आधुनिक ‘क्यान्टरवेरी टेल्स’ उपमा दिइएको ‘टोक्यो क्यान्सिल्ड’ लेखेपछि भारतीय मूलका बेलायती लेखक राना दासगुप्ताको चर्चा ह्वात्तै चुलियो । उनी सशक्त युवा कथावाचक भएको ठम्याई धेरैले गरिदिए । त्यही उत्प्रेरणाले उनले आफ्नो दोस्रो कृति ‘सोलो’ लेखे । सन् २०१० को कमनवेल्थ राइटर्स प्राइज जितेको सो उपन्यासले युद्धग्रस्त बुल्गेरियाको दर्दनाक कथा भन्छ ।
बीसौँ शताब्दीको बुल्गेरियाली इतिहासको दृश्यचित्र खिच्ने यस उपन्यासमा कहालीलाग्दो यथार्थ छ । थर्ड पर्सन न्यारेटिभमा उनीएको कथा जहाँ गएपनि उल्रिक नामक पात्रकै वरिपरि जेलिएको छ । उल्रिक पुस्तकको असफल नायक हो । जीवनका जुनसुकै खण्डमा असफलता, त्रास, पिडा र अक्षमता भोगेको छ उसले । तरपनि ऊ नायक कहलिन लायक बनाइएको छ । पुस्तकको वर्तमानमा एक शताब्दी बाँच्दै गरेको अन्धो पात्र हो ऊ । पाठकहरूसामु आफ्नो विगतबारेको लय हाल्नु नै उसको जिजिविषाको एक आधार हो ! लेखकको सबैभन्दा ठूलो चलाखी यहिँनिर छ । आफ्ना पाठकलाई मनोरञ्जन दिन सक्ने गरी लेखक बाठो भए पुस्तक पढ्नुको मज्जा पनि हुन्छ । हो यस्तै चलाखी दासगुप्ताले गरेका छन्, बदलामा पाठकहरूले पनि सन्तुष्टिको सास सजिलै फेर्न सक्छन् । उल्रिकको बाल्यकाल, युवाकाल, प्रौढावस्था र जीवनका अन्तिम हिँडाइबारे जानिरहँदा पाठकलाई कहिँ पनि सकस हुँदैन । उल्रिकजसरी नै सम्पूर्ण पात्रहरू कथामा एकपछि अर्को गर्दै असफलताको तलाउमा फाल हाल्न वाध्य पारिन्छन् ।
पुस्तकमा दुईवटा खण्ड छन्ः लाइफ अनि डेड्रिम । लाइफ खण्ड मा विभिन्न उपखण्डहरू छन् जसको नामाकारण रसायनशास्त्रसम्बन्धित विविध तत्वबाट राखिएको छ । दासगुप्ता आफै र उनको प्रमुख पात्रले रसायनविज्ञानप्रति मरिहत्ते गर्ने भएकाले पुस्तकका उपशिर्षकहरू त्यसैअनुसार बने । पुस्तकको अर्को खण्ड डेड्रिम पहिलो खण्डसँग कहिँ कतै पनि मेल खाएको जस्तो देखिँदैन । पात्रहरू फरक, घटना अर्कै, परिस्थिति भिन्दै छ डेड्रिममा । त्यसैले यो दोस्रो खण्ड पढ्दा पाठकहरूलाई कताकति पट्यार त लाग्न सक्ला । तर अन्त्यमा, पहिलो र दोस्रो खण्डलाई लेखकले गर्न सकेको मिलान देखेर पाठकको आँखा उत्तिकै रसाउन पनि सक्छ, सन्तुष्टिले । दुईओटा अद्योपान्त फरक सताब्दीको कथा यस्तो मिहीन ढङ्गमा कहन सक्नु दासगुप्ताको कुशल क्षमता नै मान्नुपर्छ ।
व्यापक ध्वंश र असफलता खेपेको कम्युनिस्ट शासनमा हुर्किएको बुढो उल्रिक कथा सुरु हुँदा विसंगतिपूर्ण जीवनको एक सतक बाँचिरहेको छ । कुनै पत्रिकाबाट सुगाहरूबारे दर्दनाक कथा थाहा पाएपछि ऊ आफ्नो विगतमा डुब्छ । यही मौका छोपेर कथाकारले थर्ड पर्सन न्यारेटिभमा कथाको माला उन्न सुरु गर्छन् । एक तरिकाअनुसार कथाकार आफै पनि यहाँ पात्र छन् । बुढो उल्रिकले आफ्नो कष्टपूर्ण जीवन जिउने एउटा मात्र सहारा आफ्नो विगत पोख्नुमा देख्छ । र उसको यही अभिष्ट लेखकले पूरा गरिदिन्छन् ।
उन्नाइसौँ शताब्दीका घटनाक्रम बिसौँ र एक्काइसौँ शताब्दीसँग आएर मीठो लयमा उनिन्छ । घमण्डी र अतिआत्मविश्वासी उल्रिकका बाबु अर्का ‘डिजास्टर टन्र्ड क्याराक्टर’ हुन् । सानो छोराले संगीतमा आफ्नो भविष्य देख्दा छोराले बजाइरहेको भायोलिन खोसेर उनले आगोमा फ्याँकिदिन्छन् । यो घटनाले प्लट अब कता मोडिएला भन्ने सामान्य अनुभव जोकाहिलाई गराउँछ । कथाको नायक उल्रिकको खराब दिन यसअघिका घटनाबाटै सुरु भइसकेका थिए । ठूलो उत्साहसाथ उच्च शिक्षा पढ्न जर्मन हिँडेको ठिटो घरको बेहालपछि बुल्गेरिया नै फर्कन्छ । घर फर्कँदा उसको बाबु मरिसकेको, गरिबीको कारण आमाले घर छाडि अन्तै सर्नुपरेको, प्यारो साथीलाई मृत्युदण्ड मिलेको हुन्छ । ‘अझैपनि केही गर्न सक्छु’ भन्ने उत्साहसाथ अघि बढेको सो बबुरो पात्रकी श्रीमतीले पनि उसलाई छाडिदिन्छे । छाडेकी श्रीमती आफ्नो दोस्रो पतिसँग यौनम्पर्क गर्दाको आवाज सुन्दा उसको मन कति कुँडियो होला, त्यसको दृश्यचित्र खिच्न दासगुप्ता सफल छन् । यौनका यस्ता दृश्य थोरै छन् । तर पाठकको ध्यान आकृष्ट गर्न भने यथेष्ट सफल छन् । उल्रिकले सबैथोक गुमाउँदै जान्छ, लेखकले निर्दयतापूर्वक उसको घिच्रो समाइरहन्छन् । उल्रिकले आफ्नो रक्तपातपूर्ण इतिहासलाई प्रत्येक पल सम्झिन्छ र त ऊ वर्तमान बाँच्न सकेको छ । आफ्नो जीवनलाई आइन्सटाइनको जस्तै दर्दनाक भनेर सान्त्वना पनि दिन्छ उसले कहिलेकाहिँ । देशमा राजनीतिक घटनाक्रम, आन्दोलन, ध्वंशको प्रकृति जति बढ्दै जान्छ पात्रहरूको जीवनमा पनि उस्तै हुण्डरी मच्चिँदै जान्छ ।
यही बीचमा कथाको दोस्रो खण्ड सुरु हुन्छ जुन आफैमा एउटा अर्को छुट्टै उपन्यास जस्तै देखिन्छ । फरक परिवेश, भिन्दै पात्र, अर्कै कथा । यसले जर्जियाका आतंकवादीबारे कथा भनेको छ । खतुना, कख, बोरिस, इराक्ली, प्लास्टिक नामका युवा पात्रहरूले भरिएको यो खण्ड जीवनजस्तै कहालिलाग्दो छ । ती युवाहरूले आफ्नो आकांक्षा पूरा गर्न कस्ता काममा सामेल हुन सक्छन् त्यसको अद्योपान्त विवरण यस खण्डमा छ । भलै यो खण्ड पहिलो खण्डसँग नमिल्दो देखिएको होस्, यसैले पुस्तकलाई सानदार ढङ्गमा तर भिन्दै तरिकाले उन्न सकेको पनि छ ।
सररियालिजमको खाकामा आवृत्त यस पुस्तकलाई सल्मान रुस्दीले पनि सक्दो प्रशंसा गरेका छन् । दासगुप्ताको यो पुस्तकको लागि उनलाई पुस्ताकै अत्यन्त सर्वोत्कृष्ट र वास्तविक लेखकको संज्ञा रुस्दीले दिए । कतिले उनलाई दोस्रो मार्खेजको पगरी पनि गुथाए । ‘सोलो’पछि दासगुप्ताको तेस्रो पुस्तक गैर–आख्यान हुनेछ । बताइएअनुसार पुस्तकमा उनले दिल्ली जीवनशैलीलाई अद्योपान्त समेट्नेछन् । सुकेतु मेहताको ‘म्याक्सिमम सिटीः बम्बै लस्ट एन्ड फाउन्ड’ पनि दासगुप्ताले लेख्ने भनिएको शैलीकै पुस्तक हो । यो तेस्रो कामबाट उनलाई पाठकहरूको मज्जाको धाप मिल्ला वा मेहताको कपि गरेको आरोप आउला ! त्यो हेर्ने दिन बाँकि नै छ । त्यसअघि पाठकले सोलोबाटै सकेजत्ति मज्जा लिन सक्छन् ।
प्रत्येक पात्रहरूको नशामा एउटा गजबको उर्जा सञ्चार गराउन सफल लेखकले ती पात्रहरूलाई उसैगरी ध्वस्त बनाइदिएका पनि छन् । उल्रिकको बाबु त्यस्तै दुर्भाग्य बोकाइएको सशक्त पात्र हो । ऊ आफ्नो छोरालाई भन्छ, “छोरा तिमीले समाजका अति प्रभावशाली व्यक्तिहरूसँग संगत गर्न पाएका छौ । त्यसैले तिमीलाई कुनै पनि हालतमा असफल हुन मैले दिनेछैन ।” यसो भन्ने बाबुले छोराको कुनै पनि इच्छाअनुसार जिन्दगी जिउनै दिँदैन । छोराले आफूभित्रको साङ्गितिक कौमार्य प्रस्फुटन गर्न खोज्दा बाबुले रिसले चुर भएर भायोलिन आगोमा फालिदिन्छ । कस्तो विडम्बना ! पुस्तकका घटनाक्रम कतै निकै छिटो र कतै साहै्र सुस्त गतिमा बहेका छन् । घटनाका गतिको लय एउटै हुन सकेको भए पुस्तकको कमजोरी इरेज हुन सक्थ्यो । लेखकले सबैभन्दा धेरै श्रम उल्रिकको चरित्रचित्रण गर्नमा खर्चिएका छन् । साढे तीन सय पृष्ठको किताब पढिरहँदा पाठकलाई त्यति नै समयसम्म एउटा पर्दामा सानदार सिनेमा हेरिरहेको अनुभव हुन्छ । युद्धको विभिषिका, युवा आकांक्षा, राजनीतिक परिवर्तन, मानसिक आघात यी सबै जान्दा आँखाअगाडि सिनेमा रिल फन्फनी घुमिरहेको भान हुन सक्छ पाठकलाई ।
पुस्तक: SOLO विधा: उपन्यास, लेखक: Rana Dasgupta, प्रकाशक: हार्पर कोलिन्स, न्यू दिल्ली, मूल्यः ४२० भा.रु., पृष्ठः ३५७
-सिपी अर्याल (CP Aryal)
(नागरिक दैनिक, १३ फागुन २०६८ )