–सिपी अर्याल (CP Aryal)
मध्यरातमा मान्छेहरू चिहिरिएको हल्लाखोरले ब्युँझायो । झ्यालबाट चिहाएँ । अन्धकार थियो । आँखा चिम्लँदा पनि अँध्यारो थियो, खोल्दा पनि अँध्यारो ! आवाज मात्रै सुनेँ । मुसलधारे पानी पनि परिरहेको रैछ । आत्तिएर दगुरिरहेका छन् मान्छे । किन दगुरेका होलान ! कहिल्यै केही नबोल्ने घरनजिकैको नदी आजचाहिँ फूल भल्युममा ‘स्वाँ !!!’ गरिरहेको छ । सर्पले झैँ ! दर्के झरी र नदीको डरलाग्दो आवाजले कानको जाली फुटाउन मात्रै बाँकी थियो । भोको राक्षस हामीलाई खान खोज्दै कराइरहेको छझैँ भयो ! यस्तो नमीठो ध्वनीमा यो नदी, ती मानिस र मुसलधारे वर्षा मध्यरातमै किन यस्तरी हल्लाखोर गरिरहेका छन् ! थाहा पाइनँ ।
“भागओ है भागओ ! पैरो आयो !” घरबाहिर चिच्याइरहेको यो धोद्रो स्वर त मेरो कोही साथीको हो झैँ लाग्यो !
“पैरोले मार्यो ! गुहार ! !” अशोक रैछ चिच्याउने । स्वर धोद्रो थियो ।
“पैरो आयो ! गुहार गुहार !” अरू मान्छे पनि चिच्याइरहेको सुनिन्थ्यो ।
झन्पछि झन् मान्छे चिहिरिएको आवाजलाई नदी सुसाएको आवाजले जित्न थाल्यो । पक्कै पनि पहिरो जान थालिसक्यो होला । पृथ्वी थर्किने गरी आवाज आइरहेको छ । सिंगो पहाडै नदीमा खस्न थालेछ कि क्या हो ! घरहरू बगाउन थालिसके छ कि क्या हो !
“लौ मरिने भैयो !” एक्लै फुस्फुसाएँ । छटपटी भयो । तिर्खा लाग्यो । कोठामा पानी खोजेँ । भेटिनँ । तिर्खा झन् बढ्यो ।
“ए भाइ उठ् न !” छेउमै मस्त सुतेको भाइलाई बोलाएँ । ऊ सुतिरहेको भएपनि छटपटाइरहेको जस्तो देखिन्थ्यो ।
“हुँ !” यति मात्रै भन्यो । उसको जिउ हल्लाउँदा थाहा पाएँ, पसिनाले निथ्रुक्कै भिजेको रहेछ । डरलाग्दो सपना देखिरहेको हुँदो हो । चिम्म गरेका आँखाका नानी हल्लीरहेका थिए । निधारमा गाँठा परेका थिए । केही बोल्न खोजेझैँ लाग्थ्यो, ओठ चल्मलाइरहेका थिए उसका ।
“बाहिर जाम् !” भनेँ, “हेर्त मान्छेहरू किन होला रुँदै दगुरेका !”
“हुँ ! नाइँ के !” तन्द्रामै भएको उसको भुँडीमा समाएर हल्लाएँ ।
“बाहिर मान्छे रोका छन्, हेर्न जाम् के !” फेरि भनेँ ।
“हुँ! ” भन्यो, र जुरुक्कै उठ्यो । आँखा राता थिए ।
आफ्नै कपाल कुइयाउँदै बडबडाउन थाल्यो, “ती मान्छेसँग म जान्नँ । मलाई डर लायो । बुवा आमा, बैनी खै ! बोला ! चाँडो बोला !” यति भनेर ऊ पुर्लुङ्ङै बेडमा सुत्यो फेरि ।
“बैनीलाई बोक् !” ऊ निद्रामै बडबडाइरह्यो ।
म आत्तिएर बाआमा र बैनी सुतेको कोठातिर जान हिँडेँ । बरण्डामा पुग्दा देखेँ बाहिर गुहार माग्दै हिँडेका मान्छे कराएको आवाज आएको त थियो तर वर्षिएको पानी र सुसाइरहेको नदीको “स्वाँआँआँआँ” मा विलय हुन मात्रै बाँकी थियो । पूरै गाउँका मानिस लस्कर लागेर भागिरहेका थिए ।
“बुवाआाााााा !” चिच्याएँ, “पैरो आयो भाग्नु ! ! !” बुवाको कोठाको बत्ति बलिसकेको थियो । म आत्तिएर भाइको कोठातिर पुगेँ ।
“ए सुरजे उठ् !” भाइलाई फेरि घुच्याएँ ।
“नाइँ ! डर लायो मलाई ! तँ जा !” ऊ अझै तन्द्रामै बोल्दै थियो ।
बरण्डामा उभिएर बुवालाई बोलाउँदै थिएँ । श्रीकृष्णे आएर मलाई च्याप्पै समायो । बोल्न सक्दैनथ्यो । घरि आकाशतिर हातले इशारा गर्छ, घरि घरबाहिरका मान्छेतिर । अनि डरलाग्दो भावमा आँखा ठूला–ठूला पारेर निधार खुम्च्याउँछ ।
“हुँ हुँ हुँ !” श्रीकृष्णेले यति मात्रै भनिरहेको छ । बोल्न सक्दैन के गरोस् त ! तरपनि मैले बुझिरहेको छु ।
मेरो हात च्याप्प समाउँदै बाआमा सुतेतिर इशारा ग¥यो । इशारामै सोध्यो, “भाइ र बैनीलाई उठाइस् ???”
अनि, तान्दै बाहिर निकाल्यो मलाई । बाआमाको कोठामा पुलुक्क हेरेँ । अझै निस्किएका थिएनन् । झोँक चल्यो ! बूढाबूढी के गर्दै छन् कुन्नी !
“ए बा ! बैनी लिएर चाँडो निस्कनु ।” म चिच्याउँदै श्रीकृष्णेसँगै बाहिर निस्किएँ । “आमा र भाइलाई घिसारेर बाहिर ल्याउनु । पैरो आयो !”
भाइ अझै सुत्दै होला ! घरबाहिर निस्कँदा सधैँ म र भाइ सँगै हिँड्थ्यौँ । स्कुल जाँदा, बजार जाँदा, खेल्न जाँदा...जतासुकै । भाइ एक्लै हिँड्दैनथ्यो । म पनि एक्लै हिँड्दिनथेँ । यो आधारातमा पनि एक्लै जान मन नलागेर भाइलाई बोलाइरहेको थिएँ । तर सँगै ल्याउनै सकिनँ ।
घरभन्दा १०/१५ मिटरजति पर भिडमा लगभग मिसिइसकेको थिएँ । अशोक र श्रीकृष्णे आत्तिँदै एताउति दगुरेको देखिरहेको थिएँ । मान्छे चिहिरिएको आवाजले म बेहोसै हुन्छु जस्तो भइरहेको थियो । पेटभित्र जुका सलबलाएझैँ लायो । पिसाब लागेझैँ भयो । ज्यानमा खल्खली पसिना आउन थालिसकेको थियो ।
गाउँलेहरू कोही चप्पलबिना, कोही हातमा चप्पल लिएर, कोहीले कट्टु मात्रै लगाएर दगुरिरहेका थिए । अनन्त सर मछेऊबाट दगुरेको देखेँ । भुँडीमा बडेमानको प्वाल परेको बन्डीमात्रै भिरेका थिए । कोही दिदी र अन्टीहरू पनि पेटिकोट र ब्लाउज मात्रै लगाएर रुँदै दगुरिरहेका थिए ! के गति भएको हाम्रो गाउँको यो आधीरातमा ! मान्छेहरूले बालिरहेका लाइटको पिलिकपिलिक थियो । कोहीले मोबाइलको फ्ल्यास–बत्ति बालेका त कसैले इमर्जेन्सी लाइट नै बालेका थिए । त्यही उज्यालोले थोरबहुत काम गरिरहेको थियो ।
“पैरो आयो नि !” उर्मिला ठूलीआमा रुँदै थिइन् “के पाप गरिएछ पर्भु !”
लौ ! केही अगाडि श्रीकृष्णेले त मेरी बैनीलाई बोकेको पो देखेँ ! अनि भाइ र बाआमा ख्वै ? श्रीकृष्णेलाई भेट्टाउन दगुरेँ । ऊ भएनिर पुग्दा ऊ थिएन । पछि फर्केर हेरेँ ! लाइटको उज्यालो आमाको अनुहारमा पो परेको देखेँ । आमा पनि घरबाट निस्कनुभएछ । तर आमाछेउमा बालाई देखिनँ ।
भिडमा आमा र बहिनीलाई मात्रै एकपटक देखेँ । भाइ देखिनँ । श्रीकृष्णेलाई खोज्न थालेँ । ऊ कता पुगिसकेको थियो । भेटिनँ । चाहिएको बेला झन् के भेटिन्थ्यो मुर्दार !
“मरिने भैयो ! गुहार गुहार !” सबै मानिसले एकस्वरमा भनेझैँ सुनिन्थ्यो ।
“लौन मरिने भैयो नि !”
“मेरो बालखा कता छ !”
“मेरा बूढा बा कता गए नि, खोज्देऊ न कसैले !”
“हे भगवान् ! मेरा बूढा कता गए ? दगुर्न पनि सक्दैनन् !”
अनेक आवाज सुन्दा हजारओटा सुइरा शरीरमा एकैपटक घोचिएझैँ लाग्न थाले । पेटभित्र राँके–आगो बलेझैँ भयो ।
सबै चिहिरिएको सुन्दा ज्यानको माया झन् बढेर आयो । घरि एता घरि उता दगुर्दै थिएँ । भाइ, बाआमा र सानी बहिनीलाई देख्न मन लाग्यो । घरतिर अनुहार फर्काएँ । एक्लै भाग्नै मन लागेन । सक्दै सकिनँ । त्यहीँ उभिइरहेँ । बाआमाभन्दा भाइको अनुहार आँखामा आयो ।
Photo : disaster-report.com |
+ + +
दुई दिनअघि ।
“ए छौँडाहो ! स्कुल जान ढिला भएन ?” स्कुल जाने बेला आमाले सधैँझैँ आज पनि हकार्नुभयो ।
नदी तीरमा खेलिरहेका हामी दाजुभाइ हिलो–मैलो भएरै घर पुग्यौँ । घरपछाडि रहेको धारोमा गयौँ । अनि शरीरको हिलेमाटो पखालेर सफा बन्यौँ । बगिरहेको सुनकोशी नदीझैँ हामीपनि सुग्घर भयौँ ।
“आज पनि हिलो खेलेको घरमा था पाएनन् ।” भाइ भन्दै थियो ।
मैले चाहिँ भाइतर्फ फर्केर हेर्न एस्सो टाउको बटारेको थिएँ । अलि पर बुवाले हामीलाई हेरेर मुसुमुसु हाँसिरहेको देखेँ । भाइ र म पनि हाँस्यौं ।
हतार हतार भान्छामा छि¥यौँ । भात खाएर दाजुभाइ स्कुल हिँड्यौँ ।
“राम्ररी पढओ नि ! पौडी काट्न गको था पाएँ भने खुट्टा भाँच्चु तिमर्को !” अफिस जान लुगा लगाउँदै गर्दा बुवाले कोठाभित्रैबाट भनेको सुनेँ ।
“हुन्छअअअअअ !!!” म कराएँ, भाइतिर आँखा झिम्क्याउँदै ।
घरबाट अल्ली पर पुग्दा दिमागको बत्ति बल्यो !
“सूरजे आज स्कुल नजाम् !” भाइलाई भनेँ ।
“काँ जानी त ?”
“जाम् बजारतिर घुम्न । सधैँ कति स्कुल जानु ! पौडी काट्न जाम् । बजार घुमम् !”
“जाम् !” ऊ रमायो ।
अनि, हामी स्कुल नगएर बजारतिर हल्लन थाल्यौँ । सुनकोशी नदीको तिरैतिर पनि हिँड्यौँ । नदीको पानी माथिमाथिबाट सानो–सानो चेप्टो ढुंगो तार्ने खेल खेल्दै–खेल्दै हिँड्यौँ । प्रायः भाइले ढुंगो तार्न सक्थ्यो । मेरा ढुंगा त नदीमै बिलाउँथे । तर्न सक्दैनथे । बाटामा भेटिएका ठूला ढुंगा पनि नदीमा हुत्याउँदै हिँड्थ्यौँ । त्यसरी ढुंगा फाल्दा आएको ‘छप्ल्याङ्ग !!!’को आवाज म र भाइ दुवैलाई साह्रै मन पर्ने ।
भाइले हाँस्दै सोध्थ्यो, “भ्यागुता र माछा मरे होलान् ढुंगाले ला’र ।”
म खितिति हाँस्थेँ ।
बजारतिर डुल्दै गर्दा एक ठाउँमा मान्छेको झुरुप्प भिड देखियो । छिर्यौँ भिडमा । त्यहाँ मानिसहरूले ट्याटु खोपाइरहेका थिए । कसैले नाडीमा, कसैले पाखुरामा, कसैले छातीमा ।
भाइले मलाई तान्दै भिडबाट बाहिर निकाल्दै भन्यो, “मैले नि ट्याटु खोपाउँछु ।”
“एकदम दुख्छ नि सुरजे । सक्दैनस् सहन ।”
“नाइ ! दुखेनि दुखोस् !”
भाइले भनेका केही पनि कुरा ‘नाइँ !’ भन्न मन लाग्दैन । आज पनि भन्न मन लागेन ।
“सहन्छस् भने लेखा ।” भनेँ ।
अनि गोजी छामेँ । पैसा रैछ । बाको खल्तीबाट हिजो ठूलै माछो समाएको थिएँ ।
भाइले मलाई फेरि तान्दै भिडभित्र लग्यो । अनि ट्याटु खोपाउनेतिर नाडी सोझ्याउँदै भन्यो “सुरज कार्की” । ट्याटु खोपिदिनेले त्यो तिखो सियोजस्तो कुरा भाइको नाडीतिर बढाएको थियो । मैले हेर्न सकिनँ । भिडबाट बाहिर निस्किएँ । एकैछिनमा भाइ निस्कियो । हँसिलो देखिन्थ्यो । कति खुसी भएको ! आलो ट्याटु मतिर देखायो । आधा चिम्लिएका आँखाले हेरेँ । लेखेको थियो, “सुरज कार्की” । नामको छेउमा सूर्यको चित्र पनि बनाएको रहेछ ।
भोलिपल्टचाहिँ कतै नगएर सरासर स्कुल गयौँ हामी । दाजुभाइ एउटै कक्षामा पढ्थ्यौँ । म भर्खर स्कुल जान थाल्दा बिरामी परेकाले २,३ वर्ष पढाइ छुट्यो । बिरामी नभएको भाइले मलाई भेट्टायो । त्यसपछि हामी एउटै कक्षामा पढ्न थाल्यौँ ।
स्कुल पुगेर झोला बिसायौँ दुई भाइले । कक्षामा सर आएका थिएनन् । मैले ब्ल्याकबोर्डमा के के कोरेर बसिरहँदा उता डेक्समा भाइले आफ्नो र मेरो नाम लेखेछ –– सुरज कार्की । संगीत कार्की ।
“किन लेखेको नाम ? फोहर पार्छस् डेक्समा !” भाइले नाम लेखेर सकिसकेको थियो । सर आएर हकारे ।
“हामी नरहेपनि हाम्रो नाम रहिरहन्छ नि सर ।” भाइले सरलाई जवाफ दियो । सर नबोली हिँडे ।
+ + +
“मरिने भैयो यार !” भीडबाट उछुट्टिएर हड्बडाउँदै आइपुगेको अशोकले च्याप्प हात समाएर तान्यो ।
साह्रै आत्तिएको थियो ऊ । मभन्दा बढी । मलाई जोडले समायो । हातमा बोकेको टर्च सोझ्याउँदै छेउमा लैजान खोज्यो । अनि मेरा कन्सिरीमा दुई हातले समायो ।
म जोडले अडिएँ ।
“भाइ र बा कता छन् यार ! आमा र बैनीलाई अघि झुर्लुक्क देखेथेँ !” भक्कानिएँ, “एकचोटि घरतिर जाम् न !”
उसले मेरा हात अचानक छाडिदियो । घरतिर फर्किएर चिच्याउन खोजेँ । कसैले पछाडिबाट घुच्यायो । अनि अर्कोले घिसा¥यो । लडेँ । केही मान्छेले मेरो ढाडमै टेक्दै दगुरे । दर्फरिएँ । आँखाभित्र कसैले एक पसार बालुवा खन्याइदिएझैँ भयो । टेकेको ठाउँमै भुमरी परेझैं भयो ।
नदी गर्जेको आवाज झन्पछि झन् ठूलो हुँदै गइरहेको थियो । पानी उसैगरी दर्किरहेको थियो । एकमन सोचें –– सिंगो पहाडै खस्यो नदीमा । त्यस्तो भयंकर आवाज अहिलेसम्म सुनेको थिइनँ । लाग्यो– यत्ति बाँच्न लेखेको रहेछ ।
कसो गरी उठें ।
घरतिर फर्किएर चिच्याएँ, “बा...... ! आमोइ ......! भाइ !”
“ए भाग् भाग् ! पैले आफैं जोगीई,” कसैले भन्यो ।
“अनिकालमा बीऊ जोगाउनू...” छेउबाटै गएको स्त्रीलिङ्गी आवाज चिनिनँ ।
जसले जे भनेपनि मुट्ठी कसेर उभिइरहेँ केहीबेर । आँखाभरी भाइ आइरह्यो । तैपनि, मन नलाइ नलाइ पाइला अघि बढाएँ ।
हाम्रो सिंगै गाउँ उर्लिएर हिँडिरहेको थियो । मान्छेका हातहातमा भएका लाइटले उज्यालो बनाइरहेको थियो । भिडमा देखेँ– सान्दिदीका घरका सप्पै, तुलसीराम हेडमास्टरका परिवार, मीनबहादुर अंकल, चुणामणी बाका परिवार सबै दगुरिरहेका ! अझ दाइ श्रीधर, पासा अंकल, रामप्रसाद वकिल, डोलराज, बाबुराम, खिमानन्द, उमेश, संजय, नारायण सबै सकिनसकि बल गरेर दगुरिरहेका छन् । धेरैजसो मान्छे अर्धनग्न छन् । कसैले आफ्ना बतिला बतिलीलाई काखमा च्यापेका छन्, कसैले काँधमा बोकेका । बच्चाबच्ची, बूढापाका सबैसबै रुँदै, चिहिरिँदै दगुर्दै छन् । णप्रसाद हजुरबालाई त झ्याइँकुटी पारेर उनका नातिले बोकेर दगुरेका पनि देखेँ झल्याकझुलुक !
डरले मान्छेलाई कहाँसम्म घिसारेर लैजान सक्छ कुन्नी ! सबैथोक बिर्सेर मानिसहरू घिस्रिँदै थिए । अत्याशलाग्दो क्षणमा मैले घरिघरि अशोकलाई देख्थेँ । ऊ हिलोमा बजारिन्थ्यो । उठ्थ्यो । फेरि दगुथ्र्यो ।
मलाई देख्दा उसले बोलाउँथ्यो, “ए संगीत चाँडो दगुर् ! उभ्भेर नबस् !”
मैले देख्दा उसलाई बोलाउँथेँ, “अशोके ! सुरज ख्वै ?”
श्रीकृष्णेलाई पनि एकपटक देखेँ । लौ ! अघि मेरो बहिनीलाई बोकिरहेको थियो उसले । अहिले उसका काँधमा बहिनी छैन ।
रातभरी हामी सबै भागीरह्यौँ, डर र अत्यासले काँप्दै । मृत्युसँग जोगिन खोज्दै । प्रकृतिले त मानिसको ज्यान जोगाउँछ भनेर किताबमा लेखेको छ । तर आज प्रकृतिको भयानक रूप देख्दै छु । के भएको यस्तो ! यस्तो बिपत्ति किन आइलाग्यो । यसअघि यस्तो भएको मलाई सम्झना छैन ।
हल्लाखोरमध्ये बच्चा रोएको आवाज पनि तीखो गरी कानमा गुन्जँदै छ । घरि–घरि स्याल कराएको पनि सुनिन्छ । घरि कुकुर र बिराला रोएको ।
भाग्दाभाग्दै कोही रूख चढेर ज्यान जोगाए । कोही चढेको रूख पनि पहिरोले लग्यो । ठूला पहाड झ्वाम्म नदीमा खसेको आवाज साह्रै डरलाग्दो सुनिन्थ्यो । बम पड्काउँदाको आवाजभन्दा डरलाग्दो ।
त्यसरी हिँड्दा हिँड्दै भोलिपल्ट बिहान थाहा पाएँ, हामी मांखा वरिपरि नै रहेछौँ । सबै बाटो पहिरोले पुरेछ । जताततै पानी र हिलो मात्रै थियो । गाइवस्तु केही देखिँदैनथे । बगिसके होलान् । बग्न बाँकि केही थिएनन्, एकाध घर र मन्दिरबाहेक । वरिपरिका ठिंग उभिएका पहाड खुइलिएको तालुझैँ देखिन्थे । हिजो–अस्ति हरियै थिए ती । बगिरहेको आफ्नै घर हेरेर मान्छेहरू डाँको छोडेर रुन छाडेका थिएनन् । सबै दृश्य एकदम भयानक थियो ।
बिहान मांखा हेरिसक्नु थिएन । ठाउँ–ठाउँमा मान्छे उभिएर जमिन खोस्रिरहेका थिए । भत्केको घरनजिकै गएर केके खोजिरहेका थिए । म मन्दिरछेऊ थिएँ । त्यो बग्न पाएको थिएन ।
“हे भगवान् ! के गर्यौ नि यस्तो !” मन्दिरअगाडि हात जोरेर एउटी महिला डाँको छोडेर रुँदै थिइन् ।
“नरोऊ.....” छेऊको पुरुषले आफै रुँदै सम्झाइरहेको थियो ।
सबै रोइरहेका थिए । ती मध्ये काफ्ले दाइ पनि थिए, हाम्रा स्कुलका पिउन दाइ ।
“मेरी बूढी खोइ ! काखे छोरो खोइ !” उनी चिहिरिँदै थिए, मन्दिरतिर होइन उर्लिएको सुनकोशीतिर फर्किएर, “म पनि अब यहीँ हाम फाल्छु !”
अरू कसैले काफ्ले दाइलाई सम्झाउँदै थिए । मैले त कसैलाई सम्झाउन गइनँ । काफ्ले दाइले आँखा र नाक नाडीले पुछिरहेका थिए । म भने अलि पर बसेर आँसु झारीरहेको थिएँ । पहाडका ढिक्का सुनकोशीमा खसेझैँ मेरा आँखाबाट आँसुका ढिक्का अविरल खसिरहेका थिए ।
“बाबु....” पासा अंकल मेरो छेऊ आएर भने, “...”
“......” मेरा परिवारबारे सोध्न खोजेका थिए होलान् । मैले जवाफ आँसुले दिएँ । अनि उनी केही नबोली हिँडे ।
भोलिपल्टदेखि हामीलाई मद्दत गर्नेमध्ये पुलिस र आर्मी धेरै थिए । टाटेपाटे लुगा लगाएका । गहिरो नदीमा पसेर डुबुल्की मार्दै पहिरोले बगाएका मानिस खोज्न उनीहरू तल्लीन थिए । हिलोमा पनि पस्थे । एकदुईजना त उनीहरूले जिवितै भेटेका थिए । त्यसरी मानिस भेटिँदा नजिकै भिड जम्मा हुन्थ्यो । म पनि आसले गएर हेर्थेँ ।
घरिघरि खानेकुरा बोकेर मानिसहरू आउँथे । तिनै पुलिस÷आर्मी दाइ र अरू मानिसले दिन्थे चाउचाउ र चिउरा । त्यही खाएर बाँचिरहेका थियौँ सबैजना ।
एकदिन, साह्रै तीर्खा लाग्यो । सफा पानी कहिँ थिएन । त्यही सुनकोशीको पानी पिउन खोजेँ । एक अँजुली उभाएँ । तर पिउन सकिनँ । भाइलाई सम्झिएँ । सुनकोशीको पानी त्यसरी अँजुलीमा राखेर भाइले र मैले धेरैपटक पिएका थियौँ । आज एक्लै हुँदा पिउन मन लागेन । नमीठो गन्ध आइरहेको हिले पानी पिउन सकिनँ !
केही मिटरको दुरीमा मान्छेहरू झुरुप्प भिड लगाएर बसेका छन् । प्रायःको हातमा बेल्चा छ । जमिन खोस्रिरहेका छन् । पर बसेका मानिसहरूले चाहिँ नभेटिएका आफ्ना परिवारको नाम भनिरहेका छन् । माटोमा पुरिएका आफन्त भेटिने आस मरेको छैन कसैको । बेल्चामा सग्लो जीवन आउनुको साटो आंशिक पार्टपुर्जा मात्रै आउँछ । कहिले हात, कहिले हातका औँला र कहिले आधी शरीर !
हत्तेरी ! यी सबै दृश्य देखिनसक्नु थिए !
हातमा क्यामेरा र डायरी बोकेकाहरू पनि छन् । गाउँलेहरूलाई के के सोध्दै छन् । सबैको उत्तर केही आउँदैन । आँसु मात्रै आउँछ । त्यसै दिन जानेँ, बोल्न नसक्ने मान्छेको उत्तर आँसुले दिन सक्ने रहेछ ।
+ + +
दिनहरू बिते । बित्दै गए । एक हप्ता पनि भएको थिएन तर जुग बिताउन परेझैँ भएको थियो ।
अल्ली पर एउटा सग्लो डाँडोमा पाल टाँगेका थिए । त्यहीँ गुजुप्प परेर बस्थ्यौँ बाँचेका केही हामी । बाआमा, भाइ र बहिनी भेटिने आस चुँडिइसकेको थियो अहिलेसम्म । मझैँ धेरै गाउँलेले पनि आस मारिसकेका थिए ।
आज छैटौँ दिन ।
मेरो स्कुल कहाँनिर थियो, बाको अपिस कहाँनिर थियो, बजार कहाँनिर थियो, हेल्थ पोस्ट कहाँनिर थियो....केही देखिरहेको छैन । पहाडको यति टुप्पोबाट हेरिरहेको छु मांखा बजारलाई । जताततै पानी, हिलो र उराठलाग्दो पहाड मात्रै देखिन्छ । देखिन्छन् मुडुला टाउकाहरू पनि !
कति तिर्खाएको रहेछ मांखा ! कति भोकाएको रैछ सुनकोशी ! सिंगै तीन गाउँ निल्यो !
स्कुलमा मसँगै पढ्ने थुप्रै साथीहरू सुनकोशीकै कोखमा हराए । विधाता, सन्देश, आकार, समीक्षा, समय...कसैसँग अहिलेसम्म भेट भएको छैन । अब हुने आस पनि छैन ।
घुँडामा अनुहार राखेर बेस्मारी रोएँ....रोइरहेँ...
+ + +
भौतारिइरहँदा आफ्नै विद्यालय नजिकै पुगेँछु । टक्क रोकिन मन लाग्यो । भत्किएको विद्यालयको झिनो अवशेष बाँकि थियो । वरिपरि केहीबेर बसेर हेरेँ । भाँचिएका डेक्स, बेन्च, कुर्सीहरू भत्किएको भवनभित्र छरिएका थिए । ‘प्रधानाध्यापक’ लेखिएको एउटा काठको टुक्रो पनि त्यहीँ देखेँ । त्यो त हाम्रो हेडसर बस्ने टेबलमा राखिएको हुन्थ्यो !
स्कुलको त्यो रूप देख्दा उराठ लाग्यो । केही पर पुगेँ । मानिसहरू केके खोजिरहेका झैँ देखिन्थे । भाँचिएका काठ र बगेर आएका मुढाहरू हिलोमा असरल्ल थिए । बुवाले काम गर्ने अपिसको साइनबोर्ड देखेँ । साइनबोर्डले बाको सम्झना गरायो ! नाकबाट हुल्ल अमिलो पानी आयो । यसपाली त आँसु पनि आएनन् । कति आओस् आँसु पनि । सकियो होला !
दिनभरी मांखा डुलिरहनेबाहेक अरू केही गर्दिनथेँ । आकाशमा हेलिकप्टरहरू धेरैपटक आऊजाऊ गरिरहन्थे । हातको पाली लगाएर आकाशतर्फ हेर्थेँ मात्रै । मैलेझैँ अरू मानिसहरूले पनि हेर्थे ।
धेरैले भनिरहेका हुन्थे, “भोट दिएर जितायौँ । अहिले मद्दत गर्न आएनन् । आकाशबाट हेरेर भुईँमै नओर्लि फर्कन्छन् ! दुष्टहरू !”
“के आउँथे । उता कता हो ठूलो नेता आको छ अरे ! उसैलाई हेर्न फुर्सद छैन !” अर्कोले भनेको थियो ।
डुल्दाडुल्दै मानिसहरूको सामूहिक दाहसंस्कार गर्ने ठाउँमा पनि पुगेँ । झोक्राइरहेका मुडुला टाउकाले आकाशतर्फ हेरिरहेका थिए । कतिले लासको प्रतिमा (कुश)लाई तीन फन्का लगाउँदै भक्कानिँदै थिए । कोही फन्का लगाउँदा लगाउँदै ढलेका थिए । दृश्य साह्रै कारुणिक थियो ।
Photo : disaster-report.com |
मेरा परिवार भेटिएनन् भने मैले कसरी गर्ने होला उनीहरूको दाहसंस्कार ! मसँग पैसा पनि छैन । मलाई कसले दिने पैसा ! पीरले मुटु फुल्यो । घुँडामा च्यापु राखेर बसिरहेको थिएँ । अलि पर तारायणी हजुरबुवालाई देखेँ । उहाँलाई पहिरोले विचल्ली पा¥यो । ‘हजुरबा’ भन्न सिक्दै गरेको पनातिसहित ११ जनाको परिवार हजुरबाले गुमाए । ती बूढाको के गति होला अब !
अब गाउँमा मान्छेहरू यति दुखी र एक्ला भइसकेका थिए, कसैले कसैको पीर गर्ने फुर्सदै थिएन । सबैलाई आफ्नै बाँकी जीवन एक्लै गुजार्ने लठारो आइपरेको थियो । यो ५, ६ दिनले मलाई जिन्दगीमा कति धेरै कुरा सिकायो । मृत्युबारे नजिकबाट पाठ पढायो । पहिले त मलाई रुन पनि आउँदैनथ्यो । रिस मात्रै उठ्थ्यो ।
भोकै र प्यासै रहन परेकामा मानिसहरू रिसाएका थिए । कोही खिन्न थिए, “केही खानेकुरा काठमान्डूबाट कसैले ल्याएनन् ?” एकअर्कालाई सोध्थे ।
“परमेश्वर म बूढोलाई किन सास्ती दियौ !” नाडीले आँखा पुछ्दै तारायणी हजुरबा भक्कानिन्थे ।
“हामीलाई अन्न पानी दिइरहेको सुनकोशी अचानक किन यसरी रिसाइन् ?” मुडुला मान्छे रोए ।
“नागपञ्चमीका दिन नाग देवता मार्न नहुने !”
“सुँगुरका सन्तानले ब्याउने गाई पनि काटेर खान बाँकि राखेनन् । अनि सुनकोशी रिसाइन् ।”
पहिरो आएको कारणबारे मानिसहरूले आआफ्नै कथा हालिरहेका थिए ।
कृष्ण सरले मलाई त “रूखविरुवा नरोपे बाढीपहिरो जान्छ ।” भनेर स्कुलमा पढाउनुभएको थियो । यहाँ यो कुरा कसैले पनि भनेनन् ।
कृष्ण सर कता हुनुहुन्छ होला ! मलाई विद्यालयमा सबैभन्दा मन पर्ने सर । उहाँलाई पहिरोले बगायो कि बगाउन भ्याएको छैन होला !
एकनास हिँडिरहँदा देखेँ हामीलाई काठमान्डू लैजाने–ल्याउने गरिरहने तारा अंकलको ठूलो बसले पनि उपरखुट्टी लाएछ । एति ठूलो बसलाई पनि पहिरोले पल्टाइदियो । रेल भएको भए त्यो पनि पल्टाउँथ्यो होला ! अनि समुद्रमा गुड्ने जहाज पनि ! व्हेल माछालाई पनि पल्टाउँथ्यो होला । तारा अंकलको घरभन्दा हजार गुना ठूलो पहाड बगाउन सक्ने रहेछ पहिरोले ! लाग्यो, संसारमा पहिरोजत्ति बलियो कोही छैन । सबैथोक भत्काइदियो । सबैथोक बगाइदियो । माधव ठूलाबाको ५ तल्ले घर, तिनको ठूलो गोठ । गाउँमा गुड्ने बस, ट्रक, मोटरसाइकल, गाइबाख्रा, सप्पै सप्पै बगाएर लग्यो ।
सबैथोक त्यसरी भत्काउँदा मेरो मन बाँकि छोडिदिएको भए हुने नि ! मेरो मन पनि भत्काएर लग्यो । तर मलाई लगेन ।
+ + +
गाउँभरी ठूला चट्टाने ढुंगा र लेदो माटो मात्र देखिन्छ । डोजर–गाडी आएर खन्दा पहिलेपहिले माटो मात्रै निस्कन्थ्यो, यसपाली त मरेका मान्छेको शरीर पनि माटोसँगै निस्किरहेका थिए । कुनै बेला सग्लो शरीर, कुनै बेला हात मात्रै, कुनै बेला कुहिएका खुट्टा पनि भटाभट निकालिरहेको थियो त्यसले । एकहप्ता देखिका यी सबै दृश्य हेरेर रुँदारुँदा आँखाको आँसु र आँतको बल पनि हराइसकेको थियो ।
भौतारिँदा भौतारिँदै पुगेँ नदीको पुछारनिर । पुलिस अनि गाउँलेहरूले भुईँ खनिरहेका थिए । लक्ष्मण अंकल पनि थिए खन्नेमध्ये । खन्दै जाँदा एउटाको लास भेटाए ।
“हरे ! विजोग भएछ नि !” पुलिस दाइले भने ।
“अनुहार त क्षतविक्षत्...” बोल्दाबोल्दै रोकिएर मतिर पुलुक्क हेरे लक्ष्मण अंकलले ।
Photo : www.sojho.com |
सबै मिलेर लासलाई जतनसाथ निकाल्न खोजे । सबैभन्दा पहिले हात ताने । हात बाहिर देखेपछि निहुरी परेर खन्दै गरेका लक्ष्मण अंकल जुरुक्कै भए ! बेल्चा भुईँमा फ्याँकेर सरासर मसामु आए । मलाई च्याप्पै समाउँदै त्यस लासछेऊ लगे । अनि आफैँ रोए ।
म डाँको छोडेर रुन सकिनँ । आँसु निकाल्न पनि सकिनँ । रुन त आवाज र आँसु नभएपनि सकिने रैछ ! हिक्क हिक्क मात्रै भइरह्यो ।
त्यो हात देख्दा मलाई चक्कर लाग्यो । ढल्नु अगाडि देखेँ, लासको हातमा आधा मेटिएको सूर्यको चित्रसँगै मधुरो निलो अक्षरमा लेखिएको थियो–– “सूरज कार्की” ।
असाध्य मन छुने
ReplyDelete