Saturday, February 23, 2013

गुमनाम गुरु

सिपी अर्याल, विजयराज पौडेल

बाबुको सम्झनाको हिक्काले कहिल्यै छोड्दैन उनलाई । एक–अनेक तरिकाले घाउ बल्झिरहन्छ । दुनियाँलाई चासो छ नि त बाबुबारे । त्यसैले सोधिरहन्छन् सबैले ।

“फर्केर आउने सम्भावना अब होला र ?” मानिसहरूको यस्तो प्रश्न सिधै उनको आँखामा गएर ठोक्किन्छ ।
अनि ती आँखामा सम्झनाका बाछिटाहरू लम्पसार पर्छन् । ओसिला आँखाहरू सजिलै ओभाउनै पाउँदैनन् । 

“बुवा फर्केर आउनुहोला जस्तो लागिरहन्छ...” डोरबहादुर विष्टका छोरा केशरबहादुरले यसो भन्दा माघको आकाश धुम्मीएको थियो । पानी पर्ला–पर्ला जस्तो देखिन्थ्यो । अनि केशरका आँखा पनि उसैगरी पानीले धुम्मीएका थिए । आकाशको जस्तै आँखाका पानी पनि तप्प चुहिइहालेका थिएनन् ।

केही वर्ष अघि धेरैलाई आश थियो–काँसझैं सेतै फुलेको एउटा बुढो मानिस झोलाभरी पाण्डुलिपि बोकेर आउने छ । र, फेरि एकपल्ट संसारभरिका विद्वानहरुलाई चक्मा देखाउने छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, तर उनी फर्केनन् । सधैँका लागि एउटा रहस्य भए । धर्तीमा छन् कि आकाशमा ? सबै चुपचाप । उत्तर भए पो ! श्रीमतीको स्वर्गेवास हुँदा पनि फर्किएनन् न त घरमा ठूला थितीहरु चलाउँदा नै । त्यसैले कठ्यांग्रिने चिसोजस्तै भइसकेको छ आस । तर पनि ८७ वर्ष वाँचिने नै उमेर हो । खोला फर्किन्छ कि ! अनि के थाहा उनी चम्कीएका आँखासहित लौरी टेक्दै आइ पो हाल्छन् की ?

“उनी बहुलाएर हिँडे”

“‘प्रचण्ड’ भनेका अरू कोही नभएर यिनै विष्ट हुन् ।”

“उनी त जोगी भएर भारततिर बरालिइ हिँडेका छन् रे !”

“जोगीको भेषमा इथ्नोग्राफिक रिसर्च गर्दैछन् रे !”

विष्ट हराएपछि मानिसहरूका फरक–फरक अन्दाज हुन यी । माओवादी विद्रोह सुरु भएको भर्खरै एक वर्ष हुनु र उनी हराउनुको संयोग कस्तो जुरेको ! “त्यसैले उनलाई ‘प्रचण्ड’ भन्ने अड्कल काटेका थिए कतिले” छोरा केशर बताउँछन् । तर कट्टर राजनीतिक खेलसँग विष्टको सम्बन्ध ब्रहण्डको एक छेउदेखि अर्को छेउसम्मको दुरी जत्तिको पनि थिएन होला ! भलै उनका लेख, अनुसन्धान अनि विचारहरूले त्यस्तो राजनीति गर्नेहरूलाई आच्छुआच्छु पारेका होउन् ।

नेपालको मानवशास्त्रको जनकको उपाधी पाएका विष्टको जीवन काल्पनिक जस्तै लाग्छ । सुरुमा पाटनको कुनै विद्यालयका प्रधानाध्यापक । अनि स्वअध्ययनबाट प्रोफेसर तथा मानवशास्त्री । २०१३ सालतिर सिरिरि चलेको बतासले उनको कानमा खबर पु¥यायो, “बेलायतबाट आएका मानवशास्त्रीले सोलुखुम्बुका शेर्पाबारे अनुसन्धान गर्न चाहन्छन् । त्यसैले उनलाई नेपाली भाषा, रहनसहन, रितीबारेका यथार्थ बुझाउन एकजना नेपाली सहयोगी चाहिएको छ रे ।” कालो पाटीमा अक्षर पोख्न उद्दत प्रधानाध्पापकको मनको तलाउमा त्यो बतासले ढुङ्गा फ्याँकेजस्तो भयो । आफूले त्यो काम ती बेलायती मानवशास्त्री, क्रिस्टोफोर भोन फ्युर–हेमिन्ड्रफसँग गर्न पाए हुन्थ्यो भनि आफ्नै मनसँग विष्टले वार्तालाप गरे । अनि आफूलाई सहयोगी राखिदिन ती खैरो कपाल भएका बेलायतीसामु यस्तो याचना गर्न पुगे, “नेपाल बुझ्ने तपाईँका एक जोडी आँखा र कानमा मेरा पनि एक जोडी आँखा र कान मिसाउनुहोस् हेमिन्ड्रफ !” हेमिन्ड्रफलाई विष्ट चाहिएको अनि विष्टलाई हेमिन्ड्रफ । कुरा मिल्यो । चक र डस्टरको दुनियाँबाट अब विष्ट अलग भए, यो हिमाली देशका नेपथ्यहरूको फन्को लगाउन दुईले उमङ्गको सिटबेल्ट कसिलो गरी बाँधे । एकनासमा हिँडिरहेको घोडेटो जस्तो जिन्दगीसँग विदा माग्दै अर्कै राजमार्गमा उनका पदचाप सुस्त–सुस्त बग्न थाले । विल्कुल नौलो काम, नौला मानिससँगको उठबस । हातका रेखाहरू मेट्न नसकिने भविष्य जो हुन् । विष्टका हातका रेखामा जे लेखिएको थियो त्यो नभै के सुख्ख र ! रेखाहरू चलमलाए अनि विख्यात अनुसन्धाता हुने सम्भावनाहरू विस्तारै कोरलिन थाले । आफूले एन्थ्रोपोलेजीकल रिसर्च गर्नुपर्ने थाहा पाउँदा विष्टले हेमिन्ड्रफलाई ‘एन्थ्रोपोलोजी’को अर्थ सोधेनन् । आफैले सुटुक्क शब्दकोष हेरे, जहाँ लेखेको थियो, “मानव समाजको अध्ययन गर्ने विज्ञान” ।
Bista at Jumla (Photo: John Hames)

रामायणमा भएको एउटा प्रसंगलाई विष्टको जीवनसँग दाँज्न सकिन्छ । लक्ष्मण मृत्युशैयामा पुगेका थिए । उनलाई बचाउने सञ्जीवनी बुटी एउटा विशाल पहाडको पेटभित्र चुपचाप बसिरहेको थियो । हनुमानले त्यस बुटी खोजेर ल्याउनुपर्ने भयो । बलशाली हनुमानले अजङ्गको पहाडमा सञ्जीवनी बुटी सजिलै भेटेनन् । साटोमा बुटी भएको पहाडै बोकेर ल्याइपु¥याए । विष्ट पनि त्यसैगरी गाउँघर, डाँडोखोलो डुलेर मानिसहरूका विविध कुराहरू ल्याउनुपर्ने जागिर खाइरहेका थिए । उनले हनुमानले जस्तै केवल सञ्जीवनी बुटी मात्र टपक्क नल्याएर सम्बन्धित समाजबारे सिङ्गै यथार्थ आफ्नो डायरीको काँधलाई बोकाएर फर्कन्थे, सायद त्यो देन हामीले राम्ररी बुझ्न सकेनौँ । विष्टले धेरै कुरा सिके हेमिन्ड्रफबाट । समय बित्दै जाँदा विष्ट आफू दह्रो हुँदै गए, सिक्दै गए । हेमिन्ड्रफ चाहिँ विष्टको सिकाइबाट झस्कन थाले । कतै आफूले ताते–ताते गर्न सिकाएको बच्चोले जिन्दगीको रेसमा गुरुलाई नै पछार्ला कि भन्ने भयमा ! त्यसैले आफूले गर्ने अनुसन्धानको पूरापूर उद्देश्य बताएनन् पनि । लगातार काम गरिरहँदा विष्टको मनमा हुन्डरी मच्चिँदै थियो, “म यसरी आफ्नो देशबारे एउटा विदेशीलाई बुझाउन सधैँभरी सहयोगी भइरहन सक्दिनँ ।” जेम्स फिसरसँग उनले दिल खोलेका छन्, “अब मैले आफ्नो बारेमा किन नसोँच्ने ?” आफ्नै भावनाले त्यसरी घुच्याएपछि उनले आफूभित्र एउटा विशाल अनुसन्धाताको ट्रान्सप्यारेन्ट इमेज देखे ! तरपनि करिव ९ महिनासम्म हेमिन्ड्रफसँग कामचाहिँ गरे । यतिबेलासम्म विष्टले मानवशास्त्रीय ज्ञान पाइसकेका थिए तर हेमिन्ड्रफले भने विष्टलाई मासिक एकसय रुपैंयाँमा काम गर्ने व्यक्तिगत कर्मचारीको रूपमा मात्र बुझेका थिए । उता विष्टले हेमिन्ड्रफबाट मानवशास्त्रको गुरुमन्त्र पाए, अघोषित । समयसँगै सपनाहरू आफैँ उज्यालिन थाले ।

२०१६ सालमा लन्डन उडे विष्ट । त्यहाँ गर्नुपर्ने काम, स्कुल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडिजमा ट्युटरको । विष्टलाई त्यहाँ बोलाउन सिफारिस गर्ने व्यक्ति हेमिन्ड्रफ नै थिए । गुरुचेलालाई फेरि एकअर्काको सहयोग चाहिन थाल्यो । सोहीअनुसार सूर्य उदाउँदै थियो । एकदिन विष्टले मानवशास्त्रमा बीए पढ्ने इच्छा आफ्ना गुरुसामु पोखे । गुरुले सहयोग गर्ने चासो त देखाएका थिएनन् तर जिद्दी गरेरै भएपनि विष्टले मनको चाह पूरा गरे । त्यसपछि त उनको जीवनले एकाएक कोल्टे फे¥यो । जब चेला विष्ट आफूले देखेको सपनाको राजमार्गमा हुइँकिँदै थिए, उता गुरु हेमिन्ड्रफ चाहिँ विष्टले गरेको प्रगति देखेर मुर्मुरिँदै पनि थिए, भित्रभित्रै ।

आफ्नो सपनाको क्षितिज अझ उचो बनाउन विष्ट लण्डन विश्वबिद्यालयमा मानवशास्त्रमा एमएमा भर्ना भए । त्यसैबीच हेमिन्ड्रफलाई फेरि नेपाल जानुपर्ने भयो । अनि उनलाई अब फेरि विष्ट नभै भएन । अर्का प्रोफेसर क्लार्कलाई पनि विष्ट चाहिएको हेमिन्ड्रफललाइ पनि उस्तै । क्लार्कले विष्ट लण्डननै बसुन् भन्ने चाहेका थिए । तर औपनिवेशिक सोचाइले ग्रस्त हेमिन्ड्रफलाई क्लार्कले पनि रोक्न सकेनन् । विष्टलाई नेपाल फर्काइछाडे । सपनाबाट बीचैमा ब्युँझाएर ! यतिबेला उनीहरू मुस्ताङ्गको कालीगण्डकी र डोल्पा पुगे । सायद त्यहाँबाट फर्केपछि उनले ‘कालीगण्डकीको हुरी’ नामक कथा लेखेका होलान् । हेमिन्ड्रफले आफ्नो काम सकेपछि विष्टलाई लण्डन फर्किन निरुत्साहित गरे । एमए पढ्ने सपना खुम्च्याइँदै थियो । जसोतसो विष्टले आफ्नो सपनाको आयतन बढाउँदै त थिए तर हेमिन्ड्रफले विष्टसँग अनेक निहु खोज्न थाले । विष्टले कुनै गहन पुस्तक लेख्न खोज्दै थिए । हेमिन्ड्रफसँग गरेको अध्ययन उल्लेख गर्नुपर्ने भयो । “फिल्डमा गएर सँगै गरेको काममा मेरो मात्र सर्वाधिकार छ ।” हेमिन्ड्रफले अड्को थापे । त्यसले विष्टलाई झन् उर्जा दियो । अनि पहिला गएको क्षेत्र फेरि पुगी अध्ययन गरेर उनले आफ्नै सर्वाधिकार हुनेगरी सूचना संकलन गरे । र, २०२३ सालमा पहिलो किताव ‘पिपल अफ नेपाल’ प्रकाशित भयो । उता हेमिन्ड्रफ स्तब्ध भए ! फेरि अर्को झट्का उनलाई २०२७ सालतिर लाग्यो जतिबेला ‘म्यान’ भन्ने जर्नलमा विष्टको लेख छापियो । यसरी ढुङ्गाको काप चिरेरै पनि पिपल फक्रँदै गयो ।

पिपलले लहरा हाल्दै जाँदा मानवशास्त्रीय वृत्तमा विष्टलाई नचिन्ने सायदै कोही भए । त्यस पुस्तककै कारण विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले उनलाई भिजिटिङ प्रोफेसरको रूपमा निम्तो दिए, विशेष गरेर अमेरिकीहरूले । जीन्दगीका सबै रेसहरूका गोल्ड मेडल उनको घाँटीमा झुन्डिए । नेपाली मानवशास्त्रको पिता कहलिए । उनी नेपालको मानवशास्त्रका पहिलो विद्यार्थी भएर मात्र नेपाली मानवशास्त्रका जनक कहलिएका हैनन् । नेपाली मानवशास्त्रलाई एउटा नयाँ मार्ग तर्फ डो¥याउन प्रयास गरेर पनि हुन् ।

विष्टको अर्को महत्त्वपूर्ण समय २०२८ सालमा आयो जब उनी नेपालको महावाणिज्यदूत भएर तिब्बतको ह्लासा पुगे । त्यसबेला राजा वीरेन्द्रसँग निकै नजिक थिए उनी । भनिन्छ राजाले विष्टलाई निकै रुचाउँथे पनि । राजा टोकियो विश्वविद्यालयमा पढ्दा त्यहाँको पुस्ताकालयमा एउटा पुस्तक भेटे, विष्टले लेखेको, ‘पिपुल अफ नेपाल’ । राजाले त्यो किताब पढेपछि नेपालमा यतिका धेरै जातजाती, भेषभूषा तथा भाषा रहेछन् भनेर दङ्ग परे । र नेपाल फर्केपछि विभिन्न भाषाको नेपाली शब्दकोष तयार पार्ने काम थाले । त्यसको नेतृत्त्व सत्यमोहन जोशीले गरेका थिए । विष्टले तिब्बत बसाइँमा नेपाल–तिब्बत बीचको व्यापारिक, राजनीतिक तथा सांस्कृतिक सम्बन्धवारे लेखिएको उपन्यास, सोताला र ह्लासाको अनुभव समेटेर अंगे्रजी भाषमा, ‘रिपोर्ट फ्रम ह्लासा’ लेखे । उनी लेखेर कहिल्यै नथाक्ने मान्छे, जहाँ गए पनि लेख्न छोडेनन् । हितैषी पुर्णप्रकाश यात्रीले भनेका थिए, विष्टको अर्को पनि किताब छापिएको थियो तिब्बततिरको कथा– ‘तिब्बत सुन्दरी’ भन्ने । यो लघु उपन्यास थियो । तर हालसम्म पनि सो पुस्तक भेटिएको छैन ।

जीवनमा एकपछि अर्को गर्दै जिम्मेवार पदमा पुगेपनि उनी कहिल्यैपनि जागिरे मात्र भएर बसेनन् । २०३४ सालमा नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास) को कार्यकारी निर्देशक भए । त्यस्तै गरी उनी २०३८ देखि २०४५ सालसम्म त्रिभुवन विश्वविद्यालयको मानवशास्त्रको प्राध्यापक तथा बिभागीय प्रमुखको कार्यभार पनि सम्हाले । उनका अनुसार नेपाल जस्तो देशलाई सैद्धान्तिक ज्ञानमात्र दिने मानवशास्त्रको काम छैन । विदेशवाट सिधै पिएचडी गरेर आउने नेपाली मानवशास्त्रीहरूलाई (जो नेपाली सन्दर्भमा त्यती जानकारी राख्दैनन्) नेपाली सन्दर्भसँग परिचित गराएर मात्र त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउन दिनुपर्ने विचार जेम्स फिसरले लिएको अन्र्तवार्तामा खुलाएका छन् ।

२०४७ सालमा उनले लेखेको पुस्तक ‘फ्याटालिज्म एण्ड डेभलपमेन्ट’ जब आयो त्यसले फेरि अर्को गजबको तरङ्ग पनि सँगै ल्यायो । यो बहुचर्तित पुस्तकले ‘शाही राजखानदानको वंश मगर थिए’ भनिदियो । विष्टलाई असाध्यै रुचाउने राजा वीरेन्द्र त्यसैकारण विष्टसँग रुष्ट भए सायद । हराउनुअघि राजालाई भेट्ने आकांक्षा गरेका थिए विष्टले । थाहा छैन, एडिसीले राजासामु खबर पु¥याए वा पुर्‌याएनन् । आफूलाई भेट दिन वास्ता नगरिएको ठाने विष्टले । अनि राजालाई भेट्न थप तदारुकता पनि नदेखाइ उनका पाइला जुम्लातर्फ बढे ।

“ब्राम्हणहरूको मष्तिष्कले नेपाली समाजमा भाग्यवादको विष रोप्यो । त्यसैकारण यस देशले विकास देख्न पाएको छैन ।” ‘फ्याटलिजम् एन्ड डिभेलपमन्ट’ ले ल्याएको अर्को तरङ्ग । यसले परम्पारगत नेपाली समाजको ब्राम्हण वर्गलाई जिस्काएजस्तो भयो । खासमा विष्टले कोही निश्चित ब्राम्हणलाई प्रहार गरेका थिएनन् । संस्कारमा नीहित गलत पक्षप्रति धारे हात लगाएका मात्र थिए । बुझेनन् मानिसहरूले । चर्को विरोध भयो विष्टको त्यस निचोडको । खासमा त उनका लेखनीले सारा नेपालीलाई जोड्ने काम गर्ने उद्देश्य राख्थ्यो । तर त्यसको अपव्याख्या भयो । विवाद भयो । रामायणले स्थापित गराउन खोजेको गलत संस्कारको पनि विरोध गरेका थिए उनले । तर अहँ, जुटाउने उद्देश्य राखेको मान्छेलाई फुटाउन खोजेको आरोप लगाइयो । थुप्रैले उनलाई भरमार गाली गरे । यसपछिका कैयौँ साँझहरू विष्ट बेचैन रहे । त्यो बेचैनी उनले आफ्नो डायरीमर्पmत् पोखेका छन् । आत्मसमीक्षा गर्दै भनेका छन्, “मैले कसैको अहित गर्न खोजेको होइन । निश्चित ब्राम्हणलाई गाली गर्न खोजेको पनि होइन, त्यसमा नीहित गलत प्रथा उन्मुलन गर्न चाहेको मात्र हो ।” उनको यस्तो कुरा एउटा कलिलो शिशुले आफूले गल्ती नगरेको याचना गर्दै आमासामु उभिएजस्तै लाग्छ ! विष्टले मनका बह पोखेका हस्तलिखित डायरी तिनको परिवारसँग सुरक्षित छ । एउटा भविष्यद्रस्टाले जस्तो उनले डायरीमा नेपालबारे यस्तो लेखेका छन्, “नेपालमा वैज्ञानिक निस्कन निकै समय लाग्ने छ । नेपाली साहित्यको विकास भने राम्रो हुनेछ । अधिकांश शिक्षितमध्ये बाहुन हुनाले र बाहुनले अरु प्रकारको शारीरिक बलको आवश्यकता पर्ने काममा हात नहाल्ने हुनाले साहित्य र पत्रकारितामा अरु विषय हेरी निकै उन्नती हुनु स्वभाविक हुनेछ ।” अचानक एकदिन उनका सपनामा गान्धी देखिए, लमक लमक हिँडेका । सपनामै गान्धीलाई विष्टले धेरै बोलाए । तर गान्धी हिँडिरहे । फर्केर हेरेनन् । यस्ता अन्य थुप्रै रमाइला, घतलाग्दा र गम्भीर प्रसङ्गहरू डायरीमा छन् रे । सबैथोक “अहिल्यै बाहिर ल्याउन चाहँदैनौँ । बुवाको समग्र जीवनबारे ठोस अनुसन्धान भइरहेको छ ।” छोरा केशर यसो भन्छन् ।
Bista at Jumla (Photo: John Hames)
२०४८ साल सुरु हुनुअघि पृथ्वीले सूर्यलाई अझै धेरै फन्को लाउनै बाँकि थियो । त्यसैबेला विष्ट पहिलोपटक जुम्ला पुगेका थिए । अनि त्यसको थोरै समयपछि धर्तीको कुनामा चुपचाप सास फेरिरहेजस्तो लाग्ने जुम्लाको चौधबीसालाई उनले कार्यक्षेत्र बनाए । त्यस ठाउँको अनुहारमा लाली पोतिदिने उत्साहसाथ चौधबीसामा एउटा संस्था खोले । नाम ‘कर्णाली इन्स्टिच्युट’ जु¥यो । त्यहाँका गरिब जनताको औँला समाएर डो¥याउँदै तिनलाई शिक्षित बनाउने, उद्यम गर्न सिकाउने, स्वाभिमानी बनाउने र शोषणबाट मुक्त गराउने उद्देश्य ‘कर्णाली इन्स्टिच्युट’ को थियो । सायद उनले भनेजस्तै ‘एप्लाइड एन्थ्रोपोलोजी’ त्यहाँ सार्थक पार्न खोजेका थिए । त्यहीँ हालीमुहाली भएका ठालुहरूको सातो उड्यो त्यसपछि । अनि कर्मठ विष्टसामु अनेक लाञ्छना आयो । कसैले त “इशाइ धर्म प्रचार गर्न आएको हो यो मान्छे” पनि भने ! एउटा अडिग उद्देश्य लिएर हिँडेको महामानवलाई त्यसले छोएन । उनले आफ्नो कामबाहेक अरू केही देखेनन् पनि । जुम्लाको समाजमा ६५ वर्षे वृद्दमाझ पनि ७० वर्षे विष्ट ‘विष्टबुवा’ भै बाँचिरहेका थिए ।

जसरी विष्टले काठमाण्डौँको सुकीलो राजमार्गमा हिँड्न नरोजेर हिमाल÷पहाडका उबडखाबड जमिनहरू रोजे उनको जीवनआयाम पनि उस्तै देखिन्छ । भिन्दै र अप्ठेरो । सामान्य प्रधानाध्यापकबाट इन्टरप्रेटर र ट्रान्सलेटर एसिस्टन्ट हुँदै विश्वचर्चित मानवशास्त्रीको पगरी उनले गुथ्न पाएका छन् जोसँग युरोपका ठूला भनिएका विश्वविद्यालयहरूको सर्टिफिकेट छैन । सर्टिफिकेट स्नातक सम्मको मात्र छ । तर उनको मष्तिष्कमा जति ज्ञान थियो त्यो कुरा सर्टिफिकेटको खोस्टोले दिने भन्दा पहुँचबाहिरको कुरा हो ।

२०५३ साल ।

परिवार एकदिन नराम्ररी झस्कियो । त्यस घाउको खिल सधैँभरी रहिरहने भएको छ ।

“हेल्लो विष्ट बुवालाई पाउँ न !” जुम्लाबाट एकदिन फोन आयो ।

“हँ ? बुवा त जुम्लामै हुनुहुन्छ त ।” छोरा केशरले अवाक् हुँदै जवाफ फर्काए ।

ढ्याक्क, फोन राखिएको आवाज आयो ।

जुम्लाका हितैषीलई काठमाण्डौँ जान्छु भनेर हिँडेका विष्टको छाया काठमाण्डुले ओढेको थिएन । छोराको मनमा चिसो पस्यो, फेरि बुवा कता हराउनुभयो । सधैँ दुईचार महिना गुप्तवासमा जाने बुवा कतै जानुभयो होला । तर मनको हुरी थामिएन । कसरी थामियोस ? भरे आउनुहोला, भोलि आउनुहोला तर अझै आउनुभएको छैन ! जुम्लाबाट नेपालगञ्ज एयरपोर्ट आएर कोहीलाई आफ्नो घडी र हिमालतिर जाँदा लगाउने डाउन ज्याकेट “लगेर राख” भनेर फुकालेर दिए । क्यामेरा र नोटबुक जुम्लामै थियो । साथमा ६००० पनि थियो । कतै जान खोजेका थिए रे । जुम्लावासीसँग “२, ३ महिनामा आउँछु ।” भनेका रहेछन् । तर विष्ट हराइसकेका थिए । विष्ट कहाँ हराए, किन हराए भन्ने तर्क जति टाउका उति कुरा जस्तै छन् । हराउनेबित्तिकै राष्ट्रिय–अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले ‘द प्रोफेसर इज लस्ट’ भन्दै थुप्रै समाचारहरू छापे । विश्वकै मानवशास्त्रीय वृत्तमा हल्लीखल्ली भयो । तर विष्ट भेटिएनन्, क्यै गर्दा पनि ।

परिवारसँग अनेक सुस्केरा हाल्थे उनले, “हिमाल धेरै हिँडियो अब समुद्र तिर गएर ध्यान गर्ने मन छ ।” कुनैदिन भारतको कन्याकुमारीबारे चासो पोखेका थिए रे । विष्टको पदचाप र छाया सजिलै चिन्न सक्ने परिवार विष्टलाई खोज्दै हरिद्वार पुग्यो । महिनौँ बस्यो । “तर आँखाले भ्याउञ्जेल रित्तो अनि लमतन्न सडक हेरिरहँदा पनि उताबाट बुवा आउनुभएन ।” अब चाहिँ अघिदेखि छोरा केशरको आँखाबाट तप्प चुहिन कस्सिएको पानी हरियो दुवोमा गएर सुसायो । श्राद्ध गर्ने, पिण्ड दिने कामप्रति विष्टको जहिल्यै वितृष्णा । अनि कर्मकाण्ड मन नपर्ने । “अनि एकहिसाबले श्रद्धाका ती काम गर्न पनि भएन” भुइँको दुवो आँसुले सिञ्चित भइरहेको थियो, छोरा केशरले मन थाम्नै सकिरहेका थिएनन् । “हराउनुभएको हो । स्वर्गे पनि हुनुभएको होइन । कसरी गर्ने श्राद्ध पनि ? उहाँलाई बौद्ध धर्म असाध्यै मन पथ्र्यो । त्यसैले उहाँकै नाममा घरमै एउटा चैत्य बनाएका छौँ । माघ ४ मा जन्मोत्सव मनाउँछौँ...” यसपछि केशर बोल्नै सकेनन् । शब्दका हिक्का साह्रै गह्रुङ्गा हुँदारहेछन् । हराउने देखिने बानी पहिल्यैदेखि थियो । त्यसैले बानी दोहोरिएला भन्ने आस । यसपाली दोहोरिएन । ८७ वर्ष टेकेको मान्छे, कहाँ कसरी जीवन जिउँदै होलान् र ?

विष्ट हराउनुका पछाडि थुप्रै व्याख्याहरू छन् । हराउनुअघि हिमालमा लगाइने ज्याकेट फुकालेर दिँदै “म २, ३ महिनामा आउँछु” भनेको प्रसंगलाई उनी भारतको कुनै गर्मी ठाउँतिर गएका हुन सक्ने लख काट्न सकिन्छ । अर्को कुरा, फ्याटलिजम एन्ड डिभेलपमन्ट प्रकाशित भइसकेपछि उनीसँग धेरैजना रिसाएका थिए । त्यसमध्ये अमेरिका र युरोपकाहरू पनि थिए । के भयो होला भन्ने अन्दाज अनेक लगाउन सकिन्छ । नेपालका राजखानदानलाई ‘मगरका सन्तान’ भनेकोले दरबार पनि रुष्ट थियो भन्छन् कोही । मान्छेको हुलमुल खासै नरुचाउने स्वभावका उनी मानिसको पाइला नपरेको कुनै अपरिचित भूगोलको शरण पनि परेका हुन सक्छन् । “भारतमा देखेका थियौँ” भन्ने केहीले ठोस प्रमाण ल्याएनन् । विश्वास कसरी गर्नु !

नाती विराज विष्टका अनुसार “हजुरबुवाले कविता पनि खुब लेख्नुहुन्थ्यो, वाटर कलर पेन्टिङ पनि खुब गर्नुहुन्थ्यो ।” तर अहिले त्यसका कुनै अवशेष भेटिँदैनन् । उहाँले प्रयोग गर्ने ब्रस र पेन्ट चाहिँ भेटिएका थिए तर पेन्टिङ भेटिएन । कहाँ छन् पनि थाहा छैन । “लेख्ने अनि च्यातिहाल्ने बानी । अनि लेखेका पाण्डुलिपीका प्रति च्यातेरै पनि पढ्न भनेर हितैषीहरूलाई दिइहाल्ने ।” विराज भन्छन् । एकपटक हजुरबा–नाती भएर कुनै हिमाल घुम्न गए । पात्रासी हिमाल निकै फक्रिएको थियो । “आहा त्यहाँ गएर मर्न पाए कति आनन्द हुँदो हो !” नातीसँग फुसफुसाएछन् विष्ट । १६ वर्षे नाती विराज अचम्ममा परेछन् । त्यसैगरी एकदिन नाती–हजुरबा जुम्लाको चियापसलमा बसिरहेका थिए । परबाट एउटा मान्छे टुकुटुकु आउँदै थियो । ऊ विष्ट नजिक आएर टुक्रुक्क बस्यो । विष्टले लगाइराखेको कोट खुरुखुरु खोले अनि त्यो मान्छेतर्फ हात बढाउँदै भने “यो कोट तिमीलाई सुहाउँछ, तिमी लगाउ है ।” नाती फेरि अचम्म । किनकी उनको लागि हजुरबुवाको यो शैली नौलो थियो ।

जुम्लाको चौधबिस । बि.स. २१५१ भाद्र ५ गते । अबको ८२ वर्षपछिको समय । विष्टले दशकौँसम्म चिन्तन गरे र त्यसबारे केही लेखे । के लेखे ? थाहा छैन । त्यो चिन्तनलाई त्यस समय (२०५१ साल) को ‘१०० वर्षपछि मात्र खोल्नु’ भन्दै त्यसलाई जमिनमुनी गाडेको बताएका छन्, विष्टले आफ्नो डायरीमा । त्यसमा लेखिएको कुरा सबैले थाहा पाउने दिन कस्तो होला ? कसले सक्छ र भविष्य बताउन ! विष्टले यसो गरेको यथार्थ २०६७ सालमा बृत्तचित्र निर्माणको क्रममा भेटिएपछि उनका छोरा केशरले एउटा शिलापत्र बनाई व्यवस्थित गरेका छन् ।

जीवनजस्तै उनको साहित्यिक रचनाहरू पनि रहस्यमयी रहे । जेम्स फिसरसँगको अन्तरवार्तामा उनले भनेका थिए, “म मानवशास्त्री नभएको भए साहित्यकार हुन्थेँ होला ।” मानवशास्त्रीय लेखनहरूलाई जति व्यवस्थित गर्न सके साहित्यिक लेखनीलाई त्यति व्यवस्थित गर्न सकेनन् उनले । पूर्णप्रकाश यात्रीलाई एउटा साहित्यिक कृति ‘मदनको भाले’को पाण्डुलिपी २०१० सलातिर पढ्न दिएका थिए, छाप्ने उद्देश्यसहित, जुन कहिल्यै पूरा हुनै पाएन । सबै पुग्ने अन्तिम गन्तब्यमा यात्री पुगिसके ! हो विष्ट हराएका छन्, तर अड्कल लाउन सकिन्छ उनले पनि यात्रीको जस्तै गन्तब्य तय गरिसके कि ! आकाशमा यी दुवै यात्रीहरू गफिँदै हुन सक्छन् ! विष्टका अप्रकाशित साहित्यिक कृतिहरूमा मानवशास्त्रीय बाछिटा भेटिन्छ । मानिसहरूको जीवनचर्या, शैली, खानपीन, भाषा, पहिरन आदिमा केन्द्रित छन् कथाहरू । पारिवारिक तथा अन्य स्रोतबाट प्राप्त विष्टका कथा (केही टाइपराइटरले लेखेका र केही हस्तलिखित) पढ्दा थाहा हुन्छ, साहित्यमा पनि विष्ट उस्तै चमत्कारिक थिए । त्यसको प्रशंसा गर्न ‘नो वर्ड्स आर इनफ’ भन्न सकिन्छ । प्रकाशित उपन्यास ‘सोताला’ को कथाले भन्छ विष्टको साहित्यिक अर्धचेतनमा वास्तविकता कतिसम्म झल्कन सक्थ्यो भन्ने । किनकि ‘सोताला’मा उनले नेपालकै सफल व्यापारिक घरानामध्येका एकको संघर्षको वास्तविक कथाको स्केच कोरेका थिए रे । साथै अन्य थुप्रै फुटकर कथाहरू पनि छरपस्ट छन् । हालसम्म उनका १८ वटा कथा जम्मा भएका छन् । उनको परिवारले ती कथाहरू छाप्ने जमर्को गरिरहेको छ । उनका जीवनका विभिन्न आयामको वारेमा सचिन घिमिरे र गौरव केसीको निर्देशनमा वृतचित्र पनि निर्माण गरिएको छ जुन यथाशिघ्र्र आउँदैछ । विष्ट सफल मानवशास्त्री भए तर उनको साहित्यिक यात्राले उति मलजल पाएन, भनौँ विष्टले बराबर समय दिन सकेनन् । यसलाई नेपाली साहित्यको लागि क्षति नै मान्नुपर्छ, सायद ।
Photo: Sachin Ghimire

कतिले हेमिन्ड्रफ नभएको भए विष्ट कुनै नेपथ्यमा टोलाइरहेका हुन्थे, मानवशास्त्री हुँदैनथ्ये पनि भन्छन् तर साहित्यिक रचनामा ह्यामिन्ड्रफलाई भेट्नुपुर्व लेखिएका उनका लेखनीमा मानवशास्त्रीय सौन्दर्य स्पष्ट देखिन्छन् । सायद विष्टलाई मानवशास्त्रको सैद्धान्तिक अर्थ थाहा थिएन होला तर उनका साहित्तिक कृतिहरु अन्य कृतिभन्दा फरक थिए । सायद यसलाइ ‘मानवशास्त्रीय साहित्य’ नामाकरण गर्न सकिन्छ । हेमिन्ड्रफ नेपाल नआएको भए र विष्टसँग कुनै पश्चिमी अनुसन्धानकर्ताको भेट नभएको भए पनि उनी आफैले मानवशास्त्रको नाम जुराउँथे वा अर्को नाम पनि जुर्न सक्थ्यो होला । आखिर पिपल त ढुङ्गाको काप पनि चिरेर फक्रिन सक्छ नि !

(नागरिक अक्षर  मा ,२०६९ फागुन १२ शनिवार, प्रकाशित  लेख हेर्न यहाँ क्लिक गर्नुहोस् । )

1 comment:

  1. जीन्दगीका सबै रेसहरूका गोल्ड मेडल उनको घाँटीमा झुन्डिए । The article is very explorative. Congratulations, CP and Bijay. But what I felt is again a lesson from a familiar proverb: A history is a history perceived through someone's biased eyes. I wonder whether this article has enough supports to characterize Haemindruff (sorry for the spelling) the way it does? What if the reality was different. You are relying in few sources to generalize Haemindruff's character. Other parts of the write-up are really clap-worthy.

    ReplyDelete