Thursday, July 29, 2010

सरी !

ठमेल आज सुनसान देखिन्थ्यो । के भएछ ठमेललाई ? को जानोस् !

गोजीमा फोन बज्यो । रश्मीले सुन्धारा बोलाई । ऊसँग मेरो तेस्रो भेट हुँदै थियो । दोस्रो भेटमा उसले मबारे धेरै थाहा पाई । ऊ भारतीय ठिटी । उमन स्टडिज्मा भारतबाट भर्खरै स्नातक सकेकी । आफ्नो बारे अन्य कुरा खासै खुलाइन । मैले एमफिल अनुसन्धान गर्दै गरेको सुनाएँ । मेरो अनुसन्धान शीर्षक सुनेपछि ऊ हाैसिई । र अनुसन्धानमा सहयोग गर्ने बाचा गरी । ऊ गम्भीर देखिन्थी ।

त्यसदिन हामी छलफल गर्ने योजनामा थियौं । सुनधाराको कुनै लजमा रातै बिताउने आग्रह थियो उसको । म अचम्ममा परें ।

म ठमेलबाट हिँड्दै इन्द्रचोक पुगें । मानिसहरू हतारमा थिए । साँझको बेला, कोही अफिसको तनाव मुक्तिले होला, फुर्तिला देखिन्थे । कसैको अनुहार उनीहरूकै माथि असरल्ल परेको बादलसँग ठ्याक्कै मिलेको । पानी पर्नै लागेको थियो । बाटाका मसिना कुरामा मेरा आँखा जान्थे । तर आज फाट्टफुट्ट बाहेकका कुरामा मन गएन । न्युरोड भीडभाड थियो । त्यही भीडबीच एउटा माग्ने देखें । 'ओहो यो मानिस... च्व ! च्व ! च्व !' मनबाट मसिनो आवाज आयो । खुट्टाभर पट्टी बाँधेको । घाउ होला । यस्तालाई नै किन दुःख दिन्छ यो काल्पनिकतामा हुर्किएको भगवानले ? उसले भुइँमा बिछ्याएको टालोमा पाँच रुपैयाँ राखिदिएँ । न्युरोड गेटतिर पुगिसक्दा पानी दर्कियो । न्युरोडको त्यही जीर्ण गेटले ओत दियो । सुकिला देखिने मानिसहरू पनि त्यो गेटको काखमा लुटपुटिए । भर्खरै पाँच रुपैयाँ दिएको माग्नेमाथि फेर िआँखा पर्‍यो । ओहो ! उसको घाउ त बनावटी पो ? उसले खुट्टामा लगाएका पट्टी खुरुखुरु खोल्यो । थाङ्नाथुङ्नी बटुली ऊ दगुर्‍यो । साउने झरीले खेद्दा उसको बेग चाहिँ मुसलधारे पानीको बेगभन्दा कम थिएन । ओहो ! ऊ त मै नजिक पो आयो । उसलाई एक निमेष हेरें । उसले पनि मलाई देख्यो । वाल्ल पर्‍यो । हूल पन्छाउँदै ऊ दगुर्‍यो । सायद आफूले दिनभरी मानिसहरूलाई झुक्याएको कुराले ग्लानि भयो कि ? तर त्यति नगरी पेटमा अन्न कसरी बुझाओस् ।

आफ्नो स्वार्थ पूरा गर्न अरूको ढाडमा टेकी टाउकोमा प्रहार नगर्ने को छ ? जो पनि गर्छ । ऊ रुझ्दै पर पुग्यो ।
भर्खरै मोटरसाइकलबाट झरेर एक जोडी लिछिप्पै भिजेको शरीरसहित उही गेटमुनि ओत लागे । युवक कपडामा लागेको हिलो सफा गर्दै थियो । युवती आफ्नो भिजेको कपाल खोल्दै थिई । कस्ती टम्म भरीएकी । जवानीको पूणार्वस्था । उफ्...उसले त मैले चोरेर हेरेको थाहा पाइछ । आँखा हटाएँ । युवकसँग ऊ टाँस्सिई । मैले हेरेको चाल पाइसकेकी उसले युवकलाई आफ्नो ज्यानै सुम्पिएर अनेक गर्न थाली । वरपिरकिा मानिसको मतलब भएन ती दुवैलाई । ऊ बेलाबेला मतिर बैंसालु आँखा भने सोझ्याउँथी । अलिक बेरपछि पानी रोकियो । ती जोडी पनि हिँडे । म पनि हिँडें सुनधारातिर ।

ऊ समयमै आइपुगी । ठूला आकारका तिखा आँखा भएकी ऊ भर्खर बीस लागेकी हुँदी हो । युवतीको उमेर को सोधोस् ! हामी मुस्कुरायौं, भेट्नासाथ । टहल्दै लज खोज्न थाल्यौं । यसअघि निकै कम बोल्ने ऊ आज धेरै फतफताई । मलाई उति बोल्न मन लागेन । भारतीय हिन्दु संस्कृतिमा यौन दृष्टिकोण र खुला यौन बजारबारे धेरैथोक भनी । सोचाइ फराकिलो देखिन्थ्यो । मेरो अनुसन्धान सम्बन्धित कुरा भएकाले पनि उसलाई धेरै सुनें । निकै अध्ययनशील केटी रहिछ । चुरोट खाइरहनुपर्ने उसलाई ।

'मलाई उसले रातै बिताउने गरी किन बोलाएकी ?' सोध्ने मन त थियो तर खुला संस्कृतिमा हुर्केकी ऊसँग यसबारे सोध्ने आँटै आएन । के नै पो हुन्छ र ? मेरो मन चोखो छ क्यारे !
Googled image


साँझको आठतिर हामी लज पस्यौं । यो केटीले फेरि चुरोट सल्काई । मलाई धुवाँले सकस हुने ।

'आज म बढी चुरोट पिउँदै छु । ठूलै कुरा प्राप्त भएजस्तो लाग्दै छ ।'

के कुरा पाएकी हो, ऊ खुलिन । कलिला ओठबाट चुरोटको विषालु धुवाँ बाहिर निकाल्दै हल्का सासमा ऊ बोली । उसले ह्विस्की मगाई । नखाऔं भनेको थिएँ । जिद्दी गरी । बिस्तारै नशाले छोयो । मलाई रक्सीले चाँडै चिन्थ्यो ।


'सेक्स परसेप्सन इन् हिन्दु उमन'बारेको शीर्षकमा छलफल गर्न रश्मीलाई भनें ।

'केही सोधूँ ?'

ल ! ऊ त बेस्मारी हाँसी । मुटु नै फुट्ने गरी किन हाँस्नुपरेको ? हाँस्दा हाँस्दै मलाई गम्लङ्ग अँगालेर आफ्नो शरीर सुम्पी । दुवैलाई रमरम मात थियो...

बिहान ब्युँझिएपछि रश्मीले लाज मानी । ऊ बाथरुम छिरी । फ्रेस भएपछि कफी पिउन थाल्यौं । ऊ बिहानदेखि मुसुमुसु हाँस्दै थिई । किन हाँसेकी होली ? ऊ राम्रो नेपाली बोल्न जान्दिनथी ।

'तपाईँको उद्देश्य कत्तिको पूरा भो थाहा छैन । तर मैले आफ्नो उद्देश्य पक्कै पूरा गरें ।'

सोफामा बस्दै बोल्न थाली रश्मी । मैले उसको कुरै बुझिनँ ।

'म धनी बाबुकी छोरी । मेरो बाबु फ्रान्स बस्थ्यो । वर्षौंमा घर आउँथ्यो । दुई- चार दिन बस्नेगरी...' 

ऊबारे आज नयाँ कुरा जान्दै थिएँ । म मुग्ध भई उसलाई सुन्न थालें ।

'...केही हप्ता बाबु आउँदा ममी र म खुसी हुन्थ्यौं । तर अफसोच, अन्त्यमा उसले ममी र म दुवैलाई निरीह बनाई छोड्यो । बाबु एचआईभी सङ्क्रमित रहेछ । ममीलाई पनि भारी बोकायो । मैले एकपटक दुर्घटनामा पर्दा ममीबाट रगत लिएकी थिएँ । त्यति बेला ममीको सङ्क्रमण त के बाबुको पनि थाहा थिएन हामीलाई । ममी अचानक बिरामी पर्नुभयो । रगत चेक गर्दा मात्र थाहा भो, एचआईभी पोजेटिभ हामी दुवैलाई आक्रमण गर्दै थियो...'

मैले आँखा देख्न छाडें । शरीर आफैँलाई भारी लाग्यो ।

'...र अहिले पापी बाबु त मर्‍यो तर ममी र म मृत्यु पर्खँदै छौं । बाबुप्रतिको घृणाले म संसारका सबै पुरुषलाई पापी देख्छु । त्यसैले म नमरुन्जेल मेरो एचआईभी धेरै पुरुषलाई सार्न चाहन्छु । आई एम सो सरी !'

रश्मी बाहिरीइ। मेरो शरीरमा मृत्युका तरङ्ग फनफनि नाच्न थाले । ढोका खुलै थियो । काठमाडौंको चिसो हावाको झोंक्काले आक्रमण गर्न थाल्यो मलाई ।


-CP Aryal (सिपी अर्याल)


(Published in Kantipur-Kosheli dated 2066 Ashoj 3 Saturday)

No comments:

Post a Comment