–CP Aryal (सिपी अर्याल)
कपिलवस्तुस्थित तिलौराकोट र कुदानबारे जानकारी :
आज भन्दा २६ शताब्दि वर्ष अगाडि सिद्धार्थ गौतम हुर्केको ठाउँ कपिलवस्तु पनि एउटा देश नै थियो। यहाँ गौतम थरका राजा शुद्धोधनले राज्य गर्थे। शुद्धोधनको प्राचिन दरवार तिलौराकोटमा पर्छ र यो ठाउँ नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लामा पर्छ। तौलिहवा बजारबाट २ किमी उत्तर दिशामा रहेको छ प्राचिन तिलौराकोट।
राजा शुद्धोधनको थर गौतम भएपनि उनलाई कालान्तरमा 'शाक्य राजा' भनेर चिनियो। उतिबेला 'शाक्य' भनेको कुनै थर वा नेवार जाती थिएन। यसको अर्थ भने अर्कै रहेको कुराहरू पुस्तक तथा इतिहासका कुरामा उल्लेख छ। राज खानदान भनेको पराक्रमी, वीर तथा परिश्रम गर्न सक्ने, सबै काम गर्न सक्ने खालका त मानिन्थे नै। यसबाहेक उनीहरूमा सबै काम 'सक्य' वा सम्भव छ भन्ने मानसिकता रहन्थ्यो। यसैकारण उनीहरूको त्यस्तो जीतको मानसिकतालाई उल्लेख गर्न यी राजाको नामपछाडि 'सक्य' राखियो जुन कालान्तरमा 'शाक्य' नामले चिनिन गयो। अहिले आएर शाक्य वशंलाई नेवार जातिको रूपमा मात्र हेरिन्छ।
कपिलवस्तुबारे जान्नुअघि यो ठाउँ किन प्राचिन कालको ऐतिहासिक महत्व बोकेको ठाउँ मध्ये गनियो त? त्यो जान्नु आवश्यक छ।
सिद्धार्थ गौतम लुम्विनीमा जन्मे। उनलाई जन्म दिने आमा महामायादेवीको मृत्युपछि बालक सिद्धार्थलाई प्रजापती गौतमीले तिलौराकोटमा हुर्काउन थालीन्।
ऋषीमुनीहरूले शुद्धोधनका छोराबारे भविष्यवाणी गरेर सिद्धार्थ या त ज्वाजल्यमान राजा भै शासन गर्ने, नभए उनी घरबार छोडेर हिँड्नेछन् अनि बुद्धत्व प्राप्त गर्नेछन् भने। तर यौटै मात्र ऋषीले त बुद्धले घरबारै छोडेर हिँड्ने र बुद्धत्व नै प्राप्त गर्ने कुराको घोषणा गरिदिए। यो कुराले राजालाई खुबै पिरोलोको थियो।
राजकुमार सिद्धार्थ हुर्कँदै थिए, तिलौराकोटमा। उनका लागि राजसी सुखसयल भन्दा मानिसका दुःखका कारण पत्ता लगाउने ध्याउन्नै प्रिय हुँदै थियो। आखिर अनेक कारणले सिद्धार्थ, असार पूर्णीमाको दिन कपिलवस्तु छोडी ज्ञानको खोजीमा हिँडे। अनि घर छाडेर हिँडेको ६ वर्षमा बोध गया भन्ने ठाउँमा ज्ञान प्राप्त गरे। राजकुमार सिद्धार्थ बुद्ध भए। बुद्धको कीर्ति यसप्रकार खुबै फैलिन थाल्यो उनका चेलाहरू प्रशस्त हुन थाले।
बुद्धत्व प्राप्त गरीसकेपछि उनी तिलौराकोट फर्किए, केही मानिसहरूलाई आफ्नो चेला बनाए। उनले आफ्नो छोरालगायतका व्यक्तिलाई बीस वर्ष भन्दा कम उमेरमै भिक्षु बनाएकाले त्यतिबेला उनी केही आलोचित भएका थिए। पछि आएर घरपरिवारको अनुमतिबीना बीस वर्ष भन्दा कम उमेरका मानिसलाई भिक्षु बनाउन नपाउने व्यवस्था बनाइयो। पछि बुद्धलाई हुर्काएकी आमा प्रजापति गौतमीले पनि बुद्धलाई गुरु बनाएर पहिलो महिला भिक्षुणी बनिन्।
बुद्धको जन्म र मृत्युबारेका तथ्यहरूमा कुनै मतैक्यता नभेटिएपनि सामान्यतया धेरैले मान्नेगरेको मिति भनेको जन्म ई.पू ६२३ र निर्वाण ई.पू. ५४४ हो।
के–के छ त तिलौराकोटमा?
तिलौराकोटको बीचमा राजा शुद्धोधनको दरवारको भग्नावशेष छ । यो दरवारको क्षेत्रफल ३५ विघामा फैलिएको छ। दरवार परिशरको पूर्व भागमा पूर्वी गेट छ। त्यसलाई 'महाभिनिष्क्रमण'को नाम दिइएको छ। यही गेटबाट बुद्धले दरवार छोडेर ज्ञान प्राप्त गर्नको लागि निस्किएका थिए। यस ठाउँमा उत्खनन गर्दा १९ फिट चौडा बाटो, दायाँ बायाँ दुई बुर्जा जस्ता अवशेषका साथै माटाका भाँडा, मुद्राहरू आदि कुरा प्राप्त गरीएको छ। त्यसैगरी पश्चिमभागमा दरवारको सुरक्षाकोलागि बनाइएको पश्चिमी गेट छ । त्यस गेटमा १९ फिट चौँडा बाटोको दुवैतर्फ डबलीहरू छन्। यहि द्वार नै दरवार प्रवेशको मुख्य ठाउँ हो।
भगवान् बुद्ध भन्नेबित्तिकै पोखरी पनि सँगसँगै जोडिएर आउँछ। दरवारलाई पानीको आपूर्ति गर्ने कामको लागि होस् वा अन्य कामको लागि यस्ता पोखरीको उपयोग गरिएको हुन सक्ने मानिन्छ। यस्तो सबै ठाउँहरूमा बुद्ध बसेको ठाउँनजिकै पोखरी रहेको देखिन्छ। तिलौराकोटमा भएको पोखरी असरल्ल देखिन्छ। सरसफाइ अभावको कारण पोखरीवरिपरि झाडि छ। यसलाई आकर्षक बनाई यसको संरक्षण गर्नुपर्ने टड्कारो आवश्यकता पनि देखिन आउँछ ।
यसैगरी दरवारको भग्नावशेषको एउटा भागमा इनार पनि देख्न सकिन्छ। तिलौराकोटको पूर्वभागमा जोडी स्तुप पनि छ । यो जोडी स्तुप ई.पू.को चौथो शताब्दिमा निर्मित र ई.पू.को दोस्रो–पहिलो शताब्दि सम्ममा तीनपटक पुनः निर्मित भएको हो। यो स्तुपको महत्व भनेको राजा शुद्धोधन र गौतम बुद्धलाई हुर्काएकी आमा प्रजापति गौतमीलाई दाहसंस्कार गरिएको स्तुप हो भनिएको छ।
कुदान
कपिलवस्तु सदरमुकाम तौलिहवाबाट २ किलोमिटर दक्षिणी भेगमा अवस्थित कुदान पनि प्राचिन महत्व बोकेको ठाउँ हो। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि उनी भिक्षाटन गर्दै धेरै ठाउँ चहार्दै हिँडेको बेला राजा शुद्धोधनले बुद्धलाई भनि एउटा छुट्टै दरवार कुदानमा बनाएको भन्ने कुरा अभिलेखहरूमा उल्लेख छ। बुद्धत्व प्राप्त गरिसकेपछि उनी कपिलवस्तु त फर्के तर उनको ज्ञानबारे कसैले विश्वास नगरेपछि यही कुदानमै बुद्धले तन्त्र विद्यामार्फत् फनफनी आकाशमा फेरो मारेपछि मात्र उनलाई मानिसहरूले विश्वास गरी भगवान् भनि पुज्न थालेका हुन्। कुदानमा बुद्ध बस्ने गरेको गन्धकुटी छ । बुद्ध जहाँ बस्थे सो ठाउँमा अनौठो किसिमको गन्ध आउँथ्यो रे। त्यसैले त्यो कुटीको नाम पनि गन्ध कुटी राखिएको हो। त्यसको नजिकै भिक्षुहरूको लागि बनाइएको भिक्षु भवनको भग्नावशेष छ। भिक्षुहरू बस्ने त्यस भवनमा शिवलिगं पनि छ। त्यो शिवलिंग टुटेको अवस्थामा छ । त्यसैगरी छेवैमा इनार पनि रहेको छ।
यसबाहेक प्रजापति गौतमीले आफूले हुर्काएको छोराले बुद्धत्व प्राप्त गरिसकेपछि छोरालाई केही दान दिने उद्देश्यले आफ्नै हातले बुनेको कपासको कपडा टकारेकी थिइन्। सो कपडालाई चिबर भनिन्छ। अहिलेको भिक्षुहरूले पनि कपासको त्यस्तै लुगा लगाउने गर्छन्। उनले बुद्धलाई यस्तो दान कुदानमा दिएकी थिइन्। यसको सांकेतिक अर्थको रूपमा त्यहाँ एउटा ढुङ्गामा चित्र कोरी राखिएको छ।
यी दुवै ऐतिहासिक महत्व बाकेका ठाउँहरूको सुरक्षा व्यवस्था एकदमै फितलो देखिन्छ कम्तिमा पर्यटकहरू आएर यस ठाउँको महत्वबारे जानकारी राख्ने इच्छा देखाए भने त्यसको लागि व्यक्ति पनि खटाएको देखिँदैन। अझ तिलौराकोटमा बस्ने गरेको सुरक्षा गार्डले पर्यटकलाई ठाउँ घुमाउन जिम्मेवारी लिनु भन्दा उल्टै ती पर्यटकबाट रकमको आस गरेका भेटियो। यसले हाम्रा यी स्थल र त्यसबारे हाम्रो जिम्मेवारीको कुराको विदेशमा कस्तो प्रचार प्रभाव पर्ला? गम्भिरता आवश्यक छ।
(तस्विर : सिपी अर्याल)
The article is published in Nagarik Daily dated 2010 September 4( 2067 Bhadra 19) Saturday.
No comments:
Post a Comment