-सिपी अर्याल (CP Aryal)
ठूलो रूखमुनि उम्रिएको बिरुवा नसप्रिएजस्तै देशको अर्थतन्त्रको कुल हिस्सामा बढीभन्दा बढी योगदान दिँदै आएको भए पनि तराई-मधेस आफू सप्रिन सकेन। दोस्रो जनआन्दोलन सकिएपछि लागू भएको अन्तरिम संविधानले पनि मधेसको चित्त बुझाउन सकेन। तर, अहिले राष्ट्रिय राजनीतिमा मधेस महत्त्वपूर्ण तुरुप बन्न पुगेको छ। अर्थात्, छोटो समयमै मधेसको मूलधारीकरण भयो। तर, यसको पृष्ठभूमिचाहिँ दशकौँदेखि तयार भइरहेको थियो। मधेसको सफलताअघि र पछिका पक्षमाथि अनेक विचार पोखिए, प्रशस्त किताब लेखिए। कतिपय विचार निश्चित पक्षसँग गाँसिएर लेखिए, कतिपयचाहिँ इमानदार भएर।
मधेसको त्यस्तै इमानदारीपूर्ण बयानसहित लेखिएको पुस्तक हो, इग्नोर्ड अर इल-रिप्रेजेन्टेड ? द ग्रेभिएन्स अफ तराई-मधेस कन्फि्लक्ट इन नेपाल। पक्षपातविहीन विश्लेषणसहितको यस वैज्ञानिक लेखन (साइन्टिफिक राइटिङ्)लाई द्वन्द्व विश्लेषक विष्णुराज उप्रेती र युवा अनुसन्धाता सुमनबाबु पौडेल र सफल घिमिरेले संयुक्त आकार दिएका हुन्। मधेसको शाब्दिक अर्थ, रोजाइमाथिको बहस, मधेसी जनतामाथि भएको बहिष्करणको ऐतिहासिक सन्दर्भ, द्वन्द्वको सुरुआत र त्यो लम्बिनुका कारण र त्यसका असर हुँदै मधेसका सवालमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो एवं चलखेलको विश्लेषणसहितको यो पुस्तक व्यवस्थित लाग्छ।
कृषि र उद्योगमार्फत देशलाई उकासिरहेको मधेस आफूचाहिँ जहिल्यै पिँधमा रह्यो। माओवादी द्वन्द्वका बेलामा समेत यो शान्त थियो। तर, शान्ति सम्झौतापछि एकाएक जुर्मुरायो, हजार वर्षको निद्रापछि ब्यूँझिएझैँ। लगत्तै, दशकौँदेखि आफू चेपुवामा पर्नुका सवाल- नागरकिता, निर्वाचनमा समान प्रतिनिधित्व र शक्ति एवं स्रोतको सरोबर बाँडफाँटको मुद्दा उठाउँदै मधेस जुर्मुरायो। 'मधेस' शब्दावलीप्रति थारू जातिको आपत्ति र 'तराई' शब्दप्रति मधेसी समुदायको असहमतिपछि राजनीतिक दलले मध्यम बाटो रोज्दै त्यस क्षेत्रलाई 'तराई-मधेस' भने। यसरी नामको विवाद केही मत्थर भए पनि मधेसी र थारूबीच तराई-मधेसका आदिवासी को भन्ने विवादबारे पुस्तकमा राम्रै विश्लेषण छ। मधेसी र थारू जातिको चेपुवामा मुसलमान कसरी परे, त्यसमाथि पनि विद्वान्हरूको मत रोचक तरिकाका साथ प्रस्तुत छ ।
युगौँदेखि मधेस चेपुवामा पर्नुको कारण खोतल्ने क्रममा लेखकहरूको राय छ, यो क्षेत्र पृथ्वीनारायण शाहकै पालादेखि बहिष्करणमा परेको थियो। उनले राष्ट्रिय एकीकरणका प्रयास थालेपछि नेपाली भाषा र संस्कृतिलाई मात्र ग्राह्यता दिइयो। भाषिक र सांस्कृतिक रूपमा देशलाई समरूपी बनाउने उद्देश्यमै खोट थियो, जसले मधेसीलगायत अन्य जातिमाथि विभेदपूर्ण व्यवहार गर्यो। मधेसका जनता अर्ध-भारतीय र दोस्रो दर्जाका नागरकि ठानिए। उनीहरूलाई नागरकिता दिन राज्य हिचकिचाउनु उनीहरूको सबैभन्दा ठूलो चित्त दुखाइ थियो। त्यसको पीडा दोस्रो जनआन्दोलनपछि मात्र विस्फोट हुन सक्यो।सन् १९८३ मा गहन बसाइँसराइको अध्ययनपछि जनसंख्याविद् हर्क गुरुङ नेतृत्वको टोलीले सीमा व्यवस्थापन गर्न, भारतबाट नेपाल आउने कामदारलाई भन्दा नेपालकै मानिसलाई रोजगारी र स्रोत उपयोगको लागि प्राथमिकता दिन र नागरकिताको प्रश्नमा सरकारलाई 'हाई अलर्ट'मा रहन सुझाव दिएको थियो। तर, सरकारलाई दिइएको सुझाव कार्यान्वयन भएन। गुरुङले उतिबेलै सुझाएका थिए, सीमाको कडा निगरानी र व्यवस्थापन भए मधेसका थुप्रै समस्या समाधान हुन सक्छन्।
अन्तरमि संविधान जलाइएपछि लहान घटना तथा नेपालगन्जमा भएको जातीय द्वन्द्व मधेसको मुद्दामा भूसको आगो भइसकेका थिए। माओवादीले रोपिदिएको जातीयताको आगो मधेसमा बेस्सरी फैलियो। अनि, त्यसले उग्र रूप लियो। मधेस आन्दोलनले अब राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिको ध्यान तानेपछि तिनले चलखेलको मौका पनि पाए। मधेस आन्दोलन बढ्नुका कारणमध्ये नेपालगन्ज हिंसालाई पुस्तकमा प्रमुख मानिएको छ। नेपालगन्ज हिंसाले मधेसी समुदाय र पहाडी मूलका समुदायबीच भएको जातीय भड्कावलाई जनाउँछ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको असमर्थता र पुष्पकमल दाहाल 'प्रचण्ड'जस्ता जिम्मेवार नेताको भड्कावपूर्ण भाषण पनि मधेस आन्दोलन उकास्ने कारण बन्यो।
देशको अरू संरचनामा जस्तै मधेसको संरचनामा पनि व्यापक फेरबदल ल्याउने र विद्रोह जगाउने श्रेय/दोष तत्कालीन नेकपा माओवादीलाई दिन लेखकहरू चुकेका छैनन्। संघीयता, निर्वाचन प्रणाली, नागरकिताजस्ता गम्भीर विषयप्रति बुझाइ अभावले पनि द्वन्द्व लम्बिएको थियो। मधेसवादी नेताले त्यसबारे जनतालाई राम्ररी बुझाउन सकेका भए मधेसले साम्प्रदायिक द्वन्द्व नभोगेरै परविर्तन आत्मसात् गर्न सक्ने जिकिर लेखकहरूको छ। मधेसमा भएको परविर्तनले समग्र देशकै सुरक्षा व्यवस्थामा पनि परविर्तन गर्यो। युवा विभिन्न आपराधिक समूहमा लागे, खुला सीमाका कारण घातक हतियारको चलखेल बढ्यो र हतियार कारोबारमा छिमेकी मुलुकको संलग्नताले समस्या अझ जटिल बन्यो। यी र यस्ता सुरुचिपूर्ण विश्लेषण छन् पुस्तकमा।
विचार दोहोरिनु, कतिपय ठाउँमा खुलेर सुझाव दिन लेखकहरू अनकनाउनु पुस्तकका सामान्य कमजोरी हुन्। पोख्त अनुसन्धाताले देशको गम्भीर सवालमाथि प्रस्ट सुझाव दिन सक्नुपर्छ। पुस्तकको अंग्रेजी भाषा पनि उति खिरिलो, सुललित र प्राकृतिक लाग्दैन। कुशल सम्पादकको अभाव खड्किएको त्यसले बताउँछ। समग्रमा पुस्तकका सूचना र विश्लेषण औसत छन्। मधेसबारे गहिरो अनुसन्धान गर्न चाहनेलाई पुस्तक धेरै उपयोगी नभए पनि यसबारे सामान्य जान्ने र वैज्ञानिक लेखको खोजीमा रहेकाका लागि पुस्तक अवश्य उपयोगी हुन सक्छ।
इग्नोर्ड अर इल-रिप्रेजेन्टेड ? द ग्रेभिएन्स अफ तराई-मधेस कन्फि्लक्ट इन नेपाल
लेखक : विष्णुराज उप्रेती, सुमनबाबु पौडेल, सफल घिमिरे
प्रकाशक : अड्रोइट पब्लिसर्स, नयाँदिल्ली
पृष्ठ : १६८
मूल्य : ५५० भारु
(नेपाल साप्ताहिकमा प्रकाशित, लिंक यहाँ)
No comments:
Post a Comment