Saturday, October 2, 2010

Story of a Striker



The Article is published in Gorkhapatra, dated 2010 October 1.


विकेटकिपरबाट स्ट्राइकर


सिपी अर्याल  (CP Aryal)

चिम्सा तर आकर्षक आँखा भएका १९ वर्षिय उदयिमान युवा खेलाडी निराजन मल्ललाई कतिले लोभ्याएका होलान् ? उनलाई 'केटीसेटी/लभसभको चक्करमा फस्नु छैन' रे! यत्रो स्टार भएर पनि किन यस्तो होला, अचम्म ! निराजनका आँखामा लाजका स्पष्ट तरंग नाचेका देखिन्थे। 'गर्लफ्रेन्ड छैन मेरो!' स्पाइकी हेयरस्टाइल रुचाउने लजालु निराजन भन्छन्। उनलाई ट्रयाक जर्सी मन पर्छ, जुत्ताका पनि खुबै सौखिन। देशबाहिर जाँदा आफूलाई मन पर्ने एकजोर जुत्ता किनिछाड्छन्।


फोटो स्रोत : www.goalnepal.com


निराजनको जन्मथलो चितवन। बाल्यकालको पाँच वर्ष तौलिहवामा बित्यो। यै बेला उनलाई फुटबलमा रस पस्यो। 'तौलिहवामा ठूलोमामुकोमा पढ्न बसेको थिएँ। खेल्नेकुद्ने उमेर थियो।' निराजनले आफूमा फुटबलको रस कसरी बस्यो, त्यो बताउन थाले। उनको कथा अरू सबै खेलाडिको जस्तो छैन, जसले झुम्रोमा भुस भरेर फुटबल खेल्थे।




'फुटबलको क्रेज हुँदै गर्दा हामीले तौलिहवामा एउटा क्लब बनायौँ। पैसा उठाएर फुटबल किन्यो खेल्यो।' उनी भन्छन्। निराजनले उतिबेला नै मुड चेन्ज गरेको भए अहिले उनी फुटबलर हैन क्रिकेटर बन्ने रैछन्। क्रिकेट खेल्दा विकेट किपर बस्ने निराजनको क्रिकेटमै राम्रो प्रदर्शन देखेर साथीहरूले ' तिमी फुटबल भन्दा क्रिकेट पो राम्रो खेल्ने रैछौ' भनिदिए। यी फुटबलर उतिबेलाका साथीको कुरा सम्झेर मुसुक्क हाँसे। किनकी क्रिकेट जतिसुकै राम्रो खेलेपनि उनलाई फुटबलको भूतले तानीसकेको थियो। 'मैले फुटबलभन्दा अन्त ध्यानै मोडिनँ।' यसरी उनी फुटबलमै रमाउन थाले।

तौलिहवाबाट कंचनपुर हिँडे निराजन...
त्यहिँको स्कुलमा भर्ना भए। कंचनपुरबाट खेल्दै गर्दा एन्फा एकेडमीमा छनौट भए। एन्फाले उनलाई काठमाण्डौँ ल्याएर चौध वर्ष मुनीको राष्ट्रिय टिमको क्याप्टेन बनायो। निराजन १९ वर्षका हुँदासम्म एन्फाले उनलाई राखेर फिट फुटबलर बनायो। अबको बाटो भने निराजनकै हातमा छ। जापान, इरान, कतार, बंगलादेश, पाकिस्तान घुमेका निराजनले त्यहाँ गएर खुबै राम्रो प्रतिभा देखाए। अहिलेसम्म सबै उमेर समुह१३, १४, १७ १९ मा खेलिसकेका छन्। सबैमा उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। उनका हातमा सफलताका अनगिन्ती फलहरू छन्।




मेस्सीको खेल कौशलको अत्याधिक लोभ गर्ने यिनले नेपाली फुटबलरमा रोहित चन्दको खेलकौशल मन पराउँछन्। काठमाण्डौँको गोल्डनगेट कलेजमा बार् कक्षामा अध्ययनरत निराजन अहिले चोटग्रस्त छन्। त्यसैले उनलाई कहिलेकाहिँ नराम्ररी चोट लाग्दा 'बेकार रोजिएछ फुटबल!' जस्तो लाग्छ। तर संचो भएपछि भने जोसले उस्तै ठाउँ लिइसक्छ। फुटबलको सबैजसो कला उत्कृष्ट ढंगले पस्कन जानेका छन् निराजनले, बललाई उत्तिकै गतिमा कुदाउन, ड्रिबलिङ गर्न, साथीलाई ज्यानमारा पास मिलाउन देब्रे दाहिने दुबै गोडाले बल दगुराउन। किर्गिस्तानसँग विश्वकप छनौट खेलमा उनले हानेको 'बाइसाइकल किक' नै सबैभन्दा उत्कृष्ट गोल हो उनको। त्यति बेलाको हार भने सबैभन्दा नमिठो पनि छ। यसैगरी उनी संकटा क्लबबाट खेल्दा आफ्नो क्लब रेलिगेसनमा पर्दा पनि निराजनको मन धुरुधुरु रोएको थियो।




मल्ललाई फुटबलमा हुने राजनीतिबारे अलिकति पनि केही थाहा/चासो छैन। 'मलाई यसबारे केही पनि थाछैन। मेरो काम मिहिनेत गरी खेल्ने हो त्यत्ति जानेको छु!' उनलाई राजु शाक्यले भनेको यो कुराले जिम्मेवार हुन सधैँ झक्झक्याउँछ'फुटबल खेल्ने धेरै हुन्छन् तर ती सबै फुटबलर हैनन्। निराजन भने फुटबलर हुन्।' एपिएफ क्लबमा अठार महिनाको लागि आबद्ध भएका यी फुटबलरले पैसा कति कमाए ? यो कुरा सायद जान्न नखोजेको भए नै हुने रैछ। निराजनको आँखामा नैराश्य छायो, 'काँ पैसा कमाउनु? हामीकहाँ फुटबल खेलाडीलाई कसैले गन्दैन। अहिलेको वातावरणमा पहिलाको भन्दा केही परिवर्तन भएको छ। तर फुटबलमै लागेको एउटा खेलाडी खेल्न सक्ने हुँदासम्म मात्र जीवन धानिन्छ सन्यास पछि उसले अर्को पेशा नरोजी सुखै छैन।'भोलिपल्ट खेल्नुपर्ने नक आउट म्याचमा बललाई गोद्ने उनका गोडा चोटग्रस्त छन्, तर नखेलि सुख्खै छैन। उनले निराशाका यस्ता कुरा भन्दा आफ्नो हातले दाहिने गोडाको बुढी औँलालाइ सुम्सुम्याउँदै थिए, जुन हल्का सुन्निएको थियो। यसैगरी, गफिने अवधिभर निराजनको आँखा दाहिने गोडाकै गोलिगाँठा छेउछाउ नै घुम्थे। त्यो ठाउँमा पनि उनलाई चोट लागेको छ। एउटा खेलाडीले राम्ररी उपचार पाउँदैन उसले अरू के कुराको आस राख्नु? निराजनले संसारै जित्ने कुनै आस पनि राखेका छैनन्। म्यानचेस्टरबाट खेल्ने दिन कैले आउला? 'खै त्यति ठूलो सपना बुन्नै सकेको छैन। खेल्दै जाने हो, आफ्नो आर्ट देखाउन पछि पर्दिनँ पालो आउला नि!' सामान्य सोचाइ उनको।




चौध नंबरको जर्सिमा मैदानमा उत्रने निराजनले अहिलेसम्म खेलेका कुनै अन्तराष्ट्रिय खेलमा पनि रातो कार्ड पाएका छैनन्। 'एउटामा भने पहेँलो खाएको छु, त्यो पनि साथीले गरेको फल थ्यो। रेफ्रिले मलाई दोष लगाए।' यति सुन्दर अनि सफा खेल खेल्ने निराजनलाई विज्ञापन एजेन्सीले विज्ञापन खेल्न बोलाएको छैन। 'बोलाए गइन्छ', मल्ल भन्छन्। पढाई, ट्रेनिङ खेलको मेसो मिलाउन खुबै हम्मे परिरहेको उनलाई।




सन्तोष साहुखल अहिले यहाँको सबैभन्दा महंगा खेलाडी हुन् जसको महिनामा पैँचालीस हजार तलब छ। यो अवस्था देख्दा भने फुटबलको राम्रो भविष्य भएको मान्छन् मल्ल। हामीले एक दशक अगाडि साफ गेममा भारतलाई पनि पछारेर गोल्ड मेडल जित्दाको अवस्था भन्दा अहिले फिफा र्याङ्कीङमा घिसि्रएर केही अघि पुगेका छौँ तर घरेलु फुटबलको स्थिति भने ज्यादै दयनिय भएको छ। उतिबेलाको भारतीय टिम हामीभन्दा धेरै अघि पुगीसक्यो। निराजनको निराशाले समग्र राष्ट्रको फुटबल वरिपरि घेरिएको कालो बादललाई देखाउँछ। अनि के हाम्रो फुटबलबारे सबै कुरा नकारात्मक नै छन्  ? 'नेपाली फुटबलरको खेल्ने कला पहिलाको भन्दा फेरिएको तर अरू सकारात्मक कुरा त्यस्तो केही देख्दिनँ। राजनीति फुटबल अलग नहुँदासम्म यो अवस्था सधैँ यस्तै हुनेछ' निराजनको अड्कल।




अब भारत विश्वकप फुटबल खेल्न १५/२० वर्षमा सक्ने भैसक्छ, निराजनको अनुमान, 'तर नेपाल त्यसको दुईगुना वर्षमा अत्याधिक मिहिनेत गरेमात्र सफल होला। त्यो पनि खेल क्षेत्रलाई राज्यले पहिलो प्राथमिकताभित्र राखे मात्र।' हामीकहाँको अन्डर नाइन्टिन खेलाडी भारतका त्यहि उमेरका खेलाडीका अगाडि उभिँदा छायाँमा पर्छन्। ''मर्नेबेलामा हरियो काँक्रो भनेझैँ' खेल खेल्नु एक महिना अगाडिदेखि डाइटको नाममा चना अण्डा, अरू बेला भक्कु पाउरोटी चिया दिन्छन् अनि काँबाट बनोस् ज्यान?' नेपाली खेलाडी जहिलेपनि मैदानमा गुल्टिने कारण पहिल्याए निराजनले। घरेलु मैदानमा ब्यापक दवाबमा खेल्नुको मज्जा अनि देशबाहिर खेल्दा देशको प्रतिष्ठाको विषय गाँसिने भएकाले उत्तरदायी भएर खेल्दाको मज्जा पनि खुबै रमाइलो हुन्छ उनलाई।

No comments:

Post a Comment