सिपी अर्याल (CP Aryal)
अहिले
वि.सं. २०८७ बैशाख ।
बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन । त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो । त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो । यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि ।
निमको दतिवनले दाँत माझ्न आँगनछेउ टुक्रुक्क बस्यो । आफूछेऊको सानो अम्खोरामा राखेको पानीले मुख कुल्ला गर्यो । पल्लोपट्टि तीनओटा खटियामा भैया, अम्मा र अब्बा लम्पसार थिए ।
तराईको असह्य गर्मी छल्न आँगनमा खटिया बिछ्याएर, झुल टाँगेर सुत्छन् उनीहरू । यो रित यसैगरी चल्दै आएको छ, सदियौंदेखि ।
दाँत माझ्दा एफएम रेडियो बजायो । एउटी केटी राशिफल भन्दै थिई । पालो कुम्भ राशिको थियो । संयोगले ऊ पनि कुम्भ ।
“कुम्भ राशी हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ ।”
उसलाई राशिमा विश्वास छैन । आज भाग्योदयको योग छ भनेको दिन उसको भाग्य कहिल्यै चम्किएको छैन ।
“माकी आँख !” निधारमा धर्सा कोर्दै ऊ फुसफुसायो, “मनइकए उल्लू बनावथी !”
“बहुत बड्बड् करथी लवन्डी ।” एफएमकी केटीले निद्रा बिथोलेको झोँकमा उसको भैया खाटबाट जुरुक्क उठेर च्याँट्ठियो, “बन्द कैदे रेडियो ।”
रेडियो बन्द गर्यो । भैया घुर्यो निमेषमै ।
बिहानदेखि बेचैन मन कतै लगेर बिसाउन पाए ऊ रम्थ्यो पनि होला ।
अम्माले पकाएको भात साढे आठ बजे नै खाइसकेर तयार भयो । छोरोले जागिर खान जान लागेको पहिलो दिन, अब्बा र अम्मा खुसीले डम्म फुलेका थिए ।
भोलिपल्ट अफिस जाँदा लगाउने सर्ट र पाइन्टलाई ‘धारिलो’ बनाउन हिजै राति पट्याएर डसनामुनि राखेको थियो उसले । नीलो पाइन्ट र सेतो सर्टमा जताततै ‘धार’ बस्यो ।
खुसी हुँदै कपडा लगायो । अनि अब्बाको थोत्रो एवन साइकलमा हुइँकियो बतासझैं । ऊ पर पुगुन्जेल अब्बा र अम्माले आँखा चिम्म पनि गरेनन् । धुलोको मुस्लोले उसलाई ओझेल पारुन्जेल हेरिरहे । एसएलसी पास गरेपछि उसले जागिर पाउँदा परिवारका सबैलाई नागमणि पाएझैँ भएको छ । गरिबलाई त्यही जागिर त हो नागमणि !
एउटै रफ्तारमा कुदाइरह्यो साइकल । घरिघरि एफएमकी केटीको आवाजको बतासले छोएर जान्थ्यो । केटी कानमा आएर फुस्फुसाएझैँ लाग्थ्यो, “कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ... ।”