Saturday, January 26, 2013

तन्नेरीलाई खुराक


–सिपी अर्याल (CP Aryal)

तन्नेरीले बोल्ने भाषा, उनीहरूले बाँचेको जस्तै जीवन, तिनकै क्षणिक प्रेम सम्बन्धका कुरा अनि उस्तै मनोविज्ञान । यस्तै यथार्थलाई मज्जाले बुझेर लेखिएका नेपाली साहित्य हामीसँग थिएनन्, सायद । भारत लगायत विश्वकै अक्षरबजारमा यस्तो साहित्यले गतिलो ‘कमर्सियल भ्यालु’ राख्ने गरेका छन् । सामान्य कथानकबीच रङ्गीन प्रेमसम्बन्धमा हेलिने युवाका त्यस्ता कथाको छुट्टै ‘एस्थेटिक भ्यालु’ रहने गरेको छ । हामीमाझ यस्ता औपन्यासिक कृतिका माग उठिरहेका जरुर थिए । यद्यपि, मूलधारमा ‘गम्भीर’ भनिने साहित्यमाझ यसखालका तन्नेरी खुराक अहिलेसम्म देखिएका थिएनन्, सायद ।

यो अवस्था चिर्दै युवा स्रस्टा सुबिन भट्टराईले उनको पहिलो उपन्यास कृति ‘समर लभ’ प्रकाशित गरेका छन् । यो विलकुल नयाँ शैली ‘मूलधार’ लेखनीले पचाउन समय त लाग्ला नै तर एउटा कुरा ठोकुवा गरिदिन सकिन्छ, यस्ता पुस्तकप्रति युवापुस्ताको मोह ह्वात्तै बढ्नेछ अब । आफ्नै कथा, आफूले जस्तै बोल्ने भाषाको प्रयोग र दुरुस्तै जीवनशैली समेटिएको गतिलो पुस्तक अभाव भएरै त हो नि हाम्रा तन्नेरी नेपाली साहित्य पढ्न नलोभिएका ! ‘समर लभ’ले त्यसको क्षतिपूर्तिको लागि पहलकदमी उठाउन सुरुआत गरेको छ । यस पुस्तकले आफूलाई फरक साहित्यविधाको रूपमा पक्कै स्थापित गराउनेछ । भाषा/कथानक/प्रस्तुती युवाहरूलाई समकालीन लाग्नेछ । ‘समर लभ’ मा आफ्नै परिवेशको कथा र आफूले जस्तै भाषा बोल्ने पात्रहरू देख्नेछन् युवा पाठकले ।साया र अतितको जस्तो प्रेमसम्बन्धमा उनीहरूले आफैलाई हिरो/हिरोइन मानेर उपन्यास पढ्नेछन् ! अनि यिनै पात्रले विश्वविद्यालयमा बिताएका समय बारे पढिरहँदा पाठकहरू नोस्टाल्जिक पनि हुनेछन् ।

अतित नामक मूलपात्रको वरिपरि घुमेको ‘समर लभ’ लेखक–पात्रले अतितकै मुखबाट न्यारेट गराएका छन् ।  त्रिविमा वातावरण विज्ञानको स्नातकोत्तर इन्ट्रान्समा ‘साया शाक्य’ नाम पहिलो नम्बरमा देख्नेबित्तिकै अतित उसलाई देख्न लालायित हुन्छ । भनौँ न देखेको नामसँग ऊ प्रेममा परिसक्छ । सायाबारे व्यग्रतासाथ जान्न खोज्दा उसलाई अन्य युवतीहरूले जिल्ल्याएका, आफ्नी नायिकालाई देख्न ऊ लोभिएको घटना वर्णनले पुस्तकका पाना पल्टिएको पत्तो पनि दिँदैनन् । यसरी कथानकले गती लिन्छ । नियमित अध्ययन सुरु भएपछि सायासँगको प्रेम सम्बन्धमा अतित मजाले जेलिन थाल्छ । साया पनि अतितको संसाथले रमाउँछे । त्यसबीचका घटना निकै सामान्य लाग्छन् तर प्रस्तुतीकरणको शैलीले उत्तिकै लोभ्याउँछन् पनि । दुईबीचको रोमान्स र सेक्सका वर्णन अनि हाँसोठट्टामा गतिला संवादको प्रयोगले पाठकलाई अल्झाइरहन्छन् । साया र अतितबीच सानातिना कारणले उब्जाएका मनमुटावले युवा मानसिकताको प्रतिनिधित्व गर्छन् । प्रयुक्त अन्य पात्रबीचका लोभलाग्दा संवादले पनि पाठकको मन हरप्रहर जीतिरहन्छन् । कुनै नविन कुरा कथामा छैनन्, त्यसको सार दुई शब्दमा व्यक्त गर्न सकिन्छ, ‘प्रेम’, ‘विछोड’ । तर त्यसबीच पात्रले भोगेका यथार्थहरूको सशक्त विवरण नै काफि छन् पाठकलाई बाँधिराख्न । अनु, प्रतिक्षा, किरण, सुस्मीता, दिब्या, मधुसुदन आदि पात्रहरूले सहज भूमिका निर्वाह गरेका छन् । मूलकथाको अन्त्यसँगै केही पात्रहरूलाई बीचमै छाडिएको छ । तिनको पनि सही थान्को लगाउन सकेको भए पाठकले सन्तुष्टिको लामो सास तान्न सक्थे । कथाको टुङ्गो यस्तो प्रकारले गरिएको छ कि पाठकहरूलाई आस लाग्ला, ‘समर लभ–२’ पनि आउँछ कि भन्ने !

अतितले आफ्नो भूमिकालाई जबरजस्त राख्न सकेको छ । एउटा युवा छात्रले विद्यार्थी जीवनमा झेल्ने गरेका समस्या, सफल प्रेमी बन्ने उसको मोह अनि परिवार र प्रेमीकाबीच समान सम्बन्ध मेन्टेन गर्नुपर्ने अप्ठेरो बीच बाँधिएको छ ऊ । उसैगरी सायाको भूमिका पनि स्वाभाविक लाग्छ । अझ, अचेल युवामाझ मौलाएको प्रेम सम्बन्धबीचको सर्वकालिक प्रेमिका–पात्र बन्न सकेकी छ साया । पारिवारिक दबाबले अतितलाई छोड्न चाहेकी जस्तो देखिने सायाले अरू नै कारणले पो अतितलाई छोडेकी होकि भन्ने प्रशस्त ठाउँहरू छन् । अन्य पात्रहरूको भूमिका पनि सहज लाग्छ । समग्रमा यी दुवै जोडी युवापुस्ताको प्रतिनिधि पात्र बन्न सकेका छन् । एकसरो कथाको मालामा उनीएको यस उपन्यासमा बीचमा कुनै उपकथाहरू आउँदैनन् । अतित र सायाको रोमान्सबीच कोही पनि ‘कवाबमा हड्डी’ बन्न नआएको होला जस्तो लाग्ने ! कुनै सबप्लट नभएको यस्तो कथामा प्रमुख पात्र हावी भएपनि प्रमुख कथासँग कहिँकतै पाठकहरू झिझिने ठाउँ देखिँदैन । मूलपात्रबीचको आकर्षण, प्रेम, रोमान्स, सेक्स अनि तीबीच देखिएका मनमुटावहरू रुचिलाग्दो र सामान्य ढङ्गमा प्रस्तुत छन् । युवापुस्ताबीच चर्चित बोलिचालिको भाषा प्रयोग कसीलो र सहज लाग्छ । उपन्यासको उत्तरार्धमा साया र अतितबीच गम्भीर मनमुटाव पर्छ र अवस्था एकदमै क्रिटिकल हुन्छ । त्यसबेला आफै कस्सीएर तीबीच मेडिएट गर्न पाए हुन्थ्यो भन्ने आस पाठकलाई लाग्न सक्छ !

Source: www.kalvj.blogspot.com
सायासँग विछोड भएपछि आधीदर्जन पेज लामो अतितको उराठलाग्दो फत्फत्याई असहज लाग्छ ! हुन त गहिरो वियोग भोगेको मानिसले एक्लै बर्बराएको जस्तो पनि देखिन्छ त्यो पाटो । त्यसैगरी कहीँकहीँ समकालीन सेटिङ अनुसारको वास्तविकता प्रस्तुतीकरणमा लेखक मजैले चुकेका छन् । ती सूक्ष्म घटनाको वर्णनमा पनि ध्यान दिइनु पर्थ्यो । यसैगरी प्रुफरिडमा पनि अझ मिहिनेत गरिनुपर्ने देखिन्छ । चेतन भगतको लेखनशैलीबाट प्रभावित भएको बताउने भट्टराइको शैली पनि भगतकै जस्तो छ । गह्रुङ्गा साहित्यिक सिद्धान्त लगाएर बुझ्नु नपर्ने र युवा वर्गको प्रेमिल जिजिविषा समेटिएका भगतका उपन्यासजस्तै भट्टराइले पनि हामीमाझ ‘चिक–लिट’को प्रवेश गराएका छन् (लेखिका अद्भैता कलाले यस खालको उपन्यासलाई ठट्टामा ‘डिक–लिट’ भनेकी थिइन्, गतवर्षको साहित्य महोत्सवमा) । कथामा प्रयुक्त सामान्य डिटेलको प्रयोग ठाउँठाउँमा झिझ्याटलाग्दो देखिन्छ । ती डिटेल्सको प्रयोग लेखकले सुन्दर ढङ्गमा गर्न नजानेको आभाष हुन्छ । कतिपय घटनाको घुम्टो खोल्न लेखक निकै आतुर देखिन्छन् । लम्ब्याउन सकिने त्यस्ता डिटेल्सहरू बढाएर सूक्ष्म खालका अन्य केही विवरणहरू घटाएको भए पुस्तक अझ ओजिलो बन्न सक्थ्यो । साया को हो भन्ने कुतूहुलता बढाउन लेखक जति सफल छन् त्यसबाहेकका केही प्रस्तुतीको पर्दाफास गर्न कहिँकहिँ उत्तिकै असफल पनि भएका छन् । खैर, घटनाको चाँडो पर्दाफासले युवा मनोविज्ञानको छनक दिन खोजेको व्याख्या पनि गर्न सकिन्छ ।

पुस्तकको लेआउट आकर्षक देखिन्छ । प्रयुक्त कभर फोटोले उपन्यासबारे धेरै बताउँछन् । राम्री युवती कालो ब्याकग्राउन्डमाझ रङ्गीन ब्यालुन लिएर पोज दिइरहेकी छ । रङ्गीन ब्यालुनजस्तै उसका रङ्गीन चाहनाहरू मनभित्र छन् । तन्नेरी जीवनभोगाइका इन्द्रेणी अनुभव ऊसँग छन् । उपन्यासकी नायिका सायाकै फ्लेभर मान्न सकिने पुस्तक कभरकी युवतीका मनमा अन्य कस्ता प्रेमील तरङ्ग देखापर्छन्, ऊ किन अतितसँग टाढिन खोज्छे त्यो बुझ्न पुस्तक पढ्न जरुरी छ । सुमधुर प्रेमकथा भएको यो पुस्तक विशेषगरी तन्नेरीमाझ पठनीय ठहर हुनेछ ।

पुस्तकः समर लभ
विधाः उपन्यास
लेखकः सुविन भट्टराई
प्रकाशकः फाइनप्रिन्ट आइएनसी
मूल्यः ने.रु. २७५/-
पृष्ठः २५०

(नागरिक दैनिकमा २०६९ माघ १३ गते पहिलोपटक प्रकाशित)

No comments:

Post a Comment