Sunday, June 30, 2013

समृद्ध तर कमजोर भारत ?

सिपी अर्याल (CP Aryal)

भारतमा नियमित र निष्पक्ष निर्वाचन हुन्छ, समावेशी राजनीतिक व्यवस्था र उदाउँदो अर्थतन्त्र छ, गरिबीको खाडलबाट जनजीवन धमाधम मध्यमवर्गमा रूपान्तरित हुँदै छ । तरपनि गुरुचरण दासको सोंचमा भारत दिनानुदिन असफल राष्ट्र बन्दैछ ।  यो भारतीय प्रजातन्त्रको पहेली पनि हो ।  आफ्नो पुस्तक ‘अ लिबरल केस फर अ स्ट्रङ स्टेटः इन्डिया ग्रोज एट नाइट’ मा दासले भारतलाई असफल राष्ट्र बन्नबाट जोगाउने मन्त्रहरू दिएका छन् । कमजोर राज्य संयन्त्र भएपनि भारत विश्वशक्ति बन्ने होडमा किन दगुरिरहेको छ ? तीब्र प्रगतिबाबजुद मध्यमवर्ग किन असन्तुष्ट छन् ? चीन र अमेरिकालाई टक्कर दिन भारत कहिले सफल हुन्छ ? यस्ता प्रश्नका सहज तर दर्शनमिश्रित उत्तर छन् पुस्तकमा । त्यहाँको प्रशासन, प्रहरी र न्यायमा सुधार आए मुलुक बलियो विश्वशक्ति बन्ने जिकिर गदै दासले यी तिनै पक्ष एकअर्काका परस्पर विरोधी भएकोले नै भारत कमजोर हुँदै गएको हो भन्छन् ।
Gurucharan Das_book review_CP Aryal
आधुनिकीकरण र विकासको प्राचिन सिद्धान्तअनुसार राजनीतिक, आर्थिक र सामाजिक विकास सँगसँगै भएमात्र राष्ट्र सफल बन्न सक्छ । भारत स्वतन्त्र भएर नेहरुको नेतृत्व पायो । उनले अँगालेको समाजवादी धारले भारतको आर्थिक विकासलाई द्रुत बनाउन चाहिँ सकेन । राजनीति अघि बढ्यो तर अर्थतन्त्र जहिँको त्यहीँ । यही थियो समस्याको जड, दास भन्छन् । फेरि, इन्दिरा गान्धीको कालमा उनको राजनीतिक महत्वाकांक्षाको कारण भारत नराम्रो गरी पिल्सिएर कमजोर बन्यो । त्यसैले स्वतन्त्रतापछिको भारतले एउटा ‘मोहनदास गान्धी’ खुब मिस गर्छ ।
भारतीय शासन व्यवस्थाको मोडल गजब छ, पूँजीवाद झाँगीनुअघि मुलुक स्वतन्त्र हुन पायो, आर्थिक वृद्दि पिँधबाट सुरु हुँदै निर्यात होइन आन्तरिक मागबाटै भारतको आर्थिक दर उकालो लाग्यो । तर भित्रभित्रै भ्रष्टाचार बेस्सरी गाँजियो । भर्खर जन्मिएको बच्चाले समेत भ्रष्टाचारको जालो पार गर्दै हुर्किनु पर्‍यो, जन्मदर्ता प्रमाणपत्र लिँदा कर्मचारीलाई घुस दिएर । भ्रष्टाचार निर्मूल गर्न मनमोहन सिंह सक्षम हुने जनताको विश्वासमाथि पनि असिना बर्सियो ।

केवल प्रजातन्त्रले आर्थिक समृद्धि नदिने बुझेर ‘लाइसन्स राज’को अन्त्यपछि सन् १९९१ मा आर्थिक उदारीकरण भयो । त्यसको दुई दशक बित्दा भारतले आफूलाई अत्यन्त कमजोर राष्ट्रबाट विश्वका शक्तिशाली राष्ट्रमध्ये एकको रूपमा स्थापित गरायो । तरपनि त्यस मुलुकको अर्थतन्त्र, समाज, मान्यता र राजनीतिक अवस्था खोतलेर हेर्दा समस्या बीसको उन्नाइस मात्र भएको देखिन्छ । सम्पूर्ण राजनीतिक दल र कर्मचारीवर्गले बदमासी गरे, आफ्नो ‘धर्म’ निर्वाह गर्न सकेनन्, जतासुकै परिवारवाद हावी भयो । उता मुलुक धराशयी हुँदै गयो । उतिबेलाको मागै समाजवादी व्यवस्था रहेको तर्क गर्दै दासले नेहरुले निर्माण गरेको जग इन्दिरा गान्धीले ध्वस्त बनाएको आरोप लगाउँछन् । त्यसको लागि युवापुस्ताको नेतृत्वसहितको स्वतन्त्र दलको परिकल्पना पनि उनी गर्छन् । त्यसमा प्रभावकारी र इमानदार नागरिक समाजको पनि बलियो पकड हुनुपर्ने मान्छन् । पहिलो पुस्ताको आर्थिक क्रान्तिले उल्लेख्य सुधार त गर्‍यो तर अवस्थामा भनेजस्तो परिवर्तन आएन । त्यसकारण दोस्रो पुस्ताको नेतृत्वसहितको प्रशासनिक क्रान्तिले भारतका समस्या समग्रमा समाधान गर्न सक्ने र त्यसमार्फत् प्रभावकारी राज्य संयन्त्र निर्माण हुने अनुमान दासको छ ।

Gurucharan Das_India Grows At Night
सफल राष्ट्र राजनीतिक रूपमा स्वतन्त्र, प्रजातान्त्रिक र जवाफदेही हुन्छ, कानुनी शासन हुन्छ, आर्थिक रूपमा समृद्ध हुन्छ, समाज समतामूलक, समावेशी र शान्तिपूर्ण हुन्छ । जनताबीचको खाडल पुर्न सरकार सकृय रहन्छ । यी सबै विशेषता भएका मुलुक नहोलान् । यद्यपि, यी विशेषताबीच भारतले आफूलाई कहाँनिर राख्ने ? पुस्तकमा गम्भिर प्रश्न उठाइएको छ ।

अमेरिका, चीन, बेलायत जस्ता राष्ट्रसँग भारतको भरमार तुलना गर्न चुकेका छैनन् लेखक । विशेषतः आफ्नो प्रतिद्वन्द्वी मुलुक चीनसँग तुलना गर्दै उनी भन्छन्, चीन कमजोर समाज भएको बलियो राज्य हो र भारत चाहिँ बलियो समाज भएको कमजोर राज्य । भविष्यमा दुवै देश उत्तिकै समृद्ध हुने र मध्यम वर्गीयको पनि उल्लेख्य वृद्दि हुने भविष्यवाणी गर्छन् लेखक । भारतीय जनसंख्याको आधाउधि भाग मध्यम वर्ग हुने दिन त्यहाँ परिवर्तन अवश्यम्भावी रहने ठहर पनि उनको छ । मध्यम वर्गलाई विशेष शक्ति मान्दै दासले ती वर्गकै कारण भारतले निरन्तर प्रगति गरिरहेको जिकिर गर्छन् । भारत सरकार निदाउँदा नागरिक, व्यापारी, कम्प्युटर प्राविधिकहरू रातारात काम गर्दै देशलाई भरमार योगदान पुर्‍याउँछन् । तिनको समस्या समाधान नभएसम्म भारत जतिनै सफल भएपनि त्यसको सफलताको श्रेय नीजि क्षेत्रलाई नै जाने बताउँदै दास भन्छन्, “यसकारण, भारतले साँच्चैनै सफल राष्ट्रको दर्जा हासिल पनि गर्न सक्दैन ।” जनताबीचको निराशा कायम रहे उनीहरूले सैनिक सरकारको समर्थन गर्न समेत नचुक्ने चेतावनी पुस्तकमा दिइएको छ ।

पुस्तकमा थुप्रै विचारहरू दोहोरिएका छन् तर उठाइनै पर्ने केही सवाल, जस्तै बनमारा झारझैँ भारतमा फैलिएको माओवादी समस्याबारे लेखक बिलकुल मौन छन् । भारतको सत्तोसराप गर्ने अरुन्धती रोयभन्दा दासका विचार नितान्त फरक छन् । रोयले सकारात्मक कुरा कम देख्छिन्, दासले चाहिँ नकारात्मक कम देख्छन् । सारमा, पछिल्ला वर्ष भारतीय अर्थतन्त्रको प्रदर्शन धेरै उत्साजनक नरहेको सन्दर्भमा दासका प्रस्तावित मन्त्रहरू भारतलाई समृद्ध बनाउने सञ्जिवनी बुटी हुन सक्छन् ।

पुस्तक : अ लिबरल केस फर अ स्ट्रङ स्टेटः इन्डिया ग्रोज एट नाइट
लेखकः गुरुचरण दास (Gurucharan Das)
प्रकाशक: पेन्गुइन बुक्स
मूल्य ५९९ भा.रु.

कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिक मा प्रकाशित (२०७० असार २३, आइतबार, वर्ष १३ अंक ४७)

No comments:

Post a Comment