CP Aryal.
हुन त पोखरेली कवि निष्प्रभ सजीको भर्खरै प्रकाशित कवितासंग्रह ‘इजलासमा लाहुरे फूल’ मा सरुभक्तले भूमिकामार्फत् ‘कविता छन्द वा छन्दहीनतामा, गद्य वा पद्यमा, बौद्धिकता वा भावुकतामा, बिम्ब वा बिम्बहीनतामा हुँदैन । कविता कवितामा हुन्छ । कविता हुन कुनै आग्रह, पूर्वाग्रह र अज्ञानताको थाक्रो चाहिँदैन ’ भनेका छन् ।
तर बिम्ब फुलेको कविताको मीठास अर्कै हुन्छ । बिम्बसँग राम्ररी खेल्न सक्ने खुबि भएकाहरू राम्रा कविका रूपमा द¥हीन सक्छन् । निष्प्रभ सजी यो गुण भएका राम्रा युवा कविका रूपमा प्रस्तुत भएका हुन् उनको उच्च बिम्बात्मक कविता कृति ‘इजलासमा लाहुरे फूल’ मार्फत् । ‘भूपरिवेष्ठित खुट्टाहरू’ पछि प्रकाशित यिनै स्रस्टाको दोस्रो कविता कृति हो यो ।
सरल भाषा, ओजपूर्ण भावना अनि सही बिम्ब तथा प्रतिमा चयनकासाथ लेखिएका यो पुस्तकका कवितामा प्रेमिल तरंग, देशप्रेम, युद्धको विभिषिका, विदेशिनुको पिडाहरू विषयवस्तुका रूपमा आएका छन् । सबैभन्दा धेरै देशप्रेमका भावना छन् । कतै–कतै कवि आप्mनो मष्तिष्कको दासताहरूबाट मुक्त हुन आप्mनै कविताको मलामी पनि हिँडिरहेका छन् !
तीर्थ श्रेष्ठको बहुचर्चित कविता ‘लाहुरे फूल तिम्रो नाम फेर्न चाहन्छु’ को प्रतिलेखन भनिएको ‘तीर्थ दाई, लाहुरे फूलको नाम फेरिएन !’ एउटा ओजपूर्ण कविता हो । विदेशमा हाम्रा लाहुरेहरू भकाभक मारिएर ढलेका वा गुमनाम भैरहेका बेला हाम्रो आगँनमा निर्लज्ज हाँसीरहेको लाहुरे फूलमाथि तीर्थ श्रेष्ठले जस्तै निष्प्रभले पनि धारिलो हात देखाएका छन् ः
“...खाली सिउँदोलाई किन लोभ्याउँछन्
निर्दयी लाहुरे फूलहरू
खाली चुल्ठोलाई किन सजाउँछन्
निर्दयी लाहुरे फूलहरू
समानुपातिक कुण्ठाहरूको
पर्खाल अग्लो बनाउँछन्
निर्दयी लाहुरे फूलहरू
बसाइ सरे सुन्तलीका तृष्णाहरू
अस्ताइसक्यो बा आमाले ताप्ने घाम
र पनि एक्लो आँगनमा
निर्लज्ज सपना फुलाइरहन्छ लाहुरे फूल !
त्यसैले होला तीर्थ दाई !
समय बदलिरह्यो
लाहुरे फूलको नाम फेरिएन !” ( तीर्थ दाई, लाहुरे फूलको नाम फेरिएन ! बाट)
आमाको बिम्ब अत्यधिक प्रयोग गरिनु कवि ह्दयमा प्रस्फुटीत देशप्रेम हो । पुस्तकको भूमिकामार्फत् ‘मेरो समयको स्तब्धता नै मेरो लागि कविता हो’ भनेका कवि निष्प्रभले स्तब्ध देशबारे कोरेका कविता वास्तवमै सुललित छन् । यसैगरी कविले बाँदरमुडे घटना घटाउने ‘कायर मानिसहरूलाई’ व्यर्थका निर्जीव प्रश्न सोध्नुको औचित्य देख्दैनन् । बरु ती प्रश्नका पोकाहरू बाँदरमुडेमा गाडिएका बच्चाका अवशेषहरूसामु राख्न चाहन्छन् उनी ! बिना कसुर राजनीतिको आगोमा होमिएका निष्पृह जनताको आवाज बनेको कविता हो यो ।
कुनै कुनै कविता यस्तो विषाक्त मीठाससहित टुंगिएका छन् कि त्यसको अन्तिम शब्द पढिसक्दा पाठक केहीबेर टोलाउन सक्छ । जस्तै ः
“आज पनि
माझी दाइको बल्छीमा
माछा होइन ! सर्प प¥यो
माझी दाई खुसी छन्
किनकि
यति सजिलै
जालमा पर्न थालेका छन्
विषालु सर्पहरू
माझी दाई दुखी छन्
केटाकेटीहरू
घरमा पर्खिरहेका होलान्
माछा बोक्ने टोकरीमा
सर्प बोकेर घर कसरी जानू ?” –(माझी र सर्पहरूबाट)
यस्तै अर्को कविता ः
“...तिमीले ढलाऊ भन्यौ
मैले ढलाई दिएँ
ढलेको मेरै ‘भाइ’ रहेछ !
तिमीले जलाऊ भन्यौ
मैले जलाई दिएँ
जलेको मेरै ‘देश’ रहेछ !” –( देश÷आदेशबाट)
देश चलाउन आफैँमा लुछालुछ गरिरहेकाहरूलाई देखेर फुच्चे भुन्टेले आप्mनो बालाई ‘बा ! तिनीहरू किन तिमीलाई पसल खोल्न दिन्नन् ?’ भनि सोधेको छ कवितामा । भुन्टेको प्रश्नमा बाबु चुपचाप रहन्छन् । यो बाबुआमाको पिडा हो ।
समीक्षक हरि अधिकारीले ‘राम्रो कविता कसरी बन्न सक्छ ठ्याक्क भन्न गा¥हो छ’ भनेजस्तै कविताको राम्रो पनको यकिन गर्न सकिँदैन । तरपनि एउटासँग अर्कोको तुलना गर्नु पनि कुनै कुराको कसि जाँच्न सकिने माध्यम भने हुन सक्छ है ! ‘क्यालेन्डर जिन्दगी’, भित्ताका प्रश्नहरू’, ‘घाम’, जस्ता कविताहरू ‘इजलासमा लाहुरे फूल’, ‘तीर्थ दाई लाहुरे फूलको नाम फेरिएन !’, ‘सिमानामा देश’, ‘म, आमा र कुकुरहरू’को तुलनामा सा¥है नै मध्यम स्तरका र फितला लाग्छन् ।
पुस्तकको शिर्ष कविता ‘इजलासमा लाहुरे फूल’मा फूलहरूलाई कडा घोचपेच गरिएको छ । बेमौसम फुलेको लालुपातेलाई कविले ‘जैरे’ भनिदिन्छन्, चैत नलाग्दै उडेर गएको सिमल फूललाई कविले घृणा गर्छन् । रातो फुल्ने लाहुरे फूल कुनै मौसममा सेतो फुल्छ ! फूललाई इजलासमा उभ्याइन्छ । तर पनि सेतो फुलेर पाप गरेको त्यो लाहुरे फूल निर्धक्क हाँस्दा पनि हाम्रा ‘सानुमाया’हरूले मुस्कुराएरै त्यसलाई सिउरिरहन रुचाएको यथार्थप्रति कविको कडा व्यङ्ग्य भाव छ ।
हामीले पढ्दै आएका धेरै कविताहरूमा जूनलाई प्रेमिकाको दर्जा दिइ एउटा प्रतिकात्मक प्रयोग गरिने चलन छ । तर यो भावलाई डिकन्सट्रक्ट गर्दै ‘दाग आमा र जून’ मा जूनलाई आमाको प्रतिक मानीएको छ । जसमा आप्mना सन्तानहरूको अँध्यारो छिचोलिदिन आमाले आफैँमा दाग लगाउन पनि नडराएको कुरा अभिव्यक्त छ । यसरी प्रयोग भएका धेरैजसो बिम्ब र प्रतिकहरूको अर्थलाई डिकन्स्ट्रक्ट गरीएको छ । कविताका पंक्तिहरूमा आउने सर्प, भ्गागुता, लाटोकोशेराका बिम्बहरू फरक अर्थ बोकेर उभिएका छन् । लाटोकोसेराका उराठीला गीतहरूले कविताका पात्रलाई आनन्दित बनाउँछन् !
एउटा गतीमा बगीरहेको कुनै–कुनै कविता अन्तिम हरफतिर आउँदा कविता नभएर गीत जस्तो सुनिँदा पाठकहरू खिन्न हुन सक्छन् । त्यस्तो समान ढंगको कवितात्मक लय र भावबाट अन्तै मोडिनु कविको एउटा असफलता भने पक्कै हो । यसैगरी कवितामा बिम्बहरूका यस्ता डंगुर छन् कि पाठकहरू कुनै–कुनै बेला अलमलिन्छन् । प्रयोग गरिएको बिम्बले नकारात्मक अर्थ राखेका हुन् वा सकारात्मक भाव, खुट्याउनै नसकेर ।
समग्रमा, बिम्ब बयान भएर पुस्तकमा उभिएका कविताहरू खुबै दमदार छन्, मीठा छन् । नयाँ प्रयोग खोज्नेका लागि पनि यी कवितामा बिम्बको सहज, नौलो र लोभलाग्दो प्रयोग भएका हुनाले त्यस्ता पाठकका लागि पनि पुस्तक निकै फलदायी हुन सक्छ ।
इजलासमा लाहुरे फूल
लेखकः निष्प्रभ सजी
प्रकाशकः नेपलिज एसोसिएसन अफ क्विन्सल्यान्ड, अस्ट्रेलिया
बितरकः साझा प्रकाशन
पृष्ठः ९७
मूल्यः रु.१५०÷–
No comments:
Post a Comment