Saturday, June 23, 2012

बुल्डोजरले बनाउँदै काठमाडौँ

-सिपी अर्याल (CP Aryal)

आफूले दुखजिलो गरेर जोडेको सम्पत्तिमाथि सरकारी डोजर चल्ने भएपछि काठमाडौँ क्षेत्र नम्बर पाँचका बासिन्दा आफ्ना जनप्रतिनिधि नरहरी आचार्यको शरण पुगे । जनताकै हितमा लाग्छु भनि प्रण गरेका आचार्यले जनताहरूलाई समस्या परेकै हो भन्ने ठहर गरे । अनि ‘घरबासै उठाउने आक्रामक शैली’मा भइरहेका सडक विस्तारको कार्यक्रमविरद्ध लाग्न वाध्य भए उनी । “नियम मिचेर बनाइएका घरटहरा भत्काउने भनिएपनि” भन्छन् “सरकारको शैली गुण्डागर्दी जस्तै थियो । लालपुर्जा र नगरपालिकाले पास गरेका नक्सै बोकेर जनता मकहाँ आए ।” अनि सरकारी शैलीविरुद्ध संसद्मा नरहरीले आवाज उठाएपछि संसदीय समितिले तत्तत् क्षेत्रमा सडक विस्तारको काम रोक्ने आदेश दियो । जनता केही भएपनि ढुक्क भए । तर अवस्था सुल्झिसकेको भने छैन । “सडक विस्तार अभियानविरुद्ध म लागेकै होइन नि ! सरकारी नियतमा खोट देखेर सम्बन्धित निकायलाई होशियार बनाउन खोजेको” आचार्यको सुझाउ छ “गलत नियत र जनतालाई दुख्ख दिने उद्देश्यले सरकारले कहिल्यै काम गर्नु हुँदैन ।”

गणतन्त्र स्थापना पछि संविधान बनाउन भनि लागिपरेको बाबुराम भट्टराईको सरकार एकाएक बाटो फराकिलो पार्ने काम गर्न तम्सियो । आजभन्दा साढे तीन दशकअघि बनेको ‘नगर विकास कार्यान्वयन ऐन २०२९’ मिचेर बनेका घरटहरा भत्काउने निर्णय बल्ल आज आएर गरियो । राजधानी शहरको तीब्र विकास गर्ने उद्देश्यसाथ शक्तिशाली निकायको आवश्यकता भएपछि नगर विकास समिति विघटन गरियो । नगर विकास प्राधिकरण बनाइयो । सरकारको पूर्ण समर्थन र व्यापक अधिकारसाथ त्यसको आयुक्तमा केशव स्थापित नियुक्त भए जो काठमाडौँका पूर्व मेयर पनि हुन् । अहिले नगर विकास प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक महाशाखालगायतका उच्च निकायको संयोजनमा सडक विस्तार कार्यले गति लिइरहेको छ ।

दशकौँदेखि कसैले छुन नसकेको कृष्ण पाउरोटी, एभरेष्ट होटललगायतकाको पर्खाल भकाभक डोजरले भत्काउन थाल्यो । जतिसुकै दबाब आउँदा पनि सरकारी अधिकारीहरूले डोजरको एक्सिलिरेटर थिचिरहे । आचारसंहिता मिचेर बनाइएका घरहरू धमाधम भत्काइए, पर्खालहरू गल्र्यामगुर्लुम ढलाइए । साँघुरो काठमाडौँ फराकिलो बन्ने भयो भनी धेरै खुसी भए । काठमाडौँ बल्ल सपाट हुनेभो भनेर सपना पनि देखे कतिले ।
कतिले चाहिँ “संघीय सरकारले गर्ने काम तिम्रो हैन, तिम्रो काम संविधान बनाउने हो !”, “डोजर आतंक बन्द गर् !”, “ जनताको नम्बरी जग्गालाई सार्वजनिक जग्गा भन्ने कार्य तुरुन्त बन्द ग्र !” भनेर उछितो काढे । प्लेकार्ड लिएर टोलटोलबाट जनताहरू प्रतिकारमा निस्किए । कामको व्यापक विरोध भयो ।  सिर्जना भन्दा आतंक बढी भएको महसुस धेरैले गरे । मानिसहरू रिसले चुर भए । “मानिसहरूलाई कन्भिन्स गराउनु प¥यो नि ! उठिबास लगाउने स्टाइलले काम गरेर हुन्छ र !” स्थापित सुनाउँछन् । कलंकी–नागढुङ्गा सडक विस्तार गर्न खोज्दा सुरुमा मानिसहरू रिसाएर खनिएका थिए । तर स्पष्ट उद्देश्यसाथ घरमै गएर सडक विस्तारले उनीहरूलाई पुग्ने फाइदाको काइदा सुनाएपछि धेरै राजी भए । “मेरो घर पनि भत्काएर सडक चौँडा पारौँ” भने । “जनतालाई राम्रारी कुरा बुझाएपछि त समस्यै हुँदैन नि” स्थापित हौँसिन्छन् । उनी पहिले यहाँको मेयर हुँदा पनि सडकहरू विस्तार भएका थिए । उनले योजना राम्ररी बुनेर जनतालाई मर्का नपर्ने गरी काम गरे । क्षतिपूर्ति पनि सही तरिकाले दिलाए । उनले पहिले गरेजस्तै काम अहिले पनि भइरहेको छ । तर यसको प्रक्रियाप्रति स्थापित सन्तुष्ट देखिँदैनन् । “जनताको जग्गा जबर्जस्ती हडपेर काठमाडौँ सुन्दर बनाउने पक्षमा म छैन ।” भन्छन् । शहर सुन्दर देखिएपनि मानिसको मनमा आफ्नो जग्गा मिचिएको दुख रहिरहे उनीहरू यहाँ रमाउन नसक्ने उनको तर्क मुनासिब छ ।


Photo Source: www.ekantipur.com


यसरी अघि बढिरहेको काम यही असारसम्ममा फत्ते गर्ने सरकारी लक्ष्य हो । तर प्राधिकरणले बस्तिहरू भत्काउँदै लग्यो । सडक विभागले बाटो पुनःनिर्माण गरिदिएन । यो काम अब कहिले पूरा होला भन्ने जानकारी कसैलाई छैन अहिले । सडक धुलाम्य छ, झरीमा हिलाम्य हुनेछ । घर भत्काएपछिका इँटा र काठ सडकभरि छरपष्ट देखिन्छन् । मान्छेको दुख्खको आकार अझ बढ्ने भयो । “साँघुरो सडक बढाएर सजिलो हुने भयो भनेको त” बल्खुका स्थानीय बच्चुराम शाक्य गुनासो गर्छन्, “झनै दुख्ख पाइराखिया छ !” बाटैछेऊ लमतन्न पसारिएका पर्खाल र जबरजस्त उभिएका महलहरू भत्काएर सडक चौँडा पार्ने निर्णय आजभन्दा तीन दशक अघि सरकारले गरिसकेको थियो । त्यसैबेला बनेको भवन निर्माण आचारसंहिताको कार्यान्वयन भएन । अनि समस्या उग्र रूपमा धमिरोझै भित्रभित्रै फैलँदै गयो । ठूला व्यापारिक समूह लगायतकाको दबाब, घुसखोरी र सरकारी आलस्यताले काममा भाँजो हाल्यो । राणाहरूले आफ्नै उद्देश्यका लागि बनाएका मूलबाटोहरूलाई टालटुल गरी अझै चलिरहेको छ । कतिञ्जेल धानोस् त्यसले !

शहरमा तीनकुने, बानेश्वर, विजुलीबजार, मिनभवन, माइतीघर–बबरमहल, लैनचौर, नागपोखरी, जयनेपाल हल, सोह्रखुट्टे, कुपण्डोल, भगवतीबहाल, एयरपोर्ट, सिफल, चारखाल, कमलादी कृष्णपाउरोटी, चाबहिल, कालिमाटी, बल्खु, कुलेश्वर, ज्ञानेश्वर, कमलपोखरीलगायतका क्षेत्रमा सरकारी डोजर चलिसकेका छन् । बालाजु, गैह्रीधारामा सजिलै घर भत्काइए । खासै अवरोध भएन । तर चाबहिल, कुलेश्वर, बल्खु, चक्रपथमा निकै तनाव भयो, सर्वसाधारण बाटोमै आइ डोजर मुनि सुतिदिए । “अब पालो लाजिम्पाट, ताहाचललगायतका ठाउँको । तर रकम अभावको कारण चिनो लगाएर छाडिएका थुप्रै ठाउँमा काम गर्नै बाँकि छ ।” नगर विकास समितिका भाइकाजी तिवारीले योजना सुनाउँछन् । आक्रमक शैलीमा काम गर्ने तिवारीको बानी सबैलाई थाहा छ । उनीसँग रिसाउने र खुसी हुने दुवैले उनलाई ‘बुल्डोजर’ भन्छन् । तिनै तिवारीको नेतृत्वमा तीनकुनेबाट सुरु भएको सडक विस्तार कार्यले संविधान बनाउने भन्दा बढी चर्चा पायो ! सडक ओगटेर बसेकाहरूको पसिना छुटाइदिए तिवारीले । तर पनि सडक राम्रो भइरहेको छ भनी बाहिर हल्ला भएजस्तो छैन काठमाडौँ । उस्तै साँघुरा सडक, गाडीमोटरको उस्तै चाप, बाटोमा ट्राफिक नियम उल्लंघन गर्नेको उस्तै समूह, दुर्घटनाको संख्या उस्तै ! “अब धेरै समय लाग्दैन काठमाडौँलाई सुग्घर बनाउन ।” आसाको चकलेट केक बाँड्छन् तिवारी ! काठमाडौँ बने त देखिइहालिन्छ नि, मरे स्वर्ग देखिन्छ भनेजस्तै । अवैध रूपमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन नगर विकास प्राधिकरण जति सफल छ खेतियोग्य जमिनलाई प्लटिङ गरेर बेच्ने काम रोक्न उति नै असफल पनि छ ऊ ।
Photo: Found in Google.

बाटो भत्काएर छाड्नुभयो दुरुस्त कहिले हुन्छ ? भन्ने प्रश्नको जवाफमा तिवारी भन्छन्, “हाम्रो काम भकाभक भत्काउने हो । बनाउने काम अन्य निकायको ।” उता सडक विभागचाहिँ रकम निकासा नभएर काम अगाडि नबढेको भन्छ । फेरि उता अर्थ मन्त्रालय चाहिँ, “प्रक्रियागत रूपमा उहाँहरू आउन प¥यो । रकम नदिने भनिएकै छैन ।” भन्छ । विस्तारको लागि कुल ८५ करोँड लाग्ने प्रारम्भिक अनुमान छ । आरोपप्रत्यारोपको यो शृंखला हेर्दा लाग्छ उपत्यकावासीको ढाडमा दुख्खका डोजर अझै धेरै दिन गुड्छन् । आपसी संयोजनसाथ काम गर्नुपर्ने यी निकायले एउटाको दोष अर्कोमाथि थुपार्नु हुँदैनथ्यो । प्राधिकरणले भत्काउने काम सक्नेवित्तिकै सडक विभागले बाटो बनाइहाल्नु पथ्र्यो । अनि ट्राफिकले त्यसैअनुसारका नियमबारे जनतालाई सचेत बनाउनुपथ्र्यो । नगर विकास प्राधिकरणको खुब विरोध भइरहेको छ । जनताहरूले आफ्नो सम्पत्ति सिध्याउने मेसोमा सरकार लागिरहेको आरोपको सिधै तिरस्कार गर्छन् तिवारी । भन्छन्, “काठमाडौँलाई उस्तै साँघुरो चाहनेहरूको मुठ्ठीभरको भिड हो यो ।” काम फत्ते गरी काठमाडौँलाई सुन्दर बनाएपछि तिनको मुखमा आफै बुजो लाग्ने बताउँछन् उनी । तिवारीका अनुसार काठमाडौँमा कुल १६०० किमी बाटो छ । “११० किलोमिटर गल्लीलाई मूल सडकसँग जोड्ने हो भने समस्याको ठूलो जरो उखेलिने छ ।” उनको तर्क । त्यसहिसाबले ४०० किमी अति व्यस्त सडकको चाप आपसेआफ घट्ने देखिन्छ । हो समस्या ठूलो जस्तो त देखिएको हो । तर समाधान चाहिँ सामान्य हिसाबले सोँचेर त्यसैअनुसार काम गरे त निराकरण हुनेरैछ नि !

चौँडा कुरा गर्ने भनेर आरोप खेप्ने स्थापित प्रशंसाका पनि उत्तिकै पात्र हुन् । सडक विस्तारको यो पाटोलाई उनले एउटा सानो कदम मान्छन् । “काठमाडौँलाई अझ धेरै तरिकाले सुन्दर बनाउनु छ । यो त सानो पाटो हो ।” उनको तर्क छ । “म साना कुरै सोँच्दिन । ठूलै सोँच्छु र गरीदेखाउँछु पनि ।” राजनीतिक नेतृत्व परिवर्तनसँगै आफू पदबाट हट्नुपर्ने डर छ कि छैन भन्ने कुराको केही चिन्तै छैन रे उनलाई ! “म त पाँच वर्षको लागि आएको हुँ । मज्जाले काम गर्छु तेतिञ्जेल !” सडक विस्तारसँगै स्थापितसँग ‘ब्रोड’ योजनाहरू छन् । “कलंकी नागढुङ्गा सडक विस्तार मेरो अर्को महत्वाकांक्षी योजना हो ।” महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार यहाँ वर्षेनी चारदेखि पाँच हजार घरहरू थपिन्छन् । जनसंख्या वृद्धिदर थेगिसक्नु छैन । यी जस्ता थुप्रै  दुरावस्था थेग्न छाडेको यो शहरले थुप्रै भइसक्यो । “यो यथार्थ मलाई धेरैअघि थाहा थियो” स्थापित सुनाउँछन् “त्यसैले काठमाडौँलाई लायकको बनाउनु पर्छ भन्ने लागिरहेको थियो ।” त्यसैअनुसार ठूलो सोँच राखेर शहरलाई राम्रो बनाउने स्पष्ट योजनासाथ आफू कुर्सिमा आसिन रहेको बताउँछन् ।
Photo: Found in Google

सडक विस्तारको काम देशैभरी व्यापकतासाथ अगाडि बढिरहेको छ । सानातिना विकासका कार्यक्रमलाई केन्द्रीय राजनीतिले प्रभाव पार्ने यो मुलुकमा भइरहेको यो कामको लागि सरकारी प्रयासलाई धाप मार्नु त पर्छ नै । तर जनताकै लागि काम गरेको बताउने सरकारले जनताको व्यापक समर्थन पनि पाउनु पर्छ । कतिपय ठाउँका जनता खुसी भएर ताली पिटेका छन् भने कतिपयले देशलाई सुन्दर बनाउन अग्रसर हुनु भन्दा सरकारी प्रयासलाई नै सत्तोसराप गर्नै व्यस्त छन् ।
नियम पुरानो काम नयाँ ?
आजभन्दा तीन दशक अगाडि बनेको ऐनको फाइल उल्टाएर त्यसरी काम थालिएकोप्रति थुप्रै विज्ञहरूको आपत्ति छ । “उतिबेला सरकारी निकायले मज्जाले घरजग्गा पास गर्ने अनि अहिले चाहिँ त्यो कामै गलत थियो भनेर त्यही निकायले भन्ने” दुई जिब्रे कुरा भएको तर्क ती विज्ञको छ । विश्लेषणअनुसार सरकारले विधि नपु¥याइ काम थाल्यो । सरकार आफैले बनाएको नीति बाझिएको छ, यता जनताले विनासित्ति दुख्ख पाए । तर जसले जेसुकै भनेपनि यतिबेला सरकार जुर्मुराएको चाहिँ अवश्य हो । काठमाडौँलाई अब पनि नबनाउने हो भने त्यसको भयानक परिणाम निस्कने यथार्थ सायद बुझिसक्यो सरकारी निकायले । सरकारी कार्यशैली विरोधाभाषयुक्त भएको तथ्य एउटा दिन सकिन्छ, गौशाला–कमलपोखरी क्षेत्रको सडक विस्तार गर्ने योजनाअनुसार काम दुई चरणमा सक्ने निधो भयो । एक चरणको काम गरिँदा स्थानीयलाई मिचिएको जग्गाको लागि क्षतिपूर्ति दिइयो । तर दोस्रो चरणमा काम हुँदा भने स्थानीयलाई मुआब्जा दिन सरकार तयार भएन । “हाडखोर सुक्ने गरी कमाएको धन सरकारलाई विनासित्ति बुझाउनु परेको छ” प्रविण पाख्रिन सुनाउँछन्, “प्रचार हासिल गर्ने (पब्लिसिटी स्टन्ट) अरू तरिका अपनाए भै हाल्यो नि । जनतालाई दुख्ख किन दिनु !”
२०३५ सालको ऐनअनुसार बनेका घर भत्काइँदा क्षतिपूर्ति दिइएको तर्क तिवारीको छ । “तर सार्वजनिक जग्गामा बनेका घरको मुआब्जा दिने ठेक्का सरकारको होइन ।” उनी कड्किन्छन् । कतिपयका अनुसार सो पुरानो नियम परिवर्तन गरी जनतालाई मर्का नपर्ने अर्को नियम बनाएर व्यवस्थित भै काम गर्नुपथ्र्यो ।
Photo: Found in Google

फराकिलो सडकले मात्र पुग्दैन
सडक सुन्दर देखिन फराकिलो सडक त पहिलो आवश्यकता हो नै । यसमा द्विविधा पनि छैन । तर गाडीमोटरबाहेक सडकमा बटुवाहरू पनि हिँड्न पाउनुपर्छ । ढुक्कसाथ पैदलयात्रु हिँड्ने, साइकल चलाउन मिल्ने र अपाङ्ग मैत्री सडक पनि उत्तिकै महत्त्वपूर्ण पूर्वाधार हुन् । 

फराकिला सडक वरिपरि रूखहरू बरोबरी रोप्नु पनि पर्छ । ठाउँठाउँमा पार्कहरू बनाउने, शौचालय बनाउने काम अर्को समुचित तरिका पनि हो । नयाँ गाडी भित्रिने क्रममा व्यापक कडाइ गर्ने, दुई दशक पुराना गाडीलाई थान्को लगाउने, सार्वजनिक सवारीलाई प्रोत्साहित गराएर डिजलमा सहुलियत दिने, डबल डेकर चलाउने काम पनि हुनुपर्छ । सडक विस्तारमा खटिएका डिआइजी गणेश राइले मानिसहरूमा सडक अनुशासनबारे ज्ञान फैलाउन सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिन्छन् । मानिसहरू जथाभाभावी बाटो काट्छन्, मोटर हुइँक्याउँछन्, जिन्गदीजस्तो अमूल्य चिज अरू नै केही भएजस्तो गरी ! ट्राफिक नियमको समग्र जानकारीले पनि सवारी चाप राम्रैसँग घटाउँछ । उनी सुनाउँछन् । “सार्वजनिक गाडीलाई प्रोत्साहन दिनुप¥यो । अनि पो फराकिलो बाटो हुँदै अफिस पुग्न सजिलो हुन्छ” राइको विकल्प “अनि महंगो पेट्रोल हालेर कसले हुइक्याउने नीजि सवारी साधन ?” ट्राफिक धेरै खटाउँदैमा सडक दुरुस्त हुने कुरामा राई सहमत छैनन् । “५०० भन्दा बेसी ट्राफिक लागिपरेका छन् त । मानिसहरूले ट्राफिक नियमको सुझबुझपूर्ण पालना गरे समन्वय आफै हुन्छ ।” उनकाअनुसार राजधानीलाई सर्लक्कको बनाउन राज्यका सम्पूर्ण निकायले उत्तिकै जिम्मेवारीबोध साथ काम गर्नुपर्ने हुन्छ । जाम कम गराउन राजधानीका ठाउँठाउँमा फ्लाइओभर पनि उत्तिकै जरुरी छ । तर अहिलेसम्म एउटै पनि बनिसकेका छैनन् । सबै योजनाका फूलबुट्टाले भरिएका छन् ! फ्लाइओभर बाहेक सबवे, साइकल लेन, मानिसहरू ढुक्कसाथ हिँड्न सक्ने फुटपाथ बनाउने, फुटपाथ व्यापार तथा रात्रीकालीन व्यवसाय व्यवस्थित बनाउने, सधैँभरी मोटरको हुल रहने फ्युल स्टेसन अलि बेग्लै ठाउँमा राख्ने जस्ता कुरा सडक दुरुस्त राख्न चाहिने तत्त्व हुन् । तर सबैथोक व्यवस्थित पार्दै काठमाडौँ एउटा लायकको शहर बनोस् भन्ने आम चाहना पूरा हुन एउटा ठूलै कालखण्ड पार गर्नुपर्ने अवस्था स्पष्ट देखिन्छ ।

Photo: Found in Google




No comments:

Post a Comment