Friday, July 30, 2010

Reading Culture

Here is an article published in Gorkhapatra National daily, today; issued on reading and academic culture among youths.
पुस्तकमा रमाउँदै
–CP Aryal (सिपी अर्याल)
युगले नै सजिलो पारिदिएकोले हो, आजकालका युवाहरू प्राज्ञिक काममा निकै नै उत्साहित भएर लागेका छन्। हामीबीच ग्लोबल संस्कृति छ। नोबल, बुकर वा पुलिट्जर पुरस्कार बाजि मारेको पुस्तक पढ्न एक सेकेन्ड कुर्नु नपर्ने भैसकेको छ। यो ग्लोबलाइजेसनको बतासले मानिसलाई पुस्तक पढ्ने, आर्ट बेस्ड मुभी वा डकुमेन्ट्रि हेर्ने आदि कुराहरूमा बाध्य पारेको छ। जुन आफैँमा राम्रो पक्ष हो। 

सिके लालको नाटक 'सपनाको साबिती' हेर्न गुरुकुल पुगेको थिएँ। प्लस टु पुस्ताको लाग्ने एउटा युवा गुरुकुल परिसरमा देखेँ। रूपक पराजुली नामको उसँग गफिन मन लाग्यो। नाटक हेर्न उसलाई केले तान्दो रैछ त? पहिले–पहिले उसलाई जिन्दगी भन्नु मोज मस्ति हो भन्ने लाग्दो रहेछ। पछि पढन्ते साथीहरूको संगतले कृष्णचन्द्रसिंह प्रधानले 'जीवन बाँच्नु हो तर उमेरले होइन' भनेजस्तै उसलाई उमेरले मात्र जिन्दगी बाँच्न मन लागेन रे! यी एकजनाले भलै नेपालका सबै प्लस टु पुस्ताका युवालाई प्रतिनिधित्व त गर्दैनन् तर आस गर्ने ठाउँ हामीसँग धेरै छ। युवाहरू निकै सचेत छन् अचल अध्ययनको मामलामा। बाहिरी आवरणमा फरक देखिने तर भित्रि आवरण भने खुबै पढन्ते खालको! पढ्न सुरु गर्दा रूपकलाई 'पागलवस्ति' उपन्यास खुबै जटिल लागेको रहेछ। उनले आफू जस्तै युवाको कथा बोक्ने फिक्सनल पुस्तकहरू पढ्न मन गर्ने रहेछन्। चेतन भगतलाई आफ्नो आदर्श लेखक मान्ने रूपकले भगतका सबै सिरिज पढि सिध्याएछन्। र अहिले 'भेरोनिका डिसाइड्स टु डाई' पढ्ने तर्खरमा रहेछन्। पढ्ने बाहेक उनलाई आर्ट बेस्ड मुभी हेर्न पनि खुबै मनपर्छ।
 
पुस्तक प्रकाशन गृहहरू पनि पठन संस्कृतिलाई टेवा दिन क्याटालिस्ट बनिरहेका छन्। हामीकहाँका राम्रा पब्लिसिङ हाउसहरूले पनि गुणस्तरमा ध्यान दिँदै राम्रा पुस्तक प्रकाशन गरिरहेका छन्। यस्तो पब्लिसिङ कार्यमा पनि अचल युवा जमातकै बाहुल्यता देखिन्छ। नयाँ लेखक तथा नयाँ विषयवस्तुलाई ठाउँ दिने अभिप्रायका साथ खोलिएका यस्ता प्रकाशन गृहले राम्रो काम गरिरहेका छन्।
 
अर्किड बुक्स चलाइरहेका महेश्वर आचार्य आफैँ पनि राम्रो उर्जा भएका युवा हुन्। उनले आफ्नो प्रकाशनगृहबाट एक असफल आख्यानको आरम्भ, पहिलो प्रेमको संस्मरण, क्यापिटल हिल, अकल्पनीय लगायतका पुस्तक प्रकाशन गरिसकेका छन् जसले राम्रो चर्चा बटुल्यो। भर्खरै पारिजातको विश्वचर्चित कृति शिरिषको फूलको अंग्रेजी अनुवाद बजारमा आएको छ, अर्किडबाट। महेश्वर भन्छन् 'शिरिषको फूल'को अंग्रेजी अनुवाद 'द ब्लू मिमोशा' प्रकाशित गर्नु अचेलका युवाको सो पुस्तक अंग्रेजीमै पढ्ने चाहनालाई पूरा गर्नु नै हो। नेपाली भन्दा अंग्रेजीमै पढ्न रुचाउनेका इच्छा पूरा गर्न यो पुस्तक पक्कै पनि सहयोगी होला।' उनकाअनुसार अचेल युवामाझ पढ्ने कल्चरको अति नै विकास भएको त होइन तर पहिला भन्दा यो स्थिति त सुधि्रएको भने हो। महेश्वर अहिले युवा लेखिका शिवानी सिंह थारुको उपन्यास काठमाडौँमा एक दिन प्रकाशन गर्ने चटारोमा छन्।
 
पुस्तक पढ्ने संस्कृति बढाउन मिडियाले खुबै बल पुर्‍याइरहेको छ। पुस्तकको प्रचार प्रसार अचेल होर्डिङ बोर्ड लगाएर गरिन्छ, तरकारी बजार, मासु पसल वा डिपार्टमेन्ट स्टोरमा पोस्टर टाँसेर गरिन्छ। जता गए पनि पुस्तककै चर्चा! पुस्तकमा अपडेट नहुनेहरू त आफ्नो ग्रुपमा घोसेमुन्टो लाएर बस्नु पर्ने हुन्छ। अनि कोही कसरी अपडेट नहोस्?
 
ऋचा भट्टराई अहिलेको छापामा छाइरहेकी कुशल समालोचक हुन्। उनी अंग्रेजी र नेपालीमा उत्तिकै शिल्पसाथ लेख्ने क्षमता भएकी युवा लेखिका हुन्। हामीकहाँ नाटकको क्षेत्रमा पनि युवाको राम्रो सहभागिता छ। नाट्यकर्मि सुमन रायमाझी, गोपिकेश आचार्य, खगेन्द्र लामिछाने तथा भवसागर घिमिरे नेपाली नाटकको क्षेत्रमा राम्रो गरिरहेका युवाहरू हुन्। अजित बराल अर्का एक सशक्त युवा लेखक तथा प्रकाशक हुन्। उनले आफ्नो प्रकाशन गृह फाइन प्रिन्टबाट गुणस्तरयुक्त पुस्तकहरू निकाल्ने गरेका छन्। फाइन प्रिन्ट अहिले युवामाझ गनिएका युवा लेखक बुद्धिसागर चपाईँको उपन्यास निकाल्ने अन्तिम सुरसारमा छ। अजितले आफू र आफ्ना केही साथीहरूले महिनाभरि पढेको पुस्तकको ज्ञान एक अर्कालाई शेयर गर्ने उद्देश्यले प्रत्येक महिनाको अन्तिम शनिवार एउटा अनौपचारिक कार्यक्रम नै गर्ने गरेका छन्।
 
यसबाहेक आर्ट बेस्ड मुभी तथा डकुमेन्ट्रि फिल्मको क्षेत्रमा राम्रो काम गरिरहेका अर्का युवा बलबहादुर थापा हुन्। अनि अनुसन्धान लेखनमा मजैले जमेका युवा सफल घिमिरेको खातामा उनैले सम्पादन, अनुवाद गरेको र लेखेको गरी ८ वटा पुस्तक उनको लेखन तथा सहलेखनमा बजारमा आइसकेको छ। सफलका अनुसार अबको एकेडमिक धार युवाले नै नेतृत्व गर्नु पर्छ। कपाल फुलेका पाकाहरूलाई हाम्रै समूहले चाँडै नै विश्राम गराउने उनको कथन छ।
 
अहिलेको युवामा यसरी जागृत भएको उर्जा देख्दा सम्भावनाका धेरै ढोकाहरू हाम्रै लागि आफसेआफ खोलिएको देख्न सक्छौँ हामी। नेपाली साहित्य, नाटक, समालोचना तथा अनुसन्धान जस्ता प्राज्ञिक क्षेत्रमा सबल युवाहरूको पसिनाले माटो मलिलो पारिरहेको छ। त्यस माटोबाट राम्रो बाली भित्रिने कुरामा हामी केही सजिलो हुने ठाउँ तयार हुँदै गएको देखिन्छ।

अंग्रेजी साहित्यमा एमए सक्नै थालेका धिरन शर्माले विद्यार्थीकाल भरी थुप्रै पुस्तक पढे। उनलाई जस्टिन गार्डरको सोफिज् वर्ल्ड उपन्यासले जत्तिको अन्य कुनै पनि पुस्तकले प्रभाव पारेको छैन। के छ त पुस्तकमा? प्राचिन ग्रिकको बाइबल आधारित सभ्यता देखि विज्ञानको बिग ब्याङ थ्योरीसम्मको ज्ञान समावेश गरिएको यो उपन्यास पश्चिमा दर्शन तथा इतिहास ज्ञानको कोलाज हो। यसैगरी मानवशास्त्रमा स्नातकोत्तर सकेका पोखरेली युवा विजय पौडेलको रोजाईमा फिक्सनमा 'अलकेमिस्ट' जस्ता पुस्तक भने नन फिक्सनमा 'फ्याटलिजम एन्ड डेभलपमन्ट' जस्ता पुस्तक पर्छन्। उनको जस्तै हजारौँ युवाको रोजाइको पुस्तक 'अलकेमिस्ट'को कथा निकै सामान्य छ। एउटा गरिब भेँडागोठालोको कथा बोक्ने कोहेलेको यो पुस्तक युवाको रोजाइमा पर्नुको कारण भने एउटै छ, त्यो हो यसमा भएको प्रमुख पात्र स्यान्टियागोको आशावादि आँखा, उत्साह, जोश, जाँगर र कर्मशिलता। आफ्नो इलमको कारण विजयले जर्नल लेखहरू तथा अनुसन्धान सम्बन्धित पुस्तकहरू धेरै पढ्ने गरेका छन्। एउटा आर्थिक पत्रिकामा कार्टुनिस्टको काम गर्ने एक स्वप्निल द्रस्टा युवराज भट्टराईको लागि विश्व संस्कृतिको ज्ञान भएका पुस्तक पहिलो रोजाइमा पर्छन्। युवराजलाई सबैभन्दा बढी मन पर्ने पुस्तक 'अ हिस्ट्री अफ नलेज' हो जुन उनले चार पटक पढिसिध्याए। 

यसबाहेक काठमाण्डौँका प्रमुख पुस्तक प्रकाशक तथा विक्रेताहरूका अनुसार तिनको पुस्तक पसलका ग्राहक भनेका विशेष गरी युवाहरू नै हुन्। गैर नेपाली लेखकले लेखेका अंग्रेजी पुस्तकहरू ती युवाहरूको पहिलो रोजाइमा पर्छन् रे। अंग्रेजीमा लेख्ने सम्राट उपाध्याय र मन्जुश्री थापाका पुस्तक किन्न आउने पनि थुप्रै छन्। अझ विश्वका प्रतिष्ठित पत्रिकाले निकाल्ने बेस्टसेलर लिस्टमा परेका पुस्तक खोज्न आउने पनि थुप्रै हुन्छन्। यी विक्रेताहरूका अनुसार नेपालमा पुस्तक पढ्ने संस्कृति बढाउन नियमीत रूपमा पुस्तक प्रदर्शनी गर्नु पर्छ।

Thursday, July 29, 2010

A drama review

A drama (Performed in Gurukul) review published in Gorkhapatra National Daily dated 2010 February 26.

-नाटक समीक्षा
दुखेको फोटो 
-CP Aryal (सिपी अर्याल)


कुरा हो, गुरुकुलमा प्रदर्शन भैरहेको नाटक पानीफोटो बारे।

नाटकमा कतिखेरै नदेखिने एउटा पात्र छ, हरि। ऊ नाटकको नायक हो। उसकै वरिपरी अरू पात्र रुमल्लिन्छन्, दर्शक रुमल्लिन्छन् र लेखकले पनि आफ्नो कलमलाई त्यही हरिभन्दा अन्तको विस्मृतिमा मोडिन दिएका छैनन्। यो उनको खुबी हो।


नाटकको कथानक यस्तो छ – कुशबहादुर र छलिमायाको छोरो हरि, द्वन्द्वकालमा बेपत्ता पारिएको हो (तर कसले बेपत्ता पारेका हुन्? सेना? माओवादी? केही खुलाइएको छ्रैन।)। घरमा छोरोको सम्झना मेट्ने/ताजा बनाउने एउटा तस्विर छ। बा आमाले घरको ढोका मास्तिर उही फोटो झुन्ड्याएका छन्। तस्विरले घरिघरि ती बुढा बा आमालाई टोकिरहन्छ। छोराको सम्झनाले तिनको मन अँठ्याइरहन्छ। बेपत्ता पारिएका नागरिक परिवारलाई डकुमेन्ट्री मेकर र नेताहरूले कसरी ललिपप देखाउँछन् त्यो पनि राम्ररी देखाइएको छ नाटकमा। कुशबहादुर र छलिमाया वाक्क छन् तिनीहरूबाट। त्यसैले उनीहरूले ती ललिपप सोवरसँग प्लेकार्ड संवाद गर्छ्रन्। गाउँमा हरिको साथीको बिहेको धुन बज्छ। यता हरिका बाआमाको मनको सारङ्गीले विरह गाउँछ। कुशबहादुर छोरोको साथीको बिहेको जन्ति जाने मन पनि गर्दैनन्। सँगै उनले हरिको बालसखी, राधाको बिहेको कुरा पनि थाहा पाउँछन्। बिचरा गर्न पो के सकून् र! राधालाई हल्का व्यङ्ग्य मात्र गर्छन्, आँशु बगाएरै। नाटक यसरी नै बग्दै गएको छ।

कुशबहादुर अलि रिसाहा स्वभावका छन्। श्रीमतीसँग उनी उत्तिखेरै रिसाउँछन् उत्तिखेरै रमाइला हुन्छन्। हामी मान्न सक्छौँ, बुढेसकालको आड छोरो हराएपछि बिथोलीएका हुन् कि उनी? हरि र उसकी दाँवली राधाको बालप्रेम दर्शकले देख्न त पाउँदैनन् तर अनुभवचाहिँ के गर्छन् भने उनीहरूको प्रेम भएको हुनुपर्छ। हरि हराएको कथाले बाबुआमाको मन बाहेक एउटी प्रेमिकाको मन कसरी कुँडीन्छ त्यो पनि झल्काएको छ कथानकले।
प्रत्येक तिहारमा एउटी दिदीको आँशुले हराएको भाइलाई कति बोलाउँदा हुन! तिहारमा भाइको निधारको अभाव उहि एउटा फोटोले मेट्न खोज्छीन् दिदी कमला।

हरिकी आमाले फोटोलाई जतन गर्ने उद्देश्यले फोटो बाकसमा हाली राख्ने सल्लाह गरेकी थिइन्। उतिखेर कुशबहादुर मान्दैनन्। अन्तिममा त्यही एउटा सम्झना पनि मेटिन्छ। राधा र हरिको फोटो एकैदिन हराँउछन्। नाटक सकिन्छ।

फोटो फेरि बनाउन विचरा बा आमासँग पानीफोटो पनि छैन। अन्तिममा छोरोको सम्झनाको उहि एउटा घिट्घिटी पनि खोसिन्छ, उनीहरूबाट। यसअर्थमा, नाटकले ट्रेजेडीको अर्ग्याजम पनि पार गरेको छ!
“कसले लगेको हुनुपर्छ फोटो?” दर्शक यहि अड्कल काट्दै गुरुकुल परिसरबाट ओरालो लागिसक्छन्।
यति भनिसकेपछि त नाटकले द्वन्द्वकालमा आफन्त गुमाएकाको पिडाको झल्को दिएको कुरालाई दोहोर्‍याउनु आवश्यक देख्दीनँ।

हामीले 'नेगेटीभ' भनेर बुझ्ने शब्द गाउँघरतिर पानीफोटो भनिदोँ रहेछ। नाटकबाटै थाहा पाएँ। नाटकको शिर्षक पनि निकै राम्रो लाग्यो।

खगेन्द्रले नाटकमा आफूले निभाएको भूमिकाको पूर्ण कदर गरेका छन्। उनको लेखनशैलि तारिफयोग्य छ। निर्देशनमा खोट लगाउने ठाउँ देखिनँ। दर्शकलाई उत्तिखेरै खितिति हँसाउन र थाहै नपाई आँसुमा डुबाउन सफल छन् उनी। यी लेखकको भाषाप्रयोग निकै उत्कृष्ट लाग्छ। उनका लेखाइमा पढेका र (रेडियो)नाटकमा सुनेका भाषाले नै मलाई नाटक हेर्न गुरुकुल डोर्‍याएको हो। गाउँकै ठेट भाषा प्रयोग गरिएको छ।

नाटकका सबै पात्रले सजिलै गाउँको लवज पक्रन सकेको देखिनँ। कुशबहादुरको भूमिकामा देखिएका राजकुमार पुडासैनीले राम्रो गरेका छन् तर अरुणा कार्की, जो छलिमाया बनेकी छन्, अभिनयमा त खरो उत्रिएकी छन् तर संवाद उच्चारणमा उति राम्रो गरेकी छैनन्। हरिकी दिदी कमलाको भूमिका निभाएकी सरिता गिरीको पनि संवाद शिल्प उति उत्कृष्ट देखिँदैन। निशा शर्माले भेषभूषाको रूपाङ्कन राम्रै गरेकी छन्। स्टेज व्यवस्थापनमा भोलाराज सापकोटाले अझ मिहिनेत गर्न सक्थे। गाउँमा प्रयोग हुने सामग्रीहरू–ढिकी, जाँतो, मोइ पार्ने ठेकी, नारा, जोतारो, तुलसीको मठ आदि लगायतका सामान स्टेजमा थपिएको भए गाउँको तिर्सना अझ मेटिन सक्थ्यो, दर्शकको। सुनिल पोख्रेलको प्रकाश व्यवस्थापन राम्रो छ।

समग्रमा, नाटकले रिमाल नाटक घरलाई खचाखच भिडले भर्ने सामर्थ्यचाहिँ राम्रो बोकेको छ ।
(तस्विरस्रोत : गुरुकुल)


सरी !

ठमेल आज सुनसान देखिन्थ्यो । के भएछ ठमेललाई ? को जानोस् !

गोजीमा फोन बज्यो । रश्मीले सुन्धारा बोलाई । ऊसँग मेरो तेस्रो भेट हुँदै थियो । दोस्रो भेटमा उसले मबारे धेरै थाहा पाई । ऊ भारतीय ठिटी । उमन स्टडिज्मा भारतबाट भर्खरै स्नातक सकेकी । आफ्नो बारे अन्य कुरा खासै खुलाइन । मैले एमफिल अनुसन्धान गर्दै गरेको सुनाएँ । मेरो अनुसन्धान शीर्षक सुनेपछि ऊ हाैसिई । र अनुसन्धानमा सहयोग गर्ने बाचा गरी । ऊ गम्भीर देखिन्थी ।

त्यसदिन हामी छलफल गर्ने योजनामा थियौं । सुनधाराको कुनै लजमा रातै बिताउने आग्रह थियो उसको । म अचम्ममा परें ।

म ठमेलबाट हिँड्दै इन्द्रचोक पुगें । मानिसहरू हतारमा थिए । साँझको बेला, कोही अफिसको तनाव मुक्तिले होला, फुर्तिला देखिन्थे । कसैको अनुहार उनीहरूकै माथि असरल्ल परेको बादलसँग ठ्याक्कै मिलेको । पानी पर्नै लागेको थियो । बाटाका मसिना कुरामा मेरा आँखा जान्थे । तर आज फाट्टफुट्ट बाहेकका कुरामा मन गएन । न्युरोड भीडभाड थियो । त्यही भीडबीच एउटा माग्ने देखें । 'ओहो यो मानिस... च्व ! च्व ! च्व !' मनबाट मसिनो आवाज आयो । खुट्टाभर पट्टी बाँधेको । घाउ होला । यस्तालाई नै किन दुःख दिन्छ यो काल्पनिकतामा हुर्किएको भगवानले ? उसले भुइँमा बिछ्याएको टालोमा पाँच रुपैयाँ राखिदिएँ । न्युरोड गेटतिर पुगिसक्दा पानी दर्कियो । न्युरोडको त्यही जीर्ण गेटले ओत दियो । सुकिला देखिने मानिसहरू पनि त्यो गेटको काखमा लुटपुटिए । भर्खरै पाँच रुपैयाँ दिएको माग्नेमाथि फेर िआँखा पर्‍यो । ओहो ! उसको घाउ त बनावटी पो ? उसले खुट्टामा लगाएका पट्टी खुरुखुरु खोल्यो । थाङ्नाथुङ्नी बटुली ऊ दगुर्‍यो । साउने झरीले खेद्दा उसको बेग चाहिँ मुसलधारे पानीको बेगभन्दा कम थिएन । ओहो ! ऊ त मै नजिक पो आयो । उसलाई एक निमेष हेरें । उसले पनि मलाई देख्यो । वाल्ल पर्‍यो । हूल पन्छाउँदै ऊ दगुर्‍यो । सायद आफूले दिनभरी मानिसहरूलाई झुक्याएको कुराले ग्लानि भयो कि ? तर त्यति नगरी पेटमा अन्न कसरी बुझाओस् ।

आफ्नो स्वार्थ पूरा गर्न अरूको ढाडमा टेकी टाउकोमा प्रहार नगर्ने को छ ? जो पनि गर्छ । ऊ रुझ्दै पर पुग्यो ।
भर्खरै मोटरसाइकलबाट झरेर एक जोडी लिछिप्पै भिजेको शरीरसहित उही गेटमुनि ओत लागे । युवक कपडामा लागेको हिलो सफा गर्दै थियो । युवती आफ्नो भिजेको कपाल खोल्दै थिई । कस्ती टम्म भरीएकी । जवानीको पूणार्वस्था । उफ्...उसले त मैले चोरेर हेरेको थाहा पाइछ । आँखा हटाएँ । युवकसँग ऊ टाँस्सिई । मैले हेरेको चाल पाइसकेकी उसले युवकलाई आफ्नो ज्यानै सुम्पिएर अनेक गर्न थाली । वरपिरकिा मानिसको मतलब भएन ती दुवैलाई । ऊ बेलाबेला मतिर बैंसालु आँखा भने सोझ्याउँथी । अलिक बेरपछि पानी रोकियो । ती जोडी पनि हिँडे । म पनि हिँडें सुनधारातिर ।

ऊ समयमै आइपुगी । ठूला आकारका तिखा आँखा भएकी ऊ भर्खर बीस लागेकी हुँदी हो । युवतीको उमेर को सोधोस् ! हामी मुस्कुरायौं, भेट्नासाथ । टहल्दै लज खोज्न थाल्यौं । यसअघि निकै कम बोल्ने ऊ आज धेरै फतफताई । मलाई उति बोल्न मन लागेन । भारतीय हिन्दु संस्कृतिमा यौन दृष्टिकोण र खुला यौन बजारबारे धेरैथोक भनी । सोचाइ फराकिलो देखिन्थ्यो । मेरो अनुसन्धान सम्बन्धित कुरा भएकाले पनि उसलाई धेरै सुनें । निकै अध्ययनशील केटी रहिछ । चुरोट खाइरहनुपर्ने उसलाई ।

'मलाई उसले रातै बिताउने गरी किन बोलाएकी ?' सोध्ने मन त थियो तर खुला संस्कृतिमा हुर्केकी ऊसँग यसबारे सोध्ने आँटै आएन । के नै पो हुन्छ र ? मेरो मन चोखो छ क्यारे !
Googled image


साँझको आठतिर हामी लज पस्यौं । यो केटीले फेरि चुरोट सल्काई । मलाई धुवाँले सकस हुने ।

'आज म बढी चुरोट पिउँदै छु । ठूलै कुरा प्राप्त भएजस्तो लाग्दै छ ।'

के कुरा पाएकी हो, ऊ खुलिन । कलिला ओठबाट चुरोटको विषालु धुवाँ बाहिर निकाल्दै हल्का सासमा ऊ बोली । उसले ह्विस्की मगाई । नखाऔं भनेको थिएँ । जिद्दी गरी । बिस्तारै नशाले छोयो । मलाई रक्सीले चाँडै चिन्थ्यो ।


'सेक्स परसेप्सन इन् हिन्दु उमन'बारेको शीर्षकमा छलफल गर्न रश्मीलाई भनें ।

'केही सोधूँ ?'

ल ! ऊ त बेस्मारी हाँसी । मुटु नै फुट्ने गरी किन हाँस्नुपरेको ? हाँस्दा हाँस्दै मलाई गम्लङ्ग अँगालेर आफ्नो शरीर सुम्पी । दुवैलाई रमरम मात थियो...

बिहान ब्युँझिएपछि रश्मीले लाज मानी । ऊ बाथरुम छिरी । फ्रेस भएपछि कफी पिउन थाल्यौं । ऊ बिहानदेखि मुसुमुसु हाँस्दै थिई । किन हाँसेकी होली ? ऊ राम्रो नेपाली बोल्न जान्दिनथी ।

'तपाईँको उद्देश्य कत्तिको पूरा भो थाहा छैन । तर मैले आफ्नो उद्देश्य पक्कै पूरा गरें ।'

सोफामा बस्दै बोल्न थाली रश्मी । मैले उसको कुरै बुझिनँ ।

'म धनी बाबुकी छोरी । मेरो बाबु फ्रान्स बस्थ्यो । वर्षौंमा घर आउँथ्यो । दुई- चार दिन बस्नेगरी...' 

ऊबारे आज नयाँ कुरा जान्दै थिएँ । म मुग्ध भई उसलाई सुन्न थालें ।

'...केही हप्ता बाबु आउँदा ममी र म खुसी हुन्थ्यौं । तर अफसोच, अन्त्यमा उसले ममी र म दुवैलाई निरीह बनाई छोड्यो । बाबु एचआईभी सङ्क्रमित रहेछ । ममीलाई पनि भारी बोकायो । मैले एकपटक दुर्घटनामा पर्दा ममीबाट रगत लिएकी थिएँ । त्यति बेला ममीको सङ्क्रमण त के बाबुको पनि थाहा थिएन हामीलाई । ममी अचानक बिरामी पर्नुभयो । रगत चेक गर्दा मात्र थाहा भो, एचआईभी पोजेटिभ हामी दुवैलाई आक्रमण गर्दै थियो...'

मैले आँखा देख्न छाडें । शरीर आफैँलाई भारी लाग्यो ।

'...र अहिले पापी बाबु त मर्‍यो तर ममी र म मृत्यु पर्खँदै छौं । बाबुप्रतिको घृणाले म संसारका सबै पुरुषलाई पापी देख्छु । त्यसैले म नमरुन्जेल मेरो एचआईभी धेरै पुरुषलाई सार्न चाहन्छु । आई एम सो सरी !'

रश्मी बाहिरीइ। मेरो शरीरमा मृत्युका तरङ्ग फनफनि नाच्न थाले । ढोका खुलै थियो । काठमाडौंको चिसो हावाको झोंक्काले आक्रमण गर्न थाल्यो मलाई ।


-CP Aryal (सिपी अर्याल)


(Published in Kantipur-Kosheli dated 2066 Ashoj 3 Saturday)

अक्षरकि आर्किटेक्ट

-CP Aryal (सिपीअर्याल)

क्रिस्चियन आमा तथा हिन्दु/बंगाली बाबुबाट सन् १९६१ मा भारतको केरलामा जन्मिएकी अरुन्धती रोयको  (Arundhati Roy) पाँच फुट दुई इन्चको सानो कद छ। तर उनको बौद्धिकताको कद भने ठूलो छ। 



बाबुआमाको असफल दाम्पत्य जीवनको कारण उनले अयेमेनेममा आमासँग बाल्यकाल बिताउनु पर्‍यो। बाल अवस्थामै पनि उनी बाबुआमाको असफल दाम्पत्यको कारण आफूलाई केही असुरक्षित महसुस गर्थिन्। छेउमा आमा बाहेक कोही हुन्थेनन्। आफ्नो त्यो बाल संसारसँग सम्झौता गर्न सधैँ नै दृढ हुन्थिन् अरुन्धती।

आफ्ना बाल्यकालका प्रभाव उनका लेखनीहरूमा (सारांशात्मक वा संरचनात्मक रूपमा) प्रशस्त पाइन्छ।
रोयकी आमा आफैँ पनि एक सत्रृ्कय सामाजिक कार्यकर्ता थिइन्। उनले छोरी अरुन्धतीलाई एक स्वतन्त्र पाठशाला बनेर दीक्षित गरिन्। अरुन्धती दस वर्ष हुँदासम्म स्कुल गइनन्। त्यतिबेलासम्म उनकी आमा एउटी विद्यालय बनीन् भने छोरी अरुन्धती विद्यार्थी। यस्तो संसाथले अरुन्धतीको बाल मस्तिष्कमा बौद्धिकताको गुदी भरिदियो। उनी त्यसबेलादेखि नै लेख्न हौँसिन थालिन्।

अरुन्धती भन्छिन्, 'जब मैले लेख्छु मैले पुनर्लेखन कहिलेपनि गर्दीनँ। किनकि मेरो सोचाई र लेखाई एकै थोक हो। यो श्वाश लिने काम जस्तै हो, मेरो लागि। लेखाइमा मैले मेरो बौद्धिकता, मेरो अनुभव तथा मेरा विचार सबैको प्रयोग गर्छु। यो कुरा यदि कसैलाई मन पर्दैन भने उसलाई मेरो पित्ताशय मन नपरेजस्तै हो। यसमा म केही पनि गर्न सक्दिनँ।'

उनको लेखन शैलिमा उनी सानो हुँदाको समयले सांस्कृतिक रंग भरिदिन्छ। सधैँजसो। उनी भन्छिन् आफू जन्मिएको ठाउँ केरलामामात्र धार्मिक सहिष्णुता हुन्छ रे। जहाँ क्रिस्चियन, हिन्दु, तथा इस्लामीहरू मिलेर बसेका छन्। 'म हुर्कँदै गर्दा ती सबै संस्कृतिबारे राम्ररी अनुभव गर्थेँ जुन म अहिले पनि गर्छु। अहिले पनि केरलामा केही नराम्रो भएको मैले थाहा पाएँ भने मलाई बेस्सरी रुन मन लाग्छ।' उनी भन्छिन्। हुर्कँदै गर्दा गाउँमा मार्क्सवादको खुबै ठूलो दबदबा थियो। आन्दोलन आजै होला कि, अर्को हप्ता नै होला कि जस्तो!

उनी सोर्‍ह वर्षे उमेरमा घर छाडेर दिल्लि स्कुल अफ आर्किटेक्टमा भर्ना भइन्। घरको डिजाइन् गर्ने पढाई थालेकी अरुन्धतीलाई साहित्य र आर्किटेक्टमा समानता पो लाग्न थालेछ। उनले लेखन कला पनि घरको डिजाइन जस्तै हुने मान्छिन्। साहित्यलाई भाषाको ग्राफिक डिजाइन् ठान्ने उनलाई ठूला र आकर्षक घरको नक्सा बनाउने ध्याउन्नले भन्दा अक्षरले तान्न थाले। अनि अक्षरको खेलो गर्ने पेशा रोज्न मन लाग्यो। उनी अक्षरकी आर्किटेक्ट बन्ने बाटोतिर मोडिइन्।

पाठकले उनको लेखनशैलिको तारिफ गर्दा उनी 'म आफैँले कुनै कुरा लेख्ने होइन, त्यो त मेरा पात्रले जे अनुभव गर्छन् मैले त्यो कुरा टिप्ने मात्र हो! पाठकले पढ्ने कुरा भनेको पात्रको आफ्नै दृष्टिकोण हो।' भन्छिन्। अरुन्धतीले आफूलाई रुस्दीसँग दाँजीनुभन्दा फकनर वा मार्क ट्वाइन वा हार्पर एस लिसँग नजिक मान्न सकिने बताउँछिन्। 'ती साहित्यकार र मेरै लेखाइमा एउटै दृष्टिकोणको ल्यान्डस्केप हुन सक्ला' उनी अनुमान गर्छिन्।

लेखाइको सुरुको वर्षको सन् १९८४ तिर फिल्म निर्माता पतिलाई भेटीन्। टिभी सिरियलको कथा लेख्न थालिन्। असफलता हात लाग्यो। स्कि्रनप्लेतिर आकर्षित भइन्। तर कुनैले पनि सफलताको गाँस टक्राएन। दिमागमा उपन्यासको कथा फुर्न थाल्यो। अनि लेख्न थालिन् गड अफ स्मल थिङ्स्। पुस्तक प्रकाशित भयो सन् १९९७ मा। जुन उनको आत्मवृतान्त उपन्यास पनि मानिन्छ।

पुस्तक प्रकाशन पछि सम्पूर्ण हतियार पाठकलाई नै सुम्पीदिने कारण उनले आफ्नो पुस्तकबारे कहिल्यै प्रतिरक्षा गर्दिनन्। अचेल यी अक्षर आर्किटेक्टको चर्चा एउटी सफल उपन्यासकार भन्दा पनि सचेत अधिकारकर्मीको रूपमा मौलाएको छ। तर अरुन्धतीको कुरा गर्दा धेरै समय उनको पुस्तक गड अफ स्मल थिङ्स्को गर्नुपर्ने हुन्छ।

गड अफ स्मल थिङ्स्
अप्रिल १९९७ मा रेन्डम हाउसद्वारा प्रकाशित उनको उपन्यासले प्रकाशनको ६ महिनापछि नै प्रतिष्ठित बुकर पुरस्कार बाजि मार्‍यो। त्यस्तो प्रतिष्ठित पुरस्कार पाउने पहिलो भारतीय लेखिका बनिन् अरुन्धती।
गड अफ स्मल थिङ्स् अंग्रेजीमै लेख्नुपर्ने उनीसँग प्रशस्त कारणहरू छन्। भाषाको रोजाइ उनको लागि महत्वपूर्ण पनि भएन। उनका अनुसार अंग्रेजी कै कारण हामीले राम्रो जागिर वा राम्रो विश्वविद्यालयमा पढ्न पाउँछौँ। अझ, बेलायतमा भन्दा धेरै अंग्रेजी बोल्ने मानिस त भारतामा पो छन्! त्यसकारण अंग्रेजी त भारतमा बोलिने सजिलो र साझे भाषा हो रे, अरुन्धतीका अनुसार। सबै ठूला अनि चलेका पत्रपत्रिकाहरू पनि अंग्रेजीमै लेख्छन्।

उपन्यास सर्र बुझ्न खोज्दा कस्तो छ त? यसबारेको पहिलो कुरा : यो अरुन्धतीको अटोबायोग्राफिकल उपन्यास भएकोले लगभग सबै थोक उनको जीवनभित्रैको हो। अरुन्धती आफैँ जन्मिएको ठाउँ अयेमेनेमको एउटा परिवारको कथा छ यसमा। एउटा परिवारको वियोगान्त कथाको बाबजुद उपन्यासमा स्थानीय राजनीतिको पृष्ठभूमि, सामाजिक निषेध तथा इतिहासको चक्रबातको कुरा छ। कथामा लिनियरिटी छैन, बरु बहु दृष्टिकोणहरू छन्। यसले घटनाहरूको विविध झझल्को दिँदै जातीयतामा आधारित तात्कालीन भारतीय समाजको स्पष्ट रेखाचित्र खिचेको छ। यो पुस्तकले हाम्रा जीवनका स–साना चिजहरू कसरी स्थापित हुन्छन्? ती कुरा मानिसको व्यवहारमा कसरी अनुदित हुन्छन्? र जीवनलाई कसरी प्रभाव पार्छन्? भन्ने कुरा दर्शाइएको छ। भारतीय इतिहास र राजनीति, वर्ग सम्बन्ध तथा सांस्कृतिक समस्या, निषेधित प्रेम, सामाजिक विवेधका विषयहरू उठान गरिएको छ। यसमा अरुन्धतीको भाषा शिल्प अत्यन्तै बेजोड छ।
यो एउटै उपन्यासले अरुन्धतीका करोँडौ फ्यानहरू भए। ती फ्यानहरू उनको पुस्तक विनाको संसारै कल्पना पनि गर्न चाहँदैनन्। गड अफ स्मल थिङ्स्को वाहवाहीले अरुन्धतीलाई त रातारात सेलिब्रेटी पो बनायो त! उनले त्यस पहिलो उपन्यासमा रोजेको विषयले भने विवाद निम्त्यायो। रोयलाई पुस्तकको अन्तिम पाताहरू हटाउने दवाब दिनेहरू बढे। उनीहरूका अनुसार सो खण्ड अति नै लाजमर्दो र भद्दा भयो रे। अदालतमा मुद्दा पनि लाग्यो। उनले पुस्तकप्रति केही मानिसहरूको घृणा नैतिक भन्दा पनि राजनीतिक बन्यो भनिन्। पुस्तकमा जातियतावादका कुरालाई नराम्रो हो भन्न खोजेकी थिइन्। तर धार्मिक कट्टरपन्थिहरूले बुझे पो! आफ्नो व्यापक आलोचना भैरहँदा उनको प्रतिकृया यस्तो आयो, 'समालोचकहरूले कुनै नयाँ लेखक तिनीहरूको आँगनमा टुप्लुक्क झुल्किएको देख्न चाहँदैनन्। मलाई अहिले त्यस्तै भएको हो।' 

अरुन्धतीलाई यो उपन्यास लेख्न इन्सपायर गर्ने पहिलो कुरा भने आफ्नो जन्म थलोको आकास हो। यसबाहेक उनको थलोमा हुने गरेको मार्क्सवादी र्‍याली पनि हो। अरुन्धतीको लागि फिक्सन लेख्नु भनेको संसारलाई मनले अनुभव गर्ने काम हो। यसको लागि एउटा कुञ्जिको आवश्यकता पर्छ। कुञ्जि जोकोहीले भने सजिलै फेला पार्न सक्दैनन्। तर उनले केरलाको आकासमा त्यो कुञ्जि सजिलै भेटिन् । त्यसपछि उपन्यास लेख्ने कार्य उनको लागि एउटा अभिन्न अंग भयो। अरुन्धतीलाई उनकी आमाले भन्दि रैछन्, उपन्यासका केही घटनाहरू अरुन्धती दुई वर्षकी हुँदा घटेका थिए रे। जुन यी लेखिकाले सम्झन सक्ने कुरै भएन। तर यी लेखिका भन्छिन् 'मैले ती घटना सम्झन नसकेपनि त्यो मेरो मष्तिस्कको कुनै भागमा टपक्क टाँसिएका थिए।' यो उपन्यास २० राष्ट्रमा प्रकाशित भैसकेका छन्। विश्वका प्रतिष्ठित सबै पत्रपत्रिकामा कैयौँ हप्तासम्म उनको पुस्तकले 'हिट' र 'बेस्टसेलर'को लिस्ट ओगट्यो। भारतले आफू स्वतन्त्र भएको पचासौँ वर्षगाँठ मनाइरहेको बेला प्रकाशित उनको उपन्यासले पनि भारत कै स्वतन्त्रता दिवस जत्तिकै महत्व पाइरहेको थियो!

सन् २००७ को सुरुआतमा अरुन्धतीले नयाँ उपन्यास लेख्दै गरेको जानकारी दिएकी थिइन्।

उपन्यासबारे प्रख्यात समीक्षाहरू
लिदिया रोफेलले गड अफ स्मल थिङ्स्लाई व्यापक ऐतिहासिक वर्णानुक्रम मानेका छन्। जसमा इतिहासका विविध स्वरूपहरू, जस्तै पूर्व औपनिवेशिक र औपनिवेशपछिका ब्रिटीस साम्राज्यको हिन्दु तथा क्रिस्चियन समयका विविध खण्डको चर्चा छ। यसमा भारतीय तथा पश्चिमी संस्कृतिको चर्चा र सांस्कृतिक हाइब्रिडिटीको मिथ समावेश भएको उनी मान्छन्। न्यूयोर्क टाइम्स बुक रिभ्यूले अत्यन्त असाधारण उपन्यासको दर्जा दियो। लस एन्जलस टाइम्सले स्मरणयोग्य तथा तिक्ष्णताको वेगको उपन्यासको दर्जा दियो। यसैगरी टोरन्टो टाइम्सले उत्कृष्ट, जादुगरी उपन्यासको स्थान दियो। यसबाहेक भारतका केही समीक्षकले उनको उपन्यासलाई नकारात्मक भाव फैलाएको भनी आरोप लगाए।

अरुन्धती एउटी सचेत अधिकारकर्मी
 गड अफ स्मल थिङ्स्को प्रकाशन पछिका वर्षहरूमा उनले भारतले झेलिरहेको विविध समस्याका कुरामा गैर आख्यान तथा राजनीतिक सवालमा काम गर्न थालीन्, एउटी अधिकारकर्मी भएर। अरुन्धतीको खुबी सशक्त निबन्ध लेखन पनि हो। उनले राजनीतिक तथा सामाजिक सवालहरूमा थुप्रै घतलाग्दा लेखहरू प्रकाशित गरेकी छन्। उनी एउटी उपन्यासकार भन्दा एउटी सचेत अधिकारकर्मी भएर काम थालीन्। भारतका जल्दा–बल्दा समस्यामा विश्वका ठूला–ठूला अखबारहरूमा कडा आलोचना अनि विचार सहित लेखहरू लेख्न् थालिन्। केहीले उनलाई अत्यन्त लोकप्रिय बनाइरहेका छन् भने केहीले उनलाई विवादको चरमचुलीमा धकेल्छन्। उनले अमेरिका जस्तो सुपरपावरले निहत्था राष्ट्रमाथि प्रयोग गर्ने शक्तिको सधैँ खुलेर आलोचना गर्छिन्। युद्धविरोधि अरुन्धती इराक र अफगानिस्तान ध्वस्त पारेको अमेरिकी बुस प्रशासन विरुद्ध सधैँ अक्षरमार्फत् जाइलागीरहन्छिन्। ओबामालाई नोबल शान्ति पुरस्कार दिएर विश्वले 'युद्धको योग्यता दर्शाएको' ठोकुवा गर्छिन् अरुन्धती। उनी भन्छिन् 'कुनै पनि कुराले आतंकवादलाई पुष्टि गर्न सक्दैन!' सन् २००८ को मुम्बै हमला कास्मीर र भारतीय मुस्लिममाथिको आर्थिक असमानताको कारण भएको उनले टिप्पणी गरिन्। सन् २००९ मा उनको निबन्ध संग्रह 'फिल्ड नोट्स अन डेमोक्रेसी : लिसनीङ् टु ग्रास हप्पर' प्रकाशित भयो जुन विभिन्न लेख तथा भाषणमा प्रस्तुत भएकी अरुन्धतीको विचारको संगालो हो। यसमा उनले 'भारतीय शैलीको डेमोक्रेसी, डेमोक्रेसी नभएर डेमन क्रेजी' भएको सशक्त प्रतिकृया दिएकी छन्। उनको यस्तो विश्लेषणले त्यतीबेलाको संचार तथा राजनीतिक जगतमा खुबै तहल्का पिटेको थियो। यस पुस्तकका पानामा अरुन्धती विशेषतः लोकतन्त्रको खोल ओढेको भारतीय राजनीतिक नाटक विरुद्ध खनिएकी छन्। मार्च २०१०मा वाकिङ विथ द कम्रेड्स शिर्षकको उनको लेख छापियो भारतीय अखबार आउटलुकमा। यो लेख उनले दन्तेवडाको फिल्ड भिजिट गरी तयार पारेकी हुन्। युद्धको रंगमंच भारतको जंगली इलाकामा छेडिएपनि यसको दुःखदायी र खतरनाक असर भने सबैमा पर्छ भन्छिन् उनी। सो युद्धको एउटा पाटोमा उदाउँदो सुपरपावरको प्यारामिलिटरी फोर्स, मोटो रकम र प्रचारवाजी गर्ने मिडिया छ र त्यसैको अर्को पट्टी परम्परागत हतियार बोक्दै विद्रोहको इतिहास काँधमा सिउरेर भिड्न तयार गुरिल्लाहरू छन्। भारतले ती निमुखालाई 'मूलधारमा ल्याउने' र 'विकासको फल चखाउने' ललिपप त देखायो तर उनीहरू सधैँ ठगिए मात्र। भारतको माओवादी विद्रोह यीनै कारणले मौलाएको मान्छिन् अरुन्धती। उनी एन्टि ग्लोबलाइजेसन/अल्टर ग्लोबलाइजेसनको प्रमुख आवाज र नव साम्राज्यवादको कट्टर आलोचक पनि भइन्।

सन् २००३को जनवरीमा प्रकाशित उनको लेख कन्फ्रन्टिङ् एम्पायर मा उनले साम्राज्य भनेको अमेरिकी सरकार, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व ब्यापार संगठन हो वा अन्य कुनै थोक? यस प्रश्नको उत्तर उनले सो लेखमा दिन खोजेकी छन्। साथै उनले अनियन्त्रित खुला बजारले राष्ट्रिय सम्प्रभुतालाई धमास दिने होइन कि प्रजातन्त्र विरुद्ध नै खोइरो खन्ने जनाएकी छन्। सामाजिक अभियानको कार्यकर्ता भएको र गैर हिंसाको प्रवर्धन गरेकोमा उनलाई सन् २००४ मा सिड्नी पिस प्राइजद्वारा सम्मानित गरियो। यसैगरी सन् २००६ मा उनलाई उनको निबन्ध संग्रह द अलजेब्रा अफ इन्फाइनाइट जस्टिसको लागि साहित्य अकादमी पुरस्कारद्वारा सम्मान गरियो जुन उनले अस्विकार गरिन्। अस्विकार गर्ने कारण थियो : औद्योगिक कामदारमाथि भारतीय सरकारले गर्ने अत्याचार र भारतले अमेरिकाको सिको गरेको बढ्दो सैनिकीकरण तथा नव साम्राज्यवादको विरोध। सन् १९९८ मा उनले द इन्ड अफ इम्याजिनेसन नामको निबन्ध लेखिन्। जुन भारतले गर्न लागेको आणविक परिक्षणको विरोधमा थियो। उनी आणविक होडवाजीले संसार ध्वस्त बनाउने कुरामा चिन्तित भइन्। त्यसै निबन्धमार्फत् उनले आफ्नो कुरा मान्ने जोकोहीलाई आणविक हतियारको बहिष्कारमा लाग्न अपिल गरिन्। अरुन्धतीले टाइम्स अफ इन्डियालाई दिएको आफ्नो एउटा अन्तरवार्तामा कास्मीरलाई छुट्टै राज्य बनाउनुपर्ने कुरामा मत राखिन्। अरुन्धतीको यस विचारप्रति भारतीय राष्ट्रिय कंग्रेस तथा भारतीय जनता पार्टीले व्यापक असन्तुष्टि जनाएका थिए।

नर्मदा बचाओ आन्दोलन
रोयले केही अधिकारकर्मीको साथमा नर्मदा ड्याम प्रोजेक्ट विरुद्ध काम गर्दै छिन्। उनका अनुसार उक्त बाँध बनाइएमा त्यसले करोँडौँ मानिसलाई विस्थापित बनाउँछ, त्यसले कुनै किसिमको सिँचाई वा खानेपानी सुविधा उपलब्ध गराउन सक्दैन। त्यसैले सो बाँध परियोजना विरुद्ध खनिएकी हुन अरुन्धती।
यो आन्दोलन रोक्ने धम्किहरू उनीतिर लक्षित गरिँदा यी हरफलाई सम्झन्छीन् अरुन्धती :

हामी त्यस्ता विद्रोहीहरू हौँ   !
जो रोकिने छ्रैनौँ   !
निहुरीने छ्रैनौँ   !
पेलिने छैनौँ   !
र जो मेटिने पनि छैनौँ   !
हामी बेइन्साफीका जवाफ हौँ  ! 

रोयले आफूले बुकर पुरस्कारबाट पाएको रकम तथा पुस्तकको रोयल्टी सोही आन्दोलनलाई सघाउन दिइन्। सन् २००२ मा अरुन्धतीले दिल्ली सर्वोच्च अदालतले नर्मदा बचाओ आन्दोलनलाई दबाउने प्रयास गरेको आरोप लगाइन्। फलतः अदालतलाई उनले सम्मान नगरेको आरोप लगाइयो। उनलाई 'एक दिने सांकेतिक कारावास' तथा रु २५०० को जरिवाना सुनाइयो।

अरुन्धतीलाई मध्यस्तकर्ताको प्रस्ताव
'गरीब जनताको मुक्तिको लागि' सशस्त्र युद्ध चलाइरेको बताउने भारतमा युद्धरत माओवादी विद्रोहीहरूले अरुन्धती जस्ता बौद्धिक वर्गलाई भारत सरकारसँग वार्ता गर्न मध्यस्तकर्ताको भूमिका दिए उनीहरू युद्धविराम गर्न तयार रहेको समाचार केही दिन अघि आएको थियो। जवाफमा अरुन्धतीले “स्वतन्त्र पर्यवेक्षक”को भूमिका दिए उनी मध्यस्तकर्ता बन्न तयार रहेको प्रतिकृया बिबिसी रेडियोलाई दिएकी छन्। उनका अनुसार उनी एक लेखक भएको नाताले उनीसँग मध्यस्तकर्ताको त्यस्तो कुनै अनुभव नभए पनि मुलुकको लागि काम गर्न तयार रहेको जनाएकी छन्। उनका अनुसार, उनी माओवादीको प्रतिनिधि भएर मध्यस्तकर्ता बन्न चाहेकी भने होइनन्। भारतका प्रधानमन्त्री मनमोहन सिंहले माओवादी विद्रोहीहरू 'भारत स्वतन्त्र भएयता भारतका लागि सबैभन्दा खतरनाक' भएको जनाएका थिए। माओवादीको यस्तो प्रस्तावले भने समस्या केही हदसम्म समाधान हुने मान्न सकिन्छ। केही राजनीतिक विश्लेषकका अनुसार विद्रोहीले अरुन्धतीलाई नै मध्यस्तकर्ता बनाउनु पर्ने कुराको केही कारण हुन सक्ने मान्छन्।

अरुन्धतीले यो आतंकीत ब्रम्हाण्डबीच निराशाको कुरा मात्र गर्ने होइन आसलाग्दो बिहानीतर्फ पनि संकेत गर्छिन्। उनी भन्छिन्, 'अर्की पृथ्विको उदय सम्भव मात्र नभै उनी आफ्नो बाटोमा पनि छिन्। शान्तिपूर्ण आकासमा मैले उनको सासको आवाज सुन्न सक्छु।'

जय होस् अक्षरकी यस्ती आर्किटेक्टकी  !


The article was published in Nagarik (national daily) supplementary 'Akshar'  dated 2067 Baisakh 25.