुखो देखिनु लाजको मर्नु हुन्छ ।” भनिन्।

“हरे ! पटमूर्ख !” श्रीमान्ले उपाय सुझाए, “श्रीमती फरेस्टियरसँग गएर केही छिनलाई उनकै गहना मागेर लगाउ न त । उनी त तिम्री मिल्ने साथी पनि हुन् ।”

खुसीले उनी चिच्याइन्, “हे भगवान् ! कस्तो ख्यालै नगरेकी मैले !”

अर्को दिन उनी ती सँगीकोमा गइन् र उनलाई आफ्नो व्यथा सुनाइन् ।

श्रीमती फरेस्टियर गहना राखेको ऐनाजडित चट्टको दराजतिर गइन् । गहना भएको ठूलो बक्स झिकिन् र श्रीमती लुइजेलको हातमा राखिदिइन् ।

“यसबाट छान प्रिय साथी ।” भनिन् ।

लुइजेलले सुरुमा ब्रासलेट हेरिन्, त्यसपछि मोतीको हार अनि भेनस सहरमा बनेको सुन्दर पत्थरजडित अर्को गहना पनि हेरिन् । ती सबै उत्कृष्ट बनोटका थिए । उनले प्रत्येक गहना लगाउँदै आफूलाई ऐनामा हेरिन् । ती गहना फुकालेर फिर्ता दिन पनि मन लागेन उनलाई । साथीलाई प्रश्न गरिन्,

“अरू पनि छन् र ?”

“किन ? छन् छन् । हेर न हेर । तिम्लाई कस्तो मन पर्ने हो कुन्नी ।”

अचानक उनको नजर एउटा हीराको हारमा गयो । त्यो जिनिस मनपरेर त्यसलाई देख्नेबित्तिकै उनको मुटु काँप्न थाल्यो । त्यसलाई लिँदा उनका हात काँपे । हत्तपत्त आफ्नो घाँटीमा त्यसलाई बेरिहालिन् । ऐनामा आफ्नो प्रतिबिम्ब देख्दा अपार आनन्दले बिभोर भइन् ।

आत्तिँदै, डराउँदै साथीलाई सोधिन्, “यो गहना दिन्छ्यौ त मलाई ?”

“लौ ! दिइहाल्छु नि । लैजाउ न”

त्यसपछि उनी निकै खुसी भइन्, खुसी मै साथीलाई अँगालोमा बेरिन्, पागल भएर चुम्बन गरिन् । अनि त्यो गहना लिएर बेपत्ता कुदिन् ।

भतेरमा जाने साँझ श्रीमती लुइजेल निकै खुसी थिइन् । उपस्थित जोसुकै महिला भन्दा उनी कम थिइनन् । उनको व्यक्तित्व र मुस्कान भब्य देखिन्थ्यो । सबै पुरुषहरूले उनीतिर आँखा बढाए, नाम सोधे, परिचित हुने रहर गरे । मन्त्रालयका सम्पूर्ण सदस्यहरूले उनीसँग नाच्ने इच्छा देखाए । मन्त्री स्वयंले उनको उपस्थिति ख्याल गरे ।

सातौं स्वर्ग पाएजसरी उनी मजाले नाचिन् । आफ्नो सुन्दरतामा समग्र संसार बिर्सेर नाचिन्, आफ्नो सफलतामा अपार खुसी भएर कम्मर मर्काइन् । त्यहाँ प्राप्त भएको खुसी, सम्मान र विजयले एउटा महिलाको मनमा झंकृत गराउने संगीत सुनिन् उनले ।

भतेरबाट बिहानको चार बजे मात्र हिँडिन् उनी । श्रीमान्‌चाहिँ मध्यरातबाटै एउटा सानो कोठामा सुत्न गएका थिए जहाँ अन्य तीनजना भद्रहरू पनि थिए । ती तीन भद्रका श्रीमतीचाहिँ भतेरमा नाचिरहेका थिए ।

फर्कने बेला श्रीमान्‌ले उनलाई बर्को ओढाइदिए । बर्को सामान्य थियो, भतेरमा लगाएका आकर्षक लुगाको सौन्दर्यसँग मेल नखाने र गरीबीको ल्याप्चे लागेको । महंगा भुवादार बर्को ओढेका अरू महिलाले नदेखुन् भनेर उनी छिटोछिटो हिँड्न खोजिन् ।

श्रीमान् लुइजेलले भने, “पर्ख न । तिमीलाई चिसोले समात्छ । मैले क्याब बोलाउँछु ।”

श्रीमान्‌लाई नसुनेरै उनी सिँढीबाट खुरुखुरु ओर्लिन् । बाटोमा पुगिसकेपछि उनीहरूले एउटा पनि मोटर–क्याब भेट्न गाह्रो प¥यो, पर भएको एउटा क्याबलाई चिच्याएर बोलाए ।

कठ्यांग्रिदै र काम्दै उनीहरू हिँडिरहे । एकैछिनमा एउटा थोत्रो रात्रीकालीन क्याब भेटे । लाग्थ्यो त्यो क्याबले दिउँसोमा आफ्नो थोत्रोपन देखाउन पर्छ भनेर गुड्दैनथ्यो ।

उनीहरू मार्टर्स स्ट्रिट हुँदै आफ्नो घरको भ¥याङ चढ्न थाले, निरास हुँदै । श्रीमती लुइजेलको लागि सबैथोक सकिएको थियो । भोलि बिहान दस बजे अफिस पुग्नुपर्ने थियो श्रीमान्‌लाई । त्यही कुरा उनले श्रीमतीलाई भने ।
आफ्नो सौन्दर्यको प्रतिबिम्ब एकपटक फेरि हेर्न ऐनाअगाडि उनी उभिइन् र ओढेको बर्को हुर्राइन् । एउटा चित्कार निस्क्यो उनको मुखबाट । घाँटीमा हार थिएन !

“के भयो तिमीलाई हँ ?” आफ्नो लुगा फुकाल्दै श्रीमान्‌ले सोधे ।

आत्तिँदै श्रीमान्‌तर्फ मुख फर्काइन् उनले ।

“म...म...मै...ले फरेस्टियरको हार हराएँ ।” उनी चिच्याइन् ।

होशहवास गुम भएझैँ गरेर श्रीमान् उभिए ।

“हँ ??? के भनेकी ??? कसरी भयो ??? असम्भव ! ! !”

गाउनको गोजीलगायत सबैतिर अत्तालिँदै खोजे । तर भेटेनन् ।

“भतेरबाट निस्कँदा तिमीसँगै थियो नि हैन ?” सोधे श्रीमान्‌ले ।

“अँ मन्त्रीको घरको ढोकाबाट बाहिरिँदै गर्दा थियो जस्तो लाग्छ ।”

“तर बाटोमा खसेको भए खस्दाखेरीको आवाज हामीले सुन्नुपर्ने त । त्यो क्याबमा छ कि !”

“हुनसक्छ । उसको नम्बर तपाईँले लिनुभएन ?”

“लिइनँ । खसेको चाल पाइनौ तिमीले !”

“अहँ !”

उनीहरूले एकआपसलाई आश्चर्यचकित भएर हेरे । हराएको गहना खोज्न जान श्रीमान् तयार भए ।

“म हिँड्दै जान्छु ।” भने, “हामी आएको बाटो, भेटिन्छ कि !”

श्रीमान्् निस्किए । श्रीमतीचाहिँ कुर्सीमा बसिरहिन्, किंकर्तब्यबिमुढ भएर, भतेर जाँदा लगाएको लुगा लगाएरै । उनीसँग कुनै बल थिएन, भावसुन्य थिइन् ।

बिहानको सात बजेतिर श्रीमान्् फर्किए, रित्तो हात ।

उनी प्रहरीकहाँ पुगे, पत्रिकामा सूचना पनि दिए, गहना फर्काउनेलाई उपहार दिइने जानकारी गराउँदै । क्याबका कार्यालयहरूमा पुगे । झिनो आस रहेका हरेक ठाउँ पुगे । जहाँसुकै पुगे ।

श्रीमतीले दिनभरी श्रीमान्‌लाई कुरेर बसिन्, एउटै आसनमा, डरको भयंकर भावभंगिमासहित ।

निलो अनुहार र खोक्रो मन लिएर श्रीमान्् लुइजेल राति घर आए । उनले साथमा केही पनि लिएर आएनन् ।

“तिमीले ती साथीलाई चिठी लेख्नुपर्छ अब” भने, “उनीबाट लिएको हार भाँच्चियो र त्यसलाई बनाएर फिर्ता दिन्छु भन्दै । त्यतिञ्जेल खोज्ने समय हामीलाई मिल्छ ।”

श्रीमान्‌ले भनेअनुरूप उनले पत्र लेखिन् ।

सप्ताहन्तसम्म उनीहरूसँग कुनै आस बाँकि थिएन । त्यतिञ्जेलमै लुइजेल पाँच वर्षको उमेर खाइसकेकी जस्ती देखिन्थिन्, पिरले ।

“कसरी तिर्ने अब त्यसबारे सोंच्नुपर्छ हामीले ।” श्रीमान्‌लाई भनिन् ।

त्यो गहनाको बाकस लिएर एउटा पसलमा गए । बाकसमा सुनारको नाम लेखिएको थियो । सुनारले खातापाता उल्टाएर हेरे ।

“त्यो हार बेच्ने मानिस म थिइनँ मेडम । मैले त त्यो बाकसमात्र बनाएको थिएँ ।” सुनारले भन्यो ।

बुढाबुढी भएर प्रत्येक सुन पसलहरू चाहारे, सुनारलाई भेटे । केही हात लागेन, शिवाय असिमित पिडा र असन्तुष्टि ।

प्यालेस रोयल नामक गहना पसलमा उनीहरूले ठ्याक्कै त्यस्तै हार देखे जसको मूल्य ४० हजार फ्र्यांक थियो । त्यसलाई ३६ हजार सम्ममा पाउने भए ।

त्यो गहना कम्तिामा तीन दिनसम्म नबेचिदिन पसलको साहुलाई आग्रह गरे । फेब्रुअरीको अन्तिमसम्म पनि हराएको गहना नभेटिए त्यसलाई ३४ हजारसम्ममा किन्न मिल्ने आग्रहसहित कुरा मिलाए ।

लुइजेलसँग १८ हजार फ्र्यांक थियो, बाबुले दिएर छाडेका थिए त्यतिका पैसा । र बाँकि चाहिँ उनले सरसापट गरेर गर्जो टार्नुपर्ने भयो ।

उनले ऋण माग्न थाले । कसैसँग एकहजार फ्र्यांक, कोहीसँग पाँच सय । धेरै थोरै गरी मागे । ऋणदातासँग अप्ठेरो अवस्थाका सामना गर्दै आफ्नो काम जारी राखे । आफ्नो बाँकि रहेको जिन्दगीसँग उनले सम्झौता गरिरहे, परिणाम के होला भन्ने थाहा नपाएर पनि हस्ताक्षर गरेर ऋण काढे । भोग्नुपर्ने भविष्यसँग डराएरै हिँडे । र अन्त्यमा ३४ हजार फ्र्यांक बोकेर नयाँ गहना किन्न गए ।

श्रीमती लुइजेल नयाँ गहना लिएर श्रीमती फरेस्टियरकहाँ गइन् । फरेस्टियरचाहिँ हल्का झोंकिएर भनिन्, “अलि पहिला ल्याइदिनुपथ्र्यो नि, मलाई चाहिन सक्थ्यो ।”

उनले गहना राखेको बाकस पनि खोलिनन्, किनकी उनकी साथी लुइजेल खुब डराइरहेकी थिइन् । साटेर ल्याइदिएको गहनाबारे थाहा पाएको भए उनले के भन्दी हुन् ? श्रीमती लुइजेललाई चोर नभन्दिहुन् त ?

त्यसपछि बल्ल श्रीमती लुइजेलले जिन्दगीको डरलाग्दो अस्तित्वबारे थाहा पाइन् । एकैछिन भएपनि उनले नायकत्व त देखाएकी हुन् । ऊफ् ! त्यो ऋण नतिरी हुँदैन । तिर्न त सक्लिन् । घरमा काम गर्ने मानिस विस्थापन भयो, बुढाबुढी नै एउटा सानो बुइँगलमा बस्न थाले ।

काम गर्ने मानिसलाई हटाएकोले अब बल्ल उनले थाहा पाइन् घरधन्दा कति गह्रुङ्गो हुनेरैछ र भान्छामा काम गर्नु कति झिझ्याटलागग्दो हुँदोरहेछ । सुन्दर औँलाले भाँडा मस्काउनुपर्ने भयो । धुन अप्ठेरो हुने कपडाहरू धुनु पर्‍यो, त्यसलाई तारमा सुकाउनु पर्यो । पानी बोकेर बुइँगलसम्म पुर्‍याउनु पर्‍यो । प्रत्येक खुड्कीलो चढ्दा रोकिएर लामो सास तान्थिन् उनले । एकदम सामान्य महिलाले झैँ लुगाफाटो लगाउनुप¥यो । बास्केट बोकेर तरकारी पसल, मासुपसल चाहार्दै चाहिएका खान्की किन्दै मोलमोलाई गर्नुपर्‍यो । आफूसँग भएको किम्ती पैसालाई खुब माया गर्नुपर्‍यो उनले ।

प्रत्येक महिना ऋणदातालाई भेट्नुपर्‍यो, ऋण तिर्ने समय थप गरिदिने आग्रह पनि गर्नुपर्‍यो ।

व्यापारीहरूको बहिखाता बनाउँदै श्रीमान्‌ले साँझमा पनि काम गर्नथाले । निकै थोरै पैसामा भएपनि रातबिरात काम गर्नथाले ।

यो चर्या दस वर्षसम्म चल्यो !

दस वर्षको अन्त्यमा उनीहरूले सबैथोक तिरे, ऋणमुक्त भए । ब्याज पनि तिरेर ढुक्क भए ।

श्रीमती लुइजेल यतिञ्जेलसम्म निकै बुढी देखिइन् । दुखी महिला जस्ती देखिन्थिन्, बेढङ्गी र रुखी । जिङ्रीङ्ग परेको कपाल, मैला लुगा र रातै भएका हातसहित बेस्मारी चिच्याउँदै भाँडा माझ्थीन् उनले । लोग्ने अफिसमा हुँदा उनीचाहिँ झ्यालनिर बसेर सोंचमग्न हुन्थिन् । सोंच्थिन्, त्यो रङ्गीन पार्टी, उनको आकर्षक रूप र सबैले उनलाई गरेको प्रशंसा !

त्यो हीराको हार नहराएको भए के हुन्थ्यो होला ? कसले के अनुमान गर्न सक्नु र ? जिन्दगी कस्तो अनौठो र परिवर्तनशिल छ ! हामीलाई भुइँमा बजारिदिन सानै कुराहरू भए पुग्ने !

हप्ताभरीको थकान मेट्न उनी घुम्न हिँडिन् । बाटोमा अचानक उनले एउटी महिला देखिन्, तिनले एउटा बच्चा डोर्‍याइरहेकी थिइन् । उनी मेडम फरेस्टियर थिइन् । अझ सुकुमारी, उस्तै राम्री र आकर्षक ।

श्रीमती लुइजेललाई अप्ठेरो लाग्यो । फरेस्टियरसँग बोल्ने कि नबोल्ने होला त ? किन नबोल्नु नि ? उनले सबैथोक तिरिसकेकी थिइन् नि त । विगत्‌बारे सबै बताउने जिकिर गरिन् उनले ।

नजिकै पुगिन् ।

“हेल्लो, जेन्नी ।” भनिन्।

फरेस्टियर अचम्ममा परिन्, चिनेको आवाजले उनलाई सम्बोधन गरेर आत्मीयतासाथ बोलाउँदैछ । बोलाउने महिला भद्र नै देखिन्थिन् तर उनले चिन्न चाहिँ सकिनन् ।

“अँ....मैले तपार्इँलाई चिनिन त । तपाईँलाई भ्रम भयो ।”

“हैन हैन । म श्रीमती मथिल्ड लुइजेल ।”

लुइजेलकि साथी बेस्मारी चिच्याइन् । “हरे मेरी प्यारी मथिल्ड । तिम्रो रूप कस्तो फेरिएको नि !”

“हो त नि । पछिल्ला वर्षमा मैले कस्तो रुखो जिन्दगी बिताउनु प¥यो । मैले चरम गरीबी सहेँ । र तीसबै तिम्रै कारण !”

“मेरो कारण ? कसरी नि ?”

“तिमीले मलाई त्यो पार्टीमा लगाउन दिएको हीराको हार सम्झना छ नि है ?”

“छ, छ ।”

“खासमा मैले त्यो हराएकी थिएँ ।”

“हँ ? के भन्या ? तिमीले मलाई फिर्ता दिएकी थियौ नि त्यो त ।”

“मैले पछि ठ्याक्कै त्यस्तै गहना किनेर फिर्ता दिएकी थिएँ । र त्यसको ऋण तिर्न मलाई दस वर्ष लाग्यो । तिमी बुझ्छौ नि, हामी केही नभएका बुङ्गाहरूलाई त्यो काम सजिलो थिएन । जे होस्, सबैथोक सकियो र अहिले म खुसी छु ।”

फरेस्टियर वाल्ल परिन् ।

“हराएको गहनाको ठाउँमा तिमीले असली हीराकै हार दिएकी हौ मलाई ?”

“हो नि त । त्यतिबेला तिमीलाई थाहै भएन । किनकि फिर्ता दिएको गहना दुरुस्तै थियो ।”

श्रीमती फरेस्टियरले यस्तो मुस्कान फुत्काइन् जसमा घमण्ड र इमान्दारीता दुवै थियो ।

श्रीमती फरेस्टियरले आश्चर्य भावमा लुइजेलको हात समाउँदै भनिन्, “हरे भगवान् ! म्याथिल्ड, मेरो हीराको हार त नक्कली थियो नि । त्यसलाई लगभग पाँच सय फ्र्यांक मात्रै पर्थ्यो !”



गेइ डि मोपासाले लेखेको उत्कृष्ट कथा 'डायमन्ड नेकलेस' (Diamond Necklace) को नेपाली अनुवाद

(अनुवाद– सिपी अर्याल/CP Aryal)

2 comments:

  1. Interesting Live....Ratnapark nad Mukunde :) :)

    ReplyDelete
  2. Amar Nyaupane ko Paniko Gham ma bhayeko euta katha jastai raicha last ma.

    ReplyDelete