Friday, September 30, 2011

एउटा ब्ल्याक एन्ड व्हाइट दशैँ

© CP Aryal (सिपी अर्याल)

“सेते ! हाईँ त सहर’ट आकाम् । लुआ किनेर ल्याछम्, यी हेर म कस्ती भैचु? दसैँलाई चाइने अरू सामल ऊ...ती सन्ते दाइले डोकाँ...ऽऽऽ हालेर लए ।” रन्जुको चोर औँलाले पर जाँदै गरेका सन्तेलाई सङ्केत गर्छ । उसले दुवै हात अचम्म तालमा नचाउँछे, “खसी त पोर भन्दा ठूलो छ बाबै ! तीनै दाइले भन्ते...”

“...”

सेते नबोलेरै रन्जुको नयाँ फ्रक हेरिरहन्छ । आफ्नो  सामर्थ्य सेतेलाई निःशब्द बनाएको हो । उत्रै उमेरका साना केटाकेटीको मष्तिष्क; फरकफरक । सेतेले बुझेको छ उसको यसपालिको दसैँ पोहोर परार जस्तै ब्ल्याक एन्ड व्हाइट हुन्छ । उसलाई थाहा छैन किन उसको लागि दसैँ रमाइलो हुँदैन, किन रन्जुको घरमा मात्र प्रत्येक दसैँमा खसी काटिन्छ । उसका बाले सेतेको दसैँ उसको उहि पुरानो लुगामा सियोको थप टाँकासँगै सिलाइदिन्छन् ।

“सेते...”

Photo Source : www.ekantipur.com

“...”

“तिमी नबोल्नी म’सँ...?”

“बोल्नी...” सेतेले च्यातिएको सर्टको बाउला आफ्नो नाकमा दल्छ । केवल आफ्नो टाटेपाटे टाउको हल्लाउँछ ।

“किन पिर मान्चौ ?”

“क्यारम् तनी ? हजुरको दसैँ । हाम्रो दशा ।”

रन्जुले सेतेको कुरा बुझिन । उसलाइ ‘दशा’ को अर्थ के थाहा । सेते पो सधैँ दशा बाँचेको छ । घरका परिवारको आँखा नियाल्दा उसलाई लाग्छ यसपाली घरमा दसैँ मनाइँदैन । उसले आफ्ना बा रत्नेलाई “खसी किनौँ” पनि भनेन यसपाली । न बाले नै उसलाई फकाउन खोजे । आमा त महिना दिनदेखि टोलाइराख्ने भएकि छन् । ओछ्यानमा लडिरहन्छिन् । बाले घरको सबै काम गर्छन् । सेते गोरु चराउन आएको छ ।

“तिमोरले खसी नकाट्नी ? दसैँको बेलाँ नि तिम्ले नयाँ लुआ क्यार्न नलाको सेते?”

रन्जुको प्रत्येक प्रश्नले सेतेलाई स्तब्ध बनाउँदै छ ।

“हाईँ गरिप् तिमोरू धनी...”

सेतेको उत्तर नबुझेको हुनुपर्छ रन्जुले । ऊ एकछिन अनकनाई । त्यो बाल मष्तिष्कले “धनी/गरिप्” बुझ्न सकेन । सेतेले “धनी” भन्ने बुझ्दैन, रन्जुले “गरिप” भन्ने अनुभव गरेकी छैन ।

रन्जु गाउँको धनीमानिकी छोरी भएपनि सेतेप्रति उसको स्नेह छ । ऊ यसरी प्रश्न बनि उभिनुमा उसले सेतेलाई देखाएको ठालुपन पनि होइन । एउटा गजब बाल स्नेह, जुन अरूभन्दा दसैँको बेला उर्लिएर आउँछ । रन्जुले अहिले पनि सहरबाट आउँदा सेतेलाई खेलौना र जेरि ल्याइदिएकि छ । सेतेले यो संसारमा सबैभन्दा मन पराउने खानेकुरो जेरी भन्ने राम्ररी थाहा छ रन्जुलाई ।

“सेते जेरी खान्चौ ? तिम्लाई सहर’ट ल्याइदिकिम् ।”

सेतेले शिर निहुराइ मात्र रह्यो ।

“लौ, मैले त खाइसकेँ । तिम्ले फेरि दिन्चौ भने नि एतिकै खान्न । तिम्रो हातले मेरो मुखाँ राख्दिन पर्च...”

सेतेले लाज मानेरै रन्जुको मुखमा आधि जेरी राखिदियो भने बाँकि आफूले खायो । रन्जु खुसी देखिइ ।

“अर्को थोक नि छ । म’सँ...”

सेते बोलेन ।

“यि हेर त यो हावैजात् ! तिम्लाई हो ! मैले त पुतलि किनेँ तिम्लाई हावैजात् ल्याइदिछु । यसाँ चढेर हाम्रो घराँ टिका थाप्न आउ है !”

सेतेले लामो सास फेर्दै रित्तो आकास नियाल्यो ।

झमक्क साँझ परिसक्दा सेते घर पुग्यो । थकित आँखाले वरिपरिका घरमा दसैँको चहलपहल नियाल्यो । एक्लै भक्कानिन्छ ।

मक्किएको खाँबोमा आडेस लागेर सेतेका बा रत्ने टोलाइराखेका थिए । आमा छेउमै थिइन् । गाउँमा राक्षस बनेर आएको पहिरोको कारण सेतेका एउटा दाइ र एकजना दिदीलाई यै दसैँको मुखमा गुमाइन् उसकी आमाले । समय पनि कस्तो निर्दयी !  भर्खर बैँशका दिन नाप्दै गरेका सेतेका दाइ र दिदी बारीमा काम गर्दै थिए । पहिरोको ठूलो ढिस्को आएर तिनको छातिमै थिच्यो । बिचरा, “आमा !” भन्न नि पाएनन् रे ! आमा त त्यहि पिरले थला परिन् । बा पनि घरि–घरि टोलाउने बनेका छन् ।

रत्नेले लाउँलाउँ–खाउँखाउँ उमेरको आफ्नो जेठो छोरो कैलेलाई भारत पठाएका थिए, कमाउन । पाँच हजार ऋण काढेर । छोरो लाहुर पसेको ३ वर्ष बितिसक्दा पनि केही खबर आएको छैन । बिचरा, बाआमाको मन न हो, छोरो फर्कन्छ भन्ने आस गरीरहन्छन् । यस्तो चाडबाडको बेला त ती बाआमाको मन साह्रै कुँडिन्छ । “गरीप्लाई झन् किन सास्ति दिन्च यो परमेश्वरले...” रत्ने घरी–घरी एक्लै बडबडाउँछन् ।

सेते नजिकै पुगेर आमाको काखमा लुटपुटिन खोज्छ । आमा बोल्न सक्दिनन् । रोइ मात्र रन्छिन् । सँगसँगै रत्ने पनि भक्कानिएर रुन्छन् । सेते बा आमा रोएको देखेर आफू पनि अनायसै रुन्छ । उसले जानेको छैन, बारीमा काम गर्न गएका दाइ र दिदी किन फर्किएनन् ? आफ्ना जेठा दाजु कता छन् ? मृत छन् वा ज्यूँदै ? ज्यूँदै भए किन घर फर्कँदैनन् ? यी सब कुरा सोच्ने ल्याकतको मष्तिष्क छैन सेतेसँग । असलमा, अब त उसलाई दसैँ भनेको पिडा हो । यो बेलामा परिवारका सदस्यको आँखाबाट खुसी होइन पिडा बर्सन्छ भन्ने अड्कल हुन थालेको छ सेतेलाई ।

उसले कहिल्यै बुझ्न सकेन दसैँमा किन रन्जुले नयाँ लुगा लगाएर बुर्कुसी मार्दै दगुर्छे । आफूले पाउँदैन । रन्जुकोमा खसी ढलाइन्छ, घर रङ्ग–रोगन गरिन्छ, पाउना आउँछन् । अनेक रमाइलो हुन्छ । तर सेते...
Photo Source: http://bit.ly/PDopte

प्रत्येक साल आफ्नो बालाई गर्ने प्रश्न यसपालि पनि गर्छ, “बा, हाईँले दसैँ मान्नी हैन ? खसी नकाटे नि एउटा भाले त काटम् के हुन्न बा ? रन्जुको घराँ खसी काट्नी मेसो अर्याचन । एउ डोको सामल नि ल्याचन्, हिजै मैले गोरु चराम्न जाँदा देखोथेँ । अनि बा, रन्जु त कति जाति । मलाई हावैजात् ल्याइदि । जेरी नि दि”

“हैन सेते तिनोरू धनी । हाईँ गरीप्...”

“गरीप्लाई चाडबाडाँ रमाइलो नअर् भन्चन् र भगमान्ले ?”

उफ् ! यो प्रश्न ! सायद, त्यो काल्पनिकताले हुर्काएको भगवान्सँग पनि छैन यसको उत्तर ।

त्यो झुपडीमा दसैँ यातना बनेर आइदिन्छ । रत्नेले श्रीमतिको आँखामा पुर्लुक्क हेरे । जीवनप्रति एउटा निस्पृह आस्था पलाइसकेको देखे । बिचरी सेतेकि आमालाई भित्राएपछि उनले दुःखभन्दा अर्थोक देखेकि छैनन् । त्यस्तै एक दुई ओटा दसैँ हँसिलो गरि मनाउन पाइन् होली । त्यै पनि अभावैमा । छोराछोरीलाई सन्तुष्ट हुने गरी लुगा कपडा किनिदिएर, अघाउञ्जेल मासुका परिकार अनि अर्थोक मीठा खानेकुरा दिएर कहिल्यै गएन दसैँ । सधैँ अभाव । सबैभन्दा नमिठो कुरा त सेतेलाई खुसी बनाएर दसैँ मनाएको त सम्झनै छैन । सेते र उसकी आमा स्वयंलाई !

पोहोर बाट त जेठो छोरोबारेको खबर अनेक रङ्ग मिसिएर आउन थाल्यो । उनी एकोहोरिन थालीन् । त्यै माथि दुईटा सन्तानको एउटै चिहान भएदेखि त उनी मृत्यु मिसिएको जीवन जीउन थालिन् ।

“बा, हाईँले किन दसैँ नमान्नी ?”

“....”

बीचरा रत्नेले कसरी बुझाउन् बाल मन ? उनी निःशब्द हुन्छन् । छोरोले जिद्दि गरिरहन्छ ।
प्वाक्क भनिदिन्छन्, “तेरा दाई र दिदी मरे । मनाम्न हुन्न के दसैँ ।”

“अनि पोर परार को मरेथे नि बा ?”

रत्नेले सेतेको आसय बुझे, “पोर परार हाईँसँग तँलाईँ लुआ किन्न, खसी किन्न पैसा थिएन...”

सेतेले कुरो बुझ्यो वा बुझेन उसकै मनको कुरा । उसले चुपचाप ढिँडो मुखमा दलेर सकि हाई काढ्यो ।

सेते रङ्गीन सपनामा पौडन थाल्यो । उसका ठूल्दाइले बालाई खसी काट्न सघाउँदै थिए, माइला दाइ, दिदी र आमाले घर रङ्ग रोगन गर्दै थिए । घरमा धेरै पाहुना आएका थिए । त्यस्तो रमाइलो सपनाको देशमा सेते आफू चाहिँ रन्जुसँग उही हवाइजहाज र  पुतलीसँग खेल्दै थियो ।

भोलिपल्ट बिहान बिचरा सेतेको हातमा गोरु लखेट्ने लौरो सिवाय केही थिएन । उसले आफूले देखेको सपना बालाई सुनाएपनि महत्वहीन भयो । सपना आखीर सपना न हो ! एउटा टाढाको क्षितिज । ऊ  खोक्रो मन बोकेर लुरुलुरु गोरु चराउन हिँड्यो । आज उसलाई वस्तु हेर्न जान मनै लाएको छैन । ऊ त्यहि सपनामा भुलिरहेको छ । उसलाई लाग्न थाल्यो उसलाई माया गर्ने रन्जु पनि एउटा सपना, उसले ल्याइदिएकी हवाइजहाज पनि एउटा सपना !
Photo Source : www.ausphotography.net.au