-सिपी अर्याल (CP Aryal)
‘खोला तर्यो लौरो बिर्सियो’ । लेखको सुरुमै यो उखान उदृत गर्नुको कारण छ । सन् १९७४ मे १ मा अहिले राजनीतिज्ञ र विद्वान कहलिएका डा. प्रकाशचन्द्र लोहनीले केन्द्रीय पुस्तकालयबाट उसले तोकेको समयमा फिर्ता गर्ने सर्तमा दुईटा पुस्तक लगे । ‘रिजनल कन्फरेन्स : वाटर रिसोर्स डिभेलपमन्ट इन एसिया फर इस्ट’ र ‘युएन इकनमिक कमिसन फर एसिया एन्ड द फार इस्टः वाटर लेगिस्लेसन’ नामका । पुस्तक पढेर ज्ञान हासिल गरे । विद्वान कहलिए । तर ‘समयमा फर्काइदिने सर्त’सहित उनले लगेको सो पुस्तक लाइब्रेरीको र्याकमा फेरि उक्लन पाएन । डा. लोहनीले ज्ञानको खोला तरे । तर खोला तार्न सघाएको लौरो चटक्कै बिर्सिए !
वि.सं २०१६ सालमा राजदरवारको प्रत्यक्ष लगानीबाट स्थापित यो केन्द्रीय पुस्तकालय भन्दा निकै पछि स्थापित भएका पुस्तकालयहरूले स्वरूप परिवर्तन गरी डिजिटल दुनियाँमा उक्लिए । हामी भने उही एनालग संसारमै छौँ । एसियाकै तेस्रो ठूलो पुस्तकालय भनेर चिनिने यो पुस्तकालय हिँडिरहेको बाटै अर्कै छ । ‘हामी डिजिटल प्रोसेसमा गएको दुई वर्ष मात्रै पुग्यो होला’ पुस्तकालयका निमित्त प्रमुख जनार्दन ढुङ्गाना भन्छन् । ‘डिजिटल प्रोसेसिङ’ भनेको थेसिस/डिजर्टेसनहरूलाई सिडिमा राख्ने हो, बस् ! त्यसबाहेकको डिजिटल सुविधा केही पनि छैन । अहिलेको पुस्ताले काखमा कम्प्यूटर राखी मस्तसँग पढ्ने रुचि देखाउँछ । तर यो अभाव सजिलै पूर्ति हुने छाँट देखिँदैन । मुलुक राजनीतिक ट्रान्जिसनमा फँसेको बेला पुस्तकालयले पनि सोही सिको गरेको होला । अबको अझै दुई चार वर्षसम्म डिजिटल सुविधा नभए नयाँ पुस्ता पुरानो शैलीमा रमिरहँदैन !
यो एनालग पुस्तकालयमा कम्प्यूटर र इन्टरनेटबाट पुस्तकालयले दिने सुविधाहरू शून्य छन् । कर्मचारीहरू भर्खर कम्प्यूटरका माउस डोर्याएर एनालगबाट डिजिटल संसारमा ताते–ताते गर्न सिक्दै छन् । विद्यार्थीहरू डिजिटल क्याटलगको माग गर्छन्, आफूले मन पराएको पुस्तक अनलाईन बुक गर्ने, लेट फि अनलाईनमार्फत् तिर्ने, लाइब्रेरीमा आएका नयाँ पुस्तकबारे घरमै बसी बसी जान्न पाए हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । तर व्यवस्थापनले ती माग पुर्याउन सके पो ! ‘पुस्तकालयमा खानेपानी र ट्वाइलेटको व्यवस्था त छैन अरू सुविधाको के आस गर्ने !’ आफ्नो परीक्षा नजिकिएकाले दिनहुँ यहाँ आइ पढी बस्ने जगन्नाथ तिमल्सीना भन्छन् । ‘तिर्खा लायो, दिसा पिसाब लाग्यो भने पन्ध्र मिनट हिँडेर आफ्नै कोठामा पुग्नुपर्छ ।’ पुस्तकालयको हरिबिजोग देख्न जताततैबाट पानी चुहिने गरेकाले ठाउँठाउँमा राखिएको बाल्टिन हेरे पुग्छ । यी कुरामाथि बिहङ्गम दृष्टि लाउँदा आधारभूत सुविधासहतिका सबै कुरा पूरा गर्न धेरै लामो रेस जित्नु पर्छ पुस्तकालयले । किनकि, अहिलेको परम्परागत अवस्थालाई उधिनेर आधुनिकता अंगाल्न सक्ने सजिलो ताकत नै राख्दैन यसले । यो कुरा स्विकार्न निमित्त प्रमुख ढुङ्गाना पनि पछि पर्दैनन् ।
असार/साउनमा जाँदा पुस्तकालयको हरिबिजोग । |
अर्थ मन्त्रालयले बजेट छुट्याउने यो पुस्तकालयले वर्षेनी ३५ लाखको किताबहरू र उती नै रकममा पिरियोडिकल्सहरू खरिद गर्छ । पढ्ने म्याटरहरू त अनगिन्ति छन् । यसअनुसारको सुविधा छैन । असी कर्मचारीलाई रोजगारी मिलेको छ । दिनहुँ सरदर ५०० पाठक आउँछन् । ३५ लाख पिरियडिकल्स र सोही संख्यामा पुस्तकहरू होलान् भन्ने अड्कल्नु हुन्छ ढुङ्गाना । दैनिक र साप्ताहिक गरी खरिद गरिने ३८ पत्रपत्रिका र सात वटा गिफ्टेड पत्रपत्रिका आउँछन् । ५० टाइटलका खरिद गरिएका म्यागाजिन र उती नै संख्यामा गिफ्टेड म्यागाजिन भित्रन्छन् । फरेन जर्नलहरूको संख्या पचहत्तर छ, पचास टपिक लाइब्रेरीले खरिद गरेको र २५ गिफ्टेट टाइटलमा । पाठकहरूले लोडसेडिङका बेला धेरैजसो पत्रपत्रिकाहरू च्यातेर लैजाने गर्छन् रे ! के गरुन् त बत्ति नभएकाले फोटोकपी मेसिन चल्दैन, पुस्तकालयले बत्ति गएको बेला पनि फोटोकपी गर्ने सुविधा दिएको छैन । समयमा बजेट नआउनाले बाइन्डिङ हुन नपाएका पत्रिकाहरू भैंभरि असरल्ल देखिन्छन् ।
फेरि लागौं पुस्तक लगेर फिर्ता नगर्ने भिआइपीहरूतर्फ । सय जना भन्दा बढी भिआइपीहरूको छुट्टै लिस्ट बनाइएको छ । उनीहरू सबैजसोले विश्वविद्यालयमा संघर्ष गर्दै पढ्दाका दिनमा पुस्तक लगेका हुन् । पुस्तकालय प्रशासनले भिआइपीहरूसँग ठाडै कुरा गरेर ‘पुस्तक फिर्ता लेउ’ भन्न पनि नसक्ने कारवाही गर्ने त कुरै परको । ‘उनीहरूलाई पटक पटक पत्र पठायौं’ ढुङ्गाना गुनासो गर्छन्, ‘तर ठेगाना मिलेन भनेर पत्र फिर्ता आउँछ ।’ ढुङ्गानाकाअनुसार ती ठूलाबडासँगबाट पुस्तक फिर्ता ल्याउने काम ‘मिडियाको मात्रै हुन सक्छ । ‘पत्रपत्रिकामा आएपछि लाजले भएपनि धेरैले फिर्ता ल्याएका छन् ।’ उनी भन्छन् । तर पनि केहीले अझै लाज पचाइनै रहेका छन् । ढुङ्गानाले मिडियाले यसबारेमा इस्यू उठाइदिन आग्रह गरे । नगरुन् पनि किन ? यसो नगरे पुस्तक फिर्ता आउँदैन, आफूहरूले ती भिआइपीसँग कुरा गर्ने हिम्मत छैन, फेरि जागिरको सवाल पनि त पर्ला ! कर्मचारी विवश छन् ।
एक पाठक पुस्तकसँग |
पुस्तक फिर्ता नगर्ने थुप्रै भिआइपीमध्ये सुदिप पाठक, हरिहर दाहाल, लक्ष्मण, बस्नेत, राजन पन्त, कमल थापालगायतका छन् । उनीहरूले लोहनीकै बाटो रोजेर लगेको किताब फर्काएका छैनन् । सुदिपले सन् १९८१ मे र १९८८ मार्च २३ मा लगेको दुइवटा पुस्तक (१.राहुल सांस्कृतायन ऋग्वेदिक वाय र वेपर पोलिटिकल थट) फिर्ता गर्न बिर्से । यसैगरी केही वर्ष अघि हत्या गरिएका सशस्त्र प्रहरी महानीरिक्षक कृष्णमोहन श्रेष्ठले पनि सन् १९८२ मा पुस्तक लगेको रेकर्ड छ । उनी त मरेर गए, तर उनले लगेको पुस्तक पनि उनीसँगै स्वर्गे भयो ! नेता राजन पन्तले सन् १९८३ मा ‘पाल्मर इन्टरनेश्नल रिलेसन्सः द वल्ड कम्यूनिटी इन ट्रान्जिसन’ नामक पुस्तक लगेर फिर्ता पठाएका छैनन् । यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि सन् १९८३ र १९८४ मा लगेका दुइवटा पुस्तक अझै फिर्ता गरेका छैनन् । उनले लगेका दुइवटै पुस्तकहरू कविताका हुन् ( १.नेराप्रप्र आधुनिक नेपाली कविता र २. बीसौँ शताब्दि पूर्वार्धका केही आधुनिक कविता) । यी भिआइपीहरूले नत आफूसँग पुस्तक सुरक्षित भएको जानकारी नै दिन्छन् नत किताब फिर्ता नै पठाउँछन् ।
अनलाईनबाट पुस्तक रिन्यू गर्ने, फाइन तिर्ने, सदस्यता लिने, पुस्तक पढ्ने, लाइब्रेरीमा आएका नयाँ पुस्तकबारे जान्ने केही पनि सुविधा छैन यहाँ । छ त केवल १०० रुपैंयाले १० घण्टा चलाउन मिल्ने इन्टरनेटको सुविधा । त्यो पनि कछुवा चालको ! छुच्चा पाठकहरूले पुस्तकका पाना च्यातेर, बीचबीचमा केरकार पारेर पुस्तकहरू कुरूप बनाएका छन् । यसो गरेको थाहा पाए प्रशासनले पुस्तकको मूल्य बराबरको दुईगुना फाइन लिन्छ । यसैगरी च्यातिएको पेज रिप्लेस गर्न पनि पठाउँछ । तर यो कारवाही पनि कार्यान्वयन भएको यदाकदाका रेकर्ड मात्रै छन् ।
अहिले पुस्तकालयको भवनको तला थपिँदै छ । भवन संचालनमा आएपछि अहिलेको अवस्थाभन्दा स्वरूप केही फिर्ला, सुविधा बढाउलान् भन्ने आस गर्छन् पाठकहरू । ‘माथि भवन बनाउँदै छौँ । अब पुस्तक सुरक्षित हुनेछन्, पाठकहरूलाई पनि थप सुविधा दिने योजनामा छौं ।’ ढुङ्गाना भन्छन् । उनको कुरा त सकारात्मक छ तर महंगा र लोपोन्मुख पुस्तकहरू जिर्ण भवनको कारण पानीले भिजेर लुछुप्पै भए भन्दा पुस्तक प्रेमी जोकोहीको मन धुरुक्कै रुन्छ । हो ! पुस्तकालय भवन चुहिने भएको छ । त्यसैले पुस्तक रहेका सबै र्याकलाई दुलहीजस्तै घुम्टो ओढाइएको छ, प्लास्टिकको ! तरपनि कताकताबाट पानी रसाएर पुस्तक नभिजी छाड्दैन । यस्तो कि ती महङ्गा पुस्तक जसरी पनि भिजाइदिने इख नै लिएको छ, झरिले !
विदेशस्थित ठूला–ठूला पुस्तकालयहरूमा पुस्तक लगेर फिर्ता नगर्नेलाई कडा कारवाही गरिन्छ । समयमा पुस्तक फिर्ता नगर्नेलाई घण्टाको हिसाबले शुल्क तिराइन्छ ! खपिनसक्नु सजाय दिने हो भने त लगेको पुस्तक फिर्ता नगरेर कसलाई सुख्ख र ! हो यसैकारण उताको पुस्तकालय व्यवस्थित छ, बेढङ्गी छैन । हाम्रो व्यवस्थित छैन, बेढङ्गी छ ! सभ्य जीवनको एउटा गतिलो काइदा पुस्तकको संगत हो । देशको यो ठूलो पुस्तकालयको यस्तो हरिबिजोग छ ! हामीसँग स्रोत साधन गतिला छन्, त्यसलाई प्रयोग गर्ने काइदा जानेका छैनौँ । हामीलाई अरू कसैले पाठ पढाउन सक्दैन, समयले बाहेक ।
(केही महिनाअघिका लाइब्रेरी प्रशासनका व्यक्ति र त्यहाँ पढ्न आउने अध्येताहरुसँग गरेको कुराकानीपछि यो आलेख तयार भएको थियो ।)