Monday, July 22, 2013

पात्रहरूको पाण्डुचित्र

-सिपी अर्याल (CP Aryal)

देउतामा विश्वास गर्ने हो भने यस जगत्‌का रचयिता देउता नै हुन्। अरूले यस्तो सुन्दर र त्रुटिरहित सृष्टि गर्नै सक्दैनन्, मानिसहरू त्यही भन्छन्। तर, लेखकहरू पनि अर्का देउता हुन्। सृष्टिकर्ता ब्रह्मा, जसले एउटा फरक ब्रह्माण्ड रचना गर्न सकेको विश्वास गरिन्छ। आफ्नो नयाँ कृति एन्ड द माउन्टेन्स इकोडमार्फत खालिद हुसैनी पनि नयाँ सृष्टिकर्ता साबित भएका छन्। यस कृतिमार्फत हुसैनीले गजब र सुन्दर सृष्टिको परकिल्पना गर्दै त्यसै अनुसार एउटा ब्रह्माण्डको रचना गरेका छन्। आफ्ना अघिल्ला दुई कृति द काइट रनर र अ थाउजेन्ड स्प्लेन्डिड सन्सपछि आफ्नो तेस्रो कृतिमा पनि उत्तिकै सफल छन् उनी, केही गुनासाका बाबजुद।

उपन्यासको प्रमुख कथा दाजुबहिनीको प्रेम हो। यो उनीहरूको मिलन-विछोडको आख्यान पनि हो। शदबाघ नामक अफगानिस्ताको काल्पनिक ठाउँको गरबि परविारबाट सुरु हुने कथा पृथ्वीको मस्त चक्कर लगाउँदै सकिन्छ। तर, त्यस काल्पनिक ठाउँको बेलीविस्तार र प्रस्तुतिमा वास्तविकताको मन्द गन्ध पनि आउँछ। आकर्षक कथावाचनका साथ सुरु भएको यस उपन्यासको राजमार्गमा गुडिरहँदा बीचबीचमा झल्याकझुलुक देखिने, छुट्टनिे र रुवाउने सबै उपकथाहरूमा बरोबर दमचाहिँ छैनन्। एउटा रोमाञ्चक आख्यानका सम्पूर्ण गुण भने छन्। लेखकले एउटा ठूलो क्यानभासमा पात्रहरूको रंगीन र श्यामश्वेत पाण्डुचित्र कोरेका छन्। त्यसमा पात्रले बोल्ने भाषा, लगाउने र खाने शैलीको स्पष्ट ध्वनि पनि प्रवाहित छ। तर, उपन्यास कहीँ बोझिलो लाग्छ र कहीँकतै अस्पष्ट पनि।

जिन्दगीको कुनै मोडमा पनि छुट्टिने कल्पनै नगरेका कलिला दाजुबहिनी चरम गरीबीका कारण अन्ततः छुट्टिनुपर्छ। छोरीको भविष्य उज्ज्वल होस्, उसले गरीबीको सामना गर्न नपरोस् भन्ने उद्देश्यका साथ सबुरले परी नामकी प्रिय छोरीलाई काबुलको सम्पन्न वाहदाती परिवारमा सुम्पन्छन्। त्यसपछि कथाको हुस्सु बाक्लिँदै जान्छ। छुट्टिएकी परी कहाँ जाली, के खाली, कस्तो जीवन बाँच्ली, अब्दुल्लाह र परीको भेट होला वा नहोला भन्ने उत्सुकताका साथ पाठकलाई हरप्रहर उपन्यासले उकुसमुकस पाररिहन्छ। त्यसबीचमा देखिने पात्रहरू, घटना र त्यसको अलौकिक वर्णनले कथाको लयलाई पक्रिरहन्छन्। अन्ततः साठी वर्षपछि दाजुबहिनीको भेट हुन्छ। अब्दुल्लाह र परीको भेट हुँदा पाठक पनि आनन्द र रोमाञ्चले विभोर हुन्छन्। सबथोक लगभग बिर्सिसकेकी बहिनी दाजुलाई देख्दा भक्कानिन्छिन्। भन्छिन्, "एउटा बिरामीले आफूलाई दुखेको ठाउँ कहाँनिर हो, ठ्याक्कै बताउन नसकेझैँ मेरो पीडा तिमीलाई बताउन सक्दिनँ।"

उपन्यासभरि नै आउने अन्य उपकथाहरू दाजुबहिनीको यो प्रमुख कथाको अगाडि फितला लाग्छन्। ६० वर्षपछि परी र अब्दुल्लाहको भेट भएको क्षणलाई लेखकले अझ सानदार तरकिाले प्रस्तुत भने गर्न सक्थे। खास गरी परीसँग भेट भइसकेपछिका घटना उनकै मुखबाट वा अब्दुल्लाहमार्फत वाचन गराउन सकेका भए, त्यो अझ सशक्त हुन सक्थ्यो।




अब्दुल्लाहकी छोरीले फुपू परीबारे गरेको कल्पनाशील गुनगुन साह्रै रमाइलो लाग्छ। बहिनी हराएको पीडा जिन्दगीभर बाँचेको अब्दुल्लाहले आफ्नी छोरीको नाम पनि परी राखिदिन्छ। र, अब्दुल्लाहकी छोरी परीले तीन वर्षकी हुँदा आँखाबाट ओझेल परेकी बहिनी परी बूढी हुँदा अन्ततः फर्काएर ल्याउँछे। दुई पुस्ताबीचको आत्मीय प्रेम यसले छताछुल्ल बनाउँछ।

प्रत्येकजसो नयाँ अध्यायको प्रवेशसँगै नयाँ-नयाँ पात्र फुत्तफुत्त छिर्छन्। सबै घटना र पात्रहरू गनिसाध्य र सम्भिmसाध्य छैनन्। नयाँ अध्यायसँगै सुरु भएको कथा र त्यसमा देखिएका पात्र सिंगो उपन्यासको मूलकथाको कुन बाटोमा मिसिएलान्, अनुमान गर्नै गाह्रो! एउटा पात्रलाई भर्खर राम्ररी बुझ्न सकेका पाठकलाई अर्कासँग फेर िघुलमिल हुन झन्झट लाग्छ, नौलो मान्छेसँग नजिकिन गाह्रो भएझैँ। लाग्छ, लेखकले उही अब्दुल्लाह, उसकी बहिनी परी र सबुरकै ६० वर्ष अगाडिको कथालाई मात्र अगाडि बढाएको भए राम्रो हुन्थ्यो। यसको प्रतिरक्षा गर्दै हुसैनी आफ्ना पात्रको मुखबाट भन्न लगाउँछन्, "कथा गुडिरहेको रेलजस्तै हो जसमा उप|mेर जतिबेला प्रवेश गरे पनि ढिलोचाँडो तपाईं आफ्नो लक्ष्यमा पुग्न बाध्य हुनुहुनेछ।"

उपन्यासका पात्रको हाउभाउ, भाषा, सोचाइ, लवाइखुवाइ दुरुस्त छन्, जीवनजस्तै। निलाले एउटी सशक्त विद्रोही कवयित्रीको भूमिका निर्वाह गरेकी छन् भने उनकी 'छोरी' परीले चाहिँ नयाँ पुस्ताको लय पक्रन सकेकी छन्। अब्दुल्लाह पनि मायालु दाजुको स्थानमा जमेका छन्। पारविारकि प्रेम/विछोड, दिदीबहिनीको ईष्र्या, आमाछोरी/बाउ/छोरीको सुमधुर सम्बन्ध, आप्रवासी कथाका अनेका पाटा केलाइएका छन्। साथै, राष्ट्रियता र देशप्रेमको सवाल, युद्धले पारेका घाउका नओभाउने टाटा पनि लेखकले सुटुक्क घुसाएका छन्। कथा भन्ने शैली पनि सराहनीय छ। फरक-फरक ढंगमा अनेक पात्रका मुखबाट घरी अन्तर्वार्ता, घरी डायरी र चिट्ठीजस्ता कथा भनिने माध्यम सशक्त लाग्छन्।

समग्रमा हुसैनीको यो तेस्रो कृति पनि अघिल्ला दुई कृतिजस्तै बलियो छ। पुरानो र नयाँ अफगानिस्तानबीच सेतु बन्न सकेको उपन्यास पढ्दा पाठकलाई अत्यास लागेको र व्यर्थमा समय खेर गएको भान हुँदैन। तर पनि रंग पोतिएको क्यानभास अलिक सानो भएको भए यो उपन्यासलाई पाँच तारा दिन कन्जुस्याइँ गर्नुपर्ने थिएन ।



एन्ड द माउन्टेन्स इकोड



लेखक  :   खालिद हुसैनी  



प्रकाशक  :  रिभरहेड 



पृष्ठ   :   ४०२



मूल्य   :  ९६० रुपियाँ

(नेपाल साप्ताहिक मा प्रकाशित । लिंक यहाँ)

No comments:

Post a Comment