Sunday, September 22, 2013

पुँजीवादी प्रेमको व्यङ्ग्यात्मक व्याख्या

(नेपाल साप्ताहिकबाट)

नेपालगन्जजस्ता तराई भेगका कथालाई चपक्कै समाएर साहित्ययिक रङरोगन गर्ने नयनराज पाण्डे पछिल्लो समय  ‘घामकिरी’ सँगै उड्दै छन् । लेखक पाण्डे आफ्ना अघिल्ला केही कृतिमा खोट लाउन नमिल्ने गरी सफल दरिए । विश्वब्यापीकरण, पुँजीवाद र उपभोक्तवादमाझ झाँगिएको प्रेमको व्यङ्ग्यात्मक व्याख्या गर्ने उनको पछिल्लो उपन्यास कृति ‘घामकिरी’ लाई पाठकले औषत मान्नेछन्, ‘उलार’ र ‘लू’ सँग तुलना गर्ने हो भने । स्वैरकल्पनाको उच्चतम प्रयोग, पुँजीवादी समाजमा हुर्किएको प्रेममाथि निकृष्ट व्यङ्ग्य, भुलभुलैयायुक्त तथ्य र कथ्यको प्रयोगले उपन्यासलाई चाखलाग्दो चाहिँ बनाएका छन् ।

उपन्यासको नायक चौध/पन्ध्र वर्षे ठिटो राजु (नयन) हो । कथामा उसको मष्तिष्कको मज्जाले चिरफार गरिएको छ । सन् १९८० तिरकी बलिउड स्टार पद्मिनी कोल्हापुरेसँगको उसको ‘स्वैरकाल्पनिक प्रेम’ ले उसलाई गतिलो पाठ सिकाउँछ । कल्पनामा डुबेको राजुको दिमागमा पद्मिनीले मज्जाले डेरा जमाएर बस्छे । राजु उसँगको आसक्तिमा लीन हुन्छ । अनि ऊ बाँधिन्छ घामकिरी झैँ धागोमा । र अनुभव गर्छ इन्द्रधनुषी आकाशमा निष्फिक्री उडेको ! त्यही आशक्तिले उसलाई बम्बैसम्मको कष्टकर यात्राको लागि वाध्य बनाउँछ । राजुको बम्बै यात्रासँगै उपन्यास तीब्र गतिमा गुड्न थाल्छ्, त्यहाँको मेट्रो ट्रेनकै गतिमा । ठूलो महत्वाकांक्षासाथ ऊ बम्बै प्रस्थान गर्छ । यात्रामा ठूला कठिनाई झेल्छ । ट्रेन स्टेसनमा नमज्जाको दुख्खसँगै उसको बम्बै सपना तुहिन थाल्छ । क्याथरिन बूको ‘बिहाइन्ड दि ब्युटिफुल फरएभर’ उपन्यास लगायत थुप्रै हिन्दी सिनेमाको झल्को दिने गरी पुस्तकमा बम्बैको झुपडपट्टीको दर्दनाक कथा भनिएको छ । बम्बैमा सुपरस्टार बन्ने लक्ष्यसहित ट्रेनलाई सपनाको भारी बोकाएर पसेको राजु एक प्रतिनिधि पात्र हो । सुपरस्टार बन्ने उद्देश्यसहित बम्बै पसेका लाखौँ युवाको वास्तविक प्रतिनिधि बन्न राजु सक्षम छ । उसले त्यहाँ भेटेका पात्रहरू राजीव, टिङ्कु, थापा, शिवनाथ, रञ्जिता, चम्पक आदि पनि दुखीयाहरू हुन् । प्रत्येकको आँखामा सपना तैरिरहेको हुन्छ । प्रत्येक पात्रहरू एउटा चमत्कारिक चिठ्ठाको पर्खाइमा हुन्छन् । तर उनीहरूलाई थाहा हुँदैन चिठ्ठाको अधकट्टी अरूकै हातमा हुन्छ । उनीहरू सबै एउटा अनौठो भ्रममा आफ्नो जिजिविशा बाँचेका छन् जसको चङ्गुलबाट निस्कन उनीहरूले मृत्यु नै कुर्नुपर्ने हुन्छ !

उपन्यासमा गाँसिएका उपकथाहरूले मूलकथालाई ओझेलमा पारेका छन् । पद्मिनी र राजुको प्रेम उपन्यासको मूलकथा भएपनि बीच खण्डतिर जाँदा लेखकले त्यही मूलकथाको जरो समातेर अघि बढ्न सकेका छैनन् । धेरै ठाउँमा चिप्लिएका छन् ।
जोडजाड पारिएका उपकथाहरू ठिकठाक छन्, एकदमै फिल्मी शैलीका । प्रयुक्त बिम्बहरू उपन्यासका शक्तिशाली प्रयोगहरू हुन् । वस्तु र सेवाको युग– पुँजीवादी युगका प्रेमकथाहरू आफैमा कसरी एउटा झुट र भूलभूलैया हुन्, त्यसले आम सोझा–सोझा मानिसलाई सधैँभरी कसरी घनचक्करमा पारिरहन्छन् त्यसबारे कथाले धेरैथोक बताएको छ  । प्रेम असफल भएपछि हवाइजहाज बनाएर उडाइएका प्रेमपत्रहरूको बिम्ब पुँजीवादी प्रेमको धज्जी उडाइएको सशक्त प्रमाण हो । उपन्यासको अन्त्यमा पद्मिनीमार्फत् बकाइएको छ तीब्र पुँजीवादी युगमा मानिस कसरी अरूको इच्छामा बाँच्न अभिशप्त हुन्छ । पद्मिनीले राजुसँग भन्छे, “म तिम्री प्रेमिका भएर आउन सक्दिनँ राजु । हेर त मेरा आँखामा, मेरा आँखाका दृश्यहरूलाई रेबन सनग्लासले प्रायोजित गरेको छ । तिमीले बादलको उपमा दिने मेरो केशराशीलाई प्यान्टिन प्रो भिले प्रायोजित गरेको छ ।” ऊ निराश भावमा भन्दै जान्छे, उसको मुस्कानलाई जोनिवाकरले किनेको हो, हत्केलाहरू महङ्गो कारको स्टेयरिङ घुमाउन अनुबन्धित छन् । उसको हाँसो, हेराइ, बोली, हिँडाइहरू मल्टिनेसनल कम्पनीका उत्पादनको लागि बाँधिएका छन् । यसर्थ, हरेक कुरा पैसासँग दाजिँएको यो मेसिन युगमा मानिस कसरी आफ्ना मनका घामकिरीहरूसँग स्वच्छन्द उडान भर्नबाट असक्षम छ त्यसको सही र वास्तविक चित्रण कथामा गरिएको छ ।

‘घामकिरी’ लाई उत्कृष्ट कृति भन्न मिल्दैन । निकृष्ट पनि भन्न मिल्दैन । यो औषत कृति हो । योसँग अब्बल हुनुका प्रशस्त गुणहरू छन् र अब्बल नहुनुका गुणहरू पनि छन् । स्वैरकल्पनाको प्रयोग, कथावाचनमा लोभलाग्दो शैली, पात्रहरूको सफल चयन र तिनको प्रस्तुतीकरण, पाठक र उपन्यासभित्रकै पात्रहरूलाई भूलभूलैयामा पार्ने घटना वर्णनहरू रोमान्चक छन् । त्यसैगरी प्रस्तुत केही–केही वान लाइनरहरूको प्रयोग पनि उत्कृष्ट लाग्छ । उपन्यासको सुरुआति पृष्ठहरूले पाठकलाई तान्नै सक्दैनन् । बल गरेर पढ्दै जाँदा मूल कथाले गति लिन थालेपछि बल्ल पाठक तानिन्छ । उपन्यासको सुरुआत चुम्बकीय नभए, लेखकको लागि त्यो विष्फोटक बन्न सक्छ । इडन गार्डेन, अघोरी बाबा र राजा भतृहरिको अनावश्यक वर्णनले पाठकलाई साह्रै निराश बनाउँछन् । बीचबीचमा बोल्ड अक्षरमा प्रस्तुत वर्णनहरू पनि अरुचिकर छन् । ती सूचनाहरू एकाध ठाउँमा बाहेक अन्य ठाउँमा झिझो लाग्दा मात्र छन् । त्यसैगरी थुप्रै ठाउँमा प्रेमको एकोहोरो आलापले पनि पाठकलाई तान्न पटक्कै सक्दैनन् । यसअर्थमा, उपन्यासको एक तृतियांश भागमा अनावश्यक लफ्फाजी मात्र छन् । उडन्ते गफ शैलीका । र बाँकि दुई भाग चाहिँ अब्बल छन् । यस उपन्यास प्रयोगशिल उपन्यास हो । यद्यपि, आफ्नो प्रयोगशिलतामा लेखक महत्वाकांक्षी देखिएका छन् । स्वैरकल्पनाको ब्यापक प्रयोगले धेरैजसो ठाउँमा गोलमटोलको अवस्था उत्पन्न गराउँछ भने कहिँकतै त्यसैको प्रयोगले पाठकलाई पात्रले अनुभव गरेको घटना ‘घटेको हो कि होइन !’ को अवस्थाले चाहिँ कूतुहल जगाउने काम पनि गरेको छ । अघिल्ला दुई कृतिमा लेखक पाण्डेले गरेको चमत्कार यसमा किन गर्न सकेनन् ?


लेखक : नयनराज पाण्डे
प्रकाशक : सांग्रीला बुक्स
पृष्ठ : २९९
मूल्य : ने.रु. ३५०/-
-सिपी अर्याल (CP Aryal)

No comments:

Post a Comment