–सिपी अर्याल/गोपीकेश आचार्य
“एउटा दार्शनिक जन्मन्छ, चिन्तन गर्छ र मर्छ ।” कसैले भोगेको जीवन समेट्दै लेखिने जीवनकथा लेखनमा ज्याक डेरिडालाई खास रुचि थिएन त्यसैले उनको इहलीलाबारे लेख्न खोज्नेलाई उनी भनिदिन्थे, “बाँकि कुरा आख्यान हुन् ।” उनकाअनुसार आत्मकथा बौद्धिक हुनुपर्छ जसमा एउटा दर्शन होस् । मानिसमाझ अलिअलि चिनिन थालेपछि उनले आफ्नोबारे कसैलाई केही बताउन चाहँदैनथे । आफ्नो फोटो पनि खिच्न मान्दैनथे । “मेराबारे के जान्न खोजेका ? म अल्जेरियाको यहुदी परिवारमा जन्मिएँ, विद्यालयबाट निकालिएँ...” उनको जीवनकथा लेख्न चाहने पत्रकारलाई झपारे एकपटक “यस्ता फाल्तु कुरा लेख्न पर्दैन, जाऊ आफ्नो काम गर ।” जीवनकथामा व्यक्तिगत जीवनभन्दा दर्शन हुनुपर्ने जिकिर उनको थियो ।
दर्शन, कला, सौन्दर्यशास्त्र, राजनीतिक सिद्धान्त, साहित्य, यौनमनोविज्ञान, धर्म अध्ययन, कुटनीति, नाट्य अध्ययन, वास्तु अध्ययन, पुरातत्व अध्ययन, कानुन, मानवअधिकार, भाषाविज्ञान, उत्तर औपनिवेशिक अध्ययनलगायत ज्ञानका हरेकजसो क्षेत्रमा काम लाग्ने विचार दिने डेरिडाको जीवनकथा लेखियो, अनेक लेखकका अनेक आँखाबाट । डेरिडाबारे लेखिएका थुप्रै जीवनकथा मध्येको एक बेनोइट पीटर्सले लेखेको, ‘डेरिडाः अ बायोग्राफी’ पुस्तक राम्रो मानिन्छ । लस एन्जलस रिभ्यु अफ बुक्समा कास सगाफीले यस पुस्तकलाई जीवनकथा लेखन शैलीको क्रममंग भन्दै प्रशंसा गरेका छन् ।
“ऊ त्यो झोलाबाट निस्केकी हुन् ।” एउटा ठूलो झोलालाई देखाउँदै बाआमाले भने ।
“नाइँ, बहिनीलाई त्यही झोलामा हालेर पठाइदिनू !” ज्याकी रोए ।
यही घटना उनको बाल्यकालको बिर्सनै नसकिने घटनामध्येको एक भयो । सम्झिँदा खुब हाँसो उठ्थ्यो उनलाई । पढ्न तिक्ष्ण भएपनि अल्जेरियाको सामान्य विद्यालयबाट १२ वर्षको हुँदा निकालिए, यहुदी भएकाले ! त्यसको खत उनी चिरकालीन निद्रामा परेपछि मात्र मेटियो । जिन्दगीको उत्तराद्र्धमा साहित्य, राजनीति र दर्शनको पोखरीमा ढुङ्गा हानिदिए ‘कुनै पनि व्याख्या अन्तिम होइनन्, अन्तिम सत्यको नजिक पुग्न लगभग असम्भव छ’ भन्दै । र पूजनीय हुँदाहुँदै फ्रान्सेली र अमेरिकी बौद्धिकवृत्तबाटै जिन्दगीका अन्तिम कालखण्डमा तिरस्कृत भएर बाँचे । अन्ततः यो पृथ्वीको फन्को लगाउँदा लगाउँदै सन् २००४ मा मृत्यु नामक अन्तिम सत्यलाई उनले स्वीकार्नै प¥यो । “कसरी मर्ने त्यो मैले सिकेकै छैन” जीवन र मृत्युको सेतु अर्थात्, ब्रम्हनालबाट भनेका थिए, “त्यसैले मृत्यु पनि एउटा सिकाइ हो ।” अनौठा थिए उनका शब्दकोषमा अटेका शब्दहरू !
प्राचिन ग्रीककालीन, मध्ययुगीन, पुनर्जागरणकालीन, स्वच्छन्दतावादीदेखि समकालीन भाषावैज्ञानिक सबैजसो सिद्धान्तहरूले एउटै कुराको खोजी र व्याख्या गरे, त्यो थियो केन्द्रको । तर सबैको नाम फरकफरक रह्यो, ज्ञान, सत्य, केन्द्र, सार, लक्ष्य आदिको खोजी । यी सबैजसो सिद्धान्तले पक्षपोषण गरेका सत्य र केन्द्रलाई बिलकुल नकार्दै डेरिडाले डिकन्स्ट्रक्सन अर्थात् विनिर्माणको विचार अघि सारे । जसको सार थियो, भाषाको संरचनामा अनेकन पाटा हुन्छन् जसले कहिल्यै सत्यको नजिक लैजान सक्दैनन्, केन्द्र ठम्याउनै सक्दैनन् । डेरिडाको यस विचारले कुनैपनि संकथन (डिस्कोर्स) वा भाषाको सिद्धान्तलाई उल्ट्याउने, भत्काउने वा वैकल्पिक अर्थ खोज्ने प्रयास गर्छ । कुनैपनि विचार, कृति, सिद्धान्त (सारमा संकथन भन्न सकिन्छ) मा भाषाको बहुगुणी रूप हुन्छ त्यसैले पाठकले त्यस संकथनको एउटै अर्थ ‘फलानो हो’ भनेर दाबी गर्नै मिल्दैन र ऊ एउटा निश्चित निष्कर्ष (अन्तिम सत्य) मा पुग्न लगभग असम्भवै छ, डेरिडाले भने । नित्सेले गरेको इश्वर मृत्युको घोषणा र डेरिडाले गरेको केन्द्रको विघटन सारमा उस्तै हुन् । नित्सेको इश्वरीय अवधारणा डेरिडाको लागि केन्द्र, सार, लक्ष्य आदि हुन् । बिसौँ शताब्दीको अन्तिम कालखण्डतिर आएको यस विचारले बौद्धिक वृत्तमाझ कहिल्यै नल्याएको तरङ्ग ल्यायो !
अभि सुवेदीको विचारअनुसार डेरिडाले मानिसहरूले पहिल्यैदेखि जानिआएको कुरालाई लिपिबद्ध गर्ने काम मात्र गरे । सुवेदी भन्छन्, “डेरिडाले बोलिभन्दा पहिला अक्षर आउँछ भने तर अक्षर नचिनेकाले पनि डेरिडाले जस्तै कुरा गरिसकेको सम्झना मेरो बाल्यकालको छ ।” सरका गाउँका निरक्षर जन्तरे दाजु र र भगे नामक सँगीले आधि शताब्दीभन्दा धेरैअघि नै कवितामार्फत् भनिसकेका रहेछन्, डेरिडाले भनेका कुरा ।
व्यवहारिक हिसाबले हेर्दा डेरिडाको सिद्धान्तले आम मानिसलाई फाइदै दिएको छ । विश्लेषकहरूका लागि पनि यो राम्रै खुराक बन्यो । सिद्धान्तहरु थोरै शब्दमा धेरै तर्क राख्छन् । प्लेटोका अनुसार तर्कहरू मान्छेजस्तै बहानावाजी गर्ने खालका हुन्छन् । विनिर्माणको सिद्धान्तको सार पाँच शब्दमा व्यक्त गर्न सकिन्छ ‘अन्तिम सत्य नजिक पुग्न सकिँदैन’ । तर यसका सहरूप धेरै छन्, यी पाँच शब्दले तर्क धेरै गर्छन् । विनिर्माणवादले केही कुराको अर्थ ‘यो हो’ भनेर भन्दा पनि यसको अर्थ ‘यी सबै मध्येका कुनै पनि होइनन्’ भन्छ । डेरिडाको विचारले उत्पत्ति, केन्द्र र अर्थ माथि प्रश्न खडा गर्छ । भन्छ, सिद्धान्तका हिसाबले भाषा छद्मभेषी हुन्छ त्यसैले भाषाद्वारा कुनैपनि कुरालाई चिनाउनु र भाषा आफैलाई चिन्नु लगभग असम्भव कुरा हो ।
भाषाले सही अर्थ नदिए पनि यसको आवश्यकतालाई भने डेरिडाले नकारेका छैनन् । यसमा उनको चलाखी पनि देखिन्छ । कुनै पनि लिपीलाई नियाली त्यसका अक्षरलाई अथ्र्याउन लगभग असम्भव छ । जस्तै ‘क’, ‘ख’ ‘ग’ र अरू यस्तै अक्षरका अर्थ ‘नेपाली वर्णमालाका अक्षर’ भन्ने बाहेक कुनै ‘अक्षरगत अर्थ’ छैनन् । अंग्रेजी भाषामा पनि यही कुरा लागू हुन्छ । केही अक्षरले आफैँमा अर्थ बोकेका हुन्छन् जस्तै ‘म’, जसको अर्थ ‘आफू’ भन्ने हुन्छ । तर कुरा अर्थको नभै समग्र रूपमा भाषाको हो, त्यसैले यसको अर्थ पनि तथ्यहिन हुनपुग्छ । जस्तै ‘म’ अक्षर ‘महङ्गो’ भन्ने शब्दमा प्रयोग हुँदा यसले आप्mनो अक्षरगत अर्थ लिएर जान सक्दैन । र समग्र भाषमा पनि यही नियम लागू हुन्छ ।
डेरिडाका अनुसार अर्थ नभएका अक्षरबाट बनेका शब्द (उनी ‘सिग्निफायर’ भन्छन्, नेपालीमा ‘सूचक’ भन्न सकिन्छ) ले अर्थ भएका वाक्य बन्दैनन् । र ती वाक्यले पनि ‘सूचित’ (उनी ‘सिग्निफाइड’ भन्छन्) को नजिक पु¥याउँदैनन् । जबसम्म ‘सूचित’ हुने वस्तु वा कुराको उपस्थिति हुँदैन भाषाका माध्यमबाट त्यसलाई चिनाउन सकिँदैन । जस्तै बिरालो कहिल्यै नदेखेको मान्छेलाई भाषाको माध्यमबाट बिरालोको स्वरूप र आचरणबारे बुझाउन सकिँदैन । बिरालोको चारवटा खुट्टा हुन्छन् भन्यो भने बिरालो नै नदेखेको मान्छेले त्यसलाई चिन्न उसको दिमागमा पहिल्यै भएका ‘सूचित’ अर्थात्, चार खुट्टा भएका जनावर सम्बन्धी तस्विर तयार गर्छ । जस्तै गाइ÷भँैसी÷घोडा वा अन्यको । यसैगरि बिरालो चिनाउनकै लागी ‘चारवटा खुट्टा भएको तर गाइ वा भैँसी भन्दा सानो हुन्छ’ भन्ने हो भने उसले आफ्नो दिमाग भएका त्यस्तै अरू सूचक सम्झन्छ जस्तै कुकुर/भेडा/बाख्रा आदी । किनकी वास्तविक विरालो नदेखेकोले भाषाको माध्यमबाट उसले बिरालो कहिल्यै ‘चिन्न र बुझ्न’ सक्दैन जबसम्म उसलाई बिरालो (सूचित) नै देखाईँदैन ।
Photo Source : http://www.aeonmagazine.com |
सिद्धान्तको क्षेत्रमा विनिर्माण तर्कशास्त्रिहरूको मष्तिष्कमा पनि पसेको शब्द हो । डेरिडाका सैद्धान्तिक तर्कमा दम छ । विचार प्रस्तुत गर्ने उनको कला असली छ । तर, अन्य कुरा सुन्दर र तार्किक हुँदाहुँदै आप्mनै तर्कहरूको जग हल्लिएको उनले पत्तो पाएनन् । सुरुआतमा उनले आफ्नो तार्किक प्रस्तुतीलाई बुलन्द बनाए । विनीर्माणको बिट मार्दा उनले ‘अन्डर इरेज’को कुरा गरे । सफलता र असफलताका आधारमा उनको मूल्याङ्कन गर्ने हो भने उनी धेरै तर्कमा सफल भए तर एउटामा असफल त्यो ‘अन्डर इरेज’ कै कुरा थियो । भाषाको सही अर्थ छैन र यसले सत्यलाई चिनाउन पनि सक्दैन तर यसको आवश्यकता हुने भएकाले समाधानका सवालमा ‘अन्डर इरेज’ प्रभावकारी हुन्छ भन्ने उनको सार थियो । त्यसैले ‘लेख्ने’ र त्यसलाई ‘काट्ने’ भन्ने तर्क अगाडी राखे जसले उनकै सिद्घान्त अनुशार ‘भाषाको अर्थ छैन तर यसको आवश्यकता छ’ भन्ने पुष्टि गर्छ भन्ने उनलाई लागेको थियो । भाषाको अर्थ छैन भन्ने बुझाउन कसरी काट्ने ? केले काट्ने ? धर्कोले काट्ने ? गोलो लगाउने ? क्रस चिन्ह लगाउने ? जसरी होस् यी सबै भाषा वा सूचक (सिग्निफायर) नै हुन् जसले ‘अर्थ छैन रहेछ’ भनेर कसरी सूचित (सिग्निफाइड) भन्ने बुझाउँछ ? काट्न प्रयोग गरेको धर्को छोटो भयो भने गणितमा प्रयोग हुने ‘माईनस’ बन्ला, यही धर्को अलिकति लामो र अक्षर वा शब्दको सिरानमा भयो भने देवनागरि लिपीको ‘डिका’ भन्ने बुझिएला । गोलो लगायो भने वृत्त गोलोभित्र केही लेखिएको भन्ने बुझ्न सकिएला । जबसम्म वास्तविक रूपमा काट्ने कुरा (सूचित/सिग्निफाइड) नै उपस्थित हुँदैन भाषाको अर्थ छैन भनेर भाषाले नै काट्ने कुराको पनि अर्थ छैन ।
यसप्रकार, सिद्घान्तको यो पक्षमा उनी न बौद्ध मध्यमार्गमा रहे न त हिटलरको जस्तै तानाशाही मार्गमा नै । खैर उनले लगाएको गुनको अर्को पक्ष त जगजाहेरै छ !
–१२ साउन २०७० नागरिक दैनिक
No comments:
Post a Comment