Saturday, September 29, 2012

अक्षरहरूको बदलिँदो संसार



सहरमा अब नयाँ सेलिब्रेटीको बलियो उपस्थिति देखिन थालेको छ । लेखक ! हिरो, हिरोइन, गायक, गायिका त सँधैका सेलिब्रेटी भइहाले । तर हामीबीचको समयले यसरी कोल्टे फेर्दैछ जसले लेखकहरूलाई पनि उँचो स्थान दिइरहेको छ । पुस्तक लेख्ने, पढ्ने, प्रकाशन गर्ने, साहित्य महोत्सव आयोजना गर्ने प्रयासले अक्षरहरूको सौन्दर्यमा परिवर्तन गरिरहेको छ ।

लेखक खगेन्द्र संग्रौलाले अनुमान गरेका थिएनन् उनी एकदिन ‘सेलिब्रेटी राइटर’ होलान् भनेर । “त्यतिबेला सत्तासँग नजिक भएकाहरू मात्र लेखक भैटोपलिन पाउँथे ।” संग्रौलाले इतिहासको श्यामश्वेत यथार्थ भन्दा अहिले हामी अवाक् हुन्छौँ । निरंकुश शासन व्यवस्थाको एउटा विशेषता त्यही हो सायद । आफ्ना हित गर्ने नठानिएकाहरूको लेखकीय अस्तित्व नै थिएन । पत्रिकामा अनुहार देखिनु आफैँमा ठूलो कुरा थियो । अझ त्यसमा छापिएको लेखमार्फत् आक्कल–झुक्कल पारिश्रमिक पाउँदा त खुसीको सीमा के रहोस् । समयको राजमार्गमा सबैको पालो आउँछ भनेजस्तै सबैथोक विस्तारै परिवर्तन हुँदै गए । लेखकको पनि पालो आयो ।


साहित्य महोत्सव
हज्जारौँ पुस्तकप्रेमीमाझ गतिलो प्रभाव छाडेर एनसेल नेपाल साहित्य महोत्सव, २०१२ (NCell Nepal Literature Festival, 2012) भर्खरै सकियो । साहित्य महोत्सवले लेखकलाई ‘ह्युमनाइज’ गर्छ भन्दै विनोद मेहताले यस्ता महोत्सवको सौन्दर्य बढाइदिए । धेरै पाठकहरूलाई एकै ठाउँमा भेला गर्ने, दर्जनौँ लेखक राखेर गम्भीर बहस गर्ने परिपाटी नेपालमा भर्खरै भित्रँदै छ जुन आफैँमा खुसीको कुरा हो । पुस्तक प्रकाशन र प्रवद्र्धनमा लगानी गर्नु जोखिमको विषय मानिँदा पनि विस्तारै यसको लागि केहीले प्रयास थालिरहेका छन् । नेपालमा वर्षमा अन्तर्राष्ट्रिय स्तरका दुईओटा मात्र साहित्य महोत्सव हुँदैआइरहेका छन् । बुकवर्म ट्रस्टको अग्रसरतामा नेपाल लिटरेचर फेस्टिभल र अर्को, काठमाण्डौँ लिटरेरी जात्रा (Kathmandu Literary Jatra) । महोत्सव आयोजना गर्ने परिपाटी सुरु भएको केवल दुई वर्ष मात्र भयो । प्रयास आफैँमा उत्साहवर्धक छ ।
Photo: The crowded dabali in NCell Nepal Literature Festival. Clicked by-CP Aryal
भारतबाट विनोद मेहता (Vinod Mehta), अमिश त्रिपाठी (Amish Tripathi), अद्भैता कला (Advaita Kala), मनप्रसाद सुब्बा (Manprasad Subba) गरी चर्चित लेखकहरूको उपस्थितिले भर्खरै सकिएको महोत्सवको प्राणमा सुरम्य वायु भरिदियो । देशको कला र साहित्यको सम्बद्र्धनमा आफैँ बढी खट्नुपर्ने सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमै नीजि स्तरबाट युवाहरूले महोत्सव गराए । सरकारी निकायको निष्कृय शैलीलाई यसले गतिलो चुनौती दियो । यसले प्रतिष्ठानलाई बेस्सरी झस्काएकै हुनुपर्छ । साहित्यलगायत अर्थशास्त्र, समाजशास्त्र, कुटनीति, इतिहास जस्ता विषयमा भएका गम्भीर बहसले गतिलो प्रजातान्त्रिक परिपाटीको शक्तिबारे हामीलाई धेरै कुरा सिकाए । यसलगत्तै दुई महिनापछि काठमाण्डौँ लिटरेरी जात्राको दोस्रो संस्करण पनि हुँदैछ । त्यसमा पनि कैयौँ लेखकहरूको सहभागिता रहने छ । नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेन भनी डाँको छोडेर रुने हामीलाई यस्ता मेलाले पहिला आफ्नो सक्षमता जाँच्न सिकाउँछन् । दक्षिण एसियाका प्रत्येक मुलुकमा दर्जन बढी साहित्य महोत्सव भैरहँदा हामीले चाहिँ मानिसहरूलाई पुस्तक पढ्ने लत बसाल्ने उपाय अवलम्बन गरिरहेका छौँ । मान्छेहरूलाई कसरी हुन्छ पुस्तकको स्वादीलो रस चखाउने अनि उनीहरूलाई विस्तारै किताबी किरो बनाउने ! अचेलका केही पत्रपत्रिकाका कभर स्टोरीहरूमा सिनेमाका हिरो÷हिरोइन आकर्षक मुद्रामा पुस्तक पढिरहेका देखिन्छन् । आम मानिसहरूको आइडियल भएर बाँचेका ती पात्रलाई अगाडि सारेरै भएपनि पुस्तकको लत बसालिदिने परम्परा राम्रै मान्न सकिन्छ । यसले मानिसमा पुस्तकको क्रेज आफसेआफ जबरजस्त बनाइरहेको छ ।


हामीमा साहित्यलेखन र अनुसन्धानात्मक लेखनबारेको पाठकीय बुझाई अचम्मको छ । द्वन्द्व अनुसन्धानमा  कम्पुटर किबोर्ड चलाइरहेका सफल घिमिरे भन्छन्, “नेपालमा लेखक भन्नेबित्तिकै कवि र साहित्यकारलाई मात्र बुझ्ने प्रचलन छ ।” अनुसन्धाता लेखक र साहित्य लेखकबीचको भेद खुट्याउनुपर्ने जोड उनको छ । भन्छन् “प्रमाणिक तथ्य र अनुसन्धानमा आधारित लेखनीबारे पर्याप्त चर्चा नै हुँदैन ।” साहित्यका दर्जनौँ पुरस्कारहरू दिइन्छन् तर उत्कृष्ट अनुसन्धाता लेखकलाई उर्जा दिलाउन यस्ता पुरस्कारहरू दिइएको देखिँदैन । घिमिरेको गुनासो जायज छ । यसपालीको महोत्सवमा पनि साहित्यिक लेखनीले धेरै स्पेस पायो । जसरी उपन्यास, कथा र कविता लेख्नेहरूलाई यथेष्ट ठाउँ दिएर विदेशबाट निम्ता गरिएको छ उसरी नै अनुसन्धानमा स्थापित लेखकहरूलाई बोलाएर छलफल गरिनुपथ्र्यो ।

अर्चना थापाजस्ता महिलावादी स्रस्टाले पुरुषकेन्द्रित साहित्य हावि भएर पनि माथिल्लो सिँढी उक्लन हामीलाई धेरै अप्ठेरो परिरहेको बताउँछन् । थापा भन्छिन्, “हाम्रोमा साहित्यकारको परिभाषा नै गलत छ । मेल–सेन्ट्रिक  खालको ।” व्यापारिक संस्थाले पुस्तक प्रवद्र्धनको लागि साहित्य महोत्सवमा लगानी गरेको देख्दा अवस्थामा परिवर्तन आएकै मान्नुपर्छ । प्रकाशन गृह एक्लैले यति ठूलो जोखिम उठाउन पक्कै गाह्रो हुन्छ नै । त्यसैले अन्य धनाढ्य व्यापारिक संस्थाको अग्रसरतासाथ यस्ता महोत्सवको संख्या थपिनुपर्छ ।
दक्षिण एसियामा हुने साहित्यिक महोत्सवहरूको माहोल नेपालले पनि सिकिरहेको छ । भारतमा जयपुर लिटरेचर फेस्टिभलको रौनक विश्वभरि मच्चिन्छ । पाकिस्तानमा पनि कराची लिटरेचर फेस्टिभल आयोजना हुन्छ । यी दुवै देशको साहित्य महोत्सवमा दुवै देशबाट लेखकहरू स्वस्फूर्त रूपमा आउजाउ गरेर पाठकहरूसँग बहस गर्छन् । प्रिय लेखकको कुरा सुन्दा कुनै पनि पाठकले भारत–पाकिस्तानबीचको दुश्मनी सम्झिएला र ! त्यसैले यस्ता महोत्सवले मानिसबीच गजबको सेतुको काम गर्छन् । महोत्वसको पुलबाटै लेखक र पाठक एकर्काको मनको डेरामा आउजाउ गर्न पाउँछन् ।

पुराना डुब्दै नयाँ उदाउँदै
पुस्तक प्रकाशनमा नयाँ सौन्दर्य भित्राउँदै पठन संस्कृति उच्च बनाउनुमा नीजि प्रकाशन गृहको अद्भुत योगदान हुनु हर्षको विषय हो । तर प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन जस्ता पुराना संस्था सेलाउँदै जानु उत्तिकै टिठलाग्दो सवाल पनि हो । यी पुराना संस्थाले वर्षमा आधाअुधी पटक पुस्तक मेला आयोजना गर्छन्, जुन औपचारिकतामा मात्र सिमित रहँदै आएको छ । तर नयाँ उदाइरहेका प्रकाशन गृहले नेपाली साहित्य उत्थानमा जबरजस्त योगदान पु¥याइरहेका छन् । साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाले केवल औपचारिकता पूरा गर्न र स्टकमा भएका पुराना किताब सिध्याउने उद्देश्यले मात्र पुस्तक मेला आयोजना गर्नु हुँदैन । देशको कला र संस्कृति जगेर्ना गर्ने आधिकारिक निकायको यस्तो मानसिकताले हामी कहिँ पनि पुग्न सक्दैनौँ ! नयाँ लेखकलाई प्रोत्साहन दिने, साहित्यिक पुरस्कारहरू पारदर्शी गराउने, पुस्तक छाप्दा त्यसको विषय, भाषा र शैलीप्रति विशेष चनाखो हुने अनि उत्कृष्ट पुस्तकहरूको अब्बल अनुवाद गरी विश्वबजारमा  पुर्‌याउन सके पनि यी संस्थाहरूले साहित्यलाई दिने योगदान अमूल्य बन्थ्यो ।

आकर्षक लेआउट
पुस्तकको आकर्षण केवल बजारमा देखिनलाई मात्र प्रकाशन गर्ने एउटा समय थियो । तर अहिले त्यसको प्राविधिक पाटोलाई पनि उत्तिकै ख्याल गर्दै सुम्सुम्याइरहन मन लाग्ने लोभलाग्दा लेआउटसहितका पुस्तक प्रकाशन गर्ने गतिलो प्रयास जारी छ । लेआउट डिजाइनर सुवर्ण हुमागाइँले पुस्तक लेआउट निर्माणको इतिहास कोट्याउँछन् “हामीकहाँ फोर कलरको शैली भित्रिएको २०४६ साल पछि मात्र हो । भर्खरै त्यो चलन आउँदा पुस्तकलाई सक्दो रंगीन देखाउन त्यतिबेला मान्छेले जबरजस्ती रङहरू पोतिदिन्थे ।” पछि तिनैले बुझ्दै गए त्यो शैली कला थिएन भन्ने । लवाई–खवाईमा मात्र आकर्षण खोज्ने युवापुस्ताले अचेल पुस्तकको खोल पनि आकर्षक होस् भन्ने चाहँदैछन् । हेरिरहुँ जस्तो लाग्ने कभरले पुस्तक पढ्नुमा पनि बेग्लै सौन्दर्य अवश्य थप्छ ।

लेखकलाई पारिश्रमिक
भर्खरैको साहित्य महोत्वसले ठोकुवा गरिदियो, लेखकले लेखेर मात्र जीवन धान्न सक्दैन ! अमिश त्रिपाठीले महोत्सवमा भने, “तपाईँ लेखक भएर मात्र बाँच्न सक्नुहुन्न, धनी बाबुको छोरो भएमात्र त्यो सम्भव होला ! नत्र लेखनीबाहेक केही जागिर गर्नैपर्छ ।” यसैगरी विनोद मेहताले पनि नेपालजस्ता मुलुकका लेखकलाई फुल टाइम लेखक भएर बाँच्न गाह्रो छ भने । खगेन्द्र संग्रौला, जगदिश घिमिरे, अभि सुवेदीको पनि त्यस्तै जिकीर रह्यो ।
केही पहिले आफ्नो पुस्तक छाप्न प्रकाशकको पछाडि लेखक हात धोएर लाग्नुपर्ने अवस्था थियो । तर पुस्तकको संसार कर्पोरेट वल्र्डमा परिवर्तन भैरहँदा नेपालमा पनि त्यसको बाछिटा परिरहेको छ । अहिले लेखकले राम्रो पारिश्रमिक दिने र आफ्नो राम्रो प्रचार गर्न सक्ने प्रकाशन गृह छान्न सक्छन् । लेखनशैलीमा व्यावसायीकरण भएपछि राम्रा लेखकहरू सेलिब्रेटी हुँदैछन् । युवापुस्ताका लेखकको जबरजस्त प्रवेशले नेपाली साहित्यमा गजबको सन्देश प्रवाह गरिरहेको छ । २०६७ र २०६८ सालमा (झमक घिमिरे र अमर न्यौपाने) देशको प्रतिष्ठित मदन पुरस्कार युवाहरूको पोल्टामा प¥यो । यस अवस्थाले लेखेर (राम्रो लेखेमात्र !) राम्रै जीवन बाँच्न सकिने धेरै सम्भावनाहरू देखायो । पत्रकार विजयकुमारले प्रकाशन संस्था फाइनप्रिन्टबाट आफ्नो अटोबायोग्राफी छाप्ने सहमती गरेकै दिन सो संस्थाले पाण्डेलाई दस लाखको अग्रिम भुक्तानी दियो । उनले पुस्तक लेखिसिध्याएकै छ्रैनन्, लाखौँको अग्रिम भुक्तानी बुझिसके । नेपाली बजारमा यो घटना अभूतपूर्व मान्नुपर्छ ।
“२०२७ सालमा भानु प्रकाशन नामक नीजि प्रकाशन गृहबाट ‘चेतनाको पहिलो राग’ छापिँदा म त दंगै परेँ ।” संग्रौला भन्छन्, “म त भयंकर ठूलो मान्छे भएँ जस्तो लागेको थियो ।’ त्यतिबेला रोयल्टी लिने चलन त थिएन, यद्यपि । तर समय फेरिँदै गयो । के थाहा उतिबेला उनलाई आजको अवस्थामा आएर लेखकलाई प्रकाशन गृहले लाख भन्दा बढी पैसा टक्राउलान् भन्ने ? ‘जूनकीरिको संगीत’बाट पहिलोपटक ७० हजार बुझे उनले । त्यसपछि ‘सम्झानाको कुइनेटा’ र ‘आफ्नै आँखाको लयमा’ बाट उनलाई लाखबराबरको गतिलो पारिश्रमिक मिल्यो । राम्रो पुस्तक लेखेपनि “प्रकाशकले राम्रो पैसा दिएन” भनी धेरै लेखकले गुनासो त गरिरहेकै छन् । यसमा पनि सुधार आउला विस्तारै, आस गरौँ ।

महोत्सवबारे टिप्पणी
यस्ता महोत्सवबारे मानिसहरूले गम्भीर टिप्पणीहरू दिइरहेका छन् । साहित्यलाई मात्र प्राथमिकता दिइयो अनुसन्धान लेखनलाई दिइएन, काठमाण्डौँ केन्द्रित मानिसहरूमाझ मात्र यस्ता महोत्सवको पहुँच भयो, मोफसललाई गनिएन, महिला लेखिकाहरूलाई चित्तबुझ्दो ठाउँ भएन भनी आलोचना भइरहेका छन् । प्रयास गरिएको छ र त कमजोरीहरू पनि सँगै छन् । यस्ता टिप्पणीहरू मुनासिब पनि छन् । महिला सहभागिता (दर्शक र लेखक दुवै), सबै क्षेत्रलाई समेट्ने, साहित्यलाई मात्र काखी नच्याप्ने, मोफसलका प्रमुख सहरहरूमा पनि महोत्सव आयोजना गर्नेबारे पनि आयोजकले ध्यान पुर्याउनु पर्छ ।

-सिपी अर्याल (CP Aryal)

No comments:

Post a Comment