–सिपी अर्याल/गोपीकेश आचार्य
“एउटा दार्शनिक जन्मन्छ, चिन्तन गर्छ र मर्छ ।” कसैले भोगेको जीवन समेट्दै लेखिने जीवनकथा लेखनमा ज्याक डेरिडालाई खास रुचि थिएन त्यसैले उनको इहलीलाबारे लेख्न खोज्नेलाई उनी भनिदिन्थे, “बाँकि कुरा आख्यान हुन् ।” उनकाअनुसार आत्मकथा बौद्धिक हुनुपर्छ जसमा एउटा दर्शन होस् । मानिसमाझ अलिअलि चिनिन थालेपछि उनले आफ्नोबारे कसैलाई केही बताउन चाहँदैनथे । आफ्नो फोटो पनि खिच्न मान्दैनथे । “मेराबारे के जान्न खोजेका ? म अल्जेरियाको यहुदी परिवारमा जन्मिएँ, विद्यालयबाट निकालिएँ...” उनको जीवनकथा लेख्न चाहने पत्रकारलाई झपारे एकपटक “यस्ता फाल्तु कुरा लेख्न पर्दैन, जाऊ आफ्नो काम गर ।” जीवनकथामा व्यक्तिगत जीवनभन्दा दर्शन हुनुपर्ने जिकिर उनको थियो ।
दर्शन, कला, सौन्दर्यशास्त्र, राजनीतिक सिद्धान्त, साहित्य, यौनमनोविज्ञान, धर्म अध्ययन, कुटनीति, नाट्य अध्ययन, वास्तु अध्ययन, पुरातत्व अध्ययन, कानुन, मानवअधिकार, भाषाविज्ञान, उत्तर औपनिवेशिक अध्ययनलगायत ज्ञानका हरेकजसो क्षेत्रमा काम लाग्ने विचार दिने डेरिडाको जीवनकथा लेखियो, अनेक लेखकका अनेक आँखाबाट । डेरिडाबारे लेखिएका थुप्रै जीवनकथा मध्येको एक बेनोइट पीटर्सले लेखेको, ‘डेरिडाः अ बायोग्राफी’ पुस्तक राम्रो मानिन्छ । लस एन्जलस रिभ्यु अफ बुक्समा कास सगाफीले यस पुस्तकलाई जीवनकथा लेखन शैलीको क्रममंग भन्दै प्रशंसा गरेका छन् ।