Tuesday, December 20, 2011

ब्लग: मनको बह, सबैलाई कह !

यता जाडोको सिरेटो आँखाका ढकनीबाट मुटुमा पस्दै थियो । उता जोतारे धाइबाले जाडोलाई गलबन्दीले बेर्ने अभिप्रायसाथ आफ्नो ब्लगमा एउटा सुन्दर कविता पोस्ट गरिरहेका थिए । ‘जाडो र गलबन्दी’ शिर्षकमा आफ्नो ब्ल्गको गोरेटोमा धाइबाले कलम डो¥याउँदा यस्तो सुस्केरा सुनियोः

उपहारमा
तिमीले दियौ गलबन्दी
छेक्दै छेकेन जाडो
रोकेन तुसारोको ठिही
तिम्रो उपहारको गलबन्दीभन्दा त
असरदार रहेछ
सुन्दरी सिरेटोको खिरिलो हिलजुत्ता...

धाइबा डट ब्लगस्पट डटकममा शब्द हुटहुटी पोख्ने उनी एक टेलिभिजन एजेन्सीका जागिरे हुन् । तीन वर्ष अगाडिबाट मात्र ब्लग लेखन थालेका धाइबाले आफूलाई अभिव्यक्त गर्ने सहज र सुगम माध्यमको खोजी गर्दा ब्लग फेला पारे र कुनै मिसन बिना त्यही ब्लगमा एकोहोरिन थाले । अरूको भन्दा भिन्न, उनको ब्ल्गमा समाजका झिना मसिना झैँ लाग्ने मान्छेहरूका कुरा अट्छन् । यसबाहेक धाइबाले शंकर लामिछानेबारे एउटा छुट्टै ब्लग पनि चलाउँछन् जसमा लामिछानेका रचना, टिप्पणी आदि पोस्ट हुन्छन् ।

पहिले–पहिले ब्लगलेखन पत्रकारितासँग जोडिएर मात्र आउने गथ्र्यो । नेपालमा पनि यसको सुरुआत त पत्रकारिता मै भिजेका केही युवाको पहलमा भएको हो । दीपक अधिकारी, उज्ज्वल आचार्य र दिनेश वाग्लेको पहलमा ब्लगलेखनको सुरुआत गरियो । युनाइटेड वी ब्लग नामबाट सुरु भएको ब्लग लेखन इतिहास सन् २००४ तिरको कुरा हो । पत्रिकामा पोख्न नमिल्ने व्यक्तिगत भावनाहरू त्यसरी आउन सक्थे ।
Source : blogs.ebrandz.comtagblog-writing-tips


राजा ज्ञानेन्द्रले कु गरेपछि ब्लग नै भर्चुअल आन्दोलनको गतिलो उपाय बन्यो । यो मेसोमा दीपकले पूर्व राजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छन् ! निरंकुश शासनलाई मुखभरीको गाली गर्न पाइँदैनथ्यो । गर्ने के त ? त्यतिबेलका उच्च सरकारी अधिकारी शरद्चन्द्र शाहलाई ब्लग भन्ने के हो केही थाहा रहेनछ । ‘इमेल जस्तै हो है ?’ शाहले यसो भन्ने गरेको सुनाउँछन् दीपक । ‘के खोज्छस् कानो ? आँखो ?’ भैगो नि केटाहरूलाई ! त्यसपछि यसको चर्चा ह्वात्तै चुलियो ।

पछि यी तिनै जनाले आ–आफ्नै ब्लग सुरु गरे । भलै तिनैको ब्लग लेखन थिम एउटै जस्तो छ । दीपक अधिकारी डट नेट नाममा ब्लग चलाउने दीपकको पेजमा पत्रकारीता, फिचर र व्यक्तिगत भावना पढ्न सकिन्छ । यसैगरी पत्रकार उज्ज्वल आचार्यले इन्टरनेट, मिडिया, पत्रकारीता, सोसियल मिडियासहित आफ्ना व्यक्तिगत अनुभव ब्लगमा लेख्छन् । एउटा अंग्रेजी दैनिकमा अनलाईन न्यूज कोअर्डिनेटरको रूपमा कार्यरत उज्ज्वलले नेपालीभोइसेज डटकममा ब्लग लेख्छन् । वाग्ले डटकम डटएनपीमा दिनेश वाग्लेले पत्रकारीता, हाइकिङ, विश्लेषण र व्यक्तिगत टिप्पणी पोस्ट गर्छन् । नेपाली भर्चुअल वल्र्डको ब्लगिङमा अग्रस्थानमा नाम आउने दिनेशको ब्लगिङ चर्चा उतिबेला अन्तर्राष्ट्रिय मिडियाले पनि गरे ।

ब्लगलेखनमार्फत् कसैले आफूले गरेको पेशासँग सम्बन्धित भावना पोख्छन् त कसैले फरक । रेडियो नेपालमा अंग्रेजीमा समाचार वाचन गर्ने श्वेता बानियाले श्वेता बानिया डट वर्डप्रेस डटकममा लेख्छिन् पनि । उनको यो ब्लगमा व्यक्तिगत भावना भेटिन्छ । अंग्रेजीमा लेख्ने बानियाले आफूलाई त्यसरी व्यक्त गर्दा लेखाइबाट चरम सुख प्राप्त हुने ठोकुवा गर्छिन् ।

ब्लगिङको चर्चा चुलिएसँगै यसको थिम र कन्टेन्ट पनि स्पष्ट हुँदै गयो । साहित्य, फोटो ब्लगिङ, कार्टुन ब्लगिङ, व्यापार, राजनीतिक विश्लेषण, व्यङ्ग्य हुँदै ब्लगिङ थिम फरकाकिलो भयो । विशेषतः लेखनमा रुचि भएकाको लागि ब्लग वरदान बन्यो । ब्लगलाई वरदानै मान्ने नाम चलेका अर्का ब्लगर आकार अनिल हुन् । आकारपोस्ट डटकममार्फत् प्रविधि र सोसल मिडियाबारे लेख्ने आकारले आफूलाई प्रोफेस्नल ब्लगर भन्न रुचाउँछन् । ब्लग चलाएर आम्दानी पनि गर्ने उनले यति नै आम्दानी हुन्छ भन्न चाहन्नन् ।

रवी मिश्रले कार्टुन ब्लग चलाउँछन् । एक दैनिक पत्रिकामा कार्टुनिस्टको रूपमा कार्यरत उनले आफूलाई अभिव्यक्त गर्ने सजिलो माध्यम कार्टुन नै पाए । अक्षर हावी भएका हज्जारौँ ब्लग भन्दा फरक रूपमा उनले रेखा र रंगको पनि स्वाद थपिदिने विचारसहित रवीमिश्र डटकम सुरु गरे ।
Source:www.blogtechnica.com


ब्लगले बटुलेको चर्चाको तुलनामा यसको इतिहास धेरै लामो छैन । नब्बेको दशकको उत्तरार्धतिरबाट विश्वमा ब्लग लेखन सुरु भएको थियो । सन् २००० तिरबाट त यसको चर्चा ह्वात्तै चुलियो । मनका भावना निष्फिक्रि व्यक्त गर्न पाउने हुनाले लाखौँ मानिसहरूको आकर्षण यसमा बढ्यो । यसको चर्चासँगै यसमा लेखिने विषयवस्तुमा पनि फरकपन आउन थाल्यो । व्यक्तिगत ब्लग, कर्पोरेट र संस्थागत ब्लग, विधागत ब्लग अनुसार ब्लगको शैलि पनि छुट्टीयो ।

अन्डरग्राउन्ड ब्लगिङ
ब्लगिङ आफैँमा स्वतन्त्र अभिव्यक्तिको गतिलो माध्यम हो । नेपालीकेटी डटनेटमार्फत् छद्म परिचयमा सन् २००७ बाट ब्लग लेख्ने गरेकी नेपालीकेटीले जोकोहीबारे जस्तासुकै कुरा खुलेर लेख्ने हुनाले आफूलाई अरूमाझ चिनाउन मन पराउँदिनन् । सो ब्लगलाई ओपन जर्नल भन्न रुचाउने उनले त्यसमा व्यक्तिगत कुरादेखि राजनीति, व्यङ्ग्य, विश्लेषण, फेसन जस्ता कुरा समेट्छीन् । यसो त उनी एक राष्ट्रिय दैनिकमा स्तम्भ पनि लेख्छिन् । पत्रिकामा त्यसरी लेख्न अप्ठ्यारो लागेको कुरालाई सजिलै ब्ल्गमा पोस्ट गर्छिन् उनले । ‘मलाई हलुका महसुस हुन्छ ।’ भन्छिन् । यसैगरी आफूलाई प्रतुल भन्न रुचाउने एक ब्लगरको अनुभवमा ब्लग उनको डायरी हो । दिनेश वाग्लेले आफूलाई भन्न मन लागेको कुरा समाचारमा भन्दा बेग्लै तरिकाले भन्न पाउनुपर्छ, जसलाई ब्ल्गमार्फत् पोख्न सकिन्छ भनेपछि प्रतुल पनि ब्ल्गमा आकर्षित भइन् ।

नेपालमा अन्डरग्राउन्ड ब्लगरहरूको संख्या थुप्रो छ । जसमा विशेषतः कडा व्यङ्ग्य पोस्ट गरिन्छ । यसरी अरूलाई कडा व्यङ्ग्य गर्दा वास्तविक भन्दा छद्म नाम नै प्रयोग गर्दा सुरक्षित होइने हुनाले पनि यसप्रतिको आकर्षण बढ्दो छ ।

कसरी सुरु गर्ने ?
ब्लग लेखन सजिलो गरि तयार पारिएको प्लेटफर्म हो । यो चलाउन इन्टरनेट पारंगत हुन नपर्ने यथार्थले पनि अभिब्यक्तिको उत्तम उपाय बनेको हो । हामीमाझ सयौँ ब्लग साइटहरू निशुल्क उपलब्ध छन् । निशुल्क ब्लगिङहरूमा एउटा समस्या के छ भने, यसले उपलब्ध गराउने स्पेस । तर वार्षिक रूपमा केही हजार तिरेर खोल्न पाइने ब्लगहरू पनि उपलब्ध छन् । तिनमा आफूलाई चाहिएको स्पेस किनेर ढुक्कसँग लेख्न सकिन्छ ।

किन लेख्ने ब्लग ?
Source: www.blogtechnica.com
इन्टरनेट विकास नहुन्जेल करोडौँ मानिससामु आफ्नो लेखाइमार्फत् चिनिने उपाय केवल पत्रपत्रिका थिए । त्यसमा लेख्ने स्पेस पाउन उत्तिकै कठिन । तर ब्लगलेखन सुरुआत भएपछि त्यो टन्टो साफ भयो । मानिसहरूले आफूलाई लागेको कुरा ब्लगबाट पोख्न थाले । लेखनलाई नै आफ्नो करिअर बनाउन खोज्नेको लागि ब्लग लेखन उत्कृष्ट उपाय बन्यो । आफ्नो परिचय विश्व आँगनमा प्रस्तुत गर्नुबाहेक परिचय लुकाएर पनि ब्लग लेख्न सकिने काइदाले यसको चर्चा चुलिँदै गयो । युवामाझ चर्को बनेको बेरोजगारी समस्याको हल ब्लग लेखन उपाय पनि बन्यो । यसको विश्वब्यापी बेफाइदा पनि छन्, प्लेगिएरिजम अर्थात् बौद्धिक चोरी । हामीकहाँ जन्मदैँ गरेको साइबर संस्कृतिमा त यो समस्या झनै व्याप्त छ । यो समस्यालाई कम्तिमा न्यूनिकरण गर्न पनि साह्रै अप्ठ्यारो देख्छन् यी सबै ब्लगरहरू ।

ब्लग लेखन सुरु गर्न त साह्रै सजिलो छ । तर दिनहुँ अपडेट गर्न उत्तिकै गाह्रो पनि । लेख्ने दह्रो लगाव नभै यसमा जम्न पनि सकिँदैन । प्रिन्ट मिडियामा जस्तो कुनै एउटा सवाल र शब्द सिमामा बाँधिएर लेख्नु नपर्ने र आफूले चाहेकै दिन संसारलाई आफ्नो कुरा खुलस्त भन्न सकिने हुँद सेल्फ एक्सप्रेसनको गतिलो माध्यम ब्लग भएको छ ।
-सिपी अर्याल (CP Aryal)
(Appeared in Yuwamanch, magazine 2068 Poush issue)

No comments:

Post a Comment