-पुस्तक समीक्षा
तारा डोली चढ्दा डोलीलाई झोलुङ्गो सम्झन्छे ! किनकि उसको बाल्यकालको धङधङी पूरा भएकै थिएन । नयाँ जामाभरि काफल बोकेर हिँडीरहँदा झुक्याएर उसको बिहे छिनिन्छ । घरमा नयाँ मान्छेहरू देख्दा ऊ अत्तालिन्छे । जामाभरिका काफल भुइँभरि पोखिन्छन् । सिउँदोमा सिन्दुर नामक फलामे रडले डामिँदा निदाएकी हुन्छे ऊ । बालापन पार नगर्दै ऊ घरबाट लखेटिन्छे, भगवानको घरमा जाने बहानासाथ । बालसखी गोविन्दसँग ‘बिहेगरी’ खेल खेल्दा ख्याल ख्यालको सिन्दुर हालेको सम्झन सक्छे उसले ! साँच्चैको सिन्दुर हालेको सम्झन पटक्कै सक्दिन ! दुलहाको घर जाँदा भगवानको घर गइरहेको ठान्छे । छातीमा उमेरकका बैजन्ती रङ्ग पोखिँदा आफू विधवा भएको सम्झेर झस्कन्छे । सँगीहरूले श्रीमानसँग बिताएका इन्द्रेणी साँझहरूबारे सुनेर तृप्त हुन खोज्छे ! श्यामश्वेत जिन्दगी बाँचिरहेकी एउटी नायिकाले सधैँसधैँ देख्ने इन्द्रेणी सपनासँगैका नमीठा प्रसङ्गसाथ कथा अगाडि बढ्छ ।
-सिपी अर्याल (CP Aryal)
केही दशकअघिसम्म हामी बाँचिरहेकै समाजको त्रासदीपूर्ण यथार्थलाई नौलो प्रस्तुती दिएर अमर न्यौपानेले ‘सेतो धरती’ उपन्यास लेखेका छन् । ‘पानीको घाम’ पछिको दोस्रो आख्यान कृतिमा अमर अझ सशक्त देखिन्छन् । जीवनका सम्पूर्ण कणहरूलाई शत्शत् ढङ्गमा उनेर एउटा औपन्यासिक माला बनाउने प्रयास यस पुस्तकमा गरिएको छ । यसमा वालविवाह र त्यसले निम्त्याउने वैधब्य जीवनलाई मूल विषय मानि त्यसलाई मिहिन ढङ्गले केलाइएको छ ।
एउटा जमाना थियो ‘पुण्य’ कमाउन बाआमाले खुब रहर गर्थे । त्यो पनि आफ्नी कलिली छोरीले बोली फुटाउन सिक्दा–नसिक्दै उसको बिहे गरिदिएर ! बाआमाले के बुझुन्, त्यो काम पुण्य थिएन, एउटा पाप थियो । हो, यस उपन्यासको शैली पनि त्यस्तै छ । पुण्य कमाउने हेतुले सात वर्षकी कलिली छोरीलाई बाआमाले बिहे गरी पठाउँछन् । त्यसको परिणाम भयंकर निस्कन्छ । उपन्यासकी नायिका तारा हो । उसकै जीवन पाइलाहरूको सविस्तार वर्णन उपन्यासमा गरिएको छ । हजुरबुवाको ढाडमा अटाएर खेलिरहेकी ताराको बिहे गरिदिन बाआमाले हतारो गरेसँगसँगै कथाको राजमार्ग फराकिलो हुँदै जान्छ । सम्पूर्ण कथा त्यही निमुखी नायिकको वरिपरि फनफनी घुमेको छ । एउटा आत्मकथा रेकर्डरमा सुनेजस्तै लाग्छ पुस्तकका पाना पल्टाइरहँदा । तारा आफैँमा एउटी सशक्त नायिका त हो । तर कमजोर खालकि । मायालाग्दी अनि निमुखी ! आइरोनिकल जीवन बाँचेकी तारा आत्मालाप शैलीमा उपन्यासभरि फतफताइरहन्छे । उसका परिवार र साथीभाईले भन्दा पाठकहरूले नै सबैभन्दा धेरै बुझेका हुन्छन् उसलाई । बाल्यकालदेखिनै गम्भीर प्रश्नहरूसहित पाठकहरूसँग गफिइरहने ताराका मनोभावहरू पेचिला लाग्छन् । उसले सोधेका सम्पूर्ण प्रश्नहरूको उत्तर सायदै कसैले दिन सक्ला । धेरै प्रश्न भएका पानाहरूले बालबालिकाको उत्सुक शैली देखाउँछ ।
सौन्दर्य (ग्ल्यामर) कक्रकिइसकेको यस्तो कुरालाई लेखनको मूल विषय बनाउन खोज्नु लेखकको लागि ठूलो चुनौती हुन सक्थ्यो । तर सशक्त भाषामा त्यसरी ढालिसकेपछि सो चुनौतीको पर्खाल सर्जकले मज्जाले उधिन्न सके । हामीमाझका (पुरानै किन नहुन्) विषयहरू अझै लेखिनै बाँकि रहेको जनाउ उनले दिएका छन् । पुस्तकमा त्यही देखिन्छ । मान्छेलाई झस्काउने त्यस्तो भयानक संस्कारको जग मान्छेले नै किन बसालेका होलान् !
तारा डोली चढ्दा डोलीलाई झोलुङ्गो सम्झन्छे ! किनकि उसको बाल्यकालको धङधङी पूरा भएकै थिएन । नयाँ जामाभरि काफल बोकेर हिँडीरहँदा झुक्याएर उसको बिहे छिनिन्छ । घरमा नयाँ मान्छेहरू देख्दा ऊ अत्तालिन्छे । जामाभरिका काफल भुइँभरि पोखिन्छन् । सिउँदोमा सिन्दुर नामक फलामे रडले डामिँदा निदाएकी हुन्छे ऊ । बालापन पार नगर्दै ऊ घरबाट लखेटिन्छे, भगवानको घरमा जाने बहानासाथ । बालसखी गोविन्दसँग ‘बिहेगरी’ खेल खेल्दा ख्याल ख्यालको सिन्दुर हालेको सम्झन सक्छे उसले ! साँच्चैको सिन्दुर हालेको सम्झन पटक्कै सक्दिन ! दुलहाको घर जाँदा भगवानको घर गइरहेको ठान्छे । छातीमा उमेरकका बैजन्ती रङ्ग पोखिँदा आफू विधवा भएको सम्झेर झस्कन्छे । सँगीहरूले श्रीमानसँग बिताएका इन्द्रेणी साँझहरूबारे सुनेर तृप्त हुन खोज्छे ! श्यामश्वेत जिन्दगी बाँचिरहेकी एउटी नायिकाले सधैँसधैँ देख्ने इन्द्रेणी सपनासँगैका नमीठा प्रसङ्गसाथ कथा अगाडि बढ्छ ।
पुस्तकका सुरुकै पानाहरूबाट भयानक ‘ट्रेजेडी’ हरू सुरु हुन थाल्छन्, प्रयोग भएका सशक्त बिम्बहरू त्यही भन्छन् । प्रमुख पात्र तारा जन्मिइ नब्बे सालमा । महाभूकम्पको बेला । त्यो दुर्घटनाले धरतीलाई जसरी सेतो बनाइदियो उसैगरी ताराका जिन्दगीका प्रत्येक भूकम्पहरूले उसलाई रङ्गहीन बनाउँदै लैजान्छन् । सपनामा ऊ भने इन्द्रेणीसँग रङ्गहरू सापटी मागेकी देखिन्छे । बिपनाको जिन्दगीमा यस्तो नमीठो गीत सुसेल्छे, “भगवानले मेरो रङ्गहीन आवरण झिकेर सेतो चामल बनाए । अब जाँतोमा पिनेर पीठो बनाउन बाँकि छ ।” तारा आफू बाँचेको जीवन एकदम सेतो छ । रङ्गहीन । प्राणै नभएको । सिउँदोमा इन्द्रेणी रङ्ग बर्सँदा ऊ सपनामा हुन्छे । पुस्तकमा प्रयुक्त प्रत्येक वाक्यहरू ‘वान लाइनर’ लाग्छन् । रङ्गीन लाग्ने ती लेखोट ताराको जीवनको सन्दर्भमा चाहिँ रङ्गहीन छन्, एकदम फिक्का ! गहिरो दर्शन मिसिएको प्रथम पुरुष वाचनसाथ ताराको नौरङ्गी देखिने बालखा जिन्दगीलाई रहस्मय लाग्ने थुप्रै कुराहरू एकएक गर्दै फुस्कँदै जान्छन् । बेलुनझैँ फुस्स उड्दै बिलाउँछन् । तारा फुस्फुसाउँछे, आफैलाई प्रश्न गर्दै, “निदाउन कोल्टे फेर्दाजस्तो सजिलो हुन्छ कि हुँदैन होला जिन्दगीले कोल्टे फेर्दा ?”
ताराबाहेकका अन्य पात्रहरू बाआमा, भाइ, बैनी, गोविन्द, पवित्रा, स्वामीजि आदि हुन् । यी सम्पूर्ण पात्रको शैली सामान्य देखिन्छ । ताराको अगाडि फितला पनि । कथामा ‘भगवान’ लाई पनि नदेखिएको पात्र बनाइएको छ जो कथाका पात्रहरूको एकमात्र आसाको केन्द्रविन्दु छन् । तर निष्प्राण ! कथाअन्त्यमा सम्पूर्ण प्रमुख पात्रहरूलाई देवघाटमा भेट गराउनुको एउटा गतिलो सन्देश छ, जीवन टुङ्गिने ठाउँ एउटै हो भन्ने । पुस्तकमा नयाँ पात्रहरू प्रवेश गराउन कुनै हतारो देखिँदैन कथाकारलाई । अत्यधिक प्रयोग भएका आश्चर्यवोधक चिन्हहरूले जिन्दगीमा धेरै घटनाहरू आश्चर्यपूर्ण हुने दर्शाउँछन् । नब्बेसालदेखि वर्तमानसम्मको समयका कथाक्रमहरू छन् । उमेर छिप्पिँदै गएअनुसार ताराका वाचन शैलीहरूमा पनि विस्तारै परिवर्तन आएको देखिन्छ । कतै कतै भने पुस्तकीय ज्ञान नभएकी ताराले त्यस्ता ठूला दर्शनका कुरा कसरी गर्न सकि होलि भन्ने प्रश्न पनि जन्मन सक्छ । पात्रको वर्तमानकेन्द्रित उपस्थितिले भूतका कुरा ओझेलमा पार्छन्, हराएका पात्रहरू कता गए, के गरे भन्ने यावत् प्रश्नका उत्तर भेटिँदैनन् । लेखकको यस्तो शैलीले विगत्का घटनाहरूलाई व्यवस्थित अन्त्य नदिएको भान गराउन सक्छ ।
उपन्यासमा एउटा मात्रै उपकथा छ । बाँकि सम्पूर्ण अक्षरहरू ताराकै मनोविज्ञानले ओकलेका विषादीहरू हुन् । हिन्दी सिनेमाको कुनै कथा जस्तो लाग्ने सो उपकथा ताराकी सखी पवित्राले भोगेकी हो । लोग्ने मरेपछि भागेर भारत हिँडेकी उसले त्यहाँ बिताएको जीवनशैली भयानक देखिन्छ । कास्कीको आंचलिक भाषा केही पाठकहरूलाई अप्ठेरो सावित हुन सक्छ, जो त्यताको परिवेशसँग घुलमिल छैनन् । पात्रको मनोविज्ञानमा विशेष जोड दिइएको यस उपन्यासमा कथावाचनको शैली पूर्ण काब्यिक छ, मार्मिक कविता पढेजस्तै । कतैकतै उसको एकल मनोलाप झिझ्याउने खालको पनि छ । धेरैजसो ठाउँमा वृतान्त सुनाइरहँदा ठाउँबारेका यायत् तथ्य खुलाइँदैन । वस्तुस्थितिको मिहिन वर्णन गरिएको भए कथा पढ्दा अझ उम्दा अनुभव हुन सक्थ्यो । केही घटना घटाउन लेखकले हतारो गरेजस्तो देखिन्छ जस्तै ताराकी आमा मर्दा । हुनत जिन्दगी पनि हठात्मै सकिन्छ नि ! कथामा एउटी मात्र पात्रको वाचन छ । त्यसले अन्य पात्रहरूको मनोविज्ञान बुझ्न अप्ठेरो पनि पारिदिन्छ ।
आकर्षक लेआउट, स्तरीय कागज तथा भाषिक शुद्धतासाथ Fine Print Books (फाइनप्रिन्ट बुक्स) ले बजारमा ल्याएको पुस्तकको गुणमा खोट लाउने ठाउँ देखिँदैन । विगत्का समयमा बजारमा आएका पुस्तकका स्तरीय शैली देख्दा नेपाली आख्यानहरूले अन्तर्राष्ट्रिय बजारसामु छाती खोलेर प्रतिस्पर्धा गर्न सक्षम भएको पुष्टि भइरहेको छ । नेपाली परिवेशमा ओइलिइसकेको यस्तो विषयवस्तु पढ्दा लाग्छ हामीमाझ लेख्ने कुराहरू बाँकि नै छन् । त्यसैले विलकुल नयाँ विषय खोज्दै हिँड्नेलाई गतिलो झापड बन्न सक्ने यो पुस्तक पठनीय छ ।
पुस्तक : सेतो धरती
लेखक : अमर न्यौपाने
विधा : उपन्यास
प्रकाशक : फाइनप्रिन्ट
पृष्ठ : ३७३
मूल्य : ने.रु. ३५०
Published in Nagarik Daily, 12 May 2012/30 Baisakh 2069.
('सेतो धरती' पुस्तकले २०६८ सालको साहित्यतर्फ मदन पुरस्कार प्राप्त गर्न सफल भएको छ । The book, 'Seto Dharati' bagged the Madan Puraskar, literary prize, 2068.)
('सेतो धरती' पुस्तकले २०६८ सालको साहित्यतर्फ मदन पुरस्कार प्राप्त गर्न सफल भएको छ । The book, 'Seto Dharati' bagged the Madan Puraskar, literary prize, 2068.)
No comments:
Post a Comment