आफ्नो परीक्षाको भोलिपल्टै उनलाई अमेरिका उड्नु पर्ने । त्यसैले उनले आफ्नो मम्मी\ड्याडीलाई राम्ररी ‘गएँ है’ भन्न पनि पाइनन् । ‘युएस् पुगेको रातभरि धुरूधुरू रोएँ, परिवार सम्झेर ।’ फिजिक्समा एमएस्सी सकिनु, डिभी परेर अमेरिका पनि जान पाउनु ! सुमिता ज्ञवालीको लागि देश छाड्नुपर्ने पिडासँगैको रोमांचक समय पनि थियो त्यो । पेन इन प्लेजर, प्लेजर इन पेन भनेजस्तै । यसैगरी ध्रुव पन्थीको समय उनले सोँचेजस्तै हुँदै गयो । र त उनी अहिले प्रतिष्ठित टोकियो विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ्गमा मास्टर्स गर्दै छन् ।
Dhruba Panthee |
स्कुले सहपाठी ध्रुव र सुमिता उच्च–अध्ययनको लागि नेपालबाहिर छन् । भाषा र संस्कृतिको बेमेलको कारण उत्तिकै दुख्ख छ । उनीहरुलाई नेपाल छाड्नपुरेको रहरले हैन करले हो । जापानी दुतावासले आह्वान गरेको सरकारी छात्रवृत्तिमा अप्लाई गरेपछि टोकियो विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ्ग पढ्ने कोटामा अटे ध्रुव । यसैगरी अचानक डिभी परेपछि सुमिताको करिअरले अर्को मोड लिएको हो । ध्रुव जापान पुगे, सुमिता अमेरिका ।
Sumita Gyawalee |
‘एसएलसीपछि मेरो मन नर्सिङ पढ्ने थियो ।’ स्काइपको ग्रुप कन्भरसेसनमा सुमिता यसो भन्छिन् भने ध्रुवको भनाइ यस्तो छ, ‘मेरो त सानैदेखि विज्ञानमै रूचि थियो ।’ घरपरिवारले सुमिताले मन पराएको पेशा रूचाएनन् । त्यसैले उनले खुरूखुरू फिजिक्स पढ्नि, एमएस्सी सकिन् । डिभी परेपछि अमेरिका गइन् । अनि नर्सिङ पढ्ने आफ्नो पुरानो रहर पूरा गर्न अहिले लागिपरेकि छन् ।
ध्रुवले अस्कलमा आइएस्सी गरे, पुल्चोकमा बिइ । पढेका सबै कक्षा टप गरिदिने त उनको पुरानो\राम्रो बानी थियो । ‘विदेशिने कुराप्रति मलाई कहिल्यै रूचि थिएन’ भन्छन्, ‘तैपनि पुल्चोक टपेर पनि उच्च शिक्षाको लागि विदेश नगएकाले आफन्तिहरुले गुनासो गरे । अरु पढ्ने रूचि त थियो तर यहाँ वातावरण नभएकोमा म खिन्न थिएँ ।’ अनि उनले बिइ सकेपछि नेपालस्थित अमेरिकी कम्पनीमा केही समय काम गरे । पछि स्कलरसिपमा जापान पढ्ने अवसर मिल्यो । ‘बैकल्किप उर्जाको रुपमा हाइड्रोजनको प्रयोगमार्फत् त्यसलाई फ्यूल सेलमा कनभजर्नको माध्यमबाट विद्युतीय शक्तिमा परिवर्तन’ गर्ने ज्ञान हासिल गर्दै छन् ध्रुवले । ‘जुन खनिज इन्धनका लागि शतप्रतिशत आयातमा भरपर्ने नेपालजस्ता देशका लागि त निकै फाइदाजनक छ ।’ उनी भन्छन् ।
उता किन गएको त ? ‘भविष्य सुरक्षित पार्न अमेरिका आएकी हुँ’ भन्दै सुमिता यसरी प्रस्टीछिन्, ‘तपाईँ मरूभूमिमा पानी नपाएर किक्लि–किक्लि हुँदा अचानक दुई घुट्की पानी मिल्दा त्यो पानी घुट्घुट्ती नपिएर ‘मेरो कोइ साथी आउँदै छ, उसलाई पानी राखिदिन्छु’ भन्नुहुन्छ र ?’ कुरा सहि हो ।
‘आखिर म नर्स हुने भएँ ध्रुव इन्जिनियर’ सियाटल बसेकी सुमिताले यसो भन्दा ध्रुव हाँस्दै थिए । ‘तर सुमिता हामी सक्षम भएपछि नेपालै फर्कनुपर्छ बुझ्यौ !’ ध्रुवको यो प्रस्ताव सुमिताले स्विकारिन् पनि । फेरि ध्रुवले आफ्नो कुरा गरे ‘म नेपालै फर्कन्छु, तर सरकारले मेरो ज्ञान र सीपको सही कदर गर्ने ग्यारन्टी भएको अवस्थामा मात्र !’ यो सेप्टेम्बरमा एमइ सकेर लगत्तै पिएचडि गर्ने सुर पनि छ उनको ।
Preeza Kayastha |
यसैगरी बिइ पढ्दाकी ध्रुवकी क्लासमेट प्रिजा कायस्थ टोकियो विश्वविद्यालयमै सिभिल इन्जिनियरिङ मा पिएचडी गर्दैछिन् । ध्रुवले जस्तै प्रिजा पनि नेपालमा चाहिएजति अनुसन्धानको सुविधा र वातावरण नभएरै उता हिँडिन् ।‘राष्ट्रप्रति बेहद् प्रेम छ तर हामीकहाँ बत्ति छैन, पानी छैन, यातायातको राम्रो व्यवस्था छैन’ प्रिजा भन्छिन्, ‘भारतमा युग अघि हरित क्रान्ति सुरू भैसक्दा अझै पनि हामी परम्परागत खेतीभन्दा माथिको खुड्कीलो चढ्न सकेका छैनौँ ।’ उनको यो गुनासो हैन, यथार्थ हो ।
‘यसो हुनुमा मैले कसैलाई दोष लगाउँदिन’, प्रिजा भन्छिन्, ‘पिएचडि सकेपछि बरू नेपालै फर्कन्छु, मेरो अनुसन्धानले नेपाललाई ठूलो योगदान अवश्य दिन्छ ।’ खुसीको कुरा !
स्वागतम् ! हामी कुर्दै छौँ ‘प्रिजा’, ‘ध्रुव’ अनि ‘सुमिता’हरुलाई !
यी तीन युवाको भन्दा भिन्न कथा छ अर्का युवा सदन राज अधिकारी जो २६ वर्षमा त्रिवि अंग्रेजी केन्द्रीय विभागमा लेक्चरर हुन पाएका थिए । मास्टर्समा गोल्ड मेडलिस्ट भएर विभागमै पढाउन पाउँदा विद्यार्थीबीच उनको हाइहाइ थियो रे । दैनिक १५\१६घण्टा खटेर उनले राम्रो धन कमाउँदै थिए ।
‘तर जरो गाडेको चिप्लोम्यासी र डिप्लेम्यासीले मलाई निराश बनायो ।’ सदन भन्छन् । सदनको थालमा विश्वविद्यालयले निराशावाद पस्किदियो । अनि सदनलाई यहाँ बस्नै मन लागेन । नेपालमा सदनको वर्तमान सुन्दर थियो तर भविष्य कुरुप । निराश भविष्यको बाँझो खेतलाई उर्वर बनाउन सदनले नेपाल छाडे । एमफिल पनि पुरा नगर्दै र अंग्रेजी विभागलाई राजीनामा कागज पनि नलेखी ‘लात हानेर’ दुई वर्ष अगाडि उनी अस्ट्रेलिया उडे । दिक्षान्त हुनै वर्षौँ लाग्यो त्यसैले आफूले एमएमा पाएको गोल्ड मेडल पनि लिएनन् ।
Sadanraj Adhikaree |
अहिले उनी भन्छन्, ‘आइ एम ह्याप्पी बिङ हियर, टु डु थर्ड क्लास जब ।’ सदनका चेलाहरुलाई लाग्छ ‘देशले भविष्यको एउटा कुशल प्राध्यापक गुमायो !’
यसैगरी पोखराकी बिना गुरूङ अस्ट्रेलिया गएको सातवर्ष भयो । उनले त्यहाँ काम गर्छिन् । साहुले छोरी जत्तिकै माया गर्छ भन्छिन् । यताको पिडादायी वातावरण भन्दा उनी उतै रमाएकी छन् । उनलाई लाग्छ अहिलेसम्म उनी अस्ट्रेलिया बसेर नेपाललाई कुनै पनि योगदान गर्न सकेकि छैनन्, तर २,३ वर्षमा नेपाल फर्कने योजना चाहिँ बुनेकी छन् बिनाले ।
यसैगरी आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा एक नेपाली युवा, जो युके छन् भन्छन्, ‘म नेपालबाट युके हिँड्दा पढ्छु, काम गर्दिन भनेको थिएँ । तर घरको रिन तिर्न काम नगरी सुख्खै भएन । अनि पढाइ छाडेर कमाउन लाएँ ।’ यिनी नेपाल नफिर्ने योजनामा छन् रे । घरसँग सम्बन्ध पनि लगभग टुटिसकेछ !
विश्वविद्यालयले सदनको दिल टुटाएको रैछ । विश्वविद्यालयमा विद्यार्थीले मन पराउने, ट्यूसन अनि काठमाण्डौँका राम्रा कलेज पढाएर कमाइ पनि राम्रो हुँदा उनले किन सबैथोक ‘लात हानेका’ त ? गत दशैँको छेउछाउमा उनी नेपाल आएर उतै फर्किए । यताका आफ्ना पूर्व सहकर्मीलाई उनले अहिले ‘पढाइ–सडाइ गोलि मारेर टमाटर टिप्दैछु’ भन्छन् । ‘चाकरी, चाप्लुसी अनि त्रिविमा भएको राजनीतिक हस्तक्षेपको कारण’ सदन यहाँबाट लखेटिए ।
यसप्रकार, देश छाडेर किन हिँडेको ? भन्ने प्रश्नमा एउटै गुदी भएको जवाफ सबैबाट आयो । ‘देशले मलाई बिगार्यो’ भनेर सत्तोसराप गरेर बटारिनु भन्दा देशमा परिवर्तन ल्याउन आफैँ लाग्नुपर्ने कुरामा चाहिँ सबै युवा सहमत छन् ।
सबैको कथा बेग्लै छ तर उस्तै छ ।
यी युवाहरुप्रति देशको एउटै आग्रह छ, ‘कहिले फिर्ने नेपाल ???’
-सिपी अर्याल (CP Aryal)
(Appeared in Yuwamancha Magazine Kattik, 2068 issue)