Friday, December 3, 2010

Travel by lift


(Posted by CP Aryal; the article publshed in Gorkhapatra national daily dated 2010 December 3).

'लिफ्ट प्लिज् !' 

यात्राको सन्दर्भमा 'लिफ्ट प्लिज' भन्ने  सवारी धनीसँगको विशेष अनुरोधमा 'पैसा नतिरेरै' आफ्नो गन्तब्यमा पुग्न खोज्ने तरिकालाई जनाउँछ। लिफ्ट मागेर यात्रा गर्नुपर्ने थुप्रै कारणहरू छन्। आफ्नो सवारीसाधन कतै अनकण्टारमा बिग्रिँदा, वा कतै हिँड्दा हिँड्दै कुनै पनि सवारीसाधनलाई भाडा तिर्ने पैसा पनि नभएको स्थितिमा वा लिफ्ट मागेर अनैतिक काम गर्ने उद्देश्य (जस्तै कि लिफ्ट दिनेलाई लुट्ने वा त्यस्तै केही) हुँदा। यस्ता कारणका लामा सुचिहरू बन्न सक्छन्। सवारी साधनमा लिफ्ट माग्ने प्रचलनको सुरुआत विश्वमा ब्यापक औद्योगरिकणको स्थिति आएपछि भएको हो। त्यसअघि गाडी मोटरको खास कुनै विकास नै भएको थिएन। अनि लिफ्ट माग्ने संस्कृतिको त के कुरा !


नेपालको परिप्रेक्ष्यमा लिफ्ट माग्ने संस्कृतिको विकास त अझै पनि भएको छैन। बाटोमा कहिँ कसैले औँला सोझ्याएर बिनम्र भावमा लिफ्ट मागिरहेको देखेमा ङिच्च हाँसेर आश्चर्यबोध त हामी अझै पनि मान्छौँ। लिफ्ट माग्ने संस्कृतिको विकास नभएकोले मानिसबीच यस्तो असहजता उत्पन्न हुनु स्वाभाविक पनि हो। 

अर्को कुरा जोडौँ, यात्राको लागि कति सम्म कष्ट बेहोर्न सक्नुहुन्छ? यात्रामा हिँड्न कति पैसा छुट्याउनुभएको छ? एउटा कुनै उद्देश्यको लागि सबैसँग सधैँभरि सबैठाउँमा लिफ्ट मागेरै यात्रा गरिएको अनुभव कस्तो हुन सक्छ? अघिल्ला दुई प्रश्नको जवाफ सबैको बेग्लाबेग्लै भएपनि अन्तिम प्रश्नको उत्तर 'निकै गार्‍हो!' भनि आउला। 


लिफ्ट मागेरै संसार चियाउन खोजेको एक युवाको कथा यो लेखनिमा उतार्न खोजिएको हो। यस्ता कथा भएका मानिस धेरै हुन सक्छन्। तर ती प्रत्येक पात्रबाट सिकिने कुरा थोरै हुन्छन्। बास हेमन नामका यी मानिसबाट सिक्न सकिने कुरा धेरै छन्। यात्राले बासलाई धेरै थोक सिकाएको छ। उनी जहाँ जान्छन् सबै ठाउँमा फरक फरक परिवेश देख्छन्, फरक मान्छे देख्छन् तर सबै ठाउँको आकाश एउटै हो। ब्रह्माण्डको एउटा कुनामा भएको मानिस पनि दुख्ख पर्दा रुन्छ अर्को कुनामा बसेको पनि दुख्ख पर्दा रुन्छ र खुसी हुँदा हाँस्छ। यी दुई मान्छेका खुसी हुने र दुखी हुने कारण भने फरक फरक हुन सक्ला। यी यात्रीले सिकेको सबैभन्दा ठूलो कुरा हो यो। 

लिफ्ट मागेरै आफूले चाहेको ठाउँमा पुग्न सक्नु उसको खुबी हो। ऊ हल्याण्डको हो, भनौँ न जन्मिएको नै उतै। ऊ अनौठो छ। एउटा स्थानीय जस्तै भएर घुम्न खोज्ने उसको स्वभाव पनि सार्‍है मजाको छ। 'म कमर्सियल दुनियाँबाट टाढा हुन चाहन्छु।' ऊ भन्छ। त्यसरी घुम्दा ऊ एउटा कुरामा ढुक्क छ। यात्रामा सबैभन्दा ठूलो कुरा मानिने रकम व्यवस्थापनमा उसलाई कुनै मतलब नै छैन बा! 'पैसाको के मतलब  मलाई?' ऊ भन्छ 'म जहाँ जान्छु एउटा ठूलो गत्तामा 'लिफ्ट' लेखिएको कागज तेर्साउँछु, दाहिने हातको बुढी औँलाले आफू जाने दिशातिर देखाउँछु, गाडी रोके चढेर जान्छु नरोके अरू उपाय त मसँग छँदैछ नि!' वाह! कस्तो उर्जा! 


सन् २००२ तिर ऊ बीस/बाइस बर्से हुँदो हो। उसको दिमागमा एउटा आइडिया फुर्‍यो। लिफ्ट माग्दै संसार डुल्ने। ऊ पैसै नभएर विरक्तिएर हिँड्न थालेको पनि हैन। 'आफ्नो जिन्दगीमा अनौठो प्रयोग गर्ने मन थ्यो मलाई' नेपाली वर्णमालाका दुई शब्द('धन्यवाद' र 'तपाईँलाई कस्तो छ?')मात्र बोल्न जानेका बास हेमनले सरर्र बगेको अंग्रेजी भाषामा आफ्ना अनुभव सुनाउँदै छन्, 'अनि उतिबेला घर छाडेर हिँडेँ। बाबुआमाले पनि उर्जा दिए, हौँस्याए।' उसको परिवारले दिएको हौँसला सम्झँदा म भने हाम्रोमा एउटा छोरो घर छाडेर संसारको आँखिझ्याल चिहाउँछु भन्दा गरिने व्यवहार सम्झँदै थिएँ। 

'सेभेन इयर्स इन तिब्बत' सिनेमा हेर्दा यी युवालाई नेपाल भन्ने देशप्रति निकै खुलदुली जागेछ। अनि २००९ को जुन महिनामा उसले 'लिफ्ट प्लिज!' भन्दै–भन्दै भएपनि नेपाल घुम्ने आकांक्षा पाले। खल्तिमा १५०० युरो त थियो, त्यो पनि अति नै अप्ठ्यारो परेको बखत् खर्चन राखेको। हल्याण्डबाट गुटुरो कसे आफ्नो पाइला नेपालतर्फ बढाउन। कहिले पानी जहाजमा, कहिले भटभटे, कहिले बस, कार, ट्याक्सी बुल्डोजर जे हुन्छ त्यसैमा चढ्दै नेपाल आउने उनको अर्जुनदृष्टि भयो। हल्याण्डबाट सर्भिया हुँदै, टर्की, सिरिया, इरान, इन्डिया, अरबबाट भारत छिरे अनि सिक्किम हुँदै काँकडभित्ता पसे। 

'सित्तैमा' डुल्ने उनीसँग 'यो दिनमा यो देश पुग्छु' भन्ने निश्चित रुटिन पनि छ। गजब! अहिले आयोन नामक गैर सरकारी संस्थाको खर्च व्यवस्थापनमा काठमाण्डौँको बसन्तपुरको एउटा सस्तो लजमा बस्दै गरेका बासको २०११ को मे १५ मा आफ्नो देश पुग्ने लक्ष्य हो। कुनै दिन बाटोमा केही अप्ठ्यारो पर्ला, पैसा सकिएला वा कसैले लिफ्ट नदेलान् अनि यसरी पुगिन्छ त भनेकै दिनमा आफ्नो देश? यस प्रश्नको उत्तर दिनुभन्दा धेरै उनी मुस्कुराए मात्र। सायद मुस्कान पनि उनको एउटा शैली हो, प्रश्नहरूको सामना गर्ने। त्यस्तो मुस्कानले उनको मष्तिष्कमा रहेको गजबको आत्मविश्वास देखाउँदै थियो। 

लिफ्ट माग्नु भनेको भिख माग्नु हैन रे बासको सोँचाइमा। एउटा 'कन्भिन्सिङ् क्षमता हो' उनी भन्छन्। कति ठाउँमा लिफ्ट माग्दा कतिले उनलाई हकारे। यत्रो 'हट्टाकट्टा भएर माग्ने!' पनि भने। तर उनी आफ्नो लक्ष्यबाट टसमस भए पो! 

नेपालमा लिफ्ट संस्कृति देख्दा उनलाई अचम्म लागेछ। धेरैले लिफ्ट दिन अप्ठ्यारो मान्दै उनी नजिक पुग्दा गाडी अझ हुइँकाउँदा दुख्ख मिश्रित अप्ठ्यारो अनुभव भएको थियो उनलाई। 

यसरी 'लिफ्ट प्लिज' भन्दै हिँड्दाको थुप्रै स्मरणीय अनुभव छ उनीसँग। उनी ठूलो बुल्डोजरको खन्ने खालको अगाडिको बाकस जस्तो भागमा उभिएर पनि नदी तरे, भनौँ लिफ्ट पाए। आफू हिँड्ने दुरी कति छ भनेर थाहा नपाउँदा ५० मिटरको दुरीमा पनि लिफ्ट मागेर यात्रा गरे। नेपालमा कुनै बसले उनलाई लिफ्ट दिन मानेको थियो। उनी बस चढे तर जब बसले सामान बोक्ने कुनै लरीले जस्तै सामान ढुवानी गर्न भनी निकै बेर लगायो त्यतिबेला उनी ड्राइभरसँग ठूलो आवजमा 'यो “बि यु एस” (बस) हो। “टि आर यु सि के” (ट्रक) हैन' भनेर विद्रोह पनि गरे। नेपाली ड्राइभर त छक्कै! त्यतिबेला २५ किलोमिटरको दुरी ६ घण्टामा पार गर्नुपर्दा उनलाई अचम्म लाग्नु स्वाभाविक हो। हज्जारौँ किमी छिनघरिमै पुग्न सक्ने प्रविधिमा हुर्केका यी विदेशीलाई हाम्रो यात्राको रिती के था!
Photo : Bas Hemmen

2 comments:

  1. Dami kura yar...maile ni aba gaadilai bhada tirne dukha nagarau jasto lagyo. LIFT jindawad. haha. gud issue yar. congrats

    ReplyDelete