Friday, February 18, 2011

रत्‍नपार्क लाइभ !

सिपी अर्याल (CP Aryal)


माघ महिना। बिहान सबेरैको ठिहिर्‍याउने जाडो। घण्टाघर बासेर छ बजेको जानकारी दियो। अब पनि रत्नपार्कलाई रातभरीको थकानबाट नतङ्ग्रीइ सुख्ख छ र!


'टिर्लिङ! टिर्लिङ!! टिर्लिङ!!!' निला ओठ थररर पार्दै यो जाडोमा साइकलको घन्टी बजाउँदै मुस्कुराउँदै कुद्दै छ हकर केटो, भलै उसको साइकल–क्यारिअरका पत्रिकाका निराश खबर पढेपछि मान्छे नमुस्कुराउला। स्कुस, मुला, धनियाँ, काउली र गोलभेँडा खर्पनमा बोक्दै हिँडेका ज्यापु दाईको सर्‍याक–सर्‍याक हिँडाइ। कलेज पुग्न हतारिएका युवायुवती र उनीहरूलाई गन्तब्यमा पुर्‍याउन कस्सिएका मोटर। थर्मसमा चिया बेच्दै हिँडेकी दिदीको उत्साहसँगै रत्नपार्क उज्यालिँदै छ। दिनभरी लाखौँ मान्छेलाई आफ्नो छातीको बाटो हुँदै काठमाण्डौँ चाहार्न सघाएको यो रत्नपार्कले यसरी सुरु भएको चर्यामार्फत् मानिसहरूलाई फेरि अर्को सिसिफस दिन देखाइदिने हतारमा छ! यहाँ घामले पहिलो झुल्को पोखेपछि त्यसलाई मधुरो जूनले प्रतिस्थापन नगर्दासम्म अनेक दृश्यहरूको साक्षी बन्दा हुने रमाइलोको बयान के पो गरिसाध्ये र!

बिहानको नौ बज्यो। आफ्नो छातीलाई म्याराथन ग्राउन्ड बनाइदिने ध्याउन्नमा लागीसकेको छ रत्नपार्क। घरघरमा रातभरी थन्क्याइएका मोटर र भटभटेहरू रत्नपार्क हुँदै काठमाण्डौँभरि छरिन थाले। कलेज जानेलाई क्लास छुट्ने रन्को। जागीरेलाई छुट्टै भ्याइनभ्याइ। कति बज्यो, त्यो जान्न होला आफ्नो हातैमा रहेको मोबाइलस्त्रि्कनमा लगभग पाँच सेकेन्डमा दसौँपटक हेर्छे एउटी ठिटी। अफिस हिँडेकीहोली। काममा पुग्न ढिला भए बोस रन्केला।

जेलिफिस जस्तो समयलाई समाउन कहाँ पो सक्छ र मान्छे! तरपनि यत्न गर्दैथिए सबै।

बगैँचाभित्र छिर्ने गेटैमा बिस–बाइस बर्षे जस्तो लाग्ने एउटी युवती गाजलु आँखाभरी आँसु सँगालेर बसेकी छ। उसको निराश मुडमा त्यो आँसु खुब सुहाएको छ। त्यसैले होला आँसुलाई भुइँमा तप्कने मौकै नदिएकी। मानिसहरू ट्वालट्वाल्ती हेर्दैछन् उसलाई। बिचरी के पिर परेर रोइरहेकी छ!

आकाशे पुलबाट हिँडे तपाईँ शतप्रतिशत सुरक्षित, नहिँडे शतप्रतिशत असुरक्षित। धेरै ठाउँमा यस्ता होर्डिङबोर्ड–सुचना टाँगिदिएकै छ ट्राफिकले। भोटाहिटीको आकाशेपुल छेउमै उभिएको छ। तर पनि बाटैबाट हिँड्नुपर्ने छुच्चाहरूलाई! एउटा मानिस :  हेर्दा टाइसुट लाएको, पढेलेखेको जस्तो देखिन्छ। तर पनि व्यस्त बाटोबाटै खुरुखुरु हिँड्नुपर्ने! लौननी! अर्को एउटा भुसतिघ्रेलाई त्यो निलो माइक्रोले झण्डै परमधाम पुर्‍याएको।

'ओए पृथ्वीलोक बसेर पुग्यो!!!' माइक्रो ड्राइभरले गाडीबाटै उसलाई झपार्छ। खुच्चीङ्! जानेकाले पनि यस्तो गरिदिने?

आकाशको उकालो लाग्दै गरेको सुर्यले रत्नपार्कलाई न्यानो बनाउँदै छ। चौरमा एउटा समुह देखिन्छ। जादु पो देखाइँदै रैछ। जादु हेर्न बसेका मानिसहरूतिर आँखा जान्छ।

'दाई ह्याँ के गर्न लाका हुन्?' फुस्रो अनुहारको एक युवकले जवाफ दिन्छ 'जादु देखाउन लाछ।' प्र्रश्न सोध्नेतिर नहेरी टाउको उचाली उचाली जादु हेर्दै छ ऊ।
'तपाईँ के काम गर्नुन्छ नि?' बल्ल उसले मतिर हेर्छ, 'काम छैन, बेरोजगार छु, दिनभरी ह्याँ आइ समय काटीराछु।'

अब ऊ अर्कैछेउतिर हिँड्छ। अरू प्रश्नको झटारो खेप्ने झन्झटबाट मुक्त हुन चाहेको न थियो!

पेटीमा बस्ने भविष्यद्रष्टाहरू अर्का पात्र हुन् रत्नपार्कको शोभा बढाइदिने। धेरैजसो काला अनुहारका भारतीयजस्ता देखिन्छन्। कोही यतैका पाका बाजेहरू पनि छन्। एउटा बाजेसँग गफिन मन लाग्यो।

'बाजे म हात हेर्न आको हैन।'

'किन आको त?'


'यत्तिकै तपैँसँ ग'फर्न' गफिन खोज्नेलाई बाजेले सर्सती हेर्छन्। हेराइमा मीठास भेटिन्न। बोल्दैनन्।

'बाको नाम के नि?'

मेरो हातको कलम कापी देख्छन्, अनि बाजे गम्किन्छन्।

'मेरो नाम साम छैन। घर नि छैन। हाम्रो कुरा लेख्न पर्दैन। तिनलाई मनलाको लेखेर हिन्दु धर्मलाई बिगारीसके। म केइ भन्दिनँ।'

कुन पत्रिकाले अडबंगो लेखिदिएछ, त्यसैले होला बा एक्कासी बडबडाउन थालेका।

'बा, तपाईँबारे केइ नलेखम्ला। मसँ गफ त गर्नु। याँ बसेर घर धानियाँछ त? कति दक्षिना टकार्छन् एउटाले? काँ बस्नुभछ?'

बा केही बेर बोलेनन्।

'चाबेल बस्छु। एक्लै छु। राम्ररी धान्यो छु एउटो खम्बा! एकजनाले एकावन्न रूप्पे दिन्छन्  दिनभरिमा ४००–५०० हुन्छ।' बा रिसाएकै छन्।

तेसैले आकाशतिर फर्केर बोलेका होलान्।

'बा, अहिले गएँ है।' बुढा टाउको हल्लाउँछन्। दाँत अलि–अलि रैछ, च्यापु हल्लन्छ उनको।

मध्यदिउँसो।

'मुकुन्दे'को भाषण।

ऊ देशको ठूलो नेता हैन। आफ्नो ओजनदार भाषणले सबैलाई प्रभावित पार्ने राष्ट्रिय व्यक्ति पनि हैन। रत्नपार्क आइ दिनहुँ भाषण दिन्छ। त्यसैले कुशल वक्ताको रूपमा उसलाई चिन्ने धेरै छन्। कथ्था रङको ढाका टोपी, खरानी रङको जाकेट, निलो पाइन्ट र सेतो हाइटेक जुत्तामा ठाँटिएको छ मुकुन्द। रूखमा उक्लिएको छ, भुईँबाट पाँच मिटरजति माथि। पाँच बीस पुरुषहरू हुँदा हुन् कि, यतिबेला उसको भाषण सुन्न बसेका। महिला फिटिक्कै छैनन्। मुकुन्दको हातमा माइक छैन, ब्याकग्राउन्डमा टाँगेको तुलमा अनेकथरी लेखेको छ :  संविधानसभा धोका रहेछ, ६०१ थान बोका रहेछ आदि। बेलाबेला उसले आफैँलाई मुकुन्दे, भगवान् मुकुन्द, राष्ट्रपति मुकुन्द, प्रधानमन्त्री मुकुन्द भन्छ। आफूलाई ग्रह र आफ्नो भाषण सुन्न बसेकालाई उपग्रह पनि भन्न भ्याएकै छ।

'आफैँतिर दुनो घोप्ट्याउन अनमिनलाई लखेटेका हुन् यिनले' अनमिन हिँडेको मुकुन्दलाई मन परेको रैनछ। इतिहास, राजनीति–कुटनीति, अर्थ, सिनेमा, स्पोर्टस्, पुस्तक, टेक्नोलोजी सप्पै कुरामा अपडेट छ ऊ। आफू हाँस्दैन श्रोतालाई भरमग्दुर हसाँउँछ। रेखा थापा, विराज भट्ट, ऐश्वर्या राय बच्चन, सलमान खान, टम त्रु्कज र एन्जेलिना जोलीबारे अनेक टिप्पणी दिन जानेको छ।

'तिमर्लाई था'छ मेरा बाउ निरंकुश।' आफ्ना बाबुआमाबारे उसले यसो भन्छ, 'आमा डेमोक्र्याट!' श्रोतालाई 'तिमी' भन्न केइ धक मान्दैन। परे 'तँ' भन्छ!

मुकुन्दका श्रोताको निधारमा पिर र पिडाको बाङ्गोटिङ्गो रेखा चलमलाइरहेको जस्तो लाग्छ। कसैलाई रोजगारी गर्न अरब पठाउँछु भन्नेले सताएका होलान्, कोइ काठमाण्डौँले इलम नदिएर सताइएका होलान्। तिनको मनमा अनेक पिडा भएपनि मुकुन्दको कारण हाँस्न सकेका छन्। मुकुन्दको यथार्थबारे टाउका भन्दा धेरै अड्कल छन्। ऊ बारे अर्थोक कसरी थाहा पाउने? मुकुन्देतिर फिटिक्कै नहेरेर मानिसहरूलाई चनाकेराउ बेचिरहेको युवकलाई केइ था'छ कि?

'तपाईँ मुकुन्देबारे के जान्ने?' लौ! उसलाई त सप्पै था रैछ कि क्या हो! चनाकेराउ बेच्ने राजकुमार तिमिल्सिना भन्छन्, 'मुकुन्द असल हो कि सज्जन होकि, अर्ध–असल होकि अर्ध–सज्जन हो खुट्याउन सक्ने कोइ छैन दाई।' राजकुमारको बोलीजत्तिकैको रफ्तारमा डायरीमाथि मेरो कालो कलम दगुर्दै छ। उता मुकुन्द चिच्याएको सुनिन्छ 'फोटो फेर्दैमा गणतन्त्र हुन्छ???' हो त नि है!

'दान बाकस' लेखेको भाँडोमा कसैले पैसा दिन चाहे मुकुन्दले आफूसँगै रहेको त्यो भाँडो माथिबाट सुत्त तल झार्छन्। 'खिस्रीक्क...' दस, बिस हाल्दिन्छन् कसैले। थोरै दिनेलाई उसको बिस्फोटक वाक्यको मार सहनु पर्छ, धेरै दिए पनि त्यस्तै। 'खुबै दानवीर भाछस्, घराँ खान गेडो चामल छैन होला मलाई ५० रुप्पे दिने?' हा...हा...हा...पात्तिएको हाँसो फैलिन्छ।

कोही चरेश खाएर लडेका जस्ता, कोही हरेश खाएर डङ्रङ्ग पल्टेका मान्छे पार्कभित्र छन्। एकअर्काको अंगालोमा कस्सिएर भएपनि जाडो छल्न खोज्ने रोमियोजुलियटहरू पनि छन्। तिनको प्रेमले संसार जित्ला ठानेका होलान्! शुभकामना!
पुलिस कार्यालयनिर पुलिस रिपोर्ट बनाउनेको लामो लाइन छ।

बाटोमा माइक्रा र टेम्पुको भिड छ। लगनखेल...कलंकी...मैतिदेवी...आफूले लाने कता हो, चिच्याउँदैछन् गाडी स्टाफ। सहचालकको रूपमा धेरैजसो १०–१२ वर्षे बच्चाहरू देखिन्छन्। पेटले 'बालश्रम' भन्दैन!


टिङ! टिङ! टिङ! टिङ! घण्टाघरले चार बजायो।

रत्नपार्कको व्यस्तताको मर्करीको पारो उकालो लाग्दैछ। लगनखेल माइक्रोपार्कनिर एउटा युवक उभिएको छ। चोरले जस्तै वरिपरी हेर्दैछ, हातमा कालो प्लास्टीक बोकेर। 'के बेच्न खोजेको?' नजिक पुगी फुस्फुसाउन मन लाग्छ। आफ्नो ग्राहक हो/हैन ठम्याउन खोज्छ। 'पुलिस पो हो कि!' सोंचेको होला।

'दाई पिवर होम मेड नेपाली चक्का हो। होम मेड नेपाली।'

'चाहिँदैन...'

फुटपाथमा व्यापार गर्नेहरूको विस्तारै ओइरो लाग्न थाल्छ। मकै पोल्नेहरू, घडी, जुत्ता, कपडा, पुस्तक, इलेक्ट्रोनिक सामान, सेकेन्ड ह्याण्ड जुत्ता बेच्ने सबैले आफ्नो ठाउँ ओगट्न थाले। रत्नपार्क एउटा सुपरमार्केट जस्तो देखिन्थ्यो। उपल्ला वर्गलाई ठाउँ नभएको सुपरमार्केट! अब यहाँको आवाज एफएममा राम्रो गीत सुन्न रेडियोको कान बटारीरहँदा आउने ध्वनी जस्तै भयो। फुटपाथ व्यापारी, पैदल यात्रु र गाडीको ओभरलोडले रत्नपार्क गर्‍हुङ्गो भएको छ।

बुलाँकी लाएकी एउटी अधबैँसे दिदीले डाल्डा घ्यू राख्ने घ्याम्पोबाट पाकिसकेको मासु झिक्छिन्। भुसेचुलोमाथिको ठूलो ताउलोमा खन्याउँछिन्। ह्वारह्वार्ती बलेको आगो पाएपछि मासु तातिहाल्छ। दिदीले माथिबाट धनियाँको पात र हरिया खुसार्नी छर्छिन्। उनी वरिपरि भएका बेन्चमा मानिस लहरै बसेका छन्। एउटालाई स्टिलको प्लेटभरी मासु र चिउरा दिएपछि उसले स्वाद मानेर खान थाल्छ। 'बाबु चिउरा निस्तो भो। खैखै झोल थपुँ!' दिदीले त आफ्नै छोरोलाई जस्तो गरी त्यो ग्राहकलाई झोल थपिदिन्छन्। 'भोलि भेट्टाउला सोल्टी मासु कस्तो रैछ!' गम्छु।

रत्नपार्कलाई अँध्यारोले बिस्तारै अँगालो हाल्दैछ। सुनसान भने छैन। फुटपाथमा पसल थाप्नेलाई आफ्नै रन्को, गाडी मोटरलाई अन्तिम टि्रप हान्ने बेग्लै रन्को। चना–केराउ बेच्ने, नाङ्लोमा खित्रिमित्रि बेच्ने, 'मेड इन चाइना'को व्यापार गर्नेेहरू फाट्टफुट्ट पातलिँदै छन्। भोकाएको भँगेरोले चारा खोज्दा पारेको चनाखो आँखा जस्तै केही खोजेका जस्ता देखिने महिला कतैकतै देखिन्छन्, मुखभरी एकबट्टा लाली पोतेका। थुप्रै व्यापारीले आफ्नो पोकोपन्तुरोमा सुर्कने गाँठो पार्दैगर्दा देखिने यिनीहरूको 'बिजीनेस' बल्ल सुरु हुन्छ।

साढे सात बज्यो। पानी भरिएको सानो भाँडोभरि केही घडी राखेर 'रत्नपाकर्कमा किनेको घडी पानीमा पनि भिज्दैन' भन्ने प्रुफ देखाउँदै घडी बेच्न बसेकी छन् अधँबैशे उमेरकी एउटी दिदी।

'दिदी ऊ ती नानी...' पर बसेकी एउटी मैयाँलाई देखाउँछु।

दिदीले मलाई माथिदेखि तलसम्म हेरिन्। अनि कामुक हाँसोसँगैको वाक्य फुत्काइन्, 'तिनलाई लाने हो? मलाई कति आउँछ? तपाईँ उनीसँगै डाइरेक्ट गै कुरा गरे महंगो पर्न आउँछ है!' यहाँ यस्तो हुन्छ, सुनेको थिएँ।

'दिदी मलाई यस्तो–उस्तो केही चाइया हैन प्रस्ट हुनु थियो। बाइबाइ...' तिनलाई नहेरी दाहिने हात उचालेँ, उनीतिर फर्काएँ, बाइबाइ गरेँ, सुरुसुरु हिँडे। सोचिनँ, मलाई के भनि होलिन् ती 'मेडिएटर'ले।

बागबजार सडकमा एउटा मधेसी युवक हिँड्दैछ। उसको टाउकोमा चटपट बनाउने खित्रिमित्रि सामान छ। देब्रे हात टाउकोमाथिको त्यो सामान झर्ने डरले समातेको छ। दाहिने हातमा चुरोट छ। भोजपुरी गीत सुसेल्दैछ,'जब तुँ लगैलु लिपिस्टिक...ललीपप लागेलु...जिला टाप लागेलु...' मान्छे सन्तुष्ट हुनुपर्ने ठूलो कारण खोज्न कहिँकतै जानै पर्दैन।

सवा आठ बजेछ। रानीपोखरीतिरको चौरमा चिया बेचिँदै छ। त्यहीँ गएर चियाको सुर्को लाउन मन लाग्यो। पोखरीको छातीमा ठिङ्ग उभिएको मन्दिर, आफ्नो रानीको सम्झनामा राजा प्रताप मल्ल टोलाएजस्तै टोलाइरहेको छ। रत्नपार्कको लाइभ–डिटेल दिन सक्ने यो मन्दिर जस्तो अर्को कुनै छ होला र?

रातसँगै रत्नपार्क जाडोले विस्तारै कक्रकिँदै छ। लाटोकोशेराहरूले रत्नपार्कलाई चिथोरिहेका छन्, निदाउन दिएकै छैनन्।


(Photos: Collected from Google)

(Published in Gorkhapatra 2067 Fagun 6 friday)

(मुकुन्दबारेको दुई मिनेटको भिडियो >> यहाँ  )

9 comments:

  1. exciting, moving... moving... moving...

    ReplyDelete
  2. live detail 6, interesting 6 ani yek sundar lekhaniko sambhabit bhabisyabani majaale gareko 6.keep it up.

    ReplyDelete
  3. गजब लाग्यो, चित्रमय झलक दिन्छ है ।

    ReplyDelete
  4. Very interesting ! @ Ashok Aryal said.

    ReplyDelete
  5. राम्रो झलक छ कुनै दिनको दैनिकी कथा बनेको छ धन्यवाद

    ReplyDelete
    Replies
    1. धन्यवाद प्रकाश पन्त, जोतारे धाइबा,अशोक अर्याल र बालक बबुरो । :-)

      Delete
    2. Interesting Live.... Ratnapark and mukunde :) :)

      Delete