सहरमा अब नयाँ सेलिब्रेटीको बलियो उपस्थिति देखिन थालेको छ । लेखक ! हिरो, हिरोइन, गायक, गायिका त सँधैका सेलिब्रेटी भइहाले । तर हामीबीचको समयले यसरी कोल्टे फेर्दैछ जसले लेखकहरूलाई पनि उँचो स्थान दिइरहेको छ । पुस्तक लेख्ने, पढ्ने, प्रकाशन गर्ने, साहित्य महोत्सव आयोजना गर्ने प्रयासले अक्षरहरूको सौन्दर्यमा परिवर्तन गरिरहेको छ ।
लेखक खगेन्द्र संग्रौलाले अनुमान गरेका थिएनन् उनी एकदिन ‘सेलिब्रेटी राइटर’ होलान् भनेर । “त्यतिबेला सत्तासँग नजिक भएकाहरू मात्र लेखक भैटोपलिन पाउँथे ।” संग्रौलाले इतिहासको श्यामश्वेत यथार्थ भन्दा अहिले हामी अवाक् हुन्छौँ । निरंकुश शासन व्यवस्थाको एउटा विशेषता त्यही हो सायद । आफ्ना हित गर्ने नठानिएकाहरूको लेखकीय अस्तित्व नै थिएन । पत्रिकामा अनुहार देखिनु आफैँमा ठूलो कुरा थियो । अझ त्यसमा छापिएको लेखमार्फत् आक्कल–झुक्कल पारिश्रमिक पाउँदा त खुसीको सीमा के रहोस् । समयको राजमार्गमा सबैको पालो आउँछ भनेजस्तै सबैथोक विस्तारै परिवर्तन हुँदै गए । लेखकको पनि पालो आयो ।
साहित्य महोत्सव
हज्जारौँ पुस्तकप्रेमीमाझ गतिलो प्रभाव छाडेर एनसेल नेपाल साहित्य महोत्सव, २०१२ (NCell Nepal Literature Festival, 2012) भर्खरै सकियो । साहित्य महोत्सवले लेखकलाई ‘ह्युमनाइज’ गर्छ भन्दै विनोद मेहताले यस्ता महोत्सवको सौन्दर्य बढाइदिए । धेरै पाठकहरूलाई एकै ठाउँमा भेला गर्ने, दर्जनौँ लेखक राखेर गम्भीर बहस गर्ने परिपाटी नेपालमा भर्खरै भित्रँदै छ जुन आफैँमा खुसीको कुरा हो । पुस्तक प्रकाशन र प्रवद्र्धनमा लगानी गर्नु जोखिमको विषय मानिँदा पनि विस्तारै यसको लागि केहीले प्रयास थालिरहेका छन् । नेपालमा वर्षमा अन्तर्राष्ट्रिय स्तरका दुईओटा मात्र साहित्य महोत्सव हुँदैआइरहेका छन् । बुकवर्म ट्रस्टको अग्रसरतामा नेपाल लिटरेचर फेस्टिभल र अर्को, काठमाण्डौँ लिटरेरी जात्रा (Kathmandu Literary Jatra) । महोत्सव आयोजना गर्ने परिपाटी सुरु भएको केवल दुई वर्ष मात्र भयो । प्रयास आफैँमा उत्साहवर्धक छ ।
Photo: The crowded dabali in NCell Nepal Literature Festival. Clicked by-CP Aryal |
भारतबाट विनोद मेहता (Vinod Mehta), अमिश त्रिपाठी (Amish Tripathi), अद्भैता कला (Advaita Kala), मनप्रसाद सुब्बा (Manprasad Subba) गरी चर्चित लेखकहरूको उपस्थितिले भर्खरै सकिएको महोत्सवको प्राणमा सुरम्य वायु भरिदियो । देशको कला र साहित्यको सम्बद्र्धनमा आफैँ बढी खट्नुपर्ने सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमै नीजि स्तरबाट युवाहरूले महोत्सव गराए । सरकारी निकायको निष्कृय शैलीलाई यसले गतिलो चुनौती दियो । यसले प्रतिष्ठानलाई बेस्सरी झस्काएकै हुनुपर्छ । साहित्यलगायत अर्थशास्त्र, समाजशास्त्र, कुटनीति, इतिहास जस्ता विषयमा भएका गम्भीर बहसले गतिलो प्रजातान्त्रिक परिपाटीको शक्तिबारे हामीलाई धेरै कुरा सिकाए । यसलगत्तै दुई महिनापछि काठमाण्डौँ लिटरेरी जात्राको दोस्रो संस्करण पनि हुँदैछ । त्यसमा पनि कैयौँ लेखकहरूको सहभागिता रहने छ । नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेन भनी डाँको छोडेर रुने हामीलाई यस्ता मेलाले पहिला आफ्नो सक्षमता जाँच्न सिकाउँछन् । दक्षिण एसियाका प्रत्येक मुलुकमा दर्जन बढी साहित्य महोत्सव भैरहँदा हामीले चाहिँ मानिसहरूलाई पुस्तक पढ्ने लत बसाल्ने उपाय अवलम्बन गरिरहेका छौँ । मान्छेहरूलाई कसरी हुन्छ पुस्तकको स्वादीलो रस चखाउने अनि उनीहरूलाई विस्तारै किताबी किरो बनाउने ! अचेलका केही पत्रपत्रिकाका कभर स्टोरीहरूमा सिनेमाका हिरो÷हिरोइन आकर्षक मुद्रामा पुस्तक पढिरहेका देखिन्छन् । आम मानिसहरूको आइडियल भएर बाँचेका ती पात्रलाई अगाडि सारेरै भएपनि पुस्तकको लत बसालिदिने परम्परा राम्रै मान्न सकिन्छ । यसले मानिसमा पुस्तकको क्रेज आफसेआफ जबरजस्त बनाइरहेको छ ।