Friday, September 17, 2010

T-Shirt message

टिसर्ट सन्देश

- CP Aryal (सिपी अर्याल)


छेउमै उभीएकी आफ्नी प्रेमीकालाई सरोजले उपहार दिएको टिसर्टमा :  बेस्ट टाइम इन माई लाइफ इज ह्याबिङ यु बिसाइड मी लेखिएको थियो। सरोजले त्यस्तो सन्देश भएको टिसर्ट पूजालाई उपहार दिन मन लागेको कारण बताए, 'यसमा लेखेको कुरा मेरो मनको आफ्नै प्रस्फुटन हो।'

टिसर्टमा लेखिएको सन्देशले मानिसको रोजाई, स्वभाव वा व्यहोरालाई इंगित गर्छ। यस्ता सन्देशहरूको विशेष अर्थ पनि हुन्छ। युवाहरू फरक पहिरनमा ठाँटिन रुचाउने भएकाले अचल बजारमा अक्षरले रंगइएका टिसर्ट छ्याप्छ्याप्ती देखिन्छन्। ठमेलको एउटा पसलका साहुजीका अनुसार यस्ता टिसर्ट किन्ने लगभग शतप्रतिशत ग्राहक युवा नै हुने गर्छन्।

इन्द्रचोकमा कस्तुरी साडी सोरुम चलाएर बसेका १९ वर्षे युवा हिक्मत आचार्यलाई सेलफोन मन नपर्ने। यसैकारण उनले आइ हेट सेलफोन्स लेखेको टिसर्ट लगाएका रे। पेप्सी बनाउने कम्पनिमा काम गर्ने नवराज श्रेष्ठ, २३, ले मेक एयरप्लेन लेखेको टिसर्ट पहिरिएका थिए। उनका अनुसार आफूले त्यस्तै लेखेको टिसर्ट किन्छु भनेर किनेको हैन रे।
यसैगरी ख्वप कलेजबाट आर्किटेक्ट विद्यामा भर्खरै स्नातक सकेका सुनिल शाक्य, २४, काममा हिँड्दा आर्कि माइन्ड लेखेको टिसर्ट भिर्न लगभग विर्सँदैनन्। यसले उनलाई सजिलो कन्फिडेन्ट महसुस गर्न मद्दत गर्छ। काम छरितो गरि सम्पन्न गर्न सक्छन् उनी।

त्रिविमा मनोविज्ञानमा स्नातकोत्तर अध्ययनरत अर्जुन भुसालकाअनुसार टिसर्ट सन्देशको कुरा मानिसको मनोविज्ञानआधारित हुन्छ। मान्छेले आफूलाई नचिनेकाको नजरमा पारिराख्न पनि फरक लेखाइ भएको टिसर्ट रोज्छ। 'नयाँ कुरा लेखीएको टिसर्ट लाउनेलाई कसैले एकनजर हेरिहाल्छ नि' अर्जुन तर्क गर्छन्।


बसन्तपुर दरवार स्क्वायरमा एउटी युवतीको टिसर्टमा स्टप स्टेयरिङ एट मि लेखेको देखेँ। युवतीको नजिक पुगेर त्यस्तो लेखेको टिसर्ट किन लगाएको होला भनी सोधेँ। उनले अप्ठ्यारो मानिसकेकी थिइन्। अझ मैले फोटो खिच्न क्यामेरा अघि सारेको मैलाई खाउँला जत्रो आँखा गरेर तर्किएर हिँडीन्। ट्वाल्ल परेर उभिएँ मात्र। युवतीहरू क्यामेरा फेसै गर्न उति चाहँदैनन्। लाजले होला सायद। तर काठमाण्डौँ विश्वविद्यालयकी एमबिएकी छात्रा आस्था ओझालाई भने आफूले लगाएको टिसर्टसहित फोटो खिच्न अप्ठ्यारो लागेन। उनले डन्ट वरी लेखेको टिसर्ट पहिरिनुको कारण उनीमा भएको आसावादी दृष्टिकोण हो। न्युरोड ग्लोबल बैंक छेउमा डुनट ट्रस्ट गल्स लेखेको टिसर्ट लगाएकी श्वेता खड्का, १९, ले भने आफूले त्यो टिसर्ट किनेरै लेख्न लगाएकी रे। बिएडकी विद्यार्थी श्वेताले ३५० खर्चेर टिसर्ट किनीन् रु. १०० खर्चेर खिचापोखरीको एउटा पसलमा त्यसो लेख्न लगाइन्। आफूलाई धेरै केटीहरूको बानी, व्यवहार मन नपरेको कारण त्यस्तो लेख्न लगाएकी रे श्वेताले।

नवराज श्रेष्ठले १७५ रुपैयाँ खर्चेर आइ हेट गल्स लेखेको टिसर्ट लगाउने कारण केटीप्रति उनको वितृस्णा भएर हैन।  'किन्दा यस्तै परेको हो।' उनी मुस्कुराउँछन्। न्युरोडस्थित ग्लोबल बैंकअगाडि भेटिएका सुमेश श्रेष्ठले चाइनाबाट दाइले पठाइदिएको टिसर्टमा डु ह्वाट यु लाइक एन्ड लाइक ह्वाट यु डु (तिमीलाई मन परेको काम गर गरेको काम मन पराउ) लेखेको थियो। अर्बिटमा एमबिबिएसको तयारी गर्दै गरेका सुमेशका अनुसार यस्तो लेखिएको टिसर्ट लगाउने कुनै विशेष कारण भने छैन। उनलाई इम्ब्रोइडरी गरेर लेखेका टिसर्ट राम्रा लाग्दा रैछन्।


माथिका  टिसर्ट सन्देशका सबै हिज्जे अंग्रेजीमै थिए। खोज्दै हिँड्दा, देवनागरी लिपीमा लेखिएका सन्देशहरू कुनै पनि टिसर्टमा भेटिएन। यो कुरा ठमेलस्थित न्यू फेसन टिशर्तका संचालक, इन्द्रमान महर्जनलाई पनि खट्कीरहेको रैछ। माइ फ्रेन्ड वज इन नेपाल एन्ड अल आइ गट वज दिस फेन्टास्टिङ टिसर्ट लेखेको टिसर्ट बेच्न एउटा विदेशीसँग मोलतोल गरिरहेका इन्द्रले 'अब ग्राहकले नै अंग्रेजी लेखाइ रोज्छन्, हामी के गर्नु !' भने। महर्जनको पसलमा टिसर्टमा चाहेको कुरा पेन्ट गरी लेख्न, इम्ब्रोइडरी गर्न सकिन्छ, विदेशीहरू नेपालभित्र घुम्न जाने ठाउँका नक्सा कोर्न विश्वचर्चित मानिसको अनुहार पेन्ट वा इम्ब्रोइडरी गर्न सकिन्छ। यस्ता टिसर्टको मोल ३००४०० सम्म छ। नेपालबारे लेखेको राम्रो कुरा विदेशीहरूले उता लैजाने हुनाले इन्द्रले आफूले टिसर्टमा लेख्ने कुराप्रति होशियार हुने रैछन्। उनले विदेशीलाई काठमाण्डौँ, स्वयम्भु, सगरमाथा, बुद्धको कुरा लेखिएको टिसर्ट सुझाउँछन्। अझ यी साहुजीले आइ लभ नेपाल लेखेको टिसर्ट किन्न धेरैलाई कर पनि गर्ने रैछन्।

ठमेलतिर डुल्दै थिए लण्डनबाट नेपाल घुम्न आएका रोयस्टिन। उनको शरीरमा ट्याटु खोपिएको थियो भने टिसर्टमा यस्तो लेखिएको थियो :  आउच् ४१ % यिया ५९% 'यस्तो लेखिनुको औचित्य के हो भने' नेपाली बोल्न नजानेका रोयस्टिन अंग्रेजीमा बोल्न थाले, 'गत वर्ष आर्थिक संकट पर्दा हाम्रो तलबभत्ता ४१%ले कटौति गरिएको थियो पछि विस्तारै आर्थिक संकट हट्दै जान थालेपछि दिँदै आइएको तलबमा ५९% प्रतिशत वृद्धि गरियो। हाम्रो अफिसमा काम गर्ने १६ जना साथीहरूले टिसर्टमा यस्तो लेख्न लगाएर एकैसाथ पहिरिएर हिँड्न थालेका हौँ।' मैले उनलाई लण्डनमा टिसर्ट मेसेजको कस्तो संस्कृति सोधेँ। उनका अनुसार उता मानिसहरू फेसनप्रति खुबै सचेत छन्। यसकारण आफ्नो मनोविज्ञानअनुसार मानिसहरूले रमाइला कुरा लेखेका टिसर्ट रोजाइमा पार्छन्। गत वर्षको आर्थिक संकटमा टिसर्टमा लेखिएका कुराले बबाल गरेछ। टिसर्ट सन्देशलाई मानिसहरूले सरकारलाई गाली गर्ने माध्यम बनाए, बेरोजगारीको पिडा पोख्ने साधन बनाए, आफ्नो समाज अधोगतितर्फ लाग्दै गरेको कुराप्रति चिन्तित पनि भए। हाम्रै नेपालमा पनि जनयुद्धताका युद्धलाई घृणा गर्ने भाव पोखिएका टिसर्ट लगाएका प्रशस्त युवा भेट्थ्यौँ। हिप्पी अध्ययनमा विशेष चाख राख्ने युवराज भट्टराईकाअनुसार भियतनाम युद्धबाट दिक्दार भएको कारण हिप्पीहरूले लगाउने टिसर्टमा मेक लभ नो वार, अंग्रेजी अक्षरमा एल.एस.डि. (अर्थात् लभ, सेक्स, डेट), टेक इट अफ  जस्ता कुरा लेखेको देखिन्थ्यो। युवराज भन्छन् सन् साठी/सत्तरीको दशकतिर नेपाल आएका हिप्पीहरूले टिसर्ट सन्देशको संस्कार यहाँ बसाएका हुन्।

अचल पुस्तक विज्ञापनको लागि पनि व्यापक रूपमा टिसर्टमा लेखिने गरिएको छ। पुस्तकबाहेक सिनेमा, व्यापारिक, संस्था लगायतको प्रचारमा पनि टिसर्टको लेखनको प्रयोग हुन्छ। यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले पनि विविध सामाजिक संदेश प्रवाह गर्न टिसर्टमा लेख्ने गरेका छन्।

टिसर्ट सन्देश समाजमा राम्रा कुरा स्थापित गर्न पनि सहयोगी हुने रैछ। यसलाई हल्का रूपमा मात्र लिनु हुँदैन। तर टिसर्टमा लेखिएका केही कुराहरूले भने त्यो पढ्ने कोहीकोहीलाई अप्ठ्यारो पनि पार्छ। अश्लिल मानिने शब्दहरू लेखिएका टिसर्टमा ठाँटिएर हिँड्ने व्यक्तिभन्दा पढिदिने मान्छे पो अक्क बक्क पर्छन्।
तस्विर : सिपी अर्याल

The article is published in KANTIPUR national daily, dated September 17 2010, Friday.

No comments:

Post a Comment