१३ वर्षका सुरेश नेपाल रोल्पा घोडागाउँको स्कुलमा कक्षा ६ मा पढ्दै थिए । गाउँमा मजदुरी गरी आफ्नो पकेट खर्च अनि घरलाई पनि केही खर्च जुटाउँथे । गाउँमा त्यसरी दुख्ख गरिरहँदा अचानक सुरेशका साथीले उनलाई काठमाण्डौँ जान उचाले । घर छाडी त्यसरी विरानो शहरमा पुग्दा दुख्ख पाइन्छ कि भन्ने सोँच त आएको थियो । तर शहरको रमझम हेर्न र पैसा कमाउने रहरले सुरेश पाँच महिनाअघि साथीहरूकै लहलहैमा लागेर राजधानी शहर आए । भैरहवा बसपार्कमा अलपत्र अवस्थामा भेटिएका सुरेशले काठमाण्डौँ बसाइको आफ्नो तितो अनुभव सुनाए ।
रोल्पा सदरमुकामबाट आठ दस घण्टा हिँडेर मेरो घर पुगिन्छ । घरमा बाआमा, भाई, दिदी, बहिनी छन् । एकदिन म घरमा आनन्दले बसिरहँदा केही साथीहरूले ठूलो आस देखाउँदै भने, “काठमाण्डौँ जाम हिँड् । पैसा कमाइन्छ, रमाइलो गर्न पाइन्छ” । “पढेर सकुन्जेल त पैसा कमाएर घरबार जोडिन्छ, धनी भइन्छ” । ती मध्येका धेरै साथीहरू कुलतमा लागेका थिए । त्यसैले विद्यालाई अवमूल्यन गरी तिनीहरूले भनेको कुरो मलाई कहिल्यै सहि लागेको थिएन । पढाईलाई कुनै पनि कुराले जित्नै नसक्ने रहेछ । विद्या नै सबैभन्दा ठूलो धन हो ।
तिनै साथीको संगतमा लागेर म गत बैशाखमा भागेर काठमाण्डौँ आएँ । ठूला घर, हतारीएका मान्छे, बेपत्ता घुइँकिरहेका मोटर गाडी देख्दा मेरो आँखै तिरमिरायो । काम खोज्न हिँडे । खोज्दै गर्दा होटलमा भाँडा माभ्mने काम गरेँ । त्यहाँ साहुले माया गर्थेन, गाली गथ्र्यो । ग्राहकलाई बासी र नराम्रा खानेकुरा ख्वाउँथ्यो । त्यसमा मेरो चित्त नबुझेर “यसो गर्न हुँदैन साहुजी” भनेको थिएँ । तर मलाई कामबाटै निकालिदियो । होटलमा भाँडा माझ्दा झल्झली घर सम्झन्थेँ । बाआमालाई धेरै सम्झेर रोएँ पनि । पछि त्यो काम छाडेँ । ग्रिल बनाउने ठाउँमा काम पाएँ । वेल्डिङ गर्थेँ । त्यसको उज्यालोले आँखामा असर गर्दो रैछ ।
मलाई साहुजीले माया गर्नुहुन्थ्यो । बस्ने खाने सुविधासहित २५०० रुपैँया तलब दिनुहुन्थ्यो । रोल्पामा मेरो घरछेउको स्कुलमा म कक्षा ६ मा भर्ना भएको थिएँ । काठमाण्डौँ नैकापको अमरज्योती स्कुलमा केही दिन मात्रै पढ्न गएँ । “वर्षमा दुई पटक जाँच दिन जान दिन्छु” भन्नुभएको थियो साहुजिले । म गद्गद् थिएँ । तर मलाई यो शहरले विरानो बनाउँदै लगेको थियो । कमाएर बाकसमा राखेको पैसा साथीहरूले चोरिदिन्थे । म तिनलाई केही भन्न सक्दिनथेँ । हातमा ठेला उठाएर काम गर्थेँ । पैसा तिनले चोरिलग्थे । उता घरमा बाले आस गरेका होलान् भन्ने सम्झन्थेँ । जिन्दगी गज्जबको रैछ, दाई !
यहाँ बस्दा थोरै ठाउँहरू घुमे । जाउलाखेल, रानीबन, स्वयम्भु, रत्नपार्क घुमेँ । सिनेमा हेर्न पनि जान्थेँ कहिलेकाहिँ । ‘छोडिगए पाप लाग्ला’ र ‘वान्टेड’ भन्ने सिनेमा हेरेँ । पत्रपत्रिकामा हिरोहिरोइनको कुरा पढ्न मन लाग्छ ।
काठमाण्डौँबाट थोरै कमाएर, बा, आमा, भाई र दिदीबैनीको धेरै सम्झना बोकेर घर हिँड्दैछु । दशैँको लागि चार हजार रुपैँया खर्चेर बाआमा, दिदी, बहिनीलाई कपडा किनिदिएको छु । घर हिँडेको दिनैबाट म ठगिएको रहेछु । रोल्पा जाने गाडी चढाउनुपर्नेमा ठगले मलाई तौलिहवा जाने बस चढाइदिएछ । तैपनि, लाग्ने भाडा भन्दा दुई सय रुपैँया बढि लिएर । अहिले तपार्इँले भनेपछि थाहा पाएँ । बुटवल झरेर रोल्पाको गाडी चढ्नु पथ्र्यो । तर मलाई कसैले सिकाएन । त्यसैले झण्डै अलपत्र परेको थिएँ । तर म डराउँदिन । बालखै छु तर हन्डर खाएर हिँडेको मान्छे हुँ ।
हात्ति जनावर हो त्यसैले उसलाई पढाई काम लाग्दैन । हामी भनेको मान्छे । जनावरसँग हाम्रो तुलना गर्न मिल्दैन । ज्ञानले मान्छेलाई मात्र गुन लगाउन सक्छ । मलाई कम्तिमा डिप्लोमा गर्ने मन छ । साहुले दस पास गरेपछि बोलाएको छ । तर म अब काठमाण्डौँ जान्न । गाउँमै पढ्छु । कुखुरा पाल्छु । एउटा कुखुरा हुर्काएर बेच्दा हजार÷पन्ध्रसय रुपैँया आउँछ । पढ्न पाइन्छ । बाआमासँग बस्न पाइन्छ । यो पाँच महिनामा मैले दसबाह्र हजार कमाएँ । तर पैसाले मलाई खुसी बनाउन सकेन । मान्छेहरू हानाहान गर्ने रैछन् यो शहरमा । तर हाम्रो गाउँ शान्त छ । सप्पैले आफ्नो काम गर्दै फुर्सद हुँदैन । मिलेर बसेका छन् ।
यहाँ बस्दा उस्तो दुख्ख त पाइनँ । तर फोहरको डुङ्गुर र यहाँका मान्छेले मलाई दिक्दार बनायो । काठमाण्डौँ आएर मात्रै जिन्दगीमा सबैभन्दा ठूलो कुरा पढाइ रैछ भन्ने लाग्यो, पत्रिका पढ्नुपर्ने रैछ भन्ने जानेँ । यसबाहेक जिम्मेवारीबोध भयो । यति सानो उमेरमा घर छाडेकोले पछुतो लागेको छ । यहाँ आएर मात्र पढाइलाई कुनै पनि कुराले जित्नै सक्दैन भन्ने सिकेँ ।
माओवादीले त्यति ठूलो युद्ध गरेर हाम्रा बारिका हरिया मकै भाँचे । “बन्दुक बोक्न हिँड्” भनेर हामीलाई गालामा झापु हाने, मेरो ठूलोबालाई मारे । मसँगै खेल्ने साथी अनि गाउँका थुप्रै जनता मारे । कक्षामा पढाइरहनुभएका सरलाई बाहिर निकालेर हामीले नबुझ्ने भाषण गरे । खै किन हो, तिनले आफ्नो मुठ्ठी हावामा उचाल्थे । उनीहरूसँग नगए त्यै मुठ्ठीले हान्लान् कि भन्ने मैले सोँचेको थिएँ । कोदालो भन्दा साना हामी केटाकेटीलाई बाटो खनाउन लान्थ्यो । बाले सुनाउनुहुन्थ्यो, “नेपाल अब राम्रो हुन्छ रे ।” म बुझ्दिनथेँ हाम्रो बारीको मकै भाँचेर पनि नेपाल कसरी राम्रो हुँदो हो ! मेरा बाको दिन उस्तै छ । दुई छाक खान उस्तै दुख्ख गर्नुहुन्छ । तरपनि, हाम्रो देशलाई सप्पैले राम्रो मान्ने दिन आउला नि ढिलोचाँडो ।
(Appeared in Nagarik daily, 15 October 2011).
No comments:
Post a Comment