-सिपी अर्याल (CP Aryal)
बीसौँ शताब्दीतिर अमेरिकी र युरोपेली समाजमा व्यापक सामाजिक सचेतना चलिरहँदा कविताको बाटो हिँडिरहेकी एउटी यात्री देखिइन् । बेग्लै रङको ‘फिमेल कम्युनिटी’ बनाउने लक्ष्यसाथ कविताका धारिला बिम्ब बोकेर विश्वसाहित्यमा झुल्कने ती नारीको नाम एड्रियन रिच थियो । “कविताले एकाग्रता भंग गराउन सक्छ, हराएकालाई बाटो देखाउन सक्छ, सुन्दरताको सम्भावनै नभएको ठाउँमा मादकता देखाइदिन सक्छ, छुट्टीएकालाई गजबको बन्धनमा बाँधिदिन सक्छ” भन्दै सुरुआति दिनमा ‘सामान्य कवियित्री’ को बाटो हिँडेकी उनले कालान्तरमा आफ्नो क्रान्तिकारी छवीको कारण एउटा बेग्लै इतिहास कोरिन् । तत्कालीन महिलावादी आन्दोलनको ‘फ्रन्टलाईन’मा शब्दका बारुद बोकेर अघि बढिरहेकी थिइन् उनी ।
हुनत त्यतिबेला महिलाका थुप्रै अधिकार स्थापित भइसकेका थिए । महिलाहरूका सामाजिक तथा राजनीतिक पहिचान सुनिश्चित भइसकेका थिए । तर रिचलाई त्यतिले पुगेन क्यारे ! उनले एउटा पनि पुरुष नभएको ब्रम्हाण्ड कल्पँदै कठोर बिम्बकविता लेख्न थालिन् । कवितामा प्रयोग हुने बिम्बहरू तेजिला हुन्थे, चुलेसीजस्तै । प्रत्येक शब्दमा पुरुषलाई बोहोट्ने उग्र मनसाय हुन्थे । दि आफ्टरवेकजस्तो अत्यधिक चर्चा कमाएको कवितामा उनले नारी पात्रलाई कमजोर सुँडेनी बनाएकी छन् । तर सो दयनीय देखिने पात्रलाई सशक्त श्रृंगार दिएर पुरुषमाथि खनिएकी पनि छन् ।
Adrienne Rich |
तिम्रा स्नायुहरूको सुसार गर्दा–गर्दा
मेरा आफ्नै नसाहरू उग्र भए, खैर,
अब थोरैमात्र कठोर समयको उकाली बाँकि छ !
निद्राले तिमीलाई बन्द ढोकाभित्र बाँधिराखेको छ
म उसको बार्दलिमा थ्याच्च बसेकी छु
भित्र उता तिमी सुरक्षित छौ । तर म
एउटी सुँडेनी जस्तै हुँ जो झिसमिसेमा
सबै काम सकेर, हातभरिका रगतका टाटा
पखालेर, स्टोभमा चियादानी बसालेर,
पाँच कोस परको आफ्नै घरतिर लम्कन्छे, प्रसवपिडाको
चर्को ध्वनी उसको टाउकामा भन्भनी रिँगिरहेको छ
हो अहिले म त्यही सुँडेनीसँग छु
जीवनहीन बाटो हिँड्दै
छेउछाउमा आग्ला लगाइएका घरहरू उभिएका छन्
रातभरी गहिरो स्वासप्रश्वास लिएका,
मेरा गोडाहरू फतक्कै गलेका छन्,
बिहानको रातो घामसँगै हामी हिँडिरहेछौँ
त्यो भारी जत्तिकै गह्रुङ्गो छ
एक्सपायर नुहुने उद्देश्यको छ, त्यो खसिरहेको छ,
भालेको बास विस्तारै कम नहुँदासम्म
(दि आफ्टरवेक)
उग्रवादको रेतीमा आफ्ना कविता उद्याउने रिचका कविता कुनै पत्रिकमा प्रकाशित भए तहल्का मच्चन्थ्यो ।
उनलाई समर्थन गर्नेहरूले हाइहाइ गर्थे, उता कट्टरपन्थीहरू रिसले भुन्भुनिन्थे । एड्रियन भकाभक नारी, समलिङ्गी तथा थिचिएकाबारे कवितामार्फत् पोखिन थालेपछि मानिसहरूले भन्न थाले, “आफूले जानेको, महसुस गरीरहेको तर भन्न हिचकिचाएका हाम्रा कुरा यिनले पोखिदिइन् । धन्य एड्रियन !” तत्कालीन समाजको थिचोमिचोमा परेका महिला तथा समलिङ्गीको आवाज बुलन्द बनाइदिइन् यिनले । त्यसकारण उनलाई भगवान मान्ने ठूलो खण्ड पनि छ, कतैकतै । पहिचान, लैङ्गिकता, राजनीति, सामाजिक न्याय र समानता, युद्ध विरोधी अभियानलगायत उग्र महिलावादी धारमा रिचले कविता लेखिन् । मोती खोज्न समुदमा हाम फाल्ने निडर व्यक्ति, वैज्ञानिक, सुँडेनी, प्रेमीका, पत्नी, फ्युजिटिभको मुखुण्डो लगाएर उनले कविता लेखिन् । उनका त्यस्ता न्यारेटरहरूले सरकारलगायत समाजमा संस्थागत परिवर्तनको नारा घन्काउँथे । यौन तथा महिलाका आन्तरिक विषयहरू खुलस्त लेख्ने उनले कवितालाई कहिल्यै व्यक्तिगत मानिनन् । ‘कविता सर्वव्यापी हुन्छ त्यसैले व्यक्तिगत हुँदैन । अरूले नीजि ठान्ने पक्षलाई मैले छर्लङ्गै देखाउँछु ।’ यसो भन्ने रिचका कविताले तत्कालीन साहित्यको शैली मै व्यापक उथलपुथल ल्याइदियो ।
उनलाई समर्थन गर्नेहरूले हाइहाइ गर्थे, उता कट्टरपन्थीहरू रिसले भुन्भुनिन्थे । एड्रियन भकाभक नारी, समलिङ्गी तथा थिचिएकाबारे कवितामार्फत् पोखिन थालेपछि मानिसहरूले भन्न थाले, “आफूले जानेको, महसुस गरीरहेको तर भन्न हिचकिचाएका हाम्रा कुरा यिनले पोखिदिइन् । धन्य एड्रियन !” तत्कालीन समाजको थिचोमिचोमा परेका महिला तथा समलिङ्गीको आवाज बुलन्द बनाइदिइन् यिनले । त्यसकारण उनलाई भगवान मान्ने ठूलो खण्ड पनि छ, कतैकतै । पहिचान, लैङ्गिकता, राजनीति, सामाजिक न्याय र समानता, युद्ध विरोधी अभियानलगायत उग्र महिलावादी धारमा रिचले कविता लेखिन् । मोती खोज्न समुदमा हाम फाल्ने निडर व्यक्ति, वैज्ञानिक, सुँडेनी, प्रेमीका, पत्नी, फ्युजिटिभको मुखुण्डो लगाएर उनले कविता लेखिन् । उनका त्यस्ता न्यारेटरहरूले सरकारलगायत समाजमा संस्थागत परिवर्तनको नारा घन्काउँथे । यौन तथा महिलाका आन्तरिक विषयहरू खुलस्त लेख्ने उनले कवितालाई कहिल्यै व्यक्तिगत मानिनन् । ‘कविता सर्वव्यापी हुन्छ त्यसैले व्यक्तिगत हुँदैन । अरूले नीजि ठान्ने पक्षलाई मैले छर्लङ्गै देखाउँछु ।’ यसो भन्ने रिचका कविताले तत्कालीन साहित्यको शैली मै व्यापक उथलपुथल ल्याइदियो ।
Adrienne Rich |
अमेरिकाले साना राष्ट्रहरूमाथि हैकम जमाउँदै थियो । उसको यस्तो क्रुरताविरुद्ध रिच खनिँदै थिइन् । जतिजति उनी ‘एन्टी वार’, ‘सिभिल राइट्स’ र ‘फेमिनिस्ट’ आन्दोलनहरूमा लागिन् उनका कविताहरू त्यसैअनुसार उग्र हुँदैगए । विशेषतः विवाह अघि उनी यति उग्र देखिन्थिनन् । “मातृत्वको भावले ममाथि आगो सल्काएको हो ।” आफू उग्र हुनुको कन्फेसन दिँदै उनले यसो भनिन् । विवाह गरेकै वर्ष प्रकाशित अफ वुमन बर्नः मदरहुड एज एक्पेरियन्स एन्ड इन्सिटच्युसन नामक पुस्तकमार्फत् उनले आफैलाई ‘म लेस्बियन हुँ’ भनेर घोषणा गरिन् ! यसैकारण उनलाई केही मानिसहरूले ‘सन्काही’ भने । कतिले दुत्कार्न खोजे । तर उनी आफ्नै बाटोमा हिँडिरहिन्, लत्तो छाडिनन् । उग्र महिलावादी लेखिकाको रूपमा दर्जनौँ कविता तथा गैर–आख्यानका बुलन्द कृति प्रकाशित गरिन् । त्यसले अमेरिकी र युरोपेली समाजमा पछिसम्म तरंग मच्चायो । सत्रौँ शताब्दीमा सुरु भएर विस्तारै सेलाएको महिलावादी आन्दोलनको विरासत रिचले बीसौँ शताब्दीमा आएर थामिन् । उनलाई रिसले भरिएकी उग्र लेखिका नाम दिइएपनि उनीभित्रको नारीत्व भावना र कवि मनलाई संसारले धेरै पछि आएर मात्र बुभ्mयो । आखिर अमेरिकी साहित्य इतिहासमा कवियित्रीमध्ये सबैभन्दा चर्चित यिनै ‘सन्काही’ एड्रियान रिच भइन् । त्यहाँको उमन स्टडिजमा सबैभन्दा धेरै पढिने पनि यिनै ।
सन् १९२९ मा अमेरिकाको बाल्टिमोरमा जन्मिएकी रिचको परिवार शिक्षित थियो । जोन हप्किन्स युनिभर्सिटीका प्राध्यापक बाबुले देखाएको बाटो बमोजिम रिच अध्ययनशिल हुँदै गइन् । हावर्डका अर्थशास्त्र प्राध्यापक अल्फ्रेड कोन्राडसँग विवाह गर्नुअघि नै उनको चर्चा चुलिइसकेको थियो । सन्तान प्राप्ती पछि रिचभित्रको फेमिनिस्टिक अप्रोच दह्रो भयो । यसपछि उनले नेसेसिटिज् अफ लाइफ, लिफ्लेट्स, दि विल टु चेन्जका साथै निकै विवादास्पद मानिएको निबन्ध संग्रह अफ वुमन बर्नः मदरहुड एज इन्सिटच्युसन एन्ड एक्सपेरियन्स लेखिन् ।
रिच २१ वर्षकी थिइन्, प्रतिष्ठित येल योङ्गर पोएट्स अवार्ड पाउँदा । त्यतिबेलाका उनका कविता औपचारिक हुन्थे, नियममा बाँधिएका । तर ६० को दशकबाट उनले संसारलाई बुझ्ने तरिका बेग्लै बनाइन् सायद । त्यसैले कविता पनि फरक हुन थाले, फ्रि भर्स अनि उग्र महिलावादी धारका । उनका थुप्रै कविताहरू नारी÷पुरुषबीचको विच्छेद तथा स्वयं र अन्य (सेल्फ एन्ड अदर्स) बीचको मुकाबिलाका केन्द्रबिन्दुमा रहन्थे । रिचले पाएका अन्य पुरस्कारहरू रुथ पाउल लिली पोएट्री प्राइज, एल्मर होल्मस् अवार्ड इन आटर््स् एन्ड लेटर्स, नेस्नल पोएट्री एसोसिएसन अवार्ड, कमनवेल्थ प्राइज आदि हुन् ।
उनले सन् १९९७ मा राष्ट्रपति क्लिन्टनको प्रशासनिक दक्षतामाथि खोट लगाउँदै आफूले पाएको नेस्नल मेडल अफ आर्टस् बहिष्कार गरिन् । आफ्ना सामाजिक सिद्धान्तमा क्लिन्टनले ठेस पु¥याएको आरोप लगाउँदै उनले क्लिन्टन प्रशासनमाथि धारे हात देखाइदिइन् । ‘मैले विश्वास गर्ने गरेको कला यो मूर्ख व्हाइट हाउस प्रशासनले बुझ्न सक्दैन । त्यसैले मैले यो पुरस्कार अस्वीकार गर्छु ।’ न्यु योर्क टाइम्समा खुला पत्र लेखिन् उनले । सन् १९७४ को प्रतिष्ठित नेस्नल बुक अवार्ड हात पार्दा उनले सो पुरस्कारमा उनीसँगै मनोनयनमा परेकी एलिस वाकर तथा सम्पूर्ण महिलाहरूको लागि भन्दै ग्रहण गरिन् ।
अमेरिकाले अन्य राष्ट्रहरूमाथि गर्ने गरेको क्रुरता सहन नसकी उनले युद्धविरुद्धका अभियान पनि चलाइन् । इराकमाथि धावा नबोल्न बुस प्रशासनलाई हकारिन् । तर बुसको लिँडे ढिपीको अगाडि यिनको केही सीप लागेन । यी स्रस्टा जति चर्चित भइन् उति विवादित भइन्, अनि त्यति नै सम्मानित पनि । ८२ वर्षसम्म एउटा पूर्ण जीवन बाँचेर गत मार्च २७ मा उनले मृत्यु वरण गर्दा करोडौँले उनीप्रति सम्मानको शिर झुकाए । उनलाई श्रद्धा गर्ने संसारका करोडौँ मानिसहरूको अनुहारमा दुख्ख र पिरका बाङ्गाटिङ्गा मुजा त्यो दिन स्पष्ट देखिन्थे ।
Appeared in Akchyar (Saturday supplementary of Nagarik daily), 2069 Baisakh 2
(Photo Courtesy: www.google.com)
No comments:
Post a Comment