Showing posts with label Stories. Show all posts
Showing posts with label Stories. Show all posts

Sunday, October 19, 2014

अविरल बग्यो सुनकोशी...


–सिपी अर्याल (CP Aryal)

मध्यरातमा मान्छेहरू चिहिरिएको हल्लाखोरले ब्युँझायो । झ्यालबाट चिहाएँ । अन्धकार थियो । आँखा चिम्लँदा पनि अँध्यारो थियो, खोल्दा पनि अँध्यारो ! आवाज मात्रै सुनेँ । मुसलधारे पानी पनि परिरहेको रैछ । आत्तिएर दगुरिरहेका छन् मान्छे । किन दगुरेका होलान ! कहिल्यै केही नबोल्ने घरनजिकैको नदी आजचाहिँ फूल भल्युममा ‘स्वाँ !!!’ गरिरहेको छ । सर्पले झैँ ! दर्के झरी र नदीको डरलाग्दो आवाजले कानको जाली फुटाउन मात्रै बाँकी थियो । भोको राक्षस हामीलाई खान खोज्दै कराइरहेको छझैँ भयो ! यस्तो नमीठो ध्वनीमा यो नदी, ती मानिस र मुसलधारे वर्षा मध्यरातमै किन यस्तरी हल्लाखोर गरिरहेका छन् ! थाहा पाइनँ ।

“भागओ है भागओ ! पैरो आयो !” घरबाहिर चिच्याइरहेको यो धोद्रो स्वर त मेरो कोही साथीको हो झैँ लाग्यो !
“पैरोले मार्‍यो ! गुहार ! !” अशोक रैछ चिच्याउने । स्वर धोद्रो थियो ।

“पैरो आयो ! गुहार गुहार !” अरू मान्छे पनि चिच्याइरहेको सुनिन्थ्यो ।

झन्‌पछि झन् मान्छे चिहिरिएको आवाजलाई नदी सुसाएको आवाजले जित्न थाल्यो । पक्कै पनि पहिरो जान थालिसक्यो होला । पृथ्वी थर्किने गरी आवाज आइरहेको छ । सिंगो पहाडै नदीमा खस्न थालेछ कि क्या हो ! घरहरू बगाउन थालिसके छ कि क्या हो !

“लौ मरिने भैयो !” एक्लै फुस्फुसाएँ । छटपटी भयो । तिर्खा लाग्यो । कोठामा पानी खोजेँ । भेटिनँ । तिर्खा झन् बढ्यो ।

“ए भाइ उठ् न !” छेउमै मस्त सुतेको भाइलाई बोलाएँ । ऊ सुतिरहेको भएपनि छटपटाइरहेको जस्तो देखिन्थ्यो ।

“हुँ !” यति मात्रै भन्यो । उसको जिउ हल्लाउँदा थाहा पाएँ, पसिनाले निथ्रुक्कै भिजेको रहेछ । डरलाग्दो सपना देखिरहेको हुँदो हो । चिम्म गरेका आँखाका नानी हल्लीरहेका थिए । निधारमा गाँठा परेका थिए । केही बोल्न खोजेझैँ लाग्थ्यो, ओठ चल्मलाइरहेका थिए उसका ।

“बाहिर जाम् !” भनेँ, “हेर्त मान्छेहरू किन होला रुँदै दगुरेका !”

“हुँ ! नाइँ के !” तन्द्रामै भएको उसको भुँडीमा समाएर हल्लाएँ ।

“बाहिर मान्छे रोका छन्, हेर्न जाम् के !” फेरि भनेँ ।

“हुँ! ” भन्यो, र जुरुक्कै उठ्यो । आँखा राता थिए ।

आफ्नै कपाल कुइयाउँदै बडबडाउन थाल्यो, “ती मान्छेसँग म जान्नँ । मलाई डर लायो । बुवा आमा, बैनी खै ! बोला ! चाँडो बोला !” यति भनेर ऊ पुर्लुङ्ङै बेडमा सुत्यो फेरि ।

“बैनीलाई बोक् !” ऊ निद्रामै बडबडाइरह्यो ।

Saturday, May 10, 2014

धुलोमुनिको फाइल

सिपी अर्याल (CP Aryal)

अहिले

वि.सं. २०८७ बैशाख ।

बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन । त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो । त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो । यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि ।

निमको दतिवनले दाँत माझ्न आँगनछेउ टुक्रुक्क बस्यो । आफूछेऊको सानो अम्खोरामा राखेको पानीले मुख कुल्ला गर्‍यो । पल्लोपट्टि तीनओटा खटियामा भैया, अम्मा र अब्बा लम्पसार थिए ।
तराईको असह्य गर्मी छल्न आँगनमा खटिया बिछ्याएर, झुल टाँगेर सुत्छन् उनीहरू । यो रित यसैगरी चल्दै आएको छ, सदियौंदेखि ।

दाँत माझ्दा एफएम रेडियो बजायो । एउटी केटी राशिफल भन्दै थिई । पालो कुम्भ राशिको थियो । संयोगले ऊ पनि कुम्भ ।

“कुम्भ राशी हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ ।”

उसलाई राशिमा विश्वास छैन । आज भाग्योदयको योग छ भनेको दिन उसको भाग्य कहिल्यै चम्किएको छैन ।

“माकी आँख !” निधारमा धर्सा कोर्दै ऊ फुसफुसायो, “मनइकए उल्लू बनावथी !”

“बहुत बड्बड् करथी लवन्डी ।” एफएमकी केटीले निद्रा बिथोलेको झोँकमा उसको भैया खाटबाट जुरुक्क उठेर च्याँट्ठियो, “बन्द कैदे रेडियो ।”

रेडियो बन्द गर्‍यो । भैया घुर्‍यो निमेषमै ।

बिहानदेखि बेचैन मन कतै लगेर बिसाउन पाए ऊ रम्थ्यो पनि होला ।

अम्माले पकाएको भात साढे आठ बजे नै खाइसकेर तयार भयो । छोरोले जागिर खान जान लागेको पहिलो दिन, अब्बा र अम्मा खुसीले डम्म फुलेका थिए ।

भोलिपल्ट अफिस जाँदा लगाउने सर्ट र पाइन्टलाई ‘धारिलो’ बनाउन हिजै राति पट्याएर डसनामुनि राखेको थियो उसले । नीलो पाइन्ट र सेतो सर्टमा जताततै ‘धार’ बस्यो ।

खुसी हुँदै कपडा लगायो । अनि अब्बाको थोत्रो एवन साइकलमा हुइँकियो बतासझैं । ऊ पर पुगुन्जेल अब्बा र अम्माले आँखा चिम्म पनि गरेनन् । धुलोको मुस्लोले उसलाई ओझेल पारुन्जेल हेरिरहे । एसएलसी पास गरेपछि उसले जागिर पाउँदा परिवारका सबैलाई नागमणि पाएझैँ भएको छ । गरिबलाई त्यही जागिर त हो नागमणि !

एउटै रफ्तारमा कुदाइरह्यो साइकल । घरिघरि एफएमकी केटीको आवाजको बतासले छोएर जान्थ्यो । केटी कानमा आएर फुस्फुसाएझैँ लाग्थ्यो, “कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ... ।”


Saturday, February 22, 2014

हीराको हार


उनी निकै सुन्दर, आकर्षक र सुशिल युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपथ्र्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै धनी पुरुषले बिहे गरेर लैजाला र सधैँभरी माया गरेर राख्ला भन्ने अपेक्षा पनि थिएन । त्यसैले एउटा निम्छरो कर्मचारीसँग बिहे गरेर खुरुखुरु गइन् ।

धेरै नक्कल पार्न नजानेकाले सामान्य लुगाफाटो लगाउँथीन् उनले । ठूलै चोट परेजस्तै देखिन्थिन् र भित्रभित्रै असन्तुष्ट पनि । परिवार र जन्मले सौन्दर्य, हिस्सीपना र आकर्षणजस्ता सबै ठाउँ ओगट्ने हुनाले महिलाका कुनै कुल र श्रेणी हुँदैनन् । प्राकृतिक चातुर्यता र टाठो मष्तिष्क नै उनीहरूको अब्बल श्रेणी हो । र यही कुरा गुणवान् महिला हुनुबराबर हुन्छ ।

मथिल्ड नराम्ररी पिल्सिएकी थिइन् । सम्पूर्ण आनन्द र सुखभोग आफूले भोग्न पाए हुँदो हो भन्ने पनि ठान्थीन् कुनैकुनै प्रहर । आफ्नो जीजिविषाप्रति बेखुस थिइन् । ठिङ्ग उभिएका चारभित्ताहरूको नाङ्गोपन, भाँचिएका कुर्सी तथा मैला र च्यातिएका पर्दा देख्दा उनी निकै उदास हुन्थीन् । उनीबराबरका अन्य महिला चाहिँ त्यस्ता कुराबाट सुर्ताउँदैनथे । घरायसी काम गर्ने महिलालाई देख्दा मात्र पनि उनलाई ठूलो पछुतो हुन्थ्यो, सपनाहरूले डस्थे । पूर्वीय सभ्यतामा प्रयोग हुने कुरुषले बुनेका उत्कृष्ट पर्दाहरू, मैनबत्ती राख्न प्रयोग हुने ढलौटका ठूला–ठूला भाँडा र आर्मचेयरमा आरामसँग सुतिरहेका पुरुष मूर्तिहरूको कल्पना गरीन् उनले । त्यस्तो कल्पनालाई स्टोभको तातो रापले उत्तिखेरी पगालिदियो ! फेरि, लामा–लामा स्वागतकोठी र त्यसमा झुन्डिएका प्राचिन रेशमी पर्दाहरूबारे सोंचीन्, आफ्ना सहेलीलगायत अन्य सबै महिलाले मरिहत्ते गर्ने प्रख्यात पुरुषहरूसँग साँझको पाँच बजेपछि गफिन मिल्ने अत्तरले मगमगाएका कोठाबारे कल्पिइन् जसमा क्युरियोका प्राचिन वस्तुहरू पनि हुन्थे ।

Saturday, October 5, 2013

दसैँछेकको घाम

–सिपी अर्याल (CP Aryal)

बिहानै झ्यालबाट बेपर्वाह छिरेका घामका किरणले बिउँझाउँछन् । त्यो घामले पोल्दैन, बरु शितल अनुभूति हुन्छ । हतार हतार उठेर कामको लागि हिँड्न थाल्छु । बाटाभरि मानिसहरूको लस्कर देखिन्छ लाहुरबाट फर्किरहेका योद्धा झैँ बाटोमा हिँडिरहेका देखिन्छन् मानिसहरू । गह्रुङ्गो झोला भिरेका छन्, सबैजसोले । एकै पाइलामा घर पुग्लान् कि झैँ लाग्ने लामा–लामा पाइला चालीरहेका छन् । केहीले मलाई प्रश्न गर्छन् ।

“घर कहिले जाने हो साथी दशैँ आयो त !” प्रश्नले एकाएक झस्काउँछ मलाई ।

नबिझाउने गरी कोठामा अचेल सुटुक्क छिर्न थालेको मध्य असोजको घाम, काठमाण्डु खाल्डोबाट त्यसरी हिँडिरहेका मानिसको लाम अनि मप्रति सोझिएका प्रश्नले बल्ल मलाई झस्काउँछन्, दशैँ आएछ ।


                                           +++
“बुकिङ नखुल्दै बसको टिकट सकियो ।”

पत्रिकामा छ्याप्छ्याप्ती देखिन्छन् अक्षरहरू, बोल्ड लेटरमा । यी पत्रिकाहरू मानिसहरूले पाएको दुख्खको खबर छाप्न तँछाड–मछाड गर्छन् । त्यही दुख्ख धेरै बिक्छ पनि अचेल । अर्काले पाएको दुख्खबारे सकेसम्म बढी जानकारी राख्न पाठकहरू पनि उस्तै रुचि राख्छन् । दुख्खहरूलाई यी पत्रिकाले बिक्ने सामग्रीको ‘टप लिस्ट’मा राख्ने गरेका छन् । अचेल दुख्खहरू ‘कमर्सियलाइज्ड’ भइसके !

चोकमा एउटी बुढी आमाले बेचिरहेको पत्रिकाका खबर–शिर्षक सर्सर्ती हेर्छु । अक्षर नचिनेकी ती बूढी आमा मेरो अनुहारमा हेरेर मुस्कुराउँछिन् । म चाहिँ पत्रिकाको खबर शिर्षक पढेर । दशैँले यति साह्रो गाँजिसकेछ सहरलाई, म कता बेहोस् थिएँ हँ ? सहरले सबैलाई बेहोसीको फन्दामा पार्छ, मानिस आफैलाई बिर्सेर कहिँकतै मस्त भइरहन्छ यो काठमान्डुमा । दशैँले मलाई जस्तै धेरैलाई बेहोसीबाट होसमा ल्याउँछ । त्यसकारण, सहरका बेहोसीहरूलाई एकमुष्ट बिउँझाउँन पनि दशैँहरू आइरहून् ।

गोजिको फोन भाइब्रेट हुन्छ । घरको फोन रहेछ ।

“टिकट नपाइने भयो क्या हो ?” मसिनो आवाजमा मम्मी बोल्नुहुन्छ ।

उहाँको सोधाइको आसय थियो, “चाँडो घर आइज ।”

टिभीमा समाचार सुन्नुभयो, सायद । बुकिङ सुरु हुनु अगाडि बसको टिकट सकिएको ।

“दशैँमा घर आउन यो नाथे टिकट चाहिँदैन क्या ।” म भन्छु, “झुन्डिएर भएनि आइन्छ नि ।”

यो सहरमा अचेल टिकटकै चर्चा छ, एउटा चुनावको टिकट, अर्को दशैँमा घर जान बसको टिकट । मानिसहरू तँछाड मछाड गर्दैछन्, दुवैथरी टिकट आफ्नो कब्जामा पार्न । चुनावी टिकटको कुनै मतलब भएन मलाई । अब त बसको टिकटको पनि फिक्री भएन, सकिइसक्यो रे त !

                                +++   

घर हिँडेका यात्रीहरूलाई कुइनाले घुच्याउँदै, आफूले पनि अरूको कुइनाको घुच्याइ खाँदै प्रत्येक सालझैँ यो साल पनि घर पुग्नेछु । लखतरान भएर । सिधै हजुरआमाको कोठामा पस्नेछु । झोला त्यहीँ बिसाउनेछु । निदाइरहेको बुढो शरीरलाई एक छिन वाल्ल परेर हेर्नेछु । हजुरआमाको अनुहारमा प्रत्येक साल दर्जनौँ चाउरी थपिएको देख्छु । अनुहारको रङ बदलिइरहन्छ, प्रत्येक साल । अनुहारमा देखिने उमेरका इन्द्रेणीहरूले गहिरो अर्थ राख्छन् ।

“हजुरी !!” उहाँलाई बोलाउँछु, गालाका चाउरीहरू सुम्सुम्याउँदै, “म आएँ ।”

मैले हजुरआमालाई सानैदेखि हजुरी भन्थेँ, प्रेमले । ठूलो हुँदा पनि भनिरहेछु किनकि उहाँप्रति मेरो प्रेम कहिल्यै कमजोर हुँदैन । मेरो आवाज सुनेर उहाँ मुस्कुराउनुहुनेछ । मलाई केही वर्ष यता उहाँले आवाजले चिन्न थाल्नुभएको छ । आँखाले चिन्न छाडे । मेरो आवाज हजुरआमाको लागि दृश्य हो । यसले पनि मलाई चिन्न छाडे के गर्नुहुन्छ होला ! थाहा छैन ।

“ए, दशैँ आयो बाबु ? तँ आइछस् ।” छामछुम पार्नुहुन्छ वरिपरि, चाउरीएका फुस्रा हात मेरा अनुहारमा सलबलाउँछन्, “सन्चै आइस् ?”

म आउनु हजुरआमाको लागि दशैँ आउनु हो । उमेरका ९० ओटा कठिन देउरालीहरू चढिसक्नुभएकी हजुरआमालाई अब दशैँको लागि खुसी हुने कारण अरू केही छैनन् जस्तो लाग्छ ।

“त्यति टाढाबाट आयो नाती ।” हो उहाँले मसँग घरबाट काठमान्डुसम्मको दुरीको कुरा गर्नुहुन्छ, म अर्को दुरी बुझ्छु, “नाती टाढियो” भन्ने । निद्राले लटपटिएको आवाज हो कि उहाँको बोली तोते भएका हुन् एकछिन् ठम्याउन सक्दिन । उहाँका सेता खुट्टामा मेरो निधार लगेर जोड्नेछु । युग बोकि हिँडेका ती खुट्टा एकछिन् सुम्सुम्याउनेछु ।

“नाम कमाएस् ।” उहाँको आशिष र मेरो रुचि कस्तो मिलेका ।

मलाई तान्दै हजुरआमाले उहाँको अँगालोमा बेर्न खोज्नुहुनेछ । म अटाउनेछैन उहाँको अँगालोमा । हजुराआमा आफैलाई पनि अनुभूति हुनेछ ।

“ठूलो भएछस् । पैला मेरा हत्केलाँ अटाउँथिस् ।” म हजुरआमाको हत्केलामा अटेको सम्झना त छैन, तर उहाँले भनेको केही पनि कुरामा अविश्वास लाग्दैन ।

“के छ त तेता खबर ?” उहाँले काठमान्डुको खबर सोध्नुहुन्छ ।

के बताउँ उहाँलाई ? अनि के नबताउँ ?

रत्नपार्कको आकाशे पूलमाथि निष्लोट सुतेर “भोक लायो बा हो!!!” भन्दै रोइरहेको फुच्चेलाई काठमान्डुले मार्न आँट्यो हजुरआमा भनेर बताउँ ? एमए सकेपछि जागिर नपाएर विरक्तीएको साथीको बिजोग बताउँ ? एसएलसीको रिजल्टमा फेल भएपछि झुन्डिएर मरेकी विद्यार्थीको खबर छाप्ने अखबारका प्राथमिकतामा पर्ने खबर बताउँ ? अचेल काठमान्डु विश्वयुद्धपछि ध्वस्त भएको देशझैँ भताभुङ्ग छ, भनेर बताउँ ? ठमेल र सुन्धाराका गेष्ट हाउसका पहरेदार युवतीहरूको आँखामा देखिने उदेकलाग्दो भोकबारे बताउँ ? कि घण्टाघरले अचेल बेठीक समय बताउन थालेको खबर सुनाउँ ?

के सुनाउँ उहाँलाई म ? एकछिन् वाल्ल पर्नेछु म । मलाई देखेर मुस्कुराएझैँ देखिने जमरा देख्नेछु पल्लो कुनामा । हर्लक्क बढिसकेका । मेरो कानमाथिको शोभा बन्न पाउने आस गरेका ।

सप्रिएर हलक्क बढेका जमरातिर मैले हेरेर टोलाइरहेको बुझेपछि हजुरआमाले भन्नुहुनेछ, “तँ पनि ती जमरा झैँ सप्रिएस् बाबु ।” थाहा छैन, मेरो मष्तिष्कमा कब्जा जमाएर बसेको सपनालाई हजुरआमाले कसरी देख्न सक्नुहुन्छ । उमेरले धमिल्याएको उहाँको आँखाले मेरो मनको दृश्य स्पष्ट देख्न सक्छ । थाहा छैन अब मैले उहाँलाई आँखा कम देख्नुहुन्छ भन्नु हुन्छ कि हुँदैन ।

हजुरआमाले खुब रुचाउने गुँदपाकका केही पोका निकाल्ने छु । मिश्री र फलफूल पनि हातमा लिएर भन्नेछु, 

“हजुरी यो नातीको कमाइ ।”

भगवानको थानतिर इशारा गर्दै उहाँले भन्नुहुनेछ, “त्यहाँ राख्दे । तेरो कमाइ नि खान पाएँ । भाग्गेमानी रैछु परमेश्वर, नातीलाई सधैँ राम्रो होस् ।” हाँस्दै निस्कन्छु उहाँको कोठाबाट ।

                                                                                   +++   

बुवासँग गफिन मन लाग्छ । बाहिर बरण्डामा उहाँले हजरआमा र मबीचको वार्ता सुनिरहनुभएको हुनेछ । मुस्कुराउँदै गरेको देख्नेछु ।

“अचलको दशैँ बदलियो हेर् केटा ।” उहाँले मसँग गफ गर्ने मेसो गरेको थाहा पाउनेछु । छेउमै बस्नेछु गएर । बुवाको छेउमा बसेर उहाँको अनुहार चियाउने मौका पाउन दशैँ नै आउनु पर्छ अचेल !

“उतिबेला घरघरमा गएर दमैहरूले बाजा बजाउँथे ।” बुवाको ओठबाट वाक्य बनेर इतिहास फुत्त फुत्त खस्न थाल्छ ।

“हाम्रोमा पाठ गर्न सिक्न केटाहरू आउँथे । बाले सिकाउनुहुन्थ्यो ।” उतिबेलाका युवाबारे कुरा गर्नुहुन्छ बुवा ।
“दशैँमा नयाँ लुवा भनेको दौरा–सुर्वाल थियो । मेरा बा (तेरो हजुर्बा) नाम कमाएको पण्डित भकोले हाम्लाई दशैँमा लाउन–खान दुख्ख थिएन । घरमा दुर्गापाठ हुँदा मान्छेहरूले दही अनि रोटा लेर आउँथे । म टिका लाउन घर–घर जान्थेँ । पैसा बटुल्थेँ ।” भन्नुहुन्छ ।
पाएको पैसाले उहाँलाई बिँडी÷चुरोट किनेर खाने सौख रहेछ । त्यो पूरा हुन प्रायः दशैँ नै कुर्नुपर्ने । मान्छेहरूको केके सौख ! ती सौखहरू प्रायः दशैँले पूरा गरिदिँदा रहेछन् ।
टिकाको दिन प्रायः प्रत्येकवर्ष उस्तैउस्तै हुन्छ, आशिर्वाद उस्तै, खानपीन उस्तै, घरमा आउने पाहुनाहरू उस्तै । प्रायः थपिने कुरा भनेका हजुरआमा र बुवाका अनुहारका चाउरीहरू हुन् ।

हजुरआमाको उमेरको कारण उहाँबाट टिका थाप्ने पाहुनाहरूको सानोतिनो घुइँचो नै हुन्छ घरमा । सबैलाई उहाँले आवाजले चिन्नुहुन्छ । दृश्यले चिन्नुहुन्न । या भनौँ आवाज नै उहाँको लागि दृश्य हो । टिकाको दिनभरी म हजुरआमाको छेउमा बसेर गफ गरिरहन्छु, उहाँलाई सहयोग गर्छु । पाहुनाहरूलाई उहाँले टिका लगाइदिनुहुन्छ, दाहिने हातका चोर, बुढी र माझी औँलाले रातो अक्षता समाएर पाहुनाहरूको निधारतिर हात बढाउनुहुन्छ हजुरआमा । उहाँको हातको स्पर्ष पाउँदा पाहुनाहरू आँखा चिम्म गर्छन्, आनन्दले विभोर भएका हुँदाहुन्, सायद ।

“रोग नलागोस् । सुख्ख पाए ।” उहाँले प्रत्येकलाई दिने आशिष यही हो । मानिसहरू सुख्खै पाउन यो दौडधुप जो गरिरहेका छन् । हजुरआमाले बुझेरै दिनुहुन्छ आशिष ।

यसप्रकार, हेर्दाहेर्दै आँखाबाट ओझेल पर्छ प्रत्येक सालको दशैँ । असोजको पारिलो घाम सेलाउँदै जान्छ । घरवरिपरिका साथीहरू हिँड्न थाल्छन् । यसप्रकार, गाउँ रित्तिँदै जान्छ, सहर भरिँदै ।

अनि मेरो मनलाई पनि उही काठमान्डु फर्किने हतारोले गाँज्न थाल्छ । गुन्टा कसिरहँदा बुवाले भन्नुहुन्छ, “काठमान्डुमा त घर मात्रै फल्छ । चामल फल्दैन ।”

हो, बुवाले भनेझैँ काठमान्डुको मलिलो जग्गामा घर फल्छ । मानिसहरूले सपना फलाउने हरप्रयास गरिरहन्छन् । यहाँ चामल फल्दैन ।

(२०७० असोज १९ (घटस्थापना) शनिवार, नागरिक अक्षर )

Tuesday, July 9, 2013

कथा

घडीले बिहानको ६ बजाउँदा नै लल्लुले स्वास्नीलाई होटलबाट पिकअप गर्न हतारिन्छ । जुरुक्क उठ्छ । र्‍याल लतपतिएको अनुहार नाडीले सर्लक्क पुछ्छ । एक मुठी पानीले अनुहार र कपाल भिजाउँछ । ऐना हेर्छ । मिथ्थुनजस्तो देखिएँ कि देखिइनँ जान्न खोजेको हुँदो हो ! बरण्डामा राखेको नयाँ साइकल हतारिंदै झिक्छ । साइकल नयाँ छ नि, त्यसैले धुलो पुछेर टल्काउन भुल्दैन । अनि बाटाभरि अनेक सोंच्दै स्वास्नी लिन ‘बिन्दास लज’ पुग्छ । हप्ताको तीन वा चार दिन लल्लुले गर्ने चर्या हो यो ।

लज नजिकैको ‘बम्मै साइकल हस्पिटल’ मा थाकेको आफ्नै शरीर जबरजस्ती बोकेर सीताले कुरीरहेकी छ । परैबाट लल्लुले बजाएको सुसेली सुन्छे उसले । अनि गह्रुङ्गो भएको आफ्नो जिउलाई पैतालाको सहारामा छोडेर उभिन्छे । पाकेका केरा जस्ता पहेँला दाँत देखाएर लल्लु हाँस्छ । अनि ओठ चुच्च्याएर साइकलको क्यारिअरतिर इसारा गर्छ । सीताले दुवै खुट्टा एकापट्टी राखेर साइकल क्यारिअरमा आफ्ना पुठ्ठा राखिदिन्छे । नयाँ साइकल चुइँ–चुइँ गर्दै कुद्‍न थाल्छ । लल्लुले साइकल बेतोड कुदाउँदैन, किनकि उसमा एउटा उत्सुकता हुन्छ । उसलाई लिन आउँदा आफ्नो पोइले गर्ने पहिलो प्रश्न कुन हो सीतालाई थाहा छ ।

Source: forum.santabanta.com

“हिजो शुक्रबार ! ए बुढी कति आम्दानी भो त ?” कुन्नी कुन हिन्दी गीतको धुन सुसेल्दै लल्लुले साइकलको प्याडल खुब रहरलाग्दो तरिकाले घुमाउँदै सोध्छ । 

बाटामा भेटिएका मान्छेहरूलाई ‘राम राम हजुर !’ भन्न छुटाउँदैन ।

गुलाफी कलरको सारी लगाएकी स्वास्नीको मलिन अनुहारमा बिहानको उराठलाग्दो घाम ठोक्किएको छ । लल्लुको ढाडमा टाउको अड्याएर बसेकी सीता आज निश्लोट थाकेकी छ । त्यसैले बोल्ने जाँगर पनि छैन उसमा, जति आम्दानीबारे जान्ने जाँगर लल्लुमा थियो ।

“आज बहुत् खटिस् के रे बुढीया ?” गालामा चिमोटिदिन्छ लल्लुले ।

कालो नङपालीस पोतेको लामो नङले पोइको कम्मरमा घोचिदिन सीतालाई पनि मन लागेको थियो । तर उसँग जाँगर भए पो !

“पैँतालिस सौ !”

मलिन स्वरमा उत्तर दिन्छे उसले ।

कमाउन आउँदाका दिन उस्तै उस्तै आउने संख्यात्मक उत्तर आज भने चीनको अर्थतन्त्रजस्तै सर्लक्कै उकालो लागेको थियो !

साइकल झ्याप्प रोकेर बुढीलाई हेरेर हाँस्छ ।

“उम्ममममममम......!!!!” हिस्सि परेकी स्वास्नीको गालामा म्वाइ खाइदिन्छ, “कट्रिनाजस्ती मेरी बुढीया ! कमालै गरिस् रे ! अनि कस्तो मान्छे आएको थियो आज ?”

“तीनजना थिए, विद्यार्थीजस्ता देखिने ।” लामो हाइ काढ्दै निद्रालु आवाजमा सीताले उत्तर फर्काउँछे ।

परबाट एलडिओ साब लखरलखर हिंड्दै आइरहेको देखेर लल्लु टाढैबाट, चिच्याउँछ, “सर ! जय राम जि कि !” 

अनि नजिकै पुगेर साइकल घ्याच्च रोक्छ । सीता लल्लुतिर हुत्तिन्छे, उसका छाती लल्लुका ढाडतिर स्वात्तै बढ्छन्...

Source: tumblr.com

(लेख्दै गरेको उपन्यासको छोटो अंश...)

Friday, September 30, 2011

एउटा ब्ल्याक एन्ड व्हाइट दशैँ

© CP Aryal (सिपी अर्याल)

“सेते ! हाईँ त सहर’ट आकाम् । लुआ किनेर ल्याछम्, यी हेर म कस्ती भैचु? दसैँलाई चाइने अरू सामल ऊ...ती सन्ते दाइले डोकाँ...ऽऽऽ हालेर लए ।” रन्जुको चोर औँलाले पर जाँदै गरेका सन्तेलाई सङ्केत गर्छ । उसले दुवै हात अचम्म तालमा नचाउँछे, “खसी त पोर भन्दा ठूलो छ बाबै ! तीनै दाइले भन्ते...”

“...”

सेते नबोलेरै रन्जुको नयाँ फ्रक हेरिरहन्छ । आफ्नो  सामर्थ्य सेतेलाई निःशब्द बनाएको हो । उत्रै उमेरका साना केटाकेटीको मष्तिष्क; फरकफरक । सेतेले बुझेको छ उसको यसपालिको दसैँ पोहोर परार जस्तै ब्ल्याक एन्ड व्हाइट हुन्छ । उसलाई थाहा छैन किन उसको लागि दसैँ रमाइलो हुँदैन, किन रन्जुको घरमा मात्र प्रत्येक दसैँमा खसी काटिन्छ । उसका बाले सेतेको दसैँ उसको उहि पुरानो लुगामा सियोको थप टाँकासँगै सिलाइदिन्छन् ।

“सेते...”

Photo Source : www.ekantipur.com

“...”

“तिमी नबोल्नी म’सँ...?”

“बोल्नी...” सेतेले च्यातिएको सर्टको बाउला आफ्नो नाकमा दल्छ । केवल आफ्नो टाटेपाटे टाउको हल्लाउँछ ।

“किन पिर मान्चौ ?”

“क्यारम् तनी ? हजुरको दसैँ । हाम्रो दशा ।”

रन्जुले सेतेको कुरा बुझिन । उसलाइ ‘दशा’ को अर्थ के थाहा । सेते पो सधैँ दशा बाँचेको छ । घरका परिवारको आँखा नियाल्दा उसलाई लाग्छ यसपाली घरमा दसैँ मनाइँदैन । उसले आफ्ना बा रत्नेलाई “खसी किनौँ” पनि भनेन यसपाली । न बाले नै उसलाई फकाउन खोजे । आमा त महिना दिनदेखि टोलाइराख्ने भएकि छन् । ओछ्यानमा लडिरहन्छिन् । बाले घरको सबै काम गर्छन् । सेते गोरु चराउन आएको छ ।

“तिमोरले खसी नकाट्नी ? दसैँको बेलाँ नि तिम्ले नयाँ लुआ क्यार्न नलाको सेते?”

रन्जुको प्रत्येक प्रश्नले सेतेलाई स्तब्ध बनाउँदै छ ।

“हाईँ गरिप् तिमोरू धनी...”

सेतेको उत्तर नबुझेको हुनुपर्छ रन्जुले । ऊ एकछिन अनकनाई । त्यो बाल मष्तिष्कले “धनी/गरिप्” बुझ्न सकेन । सेतेले “धनी” भन्ने बुझ्दैन, रन्जुले “गरिप” भन्ने अनुभव गरेकी छैन ।

रन्जु गाउँको धनीमानिकी छोरी भएपनि सेतेप्रति उसको स्नेह छ । ऊ यसरी प्रश्न बनि उभिनुमा उसले सेतेलाई देखाएको ठालुपन पनि होइन । एउटा गजब बाल स्नेह, जुन अरूभन्दा दसैँको बेला उर्लिएर आउँछ । रन्जुले अहिले पनि सहरबाट आउँदा सेतेलाई खेलौना र जेरि ल्याइदिएकि छ । सेतेले यो संसारमा सबैभन्दा मन पराउने खानेकुरो जेरी भन्ने राम्ररी थाहा छ रन्जुलाई ।

“सेते जेरी खान्चौ ? तिम्लाई सहर’ट ल्याइदिकिम् ।”

सेतेले शिर निहुराइ मात्र रह्यो ।

“लौ, मैले त खाइसकेँ । तिम्ले फेरि दिन्चौ भने नि एतिकै खान्न । तिम्रो हातले मेरो मुखाँ राख्दिन पर्च...”

सेतेले लाज मानेरै रन्जुको मुखमा आधि जेरी राखिदियो भने बाँकि आफूले खायो । रन्जु खुसी देखिइ ।

“अर्को थोक नि छ । म’सँ...”

सेते बोलेन ।

“यि हेर त यो हावैजात् ! तिम्लाई हो ! मैले त पुतलि किनेँ तिम्लाई हावैजात् ल्याइदिछु । यसाँ चढेर हाम्रो घराँ टिका थाप्न आउ है !”

सेतेले लामो सास फेर्दै रित्तो आकास नियाल्यो ।

झमक्क साँझ परिसक्दा सेते घर पुग्यो । थकित आँखाले वरिपरिका घरमा दसैँको चहलपहल नियाल्यो । एक्लै भक्कानिन्छ ।

मक्किएको खाँबोमा आडेस लागेर सेतेका बा रत्ने टोलाइराखेका थिए । आमा छेउमै थिइन् । गाउँमा राक्षस बनेर आएको पहिरोको कारण सेतेका एउटा दाइ र एकजना दिदीलाई यै दसैँको मुखमा गुमाइन् उसकी आमाले । समय पनि कस्तो निर्दयी !  भर्खर बैँशका दिन नाप्दै गरेका सेतेका दाइ र दिदी बारीमा काम गर्दै थिए । पहिरोको ठूलो ढिस्को आएर तिनको छातिमै थिच्यो । बिचरा, “आमा !” भन्न नि पाएनन् रे ! आमा त त्यहि पिरले थला परिन् । बा पनि घरि–घरि टोलाउने बनेका छन् ।

रत्नेले लाउँलाउँ–खाउँखाउँ उमेरको आफ्नो जेठो छोरो कैलेलाई भारत पठाएका थिए, कमाउन । पाँच हजार ऋण काढेर । छोरो लाहुर पसेको ३ वर्ष बितिसक्दा पनि केही खबर आएको छैन । बिचरा, बाआमाको मन न हो, छोरो फर्कन्छ भन्ने आस गरीरहन्छन् । यस्तो चाडबाडको बेला त ती बाआमाको मन साह्रै कुँडिन्छ । “गरीप्लाई झन् किन सास्ति दिन्च यो परमेश्वरले...” रत्ने घरी–घरी एक्लै बडबडाउँछन् ।

सेते नजिकै पुगेर आमाको काखमा लुटपुटिन खोज्छ । आमा बोल्न सक्दिनन् । रोइ मात्र रन्छिन् । सँगसँगै रत्ने पनि भक्कानिएर रुन्छन् । सेते बा आमा रोएको देखेर आफू पनि अनायसै रुन्छ । उसले जानेको छैन, बारीमा काम गर्न गएका दाइ र दिदी किन फर्किएनन् ? आफ्ना जेठा दाजु कता छन् ? मृत छन् वा ज्यूँदै ? ज्यूँदै भए किन घर फर्कँदैनन् ? यी सब कुरा सोच्ने ल्याकतको मष्तिष्क छैन सेतेसँग । असलमा, अब त उसलाई दसैँ भनेको पिडा हो । यो बेलामा परिवारका सदस्यको आँखाबाट खुसी होइन पिडा बर्सन्छ भन्ने अड्कल हुन थालेको छ सेतेलाई ।

उसले कहिल्यै बुझ्न सकेन दसैँमा किन रन्जुले नयाँ लुगा लगाएर बुर्कुसी मार्दै दगुर्छे । आफूले पाउँदैन । रन्जुकोमा खसी ढलाइन्छ, घर रङ्ग–रोगन गरिन्छ, पाउना आउँछन् । अनेक रमाइलो हुन्छ । तर सेते...
Photo Source: http://bit.ly/PDopte

प्रत्येक साल आफ्नो बालाई गर्ने प्रश्न यसपालि पनि गर्छ, “बा, हाईँले दसैँ मान्नी हैन ? खसी नकाटे नि एउटा भाले त काटम् के हुन्न बा ? रन्जुको घराँ खसी काट्नी मेसो अर्याचन । एउ डोको सामल नि ल्याचन्, हिजै मैले गोरु चराम्न जाँदा देखोथेँ । अनि बा, रन्जु त कति जाति । मलाई हावैजात् ल्याइदि । जेरी नि दि”

“हैन सेते तिनोरू धनी । हाईँ गरीप्...”

“गरीप्लाई चाडबाडाँ रमाइलो नअर् भन्चन् र भगमान्ले ?”

उफ् ! यो प्रश्न ! सायद, त्यो काल्पनिकताले हुर्काएको भगवान्सँग पनि छैन यसको उत्तर ।

त्यो झुपडीमा दसैँ यातना बनेर आइदिन्छ । रत्नेले श्रीमतिको आँखामा पुर्लुक्क हेरे । जीवनप्रति एउटा निस्पृह आस्था पलाइसकेको देखे । बिचरी सेतेकि आमालाई भित्राएपछि उनले दुःखभन्दा अर्थोक देखेकि छैनन् । त्यस्तै एक दुई ओटा दसैँ हँसिलो गरि मनाउन पाइन् होली । त्यै पनि अभावैमा । छोराछोरीलाई सन्तुष्ट हुने गरी लुगा कपडा किनिदिएर, अघाउञ्जेल मासुका परिकार अनि अर्थोक मीठा खानेकुरा दिएर कहिल्यै गएन दसैँ । सधैँ अभाव । सबैभन्दा नमिठो कुरा त सेतेलाई खुसी बनाएर दसैँ मनाएको त सम्झनै छैन । सेते र उसकी आमा स्वयंलाई !

पोहोर बाट त जेठो छोरोबारेको खबर अनेक रङ्ग मिसिएर आउन थाल्यो । उनी एकोहोरिन थालीन् । त्यै माथि दुईटा सन्तानको एउटै चिहान भएदेखि त उनी मृत्यु मिसिएको जीवन जीउन थालिन् ।

“बा, हाईँले किन दसैँ नमान्नी ?”

“....”

बीचरा रत्नेले कसरी बुझाउन् बाल मन ? उनी निःशब्द हुन्छन् । छोरोले जिद्दि गरिरहन्छ ।
प्वाक्क भनिदिन्छन्, “तेरा दाई र दिदी मरे । मनाम्न हुन्न के दसैँ ।”

“अनि पोर परार को मरेथे नि बा ?”

रत्नेले सेतेको आसय बुझे, “पोर परार हाईँसँग तँलाईँ लुआ किन्न, खसी किन्न पैसा थिएन...”

सेतेले कुरो बुझ्यो वा बुझेन उसकै मनको कुरा । उसले चुपचाप ढिँडो मुखमा दलेर सकि हाई काढ्यो ।

सेते रङ्गीन सपनामा पौडन थाल्यो । उसका ठूल्दाइले बालाई खसी काट्न सघाउँदै थिए, माइला दाइ, दिदी र आमाले घर रङ्ग रोगन गर्दै थिए । घरमा धेरै पाहुना आएका थिए । त्यस्तो रमाइलो सपनाको देशमा सेते आफू चाहिँ रन्जुसँग उही हवाइजहाज र  पुतलीसँग खेल्दै थियो ।

भोलिपल्ट बिहान बिचरा सेतेको हातमा गोरु लखेट्ने लौरो सिवाय केही थिएन । उसले आफूले देखेको सपना बालाई सुनाएपनि महत्वहीन भयो । सपना आखीर सपना न हो ! एउटा टाढाको क्षितिज । ऊ  खोक्रो मन बोकेर लुरुलुरु गोरु चराउन हिँड्यो । आज उसलाई वस्तु हेर्न जान मनै लाएको छैन । ऊ त्यहि सपनामा भुलिरहेको छ । उसलाई लाग्न थाल्यो उसलाई माया गर्ने रन्जु पनि एउटा सपना, उसले ल्याइदिएकी हवाइजहाज पनि एउटा सपना !
Photo Source : www.ausphotography.net.au

Tuesday, August 17, 2010

पल्पसा बाँचेको युग

हिजोआजका मेरा धेरैजसो समयहरू दृश्यको आर्ट ग्यालरीमै बसी बित्‍ने गरेका छन्। त्यो दिन पनि म त्यहीँ थिएँ। दृश्य उसको नयाँ शिर्षक “रि इन्कार्नेशन”मा काम गर्दै थियो। विगत एक हप्तादेखि ऊ सन्तुष्ट भइरहेको थिएन, आफ्नो आर्टलाई पूर्ण रूप दिन। यस क्रममा उसले धेरै क्यानभासहरू च्यातिसकेको थियो। त्यस दिन ऊ त्यो शिर्षक पूरा गरेरै छाड्ने धुनमा थियो।

दृश्यलाई भित्र छोडेर म बाहिर टेबलमा बसिरहँदा केही पर एउटी केटी देखें। सुरुमा उसलाई ठम्याउनै सकिनँ। कतै देखेजस्तो, चिनेजस्तो लाग्यो। उसले रुकस्याक भिरेकी थिई, घाँटीमा क्यामेरा थियो। ऊ अझ नजिक आउँदै थिई। सूर्य डुब्दै गरेको चित्र भएको टि–सर्ट र जिन्स लगाएकी। म झस्किएँ। ऊ पल्पसा थिई!!!

म बाहिरैबाट चिच्याएँ “दृश्य! पल्पसा आउँदैछ !!!!”

दृश्य झर्किनु र झस्किनु स्वाभाविक थियो। ऊ आर्ट ग्यालरी नजिक आइसकेकी थिई। बाहिर एकछिन मैले उसलाई हेरिरहेँ, एउटा आश्चर्य मिश्रित हेराइले। मलाई संसारमै सबैभन्दा आश्चर्यचकित लाग्ने घटना मेरै आँखा अगाडि विस्फोट हुँदैछ जस्तो लाग्दै थियो। दृश्य ढोकाबाट बाहिर निस्कन मात्र खोजेको थियो, ऊ मसँग झर्कियो।

“खोई पल्पसा? नचाहिँदो कु.......रा” दृश्य बोल्दाबोल्दै पल्पसा उसकै अगाडि आई। उनीहरू झन्डै ठोक्किएका।

त्यसपछि समयले आफ्नो अस्तित्व बिर्सिए जस्तो भान भयो। सुनसान। दृश्य पल्पसालाई हेर्दै थियो, आँखा झिमिक्क पनि पारेको थिएन। पल्पसा पनि त्यसै  गर्दै थिई। उसले पल्पसालाई अँगालो हाल्छ। निधारमा म्वाइ खान्छ। हामी सबैका आँखाहरूमा हजारौं प्रश्नहरू जन्मिँदै थिए। दृश्यको यस्तो स्वरूप मैले कहिल्यै देखेको थिइनँ। त्यसपछि उसले पल्पसालाई समाएर भित्र लैजान्छ। दुवैजना सोफामा बस्छन्। म पनि पछिपछि गएर छेउको कुर्सीमा बस्छु। पल्पसाले अब खेप्नुपर्ने प्रश्नहरूको ओइरो बारे म कल्पना गर्दै थिएँ।

“पल्पसा, तिमी कसरी....?” दृश्यले लरबराउँदै सोध्छ।

ऊ मुसुक्क हाँस्दै भन्छे “म सबैथोक भन्छु तिमीलाई।”

अनि मतिर फर्कन्छे।

दृश्य भन्छ “पल्पसा, ऊ मेरो नजिकको साथी, उज्ज्वल। ऊ लेखक हो। हिजो आजको युवा पुस्ताको सशक्त लेखक। तिमी हराएको केही दिनपछि चिनजान भयो ऊसँग।”

ऊ पल्पसालाई हेरिरहन्छ।

पल्पसाले मलाई अभिवादन गर्छे।

म अभिवादन फर्काउँदै भन्छु “पल्पसाजि साँच्चै म चकित छु आज। तपाईँ दुर्घटनामा परेको केही दिनपछि दृश्यसँग भेट भयो। ऊ त्यो बेला 'पिकासो ग्यालरी' मा एकल चित्रकला प्रदर्शनी गर्दै थियो। त्यो बेला दृश्यले तपाईँबारे सैबथोक भन्यो। तपाईँको बारेमा थाहा पाउँदा म पनि विक्षिप्त भएको थिएँ। तर आज अनौठो गरी स्वयं तपार्इँलाई भेट्दै छु। मलाई विश्वासै भएको छैन। जे होस् दृश्यको अनुहार हेरेर यी घटनाहरूमा विश्वस्त हुँदैछु। नयाँ जीवन पाउनु भएको रहेछ, 'अ रिन्कारनेसन', कंग्राचुलेसन्स!”

मैले यसो भनी सिध्याउँदा दृश्यले मलाई हेर्छ। अनौठो गरी।

“जे पायो त्यहि!” पल्पसा टाउकोलाई दृश्यतर्फ ढल्काउँछे।

दृश्य र पल्पसा मुखामुख गरी हाँस्छन्।

ऊ फेरि थप्छे “उज्ज्वलजी म रि इन्कार्नेटेड भएको चार वर्ष पुग्न आँट्यो बल्ल बधाई पाँउदै छु। एनी वे थ्याङ्क यू!”
“दृश्य, बरु कफि अर्डर गर न। पट नै भन। अनि गफ गरौंला। ए... नारन दाइलाई पनि बोलाऊ बरु”

(पल्पसा लेखक नारायण वाग्लेको कुरा गर्दै थिई।)

दृश्य भन्छ “म आँफै बनाउँछु कफी। अनि नारन दाईलाई पनि बोलाउँला।”

दृश्य नारन दाईलाई फोन डायल गर्दै किचनतिर पस्छ। पल्पसा उठेर दृश्यको नयाँ आर्ट श्रृखंलाहरू हेर्न थाल्छे।

त्यसक्रममा धेरैबेरसम्म त्यही आफूलाई मन परेको चित्र हेरिराखी। त्यो चित्रमा पात खस्दै गरेको थियो। त्यसपछि ऊ 'रि इन्कार्नेसन' शिर्षकमा भुलिराखी। दृश्यले चित्रलाई अन्तिम रुप दिइसकेको रहेछ। पल्पसा उक्त चित्रको शिर्षक अनि कुनामा लेखिएको मिति देखेर छक्क पर्छे। त्यसैले होला उसले घरी किचनतिर घरी मतिर हेर्दै थिई। अनौठो लागेर होला।

पल्पसा चन्चल हुँदै सोध्छे “दृश्य, फूलन खोइं? उसलाई पनि बोलाऊ न। मलाई देखेर अचम्म पर्ली। मलाई देखेर भू...त भनेर चिच्याउली!!”

किचनबाटै दृश्यले अलिक ठूलो स्वरमा भन्छ “ए फूलन? ऊ त अमेरिका गइसकी। बिहे गरेर। त्यही गायक भाईसँग। दुबैको सहमतिमा बिहे गराइदिएँ।”

“ए! राम्रो भयो” ऊ भन्छे।

दृश्य कफीसहित फर्कन्छ। कफी खन्याउँदै गर्दा ढोकामा नारनदाई झुल्किन्छन्। पल्पसाले अभिवादन गर्छे। नारनदाईले केही मिनेटसम्म पल्पसालाई हेरिरहन्छन्।

“तपाईँहरू सबैलाई म कसरी बाँचे, कहाँ हराएँ भन्ने कुरामा एकदमै खुल्दुलि होला हगि? अब म सबै भन्छु।” पल्पसाले कथाको पोको फुकाउन थाल्छे ।

(पाठकहरू ! त्यसपछि म, दृश्य अनि नारनदाई सबैको अनुहारमा एउटा विचित्रको जिज्ञासा झुल्किन्छ। मेरो मुटुको धड्कन म आफैंले स्पष्ट सुन्दै थिएँ।)

“त्यो एउटा डरलाग्दो दुर्घटना थियो। मुटु नै छिया–छिया पार्ने खालको। बसका यात्रुहरू पिसाब फेर्न निस्कँदा दृश्य पनि झरेको थियो। म बसभित्रै थिएँ। सोचेँ, बाहिर निस्केर फ्रेस हुनुपर्‍यो। बसबाट झरेँ। केही छिनमै बसले हर्न बजायो। यात्रुहरू क्रमशः चढ्दै गर्दा बस एक्कासी विस्फोट भयो। दृश्य पनि चढ्यो होला भन्ने अनुमान गरेँ। त्यसैले मेरो मन क्षत्‌विक्षत्‌ बसभन्दा लाखौं गुणा बढी ध्वस्त भयो। अचानक चार, पाँच जना मानिसले मलाई घेरे। उनीहरूले टाउकामा रातो रुमाल बेरेका थिए। उनीहरुको रुमालको बीच भागमा तारा अंकित चित्र थियो। अनि मेरो घाँटीमा क्यामेरा झुन्डिएको। उनीहरूले मलाई पत्रकार ठानेर लछार–पछार पारे। बोल्ने मौकै दिएनन्। म अपहरणमा परेँ। पाँच दिन पाँच रात हिँडाएर एउटा दुर्गम गाउँमा लगे। केही महिनासम्म बाहिर निस्कनै पाइनँ। एउटी छापामार केटीलाई बिन्ती गरें। म 'डकुमेन्ट्री फिल्म मेकर' भएको बताएँ। लामो अनुरोधपछि उसले मलाई बुझी। र उसैको अनुरोधमा मलाई बाहिर निस्कन दिइयो। तर उनीहरूसँग शंकालु आँखा बाँकी नै थियो। मलाई क्यामेरा भने दिइएन। म पहिलो दिन घुम्दै गर्दा थाहा पाएँ, त्यो ठाउँ कर्णालीको एउटा विकट गाउँ रहेछ। तपाईँहरू अचम्म मान्नुहोला, पहिलो दिनमै नेपालका प्रख्यात मानवशास्त्रि डोर बहादुर विष्टसँग मेरो भेट भयो।”

यो सुनेर मेरो आश्चर्यको सीमा अझ भत्कँदै थियो। नारनदाईले आँखाको आकार बढाउँदै मतिर हेर्छन्।
“उहाँ बेला–बेला अनुसन्धानको क्रममा हराउनुहुन्छ भन्ने पढेकी थिएँ। त्यो भेटमा उहाँ आफैँ खुल्नुभयो, 'पल्पसा, अहिले म यहाँ भएको कुरा धेरैलाई थाहा नहोला। लगभग दशक यता म यहीँ बसेर अनुसन्धान गर्दैछु।' मैले थाहा पाएँ, सरलाई विशेष सम्मान गर्दा रहेछन् छापामारहरूले। त्यसपछि डोरबहादुर सरको अनुरोधमा म अपहरणमुक्त भएँ। उहाँले मेरो क्यामेरा पनि मागिदिनु भयो। अनि म पनि सर बसेकै एउटा घरमा बस्न थालेँ जहाँ घरबेटीका पाँचजना र हामी दुई गरी सातजना भयौं। मैले डकुमेन्ट्री फिल्म बनाउने राम्रो स्रोत भेटेकी थिएँ। सरले पनि निकै मद्दत गर्नुभयो। आफू सन्तुष्ट हुँदासम्म डकुमेन्ट्री बनाउन भनी अनुसन्धान गरिरहेँ।”

यसैबीच ऊ दृश्यलाई हेर्छे, “तिम्रा बारेमा पत्रिका पढेर थाहा पाएँ। धेरै खुसी भएँ। तिम्रा चित्रहरूले यहाँ काठमाण्डौ लगायत विदेशमा ख्याति कमाएको पनि थाहा पाएँ। त्यहाँ लगभग चार वर्ष बसेपछि सरले मलाई फर्कन सल्लाह दिनुभयो। मलाई उचित लाग्यो। म त्यहाँ बस्न थालेको केही समयपछि यता देशले कोल्टे फेरिसकेको थियो। मसँग पनि धेरै स्रोत जम्मा भैसकेका थिए। अन्ततः फर्कने सोच गरेँ र आज म तपाईँहरू सामु छु।”

पल्पसा लामो सास फेर्दै भन्छे। ऊ नारन दाईतर्फ फर्कन्छे। म हाँस्दै भन्छु, “दाई तपाईँले उसलाई मारे पनि ऊ बाँची। आजको युगमा अब लेखक आफ्ना पात्रहरूलाई आफ्नै इच्छामा बाँध्न सक्दैन भन्ने कुरा पुष्टि भयो नि हगि?”

नारनदाई चुरोट सल्काउँछन्। धुवाँभित्र आफै पुरिएर भित्र कतैबाट गहिरो ध्वनि निकाल्छन् “हो अब बेग्लै युगको थालनी भएको छ। यो घटनाले अब लेखकले चाहेको बेला पात्रले मृत्यु मर्नु पर्ने छैन भन्ने पुष्टि भयो। मैले धेरै पाठकको खप्कि खानुपर्‍यो 'विनासित्ती पल्पसालाई मार्‍यो' भनेर।”

“........।”

मलाई अनौठो लाग्दै थियो साक्षात् लेखक अनि उसको पात्रको संवाद सुनेर। दाई मतिर फर्किएर भन्छन्, “उज्ज्वल, डोरबहादुर सर पनि भेट्टिनुभयो। अब उहाँले गरेका अनुसन्धानहरू बाहिर आउनु पर्छ।”
बीचैमा पल्पसा भन्छे “तर दाई, सरले मलाई यता पठाउँदा आफू त्यहाँ भएको कुरा नखोल्नू भन्नुभएको थियो।”

म भन्छु “जे होस् अब हामी फेरि सरलाई गुमाउन चाहँदैनौं।”

पल्पसा केही बोलिन।

नारन दाई भन्छन् “पल्पसा तिम्रो हजुरआमा त एक्सपाएर भइसक्नुभयो नि।”

“अँ थाहा पाएँ, धेरै दुःख लाग्यो।”

“अनि बाबा ममीलाई फोन गरी भन्यौ त आफ्नोबारे?”

“अँ भनेँ। एकदमै डराउनुभयो अनि आत्तिनुभयो। खुब गाली गर्नुभयो। मम्मी धेरै रुनुभयो, फोनमै। मलाई चाहिँ एकदम हाँसो उठ्यो। जे पायो त्यहि, है दृश्य? कस्तो रोएर टेन्सन मात्र। मेरो बिहे गर्ने कुरा गर्दै हुनुहुन्थ्यो।”

“अनि के जवाफ दियौ त?” हतारिदै दृश्यले भन्छ।

ऊ हाँस्छे, “डन्ट वरि माइ डियर, वहाँहरूलाई तिम्रो बारेमा खुलस्त भनिदिएँ। दे आर पोजेटीभ टुवार्डस यू! दशैंमा आउने रे!”

हामी सबैजना हाँस्छौं। पल्पसा कपमा कफि खन्याउँदै नारन दाईलाई सोध्छे , “दाई, तपाईँको के हुँदै छ नि? 'त्यहाँ' छोड्नुभयो रे। अनि अब के गर्ने सोंचमा हुनुहुन्छ त?”

“अँ 'त्यहाँ' छोडें। साथीहरूसँग सल्लाह गर्दैछु, अबका दिनहरूमा के गर्ने भनेर। ला! म त कस्तो हुस्सू मान्छे, अहिले मलाई छलफल गर्न जानु थियो। म त यहीँ भुलेँछु।”

हतार हतार उठ्दै भन्छन्, “ल अहिले गएँ हतार भो। बरु भोलि हामी 'जाभा' मा भेटौं न। सबैजना।”

हामी सबैले सहमतिमा टाउको हल्लाउँछौँ।


(राष्ट्रबैंकको मासिक पत्रिका मिर्मिरे, २०६६ बैशाख अङ्कमा प्रकाशित)

Thursday, July 29, 2010

सरी !

ठमेल आज सुनसान देखिन्थ्यो । के भएछ ठमेललाई ? को जानोस् !

गोजीमा फोन बज्यो । रश्मीले सुन्धारा बोलाई । ऊसँग मेरो तेस्रो भेट हुँदै थियो । दोस्रो भेटमा उसले मबारे धेरै थाहा पाई । ऊ भारतीय ठिटी । उमन स्टडिज्मा भारतबाट भर्खरै स्नातक सकेकी । आफ्नो बारे अन्य कुरा खासै खुलाइन । मैले एमफिल अनुसन्धान गर्दै गरेको सुनाएँ । मेरो अनुसन्धान शीर्षक सुनेपछि ऊ हाैसिई । र अनुसन्धानमा सहयोग गर्ने बाचा गरी । ऊ गम्भीर देखिन्थी ।

त्यसदिन हामी छलफल गर्ने योजनामा थियौं । सुनधाराको कुनै लजमा रातै बिताउने आग्रह थियो उसको । म अचम्ममा परें ।

म ठमेलबाट हिँड्दै इन्द्रचोक पुगें । मानिसहरू हतारमा थिए । साँझको बेला, कोही अफिसको तनाव मुक्तिले होला, फुर्तिला देखिन्थे । कसैको अनुहार उनीहरूकै माथि असरल्ल परेको बादलसँग ठ्याक्कै मिलेको । पानी पर्नै लागेको थियो । बाटाका मसिना कुरामा मेरा आँखा जान्थे । तर आज फाट्टफुट्ट बाहेकका कुरामा मन गएन । न्युरोड भीडभाड थियो । त्यही भीडबीच एउटा माग्ने देखें । 'ओहो यो मानिस... च्व ! च्व ! च्व !' मनबाट मसिनो आवाज आयो । खुट्टाभर पट्टी बाँधेको । घाउ होला । यस्तालाई नै किन दुःख दिन्छ यो काल्पनिकतामा हुर्किएको भगवानले ? उसले भुइँमा बिछ्याएको टालोमा पाँच रुपैयाँ राखिदिएँ । न्युरोड गेटतिर पुगिसक्दा पानी दर्कियो । न्युरोडको त्यही जीर्ण गेटले ओत दियो । सुकिला देखिने मानिसहरू पनि त्यो गेटको काखमा लुटपुटिए । भर्खरै पाँच रुपैयाँ दिएको माग्नेमाथि फेर िआँखा पर्‍यो । ओहो ! उसको घाउ त बनावटी पो ? उसले खुट्टामा लगाएका पट्टी खुरुखुरु खोल्यो । थाङ्नाथुङ्नी बटुली ऊ दगुर्‍यो । साउने झरीले खेद्दा उसको बेग चाहिँ मुसलधारे पानीको बेगभन्दा कम थिएन । ओहो ! ऊ त मै नजिक पो आयो । उसलाई एक निमेष हेरें । उसले पनि मलाई देख्यो । वाल्ल पर्‍यो । हूल पन्छाउँदै ऊ दगुर्‍यो । सायद आफूले दिनभरी मानिसहरूलाई झुक्याएको कुराले ग्लानि भयो कि ? तर त्यति नगरी पेटमा अन्न कसरी बुझाओस् ।

आफ्नो स्वार्थ पूरा गर्न अरूको ढाडमा टेकी टाउकोमा प्रहार नगर्ने को छ ? जो पनि गर्छ । ऊ रुझ्दै पर पुग्यो ।
भर्खरै मोटरसाइकलबाट झरेर एक जोडी लिछिप्पै भिजेको शरीरसहित उही गेटमुनि ओत लागे । युवक कपडामा लागेको हिलो सफा गर्दै थियो । युवती आफ्नो भिजेको कपाल खोल्दै थिई । कस्ती टम्म भरीएकी । जवानीको पूणार्वस्था । उफ्...उसले त मैले चोरेर हेरेको थाहा पाइछ । आँखा हटाएँ । युवकसँग ऊ टाँस्सिई । मैले हेरेको चाल पाइसकेकी उसले युवकलाई आफ्नो ज्यानै सुम्पिएर अनेक गर्न थाली । वरपिरकिा मानिसको मतलब भएन ती दुवैलाई । ऊ बेलाबेला मतिर बैंसालु आँखा भने सोझ्याउँथी । अलिक बेरपछि पानी रोकियो । ती जोडी पनि हिँडे । म पनि हिँडें सुनधारातिर ।

ऊ समयमै आइपुगी । ठूला आकारका तिखा आँखा भएकी ऊ भर्खर बीस लागेकी हुँदी हो । युवतीको उमेर को सोधोस् ! हामी मुस्कुरायौं, भेट्नासाथ । टहल्दै लज खोज्न थाल्यौं । यसअघि निकै कम बोल्ने ऊ आज धेरै फतफताई । मलाई उति बोल्न मन लागेन । भारतीय हिन्दु संस्कृतिमा यौन दृष्टिकोण र खुला यौन बजारबारे धेरैथोक भनी । सोचाइ फराकिलो देखिन्थ्यो । मेरो अनुसन्धान सम्बन्धित कुरा भएकाले पनि उसलाई धेरै सुनें । निकै अध्ययनशील केटी रहिछ । चुरोट खाइरहनुपर्ने उसलाई ।

'मलाई उसले रातै बिताउने गरी किन बोलाएकी ?' सोध्ने मन त थियो तर खुला संस्कृतिमा हुर्केकी ऊसँग यसबारे सोध्ने आँटै आएन । के नै पो हुन्छ र ? मेरो मन चोखो छ क्यारे !
Googled image


साँझको आठतिर हामी लज पस्यौं । यो केटीले फेरि चुरोट सल्काई । मलाई धुवाँले सकस हुने ।

'आज म बढी चुरोट पिउँदै छु । ठूलै कुरा प्राप्त भएजस्तो लाग्दै छ ।'

के कुरा पाएकी हो, ऊ खुलिन । कलिला ओठबाट चुरोटको विषालु धुवाँ बाहिर निकाल्दै हल्का सासमा ऊ बोली । उसले ह्विस्की मगाई । नखाऔं भनेको थिएँ । जिद्दी गरी । बिस्तारै नशाले छोयो । मलाई रक्सीले चाँडै चिन्थ्यो ।


'सेक्स परसेप्सन इन् हिन्दु उमन'बारेको शीर्षकमा छलफल गर्न रश्मीलाई भनें ।

'केही सोधूँ ?'

ल ! ऊ त बेस्मारी हाँसी । मुटु नै फुट्ने गरी किन हाँस्नुपरेको ? हाँस्दा हाँस्दै मलाई गम्लङ्ग अँगालेर आफ्नो शरीर सुम्पी । दुवैलाई रमरम मात थियो...

बिहान ब्युँझिएपछि रश्मीले लाज मानी । ऊ बाथरुम छिरी । फ्रेस भएपछि कफी पिउन थाल्यौं । ऊ बिहानदेखि मुसुमुसु हाँस्दै थिई । किन हाँसेकी होली ? ऊ राम्रो नेपाली बोल्न जान्दिनथी ।

'तपाईँको उद्देश्य कत्तिको पूरा भो थाहा छैन । तर मैले आफ्नो उद्देश्य पक्कै पूरा गरें ।'

सोफामा बस्दै बोल्न थाली रश्मी । मैले उसको कुरै बुझिनँ ।

'म धनी बाबुकी छोरी । मेरो बाबु फ्रान्स बस्थ्यो । वर्षौंमा घर आउँथ्यो । दुई- चार दिन बस्नेगरी...' 

ऊबारे आज नयाँ कुरा जान्दै थिएँ । म मुग्ध भई उसलाई सुन्न थालें ।

'...केही हप्ता बाबु आउँदा ममी र म खुसी हुन्थ्यौं । तर अफसोच, अन्त्यमा उसले ममी र म दुवैलाई निरीह बनाई छोड्यो । बाबु एचआईभी सङ्क्रमित रहेछ । ममीलाई पनि भारी बोकायो । मैले एकपटक दुर्घटनामा पर्दा ममीबाट रगत लिएकी थिएँ । त्यति बेला ममीको सङ्क्रमण त के बाबुको पनि थाहा थिएन हामीलाई । ममी अचानक बिरामी पर्नुभयो । रगत चेक गर्दा मात्र थाहा भो, एचआईभी पोजेटिभ हामी दुवैलाई आक्रमण गर्दै थियो...'

मैले आँखा देख्न छाडें । शरीर आफैँलाई भारी लाग्यो ।

'...र अहिले पापी बाबु त मर्‍यो तर ममी र म मृत्यु पर्खँदै छौं । बाबुप्रतिको घृणाले म संसारका सबै पुरुषलाई पापी देख्छु । त्यसैले म नमरुन्जेल मेरो एचआईभी धेरै पुरुषलाई सार्न चाहन्छु । आई एम सो सरी !'

रश्मी बाहिरीइ। मेरो शरीरमा मृत्युका तरङ्ग फनफनि नाच्न थाले । ढोका खुलै थियो । काठमाडौंको चिसो हावाको झोंक्काले आक्रमण गर्न थाल्यो मलाई ।


-CP Aryal (सिपी अर्याल)


(Published in Kantipur-Kosheli dated 2066 Ashoj 3 Saturday)