Saturday, January 26, 2013

तन्नेरीलाई खुराक


–सिपी अर्याल (CP Aryal)

तन्नेरीले बोल्ने भाषा, उनीहरूले बाँचेको जस्तै जीवन, तिनकै क्षणिक प्रेम सम्बन्धका कुरा अनि उस्तै मनोविज्ञान । यस्तै यथार्थलाई मज्जाले बुझेर लेखिएका नेपाली साहित्य हामीसँग थिएनन्, सायद । भारत लगायत विश्वकै अक्षरबजारमा यस्तो साहित्यले गतिलो ‘कमर्सियल भ्यालु’ राख्ने गरेका छन् । सामान्य कथानकबीच रङ्गीन प्रेमसम्बन्धमा हेलिने युवाका त्यस्ता कथाको छुट्टै ‘एस्थेटिक भ्यालु’ रहने गरेको छ । हामीमाझ यस्ता औपन्यासिक कृतिका माग उठिरहेका जरुर थिए । यद्यपि, मूलधारमा ‘गम्भीर’ भनिने साहित्यमाझ यसखालका तन्नेरी खुराक अहिलेसम्म देखिएका थिएनन्, सायद ।

यो अवस्था चिर्दै युवा स्रस्टा सुबिन भट्टराईले उनको पहिलो उपन्यास कृति ‘समर लभ’ प्रकाशित गरेका छन् । यो विलकुल नयाँ शैली ‘मूलधार’ लेखनीले पचाउन समय त लाग्ला नै तर एउटा कुरा ठोकुवा गरिदिन सकिन्छ, यस्ता पुस्तकप्रति युवापुस्ताको मोह ह्वात्तै बढ्नेछ अब । आफ्नै कथा, आफूले जस्तै बोल्ने भाषाको प्रयोग र दुरुस्तै जीवनशैली समेटिएको गतिलो पुस्तक अभाव भएरै त हो नि हाम्रा तन्नेरी नेपाली साहित्य पढ्न नलोभिएका ! ‘समर लभ’ले त्यसको क्षतिपूर्तिको लागि पहलकदमी उठाउन सुरुआत गरेको छ । यस पुस्तकले आफूलाई फरक साहित्यविधाको रूपमा पक्कै स्थापित गराउनेछ । भाषा/कथानक/प्रस्तुती युवाहरूलाई समकालीन लाग्नेछ । ‘समर लभ’ मा आफ्नै परिवेशको कथा र आफूले जस्तै भाषा बोल्ने पात्रहरू देख्नेछन् युवा पाठकले ।साया र अतितको जस्तो प्रेमसम्बन्धमा उनीहरूले आफैलाई हिरो/हिरोइन मानेर उपन्यास पढ्नेछन् ! अनि यिनै पात्रले विश्वविद्यालयमा बिताएका समय बारे पढिरहँदा पाठकहरू नोस्टाल्जिक पनि हुनेछन् ।

अतित नामक मूलपात्रको वरिपरि घुमेको ‘समर लभ’ लेखक–पात्रले अतितकै मुखबाट न्यारेट गराएका छन् ।  त्रिविमा वातावरण विज्ञानको स्नातकोत्तर इन्ट्रान्समा ‘साया शाक्य’ नाम पहिलो नम्बरमा देख्नेबित्तिकै अतित उसलाई देख्न लालायित हुन्छ । भनौँ न देखेको नामसँग ऊ प्रेममा परिसक्छ । सायाबारे व्यग्रतासाथ जान्न खोज्दा उसलाई अन्य युवतीहरूले जिल्ल्याएका, आफ्नी नायिकालाई देख्न ऊ लोभिएको घटना वर्णनले पुस्तकका पाना पल्टिएको पत्तो पनि दिँदैनन् । यसरी कथानकले गती लिन्छ । नियमित अध्ययन सुरु भएपछि सायासँगको प्रेम सम्बन्धमा अतित मजाले जेलिन थाल्छ । साया पनि अतितको संसाथले रमाउँछे । त्यसबीचका घटना निकै सामान्य लाग्छन् तर प्रस्तुतीकरणको शैलीले उत्तिकै लोभ्याउँछन् पनि । दुईबीचको रोमान्स र सेक्सका वर्णन अनि हाँसोठट्टामा गतिला संवादको प्रयोगले पाठकलाई अल्झाइरहन्छन् । साया र अतितबीच सानातिना कारणले उब्जाएका मनमुटावले युवा मानसिकताको प्रतिनिधित्व गर्छन् । प्रयुक्त अन्य पात्रबीचका लोभलाग्दा संवादले पनि पाठकको मन हरप्रहर जीतिरहन्छन् । कुनै नविन कुरा कथामा छैनन्, त्यसको सार दुई शब्दमा व्यक्त गर्न सकिन्छ, ‘प्रेम’, ‘विछोड’ । तर त्यसबीच पात्रले भोगेका यथार्थहरूको सशक्त विवरण नै काफि छन् पाठकलाई बाँधिराख्न । अनु, प्रतिक्षा, किरण, सुस्मीता, दिब्या, मधुसुदन आदि पात्रहरूले सहज भूमिका निर्वाह गरेका छन् । मूलकथाको अन्त्यसँगै केही पात्रहरूलाई बीचमै छाडिएको छ । तिनको पनि सही थान्को लगाउन सकेको भए पाठकले सन्तुष्टिको लामो सास तान्न सक्थे । कथाको टुङ्गो यस्तो प्रकारले गरिएको छ कि पाठकहरूलाई आस लाग्ला, ‘समर लभ–२’ पनि आउँछ कि भन्ने !

अतितले आफ्नो भूमिकालाई जबरजस्त राख्न सकेको छ । एउटा युवा छात्रले विद्यार्थी जीवनमा झेल्ने गरेका समस्या, सफल प्रेमी बन्ने उसको मोह अनि परिवार र प्रेमीकाबीच समान सम्बन्ध मेन्टेन गर्नुपर्ने अप्ठेरो बीच बाँधिएको छ ऊ । उसैगरी सायाको भूमिका पनि स्वाभाविक लाग्छ । अझ, अचेल युवामाझ मौलाएको प्रेम सम्बन्धबीचको सर्वकालिक प्रेमिका–पात्र बन्न सकेकी छ साया । पारिवारिक दबाबले अतितलाई छोड्न चाहेकी जस्तो देखिने सायाले अरू नै कारणले पो अतितलाई छोडेकी होकि भन्ने प्रशस्त ठाउँहरू छन् । अन्य पात्रहरूको भूमिका पनि सहज लाग्छ । समग्रमा यी दुवै जोडी युवापुस्ताको प्रतिनिधि पात्र बन्न सकेका छन् । एकसरो कथाको मालामा उनीएको यस उपन्यासमा बीचमा कुनै उपकथाहरू आउँदैनन् । अतित र सायाको रोमान्सबीच कोही पनि ‘कवाबमा हड्डी’ बन्न नआएको होला जस्तो लाग्ने ! कुनै सबप्लट नभएको यस्तो कथामा प्रमुख पात्र हावी भएपनि प्रमुख कथासँग कहिँकतै पाठकहरू झिझिने ठाउँ देखिँदैन । मूलपात्रबीचको आकर्षण, प्रेम, रोमान्स, सेक्स अनि तीबीच देखिएका मनमुटावहरू रुचिलाग्दो र सामान्य ढङ्गमा प्रस्तुत छन् । युवापुस्ताबीच चर्चित बोलिचालिको भाषा प्रयोग कसीलो र सहज लाग्छ । उपन्यासको उत्तरार्धमा साया र अतितबीच गम्भीर मनमुटाव पर्छ र अवस्था एकदमै क्रिटिकल हुन्छ । त्यसबेला आफै कस्सीएर तीबीच मेडिएट गर्न पाए हुन्थ्यो भन्ने आस पाठकलाई लाग्न सक्छ !

Source: www.kalvj.blogspot.com
सायासँग विछोड भएपछि आधीदर्जन पेज लामो अतितको उराठलाग्दो फत्फत्याई असहज लाग्छ ! हुन त गहिरो वियोग भोगेको मानिसले एक्लै बर्बराएको जस्तो पनि देखिन्छ त्यो पाटो । त्यसैगरी कहीँकहीँ समकालीन सेटिङ अनुसारको वास्तविकता प्रस्तुतीकरणमा लेखक मजैले चुकेका छन् । ती सूक्ष्म घटनाको वर्णनमा पनि ध्यान दिइनु पर्थ्यो । यसैगरी प्रुफरिडमा पनि अझ मिहिनेत गरिनुपर्ने देखिन्छ । चेतन भगतको लेखनशैलीबाट प्रभावित भएको बताउने भट्टराइको शैली पनि भगतकै जस्तो छ । गह्रुङ्गा साहित्यिक सिद्धान्त लगाएर बुझ्नु नपर्ने र युवा वर्गको प्रेमिल जिजिविषा समेटिएका भगतका उपन्यासजस्तै भट्टराइले पनि हामीमाझ ‘चिक–लिट’को प्रवेश गराएका छन् (लेखिका अद्भैता कलाले यस खालको उपन्यासलाई ठट्टामा ‘डिक–लिट’ भनेकी थिइन्, गतवर्षको साहित्य महोत्सवमा) । कथामा प्रयुक्त सामान्य डिटेलको प्रयोग ठाउँठाउँमा झिझ्याटलाग्दो देखिन्छ । ती डिटेल्सको प्रयोग लेखकले सुन्दर ढङ्गमा गर्न नजानेको आभाष हुन्छ । कतिपय घटनाको घुम्टो खोल्न लेखक निकै आतुर देखिन्छन् । लम्ब्याउन सकिने त्यस्ता डिटेल्सहरू बढाएर सूक्ष्म खालका अन्य केही विवरणहरू घटाएको भए पुस्तक अझ ओजिलो बन्न सक्थ्यो । साया को हो भन्ने कुतूहुलता बढाउन लेखक जति सफल छन् त्यसबाहेकका केही प्रस्तुतीको पर्दाफास गर्न कहिँकहिँ उत्तिकै असफल पनि भएका छन् । खैर, घटनाको चाँडो पर्दाफासले युवा मनोविज्ञानको छनक दिन खोजेको व्याख्या पनि गर्न सकिन्छ ।

पुस्तकको लेआउट आकर्षक देखिन्छ । प्रयुक्त कभर फोटोले उपन्यासबारे धेरै बताउँछन् । राम्री युवती कालो ब्याकग्राउन्डमाझ रङ्गीन ब्यालुन लिएर पोज दिइरहेकी छ । रङ्गीन ब्यालुनजस्तै उसका रङ्गीन चाहनाहरू मनभित्र छन् । तन्नेरी जीवनभोगाइका इन्द्रेणी अनुभव ऊसँग छन् । उपन्यासकी नायिका सायाकै फ्लेभर मान्न सकिने पुस्तक कभरकी युवतीका मनमा अन्य कस्ता प्रेमील तरङ्ग देखापर्छन्, ऊ किन अतितसँग टाढिन खोज्छे त्यो बुझ्न पुस्तक पढ्न जरुरी छ । सुमधुर प्रेमकथा भएको यो पुस्तक विशेषगरी तन्नेरीमाझ पठनीय ठहर हुनेछ ।

पुस्तकः समर लभ
विधाः उपन्यास
लेखकः सुविन भट्टराई
प्रकाशकः फाइनप्रिन्ट आइएनसी
मूल्यः ने.रु. २७५/-
पृष्ठः २५०

(नागरिक दैनिकमा २०६९ माघ १३ गते पहिलोपटक प्रकाशित)

Monday, October 15, 2012

एउटा एनालग लाइब्रेरी


-सिपी अर्याल (CP Aryal)

‘खोला तर्‍यो लौरो बिर्सियो’ । लेखको सुरुमै यो उखान उदृत गर्नुको कारण छ । सन् १९७४ मे १ मा  अहिले राजनीतिज्ञ र विद्वान कहलिएका डा. प्रकाशचन्द्र लोहनीले केन्द्रीय पुस्तकालयबाट उसले तोकेको समयमा फिर्ता गर्ने सर्तमा दुईटा पुस्तक लगे । ‘रिजनल कन्फरेन्स : वाटर रिसोर्स डिभेलपमन्ट इन एसिया फर इस्ट’ र ‘युएन इकनमिक कमिसन फर एसिया एन्ड द फार इस्टः वाटर लेगिस्लेसन’ नामका । पुस्तक पढेर ज्ञान हासिल गरे । विद्वान कहलिए । तर ‘समयमा फर्काइदिने सर्त’सहित उनले लगेको सो पुस्तक लाइब्रेरीको र्‍याकमा फेरि उक्लन पाएन । डा. लोहनीले ज्ञानको खोला तरे । तर खोला तार्न सघाएको लौरो चटक्कै बिर्सिए !

वि.सं २०१६ सालमा राजदरवारको प्रत्यक्ष लगानीबाट स्थापित यो केन्द्रीय पुस्तकालय भन्दा निकै पछि स्थापित भएका पुस्तकालयहरूले स्वरूप परिवर्तन गरी डिजिटल दुनियाँमा उक्लिए । हामी भने उही एनालग संसारमै छौँ । एसियाकै तेस्रो ठूलो पुस्तकालय भनेर चिनिने यो पुस्तकालय हिँडिरहेको बाटै अर्कै छ । ‘हामी डिजिटल प्रोसेसमा गएको दुई वर्ष मात्रै पुग्यो होला’ पुस्तकालयका निमित्त प्रमुख जनार्दन ढुङ्गाना भन्छन् ।  ‘डिजिटल प्रोसेसिङ’ भनेको थेसिस/डिजर्टेसनहरूलाई सिडिमा राख्ने हो, बस् ! त्यसबाहेकको डिजिटल सुविधा केही पनि छैन । अहिलेको पुस्ताले काखमा कम्प्यूटर राखी मस्तसँग पढ्ने रुचि देखाउँछ । तर यो अभाव सजिलै पूर्ति हुने छाँट देखिँदैन । मुलुक राजनीतिक ट्रान्जिसनमा फँसेको बेला पुस्तकालयले पनि सोही सिको गरेको होला । अबको अझै दुई चार वर्षसम्म डिजिटल सुविधा नभए नयाँ पुस्ता पुरानो शैलीमा रमिरहँदैन !

यो एनालग पुस्तकालयमा कम्प्यूटर र इन्टरनेटबाट पुस्तकालयले दिने सुविधाहरू शून्य छन् । कर्मचारीहरू भर्खर कम्प्यूटरका माउस डोर्‍याएर एनालगबाट डिजिटल संसारमा ताते–ताते गर्न सिक्दै छन् । विद्यार्थीहरू डिजिटल क्याटलगको माग गर्छन्, आफूले मन पराएको पुस्तक अनलाईन बुक गर्ने, लेट फि अनलाईनमार्फत् तिर्ने, लाइब्रेरीमा आएका नयाँ पुस्तकबारे घरमै बसी बसी जान्न पाए हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । तर व्यवस्थापनले ती माग पुर्‍याउन सके पो ! ‘पुस्तकालयमा खानेपानी र ट्वाइलेटको व्यवस्था त छैन अरू सुविधाको के आस गर्ने !’ आफ्नो परीक्षा नजिकिएकाले दिनहुँ यहाँ आइ पढी बस्ने जगन्नाथ तिमल्सीना भन्छन् । ‘तिर्खा लायो, दिसा पिसाब लाग्यो भने पन्ध्र मिनट हिँडेर आफ्नै कोठामा पुग्नुपर्छ ।’ पुस्तकालयको हरिबिजोग देख्न जताततैबाट पानी चुहिने गरेकाले ठाउँठाउँमा राखिएको बाल्टिन हेरे पुग्छ । यी कुरामाथि बिहङ्गम दृष्टि लाउँदा आधारभूत सुविधासहतिका सबै कुरा पूरा गर्न धेरै लामो रेस जित्नु पर्छ पुस्तकालयले । किनकि, अहिलेको परम्परागत अवस्थालाई उधिनेर आधुनिकता अंगाल्न सक्ने सजिलो ताकत नै राख्दैन यसले । यो कुरा स्विकार्न निमित्त प्रमुख ढुङ्गाना पनि पछि पर्दैनन् ।

असार/साउनमा जाँदा पुस्तकालयको हरिबिजोग ।
अर्थ मन्त्रालयले बजेट छुट्याउने यो पुस्तकालयले वर्षेनी ३५ लाखको किताबहरू र उती नै रकममा पिरियोडिकल्सहरू खरिद गर्छ । पढ्ने म्याटरहरू त अनगिन्ति छन् । यसअनुसारको सुविधा छैन । असी कर्मचारीलाई रोजगारी मिलेको छ । दिनहुँ सरदर ५०० पाठक आउँछन् । ३५ लाख पिरियडिकल्स र सोही संख्यामा पुस्तकहरू होलान् भन्ने अड्कल्नु हुन्छ ढुङ्गाना ।  दैनिक र साप्ताहिक गरी खरिद गरिने ३८ पत्रपत्रिका र सात वटा गिफ्टेड पत्रपत्रिका आउँछन् । ५० टाइटलका खरिद गरिएका म्यागाजिन र उती नै संख्यामा गिफ्टेड म्यागाजिन भित्रन्छन् । फरेन जर्नलहरूको संख्या पचहत्तर छ, पचास टपिक लाइब्रेरीले खरिद गरेको र २५ गिफ्टेट टाइटलमा । पाठकहरूले लोडसेडिङका बेला धेरैजसो पत्रपत्रिकाहरू च्यातेर लैजाने गर्छन् रे ! के गरुन् त बत्ति नभएकाले फोटोकपी मेसिन चल्दैन, पुस्तकालयले बत्ति गएको बेला पनि फोटोकपी गर्ने सुविधा दिएको छैन । समयमा बजेट नआउनाले बाइन्डिङ हुन नपाएका पत्रिकाहरू भैंभरि असरल्ल देखिन्छन् ।

फेरि लागौं पुस्तक लगेर फिर्ता नगर्ने भिआइपीहरूतर्फ । सय जना भन्दा बढी भिआइपीहरूको छुट्टै लिस्ट बनाइएको छ । उनीहरू सबैजसोले विश्वविद्यालयमा संघर्ष गर्दै पढ्दाका दिनमा पुस्तक लगेका हुन् । पुस्तकालय प्रशासनले भिआइपीहरूसँग ठाडै कुरा गरेर ‘पुस्तक फिर्ता लेउ’ भन्न पनि नसक्ने कारवाही गर्ने त कुरै परको । ‘उनीहरूलाई पटक पटक पत्र पठायौं’ ढुङ्गाना गुनासो गर्छन्, ‘तर ठेगाना मिलेन भनेर पत्र फिर्ता आउँछ ।’ ढुङ्गानाकाअनुसार ती ठूलाबडासँगबाट पुस्तक फिर्ता ल्याउने काम ‘मिडियाको मात्रै हुन सक्छ । ‘पत्रपत्रिकामा आएपछि लाजले भएपनि धेरैले फिर्ता ल्याएका छन् ।’ उनी भन्छन् । तर पनि केहीले अझै लाज पचाइनै रहेका छन् । ढुङ्गानाले मिडियाले यसबारेमा इस्यू उठाइदिन आग्रह गरे । नगरुन् पनि किन ? यसो नगरे पुस्तक फिर्ता आउँदैन, आफूहरूले ती भिआइपीसँग कुरा गर्ने हिम्मत छैन, फेरि जागिरको सवाल पनि त पर्ला ! कर्मचारी विवश छन् ।
एक पाठक पुस्तकसँग

पुस्तक फिर्ता नगर्ने थुप्रै भिआइपीमध्ये सुदिप पाठक, हरिहर दाहाल, लक्ष्मण, बस्नेत, राजन पन्त, कमल थापालगायतका छन् । उनीहरूले लोहनीकै बाटो रोजेर लगेको किताब फर्काएका छैनन् । सुदिपले सन् १९८१ मे र १९८८ मार्च २३ मा लगेको दुइवटा पुस्तक (१.राहुल सांस्कृतायन ऋग्वेदिक वाय र वेपर पोलिटिकल थट) फिर्ता गर्न बिर्से । यसैगरी केही वर्ष अघि हत्या गरिएका सशस्त्र प्रहरी महानीरिक्षक कृष्णमोहन श्रेष्ठले पनि सन् १९८२ मा पुस्तक लगेको रेकर्ड छ । उनी त मरेर गए, तर उनले लगेको पुस्तक पनि उनीसँगै स्वर्गे भयो ! नेता राजन पन्तले सन् १९८३ मा ‘पाल्मर इन्टरनेश्नल रिलेसन्सः द वल्ड कम्यूनिटी इन ट्रान्जिसन’ नामक पुस्तक लगेर फिर्ता पठाएका छैनन् । यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि  सन् १९८३ र १९८४ मा लगेका दुइवटा पुस्तक अझै फिर्ता गरेका छैनन् । उनले लगेका दुइवटै पुस्तकहरू कविताका हुन् ( १.नेराप्रप्र आधुनिक नेपाली कविता र २. बीसौँ शताब्दि पूर्वार्धका केही आधुनिक कविता) । यी भिआइपीहरूले नत आफूसँग पुस्तक सुरक्षित भएको जानकारी नै दिन्छन् नत किताब फिर्ता नै पठाउँछन् ।

अनलाईनबाट पुस्तक रिन्यू गर्ने, फाइन तिर्ने, सदस्यता लिने, पुस्तक पढ्ने, लाइब्रेरीमा आएका नयाँ पुस्तकबारे जान्ने केही पनि सुविधा छैन यहाँ । छ त केवल १०० रुपैंयाले १० घण्टा चलाउन मिल्ने इन्टरनेटको सुविधा । त्यो पनि कछुवा चालको ! छुच्चा पाठकहरूले पुस्तकका पाना च्यातेर, बीचबीचमा केरकार पारेर पुस्तकहरू कुरूप बनाएका छन् । यसो गरेको थाहा पाए प्रशासनले पुस्तकको मूल्य बराबरको दुईगुना फाइन लिन्छ । यसैगरी च्यातिएको पेज रिप्लेस गर्न पनि पठाउँछ । तर यो कारवाही पनि कार्यान्वयन भएको यदाकदाका रेकर्ड मात्रै छन् ।

अहिले पुस्तकालयको भवनको तला थपिँदै छ । भवन संचालनमा आएपछि अहिलेको अवस्थाभन्दा स्वरूप केही फिर्ला, सुविधा बढाउलान् भन्ने आस गर्छन् पाठकहरू । ‘माथि भवन बनाउँदै छौँ । अब पुस्तक सुरक्षित हुनेछन्, पाठकहरूलाई पनि थप सुविधा दिने योजनामा छौं ।’ ढुङ्गाना भन्छन् । उनको कुरा त सकारात्मक छ तर महंगा र लोपोन्मुख पुस्तकहरू जिर्ण भवनको कारण पानीले भिजेर लुछुप्पै भए भन्दा पुस्तक प्रेमी जोकोहीको मन धुरुक्कै रुन्छ । हो ! पुस्तकालय भवन चुहिने भएको छ । त्यसैले पुस्तक रहेका सबै र्‍याकलाई दुलहीजस्तै घुम्टो ओढाइएको छ, प्लास्टिकको ! तरपनि कताकताबाट पानी रसाएर पुस्तक नभिजी छाड्दैन । यस्तो कि ती महङ्गा पुस्तक जसरी पनि भिजाइदिने इख नै लिएको छ, झरिले !

विदेशस्थित ठूला–ठूला पुस्तकालयहरूमा पुस्तक लगेर फिर्ता नगर्नेलाई कडा कारवाही गरिन्छ । समयमा पुस्तक फिर्ता नगर्नेलाई घण्टाको हिसाबले शुल्क तिराइन्छ ! खपिनसक्नु सजाय दिने हो भने त लगेको पुस्तक फिर्ता नगरेर कसलाई सुख्ख र ! हो यसैकारण उताको पुस्तकालय व्यवस्थित छ, बेढङ्गी छैन । हाम्रो व्यवस्थित छैन, बेढङ्गी छ ! सभ्य जीवनको एउटा गतिलो काइदा पुस्तकको संगत हो । देशको यो ठूलो पुस्तकालयको यस्तो हरिबिजोग छ ! हामीसँग स्रोत साधन गतिला छन्, त्यसलाई प्रयोग गर्ने काइदा जानेका छैनौँ । हामीलाई अरू कसैले पाठ पढाउन सक्दैन, समयले बाहेक ।

(केही महिनाअघिका लाइब्रेरी प्रशासनका व्यक्ति र त्यहाँ पढ्न आउने अध्येताहरुसँग गरेको कुराकानीपछि यो आलेख तयार भएको थियो ।)

Saturday, September 29, 2012

अक्षरहरूको बदलिँदो संसार



सहरमा अब नयाँ सेलिब्रेटीको बलियो उपस्थिति देखिन थालेको छ । लेखक ! हिरो, हिरोइन, गायक, गायिका त सँधैका सेलिब्रेटी भइहाले । तर हामीबीचको समयले यसरी कोल्टे फेर्दैछ जसले लेखकहरूलाई पनि उँचो स्थान दिइरहेको छ । पुस्तक लेख्ने, पढ्ने, प्रकाशन गर्ने, साहित्य महोत्सव आयोजना गर्ने प्रयासले अक्षरहरूको सौन्दर्यमा परिवर्तन गरिरहेको छ ।

लेखक खगेन्द्र संग्रौलाले अनुमान गरेका थिएनन् उनी एकदिन ‘सेलिब्रेटी राइटर’ होलान् भनेर । “त्यतिबेला सत्तासँग नजिक भएकाहरू मात्र लेखक भैटोपलिन पाउँथे ।” संग्रौलाले इतिहासको श्यामश्वेत यथार्थ भन्दा अहिले हामी अवाक् हुन्छौँ । निरंकुश शासन व्यवस्थाको एउटा विशेषता त्यही हो सायद । आफ्ना हित गर्ने नठानिएकाहरूको लेखकीय अस्तित्व नै थिएन । पत्रिकामा अनुहार देखिनु आफैँमा ठूलो कुरा थियो । अझ त्यसमा छापिएको लेखमार्फत् आक्कल–झुक्कल पारिश्रमिक पाउँदा त खुसीको सीमा के रहोस् । समयको राजमार्गमा सबैको पालो आउँछ भनेजस्तै सबैथोक विस्तारै परिवर्तन हुँदै गए । लेखकको पनि पालो आयो ।


साहित्य महोत्सव
हज्जारौँ पुस्तकप्रेमीमाझ गतिलो प्रभाव छाडेर एनसेल नेपाल साहित्य महोत्सव, २०१२ (NCell Nepal Literature Festival, 2012) भर्खरै सकियो । साहित्य महोत्सवले लेखकलाई ‘ह्युमनाइज’ गर्छ भन्दै विनोद मेहताले यस्ता महोत्सवको सौन्दर्य बढाइदिए । धेरै पाठकहरूलाई एकै ठाउँमा भेला गर्ने, दर्जनौँ लेखक राखेर गम्भीर बहस गर्ने परिपाटी नेपालमा भर्खरै भित्रँदै छ जुन आफैँमा खुसीको कुरा हो । पुस्तक प्रकाशन र प्रवद्र्धनमा लगानी गर्नु जोखिमको विषय मानिँदा पनि विस्तारै यसको लागि केहीले प्रयास थालिरहेका छन् । नेपालमा वर्षमा अन्तर्राष्ट्रिय स्तरका दुईओटा मात्र साहित्य महोत्सव हुँदैआइरहेका छन् । बुकवर्म ट्रस्टको अग्रसरतामा नेपाल लिटरेचर फेस्टिभल र अर्को, काठमाण्डौँ लिटरेरी जात्रा (Kathmandu Literary Jatra) । महोत्सव आयोजना गर्ने परिपाटी सुरु भएको केवल दुई वर्ष मात्र भयो । प्रयास आफैँमा उत्साहवर्धक छ ।
Photo: The crowded dabali in NCell Nepal Literature Festival. Clicked by-CP Aryal
भारतबाट विनोद मेहता (Vinod Mehta), अमिश त्रिपाठी (Amish Tripathi), अद्भैता कला (Advaita Kala), मनप्रसाद सुब्बा (Manprasad Subba) गरी चर्चित लेखकहरूको उपस्थितिले भर्खरै सकिएको महोत्सवको प्राणमा सुरम्य वायु भरिदियो । देशको कला र साहित्यको सम्बद्र्धनमा आफैँ बढी खट्नुपर्ने सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमै नीजि स्तरबाट युवाहरूले महोत्सव गराए । सरकारी निकायको निष्कृय शैलीलाई यसले गतिलो चुनौती दियो । यसले प्रतिष्ठानलाई बेस्सरी झस्काएकै हुनुपर्छ । साहित्यलगायत अर्थशास्त्र, समाजशास्त्र, कुटनीति, इतिहास जस्ता विषयमा भएका गम्भीर बहसले गतिलो प्रजातान्त्रिक परिपाटीको शक्तिबारे हामीलाई धेरै कुरा सिकाए । यसलगत्तै दुई महिनापछि काठमाण्डौँ लिटरेरी जात्राको दोस्रो संस्करण पनि हुँदैछ । त्यसमा पनि कैयौँ लेखकहरूको सहभागिता रहने छ । नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेन भनी डाँको छोडेर रुने हामीलाई यस्ता मेलाले पहिला आफ्नो सक्षमता जाँच्न सिकाउँछन् । दक्षिण एसियाका प्रत्येक मुलुकमा दर्जन बढी साहित्य महोत्सव भैरहँदा हामीले चाहिँ मानिसहरूलाई पुस्तक पढ्ने लत बसाल्ने उपाय अवलम्बन गरिरहेका छौँ । मान्छेहरूलाई कसरी हुन्छ पुस्तकको स्वादीलो रस चखाउने अनि उनीहरूलाई विस्तारै किताबी किरो बनाउने ! अचेलका केही पत्रपत्रिकाका कभर स्टोरीहरूमा सिनेमाका हिरो÷हिरोइन आकर्षक मुद्रामा पुस्तक पढिरहेका देखिन्छन् । आम मानिसहरूको आइडियल भएर बाँचेका ती पात्रलाई अगाडि सारेरै भएपनि पुस्तकको लत बसालिदिने परम्परा राम्रै मान्न सकिन्छ । यसले मानिसमा पुस्तकको क्रेज आफसेआफ जबरजस्त बनाइरहेको छ ।

Saturday, September 1, 2012

बौद्धिक बेइमानी


-सिपी अर्याल (CP Aryal)

नचोर चौर्यम् नराज्य हार्यम् नभातृ भाज्यम् नचभारकारी व्ययकृते वर्धतएवंनित्यम विद्या धनम् सर्वधनम् प्रधानम् (विद्या यस्तो धन हो जसलाई न चोरले चोर्न सक्छ न राज्यले हरण गर्न सक्छ न दाजु–भाइबीच बाँडफाँट गर्नुपर्छ न यो गह्रुङ्गो नै हुन्छ, जति खर्च गरे उति बढ्छ, विद्या नै सबैभन्दा ठूलो धन हो) विद्या चोर्नै सकिँदैन भन्दै गुणगान गाउने संस्कृतको सर्वकालिक यो श्लोक ‘प्लेजिएरिजम’ (Plagiarism) वा ‘इन्टलेक्चुअल डिसअनेस्टी’ (बौद्धिक बेइमानी) को सवालमा भने असान्दर्भिक भयो ।

गत अगस्तकै एउटा सन्दर्भः टाइम म्यागजिन र सिएनएनका सेलिब्रिटी पत्रकार फरिद जकारिया (Fareed Zakaria) लाई ज्ञानको के कमि थियो होला र उनले ‘चोरी’ गर्नु पर्यो । जकारिया अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, अमेरिकी विदेश नीतिका ज्ञाता मानिन्छन् । त्यतिविधि ज्ञान र अनुभवले परिपक्व उनले आफ्ना पाठकलाई उल्लु बनाउन सकिन्छ भन्ने सोँचेर त्यसरी चोरी गरेका त अवश्य होइनन् होला । अनि हार्वड प्राध्यापकले दि न्युयोर्करमा लेखेको लेखको दसबाह्रओटा शब्दको स्रोत उल्लेख नगरी आफूले लेख्दै आएको स्तम्भमा हुबहु सार्न जकारियालाई कुन चाहिँ कुराले वाध्य बनाएछ त ? कुनै ठूलो विचारको प्रतिनिधित्व पनि नगर्ने सो एक लाइन मात्र सारेका थिए जकारियाले । तर उनको त्यो चोरीको शैलीप्रति व्यापक आक्रोश देखिइरहेका छन् । उनले पत्रकारितामा कहिल्यै प्रवेश नपाउने सजाय दिइनुपर्ने आवाजहरू उठिरहेका छन् ! ज्ञान, समय वा स्रोतको कमिले मात्रै होला र जकारिया जस्ता विद्वानले त्यस्तो चोरी गर्ने गरेका ? कि चर्चामा आउने एउटा अर्को हतियार उचालेका होलान् ? गरेको गल्तीप्रति जकारियाले “त्यो गम्भीर त्रुटी थियो जसको जिम्मेवार म आफै हुँ” भन्दै क्षमायाचना गरे । नयाँ विचार प्रवाह गरी दुनियाँलाई तरंगित बनाउन काँध गह्रुङ्गो पारेको जिम्मेवार व्यक्तिले अरूको विचार चोरी गर्नु ठेसलाग्दो तथ्य हो ।